माथी-सारा


(
१)

युवती भारीको मारवश् केही फुसफुसाई । युवक पछि नफर्केर युवतीलाई जवाफ फर्काउँदै थियो ।
माताहोकरा मामीपनिहारा, मातैत्यरा मानेहोजारा !”
मामीताहारा मातैकरा माजानेनरा !”
मानहोकिरा मास्तोत्यरा । माट्टाखुरा मालेपछितचारा मातैनमातैकरा मागिन्छनिपुरा ।“

युवकले कर्णपृय खितखिताहट छाड्यो । युवतीले पनि त्यसमा मधुर खितिखिति मिसाई । अत्यन्तै लोभलाग्दो सङ्गीतमय प्रतिध्वनित भएको थियो त्यो मिश्रित हाँसो ।
…………………………..

म भर्खरै नेपाली साहित्यमा उच्चशिक्षाको अध्ययन सकेर साहित्यमय हुँदै शहरबाट गाउँ फर्किएको थिएँ । त्यसताका आफ्नै हातका हाउभाउ र खुट्टाका कदमहरु छन्दमय लाग्थ्यो । आफ्नै ढुकढुकीबाट निस्कने मीठो सङ्गीतको धुन सिरकभित्र गुटमुटिएर सुनिरहूँजस्तो लाग्थ्यो । आफूलाई विशाल शब्दभण्डार ठान्दथेँ । आफ्नो ओठबाट फुत्तफुत्त निस्कने शब्दहरुलाई भरिसक्य लयबद्ध पार्न खोज्दथेँ । तिनै शब्दहरुको तालमा मेरा शरीरका अङ्अङ्गका हाउभाउहरु नाच्दथे । आमाका करुण रसमय अभिव्यक्तिहरु, बाबाका बीर रसमय व्यवहारहरुमा साहित्यसिन्धु रहेको अनुभूति गर्थेँ ।
गाउँ महाकाव्यजस्तै लाग्थ्यो । गाउँले जीवनहरुको एकएक व्यथा महाकाव्यका भिन्नाभिन्नै श्लोकजस्तै लाग्दथ्यो । उनीहरुबाट प्रदर्शित व्यवहार छन्दोमय प्रतित हुन्थे । पारितिरको डाँडा, माथितिरको जङ्गल, तलतलिरका खोलाहरुले भिन्नाभिन्नै रसका कथाहरु बोकेर कसैलाई बक्न आतुरझैँ लाग्दथ्यो । जङ्गलका पातहरु छोएर सिरसिरे सिरेटोले गाउने गीत कम मनोत्तेजक हुन्नथ्यो । खोलाको किनारमा गएर घण्टौँसम्म उसका हाउभाउहरु हेरिरहन्थेँ । उसका लयहरु छुट्याएर भाव पहिचान गर्न खोज्दथेँ । किनारलाई कुतकुत्याएर खोला छिल्लिएको लयबद्ध नाच हृदयश्पर्थी हुन्थ्यो । खोलाका हरेक हाउभाउ कुनै षोडषीले नक्कल पसारेझैँ लाग्थ्यो ऊ सूर्यकिरणको पिरतिमा फसेर घरिघरि रुप फेर्दथी । ढुङ्गासँग किनारसँग र बालुवासँग लाडिँदा ऊबाट निस्कने ध्वनिले बेग्लै काउकुती लगाउँथ्यो ।
गाउँको पश्चिमतिरबाट सदरमुकाम जाने ठाडो उकालो बाटो थियो । उसका पाइताला हुँदै छाति टेक्दै शिरमा पुगेपछि सदरमुकाम भेट्टिन्थ्यो । उसका दर्जनौँ हातहरु यताउता पसारिएका थिए गोडाहरु यताउता लत्रिएका थिए । शिरका रौँबाट बनेका गज्याङमज्याङ लठ्ठाहरु त कति थिए कति । आज यही बाटोको कथा सुन्ने उत्सुकताले यतातिर बरालिएको थिएँ ।
म गाउँको पश्चिमतिर के पुगेको थिएँ कुनै जलपरी मेरो समिप देब्रेपट्टिबाट यात्रा गर्दै रहिछे । मौका मिल्ने बित्तिकै पाइतालाका औँलाहरुले बिस्तारै उसलाई छोइदिएँ छोइँदा अत्यन्तै शितल लागिन् जीउ सिरिङ्ग भयो र हत्तपत्त दुई अञ्जुलीले उनको वक्षस्थलबाट जल उभाउँदै अनुहारमा छ्याप्न थालेँ र शिरमा खन्याउन थालेँ ।
कसैको खितखित हाँसोले म सम्हालिएँ । हेरेँ एकजोडी युवायुवती मभन्दा केही अघि हिँडिरहेका थिए । युवक रित्तो भएकोले उसका कदम उसकै पदचापकै लयमा छिटोछिटो नाचिरहेका थिए । युवतीले गह्रौँजस्तो लाग्ने डोकोको भारीले गर्दा धीमा नाच प्रदर्शन गरेझैँ लाग्थ्यो । उनको गर्धनको खुम्च्याई र पिठ्यूँको लच्काइले त्यो भारी ३० किलोभन्दा कम हुनुनपर्ने अनुमान गरेँ । त्यसैले उनका कदमहरु पनि गह्रौँ र ढिला भइरहेका थिए तैपनि ऊ अघिल्लो युवकलाई भेट्टाउने प्रयत्न गरिरहेकी थिई ।

(२)

