मुस्कान छर्नेहरु

मुस्कान छर्नेहरु

 

आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? खोज्दै थिएँ के गरुँ ?

देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ

देखेँ नाथ, त्रिदेव, ईशहरुको पूकार गर्नेहरु

मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु ।

 

कोठा चिन्न कठीन भयो कुन थिए उद्दार गर्नेहरु

कोही छैनन सोर्सफोर्स परिचित् ती कान भर्नेहरु

कोही बिन्ति बिसाउँदा चरणमा मुन्टो बटार्नेहरु

हाली कानबुजो निवेदन-वृथा कुल्चेर टार्नेहरु ।

 

पोल्टोमा परराष्ट्र वा सडक वा प्रोजेक्ट पार्नेहरु

लड्डू ख्वाइ सुमेरु पर्वत घुमी पुस्तौँ सपार्नेहरु

आफ्नै भाग् उछिट्याउला कि जसरी आँखा’ नि तर्नेहरु

देखाए गुणदोष आइ रिसमा आँखै कोपर्नेहरु ।

 

बारम्बार विदेशको सयरमा पार्ने र पर्नेहरु

खानी रैछ यहीँ पुरस्कृत हुने उम्दा ठहर्नेहरु

होलान् छद्म भेषमा कति यहाँ भण्डार भर्नेहरु

आफ्नै मात्र दुनो ठड्याइ अरुको वास्तै नगर्नेहरु ।

 

जाँदैजान्न खटाइए पनि भनी झुन्डेर मर्नेहरु

खाँदैखान्न खुवाइए पनि भनी ज्यूज्यान धर्नेहरु

कोही छन् अधिकारखातिर घुँडा धस्ने र लड्नेहरु

कोही माग, दबाब पूर्ण नहुँदै संसार तर्नेहरु ।

 

जिल्लाराम परेँ, बसौँ कि म उठौँ ? तड्पेँ, कसो के गरुँ ?

देखी मीत भ्रमीत्, निस्वार्थ दिलले साथित्व जोड्नेहरु

आए पङ्ख उचालि भुर्र पुतली माया चहार्नेहरु

भेटी मख्ख परेँ बसी बगलमा मुस्कान छर्नेहरु ।

 

२०७५।०५।२२ अनामनगर

166 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *