Free songs
Home / संस्मरण / रातिका साथी (भाग १)

रातिका साथी (भाग १)

“तिमी नजाने नै हो त ?“ जनार्दन दाइले सोधे ।

जनार्दनले केही कुरा सोध्नुपर्यो भने एकैचोटि सोध्थे । उनले सोध्दा जे जवाफ दियो त्यही नै अन्तिम निर्णय मान्थे । त्यसपछि जवाफदातालाई दोहोर्याएर फकाउनु फुस्लाउनु आवश्यक ठान्दैनथे उनी । जवाफदाताले पनि उनको अगाडि आफ्नो निर्णयमा पुनःविचार गर्ने ठाउँ पाउँदैनथ्यो ।
उनले कोठाको चारैतिर नजर घुमाए । कोठाको भुइँमा र झ्यालका सिङ्गारमा यात्राको लागि कसकास पारिएका साना साना झोलाहरूले आफ्नो तयारी सकेर यात्रुहरूलाई पर्खिबसेका झैँ देखिन्थे ।

“होस् । जान्न दाइ ।”, मैले दिएको जवाफपछि उनले मुण्टो परक्क अर्कोतिर भाँचे ।

“जाने भया गैजाम् भान्जा । ह्याँ ता तिमी एख्लै निष्लाठ्ठीकिन मर्जाउलाएsss !”, खिरिलो स्वरमा खितखिताउँदै भीमप्रकाश मामाले फकाए । उनले दुईपटकसम्म सोध्थे । एकपटकको जवाफलाई आधिकारिक नमानी दोस्रो जवाफलाई निर्णायक ठान्थे उनी ।

“भैगो मामा, म नजाने नै भएँ ।“

“क्यार्न एख्लै बस्ने मान्याछौ आफू तिम्ले ह्याँ ? नखरा नपार बलै । हर गैजाऊँ ।”, ओपेन्द्र दाइ उदिराम दाजु—भाउजूसँगको विदावारीमा लामो समय लगाएर आएका थिए । उनले कोठाभित्र खुट्टा नहाल्दै मलाई फकाए । उनले मलाई सकुन्जेल फस्ट्याउँथे । एकचोटि, दुईचोटि होइन । कैयौँचोटि । सायद धेरै फकाइफुस्ल्याई पारेपछि यसले मान्छ भन्ने बुझेका हुँदा हुन् ।

“भयो दाइ, भयो । जानोस् तपाईँहरू । म जान्न । बरु यो चिठी मेरो घरमा पुर्याइदिनुहोला ।”, दाइहरूको आँखा छलेर हिजो रातभर लेखेको चिठ्ठीसहितको खाम किताबको बीचबाट झिक्दै ओपेन्द्र दाइको हात पारेँ । त्यो खामभित्र दुइटा चिठ्ठी थिए । एउटा आमालाई र अर्को नवदुलहीलाई ।

जनार्दनले अन्तिमचोटि मलाई पुलुक्क हेरे र जुरुक्क उठे । तयार पारिराखेको आफूजस्तै पातलो झोला हलुकासँग उठाएर पिठ्यूँपछाडि फाले । तनकतनक खुट्टा तन्काउँदै कोठाबाहिर निस्किए । भीमप्रकाशले तुरुन्तै जनार्दनको दाप्को झिके । भीमप्रकाशको दाप्कोलाई यज्ञश्वरले टिपे । यज्ञश्वरलाई कृष्णले पछ्याए । सबै निस्किसकेपछि ओपेन्द्र दाइले बगलका कोठामा बस्नेहरू प्रत्येकसँग बिदाईको हात हल्लाउँदै निस्किए । गुर्दुगुर्दुगुर्दुगुर्दुगुर्दु आल्मुनियमको सिँढी बज्यो । सिँढीको त्यो स्वर भर्खरै अलकत्रा लगाएको चिल्लो तर साँघुरो सडकतिर सर्यो । सडक टड्कारो गरप—गरप—गरप—गरप स्वरमा प्रतिध्वनित भयो र त्यो स्वर विस्तारै मधुरिँदै गयो । मैले कोठाको झ्याल खोलेर सडकको त्यो परेडजस्तो आवाजलाई पछ्याएँ । सानेपाको पूर्वपट्टि हानिएको सडक नापिरहेका आफ्ना साथीहरूको होचिँदै गएको उचाइलाई एकटकले हेरेँ । सडक खालिखालि थियो । उनीहरू सानेपा हुँदै कुपण्डोलको मोडसम्म पुग्दा मैले उनीहरूले उचालिरहेका खुट्टाहरूलाई परेली नधिप्क्याई पछ्याइरहेँ ।