मैले भाव त बुझेँ तर अर्थ बुझ्न सकिन । मानौँ यिनीहरु दोभान मिसिनुअघिका दुईतिरका खोलाजस्तै हुन् । उनीहरुका शब्द स्पष्ट नभएपनि भाव स्पष्ट छन् ।
म यिनीहरुलाई त्यो जलपरी हिड्ने कुलोको किनारैकिनार पछ्याउन थालेँ ।
ती शितल जलपरी पानेखोलाबाट यही कुलो भएर दिनरात बहिरहन्छिन् र यस सुन्दर बस्तीका सयौँ मान्छेहरुका सयौँ आवश्यकताहरु पूरा गरिरहन्छिन् । उनको पदमार्गको डिललाई मान्छेले आफ्नो पदमार्ग बनाएको छ जो अत्यन्तै चिप्लो छ । वर्षौँ साल मर्मत हुन्छ र वर्षौँ साल बिग्रिरहन्छ । तलतिर र माथितिर दुवैतिर आँखा रिङ्ने ठाडो भीर छ । अलिकतै लर्किने बित्तिकै कतै नछोइएर सिधै पानेखोलामा बजारिने सम्भावना धेरै छ । माथिबाट ढुङ्गा खसिरहेका हुन्छन् ।
आँखा रिङ्ने सम्भावना बढ्दैगएकोले मेरो हिँडाइ सुस्त बन्छ । जुत्तामोजा फुकालेर एक हातमा समात्छु र अर्को हातले भिरको भित्तो समात्दै कुलोमा सर्न थाल्छु जलपरी हिँड्ने पथ स्याँलीले झनै चिप्लो लाग्छ ।
त्यो युवा जोडी धेरै पर पुगिसकेकोले उनीहरुको भावभङ्गीयुक्त सांकेतिक सवालजवाफ सुन्ने इच्छामा तुषारापात भैरहेको छ । गाउँले र सरकारलाई धारे हात लगाउनथाल्छुः अलिकति बजेट थपेर दायाँबायाँ सिमेन्टेड डिल र माथिबाट स्ल्याबले छोपिदिएर कुलो र बाटो दुवै फराकिलो गराउने बुद्धि आजसम्म पनि किन नआएको होला यिनीहरुलाई भन्दै ।
त्यो जोडी कुलोको मुहानतिर पुगेर रोकिएको छ । प्रकृतिसँग केही समय चारहात खुट्टाले अनवरत संघर्ष गरेपछि म पनि उनीहरुको नजिक नजिक पुगिसेकेको छु ।
केही पर पुगेपछि सुतेको बाटो जर्पत्ताल उठेको प्रतित हुन्छ । उकालो बाटोको गोर्‍यानमा चौतारी छ । चौतारीमा एकातिर वर र एकातिर पिपल एकअर्कालाई अङ्गालो मार्ने सुरमा चीरप्रतिक्षित देखिन्छन् ।
अघिपछि लागेर खोला तरिसकेपछि युवकले पहिलोपटक युवतीको अनुहार पुलुक्क हेर्‍यो र तुरुन्तै मण्टो भाँच्यो । युवतीले डोकोको भारी चौतारीको तख्तामा अड्याई र पसिना पुछ्न थाली । मंशिरको जाडोमा पनि उसका निधारबाट बगिरहेका पसिनाले त्यस युवकलाई उत्तेजित तुल्याउनुपर्ने हो । तर उसले आफूलाई सक्दो निष्प्रभावी तुल्याइरहेको थियो । युवतीले धोतीको फेर अलिकति माथि सारेर टुक्रुक्क बसी र पुनः चञ्चले नजरले युवकलाई हानी । मलाई लाग्यो भारीले शरीर पुरै थाके पनि आँखा पटक्कै थाक्दा रहेनछन् । मलाई यिनीहरुसँगै बग्नमा मज्जा आइरहेकोले यो युगललाई तरेर पारि जान जाँगर चलेन । चौतारीको अर्को कुनामा पुगेर मैले पनि हातमा बोकिरहेका जुत्तामोजा पहिन्ने निहुँले आफ्नै रित्तो शरीरको भारी बिसाएँ ।
माग्ने ठाउँ पुरा मानेपछि भरा माग्रिन्छ र बिरा ?” युवतीले फेरि कर्के नजरले हानी युवकलाई । युवक अलि कडा धातुले बनेको हुनुपर्छ बारम्बारको तीखा नजरको हानाइले पनि पटक्कै घायल भइरहेको थिएन । मैले यो वाक्यका पहिलो वाक्यांश “माग्नेठाउँ पुरा मानेपछि”बुझेजस्तै त लाग्यो, तर जे बुझेँ त्यसले जीउ नै सिरिङ्ग पारिदियो । तत्कालै पढेँ युवकको अनुहार । ऊ त खुत्रुक्कै हुनुपर्ने हो, तर त्यसको अनुहारको भावभङ्गी किञ्चित् बिग्रिएन । त्यतिसम्म भन्नेसक्ने युवतीको गालामा रक्तिम लाज उम्रेर झ्याम्मै ढाक्नुपर्ने हो,तर त्यस्तो केही देखिएन । म यिनीहरुको भाव पढ्न हौसिइरहेको थिएँ । तर बुझ्ने भने मरिकाटे सकिरहेको थिएन । अर्थ भईभई अर्थ नलाग्ने शब्दहरु र अर्थ नभईनभई अर्थ लाग्ने शब्दहरुको सम्वाद भित्रैभित्रै काउकुति लगाउने खालको हुँदोरहेछ ।
माछ केरा मासमा त्यरा ?” युवकले डोकोतिर औँल्यायो । युवतीले डोकोबाट सखरखण्ड निकालेर देखाई ।
म फेरि चकित परेँ । युवकले भन्दैछ ‘माछा,केरा र मास युवतीले देखाउँछे बूढी औँला आकारको सखरखण्ड ! कस्तो भाषा हो यो ? मैले प्रकटमै जिज्ञासा राखेँ :“के भाषा हो यो ? शब्द नेपालीजस्तै छ तर भाव पूरै फरक हुने।“
युवकयुवतीले पुनः मिश्रित खित्का छाडे । वर र पिपलका पातहरु हल्लिए । खोलाको कलकल निशब्द हुनपुग्यो । हावाको सिरसिर टक्क रोकियो ।
मैले उनीहरुको उत्तेजित मुहार हेर्न नसकी खोलातिर हेरेँ । खोला दुईपहाडको कापमा साँघुरिएर बगेको छ । खोलाको नाम पानेखोला छ । खोलामा पानी नभएर के हुन्छ र ? किन राखिएको होला यो नाम ? अरु खोलामा अन्य तरल वा अरु भावनात्मक कुरा बग्दैगर्दा यो खोलामा पानी बगेकोले पानेखोला नाम रहेको होला ? म हाँसो थाम्न सक्दिन ।

(३)

युवकले उठ्नलाई सर्‍याकसुरुक गर्‍यो । युवतीले पनि डोकोमा नाम्लो मिलाउन थाली । भारीको लय पनि प्राणीकै जस्तो छ । डोको र नाम्लोको ताल मिलाउनैपर्छ अनि मात्र हलुकोको भाव निस्कन्छ । नत्र त भारीको भारी । युवक फटाफट उकालो चढ्नथाल्यो । म उठेँ र युवती पनि धङ्धङिदै उठी । भारीले थिचिएकी युवती बिचरीले के भेट्टाउन सक्थी त्यो रित्तो युवकलाई । ऊ पछिपछि पर्दै गई । म ठीक बीचमा थिएँ र यी दुवैबीचको दुरी मदेखि गुणोत्तर रुपले बढिरहेको थियो । म निरस हुँदै जानथालेँ र मन थाम्न सकिन र बोलेँ,“ए भाइ, किन हतार गरेको ? पर्ख न सँगसँगै जाउँला । हामीलाई पनि त उकालै चढ्नु छ नि !“
अमूक प्राकृतिक सम्वादमा त मरिमेट्ने म झन् प्रेमील देखिने जोडीको सम्वादमा मरिहत्ते गर्नु स्वाभाविकै थियो । यो सम्वाद दशपन्ध्र मिनेट चल्यो होला । मैले कल्पना गर्न चुकेको थिइनः अब उकालो आफै कट्नेछ, यिनी दुवैजनाको साथ त रहोस् अझैकेही बेरसम्म । तर आशातीत प्रतिफल निस्कनुको सट्टा छोटो समयमा नै यिनीहरु छुट्टिन थालेकोले मेरो तातिँदै गएको रोमाञ्चकारितालाई सेलाउन नदिन मैले जुक्ति निकालिसकेको थिएँ ।
ऊ टक्क रोकिएकोले युवकसँगको मेरो दूरी घट्दै गयो । जब म उसको नजिक पुगेँ युवकका गोडाहरु फेरि फट्टाफट चल्न थाले । मैले पुनः अनुरोध गरेँ,“भाइ, बिचरी त्यो केटी भारीले थिचिएर लत्रिरहेकी छे । हामी अगाडि बढ्दा ऊ एक्ली हुन्छे । उसलाई डोकोको भारीले झन् थिच्छ । पर्खौँ न उसलाई । कम्तीमा बोलिदिए मात्र पनि उसको भारी केही हलुङ्गो हुनसक्छ !”
युवकले मलाई चिल्ने नजरले हिर्काउँदै बोल्योः “पर्‍याछैन हाम्लाई ! हाम्रो काम छैन ? हाम्रो आफ्नै समय छैन र ? चिन्नु न जान्नु घचेडीमाग्नू । तपाईँ नै बोकिदिनोस् उसको भारी ।“ ऊ झन्किँदै झन्झन् टाढिँदै गयो । म अडिएर युवतीलाई हेर्न थालेँ । मैले उसलाई हेरेको चालपाएर ऊ पनि तलै रोकिई र डोकोले मैले खन्याएको दृष्टि छेक्न खोजी । मैले अर्थ लगाएँ यिनीहरु नचिनेकोसँग बोल्न धक मान्दारहेछन् । दुवैतिरका तीर निष्फल भएपछि मैले बाध्य भएर सकीनसकी उकालोमा कदमको चाल बढाउन खोजेँ । केही माथि पुगेपछि जीउ नै गलेर आयो । फेरि सुस्केरा तान्दै अडिएँ र पछिल्तिर हेर्न थालेँ । युवती निष्फिक्रि बिस्तारै उकालो नापिरहेकी थिई । मैले उसलाई हेरेको अहिले भने चाल पाइन । थकाईले गर्दा गोडाले अघि बढ्न मानिरहेका थिएनन् तथापि म डराइरहेको थिएँ । म यहीँ विश्राम गर्नुको आफैलाई पर्खन खोजेको अर्थ लगाउने हो कि त्यस केटीले?
सिधा पारिपट्टि अग्लो पहाड तेर्सिएर बसेको थियो । त्यतापट्टि कमै समय मात्र घामले मुख देखाउँथ्यो । फलतः सियाँल परिरहने भएकोले नामनै स्याँला राखिएको थियो । कतै कतै बाघ तथा अन्य हिँसक जङ्गली जनावर लुक्नेखालका ओढारहरु पनि देखिन्थे । जङ्गलले पूरै डाँडा झपक्क ढाकिएकोले उतातिरको मुटु ठिहिर्‍याउने चीसो कल्पना गर्न लायक थियो । पहाडको तल्लो भाग चट्टानयुक्त र अत्यन्तै भिराइलो थियो । चट्टानको बीचमा खरी खानी थियो । विद्यालयका विद्यार्थीहरु तथा गुवालाहरुले दिनदिनै खरी झिकिरहन्थे । फलतः खरी झिकिएको ठाउँ भित्रतिर गहिरिँदै गएको थियो । वरिपरिको चट्टानयुक्त भाग जाँघजस्तै उठेका प्रतित हुन्थे । वरिपरि चट्टानको नरम भागमा कतैकतै मात्र पोथ्राहरु देखिन्थे । यही कारणले ती दुई जाँघको भित्रतिरको भाग दिउँसै अन्धकार नै हुन्थ्यो र त्यो सिङ्गो पहाडको गुप्ताङ्ग जस्तै देखिएको थियो । त्यसभित्रको मनोरमता भीर पार गरेर खरी झिक्न पुग्नेले मात्र लुट्नसक्थ्यो । त्यही गोप्यताको गहिराइमा डुब्न आतुरजस्तो लाग्थ्यो हामी चढ्दै गरेको त्यसको सामुन्नेको डाँडो ।
मैले यिनीहरुको भाषामा पनि यस्तै यस्तै सामञ्जस्यता रहेको कल्पना गरिरहेको थिएँ ।
अलि तल अर्को युवक उक्लिरहेको थियो । त्यसले मलाई ठूलो ढाढस् दियो । म मज्जासँग बाटोमै फ्यात्त परेर बसिदिएँ । युवती अलि नजिक आएपछि म रोकिएको चाल पाई र उसले जीउ मोडी । जीउ मोड्दा अरु भार बढ्नुपर्ने हो उसलाई । म हिड्न चलमलाएँ तर जाँगर चलेन । ‘आ ! जे होस्’ भनी म बसिनै रहेँ । केहीबेरपछि ऊ उक्लँदै नजिकनजिक आई । जब मेरो सम्मुख आइपुगी कातेकाते परेर अनुहार डोकोले छेक्दै बाटो काटी । उसको जीउबाट निस्किएको पसिना र माटोको मिश्रित गन्धले भने मसँगै टाँसिन खोज्यो । मैले उसलाई बोलाइन । तलबाट अर्को युवक नजिकनजिक हुँदै आइरहेको थियो । म उठेँ र युवतीसँगको अलिकति दूरी कायमै राखेर उक्लन थालेँ । युवकले पुलुक्क मतिर हेर्‍यो र अनचिनारु मानेपछि नबोलाएर मलाई काटेर अघि बढ्यो ।
झाता हो कचा ? झामी पनि हाचा झाउँदैछौँ आचा ।“ यसले भने युवतीलाई आफै अघि सरेर मुख खोल्यो ।
झाए पनि आचा झाडेर छोचा झाइजानेहोला गचा ।“ युवतीले जवाफ हुनुपर्छ फर्काई ।
झाड्दैनौँ छोचा । झाइले मात्र अचा झाइन होचा । झाधैँलाई सचा” युवकले सिगरेटजस्तो स्वीकृति माग्यो कि सापटी माग्यो कुन्नि ।
झार्दैन पचा । झाधैँलाई सचा झाफ्नै छन् आचा ।“ युवतीले रोष प्रकट गरेको भावभङ्गी देखाई ।
यिनीहरुको भाव बुझ्न मैले आँखादेखि कानसम्मको बल पुरै खर्चेर कसरत गर्न थालेँ । भर्खर नयाँ बनेको युगल जोडीको अहिलेको भाषा मेरो लागि झनै दुरुह बनिरहेको थियो । मैले मरिगए केही बुझिन ।
झाकिदिऊँ बोचा ?” युवकले युवतीको डोको तान्यो । युवती भारीले झङ्गालिँदै हुत्तिएर केही पर पुगी । तलपट्टि आँखा रिङ्ने भीर थियो । मेरो सातोपुत्लो उड्यो । झण्डै लडेकी त्यो युवती । मैले आफूलाई थाम्न सकिन र हप्काइहालेँ,“ए भाइ, के गरेको त्यो ? बाँदर पनि लड्ने खालको भिरमा बनेकोयस्तो साँगुरो बाटो छ । योबहिनी लडेको भए कहाँ पुग्थी अहिले? जिस्काउने नाममा अति त गर्नु भएन नि यार् !”
मेरो हप्कीदप्कीले ऊ के को कम्किन्थ्यो । युवक मसँग जाइलाग्ने मुडमा पुगेको उसको हातखुट्टा लगायत अनुहारको भावभङ्गीबाट प्रष्ट हुन्थ्यो । म अपर्झट सिर्जना भएको परिस्थितिलाई लय मिलाउने प्रयासमा लागेँ । युवकले युवतीलाई मूल भाषामै सोध्योः “को हो यो ?”
मेरो फूपूका छोरा ।“ युवतीले ढाँटिदिई ।
यसैबेला माथिबाट एउटा मुठ्ठीभरिको ढुङ्गा फनन घुम्दै हामीतिर बेगले मच्चिँदै र भीरमा ठोक्किँदै आइरहेको थियो । ढुङ्गा झरिरहेको भन्दा अलिकति मात्र दायाँपट्टि थियौँ हामीहरु । त्यति सानो ढुङ्गाले पनि हाम्रो नजिक आउँदा “स्वाइँइए….” आवाज निकाल्दै तलतिर हुत्तियो र “झ्वाम्म…” आवाज निकाल्दै खोलामा बिलिन हुनपुग्यो ।
युवतीको जवाफ सुन्नेबित्तिकै भकभकी उम्लिएको युवक सर्लक्कै एकैछिनमा सेलायो र केही लाजमा अलिकति डर मिसाएको भाव अनुहारमा उतार्दै उकालो लाग्यो । मैले राहतको महशुस गरेँ । मैले मिलाउनुपर्ने लय युवतीले नै मिलाइदिएकोमा म कृतज्ञ त भएँ लजाउली भन्ने आशंकाले प्रकट गरिन । मैले पनि युवतीलाई छोडेर अगाडि बढ्न खोजेँ ।
ऊ मसँग खुल्न खोजीः “दाइ !”
मैले मण्टोसँगै पूरै जीउ फर्काएँ:“म तिम्रो फूपूको छोरा हुँला, तर तिमी मेरी मामाकी छोरी होइनौ नि ।“
ऊ कोपिलाबाट फक्रँदै लोभलाग्दो फूलमा रुपान्तरित हुन थाली । उसको अनुहार हेर्न लायक थियो ।

(४)

मैले साहस बटुलेर सोधेँ :“के होतिम्रो नाम ?”
माथीसारा !”
म नाम सुनेरै रोमाञ्चित भइहालेँ । सर्वाङ्ग थर्र काँप्यो । आफूलाई सम्हाल्दै भनेँ : “सारा,तिम्रो घर कता हो ?सखरखण्ड बेच्न हिँडेको होला । खोइ देऊ मलाई एक किलो । मलाई सखरखण्डजस्तै तिम्रो नाम पनि असाध्यै मनपर्‍यो । सारा !”
झिक्नु न एकदुईवटा सित्तैमा । एक किलो नै किन पर्‍यो र ? अलि धेरै लानेभए माथिल्लो चौतारीमा बिसाउँला ।“
म अब पूरै खुल्ने भइसकेको थिएँ :“तिमीहरु हाम्रै गाउँ वरिपरिको जस्तो लाग्यो, तर भाषा भने भिन्नै छ । कस्तो भाषा हो यो ? पहिलो भाइसँग बोलेका शब्दहरु फरक त थिए तर नेपालीसँग मिल्दाजुल्दा थिए । पछिल्लो भाइसँगको भाषा अझै फरक थियो केही नबुझिने !”
ऊ केही बोलिन ।
किन केही नबोलेको ?” मैले उसलाई जवाफ प्राप्त नगरी छाड्नेवाला थिइन ।
ऊ अलि लजाउँदै बोलीः “अर्कै भाषा होइन यो । यताका तन्नेरीहरुले बोल्ने सांकेतिक भाव मात्र हो । कोड भाषा भनी बुझ्नू न ।“
किन तन्नेरीले मात्र नि? बुढाबुढी बच्चाबच्चीले बोल्न हुँदैन यो कोड भाषा ?”हामी दुईजना बिस्तारै उक्लिरहेका थियौँ । दाइँजस्तै म अघिअघि घुमिरहेको थिएँ । उसले मलाई पछिपछि घुमाइरहेकी थिई ।
यो नेपाली भाषालाई नै बिगारिएको गोप्यकोडभाषा हो । यसको माध्यमबाट मायाप्रितिका कुराहरु मात्र गरिन्छन् त्यसैले ।“
मायाप्रितिको शब्द खस्न नपाउँदै मैले फनक्क फर्केर उसको अनुहार पुलुक्क हेरेँ । ऊ लाजले चुहुनै आँटेकी पानीपानी भैसकीछे ।
म के तन्नेरी छुइन ? । मलाई सिकाइदेऊ न त यो भाषा । हामीले पनि मायाप्रितिको भाषा सिकौँ । हुन्न?” ऊ मसँग झ्याम्मिन आँटेको बेला मेरो याचनाले बिच्किन्छे कि भनी डर भने लागेकै थियो ।
दिमाग खियाएर सिक्नैपर्दैन,सजिलै एकछिनमै सिकिन्छ,त्यति गाह्रो छैन ।“
एकदुई शब्दको अर्थ भनिदेऊ नि त, म प्रयास गरुँला ।“
जस्तो कि मेरो नाम मैले ‘माथीसारा’ भनेँ । त्यो मेरो नाम होइन । ‘साथी’ भनेको हो । ‘साथी’ शब्दमा सा झिकेर अगाडिपट्टि मा थपिदिने । अनि झिकिएको अघिल्लो अक्षर सालाई अन्तिममा राख्ने र पछाडिपट्टि रा थपिदिने ।+(मा)-‘सा’+थी+..+’सा’+(रा)= माथीसारा भएन ?”
अनि तिम्रो नाम ?”
नीता !”
मैले कोशिस गरेँ :“नीता ? तिम्रै नामबाट प्रसायस गरौँ है त ? ‘नी’ को सट्टा ‘मा’ थप्ने र ‘नी’लाई अन्तिममा पुर्‍याएर पछाडिपट्टि ‘रा’ थप्ने होइन त ?(मा)+ता+नी+(रा)=‘मातानीरा’। ‘माता नीरा’ हैन त ?”
उसले सकारात्मक टाउको हल्लाई । म खुशीले बुर्लुक्कै उफ्रिएँ ।
अनि अर्को केटासँग भएको कुरामा नि ?”
त्यसरी नै अगाडिको अक्षर झिकेर त्यो ठाउँमा ‘झा’ थपिदिने झिकेको अक्षरको पछाडिपट्टि ‘चा’ थपिदिने ।“
तर यो ‘मारा’ जस्तो कर्णपृय झाचा अलि हुँदोरहेनछ हैन ।‘
हो । यो भाषा अलि उट्पट्याङ् केटाहरुले प्रयोग गर्छन् । मीठो कोड त मारा नै हो ।“
म अरु शब्दहरुलाई यस भाषामा ढाल्न अभ्यास गर्न थालेँ । डोकोलाईः माकोडोरा । नाम्लोलाईः माम्लोनारा । बाटोलाईः माटोबारा । पाइलालाईः माइला पारा आदि आदि ।
सानो चौतारी आइपुग्यो । हामी त्यतै बिसायौँ । उसको निधारबाट पसिनाको धारा छुटिरहेको थियो । उसले पछ्यौरीले पुछिरहेकी थिई ।
अलिकति साहस बटुलेर सम्बोधन गरेँ मैले,“माथीसारा ! माता नीरा भन्दिन म । माथीसारा”अनि उसको भावभङ्गी पढेँ, ऊ राताम्मे फुल्नुपर्ने हो । उसले बिस्तारै मतिर हेरेर मेरो मुखाकृतिमा थकित नजर गाडी । अघि नथाकेका नजर अहिले थकित देखिन्थे ।
मैले फेरि अरु साहस बटुलेर बोलेँ : “मासिनापरा मालेमैरा माछिदिऊँपुरा ?”
ऊ निष्प्रभावी थिई । मेरो सिकाइप्रति असहमति जनाउँदै बोलीः “ मैलेभन्नलाई ‘माले मैरा’ भनिराख्नुपर्दैन । ‘माइलेमरा’ भने हुन्छ ।“ म खुशीले गदगद भइरहेको थिएँ किनकि ऊ मलाई पनि प्रितिभाषा सिकाउँदै थिई ।
म उसको समीपतिर सर्दै भनेँ : ”माथीसारा मारोमेरा मावाफजरा माइनौतदिरा ? माउनदेरा । माथीसारा ?”
ऊ पर पन्छिँदै बोलीः “दाइ, मैले आफ्नो रक्षाको लागि तपाईँलाई दाइ मानिसकेपछि अब सधैँलाई तपाईँ दाइ नै हुनुभयो । बहिनीसँग जिस्किएर यस्तो भाषा नबोल्नू न है ?”
म लाजले खङ्ग्रङ्गै सुकेँ । अक्क न बक्क भएँ । भन्नसकिन मैले,‘मैले तिमीलाई बहिनी मानेकै छैन ।‘उसले आफ्ना नजरद्वारा मेरो अनुहारमा सुन्तलाको बीउ गाड्न खोजेकी रहिछ । मैले उमारेँ ज्यामिरी । रोपेको कुरा उमार्न नसके कति फरक पर्छ !मलाई हत्प्रभ देखेर उसले नै धक फुटाईः “अघि त सखरखण्ड खाने कुरा गर्दैहुनुहुन्थ्यो ? यी लानुस् ।“ उसले एक अञ्जुलीभरि पारेर सखरखण्ड मतिर सारी । मैले एक किलो नै लाने जिद्दि गरेँ । फलस्वरुप तराजु झिकेर एककिलो तौलिएर नै दिई र मैले त्यसको मूल्य तिरेँ ।
माथितिरबाट रित्ता डोकाहरु बोकेका एकहुल युवतीहरु खिलखिलाउँदै छिल्लिँदै तल झर्दै थिए । हामीलाई देखेर एकछिन रोकिँदै एउटी बोलीः “माहोकेरा । माजतआरा । माम्रैरारा माटोकेरा मासाइछेफरा ।“ सबै एकैचोटी पेट उफ्रीउफ्री हाँस्न थाले ।
मैले बुझिहालेँ, मैले तिनीहरुतिर आँखा तरेँ । म त्यस्तो पहिरनमा थिएँ जो बाहिरबाट आउने कर्मचारीहरुले मात्र पहिन्थे । बाहिरबाट आएकाहरुले यो भाषा बुझ्दैनन् भन्ने उनीहरुको अनुमानले फेल खायो ।हामी दुवैलाई हाम्रै अगाडि जिस्क्याउन पाउँदा कति मनोरञ्जक भयोहोला उनीहरुलाई मैले अड्कल गरेँ । मनमा यस्तै अर्को आफ्नै कोड भाषा निर्माण गर्न पाए कति मज्जा हुँदो हो भनेर खेलाइराखेँ । निकट व्यक्तिसँग आफ्नो यसरी भावना पोख्नपाइयोस् कि अरुले बुझ्दै नबुझून् । कसरी बनाउन सकिएला त्यस्तो कोड ? मैले चिन्तन गर्न थालेँ ।
जे पायो त्यही नबोल है छिल्लिएर, उहाँ मेरो दाइ हो । उहाँले पनि बुझ्नुभएको छ यो कोड भाषा । हैन त दाइ ?” उसले मेरो सहमति खोजी ।
मैले जवाफ दिएँ : “मानिहोरा । मानकिरा माबुझ्नुनरा ।“ ती छिचिमिरी केटीहरुतिर हेरेर पेट मिचिमिचि हाँस्ने पालो अब नीताको थियो ।
मेरो जवाफ सुनेर उनीहरु जिब्रो टोक्दै गुरुरुरु तल तिर झरे ।

