Free songs
Home / समीक्षा / मुसी नाटकको समीक्षा

मुसी नाटकको समीक्षा

  • मुकुन्दप्रसाद शर्मा

क) नाटक पूर्वकथन

पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित हुँदैछ भन्ने समाचार । उक्त मुसी नाटक राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको व्यवस्थापनमा तयार गरिँदै थियो । छायाङ्कनको जिम्मा पत्रकार अमरराज पुन र भरत चन्दले लिएका थिए ।

नाटकमा कर्णाली प्रलेस अध्यक्ष गिरिप्रसाद बुढा, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओली लगायत सुनिता शर्मा, प्रिती गौतम, एक्कबहादुर केसी, गङ्गा केसी, देवकुमारी ओली, मुकुन्दप्रसाद शर्मा, डम्बर खडका, हरिप्रसाद खनाल, प्रमोद शर्मा, धनबहादुर चन्द, हरिपवन प्रहर खडका, नरबहादुर ओली, कर्णबहादुर ओली आदि सम्पूर्णतः स्थानीय कलाकारहरुले खेलिरहेको खबर आइरहेको थियो  ।  नाटक तयारी शुरु भएको दुई महिना पनि नबित्दै प्रदर्शनीमै आउन थालेको नाटकको बारेमा पत्रपत्रिकामा समेत खबरहरु प्रकाशित भएका थिए । आखिर के छ त त्यो नाटकमा ? नाटकलाई निम्नानुसारका बुँदाभित्र रही समीक्षा गर्ने प्रयास गरिएको छः
ख) नाट्य प्रवृत्ति/विशेषताहरु :
१) सामाजिक, पौराणिक र ऐतिहासिक विषयवस्तु । 
२) ऐतिहासिक विषयवस्तुलाई उठाएर अलिखित पौराणिक सत्यताको उजागर । 
३) राष्ट्रप्रेम र मानवतावादी चिन्तनको अभिव्यक्ति । 
४) सुखान्त र दुखान्तको समिश्रण । 
५) मौलिक अभिनयको सशक्त प्रस्तुति । 
६) कथावस्तुलाई सशक्त बनाउन द्धन्दको प्रभावकारी प्रस्तुति । 
७) ठेट नेपाली शब्दहरुको मौलिक प्रयोग । 

ग) कथावस्तु/कथानक :
भारदारी सभा बस्ने तयारी भएको छ, मुख्तियार भारदारहरु आ–आफ्नो आसनमा बसेका छन् सरकारको सवारी भएको छ भने सरकारको जय होस भन्ने आवाज घन्किएको छ । राजाको आदेश बमोजिम मुख्तियारले राज्यमा सबै राम्रो भएको जनता कसैले दु:ख नपाएको कुरा सुनाउँछन् । उक्त सभामा बाँफिकोट राज्य, रुकुमकोट राज्य, मठगाउँ आदिको चर्चा भएको छ भने दक्षिण क्षेत्रबाट गोरखे फौज पस्न सक्ने संकेत गरिएको छ । जुन मुरु, खारा, जिवाङ्ग हो । पश्चिम क्षेत्र भनेको चौरजहारी हो, नदी र खोलाले बनाएका खेतीयोग्य जमिन र फाँटहरु त्यहाँ भएको र बैरी आएमा भेरी नदीमा खसाउने योजना त्यस क्षेत्रको भारदारले राजालाई सुनाएको छ । जनताहरुले कुत उठाइरहेको, कुत उठाउन कर्मचारीहरु खटाइएको बोली विस्तार गरिएको छ भने सरकारका आदेश एक गाउँको कटुवालले बताइरहेको न्याय छिन्ने व्यवस्था मिलाएको, अपराधीहरुलाई प्राणदण्ड दिने व्यवस्था र कैदखाना बनाउने व्यवस्था मिलाएको कुरा भारदारहरुले राजालाई सुनाउँछन् । 

सभा सकिएपछि राजा र रानी विच कुराकानी हुन्छ रानीले राजालाई मुख्तियार बदमास भएको, भारदारहरु कुकार्यमा संलग्न भएको कुतको आधा अंश आफैले लिने गरेको लोभीपापी भएको प्रसँगलाई सुनाउँदा राजालाई रानीको कुरालाई विश्वास गर्दैनन् र रानी लाई धेरै शँका नगर्ने आग्रह गर्दछन् । 

गाउँमा अनिकाल, महामारी, रुवावासी चलिरहेको छ, गाउँलेहरु विरामीलाई झारफुक गराइरहेको छन्, गाउँका केही मान्छेहरु एकै ठाउँमा बसेर गाउँको अवस्थाबारे छलफल गरिरहेका छन् । गाउँमा गोर्खे फौज पस्नथालेको कुरा पनि गर्छन । गोर्खे फौजले गाउँलेका नाक, जिब्रो सबै काटिदिन्छन् बुढाबुढी सबैको इज्जत बाँकी राख्दैनन् भन्ने खबर आएको छ । मुसी सहितका युवा युवतीहरु गाउँ गाउँमा पुगेर पाइयो खेल्दै ल्याएको भोजन भोकाहरुलाई खुवाएको देखिन्छ । पालै पालो गाउँमा जाँदै दुःखी गरिब र रोगीलाई वितरण गर्दछन् । 

मुसी एउटा पाखोमा घाँस काट्दै ठाडीभाकाका गीतहरु गाइरहेको दृश्य देखिन्छ । त्यतिनै बेला एकजनायुवक बेहोश भएर लडेको मुसीले देख्छ । युवकको नाडी, छातीको चाल, छाम्छे उठाउन खोज्दा युवकले ऐया ऐयाको आवज उठाउँछ वाक वाक गर्छ उसलाई महामारीले सताएको मुसीलाई आभास हुन्छ । मुसीले महामारीले सताएको बिरामीलाई आफ्नो घरमा लग्दा उसका बुवा आमा आत्तिन्छन् ।  मुसीले यिनको ज्यानजाला जस्तो भइसक्यो झाडापखालाको औषधी के हुन्छ भनेर बुवाआमालाई सोधछिन् । दही चामल र जमराको पानीले पनि झाडापखाला रोकिने कुरा बताइएपछि त्यसपछि मुसी आफन्तकहाँ गएर टीका लगाइ माग्छे र घरमा आएर पखालेर त्यसको झोल राजकुमारलाई खुवाउँछे । बुवाले काँइयोले झार्दै बेसारपानी फुकेर खुवाउँछन्, साउने सक्रान्ती परेकोले दही टीका आफन्तलाई लगाउन लगाएर घरमा आई टीका पखाली राजकुमारलाई खुवाउँदा राजकुमार व्युझिन्छन् । 

उता चौखाबाङी दरबारमा भारदारी सभा बसिरहेको दृश्य देखिन्छ । राजाले भारदारहरुलाई राजकुमार खोइ ? भनेर प्रश्न गर्छन् । उनले आफूलाई महामारीले छोएर बिरामी पर्दा गाउँले केटीले बचाएको र उसका अरु धेरै गुणहरु आफूले अवलोकन गरेकोले भारदारमा त्यही केटीलाई राख्नुपर्ने प्रस्ताव राख्छन् । 

भारदारहरुले भने  त्यो केटीको बाबु यो राज्यका विरुद्धमा छ । कानुनको बर्खिलाप गर्छ । कुत तिर्न पनि आनाकानी गर्छ । उसलाई त्यो सब सिकाउने त्यसकै छोरी भएकोले त्यस केटीलाई दरबारमा भित्र्याउन नहुने जिकिर गर्छन्  । तर राजालाई भने त्यो केटी हेर्ने उत्सुकता बढेकोले केटीलाई गाउँमा खोजेर ल्याउने आफ्नो आठपहरियालाई आदेश दिन्छन् ।

आठपहरियाले मुसीलाई दरबारमा ल्याइपुर्‍याएपछि राजाले उसको परिचयको साथ गाउँको हालखबर सोध्छन् । मुसीले आफ्नो परिचय दिँदै भन्छे राज्यमा बेथिती, अन्याय, अनिकाल, महामारीले ग्रस्त छ । गोरर्खे फौजले यसलाई आफ्नो राज्यमा मिलाउन चाहन्छ । 

मुसीले गाउँको वर्णन गरिरहँदा मुख्तियारले ती कुरामा कुनै सत्यता नभएको बताउँदै यो त हाम्रो राज्यको विद्रोही हो भन्दै गाउँमा शान्ति सुव्यवस्था कायम भइरहेको जिकिर गर्छन् । गोरखे फौज आइरहाले पनि लडेर जित्न गाह्रो भएकोले मितेरी लगाएर राज्य जोगाउन सकिने उपाय राजासमक्ष पेश गर्दछन् । 

राजकुमारका हराएका आठपहरियाहरु दरबारमा आइपुग्छन् र राजालाई चुक्ली लगाउँछन् कि गोर्खे फौजले मुसीका बाबु साइँला भण्डारीलाई पनि हातमा लिइसके र गाउँलेहरु मिलेर राज्यविरुद्ध हर्कत गरिरहेका छन् ।
उता मुसीले बताएका कुरामा राजालाई द्विविधा भइरहेको हुन्छ । कतै भारदारहरुले गलत बोलिरहेका त छैनन् । अतः मुसीलाई हरबखत आफूसँगै राखेर गाउँका विभिन्न कुराहरु बारेमा जानकारी लिन्छन् । मुसीले पनि जानेबुझेसम्म सबै कुराहरु बताउँदै जान्छे ।

राजाका अन्य सुसारेहरुले भने मुसीलाई मुख्तियार भाइ भारदारसँग मुख नलाग्न, सरकारलाई नचाहिने कुरा नर्गन आग्रह गर्छन् । मुसीले राजालाई गुमराहमा राख्ने होइन कि सत्यतथ्य बताउनुपर्दछ भन्दै ढाँटेर दरबारमा बस्न नसक्ने कुरा बताउँछे । 

भारदारहरुले आफू विरुद्ध षडयन्त्र रचिरहेको कुरामा ऊ पनि सशंकित भैरहेकी हुन्छे । उता भारदारहरुको मात्र बैठक बस्तछ र कि त मुसीले दरबारीया प्रचलनअनुसार बस्नुपर्ने नभए सिद्याइदिने निर्णय गरेर एकजना आठपहरियालाई बोलाउन पठाउँछन् ।  आठपहरियाले मुसीलाई बोलाउन आएको सुइँको पाएर ऊ दरबारबाट भाग्दछे । मुसीलाई भारदारहरुले लखेट्न थाल्दा कुरै नबुझी गाउँलेहरुले समेत लखेट्न थाल्दछन् । 
गाउँमा साइलोजी नाच चलिरहेको छ । त्यतिनै बेला गोर्खे फौजका गुप्तचर त्यहाँ आइपुगेका छन् । मुसीले तिमीहरु को हौं ? भन्दा भाग्नखोज्छन् मुसीले साथी हरुलाई समात्न आग्रह गर्दछिन् । गोर्खे गुप्तचर समातिन्छन् । उनीहरुले हामी गोरखाका फौज हौं, हामीहरु चौखावाङ्गी राज्यको सूचना लिन आएका हौं भन्दा मुसीले बन्दी बनाउन साथीहरुलाई आग्रह गर्दछिन् । 

उनीहरुबाट थाह हुन्छ कि गोरखा फौजले चौखावाङ राज्य कब्जा गर्न थालेको छ । सिम्रुतु तथा दलाखेतमा खौला बनाउने, पहाडका पाखाहरुमा ढुङ्गा लडाएर खसाउने, गौडा–गौडामा खुकुरी समातेका मान्छेहरु तयार गर्ने, सोलावाङ्मा बाँसका सोलाहरु गाडने योजना बनाइन्छ । 

गोरखा फौजको आक्रमण विरुद्धको लडाइको तयारीलाई चौखावाङ्गी राजा विरुद्धको तयारी भइरहेको खबर दरबारमा पुग्छ । राज्य कब्जा गर्न मुसीले सबै मान्छेहरुलाई कब्जामा लिएको खबर आठपहरियाहरुले राजालाई सुनाउँछन् । राजकुमारले आठपहरिया र भारदारहरुले भनेको कुरा गलत हो मुसीले गोर्खे फौजको विरुद्ध तयार रहन जनताहरुलाई भनिरहेकी छे भन्दै मुसीको बचाउ गर्न खोज्छन् । भारदारले गोर्खे फौज चौखावाङ्गी राज्यभित्र पस्ने कुनै सम्भावना नभएको र यो मुसीको षडयन्त्र मात्र भएको बताउँछन् । मुसी भागेको र भारदारले मुसीले नै राज्य विद्रोह मच्चाइरहेको बताएपछि राजालाई पनि सहीनसक्नु हुन्छ र मुसीलाई पक्रेर दरवारमा आदेश दिन्छन् । राजकुमारले निर्दोष मुसीमाथि नै षडयन्त्र हुने कुरा चाल पाएर भारदारीसभाबाट बाहिरिन्छन् ।

चौखाबाङी राज्यको एउटा गाउँमा गोर्खे फौजको आक्रमण हुन्छ । मुसी लगायत गाउँका अरुमान्छे्हरु फौजको विरुद्ध उत्रन्छन् । कसैलाई खौलामा, कसैलाई खोलामा बगाउने, कसैलाई गुलेलीले हान्ने, सोलावाङ्गमा सोलाहरु पटकाइन्छ, गोर्खे फौजको भागाभाग हुन्छ । त्यहाँबाट उनीहरु लखेटिन्छन् । 

त्यतिनै बेला राकुमार गाउँमा पस्छन्, धेरै केटीहरुलाई मुसीकै रुप धारण गर्न लगाउँछन् । प्रत्येक केटीहरुसँग एक एक वटा बंदेल साथमा राख्न भन्दछन् । त्यति नै बेला राजाका धुपौरेहरु आएर सम्भावित मुसीहरुलाई लछारपछार पार्दछन् भने केही लाई मार्दछन् पनि । 

गोर्खे फौजको एक टुकडीले दरबारमाथिनै आक्रमण गर्छ । केही भारदार र राजारानीलाई डोरीले बाँध्छन् । चौखावाङ्गी राजा सजिलै कब्जामा परेकोमा गोर्खे फौजका मान्छेहरु खुसी हुन्छन् । मुसीले अवरोध नगरेको भए र राजालाई गाउँलेहरुबाट नअलग्ग्याएको भए उहिल्यै यो राज्य कब्जामा लिन सकिन्थ्यो भन्दै आपसमा कुरा गर्दछन् । चौखाबाङी राजाका आठपहरियाहरुलाई बोलाएर मुसीकोटे जनता र राजाको सम्बन्ध टुटाउने भूमिका खेलेकोमा तिमीहरुलाई धन्यवाद भन्दछन् । यो देखेर राजालाई असहय हुन्छ । 

 त्यतिबेला गोरखे फौजका काजीले राजालाई सम्झाउँदै पृथ्वीनारायण शाहको विशाल नेपालको अभियान साकार पार्ने क्रममा यहाँ आइपुगेको र तनहुँ कुप्रिकोटे राजा जनताहरुको अगाध प्रेम तथा मुसी जस्ता साहसी र विवेकी योद्धाको विशाल राज्य निर्माणमा राज्यलाई खाँचो भएको बताउँदै मुसीसँग क्षमा माग्नको लागि बन्धनमुक्त गरिदिन्छन् । 

गाउँगाउँमा भने मुसीलाई मारेर पुरस्कार पाउन जासुसहरु दौडिरहेका छन् । मुसी गाउँलेहरु सहित ती जासुसहरुबाट भाग्दै र बच्दै बोरागाउँमाथिको डाँडोको निर्जन स्थलको आश्रय लिन पुग्छे । 
गाउँलेहरुले साउने सक्रान्तीको दिन परेकोले खुशियालीसाथ लुतोपुतो फाल्ने उत्सवमा सरिक हुन्छन् । राजा पनि त्यही डाँडो नजिक आइपुग्छन् र  आफ्ना प्रजाहरु देखे खुशी हुन्छन् । गाउँलेहरुले अगाडि नबढ्न चेतावनी दिएपछि राजाले मुसीलाई भेटेर क्षमा माग्न चाहेको कुरा बताउछन् । 

राजाले गाउँलेहरुसँग धेरै अनुनय विनय गरेपछि मुसीसँग भेट्न दिइन्छ ।  राजाले चौखाबाङ राज्य गोरखा फौजको कब्जामा परेको कुरा मुसीलाई बताएपछि मुसीलाई राज्य नै हराएको चिन्ताले असह्य हुन्छ र झण्डै मुर्छा पर्छे । यो अवस्था सिर्जना हुनुमा राजा र राज्यप्रणालीको अज्ञानता, अकर्मण्यता भएको भन्दै उसले अलापविलाप गर्छे । राजाले मुसीको राष्ट्रभक्ति चिन्न नसकेकोमा खेद प्रकट गर्दै आफ्नो भूल स्वीकार गर्छन् । जनताहरुले भने हरुवा राजासँग पनि शर्त तेर्स्याउन छोड्दैनन् । जनताले आफूलाई अझै पनि राजाकै मान्यता दिइरहेको खुशीको आवेगमा उनीहरुले राज्यको नाम मुसीकै नामबाट राख्नुपर्छ भनी माग तेर्स्याउँदा राजाले घोषणा गरिदिन्छन् कि  “यो राज्य अब राष्ट्रभक्त, कुशल, योद्धा, प्रजाहरुको उद्धारकर्ता, मानवरक्षक मुसीकै नामबाट प्रख्यात हुनेछ । यो राज्य अब मुसीकोट राज्य हुने भयो ।“ त्यसपछि गाउँलेहरु हाम्रो र राम्रो मुसीकोट पाइयो भनेर नारा लगाउँदै खुशियाली मनाउँछन् । 

उता चौखाबाङी राज्य गोरखा फौजको कब्जामा परिसकेको अवस्थामा कुन हैसियतमा एक हरुवा राजाले त्यही राज्यलाई मुसीकोट राज्य घोषणा गर्न सक्छन् ? अब राजा राजकुमार र मुसीको हैसियत के रहन्छ ? भन्ने कुरा रहस्य र द्विविधाको भुमरीमा फसाएर नाटककारले कथा अकस्मात समाप्त गरिदिन्छन् । व्यक्तिगत रुपमा गरिएको एक जिज्ञासामा उनी भन्छन् यो जिज्ञासा निवारणको लागि अब मुसी-दुई नाटक पर्खनुहोस् ।

घ) पात्र/चरित्र :
यस नाटकमा मुसी, राजा, रानी, मुख्तियार, राजकुमार, भारदारहरु, मुसीका बुवा आमा, आठपहरिया, राजाका गुप्तचर, गोर्खे काजी, राजाका सुसारेहरु, गोर्खे तथा मुसीकोटे सिपाइहरु, गाउँले महिलाहरु, मुसीका सहयोगी गाउँलेहरु नृत्यमा संलग्नपात्रहरु, पूर्वपात्र तथा सहयोगीहरु आदि पात्रहरुको चयन गरिएको छ । 

क) मुसी :
१) नाटकको केन्द्रिय पात्र, नायिका, लेखकको मुखपात्र, दोस्रो दृश्यदेखि अन्तिम दृश्य सम्म नाटकको भूमिकामा मुख्य भूमिकामा रहेकी पात्र । 
२) गाउँले तर एक सशक्त नारी पात्र । 
३) महामारीले लखतरान भएको राजकुमारलाई घरमा लिएर औषधी उपचार गर्ने मुनामदनको भोटे जस्तै एक दयावान पात्र । 
४) आफ्नो निधारमा दही टिका लगाउन आग्रह गरी केही मान्छेहरुलाई भनेर त्यहि दही टीका पखालेर राजकुमारलाई खुवाएर बचाउने पात्र । 
५) राजकुमारलाई बचाएको देखेर राजाले समेत प्रारम्भमा बक्सिस दिने कुरा मुसीलाई बताएको प्रसंगले मुसीको एक्कासी लोकप्रियता बढ्दै गएको पात्र । 
६) राजकुमारको मात्र होइन म आफ्ना राजा रानीको मन जित्न सक्छु भन्ने पात्र । 
७) पल्लाघरे साइँला अर्थात् गाउँको प्रगतिशील पात्रकी छोरी भनेर दरवारमा मुसीलाई चिनाएकोे पात्र । 
८) सबैतिर बेथिति रहेको, राज्यमा अन्याय र अत्याचार बढेको, मान्छेहरु भोकभोकै मरी रहेको जानकारी राजालाई गराउने पात्र । 
९) गोर्खे फोजले राज्यमा आक्रमण गर्न लागेको सन्दर्भलाई पहिल्यै राज्यमा सूचना दिने एक सचेत पात्र । 
१०) मुख्तियार, भारदारहरु, आठपहरियाहरुले मुसीको विरुद्धमा ष्डयन्त्र गर्दा पनि डर नमानी राजालाई सबै कुरा बताउने पात्र । 
११) मुसीको पक्षमा राजकुमार, रानी र गाउँलेहरुले वकालत गर्नुले मुसी प्रजाहरुको साथमा रहेको आभास समेत भएको संकेत हुनु । 
१२) राजा, मुख्तियार, भारदार र आठपहरिया भन्दा अत्यन्त चलाख एवं बौद्धिक पात्र । 
१३) राजाले मुसीलाई सुसारेको रुपमा दरवारमा राखेतापनि त्यहाँबाट उम्किएर गोर्खे फौजका विरुद्ध गाउँलेहरुलाई विभिन्न प्रशिक्षण, योजना बनाउने पात्र । 
१४) आफ्ना साथीहरुले राजाले त तेरो छाला काट्ने रे भन्दा अत्यन्त दुःखी हुने पात्र । 
१५) चौखावाङ्गी राजाको सूचना लिनआएका गोर्खे फौजलाई बन्दी राख्न सफल पात्र । 
१६) गोर्खे फौजले चौखावाङ्गी राज्यमा आक्रमण गर्दा त्यसको डटेर मुकाबला गर्ने एक साहसी एवम् बहादुर पात्र । 
१७) राजा र भारदारहरुले तिमिलाई मार्न मान्छे पठाएका छने भनेर राजकुमारले मुसीलाई बताएको र मुसी अत्यन्त दुःखी भएकी पात्र । 
१८) कालाराकसको विरुद्ध अन्तिम युद्ध लडेकी पात्र । 
१९) गरिबी, दुःख, पीडा, भोक, विरुद्ध सँधै लडने पात्र । 
२०) राजाले मुसीलाई भेटन खोज्दा उल्टै षड्यन्त्रकारी राजाको विरुद्ध गाउँलेहरुलाई एकताबद्ध गर्ने पात्र । 
२१) मानवतावादी, राष्ट्रभक्त, राष्ट्रप्रेमी पात्र । 
२२) आफ्नोराज्य गोर्खे फौजले लग्यो भनेर राजाले सुनाउँदा, राज्यसँगै हामीलाई समेत मा¥यौं भनेर आक्रोश व्यक्त गर्ने पात्र । 
२३) राज्य अरुकै कब्जामा गएको थाहाँ पाउँदा जीवन खोसिएको, देश हराएको, राज्य प्रणालीको अदुरदर्शिता, अज्ञानता र अकर्मण्यताले काम गरेका व्यक्त गर्ने पात्र । 
२४) अन्तयमा राजा समेत मुसीकै चरणमा पुग्नुले मुसीको महिमागान बढेको । 
२५) मुसीएक राष्ट्रभक्त, कुशल योद्धा प्रजाहरुको उद्धारकर्ता भएको पात्र । 
२६) मुसीको नामबाट नै मुसीकोट हुन सफल हुनमा मुसीको योगदान नै भएको चर्चा ।
ख) राजा : 
१) चौखाबाङी राज्यका राजाको भूमिकामा भए पनि नाटकको सहायक पात्र । 
२) दरबारिया नीति र नियमलाई प्रयोग गरी राजकाज चलाउने पात्र । 
३) मुख्तियार, भारदार, राजकुमार, सुसारेहरुलाई दासको रुपमा व्यवहार गर्ने पात्र । 
४) मुख्तियार, भारदार, आठपहरियाको मात्रै भारदारी सभामा कुरा सुन्ने पात्र । 
५) अरुका कुरा सुन्ने तर आफ्नो ठोस निर्णय लिन नसक्ने पात्र । 
६) राज्यमा खतराको घण्टी बज्न थालेको छ भनेर रानी र राजकुमारे संकेत गर्दा त्यसलाई बेवास्ता गर्ने पात्र । 
७) मुसीले राज्यमाथि हुन सक्ने षड्यन्त्र बेथिति, गरिबी, अभाव, महामारीको सही सूचना बताउँदा त्यसलाई नपत्याउँदा आफ्नो राज्यनै गुमाउन पुगेको पात्र । 
८) प्रजाहरुले राज्यमा बेथिती बढेको गितको माध्यमद्धारा सूचित गर्दा मुख्तियार लगायत अरुले उक्त सूचना गलत भएको भनेर राजाले पत्ता लगाउन नसक्नु चारित्रिक कमजोरी रहेको । 
९) गोर्खे फौजले चौखावाङ्गी राज्यमा आक्रमण गर्दा समेत सुइको नपाउने पात्र । 
१०) राष्ट्रभक्त, योद्धा, प्रजासंरक्षक मुसीलाई उल्टै मार्ने, पक्रेर ल्याउनेलाई झुलखेतको खेत दिन्छु भनेर पुरस्कारको घोषणा गर्ने पात्र । 
११) मुसीसँग आत्मसम्र्पण गर्ने पात्र । 
१२) गाउँलेहरुलाई कालाराकसको रुपमा राजालाई चित्रण गर्नु । 
१३) मुसीकै नामबाट मुसीकोट दरबारको नामकरण गर्न स्वीकृति दिने पात्र । 
ग) रानी :–
१) नाटककी सहायक पात्र ।
