Free songs
Home / प्रवचन संग्रह / मौलिक शक्तिहरु

मौलिक शक्तिहरु

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

हामीहरु यहाँ ईश्वरीय विश्व विद्यालयमा जुन पुरुषार्थ गर्छौँ त्यसलाई रुहानी अर्थात अलौकिक पुरुषार्थ भनिन्छ । यस पुरुषार्थको लागि हामीले केही मौलिक शक्तिहरुको विकास गर्नुपर्दछ । यसमध्ये पहिलो हो सुन्नु । जब हामी क्लासमा आउँछौँ, कोही बहिनीले मुरली सुनाउँदा मुरली अथवा ज्ञान कसरी सुन्ने ? त्यस्तै संसारमा रहँदा के सुन्ने ? र के नसुन्ने ? के सुनेर पनि नसुन्ने ? यो पनि जान्न आवश्यक छ । सारा दिनभर हाम्रो जाग्रत अवस्थामा कान खुलै रहने भएकोले सुन्नमै व्यतित हुन्छ । सुन्दा पनि कसैको निन्दा सुन्ने गर्छौँ वा कसैको चुक्ली सुन्ने गर्छौँ भने हामीले विकर्म गरिरहेका हुन्छौँ, तर बाबाको महिमा सुन्छौँ भने सुकर्म गरिरहेका हुन्छौँ । तसर्थ के सुन्ने ? र के नसुन्ने ? भन्ने कुरा हामीमै निर्भर रहन्छ ।

दोस्रो हो, सम्झने । बाबा भन्नुहुन्छः जो ज्ञान हामी सुन्छौँ र सुनेर पनि सम्झँदैनौँ भने त्यो सुनेको बेकार छ । जे सुनेका छौँ, त्यसलाई पूरै सम्झेर प्राक्टिकलमा ल्यायौँ भने सुनेको पनि फाइदा छ ।

तेस्रो हो, देख्ने । कसरी देख्ने ? मनको आँखाले । बाबा भन्नुहुन्छ ‘बच्चाहरु हो, तिमीहरु आत्मा हौ । यस शरीरमा निवास गरेका छौ । यो संसार एउटा यात्रालय हो । तिमीहरुको घर परमधाम हो । म पनि आत्मा हुँ तर परम हुँ । म पनि परमधाममा बस्छु ।’ यस्तै अरु मान्छेले पनि भन्ने गर्छन्, यो संसार एक यात्रा हो, आखिर एक दिन हामी यहाँबाट जानुछ । तर कहाँ जाने ? भनिन्छ कि परलोक निर्वाणाधाम ब्रह्मलोक जाने हो । बाबाले हामीले स्पष्ट समझ दिनुभएको छ कि सूर्य, चन्द्रमा, तारागणभन्दा पनि पर एक लोक छ, जहाँ स्वर्णिम रातो प्रकाश छ, जस्तो कि सूर्योदय वा सूर्यास्त हुँदा क्षितिजमा रातो र पहेँलो मिश्रित प्रकाश देखिन्छ । तर त्यो स्थुल प्रकाश होइन, जुन यी स्थुल आँखाले देख्न सकियोस् । आकाशपुरीमा होइन, प्रकाशपुरीमा । आकाशभन्दा पनि पर । यी पाँच तत्वभन्दा पर एक लोक छ, त्यो परभन्दा पनि पर छ । त्यही दुनियाँबाट हामी यहाँ आएका हौँ । त्यस दुनियाँलाई सम्झन सकिन्छ, देख्न सकिँदैन । यदि मनको आँखाले देख्न सक्ने हो भने मन उतै बस्छ । जसलाई त्यो लोक देख्न कठिनाइ हुन्छ, उसले बारम्बार भन्छ कि योग लाग्न सकेन । फेरि त्यो शान्तिलोकमा शिव बाबा एक मनमोहक ज्योतिर्विन्दू चम्किरहनुभएको अनादि, अविनाशी तारा हुनुहुन्छ, एक परम सत्ता छ, त्यो देख्नको लागि मन एकाग्र हुनु आवश्यक छ, त्यहाँबाट आएको शान्ति, सुख, आनन्द, प्रेम, पवित्रताको प्रकम्पन लहर आइरहेको छ, तर योग नजान्नेले देख्न पाउँदैन । यसैले भारतमा जो आध्यात्मिक ग्रन्थ छ, जसलाई दर्शन भनिन्छ- सांख्य दर्शन, न्याय दर्शन, वेदान्त दर्शन । किनकि सुन्नु त यस्तो, सुनाउनु पनि यस्तो पो । उनको वर्णन पनि यसरी गरिन्छ, जसरी कि मनमा चित्र देखिन्छ । यसलाई शब्दचित्र भनिन्छ । कुनै मनोवैज्ञानिकले भनेका छन् कि व्यक्तिले जे कुरा सुन्छ, त्यसको चित्र मनमा चित्रित गर्छ । कसैलाई कुर्सी वा हात्ती भन्ने बित्तिकै उसको मनमा कुर्सी वा हात्तीको चित्र आइहाल्छ । यसरी नै जसरी हामी परमधाम, परमधाममा बसेका शिव र म ज्योतिर्बिन्दू त्यहीँ बसेको चित्र जसको मनमा आउँछ, उसको चेहरामा मुस्कुराहट आउँछ, आनन्द आउँछ र म त्यहीँ बसेको छु र मलाई शिव बाबाले हेरिरहनुभएको छ भन्ने कुरा देख्न सक्छ । यसलाई भनिन्छ Power to visualize.  नत्र यताउता हेर्दै बस्यो, हातखुट्टा मोल्यो बश् । यस्ताले परमधाम र परमात्मा देख्न सक्दैनन् ।

