Free songs
Home / प्रवचन संग्रह / योगमा अनुभव किन हुँदैन ?

योगमा अनुभव किन हुँदैन ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

केही मान्छेहरुको सिकायत हुन्छ कि मेरो ठीक योग नै लाग्दैन । अमृतबेलाको योगमा अनुभव हुँदैन । बाबाले धेरै पटक सम्झाउनुभएको छ कि अमृतबेलाको योग हाम्रो सारा दिनको दिनचर्याप्रति निर्भर हुन्छ । सारा दिन हाम्रो बुद्धियोगको स्वीच अफ हुन्छ, हामी योग नै गर्दैनौँ र अमृतबेलामा मात्र योग गर्न कोशिस गर्छौँ, जसले गर्दा समय लाग्छ । कुनै पनि स्थिर रहेको चिजलाई चलाउन मिहेनत लाग्छ, तर थोरै थोरै चलिरहेको छ भने चलाउँदा धेरै सहज हुन्छ । बाबाले भन्नु भएको छ कि दिनमा बीचबीचमा फुर्सद हुने बित्तिकै एक मिनेट, आधा मिनेट भए पनि अशरीरीपनको अभ्यास गर, अर्थात मलाई याद गर र ट्राफिक कन्ट्रोल गर । यदि हामीले यसो गर्दैनौँ भने अमृतबेलामा योग लाग्न मुश्किल हुन्छ । यसको लागि तपाईँ प्रयत्न गरेर हेर्नुहोस्, सारा दिनमा बीचबीचमा आफ्नो समय सेट गरेर बाबासंग योग लगाउनुहोस् । योगमा मन एकाग्र हुन सकेन भने कम-से-कम बाबाको गीत सुन्नुहोस्, बाबाको महावाक्य पढ्नुहोस् वा सुन्नुहोस्, अनि अवस्था ठीक हुन्छ । यो अभ्यासबाट थोरै दिनमा तपाईँलाई दिनमा पनि र अमृत बेलामा पनि राम्रो योग लाग्नेछ । तर यसमा वातावरणको पनि कनेक्सन हुन्छ । यदि वातावरणलाई पनि तपाईँले यस्तो बनाउनुभयो भने यसले पनि तपाईँलाई मदत गर्नेछ । आश्रमको वातावरण एक प्रकारको हुन्छ घरको वातावरण अर्कै प्रकारको हुन्छ । तर बाबाले भन्नुहुन्छ, ‘घरको वातावरण पनि आश्रमको जस्तै बनाउ,’ अर्थात घरमा नै आश्रमको वातावरण निर्माण गर्नुहोस् । भड्कने मन जहाँ पनि भड्कन सक्छ, घरमा होस् कि आश्रममा ।  मनमाथि वातावरणको असर पर्दछ । घरमा पनि हामी संगठित रुपमा योग गर्दछौँ, योगयुक्त भएर आपसमा रहन्छौँ भने घरलाई पनि आश्रमको जस्तो बनाउन सकिन्छ । मानिलिऊँ घरमा पति-पत्नी दुवै ज्ञानमा चलेका छन् भने दुवैजना मिलेर बाबालाई याद गर्ने हो भने धेरै फरक पर्छ । तर दुवैजना अलग-अलग स्थानमा, अलग-अलग समयमा र आ-आफ्नो तरीकाबाट योग गर्दा वातावरण श्रेष्ठ बन्न सक्दैन । दुईजना मध्ये एकजना संदलीमा बसेर योग गराउने र अर्कोजना तल बसेर योग गर्ने हो भने दुवैजना एलर्ट भएर योग चल्नेछ । यसबाट तपाईँलाई पुरुषार्थमा समेत मदत मिल्नेछ । तपाईँ जस्तो भाइब्रेशन निर्माण गर्नुहुन्छ, वातावरण पनि त्यस्तै बन्छ । तर तपाईँले नियमित रुपमा योग गर्नु र गराउनुपर्छ । यस्तो नसोच्नुहोस् कि म त गृहस्थी हुँ, यो त घर हो थोरै आश्रम हो र ? सबै मिलेर योग गर्ने ? घरमा सबै ज्ञानमा चलेको हुनुहुन्छ भने सबै मिलेर संयुक्त रुपमा योग गर्नुहोस् । यसबाट एकअर्कालाई एकदमै राम्रो मदत मिल्नेछ र घरको वातावरण पनि राम्रो हुनेछ । योग लगाउनको लागि तपाईँले एलर्ट भएर बस्नुपर्छ । तर तपाईँ शुरुदेखि नै आज पनि योग लाग्छ कि लाग्दैन भनेर सोचेर बस्नुहुन्छ, तपाईँ शुरुमै कमजोर संकल्प गर्नुहुन्छ भने योग कसरी लाग्छ ? तपाईँ शुरुदेखि नै श्रेष्ठ वातावरण बनाएर बस्नुहोस् । योगको भाइब्रेशन बनाउनुहोस्, केही गीत बजाउनुहोस् । जसरी सेन्टरमा रातो बत्ती बालिन्छ, अगरबत्ती बालिन्छ, क्यासेट बजाइन्छ, त्यस्तै आफ्नो घरमा पनि वायुमण्डल बनाउनुहोस् । अनि हेर्नुहोस् योग लाग्छ कि लाग्दैन । किन लाग्दैन ? एक दिन लागेन भने अर्को दिन लाग्न सक्छ । दोस्रो दिन लागेन भने तेस्रो दिन त अवश्य लाग्छ । ‘करत-करत अभ्यास के जडमति होत सुजान ।’ अभ्यास गरेमा के हुँदैन ?

गीतामा पनि यसको उल्लेख छ । प्रश्न सोधियो कि ‘यो मन एकदमै चञ्चल छ, यो काबूमा कसरी आउँछ ? उत्तर दिइयो कि ‘दुई चिजबाट मन काबूमा आउँछ । एक हो वैराग र अर्को हो अभ्यास ।’ यदि यस पुरानो दुनियाँप्रति तपाईँको बेहदको बैराग आएको छैन भने तपाईँलाई योग लाग्न सक्दैन, पटक पटक मन यताउता भागिरहन्छ । मन पटक पटक दुनियाकै ती चिजहरुतर्फ नै किन गइरहन्छ ? अरु चिजहरु पनि त छन्, फेरि पनि तिनै चिजहरुपट्टि किन जान्छ मन ? कुनै कारण त होला ? तपाईँ शिवबाबाप्रति मन लगाउन चाहनुहुन्छ, तर मन त्यता जाँदैन, पुरानो दुनियाँको तर्फ नै जान्छ । किन ? तपाईँले नचाहँदानचाहँदै पनि किन मन त्यता जान्छ ? किनकि तपाईँमा बेहदको बैराग आएकै छैन । बाबा भन्नुहन्छ, ‘यी आँखाहरुले जे देखिरहेका छन्, सब विनाश हुनेवाला छन् ।’ यो दुनियाँ भष्मीभूत हुने वाला छ । यो भंभोरको आगो लाग्ने वाला छ । यो सम्झेर पनि हाम्रो मन उतै जान्छ । कथाकार राजा भ्रतृहरिको कथा सुन्नुभएको छ ? भ्रतृहरि एक राजा थिए, उनलाई वैराग आयो र तपस्या गर्ने ईच्छा भयो अनि आफ्नो राज्यभाग र सबथोक छोडेर जंगल गइरहेका थिए । चाँदनी रात थियो हिँडिरहेको बेला बाटोमा कुनै चिज चम्किरहेको देखियो । भ्रतृहरिलाई त्यो वस्तु उठाउने मन भयो, किनकि उनले ठाने कि त्यो वस्तु, हो न हो, सुनको असरफी