(५)

मैले नीतालाई अर्को प्रस्ताव राखेँ :“मलाई यो कोड भाषा मन परे पनि दाजु परेको नाताले बोल्न नपाइने भयो । यसै भाषालाई अलिकति बदलेर दाजुसँग बोल्दा दाजुकोड यस्तै आमा, बाबा, दिदी, बैनी, साथी भाइ सँग बोल्दा नाताअनुसारकै आमा‘, ‘बाबा‘, ‘दिदी‘, ‘बैनी‘, ‘साथी‘, ‘भाइआदि कोड पनि त प्रयोग गर्न सकिन्छ नि? जस्तो दाजुसँग ‘पानी’ भन्दा ‘दानीपाजु’ भन्न पनि सकिन्छ नि । तर मैले योभन्दा अर्कै कोड भाषाको कल्पना गरेको छु ।”
ऊ जिज्ञासु भई : “कस्तो कोड ?”
“ ‘
चान्चिङकोड भाषा । जस्तो कि कुनै शब्दको पहिलो अक्षरको पछाडि चान् थपिदिने अनि अन्तिममा ङ थपिदिने । यसरीः तिम्रो नाम नीता लाई नी+(चान्)+ता+(ङ)= नीचान्ताङ । हुन्न ?”
ऊ बेसरी फितफिताई:“अरुले यो भाषा त मरिकाटे बुझ्दैनन् । यो दाइ पनि !”
नीचान्ताङ !” मैले उसलाई मायालु पाराले बोलाएँ,“शब्दमा दुईभन्दा बढी अक्षरहरु भए क्रमशः स्वरको क्रमअनुसार पहिलोमा चान्, दोश्रोमा चिन्, तेस्रोमा चुन्, चौथोमा चेन्, पाँचौँमा चैन्, छैठौँमा चोन् र सातौँमा चौन् थप्ने । बुझ्यौ ?”
ऊ गम्भीर देखिई । केही पनि बोलिन ।
किचान्नङ बोल्चान्दिचिन्नौङ ?”
दाजु बहिनीनै भइसकेपछि हामीबीचमा किन गोप्य भाषा चाहियो र ?” ऊ झर्किएझैँ बोली ।
अप्रत्याशित रुपमा मैले अर्को झड्का खेप्नुपर्‍यो । म फेरि छानोबाट खसेतुल्य भएँ । मेरा केही बोल्नखोजेका ओठहरु केही बेरसम्म फट्टिइरहे फरफराइरहे । लाजले पनि आँशु झर्दा रहेछन् । मेरा आँखा रसाइहाले । म उठ्न पनि सकिन बसिरहन पनि सकिन ।
केही बेरपछि लरबराउँदै उठेँ र भनेँ :“सरी है नीता । आउँदै गर मलाई अलि हतार छ ।“ म उकालो चढ्नलाई उठेँ ।
अगाडि तल्लो चौतारीमा भेटिएको युवक काम सकेर फर्किसकेछ । ऊ पनि माथितिराबाट खुरुरु ओर्लँदै थियो । नीताले डोको बोक्न थाली । उसले नाम्लो टाउकोमा राख्दा माथितिर फर्कनुपर्ने भएकोले उसका आँखाले त्यस युवकलाई भेट्टाइहाली । ऊ करेन्टको झड्का लागेझैँ झस्किई र पुनः लज्जाले रातोपीरो हुन पुगी । त्यो देखेर युवकको अनुहारमा पनि बेग्लै चमक चम्कियो । मैले सोचेँ पक्का पनि यिनीहरु दुईको मुटु पहिल्यै एक भइसकेछ । खालि तिरस्कार गर्न खोजेको देखाउने नाटक मात्र रहेछ ।
माझै अरा मातै यरा । मासँग कोरा मालेकी भुरा ।“युवकले युवतीतिर व्यङ्ग्यको झटारो फ्याँक्यो ।
मेरा कान केही खस्रोखस्रो लाग्ने कुराले बिझाएझैँ भयो । जबकि यही भाषा केही क्षणअघिसम्म कर्णपृय लागेको थियो । भाषामा के छ र भावले पो एकअर्काको भावना जोड्न सक्छ ।
ऊ अब नाताले बहिनी भइसकेकी थिई । मैले यस्ता कुरा बोल्न मात्र होइन सुन्न समेत हुँदैन भन्नेखालको आचरण सिर्जना भइसकेको रहेछ दिलभित्र ।
म जान्छु है बहिनी मलाई अलि हतार छ बिस्तारै आउँदै गर्नू ।“ मैले फेरि उसलाई मन नलागी नलागी छोड्न खोजेको जस्तो गरी औपचारिकता पूरा गरेँ ।
सँचान्गैङ गचान्एङ भैचान्हाल्चिन्छङ ।“ यो भाषा बोल्दा नीताको मुखबाट नै चुराहरु छङछङ बजेको प्रतिध्वनित भयो ।
मैले भाषाको डिकोड गरेँ । सँगै गए भइहाल्छभन्ने अनुरोधले म प्रफुल्लित हुनपुगेँ । मलाई ती नवजोडीको नजिकै बसेर उनीहरुको प्रेमालाप सुन्ने अवसर पाएझैँ अनुभूति भयो । हाम्रो नयाँ कोड भाषा सुनेर जिल्लिएको थियो ।
युवक हेरेको हेरेई भयो । नीता जर्पत्ताल उठ्नखोजी । युवकले डोकोमा नाम्लो मिलाउने निहुँले डोकोलाई अठ्याइराख्यो उठ्न नदिएर सोध्योः
कस्तो भाषा हो यो ? कोडिङ हो ?” ऊ तीनछक परेको थियो ।
हो नयाँ कोडिङ !” दृढतापूर्वक उसले जवाफ फर्काई ।
युवक उत्सुक देखियो जान्नलाई । नीताले औँला भाँचीभाँची नयाँ कोडिङ आफ्नो साथीलाई सिकाइदिई । दोहोर्‍याई तेहर्‍याई अभ्यास गर्न लगाई ।
सिकिसकेपछि दुवैजनाले नयाँ कोड भाषाबाट आफ्ना भावनाहरु साटासाट गरे । म दाइ हुनुको नाताले उनीहरुसँग बेपरवाह भएझैँ गरेँ र वारिपारिको मनोरम दृश्य आँखाको क्यामेराले दिमागभित्रै खुरुखुरु कैद गर्न थालेँ ।
यसैबेला कोही चौतारीमा आएर हामीबीचमा उभिइसकेको रहेछ । हामीसबै दक्षिणपट्टी फर्केर आफ्नै ध्याउन्नमा लीन भएकोले चौथो पात्र उत्तरतिरबाट प्रवेश गरेको आभाषै भएन हामीलाई । हातमा क्यामेराजस्तो वस्तु बोकेको रहेछ जसको सहायताले नवजोडीहरुको वार्तालाप कैद गरिरहेको जस्तो बुझिन्थ्यो । कोड भाषाप्रतिको दिलचस्पि यसले पनि लिइदियो भन्ठानी सर्जकको नाताले म गौरवान्वित भएँ । छाति फराकियो ।