२) रानीले नै मुख्तियार, आठपहरिया र भारदारहरु खराबै भएको बताउने पात्र ।
३) राज्य अप्ठयारोमा परेको बेला राज्यको बेथिति, महामारी, गरिबीको विषयमा राजालाई नभन्न विस्तारै राजकुमारलाई संकेत गर्ने पात्र । 
४) राज्य सञ्चालनमा रानीको भूमिका गौण देखिनु । 
घ) राजकुमार :
१) मुख्य पात्र ओगट्न नसकेको सहायक पात्र ।
२) महामारीले लखतरान भएको पात्र ।
३) मुसीको मानवीय स्वभावको कारण पुनः जन्म प्राप्त गरेको पात्र । 
४) मुसीको क्षमता र काम गराइको शैलिबाट प्रभावित पात्र । 
५) भारदारमा मुसीलाई थप्नुपर्छ भनेर भारदारी सभामा कुरा उठाएको, तर कार्यान्वयन गर्न नसकेको पात्र । 
६) पश्चिम गाउँतिर घुम्दा महामारीले सताएको कुरा दरबारमा जाहेर गरी मुसीले बचाएको तथ्यलाई जस्ताको त्यस्तै राख्ने पात्र । 
७) विदेशमा महिलाहरु पनि भारदार बनेकाले मुसीलाई भारदार बनाउन आग्रह गर्दा राजा महिलाहरु आला काँचा भएको तथ्य पेस गर्दा राज्य सञ्चालनमा आलाकाँचा भएपनि उसको काम गराइको तरिका फरक भएको तथ्य लाई व्यक्त गर्ने पात्र । 
८) हाम्रा विरुद्ध मुसीले कुनै ष्डयन्त्र गर्न सक्दिन भन्ने पात्र । 
९) यो राज्य विरुद्ध होइन गोरखा फौजको विरुद्ध तयार रहन जनताहरुलाई मुसीले भनेको हो भनेर भन्ने पात्र । 
१०) मुसीलाई पक्रन आउँदैछन् दरबारबाट तसर्थ तिमी फरक भेष धारण गर्नु भनेर पहिल्यै सूचना दिने पात्र । 
११) बाबु भन्न पनि लाज लाग्ने अवस्था आयो भनेर गोर्खे फौजले राज्य लिए पछि आफ्नो विचार व्यक्त गर्ने पात्र । 
ङ) मुख्तियार :
१) सहायक पात्र तर प्रमुख खलनायक । 
२) राज्य सञ्चालन गर्ने मुख्य व्यक्ति । 
३) राज्य भित्रका भारदार, आठपहरिया तथा अन्य व्यक्तिहरुलाई क्रमशः आफ्नो विषय राख्न लगाउने, विभिन्न विषयहरुमा स्वीकृति दिने पात्र । 
४) राज्य संयत्रको कथित इतिवृतको वकालत गर्ने पात्र । 
५) गाउँमा भएको महामारी, रोग, भोक, गरिबी, बेथितिको विषयमा जनताहरुले संगीतमा भनेको कुरा राजाले सुन्दा प्रजाहरुको चाड भएकोले उनीहरु बोल्ने स्वतन्त्रता भएको हुनाले भनेका हुन भन्दै वास्तविकतालाई अर्केतिर मोडने पात्र । 
६) मुसीलाई दरबारभित्र राख्नुहुँदैन भन्ने पात्र । 
७) मुसीले राजालाई गाउँको र राज्यको विषयमा दिएको सही सूचनालाई बेठीक भएको तर्क गर्ने पात्र । 
८) मुसीलाई दरबारको विषयमा नियम बोल्ने तरिकामा समेत राजालाई हजुर हजुर भन्नु हुँदैन भन्ने पात्र । 
९) सबैतिर अमनचयन र शान्ति छ भनेर भन्ने पात्र । 
१०) मुसी राज्यको विद्रोही हो भनेर भ्रमको खेती गर्ने पात्र । 
११) थैली मात्र काटने पात्र हो भनेर मुसीको खेदो खन्ने पात्र । 
१२) राज्यको विषयमा चिन्तित भएका राजालाई संगीतको माध्यमबाट भुल्याउन खोज्ने, तर वास्तविकता नखोल्ने पात्र । 
१३) गोर्खे फौजले चौखावाङ्गी राज्यको सूचना लिइरहेको, मुसीले त्यसको प्रतिकार सशक्त रुपमा गरिरहेको बेला राजालाई पैसंरी नाच देखाउने पात्र । 
१४) दरबारको षड्यन्त्रकारी एवम् राज्यसंचालनमा अपरिपक्वता प्रकट गर्ने पात्र । 
च) मूलभाव/उद्देश्य/जीवनदृष्टि :
१) ऐतिहासिक, पौराणिक र सामाजिक विषयवस्तुमा आधारित एक अभिनेयात्मक छटाले भरिपूर्ण नाटक । 
२) पृथ्वीनारायण शाहले बाइसे, चौविसे राज्यहरुलाई एकै मालामा गाँसेर विशाल नेपालको अभियानको ऐतिहासिक पृष्ठभूमिमा मञ्चित एक नाटक । 
३) मुसीकोट दरबार वरिपरि रहेको विभिन्न साँस्कृतिक सन्दर्भ, पौराणिक संस्कृति, रीतिरिवाज, चालचलन, सामाजिक व्यवहारलाई व्यक्त गर्नु । 
४) मुसीकोट दरबारको अवास्तविक किंवदन्तीलाई वास्तविक रुपमा नामकरण गर्न सफल नाटक वा खोज र अनुसन्धानमा केन्द्रित नाटक । 
५) दरबारिया नियम, कानुन, सभा बस्ने तरिका राज्यसञ्चालनको तौर तरिका, खानपान, विलासिता, हुँकार, वेथिति, षडयन्त्र आदि समग्र पक्षको विशद् व्याख्याले भरिपूर्ण नाटक । 
६) मुख्तियारको राज्यसञ्चालन प्रक्रिया विधि, जनअपेक्षा अनुकुल नभएकै कारण दरबारमा ठूला ठूला षडयन्त्रहरु हुँदा रहेछन् भन्नेवास्तविकताको चित्रण । 
७) द्धन्दैद्धन्दले भरिपूर्ण नाटक (दरबार र समाजविच द्धन्द, चौखावाङ्गी राजा र गोर्खेफौज बीच द्धन्द, दरबार गाउँलेहरुविच द्धन्द, राजा र मुसीविच द्धन्द, राजा र रानीविच द्धन्द, राजा र राजकुमारविच द्धन्द, मुसी र मुसीका साथीहरु विच द्धन्द, राज्य र राज्यका वीच द्धन्द, न्याय र अन्यायविचको द्धन्द, सत्य र असत्यविच द्धन्द) ।
८) दरबारभित्रको जालझेल, षडयन्त्रपूर्ण रवैयाले राज्यमा महामारी, गरिबी, वेथिति, अत्याचार बढेको तथ्यलाई देखाउँदै जसको कारणले आर्फै समाप्त भएको ऐतिहासिक तथ्यतर्फ संकेत गर्नु । 