नै हो । उनले जब त्यो चम्किलो वस्तु उठाए, उनको हात खराब भइहाल्यो, किनकि त्यो त कसैलै पान खाएर थुकेको थुक थियो । पानमा कुनै चिज मिसाइएको थियो होला, जुन चाँदनी रातमा चाँदीसरह चम्केको होस् । तब उनलाई अनुभव भयो कि यो मैले के गरेँ ? उनले आफूले आफैलाई भने, ‘अरे, भ्रतृहरि, तैँले आफ्नो अशरफीले भरिएको खजाना त सबै छोडिदिइस् र सम्झिइस् कि म त ठूलो त्यागी र बैरागी बनिसकेँ, जङ्गलमा गइरहेको छु र ठूलो तपश्वी बनूँला । तर तेरो मन त अझै अशरफी नै खोजिरहेको छ ?’ यसबाट उनले ठूलो पाठ सिके र वैराग्यमाथि एक ठूलो ग्रन्थ नै लेखे, जसको नाम हो भ्रतृहरि वैराग शतक । यसमा १०० श्लोकहरु वैराग मनमा कसरी ल्याउने भन्ने बारेमा लेखिएको छ । प्रत्येक सन्यासी बन्नेहरुले यो पुस्तक अवश्य नै पढ्छन् । यो संस्कृतमा लेखिएको छ ।  यसमा भनिएको छ कि ‘हे मानव, यो भोग तिमीले भोगिरहेका छैनौ, उसैले तिमीलाई भोगिरहेको छ । जस्तो कुकुरले हडडी चपाउँदा उसको बङ्गाराबाट खून निस्कन्छ र आफ्नै खूनको स्वाद लिएर सम्झिन्छ कि यो हड्डी एकदमै स्वादिष्ट छ । उसलाई थाहा हुँदैन कि यो उसैको खून हो । उसले सम्झन्छ यो खून हड्डीबाट मिलिरहेको छ ।’ हड्डीबाट के मिल्थ्यो ? यो भोग सुख होइन, यो भोग आफ्नै शक्ति हो, जसलाई सुख सम्झेर भाग्दैछौ । तर भोगबाट नै तिमीलाई सुख मिलिरहेको छ । जस्तो तिमीलाई आलु-मटरको तरकारी राम्रो लाग्छ भने सँधै त्यही तरकारी खाऊ । तर घरमा पनि सँधै आलु-मटरकै तरकारी बनाउन शुरु गरिदिए भने तिमीले नै भन्नेछौ कि के यो घरमा अरु कुनै तरकारी छैन आलु-मटर सिवाय ? यसको अर्थ आलु-मटरमा सुख छ भन्ने जुन भ्रान्ति थियो, वास्तवमा त्यसमा पनि सुख रहेनछ । सुख तपाईँको आफ्नो टेन्डेन्सीमा हुन्छ । बुझ्नुपर्ने कुरा यो छ कि सुख तपाईँको आफ्नै विचारधारा र मान्यतामा निर्भर हुन्छ । तसर्थ तपाईँभित्र दुनियाँ प्रति बेहदको बैराग छ भने योग सहज लाग्नेछ र कैयौँ अनुभूतिहरु हुँदैजानेछन् ।

बेहदको बैराग कसरी धारण गर्ने ? भनाइ छ ‘दुनिया न जीती जानो बीती सो बीती जानो ।’ यदि हामीले यी दुई कुरा जान्यौँ भने र यसै अनुसार चल्यौँ भने हामीमा वैराग आउनेछ । पुराना कुराहरुलाई न कोट्याऊ । ‘दुनिया न जीती जानो’ अर्थात यो सम्झ कि यी सब मरिसकेका छन्, मलाई निमित्त मात्र बन्नुछ, बाबाको श्रीमत मैले अनुसरण गर्नुछ । तब तपाईँ अगाडि बढ्नसक्नुहुन्छ, हैन भने जहाँको तहीँ रहनुहुनेछ । कथा