यसरी बाबाले स्वर्गको बारेमा भन्नुहुन्छ, ‘उहाँ सुख नै सुख हुन्छ । उहाँ दुःखको नामोनिशान नै हुँदैन । उहाँ अकाल मृत्यू हुँदैन । उहाँ कुनै अप्राप्त वस्तु हुँदैन, जो पाउनको लागि उत्कण्ठा होस् । तर धेरैजसो धर्मग्रन्थहरुले यही भनी आएका छन् कि यो संसार पहिलेदेखि नै दुःखले भरिएको छ । केही व्यक्तिले आफ्नो प्रियजनले यस संसारमा शरीर छोडेपछि अखबारमा छपाउँछन् कि उनी स्वर्गवासी भए । बाबाले भन्नुहुन्छ कि तिनीहरुलाई पत्र लेखेर सोध कि स्वर्ग कहाँ छ भनेर । फेरि स्वर्ग गएकै हो भने किन रुने ? किनकि स्वर्गमा सुखै सुख छ । यदि काका वा मामा कोही स्वर्ग गए भने बरु मालपुरी खाऊ, किन दुःख मनाउँछौ ? तर त्यसको विषयमा जान्न पनि खोज्नुपर्‍यो । तात्पर्य के हो भने बाबाले वर्णन गरेको स्वर्ग हाम्रो मनमा आउँछ कि आउँदैन ? यदि आउँछ भने हाम्रो पुरुषार्थ पनि त्यस्तै हुनेछ ।

ब्रह्मा बाबाको व्यापार ठूलाठूला राजा महाराजाहरुसंग थियो । हीराको व्यापारले गर्दा अथाह सुख सम्पत्ति थियो । तर पनि उहाँले किन सबै त्यागिदनुभयो । किनकि जब उहाँलाई स्वर्गको साक्षात्कार भयो, उहाँलाई ज्ञान मिल्यो र त्यो चित्र उहाँको मनमा छापियो । त्यसको रुपरेखा उहाँको मनमा स्पष्ट थियो । यसैले उहाँले स्वर्गको नम्बर वान विश्व महाराजा बन्नको लागि पुरुषार्थ गर्नुभयो । स्वर्गको तस्बीर उहाँको सामुन्ने स्पष्ट थियो र त त्यसको तुलनामा उहाँको अगाडिको हीरा कोइला सरह देखिन थाल्यो । जबसम्म हाम्रो मनमा ज्ञानको स्पष्टता एक चित्र समान देखिँदैन, तबसम्म हाम्रो मन त्यसमा एकाग्र गर्न सकिँदैन ।

