यालमायाँ

मित्रहरु म आज एउटा कथा भन्दैछु । धेरै वर्ष अगाडिको, एउटा गरीब गोरे कामीको ।

ऊ असाध्यै पुड्को, कुरुप र फोहोर देखिन्थ्यो ।

त्यसबेला गोरे कामी फलामका भाँडा बर्तन बनाउने र मर्मत गर्ने आरनको काम गर्दथ्यो । आरनले मात्र उसलाई हातमुख जोर्न हम्मेहम्मे पर्ने भएकोले एकजना गाउँले साहुको घरमा पनि खनजोत गर्ने काममा सघाउँथ्यो र केही अन्नपात बटुल्थ्यो । उससंग अर्को एउटा सिप पनि थियो – सारंगी बजाउने र गीत गाउने । यो काम गाइनेहरुले गर्ने भए पनि त्यस गाउँमा गाइनेहरु नभएकोले उनीहरुको अभावको पूर्ति पनि उसैले गरिरहेको थियो । ऊसले गाउँलेहरुले बोलाएको खण्डमा रातको बखत गाउँलेको घरमा जाने गर्थ्यो । आँगनमा वा बार्दली बाहिरै बसेर गाइनेगीत वा चर्खा गाउने गर्थ्यो, विभिन्न घटनालाई गीतमा उनेर – ‘हे बरै हे बरै ।’ बाहिरै बस्थ्यो, यस अर्थले कि ऊ अछुत वर्गको थियो ।

ऊ दिनभर आरनको काममा व्यस्त रहन्थ्यो । आरनको काम गराउन तन्नेरीहरुभन्दा पनि केटाकेटी आइमाइ र बुढाबुढीहरु बढिजसो आउँथे । उनीहरुलाई उसले गफले मख्ख पार्थ्यो । गफ गर्नमा ऊ औधि सिपालु थियो । हेर्दा कुरुप देखिए पनि ऊ इमान्दार दयालु र मिलनसार भएकोले सबैले उसलाई मन पराउँथे । उसको आरनमा यालमायाँ नाम गरेकी केटी भने बारम्बार आउने गर्दथी । यालमायाँ गोरेले काम गर्ने साहुकी एक मात्र छोरी थिई ।

यालमायाँ यस्तै बाह्रतेह्र वर्षकी केटी थिई । साहुकी छोरी भएकीले होला सफा सुन्दर र चिटिक्क परेकी थिई । उसलाई गीत कथा भन्यो कि हुरुक्क हुन्थी । घरमा पनि आफ्नी बज्यैबाट गीत कथा सुनाउन कर गरिरहन्थी । उसलाई यतिले पुग्दैनथ्यो । गोरेले विभिन्न घटना जोडेर गफलाई कथामय तुल्याउने भएकोले गोरे कामीको आरनमा विभिन्न बहाना बनाएर हरेक दिनजसो पुगिरहन्थी । उसको घरमा गोरेलाई बोलाउन र गाइनेगीत सुनाउन आफ्ना आमाबालाई कर गरिरहन्थी ।

उमेरले गोरे धेरै बुढो नभए पनि हेर्दा भने अधबैँशे देखिन्थ्यो । त्यसो त गोरेका यालमायाँको उमेरका छोराछोरी पनि भैसकेका थिए । तैपनि गोरे पनि आँफूलाई तन्नेरी नै ठान्थ्यो । हुनपनि उसका उमेरका केही तन्नेरीहरुको त बिहे समेत भैसकेको थिएन । आरनमा आउने युवतिलाई यसो छलेर आँखा झिम्क्याइदिन्थ्यो । युवतिहरु पेट मिचिमिचि हाँस्थे । उ झन हौसिन्थ्यो । यालमायाँलाई पनि यस्सो आँखा झिम्क्याउन बेर लगाउँदैनथ्यो । तर यो भाषा यालमायाँले बुझ्दैनथी र उसले पनि जवाफमा आँखा झिम्क्याइदिन्थी । जवानीमा उक्लँदै गरेकी एक कलिली यौवनाले आँखा झिम्क्याइदिँदा गोरे खुशीले पागल हुन्थ्यो । तरंगित हुन्थ्यो र सारा संसार जिते जस्तै हुन्थ्यो उसलाई ।

साहुको घरमा गोरे काममा निस्केको बखत वा राति गीत गाउन पुगेको बखत गोरेलाई अनेक बहानाले पानी दिने, खाना दिने, कर गरीगरी खाना थपिदिने, गोरेले मन पराउने खाना खोजीखोजी ल्याइदिने गर्थी यालमायाँले । उसले सोच्थी गोरे साँच्चिकै साहुकै परिवारमा जन्मेको भए ऊ कति ठूलो मान्छे हुन्थ्योहोला । गोरेले नजानेको कुरा केही छैन । यस्तो प्रतिभालाई सबैले सम्मान गर्नुपर्दछ, मायाँ गर्नुपर्दछ । यसलाई छिछि दूरदूर गर्नुहुँदैन । अरुले तैँ भनेर बालाउँदा उसले त तपाईँ नै भन्थी गोरेलाई । आमाबाको आँखा छलेर गोरेलाई बोलाउँथी – ‘गोरे अंकल भित्रै आइस्यो न हजुर पनि मान्छे, हामी पनि मान्छे ।’

यालमायाँले गोरेलाई साँच्चिकै मायाँ गर्दथी । तर यो मायाँलाई गोरेले अर्कै बुझ्न थालिसकेको थियो । गोरेले पनि अब विभिन्न निहुँ पारेर यालमायाँलाई भेट्ने, गफ गर्ने, उसलाई मन पर्ने कथा सुनाइदिने, गीत गाइदिने र विभिन्न बहाना बनाई यालमायाँको शरीर छुने समेत गर्न थालिसकेको थियो । गोरेले आफ्नो परिवार र केटाकेटीलाई बोझको रुपमा लिन थालिसकेको थियो । अनेक निहुँ झिकेर आफ्नी स्वास्नी र छोराछोरीसंग झगडा गर्थ्यो र हरेक कुरामा यालमायाँको उदाहरण पेश गर्थ्यो ।

यालमायाँको उमेर बढ्दै गयो । उसको जवानी भरिँदै गयो । उसको रुप, सरलता र सौम्यता देखेर उसलाई मन पराउनेको संख्या दिनप्रतिदिन बढ्दै थियो । अरुले यालमायाँलाई मन पराएको गोरेले देखिसहन्नथ्यो । उसले त यालमायाँलाई आफ्नै सोच्न थालिसकेको थियो । तर उसले यो कुरा बुझ्न आवश्यक ठानेन कि एक सम्पन्न र सम्मानित साहुकी पठित, सुन्दरी, एक्ली छोरीले एक कंगाल कुरुप फोहोर तथा बुढो मान्छेलाई अपनाउन किन लालायित छे ?

उसकी स्वास्नीले पनि सम्बन्ध बिग्रँदै गएको कारण अब बुझिसकेकी थिई । आफ्नो पोइ यालमायाँको लागि मरिहत्ते गर्छ भन्ने त बुझी तर यालमायाँले किन यसरी गोरेको लागि मरिहत्ते गर्छे भन्ने बुझ्न सकेकी थिइन । ऊ चकित थिई । उसले आफ्नो पोइलाई सम्झाउन बाहेक केही गर्न सक्तैनथी । यालमायाँ अन्नदाता साहुकी एक्ली छोरी थिई उसलाई चुइँक्क बोले उसको परिवारकै उठीबास लाग्न सक्थ्यो । तसर्थ उ विवश थिई ।

यालमायाँ र गोरेको हिमचिम बढ्दैगयो । यसमा न साहुको परिवारले र समाजले औँला ठड्यायो । न यालमायाँले नै गोरेको अर्कै बासनाको गन्ध पाई । न त गोरेले के कारणले आफूले यालमायाँलाई चाहँदैछु भन्ने विषयमा सोच्ने फुर्सद पायो । कसैले यस सम्बन्धलाई गलत अर्थ लगाउने कल्पनासम्म पनि गर्न सक्तैनथ्यो । पानीजस्तै बग्ने समय बग्दै गयो ।

धेरै दिनपछि । एकदिन फेरि गोरेको लोग्ने स्वास्नीको झगडा पर्यो । गोरेले आजै आफ्नी स्वास्नीउपर सौता हाल्ने धम्की दियो, त्यही यालमायाँलाई भित्र्याएर । स्वास्नीले लाख बिन्ति गरी – ‘बरु अरुलाई ल्याऊ । साहुको परिवारलाई नछोऊ । भोलि हामी सबैको एकै चिहान हुनेछ ।’ गोरेले ढिपि गरिराख्यो । स्वास्नीको पनि झनक्कै रिस उठ्यो र भनिदिई – ‘जा मर्द होस् भने ल्याएर देखा ।’

गोरे पनि मर्द नै थियो । अब स्वास्नीको अगाडि नामर्द सावित हुनु पनि कम लज्जास्पद कुरा थिएन । स्वास्नीलाई लछारपछार पार्न छोडेर ऊ बाहिरियो ।

नभन्दै रात नछिप्पिँदै एकजना केटी ल्याएर गोरे आफ्नो घरमा भित्रियो । त्यो केटी उही यालमायाँ थिई । यो देखेर स्वास्नी अवाक् भई । उसको आँशु सुकिसकेको थियो । ऊ रुनकराउन चिच्याउन सकिन । उ बसेको भूइँ घुमिरहेको जस्तो भैरहेको थियो ।

गोरेले अर्कै कोठामा लिएर गयो यालमायाँलाई । गोरेले अहिलेसम्म यालमायाँलाई छुन हिम्मत गर्नसकेको थिएन । स्वास्नी हिक्का छोडेर रुन थाली । यो देखेर उसका सबै केटाकेटीहरुमा पनि रुवावासी चल्यो ।

उता गोरे र यालमायाँबीच सम्वाद् शुरु भयो । गोरेले नै पहिलो कुरा राख्न हिम्मत गर्यो- ‘मैयाँसाब् म स्वयम् हजुरलाई लिन गएको थिएँ । तर मैले प्रस्ताव राख्न नपाउँदै हजुर नै लुरुलुरु मेरो पछि आइबक्स्यो । आखिर किन र कसरी ?’

यालमायाँले प्रष्टयाउन थाली – ‘गोरे अंकल, मेरो बुबाले मलाई अर्कै केटासंग बिहे गराउन चाहिरहनुभएको छ । त्यो केटा सम्पन्न भएपनि सिर्जनशिल छैन । इमान्दार छैन र बानीबेहोरा समेत ठीक छैन । तसर्थ त्यस्तो केटासंग बिहे गरेर मेरो भविष्यलाई बर्बाद पार्न चाहन्न ।’ गोरे अवाक् भयो । तर गोरे आँफैँसंग बिहे गरे कसरी यालमायाँको भविष्य सुरक्षित हुनसक्ला भन्ने सोचेर भने झल्याँस्स हुनपुग्यो ।

गोरेले अरु केही भन्न सकेन, यति भन्यो – ‘भन्दै गैबक्स्योस् मैयाँसाब् ।’ मैयाँले फेरि कुरा अगाडि बढाई ‘नारायण पढेलेखेको समझदार सुन्दर छ । ऊ सिर्जनशिल छ । मिहेनति छ सबथोक छ । ऊ भोलि मेरो बुबा जस्तै सम्पन्न हुनसक्छ । म उसलाई असाध्यै मन पनि पराउँछु । तर उसको जात र गरिबीको कारणले बुबाले उसंग मेरो बिहे गर्न किमार्थ दिनुहुन्न । तसर्थ म भागेर आएकी ।’

गोरे अक्क न बक्क पर्यो । उसले सोच्यो, ‘मन पराउने एउटालाई, भाग्ने अर्कोसंग ? यो कसरी सम्भव होला र ?’

‘हजुर’ यति भन्नसक्यो गोरेले ।

मैयाँ भन्दै गई – ‘बिन्ति छ, गोरे अंकल, मलाई नारायणको घरसम्म पुर्याइदिनुहोस् । म उसंग आँफै कुरा गर्छु ।’ गोरे तीनछक पर्यो ।

गोरेले शंका निवारण गर्न लामो श्वास फेरेर लर्बराउँदै हिम्मत गरेर सोध्यो – ‘उसोभए हजुरले मलाई विश्वास गरिबक्सिन्न  ? याने मायाँ गरिबक्सिन्न ?’

‘विश्वास गरेरै त तपाईँको पछि लागेर आएँ । मायाँ किन नगर्नु । तपाईँलाई असाध्यै मायाँ गर्छु र गरिरहनेछु, आदर गर्छु र सम्मान पनि गर्छु ।’

‘अनि नारायणसंग नि ?’ चकित भयो गोरे

‘उल्लाई म प्रेम गर्छु ।’

‘मायाँ र प्रेम भन्ने कुरा कसरी फरक हुनसक्छ ?’

‘एकदमै फरक कुरा हो । अंकल, मलाई ढिला भइसकेकोछ । प्लिज, मलाई त्यहाँसम्म छिटो पुर्याइदिनु । मेरो आमाबाले भागेको पत्तो पाइसक्नु भएको छ । यहीँसम्म आउनसक्नुहुन्छ ।’

यो सम्वाद गोरेकी स्वास्नीले पनि अवाक् भई सुनिसकेकी थिई ।

गोरे अब यालमायाँलाई लिएर सरासर केही नबोलेर नारायणको घरतर्फ लाग्यो । यालमायाँलाई छिट्टै नारायणको घरसम्म पुर्याई ऊ एक्लै फर्कियो । उसलाई आकाश नै खसेको भान भैरहेको थियो । उसले साहुको रिसका पारा सम्झ्यो । यालमायाँलाई भगाएर लाँदा एकदुईजना बाटोमा भेट भएका थिए, उनीहरुले जिब्रो टोकेको कुरा सम्झ्यो । स्वास्नीसंगको झगडाको अन्तिम अंश सम्झियो । यी सबै घटनाले निम्त्याउने भोलिको परिणतिको कल्पना गर्यो । उसलाई भाउन्ने भएर आयो । नजिकै नदी सुस्साइरहेको थियो । उसले गुनगुनायो ‘यालमायाँको गन्ति छैन गोरे कामी सकसक ।’ अनि झ्वाम्म नदीमा हाम फाल्यो ।

भोलिपल्ट । गाउँभरि हल्ला भइरहेको थियो ‘पालेको मुसाले थैली काट्छ भनेको यही हो । आखिर नारायणले साहुकै कामदार गोरेको मद्दत लिई यालमायाँलाई भगाइछाड्यो, काँतर गोरे चाँहि स्वास्नीसंगको सानो झगडाले आत्महत्या गरी मर्यो’ भनेर ।

597 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *