मदिराको सिसि

संसदले एमसिसि पारित गरेको घटनाबाट निकै प्रभावित भएर पातुखोले भट्टी पसलेले पनि नाम फेर्‍योः ‘एमसिसि मधुशाला ।‘

नयाँ नामको भट्टी पसलउपर उजुरबाजुर चल्यो । जाँचबुझ गर्न आयोग गठन भयो । मदिरा उत्पादन स्थल र प्रक्रियाको निरीक्षण गरियो । भट्टीका खोया बिर्केहरूबाट नमूना लिइयो । आयोगले निश्कर्ष निकाल्यो कि ‘एम’ को अर्थ मोजा, मलमुत्र, मरेको जन्तु, माखा-माकुरा आदिबाट निर्मित मदिरा र ‘सिसि’को अर्थ खोया बिर्के सिसि नै हो ।

यसप्रकारको रहस्योद्घाटनपछि भट्टी बजारमा चर्काचर्की बहसहरू भए । कसैले यो त परापूर्वदेखिको चलन हो भने । कसैले उपभोक्ताको जीवनमाथि चरम लापरवाही भएकोले भट्टी पसलेलाई कडाभन्दा कडा सजाय दिलाइनुपर्ने माग राख्दै आन्दोलन र तोडफोडमा उत्रिए । अरू वरपरका भट्टी पसलेले नकारात्मक प्रचारबाजीमा निकै जोडबल गरे । फलस्वरूप पातुखोलेका ग्राहकको ग्राफ ओरालो झर्न थाल्यो भने उक्त पसलमा आश्रित सरोकारवालाहरू समेत नराम्ररी प्रभावित भए ।

व्यवसाय चौपट हुन थालेपछि पातुखोलेले जुक्तिसाथ जर्किन र खोयाबिर्केहरूमा रहेको पुरानो ठर्रा नयाँ र आकर्षक सिसिहरूमा भरेर सिलबन्दी गरिदियो । पसल सरसफाई गरेर चिटिक्क पार्‍यो । भाँचिएका मक्किएका बेन्च मिल्काएर नयाँ कुर्सी टेबुल मिलाएर राख्यो । हललाई बारेर क्याबिनहरू बनाइदियो । अनि आफ्नो व्यवसायउपर अन्याय भएको भन्दै पुनरावेदन दियो ।

फेरि जाँचबुझ आयोग गठन हुनपुग्यो । जाँचबुझकर्ताहरू नयाँ मधुशालामा निरीक्षण र नमूना सङ्कलन गर्न आए । आयोगका सदस्यहरूलाई पातुखोलेले चलाखीसाथ तीनपाने चखाइदियो । उपहारस्वरूप एकदुई सिसि उनीहरूको काखीभित्र राखिदियो । सभ्य सत्कार र स्वादिष्ट तीनपानेले सदस्यहरूको मुड अभूतपूर्व बदलियो । परिणामतः सम्पूर्ण उत्पादन प्रक्रिया निरीक्षण गर्न जाँचबुझकर्ताको धैर्य र सामर्थ्य गुम्न पुग्यो । साविककै प्रक्रियाबाट बनेको झोललाई उनीहरूले ‘एम’ को अर्थ मह, मखन, मिष्ठान्न, मरिच, मालभोग, मिस्री आदिबाट बनेको अमृतजल र ‘सिसि’ को अर्थ सिलबन्दी सोमरस भन्ने लगाइदिए । यो पिउँदा कसैलाई कुनै हानीनोक्सानी नहुने बरू पिउनेले प्रशस्त पौष्टिक पदार्थ पाउने भन्दै बाह्रपाने प्रतिवेदन पेश गरे ।

फलस्वरूप पीडित पातुखोलेका गुमेका ग्राहकहरू फर्केर महका चाकामा माहुरी झुम्मिएझैँ झुम्मिन थाले । महको थोपामा माखाहरू भन्किएझैँ नयाँनयाँ ग्राहकहरू पनि रातदिन मधुशालाको भित्र-बाहिर भन्किन थाले । यो नौटङ्की प्रतिवेदनउपर चित्त नबुझ्ने भट्टीप्रेमीहरूले सडक भत्काउन थाले । सार्वजनिक स्थलहरूमा आगो झोस्न थाले ।

आफ्नै खेतबारीमा व्यस्त मदिरा विरोधीहरू भने मदबेहोसीहरूको चर्तीकला देखेर नाक खुम्च्याए । उनीहरू यताउता नलागी आफ्नै दशनङ्रा खियाई मुठी रोपी मुरी उबाज्ने श्रममा जुटिरहे ।

 291 total views,  3 views today

Leave a comment

Your email address will not be published.


*