यसै प्रकार बाबाले नरक वा पुरानो दुनियाँको बारेमा बताउनुहुन्छ कि पुरानो दुनियाँ पतित छ । नरक समान छ । हरेकमा पाँच विकारले भरिएको छ । एकले अर्कालाई दुःख नै दुःख दिने गर्छन् । कलियुग हो, कलियुगमा कलह कलह मात्र हुन्छ । मनमा कलह, घरमा कलह, समाजमा कलह, देशमा कलह, पूरै संसारमा कलह छ । यसमा वैराग आउनुपर्‍यो । यो जानेर पनि हाम्रो मन पुरानो संसारका व्यक्ति, वस्तु वैभव र सम्बन्धको चाहना हुन्छ भने यसलाई के भन्ने ? यस संसारका प्रत्येक व्यक्तिको भित्र फोहोरी संस्कारले भरिएको छ । यस दुनियाँमा कोही पनि व्यक्ति छैन, जसमा पूर्ण रुपमा काम, क्रोध, लोभ, मोह अहंकारबाट मुक्त होस् । यति हुँदाहुँदै पनि पुरानो दुनियाँसंग हाम्रो मोह ममता मेटिएको छैन भने नरक भनेको के हो भन्ने हामीले बुझेकै छैनौँ । अखबारमा स्वर्गवासीको विज्ञापन छापिएजस्तै हामी भन्छौँ कि यो कलियुग नै नरक हो ।

बाबाले भन्नुभएको छ, ‘यो कलियुग विनाश हुनेवाला छ । विनाश धेरै भयंकर हुनेछ ।’ यसको वर्णन गीतामा पनि गरिएको छ । अर्जुनले जब विनाशको भयावह दृश्य देखे, तब उनले भने कि वश् भयो, भगवान भयो ! अब मलाई हजुरको मोहिनी रुप देखाउनुहोस् । यस भयंकर दृश्य म हेर्न सक्दिन ।’ बाबाले भन्नुभएको छः कोही धुलोमा गाडिने छ, कसैलाई चोरले लुट्नेछ, कसैलाई आगोले जलाउनेछ, कसैलाई अर्कोले खानेछ । बाबाले यो पनि बताउनुभएको छ कि कुनै प्राकृतिक प्रकोप, गृहयुद्ध, अणुयुद्ध, आदिद्वारा विनाश हुनेछ । यी सारा कुराहरु हाम्रो मनमा स्पष्ट बस्यो भने हाम्रो बुद्धि योग पुरानो दुनियाँ र दुनियावी व्यक्ति तथा वस्तुतिर आकर्षित हुनेछैन । कुनै पनि ज्ञान-बिन्दू जो मुरलीमा वर्णित छ, त्यसको चित्रण मन र बुद्धिमा भएन भने पुरुषार्थमा पक्का पनि कमी आउनेछ । यसैले जति आफूलाई देख्ने शक्ति (Power to visualization) को विकास गरिन्छ, जति हामी स्पष्ट देख्न सक्नेछौँ, त्यति नै हाम्रो पुरुषार्थ बढ्नेछ ।

चौथो हो, हरेक चिजको मूल्यांकन गर्नु । कोही व्यक्ति तपाईँसंग भेट हुन्छ र कुरा पनि ठूलाठूला गर्छ । भन्छ कि ‘बाबू जी हाम्रा पूर्वजले त आगराको ताजमहल बनाएका हुन् । हामी त खानदानी हौँ, खराब समय आयो, त्यसैले हामी दिल्ली आयौँ ।’ यसरी ठूलाठूला कुरा त गर्छ, तर काम भने फिटिक्क गर्दैन । कोही व्यक्ति यस्ता पनि हुन्छन् जो नम्र रहन्छन्, भन्छन् कि ‘हामी त साना हौँ, सिक्दैछौँ, राम्रो बन्ने कोशिसमा छौँ’ भनेर कम बोल्छ, तर काम राम्रो राम्रो गर्छ । पुरुषार्थ तीब्र पार्नको लागि यस्तो शक्तिको पनि आवश्यकता छ । बाबा भन्नुहुन्छ ‘श्रीलक्ष्मी, श्रीनारायण सर्वगुण सम्पन्न हुनेछन्, १६ कला सम्पूर्ण हुनेछन्, मर्यादा पुरुष हुनेछन्, अहिंसा परमोधर्मी हुनेछन् ।’ आजकाल दुनियाँले जसलाई धेरै गुणवान भन्दछन्, उनको गुण र श्रीलक्ष्मी श्रीनारायणको गुणको मूल्यांकन गर्ने र उनमा भएको गुणको अन्तरको भेद जान्ने शक्ति नभएसम्म हाम्रो पुरुषार्थमा तीब्रता आउन सक्दैन । हामीमा ईर्ष्या, द्वेष, लोभ, मोह, अहंकारले भरिएको र नारायणमा यसको लेश मात्र पनि नभएकोले सर्वगुण सम्पन्न हुने हुँदा हामी र उनीमा कति अन्तर भयो ? यो सम्झनु जरुरी छ । जसलाई यस अन्तर थाहा छैन, उनीहरुले भन्छन्, ‘हजुर हो, थोरबहुत त छ, तैपनि चलिराछ । यस दुनियाँमा कुन मान्छे त्यस्तो होला, जसको कुनै पनि खराबी नहोस् । मान्छे त गल्तीको पुतली न हो । तैपनि अरु मान्छेभन्दा हामी राम्रा छौँ ।’ यस्तो भनेर पनि आफ्नो पुरुषार्थलाई सुस्त तुल्याउँछन् । बाबा भन्नुहुन्छः जस्तो लक्ष छ, उस्तै लक्षण हुन्छ । लक्ष्य राखेमा लक्षण आफै आउँछ । जब हाम्रो लक्ष्य नै स्पष्ट छैन भने हाम्रो लक्षण कसरी आउला ? ठीक छ, जे छ, राम्रो छ भन्नाले पुरुषार्थमा सुस्तता मात्र आउँछ ।

एक हो, व्यक्तिको मूल्यांकन गर्नु । व्यक्तिको मूल्यांकन कसरी गर्ने ? व्यक्तिको मूल्यांकन उसको गुणबाट, उसको स्वभावबाट, उसको संस्कारबाट, उसको कर्मबाट हुन्छ । कुनै व्यक्ति कमजोर छ कि बलियो छ भनी कसरी चिन्ने ? गुण, कर्म, स्वभाव र संस्कारबाट । तर सम्झनुहोस् एक व्यक्ति गरीबको घरमा जन्म लिन्छ, तर ऊ धेरै गुणवान हुन्छ । कुनै कर्मवश् उसले सानो घरमा जन्म लियो, तर उसको साथमा यस्तो पूँजी छ, ऊ माथि उठ्न सक्छ । महान व्यक्ति बन्न सक्छ । यस्ता व्यक्ति पनि हुन्छन् जो धनीको घरमा जन्म लिन्छ, तर गुणहिन र विलासी हुन्छ । उसले भोलि सारा सम्पत्ति बर्बाद पनि गर्न सक्छ, जेलमा पनि जान सक्छ । तसर्थ हामीमा यस्तो योग्यता हुनुपर्द्छ कि कुनै व्यक्तिको गुण, कर्म, व्यवहार, स्वभाव, संस्कारबाट मूल्यांकन गर्न सकियोस् ।

दोस्रो हो, परिस्थितिको मूल्यांकन । हाम्रो सामू जुन परिस्थिति छ, त्यो विकराल हो या साधारण ? यसको मूल्यांकन गर्नुपर्छ । कुम्भकर्ण सुतिरहेको थियो, उसलाई जगाउन जाने व्यक्तिले भन्यो, ‘श्रीरामको सेना लंकाको द्वार नेर आइपुग्यो, उठ ।’ उसले भन्यो, ‘केही छैन, भित्रै त पसेको छैन नि !’ यस प्रकार परिस्थितिको जानबुझ नै नगरी समयको महत्व नबुझेर उसले आफ्नो ज्यान नै गुमाउन पुग्यो । यसैगरी केही मान्छेहरु हृदयाघात हुनुअघि केही दिनसम्म लक्षण देखिइरहेको हुन्छ, परन्तु उसले त्यति ध्यान दिँदैन, टाल्दै जान्छ । एक दिन बीमारी गंभीर रुप धारण गरेर हमला गर्छ । त्यसैले परिस्थिति कसरी आरम्भ हुन्छ ? कसरी बढ्छ ? र कसरी विकराल रुप धारण गर्छ ? यसको जानकारी अथवा मूल्यांकनको शक्ति छैन भने पुरुषार्थमा कमी हुन्छ ।

तेस्रो हो, आफ्नो शक्तिको मूल्यांकन गर्नु । धेरैजसो मान्छेहरु आफ्नो शक्तिको मूल्यांकन गर्न सक्दैनन् । केही मान्छेहरु यस्ता हुन्छन्, जसले सोच्छन् कि आफूमा धेरै शक्ति छ’ वास्तवमा हुन्छ कम, तर गलत अन्दाज लगाउँछन् । नतिजा यो हुन्छ कि जब समस्या वा परिस्थिति सामुन्ने आउँछ, ऊ उदासीन हुन शुरु गर्छ, पसिना निकाल्न शुरु गर्छ र काममा असफल हुन्छ । किनकि उसले पहिले नै पहिचान गरेको हुँदैन कि आफ्नो योग्यता के हो भनेर । केही मान्छेहरु त आफ्नो विशेषताहरु तथा शक्तिको जानकारी नै हुँदैन वा याद गर्दैनन् । उनीहरुमा काम गर्ने शक्ति त हुन्छ, तर आफूमा विश्वास नहुने भएकोले वा आफ्नो शक्तिको ज्ञात नहुने हुँदा काममा डराउँछन् र भन्छन् कि ‘नाइँ यो काम गर्न सकिन्न । पहिले तपाईँले भनेकोले गरेको हुँ, अब अरुलाई नै काम दिनोस् ।’ यसरी त्यस सेवा उसले गर्दैन र अरुले नै गर्ने भएकोले ऊ सेवा गर्नबाट वञ्चित रहन्छ । बाबा भन्नुहुन्छ, ‘जसले चान्स लिन्छ, उही चान्सलर बन्छ ।’ लौकिक विश्व विद्यालयको चान्सलर त्यस प्रान्तको राज्यपाल हुन्छ । विश्व विद्यालयमा भाइस चान्सलर हुन्छ । भाइस चान्सलर बन्नको लागि उसले जीवनभर मेहनत गर्नुपर्छ । पिएचडि गर्छ, दिनरात कैयौँ पुस्तक पढ्छ, कसैलाई सिफारिश गर्न लगाउँछ र भाइस चान्सलर बन्छ । तर बाबाले यहाँ यति सहज विधि बताउनुहुन्छः सेवाको चान्स लेऊ र चान्सलर बन । तपाईँलाई जस्तो सेवा मिल्छ, चान्स सम्झेर आफूमाथि विश्वास राखेर गर । यो बाबाको सेवा हो, हामी पनि बाबाका बच्चा हौँ । यदि हामीमा कुनै कमजोरी रह्यो भने सर्वशक्तिमानले नै सम्पन्न गरिदिनेछन् । अतः विश्वास राखेर कुनै पनि सेवा गर्ने हो भने सफलता हाम्रो जन्मसिद्ध अधिकार हो । यस प्रकार हरेकलाई आफ्नो मूल्यांकन गर्न आउनु पर्छ । बाबा भन्नुहुन्छः हरेक बच्चा विशेष छ । कुनै न कुनै विशेषता जरुर छ । अतः पुरुषार्थमा अगाडि बढ्नको लागि स्वयमको मूल्याङ्कन शक्तिको विकास गर्नु धेरै जरुरी छ ।

चौथो हो, समयको मूल्यांकन गर्नु । समयलाई चिनेर त्यसकै अनुसार कुनै पनि कार्य गर्नु सफलताको कुञ्जी हो । केही मान्छे यो सम्झँदैनन् कि यस समयमा यो काम नगरेमा पछि समय निक्लन सक्ला । फेरि मौका नमिल्न सक्छ । सम्झनुहोस् कि स्कूलको परीक्षा चलिरहेको छ भने त्यसको लागि तयारी गर्नु नै त्यस समयको मूल्यांकन हो । हामी यस समयमा खेल्नमा मस्त रह्यौँ भने नोक्सान हुन पुग्छ । यसैले कुनचाँहि काम पहिले गर्ने, कुन काम पछि गर्ने र कुन कामलाई कति समय दिने, यो तय गर्नको लागि मूल्यांकन शक्तिको जरुरी छ ।

पाँचौँ हो, आफ्नो योग्यताको मूल्यांकन गर्नु । बाबा भन्नुहुन्छ ‘बच्चाहरु हो, तिमीहरु महाबीर हौ, महारथी हौ ।’ हामी सम्झन्छौँ कि यो कुरा बाबाले अरु कसैलाई भनिरहनुभएको छ । हामी कहाँ महाबीर हुन सक्छौँ र ? भगवानले हाम्रो लागि शिरमा ताज राखिदिनुहुन्छ, तर हामी ताजलाई हटाइदिन्छौँ र भन्छौँ कि ‘हामी यसको लागि योग्य छैनौँ ।’ बाबा भन्नुहुन्छ, ‘ताजको लागि तिमी योग्य छौ’ तर हामी भन्छौँ ‘होइन, हामी ताजका लागि योग्य छँदैछैनौँ ।’ यसैले पहिले आफ्नो शक्ति र योग्यता बुझ कि हामी के गर्न सक्छौँ र के  गर्न सक्दैनौँ भन्ने । गीतामा भनिएको छ, ‘जहाँ धनुर्धर अर्जुन छन् र जहाँ स्वयम् भगवान छन्, त्यहाँ विजय उनको कदममै छ ।’ आखिर विजय पनि अर्जुन पक्षकै भयो । बाबा भन्नुहुन्छ, ‘म तिम्रो मद्दतगार हुँ, म तिम्रो मार्ग प्रदर्शन गरुँला, तिमी गर्दै जाऊ, तिमी सक्नेछौ । हामी भन्छौँ, ‘हामी सक्दैनौँ, हामी यसको लागि योग्य छैनौँ ।’ यसको अर्थ यो भयो कि हामी भगवानभन्दा पनि बढी समझदार भयौँ । भगवान भन्नुहुन्छ, ‘तिमी महाबीर हौ, तिमी महारथी हौ ।’ हामी भन्छौँ, ‘होइन, होइन, हामी होइनौँ ।’ भगवानको सन्देशमा पनि हामी हाम्रो फैसला सुनाइदिन्छौँ कि उनको ठीक होइन, आफ्नै कुरा ठीक हो । भगवानलाई नै हामी गलत सिद्ध गरिदिन्छौँ । यो नै सबैभन्दा ठूलो भूल हो । बाबा भन्नुहुन्छः ‘तिमी मेरा सिकिलधे बच्चा हौ, मेरा नूर हौ । म तिमीलाई मेरो काँधमा बसाएर लैजाउँला ।’ हामीले बाबाको कुरामा विश्वास राख्यौँ भने र आफ्नो शक्ति र योग्यताको पहिचान गरेर उनको विकास गर्‍यौँ भने हामी आफ्नो पुरुषार्थ तिब्र गर्न सक्छौँ ।

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 977 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top