९) राष्ट्रप्रेम र मानतावादी चिन्तनको अगाडी षडयन्त्रकारीहरुको निश्चित हार हुने दावी (राजा जनप्रिय बन्न नसक्नु, मुसी जनप्रिय हुनु, राजाले राज्यमा आक्रमण हुँदैछ भन्ने थाहनपाउनु, मुसीले गोर्खेफौजका गुप्तचरहरुलाई बन्दी बनाउनु, गाउँलेहरुलाई उनीहरुका विरुद्ध लड्न प्रशिक्षण दिनु, मुसीले राजकुमारलाई महामारीबाट बचाउनुले मुनामदनमा मदनलाई भोटेले बचाएको जस्तै आभास हुनु । यहाँ राजा, मुख्तियार र भारदार, आठपहरियाहरुको हार भएको छ भने रानी, राजकुमार, मुसी र गाउँलेहरुको जित भएको छ) । 
१०) मुसीले महामारीबाट राजकुमारलाई बचाएको प्रसँग, मुसीले राज्यभित्र बेथिती, गरिबी, महामारी र राज्यका विरुद्ध षड्यन्त्रको गन्ध देखिदैछ भनेर राजालाई भनिसकेपछि पनि राजाले राज्यसंयन्त्रको तरिकालाई रुपान्तरण नगर्नुले पूर्व युवराज दिपेन्द्र र देव्यानी बीचको प्रेमको सानो प्रसँगले वंश नास भएजस्तै राजकुमार र मुसीको प्रसंगलाई उक्त घटनाको प्रवृतिसंग सादृश्य गर्न सकिने बलियो प्रमाण भएको तथ्य उद्घाटन । 
११) राजकुमारलाई महामारीले समात्नु, राजकुमारले मुसीलाई देवी जस्तै ठान्नु, मुसीलाई भारदारको रुपमा थप्नुपर्छ भन्ने आवाजलाई दरवारले अस्वीकार गर्नु, रानीले मुख्तियार भारदारहरु साँस्कृतिक रुपमा भरिएको संकेतनगर्नु गोर्खे फौजका गुप्तचरहरु चौखावाङ्गी राजाको बारे सूचना लिएको राजालाई भन्दा मुसीलाई थाह हुनु, मुसीलाई भेटाएर ल्याउनेलाई दरबार पुरस्कारको घोषणा हुनु । मुसी सुसारेबोट दरबार बाट बाहिरीनु गोर्खे फौजका लागि मसला हुनु, राज्यको अनिष्ट हुने बलियो प्रमाण या पतनको प्रमाण भएको कटु यथार्थताको तस्वीर । 
१२) राजकुमार पश्चिम क्षेत्र चौरजहारी इलाका घुमीरहेको बेला महामारीले समात्नु भूगोल अनुसारको कर्म तर्फ संकेत गर्नु । 
१३) दरबारिया संयन्त्रमा महिलाहरुको बोलवाला नहुनुनै दरबारियाहरुको पतन भएको प्रमाण । (मुसीलाई भारदारमा नराखेर सुसारेको काममा लगाउनु) । 
१४) शंकाले लंका जलाउँछ भन्ने तथ्य आठपहरियाहरुले राजालाई महामारी लागेको बेला औषधी खोज्न गएको, फर्कदा राजकुमार नभेटिएको, उनीहरुले गाउँ घुम्दा गोर्खे फौजका गुप्तचरहरु डुलेकोखबर राजालाई भन्दा समेत राजाले नपत्याएको उल्टै मुसीको जस्तो शंका गर्ने नामर्दहरु भनेर हप्काएको, कालान्तरमा उक्त कुरा पुष्टि भएको । राज्यजलेको गुमेको, पतन भएको विचार अभियुक्त भएको छ । 
१५) वरिष्ठ सदस्यको बर्हिगमन अत्यन्त मंहगो हुनु । (राजकुमारले गोर्खे फौजको विरुद्ध तयार रहन गाउँलेहरुलाई अपिल गरिरहेको हो, मुसीले भनेर भन्दा राजाले नपत्याएपछि विक्षिप्त हुँदै दरबारको मोह टाढिएको महसुस राजकुमारलाई हुँदै गएको देखिन्छ) । 
१६) जालझेल षडयन्त्रलाई लुकाउन, शासन व्यवस्थाको चरम दुरुपयोग गर्न, राज्यप्रणालीको अदुरदर्शिता, अज्ञानता, अकर्मव्यताले राज्यनै हराउँछ र मुसीलाई मार्न षडयन्त्र गरिएको, उसलाई पक्रेर दरबारमा ल्याउनेलाई पुरस्कारको घोषणा गर्नुलाई कुनै समय आतंककारीलाई टाउकाको मूल्य तोकेको सँग सादृश्य गर्न खोज्नु । 
१७) इमान्दार र राष्ट्रभक्तहरुको कुरा नसुन्दा राज्यनै हराउँछ । (मुसीको कुरालाई/सूचनालाई दृढतापूर्वक नलिनुलाई कालीपानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटर भारतले नक्सा बनाएजस्तै हो भन्ने सन्देश दिनु) । 
१८) विम्ब र प्रतीकहरुले भरिपूर्ण नाटक । (बच्चाबच्चीहरुलाई गुलेली चलाउन सिकाउनु, दलाखेतमा खोलाहरुरु तयार हुनु, न्यायपोखरीमा पानी भरेर सर्पहरु राख्नु, ढुङगा लडाएर सिदयाउनु, गौडा गौडामा खुकुरी देखाउनु, सोलावाङमा बाँसका सोलाहरु गाडीनु, बंदेलसंग मुसी, कालाराकस, राज्य हराउनु, राज्य सँग सँगै हामी मारिनु, राज्यप्रणालीको अदुरदर्शिता, अकर्मण्यता, मेरो जीवननै खोसिएछ) । 
१९) विशाल नेपालको अभियान, विशाल राज्यको नागरिक बन्न पाएकोमा गर्व, माटोप्रतिको अगाध प्रेम, मुसीजस्ता साहसी र विवेकी योद्धाको यो विशाल राज्यको खाँचो छ भनेर गोर्खे फौजका काजीले राजालाई भन्नु राज्यसत्ता प्राप्ति पछि होसियार भएतापनि त्यसलाई मानविय प्रवृति मान्दै शत्रुको पनि कहिले काही प्रशंसा गर्नुपर्छ भन्ने सत्यतालाई देखाउनु । 
२०) सबैकुरा थाहपाएर आफ्नो राज्य गुमाएपछि मुसी र गाउँलेसंग राजाले क्षमा मागी मुसीको नामबाट मुसीकोट दरबार दिन सहमत भएको तथ्य । (केहीपाउनलाई केही गुमाउनुपर्छ अर्थात् जनता अजयशक्ति भएको, जनता जनार्दन भएको, जनतालाई केन्द्रमानी शासन व्यवस्था संचालन गर्नुपर्छ भन्ने बहुलठ्ठी शासकहरुलाई व्यवहारमुखी सन्देश दिनु) । 
२१) नाटकीय विराशतले भरीपूर्ण नाटक । 
२२) १२ दृश्यहरुमा संरचित एक साँस्कृतिक सम्बन्धले भरीपूर्ण नाटक । 
२३) रुकुम जिल्लाको नाटय अभियानको कोशे ढुङगा । (मुसीकोट दरबारको यस अघिको किंवदन्तीलाई तोड्नु) । 
२४) ठेट नेपाली शब्दचयनले, भाषिक वर्ण विन्यासले नाटक पुट्को होइन उचोदेखिनु । 
२५) अन्तिम सत्यकै जित हुन्छ भन्ने तथ्यलाई देखाउनु । (मुसीको नामबाट दरबारको नामकरण भई राजाले गल्ती स्वीकार गर्नु) ।
२६) यदि मुसीमा असमान्य प्रतिभा नभएको वा राज्यको निम्ति कुनै ठुलो भूमिका ननिभाई, दरबारको तल्लो स्तरको करिन्दा सुसारे पात टिप्न जाँदा वा बंंदेल खोज्न जाँदा भेटिएको डाँडाको सूचना राजालाई दिँदैमा मात्र सुसारेको नामबाट राज्यकै नाम रहन सक्दै भन्ने वास्तविकतालाई देखाउनु । 
२७) कुप्रिकोटका राजा शाहवंशका नभएर अन्य जातिकै भएको प्रमाण । (बंदेलपालेकाले मगर जातिका राजा त्यहाँको भएको अनुमान सजिलै गर्न सकिने भाव) । 
छ) परिवेश :
१) ऐतिहासिक परिवेशमा नाटकको चयन । 
२) पौराणिक परिवशेमा नाटकको चयन ।
३) सामाजिक विषयवस्तुमा नाटकको चयन । 
४) दरबारीया परिवेशमा केन्द्रित विषयवस्तुको चयन ।
५) द्धन्दात्मक परिवेशमा नाटकको छनोट । 
६) मुसीकोट दरबार वरिपरि रहेका विभिन्न भूगोलहरुमा आधारित भौगोलिक परिवेशको छनोट । (कुप्रिकोट, चौखावाङ, सोलावाङ, झुलखेत, बोहरागाउँ पश्चिम चौरजहारी, गोरखा, जुम्ला, बाँफिकोट, रुकुमकोट आदि भूगोलको चर्चा । 
७) साँस्कृतिक परिवेशमा केन्द्रित एक उत्कृष्ट नाटक (साउने सँक्रान्ति, गाउँलेहरुले गाएका विभिन्न गीतहरु, माघेसक्रान्ती, मुसी सहितका युवतीहरुले गाउँमा पुगेर खेलेको पाइयो ठाडीभाकाका गीत, भारीदारी सभा बस्ने प्रचलन, सिङगारु नाच, पैसेरी नाच, साइलोजी नाच, लुतोपुतो फाल्ने सँस्कृति) । 
८) ग्रामीण परिवेशमा नाटकको चयन । 
९) षडयन्त्रपूर्ण सामाजिक एवम् दरबारीया परिवेशमा नाटकको चयन । 
१०) अभिव्यक्ति एवं सूचनामुलक परिवेशमा नाटकको चयन । 
११) हेपाहपूर्ण परिवेशमा विषयवस्तुको विस्तारपूर्ण भावमा आधारित परिवेश । 
१२) अन्याय र न्याय दुवै परिवेशको चयन । 
१३) स्थानीय ठेट भाषिक वर्णविन्यासयुक्त परिवेशमा नाटकको परिवेश चयन । 
१४) अभिनयात्मक एवं संवादात्मक मौलिक परिवेशमा नाटकको चयन । 
१५) सत्यतामा आधारित परिवेशले नाटक कालजयी बन्नमा प्रेरित गरेको आभासयुक्त परिवेश/वातावरण । 
ज) भाषाशैली :– 
१) तत्सम, तद्भव र आगन्तुक शब्दहरुको चयन । 
२) मुलतः ठेट नेपाली शब्दहरुको चयन । 
३) अभिनयात्मक तथा उपयुक्त संवादहरुको प्रयोगले नाटक नाटकीय हुनपुग्नु । 
४) स्थानीयमौलिक शब्दहरुको चयनले नाटकको गरीमामा विस्तार हुनु । 
५) दरबारीया भाषिक बोलीचालीका शब्दहरु समेत प्रयोगमा आउनु । 
६) सरखार, तेरोतिर, गारो, नियतिसफा, हाम्लाई,छडक्या, भन्चन्, क्यार्न, मान्चौं, रम्चाउ, गैजान्चन, नाक्चो, ह्याँ, कालकष्ट, च्यान्नौ, उनापाई, लखेनी, जोवन, लाउँचे, उँदै, चवानीय, ढलक्यो, विलाउनै,  बाउ, कौना, यै, गइयो, कइल, झलको, तापु, गारको, लेखको, आइसेल, साँइलोजी, लुतो पुतो, काइनेकुइने, खटिरामटिरा, कालाराकसजस्ता स्थानीय मौलिक भाषिक शब्दहरुको चयनले नाटकको मौलिकता प्रष्ट हुनु । 
७) गीतिमय भाषाको प्रयोग । 
८) अत्याधिक विम्ब प्रतीक र अलङकारहरुको प्रयोग पाइनु । 
९) साँस्कृतिक धरोहरतापूर्ण वर्णविन्यास, कोमल शैलीको प्रयोग पाइनु । 
१०) सटीक उखानटुक्काहरुको प्रयोग (न्याउरीमारी पछुतो हुनु) 
११) ग्रामीण वक्ताहरुले बोल्ने भाषिकाको चयन । 
१२) अभिनेयात्मक एवं संवादयुक्त शैलीको प्रयोग । 
१३) सरल, सहज र बोधगम्य भाषाशैलीको प्रयोग । 
१४) पात्र अनुकूलको भाषाशैलीको चयन । 

ज) नाटककारको परिचय :
नाटककार पूर्ण ओलीको जन्म वि.सं. २०२४ साल भाद्र २९ गते मुसीकोट नगरपालिका वडा नं. ४ सोलावाङ रुकुम (पश्चिम) मा भएको हो । उनको बुवाको नाम यज्ञबहादुर ओली र आमाको नाम योगमाया ओली हो । जीवनसाथी देवकुमारी ओलीको सहयोगले ओलीले साहित्य लेखनलाई अगाडि बढाएको देखिन्छ । हाल निजामती कर्मचारीको पदमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । 
मान्छेको माया (गीतिनाटक) जितौरी (कथासंग्रह: प्रकाशोन्मुख।) दिन फिर्छन त ? (खण्डकाव्य), मुसी (ऐतिहासिक नाटक), थुप्रै फुटकर कविता, कथा र लेखहरु प्रकाशित गरेका लेखक ओली हाल मुसी नाटकको अभिनयमा केन्द्रित रहेको देखिन्छन् । 
अन्त्यमा 
पूर्ण ओलीद्धारा निर्देशित, पूर्णाङकी मुसीको, पूर्ण सफलता सहित, पूर्ण शुभकामना एवम् नमन गर्दछु । 

 162 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top