उनीहरू सानेपाको मोडबाट हराएपछि लामो सास फेर्दै मैले टाउको कोठाभित्र हुलेँ । भर्खरै अगाडिसम्म हल्लीखल्लीमा चुर्लुम्मै डुबेको कोठा यतिखेर सामसुम भएको थियो । यो कोठाले विचारशील युवाहरूको साथ पाएदेखि रातदिन गुन्जायमान भइरहन्थ्यो । युवाहरूलाई विवादमा उक्साउने किताबहरू र पत्रिकाहरू एउटा दराजको कुनामा थन्किसकेका थिए । त्यसरी होहल्ला मच्चाउने मगजहरू, आँखा, कान र मुखहरू जनार्दनको पछि लागिसकेका थिए । भुइँभरि असरल्ल छरिएका झोलाहरूले जनार्दनहरूलाई पछ्याइसकेकोले कोठा उघारो भएको थियो । भुइँमा लगाइएका विछ्यौनाहरू र यत्रतत्र छरिएका कपडाहरू आलमारीमा व्यवस्थापन भइसकेकोले कोठा अझै फराकिलो प्रतित भएको थियो ।

मलाई यो उघारो वातावरण ज्यादै हलुका, सौम्य र सुन्दर लाग्यो । म कोठाभरि फुर्रफुर्र गर्दै तीनचारचोटि नाचेँ ।

जनार्दन दाइको अघि सधैँ सतर्क भएर व्यवहार गर्नुपर्थ्यो अब सतर्क हुनुपरेन । भीमप्रकाश मामाले गराउने सामुहिक आत्मालोचनाको नसिहत केही हप्ता बेहोर्नुपरेन । ओपेन्द्र दाइले सानातिना कुरालाई बङ्गयाइटिङ्गयाइ झिज्याइरहन्थे त्यो पनि सुन्नुपरेन । आहा कति हाइसुख्ख ! एक्लै बस्नु पो साँच्चिकै मज्जा हुँदोरहेछ !

केही क्षणको लागि लुटिएको मज्जाले भने धेरै बेरसम्म मलाई साथ दिन सकेन । केही बेरमै कोठा सुनोसुनो लाग्न थाल्यो । कुनाकानी लुकी बसेको अँध्यारो कोठाभित्र जबर्जस्ती पस्न थाल्यो । अँध्यारोको पछि लागेको डर कोठाबाट उक्लेर मनमा प

स्न थाल्यो । पढ्न थालेँ, पढ्न जाँगर चलेन । लेख्न खोजेँ, हात चलेन । रातभर बत्ती कसैगरी नगइदेओस् भनी कामना गर्न थालेँ ।

उदिराम दाइको परिवार हाम्रो कोठाकै बगलमा बस्थ्यो । म उनीहरूसँग त्यति झ्याम्मिसकेको थिइनँ, तसर्थ उतापट्टि जाने जाँगर चलाइनँ । खाना पकाउने जाँगर पनि चलेन । डर मुछिएको अँध्यारोसँग बच्न सिरकमा गुट्मुट्टिएर ओछ्यानमा ढलेँ ।

जनार्दनहरूसँगै नगएकोमा पछुतो लाग्न थाल्यो । धत्तेरिका गइहालेको भए पनि हुने !

तर कसरी जान सक्थेँ र ? दशैँ पेश्की सहितको चारमहिनाको तलब करिबकरिब स्वाहा भैसकेको थियो । अर्को तलब अब चारमहिनापछि मात्र दर्शन गर्न पाइनेवाला थियो । सापटीले पनि काम त चल्दो हो, तर उता जानै गाह्रो । गएपछि फर्कनै गाह्रो । घरमा पुगे सरोकारवालाहरूलाई सम्झाउनै झन्झट । स्कूलबाट फेरि अर्को पटक भाग्नुपर्ने बाध्यता । नवदुलहीलाई परीक्षा नसकी आउँदिनँ भनिसकेको थिएँ । गएर फर्कँदा उनीलगायत आमाबासँगको पटकपटकको वियोगको पिडा थपिने मात्र ।

२०४६ सालको तिहार विदाको बेला थियो त्यो ।

यमपञ्चकको दुई दिन कटिसकेको थियो र कुकुर तिहार आजै परेको थियो । निपर्सि त भाइटीका । तिहार लगत्तै बिकमको परीक्षा शुरु हुनेवाला थियो । त्यसैले उता जानेबित्तिकै परीक्षा दिनको लागि हतार हतार नफर्की हुन्नथ्यो । रुकुमदेखि दाङसम्मको पैदलयात्रा कम्ता सास्तीदायक हुन्नथ्यो । पचाससाठी कोषको कठिन उकाली ओरालीहरूः लार्दा, सिउरत, चलाउने, स्यानीखाल, फलाबाङ । जनार्दनहरू रुकुमबाट बतासिएर डेढ दिनमै दाङ आइपुग्थे । उनीहरूको पछि लागेर तन्किँदा मेरा छोटा खुट्टाहरू झन् खिइन्थे । पैताला र खुट्टाका औँलाभरि फोका उठेका हुन्थे र महिनौँसम्म भब्बाउँथे । हिँडाइको मारले एकहप्तासम्म तिघ्रा यति दुख्थे कि हलचलसम्म गर्न सकिँदैनथ्यो । त्यसैले मैले जे निर्णय गरेको थिएँ ठीकै त गरेको थिएँ । ढकढकको स्वर चर्को हुँदै गयो । उनीहरू त दिउँसै गइसके, को आयो फेरि ? मैले अनुमान गरेँ पक्का पनि उदिरामका केटाकेटी होलान् ।

मनलाई सम्झाउन निकै गरेँ । निदाउन कोशिस गरेँ, निद्रा आएन । सबैले छोडेर गएपछि भीममामाले भनेझैँ साँच्चिकै म निष्लाठ्ठिएँ ।
यतिबेला कसैले मेरो कोठाको ढोका ढकढक्यायो । ढकढकको स्वर चर्को हुँदै गयो । उनीहरू त दिउँसै गइसके, को आयो फेरि ? मैले अनुमान गरेँ पक्का पनि उदिरामका केटाकेटी होलान् ।

जब म उठेर ढोका खोलेँ म चकित परिहालेँ “अरे, तपाईँ पनि यतै । कताबाट यति राति ?“

“किन त्यसरी तर्सिएको ? के म तपाईँकी प्रेमिका हुँ र ?“ बदलामा नारीकै मसिनो स्वर मिश्रित खितखित जवाफ प्राप्त भयो । मेरा छक्क परेका नजरहरू उनको चिल्लोचाप्लो अनुहारमा अल्झिए ।

नारीकै बाटुलो अनुहार । साना आँखा, सानो नाक, मसिना ओठहरू । नारीकै गहुँगोरोपन एवम् मुलायमपन । एकैछिनमा म उनको बाहुपासमा ग्वाम्लाङ्ग बाँधिएँ र झन् झन् कसिँदै जान थालेँ । कति न्यानो माया । नरम नरम हात । ताततातो जिउ ।

उनको रापमा तात्तिँदै मैले भनेँ, “तपाईँ पनि उनीहरूसँगै गइसक्नुभोहोला भन्ठानेको थिएँ मैले त ।”
“म तपाईँलाई छोडी किन जान्थेँ र ? म त रातिको साथी । जानै परे तपाईँलाई सँगै लिएर जाउँला ।”

म लाजले खुम्चुक्क खुम्चिएँ ।

ज्याबाले भन्थे मछ्म्याल चौत¥याहरू ताताबरङका हुन्छन् । कुरा र व्यवहार गर्दा बडो होशियारसाथ जोगिएर गर्नुपर्छ । जिब्रो चिप्लियो कि उनीहरूले दाँत समेत खुस्काइदिन्छन् ।

यतिबेला ती कुराहरू मैले बिर्सिएँ ।

यिनी पनि छिवाङ चौताराकै बासिन्दा थिए । उनी हामीभन्दा कता हो कता ताताबरङका त थिए नै तर ताताहरूमध्येमा भने एकदमै चिसा । नाम पनि त्यस्तै । प्रेम विष्ट ।

उनका बलिष्ठ हात आफ्नो जिउबाट फुत्क्याउँदै उनलाई सोधेँ, “तपाईँ किन जानुभएन त तिनीहरूसँग ?“

“उनीहरूसँगै किन जाने म ? आफै जानसक्ने के मेरा हातखुट्टा छैनन् र ?“

उनीबाट सिधा जवाफ सितिमिति पाउनै गाह्रो । हरेक कुरालाई सकीनसकी बाङ्गोटिङ्गो तुल्याउनै पर्ने । ख्यालठट्टा गर्न माहिर ।

“भोकै सुत्न थालेको ? यस्ता हराम मान्छे !“ उनले खाना पकाउनको लागि स्टोभ सल्काए । कोठाभरि मट्टितेलको गन्ध रङमङियो । मैले पनि जुठा भाँडावर्तन धस्काउन थालेँ । उनीसँग खाना पकाइलागेँ । उनी बाहिरै खाएर आका रैछन् । पकाएको भात र तिहुन जति मलाई नै खत्याइदिए ।

खानपिनपछि हात चुठेर दुवैजना एउटै ओछ्यानमा ढल्यौँ । उनले हृदयका गाँठाहरू फुकाउन थाले । जनार्दनहरूसँग सधैँ तात्ताता कुरा गर्ने प्रेम त्यो रातमा मसँग भने चिसा कुराहरू निकाल्न थाले । भिजेका कुराले दुवैको मन चिस्याउनु चिस्याए, जीउ चिस्याए, आँखा चिस्याए, हुँदाहुँदा सिरानी पनि चिस्याए ।

भोलिपल्ट बिहानै जरुरी काम छ भन्दै कोठाबाट निस्किए । दिउँसो तीनबजेतिर हतारिँदै कोठामा आएर मलाई भने “जाम् अब !“

“कहाँ जाने ? म त नजाने भनेर नै बसिसकेँ । जाने भए त हिजै उनीहरूसँग गइसक्थेँ ।“

“काँ होला त्यस्तो ? जाम् जाम् । झोलामा एकजोर लुगा कोचिहाल्नु त ।“

“जादिनँ म त !“

“नगई काँ होला यार ?“ यति भन्दै उनले मलाई तनतनी तान्न पो थाले । चौतारेको बल म के प्रतिरोध गर्न सक्दो हुँ ? अडिनलाई मनले समेत मेरो साथ दिइरहेको थिएन । उनले मलाई तान्दै सानेपाको बाटोसम्म झारे । मेरो आङमा कोठाभित्र लगाउने झुत्राझाम्रा लुगा थिए ।

“बरु, मलाई लुगा फेर्न दिनु । मेरो बेइज्जत नगर्नु न ।“ मैले फुत्किन जोरबल गरेँ, तर मैले उनको चौतारेहात फुत्क्याउनै सकिनँ । त्यताबाट मलाई तान्दै कुपण्डोल पुर्याए । साझाको गाडी आइपुगेपछि गाडीभित्र हुलेर रत्नपार्कको बसपार्कसम्म पुर्याए । त्यतिबेला रत्नपार्कमै थियो लामो दुरीको बसपार्क । उनले मलाई आफ्नो सामानसँगै दाङ जाने बसमा कोचिहाले । मलाई उठ्न र नाइँनास्ती गर्ने मौकै दिएनन् । जान्नँ भन्दाभन्दै पनि उनीसँग नगई करै लाग्यो । एकछिनमै दाङको बस बसपार्कबाट छुटिहाल्यो । न गोजीमा एक पैँसा छ, न त फेर्ने लुगा नै ल्याइएको छ । कस्तो जन्जालमा फसाइदिए यी बड्डाले !

“मलाई यो के गरेको तिम्ले ?“ मैले रोउँलाझैँ गरी उनीसँग रोष प्रकट गरेँ ।

“जनार्दनहरूलाई जित्नु छ । छोडेर जानेहरूदेखि पछि पर्नुहुँदैन । कुनै उपायले पनि अघि पुग्नुपर्छ !“ दिनभर लाग्ने निक्कै लामो र ठाडो उकालो सम्झँदै मेरो जिउ थर्र काम्यो । केही समय बजारमा किनमेल गरेपछि उनले भने, “जाम् अब !“

“उनीहरू हिजै हिँडेका । भेट्टाउनै त कहाँ कहाँ ? कसरी जित्न सकिन्छ ? उनीहरूको हिँडाइ नै फालहाल्दै हिँड्ने ! छिटोछरितो बाटो हिड्न चतुर !“
“छ मसित गज्जबको ओखती ।“ यति मात्र भने उनले ।

भोलिपल्ट बिहानै हामी दाङको तुल्सीपुर बसपार्कमा ओर्लियौँ । दाङको तुलसीपुर बसपार्कबाट उत्तरतर्फको सल्यानरोडतिर लागि पातुखोला तरेर धनबाङको उकालो चढ्नुपर्ने थियो अब । दिनभर लाग्ने निक्कै लामो र ठाडो उकालो सम्झँदै मेरो जिउ थर्र काम्यो । केही समय बजारमा किनमेल गरेपछि उनले भने, “जाम् अब !“ जाम् नभन्दै उनले मेरा पाखुरा चपक्क समातिसकेका हुन्थे ।

चोकबाट उभोँ लाग्नुपर्नेमा उनले त मलाई उँधोतिर पो तान्न थाले ।

“कता जाने हो र उता ?“

“अब नेपालगन्ज !“

“नेपालगन्ज ? किन ?“

“गुर खान !“

उनले मलाई तानिरहे । म लुरुलुरु पछि लागिरहेँ । टरिगाउँ आइपुगेपछि उनले नेपालगंजको कच्चीबाटो छोडिदिए र एरपोर्टपट्टि लागे । एरपोर्टमा पुगेपछि थाहा भयो कि उनले त हामी दुवैजनाको लागि चौरजहारीको लागि प्लेनको टिकट लिइसकेका रहेछन् । उनले बल्ल मलाई टिकट देखाए ।
एरपोर्टभित्रको आरामीकुर्सीमा बसेपछि आफ्नो योजना सुनाएः “जनार्दन बढी तन्किएको भए हिजो बढीमा मोख्ला पुगे होलान् । उनीहरू कालाखेत नपुग्दै हामी भुर्र उडेर चौरजहारी पुगिसक्नेछौँ । त्यहाँबाट लम्किएर हिँड्यौँ भने पाँच घण्टामा तीनचार बजेसम्म मुसिकोट पुगिसक्नेछौँ । उनीहरू अचाक्ली हिँडे भने तीनचारबजेतिर झुल्नेटा र राति छसात बजे पुग्लान् मुसिकोट । म त चौतारामै बसिहाल्छु, तपाईँ उनीहरू आइनपुग्दै ठाँटी ओर्लनुहोला र त्यहाँ उनीहरूको भव्य स्वागत गर्नुहोला । उनीहरू तपाईँको यो सोच्दै नसोचेको करामत देखेर हैरान हुनेछन् । कस्तो लाग्यो जुक्ति ?“

“म सुर्खेत तालिम हुँदा धेरैचोटि चौरजहारी हुँदै हिँडेको छु । चौरजहारीबाट मुसिकोट पुग्न कम्तीमा सातआठ घण्टा त लाग्छ नै । पाँचघण्टामा कहाँ पुग्न सकिनु ?“

“चौरजहारीबाट कालागाउँ, दार्मा हुँदै थारमारेतिर तिर लागे चारपाँच दिन नै लाग्छ नि । जित्नलाई त छोटो बाटो हिँड्नुपर्छ नि त ।“

एकदिन अघि छोडेर हिँडेका जनार्दनहरूलाई जित्न पाइने भइयो भन्ने कुराले म पनि रोमाञ्चित भइहालेँ । गोजीको पैँसा बिर्सिएँ । एकसरो लुगामा आएको कुरा बिर्सिएँ, नवदुलहीसँगको पहिलो तिहार बिर्सिएँ । हुँदाहुँदा आज गाईतिहार हो र पर्सि भाइटीका हो भन्ने पनि बिर्सिएँ । तिहार नै बिर्सिएपछि हजारी बिर्सिएँ । चिल्लेरोटा बिर्सिएँ । गरुवा र पैँसेरी नाच पनि बिर्सिएँ । मनमा यत्ति आयो कि जनार्दनहरूलाई कसरी जित्ने ? नयाँ जितको सम्भावना प्रबल हुँदा पुराना जितका सबै खुशीहरू बिर्सिँदा रहेछन् गरुवा र पैँसेरी नाच पनि बिर्सिएँ । मनमा यत्ति आयो कि जनार्दनहरूलाई कसरी जित्ने ?

एरपोर्टमा प्लेन कुर्दाकुर्दा दश बजिहाल्यो तर प्लेन आइपुगेन । मन अलिकति चिसो भयो । प्रेमलाई नै सोधेँ, “आएन त प्लेन ?“

“दश बजे नआए एघारबजे आउला । एघारबजे उड्यौँ भने पनि साढे चारबजेसम्म सोलाबाङ त कतै नजा ।“

म ढुक्क भएँ ।

एघार पनि बज्यो, प्लेन आएन, “अझै आएन त प्लेन ?“

“बाह्र बजे त कसैगरी आइहाल्छ नि । बाह्र बजे आयो भने पनि पाँच बजे त पुगिन्छ, सोलाबाङ । जबकि उनीहरू टाउकोमुन्टो टेक्दै दौडिएछन् भने पनि छ बजे पुग्नेछन् ।”, प्रेमको आँटमा एकरत्ति कमी नआएको देखी म तीनछक परिरहेको थिएँ ।

प्लेन बाह्रबजे पनि आएन र एक दुई र तीनबजेसम्म पनि आउने लक्षण देखाएन । प्लेन क्यान्सेल भएको खबर पनि गरेन । उफ् ! पछाडि लाग्नेहरूलाई परिस्थितिले पनि पटक्कै साथ दिँदैन ।

क्रमश………….

 30 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top