ल गएँ है दाइ ? आफ्नै बहिनी ठानेर ख्याल गर्नुहोला ।” युवकले मलाई फुर्क्याएपछि म झसङ्ग भएँ । ऊ दुवै हात जोडेर मलाई नमस्कार !गरिरहेको थियो । मैले नमस्कार त फर्काएँ, तर आफ्नै बहिनी ठानेरभन्ने वाक्याँशले भित्र कतै चिमोट्यो । नीता उकालो लाग्ने तरखर थाली । गुड्दै ढुङ्गा झरेझैँ युवक खुरुरुरु तलतिर झर्‍यो । भर्खरैको वार्तालापबाट उसमा मनग्गे ऊर्जा थपिएको उसको भावभङ्गीबाट स्पष्ट हुन्थ्यो ।
म पनि युवतीको पछिपछि बिस्तारै उकालो लागेँ । मनभरि यस कोड भाषाको व्यवस्थापन सम्बन्धमा बिचारहरुले हुत्ति खेलिरहेका थिए । यही कोड भाषाको शब्दकोष बनाउने, व्याकरण लेख्ने, कक्षाहरु सञ्चालन गर्ने र गाउँका युवकयुवती मात्र होइन बच्चादेखि वृद्धसम्म सबैलाई बोल्न सिकाउने आदि आदि ।

(६)

माथितिरको बुटहरुको गर्‍याप-गर्‍यापआवाजले मेरो ध्यान खिच्यो । आधा दर्जन बर्दीधारी सुरक्षाकर्मी हतारहतार ग्वार्ग्वार्ती झर्दैरहेछन् । युवक युवतीले लिएको फोटो खिच्ने व्यक्ति हामीभन्दा दुईचार हात पर मात्रै थियो । उसैले संकेत गरेअनुसार त्यस युवतीलाई उनीहरुले डोको अड्याउन आदेश दिए ।
ऊ झसङ्गै झस्किई, “किन ? के गरेको यो ?”
डोको छोड् । तँ अब हामीसँग जानुपर्छ ।”
के अपराध गरेँ र मैले ? तिमीहरुले छोड बरु । हात नलगाऊ ।”
अपराध माथि पुगेपछि थाहा हुन्छ ।” उसको टाउकोबाट नाम्लो झिकेर डोको बाटोमै फालिदिँदै उनीहरु कड्किए । नीताले यस परिस्थितिबाट आफूलाई बचाउन मसँग याचना गरी । मैले गर्न सक्ने कुरा केही थिएन । किन पकड्दै छन् भन्नेसम्म मैले बुझिरहेको थिइन । सुरक्षाकर्मीहरुसित यति मात्र भनेँ, “सर, केही बुझ्नुपर्ने भए माथि पुग्न दिएर बुझे भैहाल्यो । माथितिरै त जाँदैछिन् यिनी । सखरखण्डको ब्यापारसँग सम्बद्ध यिनको जीवन होला । यसैको व्यापारको भरमा चलेको यिनको परिवार होला । यतिसम्म त ख्याल गरिदिनुस् ।”
उनीहरुले मतिर आँखा तरे मात्र । मेरो सुनुवाइ के हुन्थ्यो ? जबर्जस्ति लतार्दै उसलाई उकालोतिर घिसार्न थाले । ऊ रोइकराइ गरिरहेकी थिई । उसको विलाप पारिको डाँडोमा प्रतिध्वनित भइरहेको थियो डाँडा अँध्यारिँदै थियो । दुवै डाँडाले मानवीय अलाक्ली देखेर खासखुस गरिरहेको जस्तो लाग्यो । जङ्गली पशुपन्छीको डरलाग्दो कोलाहल सुनिइरहेको थियो ।
म असमञ्जसमा थिएँ । मलाई युवतीलाई अकस्मात उत्पन्न परिस्थितबाट जोगाउन नसके पनि डोकोबाट पोखिएका सखरखण्ड जोगाउनपट्टि लागेँ । आफूले खाइनसकेको सखरखण्ड पनि डोकोमै मिस्याइदिँएँ । डोकोलाई अड्याउँदै तल झरिरहेको युवकलाई बोलाएँ, “भाइ ! ए भाइ !! पर्ख !!! यता सुन, यता सुन भाइ ।” ऊ धेरै तल पुगिसकेको थियो । मेरो आवाज तलसम्म पुग्न सकेन । फेरि चिच्याएँ : “माम्रीतिरा माथीसारा माक्डिन्परा । माटोछिरा मार्केऊफरा ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ “
उसको आकार खुम्चँदै जाँदो थियो । ऊ झरि नै रह्यो । ऊबाट कुनै प्रतिक्रिया आएन ।
अनि मैले एउटा ढुङ्गो टिपेर त्यसमा मार्करले त्यही कुरा लेखेर तलतिर फ्याँकिदिएँ । ढुङ्गा तलैसम्म गुड्दै गयो तल पुगेपछि देखिन छाड्यो ।
युवतीको मैले नै बचाउ गर्नुपर्छ भनेर म उनीसँग पछिपछि उक्लिन थालेँ । यस्तो उकालोमा छिटो हिड्ने अभ्यास नभएकोले केही माथि नपुग्दै स्याँस्याँ एकदमै बढेर आयो । रिङ्टा लाग्न थाल्यो । मुटू फुट्लाझैँ बल्किन थाल्यो । म चारहात खुट्टा टेकेर थुचुक्क बसेँ । उनीहरु गएतिर एकतमासले हेरिरहेँ युवतीले उनीहरुलाई बिन्ति गरेको, हात फुत्काउने प्रयास गरेको स्पष्ट देखिरहेको थिएँ । मलाई औधि पछुतोले गाँज्यो कि आफ्नै बहिनीको त्यो हालतमा मैले बचावटको लागि केही पनि गर्न सकिन ।
उनीहरु डाँडाको शिरानबाट अलप भए । स्याँस्याँ कम भएपछि मफेरि उक्लन थालेँ ।
त्यस युवतीलाई ठानामा भेट्नसकिने आशाले म ठानामा पुगेँ । मैले बाहिर रहेका सुरक्षाकर्मीलाई भर्खर पक्डेर ल्याइएकी युवतीलाई भेट्न खोजेको बिन्ति चढाएँ । तर कुनै हालतमा भेट्न दिइएन । म त्यस दिन ठाना नजिकैको होटेलमा बसेँ । भोलिपल्ट बिहानै ठानामा पुगेँ । परिवारका सदस्य बाहेक अरुलाई भेट्न दिइएको रहेनछ । म त्यस युवतीको दाइ हुँ‘, भनेँ तर प्रमाण भने जुटाउन नसकेकोले भोलिपल्ट पनि भेट्न पाइन ।
औडाहा र अशान्तिको गह्रुँगो भारी बोकेर म गाउँ फर्किएँ । पश्चात्तापको आगोले म पुत्ताइरहेँ र खानपिन समेतको तलबितलले गर्दा ‌ओछ्यान पर्ने अवस्थामा आइपुगेँ ।