सुनाइन्छ नि कसैलाई यो किनारबाट त्यो किनार जानु थियो नदी पार गरेर । ऊ रातिमा डुँगामा बस्यो र बहना खियाउँदै रह्यो । बहना चलाउँदा पानीबाट आवाज आइरहेकोले उसले ठान्यो डुङ्गा चलिरहेको छ । बिहान भएपछि उसले देख्यो कि ऊ त जहाँको तहीँ रहेछ । उसलाई आश्चर्य भयो, मैले त रातभर बहना खियाइरहेको थिएँ, तर पाल्लो किनारमा किन पुग्न सकिन ? हेर्दा त त्यस डुङ्गालाई जुन डोरीले बाँधिएको थियो त्यो त फुकाउनै बिर्सिएछ । डोरी बाँधिएकै थियो, तर बहाना चलाइरह्यो, अनुभव पनि डुङ्गा चलेको जस्तो भयो, तर परिणाम जहाँको तहीँ । यसै प्रकार हामी पनि योग त गरिरहन्छौँ, म आत्मा हुँ, ज्योतिस्वरुप हुँ, शान्तिस्वरुप हुँ, प्रेमस्वरुप हुँ, यस्तै बहाना खियाइरहन्छौँ । ए भाइ कसले भन्यो कि तपाईँ आत्मा होइन भनेर ? तपाईँ आत्मा त जरुर हो, तर तपाईँलाई यस पुरानो दुनियाँबाट वैराग भएकै छैन, डुङ्गाको डोरी त बाँधिरहनुभएको छ, छिनाउनुभएकै छैन । यसैले हाम्रो जीवनको डुङ्गा जहाँको तहीँ रहिरह्यो । तपाईँ कुनै काम गरिरहनुभएको छ, गरी नै रहनुभएको छ । कुनै विधि छैन, जुक्ति छैन, यसरी नै गरिरहनुभएको छ । त्यो त व्यर्थ नै हुन जान्छ, विधिपूर्वक गरेको कामबाट नै सिद्धि मिल्छ, होइन भने व्यर्थ कार्य भैहाल्छ । तपाईँ त्यो किनारामा जान चाहनुहुन्छ, त्यो नयाँ दुनियाँमा जान चाहनुहुन्छ, तर यो किनारालाई पनि छोड्न चाहनुहुन्न । पहिले यस दुनियाँलाई, यस किनारालाई छाड्नुहोस् । अनि डुङ्गामा बस्नुहोस् । अनि मात्र बहाना खियाउनुहोस् । अवश्य पनि पाल्लो किनारामा पुग्नुहुनेछ । मनबाट दिलबाट बेहदको बैराग हुनुपर्छ ।

दोस्रो चाहियो अभ्यास । अभ्यास गर्न नछोडौँ । एक दिन योग लागेन भने अर्को दिन प्रयत्न गर्नुहोस् । दोस्रो दिन पनि योग लागेन भने तेस्रो दिन प्रयत्न गर्नुहोस् । थाकेर नछाड्नुहोस् । योग किन लाग्दैन ? अवश्य लाग्छ । तपाईँ अभ्यास गर्दै जानुहोस्, गर्दै जानुहोस्, एक दिन सफलता जरुर मिल्नेछ । फेरि तेस्रो कुरा हो प्रेम । बाबासंग अटूट प्रेम, लभ हुनुपर्‍यो । त्यसको साथै हाम्रो सर्वसम्बन्ध हुनुपर्‍यो, त्वमेव माताश्चः, पिता त्वमेव, त्वमेव बन्धुश्च, सखा त्वमेव । बाबा नै हाम्रो संसार हुनुपर्‍यो । तब योग कसरी नलाग्ला र ? योगमा अनुभूति कसरी नहोला ? अवश्य हुनेछ ।

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 979 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top