(७)

गाउँमा गाइँगुइँ चल्यो, पल्लो गाउँकी नीता नामकी युवतीलाई पक्डिएको र उसको साथीको पनि खोजी भइरहेकोले ऊ पनि भागिसक्यो भन्ने । नीताको प्रेमी समेत भागिसक्यो भन्ने सूचनाले म झनै अत्तालिएँ ।
फेरि अर्को हल्ला चल्योः कसैले पनि नबुझ्ने भाषा बोलेकोले पक्राउ परेकी रे भनेर । ठानाबाट त्यस गाउँका युवायुवतीहरुलाई नीताले बोलेको भाषा टेपरिकर्डरबाट सुनाएर अर्थ्याउन सोधपुछ गरिएछ । तर कसैले पनि त्यस भाषाको डिकोड गर्न सकेनछन् । यो कुरा मेरो कानमा परेपछि मलाई घोर पश्चात्ताप हुनपुग्यो । उक्त कोडभाषा प्रयोग गर्नुमा नीता निर्दोष रहेको र आफू नै अपराधी भएको ग्लानीले छटपटाउन थालेँ । पर्सिपल्ट म पुनः ठानासम्म पुगेँ । ठानामा पुगेर प्रहरी इन्चार्जलाई थुनुवा बहिनीको भाषा बारेमा आफूलाई थाहा भएको र त्यसको डिकोड गरिदिने विश्वास दिलाएँ ।

मैले टेपरिकर्डरको ध्वनि सुन्दै डिकोड गरिदिँदै गरेँ । डिकोडिङ गर्ने तरीका पनि खुलाइदिएँ । ठाना इन्चार्जबाट कोड भाषा किन प्रयोग गरिएको ? यो भाषा अरु ककसले बोल्छन् ? कोकोसँग सम्पर्क छ ?’ आदि आदि अनेक कुरा सोधियो ।
सो सम्बन्धमा मैले, ‘गाउँमा माराकोड भाषा युवायुवतीहरुबीच प्रचलित रहेको र सोबाट प्रभावित भई म आफैले चान्चिङकोड भाषाको परिकल्पना गरेर ती बहिनीलाई सिकाइदिएको र त्यही भाषा दुईजनाले बोलेका, आफू समेत तीनजना बाहेक अरु कसैलाई पनि यस भाषाको बारमा जानकारी नभएको, अरु कसैसँग सम्बन्ध नभएको, भएको फेला परेमा म आफूले मात्र जस्तोसुकै सजाय भोग्नेभन्दै जिकिर गरेँ ।
डिकोडिङ गरिएका शब्दहरु राज्यद्रोह वा शान्ति सुरक्षामा खलल पुर्‍याउने खालका पटक्कै थिएनन् । “के छ ?”, “सन्चै छौ ?”, “तिर्खा लाग्यो ?” “भारी बोकिदिऊँ ?”, “पर्दैन पर्दैन ।”, आदि आदि मात्रै थिए ।
इन्चार्ज मेरो बयानबाट पूर्णतः विश्वस्त हुन सकेन र मेरो कुरामा अविश्वास पनि गर्न सकेन । उसले मेरो परिचयपत्र माग्यो र भित्री कोठातिर लाग्यो । केही छिनपछि बाहिर निस्कँदै भन्योः हामीले त्यो बहिनीलाई छाडिदिने त भयौँ । तर उसलाई तपाईँको वारिशमा मात्र छोड्न मिल्ने भयो । अतः हरेक आइतबारको दिनमा दुवैजनाले ठीक दशबजे तारेख बोक्नुपर्नेहुन्छ । हामीले खोजेको बेला तुरुन्त ठानामा आउनुपर्छ । यो मन्जुरीनामामा सही गर्नुहोस् ।” म एकछिन अक्कनबक्क भएँ र सोधेँ “कहिलेसम्म तारेख बोक्नुपर्ने हो हामीले ?”
हामी यस भाषाको सम्बन्धमा अनुसन्धान गर्छौँ । कुनै अपराधिक सञ्जालले प्रयोग गरेको छ कि इन्टरपोलमार्फत् विश्वभर खोजतलास गर्छौँ । कतै सम्बन्धित देखिएमा तपाईँहरुलाई अपराधको प्रकृतिअनुसार कारवाही हुन्छ । कुनै प्रमाणहरु नपाइएमा मात्र यो तारेख हट्छ ।”
बहिनीलाई छुटाउने जिम्मा नलिएमा मैले तारेख नबोक्नुपर्ने हो ?”
होइन । अब यस केशमा तपाईँ पनि आफै मुछिन आउनुभयो । तपाईँलाई पनि थुनेर कारवाही गर्नुपर्ने हो । तर माथिबाट स्पष्ट निर्देशन प्राप्त नभएकोले अहिले नै हामी तपाईँलाई थुन्दैनौँ ।”
इन्चार्जको कुरा सुनेर मेरो सर्वाङ्ग काँप्यो । मैले मन्जुर नगरी नहुने भयो । कहिलेकाँहीको तिलजस्तो लहडले पहाड नै सिर्जना गर्दोरहेछ । मैले आफ्नो बेहद साहित्यअनुरागलाई बेसरी ल्वाप्पा ख्वाएँ ।
इन्चार्जको शर्तमा म मन्जुर भएँ । नीतालाई बाहिर ल्याइयो र उनलाई पनि सही गर्न लगाइयो । बहिनीलाई थुनाउमुक्त गर्न सक्नु नै मेरो सन्तुष्टिको विषय थियो । मैले पुलुक्क उनको मुखतिर हेरेँ । उसको अनुहार सुन्निएको थियो । आँखा भिजेका थिए । उसले मलाई देख्नेबित्तिकै अर्कोतिर मन्टो भाँची । उसको मनमा मप्रतिको घृणा पलाएर गाँजिइसकेछ झाङ्गिइसकेछ । सही गरिसकेपछि इन्चार्जले दुवैलाई फेरि दोहोर्‍यायोः “हरेक आइतबाट एघारबजे थानामा आउनू । नआएमा पुलिस लगाएर पक्डिनेछ र अनि सधैँको लागि खोरमा खाँदिनेछ ।”
एकपटक उपस्थित सबैको अनुहार पढिसकेपछि, “जाऊ अब !” भन्ने आदेश पाउनेबित्तिकै मेरो मुखै नहेरी ऊ खुरुरु तलतिर दौडिई । म हेरिरहेँ । मनमनै भनेँ, “माथीसारा, तिमीले यही मान्छेको कारणले मैले बिनसित्तिको यत्रो दुःख खपेँत भन्ठान्यौ तर किन अपराधी यही मान्छे नै हो भनी बयान दिन सकिनौ ? तिमीले बयान दिएको भए त्यसै दिन छुट्न सक्थ्यौ कि ? तिम्रो सजाय बरु म एक्लैले भोग्थेँ । तिम्रो बचाउको लागि म त्यस भाषाको डिकोड गर्न उपस्थित भएँ र तिमी छुट्यौ । म परेको भए कसले गरिदिन्थ्यो डिकोड ?”
तारेख खेप्नुपर्ने आइतबार हतारहतार हामीबीच आइपुग्यो । म उकालो बाटोको तल्लो चौतारीतिर बसिरहेको थिएँ । नीता चौतारीनिरै आइपुगी । म क्षमा माग्न खोज्दैथिएँ ऊ भक्कानिई र आँशु पुछ्दै मतिर हेर्दै नहेरी उकालो उक्लिई । मैले माथीसारा, मार्खनपरा माङ्गैसरा माउँलाजाराभन्न सकिन । उसलाई उकालोमा मैले भेट्टाउन सक्ने कुरै थिएन । थानामा म नपुग्दै ऊ पुगेर तारेखमा सही गरिसकेर फर्किसकेकी थिई । यसरी करिब दुई महिनासम्म हाम्रो लुकामारी चलिरह्यो । हामी बीच कुनै संवाद चल्न सकेन ।

(८)

अरु युवायुवतीबीच पनि कोड भाषाको प्रयोगको कारणले नै नीता थुनिएकी हो भन्ने कुरा आगोझैँ सल्कियो । अब कसैले जोखिम मोलेर कोड भाषा प्रयोग गर्नसक्ने कुरै थिएन । यो कोड हराउँदै गयो र गाउँबाट विलिन नै हुनपुग्यो ।
नीताको साथी इन्डिया पुगेर उतै बेपत्ता भएको खबर पनि गाउँसम्म आइपुग्यो । नीतालाई यस खबरले कत्तिको दुःखायो कुन्नि मलाई मारले दुख्ने गरी चिमोटिदियो । म पश्चात्तापले गलिरहेको थिएँ । त्यस रात नजिकैको मन्दिरमा पुगी भित्तामा टाउको बजारी बजारी पुकारीरहेँ : “माताका निरा माथीसारा, मासरीपनि जरा मार्केरआऊ फरा !”
म थप अध्ययनको सिलसिलामा काठमाण्डौ जानुपर्ने भयो । मैले तारेख पनि उतै मिलाएँ । उता पनि केही महिना तारेख धाएपछि मैले तारेख बोक्नबाट उन्मुक्ति पाएँ । केही समयपछि गाउँतिरको हालखबर बुझ्दा नीताले पनि तारेखबाट उन्मुक्ति पाएको खबर सुनेँ । यसले मभित्रको पश्चात्ताप् केही मात्रामा घट्यो ।
तर नीताको साथीसँगको बिनसित्तिको बिछोड र उसले थुनाउमा पाएको दुःखको पश्चात्ताप जिन्दगीमा कहिल्यै भुलिनसक्ने खालको थियो । यही पश्चात्तापको कारणले म पनि ओइलाइरहेको छु भन्ने उनीहरुलाई थाहा नहुन सक्छ । केही लेख्न खोज्नुपहिल्यै यस घटनाले मेरो कलम रोकिदिन्छ । कापीको रित्तो पानाले कोड भाषामा मसँग संवाद गर्न थाल्छ । मेरा टोलाइरहेका आँखा अश्रुभेलले छोपिदिन्छ । शब्द घाँटीमै अड्किन पुग्छ । पश्चात्तापको ज्वालाले मेरो शब्दभण्डार भित्रभित्रै खरानी भइरहेको छ ।

एकदिन फेसबुक विभिन्न मित्रहरुका स्टाटसहरु हेरिरहेको थिएँ । अकस्मात् कसैले चिठठीपत्रको शैलीमा लेखेको पत्रमा पुगेर म अड्किएँ ।
चिठ्ठीको व्यहोरामाथि सम्बोधन यस्तो थियोः

माथीसारा

माचेकै छु बारा । मामी पनि तिरा मान्चैसरा माउला भनी होरा मामना कारा मार्दैछु गरा ।
……. ……………….. ………………… ……………..
मध्यभागको पत्र पनि माराकोड भाषामै थियो । जसलाई मैले डिकोड गर्दै गएँ ……….

अन्तिमको त्यो त्रासदीपूर्ण घटनापछि तिमीहरुले उन्मुक्ति पाउने उद्देश्यले र यहाँ समातिने डरले अझै पनि भागिरहेका छौ ।
गाउँमा माराकोड भाषाले न्याय नपाई अब गाउँबाट सदासदाको लागि लोप भइसकेको छ । कोड भाषाको संवाद मात्र होइन कोड भाषामै पिरति गाँस्ने गाउँको पुरानो प्रचलन पूर्णतः हराइसकेको छ । सो ठाउँ डेटिङ तथा लभले ओगटेको छ ।
गाउँमा कसैले माथीसाराभनी बोलायो भने नवयुवायुवती कसैले बुझ्दैन । बरु यसको अनर्थ लगाइन्छ । लाग्छ, यो प्रिति कोडभाषा हराउनुमा मुख्य दोषी तिमी नै हौ । तसर्थ म, तिम्रो र मेरो साथीबीचको सम्बन्धको प्रगाढ दूरीमा झुण्डिएर आफूलाई आफैले सजाय दिइरहेको छु निरन्तर । माराको सट्टा चान्चिङ भाषाको कल्पना नगरेको भए परिस्थिति यस्तो हुँदैनथ्यो कि ! अँ साँच्चि यी कोड भाषाको बीउ कतै बाँकी होला त ? मेरो र मेरो साथीको प्रेमालापपूर्ण मधुर स्वरमा भरिएको उक्त कोड भाषाको टेपरेकर्ड के अहिले पनि ठानामा सुरक्षित होला ? कसैले त्यस चान्चिङ भाषाको नक्कल गरेर दुरुपयोग गरेमा म पुनः खोरमा कोचिनुपर्ने सम्भावनाबाट म पूर्णतः उन्मुक्त हुन सकेकी छैन । त्यसबेला मेरो प्रतिरक्षाको लागि को उभिएला ? मैले मेरो जीवन वर्वाद गरिरहेको अवस्थामा पनि तिमीहरु किन मलाई साथ दिइरहेका छैनौ । म तिमीहरुलाई नै पर्खिएर बसेकी छु । कहाँ छौ तिमी भगुवाहरु ?”

उही “निचान्ताङ”

मैले फेसबुकमा पत्रको शैलीमा बिचार पोष्ट गर्ने व्यक्तिको नाम हेरेँ । निचान्ताङनै थियो । मैले उनको प्रोफाइल उधिनीउधिनी हेरेँ । मेरो जीउबाट पसिनाका धाराहरु छुट्न थाले । धड्कन बढेर आयो । लगलगी जीउ काँप्न थाल्यो र श्वास रोकिनथाल्यो ।

…….. – समाप्त –

 

477 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *