Free songs
Home / लेख/आलेख / भूइँया र भूपेन्द्र

भूइँया र भूपेन्द्र

चियामा राखिएको हर्लिक्स पनि अल्कोहोलिकमा परिवर्तन भयो कि भनी शंकाले हेर्नुपर्ने दिन गुजार्दै थिएँ । नआइज भन्दाभन्दै जबर्जस्ती घरभित्र छिरेको लकडाउनको दिन । जति फकाए पनि निस्कनै नमान्ने । फोनमा पनि मिचिमिची हात धुनुपर्ने उराठिलो विज्ञापन बजिरहने दिनहरु धकेल्नु सहज थिएन मेरो लागि ।

यस्तैमा बुकाहोलिक्सको पेज हेर्दै जाँदा सगुना शाहजीको पोष्टमा पुगेर म अल्झिएँ । लकडाउनमा स्रष्टाहरुसँग साक्षात्कार, चकटी बहस आदि लोकप्रिय कार्यक्रमहरुमा निरन्तर खटिने सगुना शाहजीको पोष्टमा । एउटा खुट्टा अंग्रेजी र अर्को खुट्टा नेपालीमा राखेर बडो सन्तुलनसाथ साहित्यसिन्धुमा डुबुल्की मारिरहने गोताखोर सगुना शाहजी आफैँमा आश्चर्यकी प्रतिमा लाग्छ मलाई ।

उहाँ आफ्नो पोष्टमा लोभलाग्दो मेनुमा तातताता पुस्तकहरु राखेर आफैँतिर आइरहनुभएको रहेछ । मेनु हेरेँ सबैभन्दा ताततातो ‘सगरमाथाको गहिराइ’ लाग्यो । नवराज पराजुलीको पाककला पनि गजबको छ, उहाँले पकाएर छोडेका ममका डल्लाजस्ता शब्दहरु जति चिस्यायो उति ताता हुँदै जान्छन् । युट्युबमा बारम्बार दोहर्‍याएर सुंघिरहेका ती कविताजस्तो रिकापीमा राखिएका तातताता शब्दका डल्लाहरुले पटक्कै धित मरेको थिएन । हुन पनि पुस्तककै रिकापीमा राखिएका ताता कविताहरु जिब्रोमा खेलाउँदै जिब्रो पड्काउँदै स्वाद ग्रहण गर्नुको मिठासको सुविधा युट्युबको अप्सनमा छोडिएको हुँदैन । तसर्थ मैले त्यही पकवान अर्डर गर्ने विचार गरेर आँ के गरेको थिएँ सगुनाजीले बुझिहाल्नुभएछः “म थोरै यो पाकगृहको वेटर हुँ त ? त्यो काम त भूपेन्द्रजीको हो ।“

नवराज पराजुलीको पाककला पनि गजबको छ उहाँले पकाएर छोडेका ममका डल्लाजस्ता शब्दहरु जति चिस्यायो उति ताता हुँदै जान्छन् । युट्यूबमा बारम्बार दोहर्‍याएर सुंघिरहेका ती कविताजस्तो रिकापिमा राखिएका तातताता शब्दका डल्लाहरुले पटक्कै धित मरेको थिएन ।

अश्विनी कोइरालाबाट केही वर्षअघि लिएको जुकरवर्ग क्याफे बडो कल्याणकारीको स्वाङ पार्दै सल्यानस्थित एक पुस्तकालयलाई डोनेट गरेको थिएँ । जुन दिन डोनेट गरेँ, त्यही दिनदेखि मन कटक्क खाने रोग झन् झन् बल्झँदै थियो । एउटै पुस्तक दुईपटक किन्नु पनि मुर्खता हो कि भनी सित्तैमा प्राप्त गर्न अश्विनीजीलाई फकाएँ । उहाँ पनि के कम, उहाँले पनि भूपेन्द्रजीलाई नै औँल्याइदिनुभयो ।

फलस्वरुप प्राप्त गरेको थिएँ तीन पुस्तकहरु : फातसुङ, सगरमाथाको गहिराई र भुइयाँ ।

फातसुङ हेर्ने हुटहुटी चल्नुको कारण थियोः करिब एकवर्ष पहिल्यै कान्तिपुरमा मनोज बोगटीले गरेको समीक्षा । त्यो हेर्न लायक किताब होइन भनिसकेपछि नहेरे हुने नि ! पुस्तकको मात चढेका व्यक्तिहरुलाई जे नहेर्नु भन्यो, त्यही हेर्न कुतकुती लाग्छ ।

पुस्तक मदवाला त थिएँ नै तर पूरै असंगठित । एक्लै बर्बराउने र एक्लै फतफताउने मात्र । एक दिन ती मत्वालाहरुको अर्को संगठन खुलेको छ रे भन्ने जान्नमा आयो । खोज्न दुई कदम के राखेको थिएँ, बुकाहोलिक्स भन्ने संगठन भेटिइनै हाल्यो । गज्जब लाग्यो । कोही पिइरहेका । कोही झमझमाइरहेका । कोही टेबुल ठोक्दै गरेका । कोही बर्बराइरहेका । कोही लर्बराइरहेका ।

पसेपछि मात्र गहिराई थाहा हुँदै गयो । अतल गहिराइमा बिराजमान सगुनाजी त बारमालिक नै भइहाल्नुभो । उहाँलाई मदमत्ताहरु जमघट नभैदिए खाएकै नपच्ने । स्रष्टासँग साक्षात्कार कार्यक्रम त उहाँको एउटा उपक्रम मात्र थियो । त्यही कार्यक्रममा जम्काभेट भैहाल्यो फातसुङका लेखक छुदेन काबिमो र समीक्षक मनोज बोगटी दुवैसँग ।

पिएर पनि नपिएको बहाना गर्नु संसारकै कठिनतम काम हो । त्यस्तै देखिए यी दुवै गौप्राणी । अत्यन्तै सोझा, अत्यन्तै सरल, अत्यन्तै भावुक । टन्नै पिएर पिउँदै नपिएको प्रमाण जुटाउँदै थिए । ममा प्रभाव के पर्‍यो भने फातसुङको तिब्र चाह । त्यसैले अर्डर गर्न बाध्य भएको थिएँ ‘फातसुङ’ ।

पहिलो दृष्टिमै पुस्तकको जिल्लाले मनोजको मनोविज्ञान मेटाइदियो । चिटिक्ककी केटीको कलेवर ! पक्कै कुनै प्रेमकहानी हुनुपर्छ ! पातलो पातलो पुस्तक ! के चाहियो र अरु ? पहिले यसैलाई रित्त्याइदिऊँ । एक ट्वाक मुखमा हाल्नेबित्तिकै बाल्यकालीन नोष्टाल्जियाले फिटिफिटि पार्न थालिहाल्यो नि ! परदेशको त्यो कालेबुङ र स्वदेशकै तत्कालीन रुकुमको दृश्यमा एक इन्चि यताउता परेको छैन । पढाइको शुरुवाती दिनको त्यो ‘रिपदेन’ र यताको यो ‘पुरनु’ मा के नै फरक थियो र ! कतै यो मान्छेले मुसिकोटमै आइपुगेर मेरै कथा त लेखिरहेको छैन ? मनै सिरिङ्ग, जिउ नै जिरिङ्ग ! शब्द उस्तै, भाव उस्तै ! अनि त एक सास र एक बसाइमा पढिनसक्नु बाहेक कुन विकल्प उपलब्ध थियो र मसँग ?

उताको आन्दोलन पनि काटीकुटी यस्तै थियो । बुझेर लाग्नेहरु नेपथ्यमा थिए होलान्, तर मन्चमा त बुझ्दै नबुझी लाग्नेहरुको हरिबिजोग त यो भन्दा कहाँ फरक थियो र ? उता दर्जनौँको बली चढिसकेपछि जसरी आन्दोलन अड्किएको थियो, यता पनि त सयौँको बलीदानीपछि उसरी नै बिचमै अड्किएको थियो आन्दोलन ।

प्रस्तुति शैली बडो मज्जेदार ! आँखाभरि रिपदेन, नोर्देन, नासिम, लाछिरिङ, एनबि र नरेन सर भूमरी पारी पारी कति नाचे कति ! लेख्नु त यसरी पो ! अत्यन्तै मिहिन कुरालाई मिहिन ढङ्गबाट कसरी प्रस्तुत गर्न सकेको होला ???

फेरि दोहोर्‍याएँ मनोज बोगटीजीको समीक्षा । लाग्यो, यो उपन्यास पढेर नकाम गरिएछ । फजुल समय फजुल बिताइएछ । धत्तेरिका ! चित्त बुझेन र फेरि हेरेँ फातसुङ । यसले उसरी नै गाँजिल्यायो कि बरु नपढेको भए नकाम गरिँदो रहेछ ।

फेरि मनोजलाई पढेँ । फेरि आफैलाई ल्वाप्पा खुवाएँ ।

फेरि फातसुङ हेरेँ लाग्यो ठीकै गरिएछ । कतै ‘अपरिपक्व र खेलाँची पाराले उठाइएको आन्दोलनको अन्त्य यस्तैमा टुङ्गिन्छ भन्ने व्यङ्ग्य पनि त हुनसक्छ ! यसको मकसद बाह्य वातावरण र भित्री शक्तिको आँकलन नगरी आन्दोलनको श्रीगणेश नगर भनी दिइएको सुझाव पनि त हुनसक्छ । उपन्यासको मकसद यही हो भने यो उपन्यास सारमा पनि बेठीक होइन । सबैका आआफ्ना मुद्दा छन्, लाप्चाले क्षेत्रीको लागि कहाँ लेखिदिनसक्छ र ? लाप्चाले लाप्चाकै कुरा जति राम्रोसँग प्रस्तुत गर्नसक्छ अरुले सक्दैन नि त ! आफ्नो समुदायप्रति न्याय गरे त अर्को समुदायलाई के अन्याय ??

त्यसपछि शुरु गरेँ ‘सगरमाथाको गहिराई’ । सगरमाथाको उचाइ त आजसम्म पत्ता लगाउन हम्मे हम्मे परेको यो काँचो साहित्यनुरागीलाई यसको गहिराइ पत्ता लगाएर के साध्य ! मुटु गाँठो पार्दै, परेली निचोर्दै साहसपूर्वक शुरुवात गर्नुपर्छ यो पुस्तक । शब्द र शैली जति सामान्य छन्, त्यसको भाव पक्ष उति असामान्य ! कतै सामान्यलाई असामान्य तुल्याउने कला कतै असामान्यलाई सामान्य तुल्याउने पारख । लाग्छ नवराजका कविताहरुको उपयुक्त समीक्षक नवराज बाहेक अरु हुनै सक्तैन ।

कविताको क नै नजान्नेले केको समीक्षा गर्नु । आफ्नो काम त कुटुक्क एकगेडा कविता टोक्यो, घुटुक्क थुक र आँशुले निल्यो । वश् । उनका जस्ता आमाबा मेरा पनि छन् । उनको जस्तो देश मेरो पनि छ । उनकी जस्ती प्रियतमा मेरी पनि छन् । तिनै मेराहरुलाई हाम्रा बनाइदिएपछि कसलाई मन नपरोस् उनका कविता । अझ उनका एउटा कवितामा आफ्ना सयौँ कविताहरु मिस्याउँदै रसपान गर्नुको मज्जा बेग्लै ।

त्यसपछि लागियो भुइयाँतिर । भुइयाँ पढ्न बाध्य किन भइयो भन्ने कुरा पृष्ठभूमि नबुझी पत्तो पाउनुहुनेछैन । खासमा भूपेन्द्रजीको र मेरो लडाइमा यो भूपेन्द्रजीको जीतको परिणाम थियो । एक आमाले शिशुलाई कोची कोची लिटो कोच्याएजस्तै । तर ठ्याक्कै त्यही हो नभनौँ । किनकि कुरा अलिकति फरक छ ।

भुइयाँ र भूपेन्द्र मेरा लागि दुवै फेभोरिट पक्वान्नमा परेका थिए । भूपेन्द्र किन फेभरिट थिए भने उनी नाम चलेको प्रेस फाइनप्रिन्टसँग सम्बन्धित व्यक्ति । त्यसो पनि होइन । फाइनप्रिन्टबाट जति पनि पुस्तकहरु प्रकाशित हुन्छन् ति पुस्तकहरुको कुनै न कुनै पानामा भूपेन्द्रको नाम अंकित रहेको अनुमान गरिरहेको थिएँ । यस्तैमा भूपिन खडकालाई चिन्ने अवसर मिल्यो, मैले त भूपिन नै भूपेन्द्र हुन् कि भन्ठानेको । उनका पुस्तकहरु पढ्दा पनि भूपेन्द्रको स्थान बेग्लै दिइएकोले बल्ल थाहा पाएँ, यी शब्दाधिपति त भिन्नाभिन्नै पो रहेछन् ।

कुरा भुइँयाको गर्नु थियो, म भूपेन्द्रमै अड्किरहेको छु । म जब बुकाहोलिक्समा जोडिएँ भूपेन्द्र ममा झनै सवार हुन थाले । जब सगुनाजी र अश्विनीजीले पनि भूपेन्द्रकै नाम लिन थाले म झनै यिनको नाममा चमजुम्रा टाँसिएझैँ टाँसिएँ । अश्विनीजीले दिएको फोन जब उनलाई लगाएँ । पहिलो घण्टीमै फोन उठिहाल्यो । जब चीरपरिचित मित्रहरुझैँ बातचित नै भैदियो म त झनै हैरान भएँ ।

मैले उहाँलाई किताबको नाम टिपाएँ : सगरमाथाको गहिराइ, फातसुङ र जुकरवर्ग क्याफे । एकछिनमै जुकरवर्ग क्याफे साथीले फ्वाँसे ल्याइदिने खबर दियो । मैले भूपेन्द्रलाई लिष्ट सच्याउन अनुरोध गर्दै भनेँ : ‘जुकरवर्ग क्याफे यतै पाइने भयो अरु कुनै किताब सुझाउनुस् ।‘ भूपेन्द्रले भएभरका किताबको लिष्ट मेसेन्जरबाट हातमा थमाइदिए । म अलमलमा परेँ । ब्रजेश, यज्ञश र विप्लव प्रतिकका कृतिहरु बारेमा सोधखोज गरेँ । उनले मुखमुखै नाम टिपाइदिए । मैले ब्रजेशको साइड हिरो छानेँ । उनले यज्ञशको भुइयाँ पढ्नुस् भने । किताबको मूल्य साइज र विधाको रुचि जानकारी गराउँदै साइड हिरो नै लिने विचार मैले राखेँ । उनले भुइयाँ नछोड्नै वेश भन्दै ढिपी गरिरहे । लिनु मैले थियो, उनले जिद्दी गरेर के लाग्थ्यो ? मैले ‘अरु पछि हेरुँला अहिले साइड हिरो नै पठाइदिनु’ भनेँ । कुरा मिल्यो ।सम्बन्धित पोस्टहरु

दिनहरू बित्दै गए, औषधिले काम गर्दै ल्यायोजीवन मुकारुङ  मंगलवार भाद्र २३, २०७७ १४:१०

केक काट्ने दिनविक्रम पवन परियार  शनिबार भाद्र २०, २०७७ ०६:००

मापसे अर्थात् मास्क, पन्जा र सेनिटाइजरबिरोध खतिवडा  शुक्रबार भाद्र ५, २०७७ १०:००

यी किताबहरु छिट्टै निवासमै आइपुग्नेछन् भन्दिएपछि म झनै मात्तिएँ । उनी आफैँ आफ्नो निवासमा आइपुग्ने आश्वासनले त मेरो रोमाञ्चकता यति आकाशियो कि म भुइँ कति तल छ, अनुमान नै गर्न सकिनँ । तीन दिनसम्म उनकै गीत गाएर नाचेँ, उफ्रिएँ । म यति खुशी अश्विनी कोइरालासँग चिनजान हुँदा समेत भएको थिइनँ ।

तेस्रो दिनको अपरान्हतिर उनले आफू चाँगुनारायण आइपुगेकोले मूलबाटोमा आइपुग्न खबर गरे । उनीसँग निकट भविष्यमा भेट हुँदैछ भन्ने उत्साहले मेरो मुटुले नै ठाउँ छोड्न थाल्यो । केही गरी भित्रै आएर चिया खाने प्रस्ताव राखेभने के गरुँला भनी श्रीमतीलाई पूर्वतयारीमा रहन अह्राउँदै म बाटोमा निस्किएँ । म बस्ने ठाउँबाट चाँगुनारायण उत्तरतिर पर्थ्यो, म उत्तरैतिर सोझिएँ । उनले दिएको गाडीका हुलियाअनुसार तीन चारवटा गाडी आँखै अगाडिबाट हुँइकिए रोक्न खोज्दा कसैले रोकेन । बल्ल अनुमानित समयभन्दा केही पछि भूपेन्द्रजीकै फोन आयोः तपाईँ कहाँ हुनुहुन्छ ? हामी त आइसक्यौँ !’

“मैले हरेक गाडी रोकेर हेरिरहेको छु, तपाईँ आइपुग्नुभएकै छैन । अझै तल आउनुस् ।“

“हामी सबैभन्दा तल आइसक्यौँ, अझै तल आए त कोटेश्वर पुगिन्छ ।“

यस्तै एकदुई जवाफसवाल पश्चात् उनले आवेशमिश्रित् आवाजमा भने, “कस्तो तपाईँ त । लामाचाख्ला कुरा नगर्नुस् । हामी दुवाकोट प्रहरी पोष्टमा छौँ । तपाईँ कहाँ हुनुहुन्छ ।“
भएन बर्बाद ? म कुद्दै लगातार उत्तरैतिर हानिइरहेको छु, उनी आइपुगेछन् दक्षिणतिरबाट । मेरो एकोहोरो भुत्ते दिमागले दुवाकोटबाट चाँगुनारायण उत्तरतिर मात्र पर्छ भन्ने मात्र सोच्यो । अन्य तीनै दिशाबाट पनि यहाँ आइपुग्न सकिन्छ भन्नेतिर होसै रहेन । यस्ताले के लेखी खानू ? अब म कुद्न थालेँ, दक्षिणतिर । बल्ल उनको गाडीको पहिचान भयो । एकनासले उछ्रिरहेको धड्कनले मुटु समेत ठाउँ छोडिरहेको आभाष दिइरहेको थियोः “आहा अब दन्त्यकथाका राजकुमारजस्ता भूपेन्द्रजीसँग भेट हुँदै छ !”

गाडी मेरै अगाडि रोकियो । म लर्बरिँदै गाडीको झ्यालतिर बढेँ । मैले झुकेरै अभिवादन नगर्दै मैले मागेका पुस्तक मेरा हातमा परिसकेका थिए । भूपेन्द्रजीको लवाइखवाइ अनुहार कस्तो थियो, राम्रोसँग नियाल्न पनि नपाउँदै गाडी मोडिएर नजरबाट बेपत्ता भैसकेको थियो । अलिअलि सम्झन्छु, सेतो कमिज लगाएको, लाम्चो लाम्चो गोरो गोरो मुहार । यस्तै यस्तै हुनुपर्छ । ठम्याउनै गाह्रो । मनलाई सन्त्याएँ उनको फेसबुक प्रोफाइल हेर्छु र ठम्याउँछु । मेरो फ्रेन्ड रिक्वेष्ट पनि त्यतै अड्किएको होला ।

घरभित्र मल्स्याङ मल्स्याङ गर्दै छिरेर किताबहरु हेर्छु त साइड हिरो छैन ! त्यसको बदला उनैले करबल गरेको भुइँया पो छ ! जाँगर यसरी सेलायो कि तातोपानी खन्याएको थर्मसमा चीसोपानी खन्याएसरि । झण्डै टुक्राटुक्रा भइनँ । आफ्ना खुट्टा सकीनसकी लतार्दै ओछ्यानसम्म पुगेँ र घोप्टिएँ । स्वास्नीले घाउमा नुन छर्किँदै भनिन् : “साथीहरु आउनुभएनछ, चार कप चिया तपाईँ नै खानुस् !”

उनको व्यङ्ग्यलाई चियासँगै घुट्क्याउन जुरुक्क उठेँ र घटघटी मनतातो चिया पिउन थालेँ । उनले मलाई नपुगेको देखेर थपिन् : “पूर्ण आफैँ नआएर काम गर्ने कामदार पठाए भन्ठाने कि ?”

म आँखा दुखेको बहाना गर्दै ओछ्यानमै पल्टङ्गै पल्टिएँ । आँखा त पहिल्यैदेखि दुखिरहेको थियो नि त । पुस्तक र भूपेन्द्रलाई हेर्ने रहरले पो बल्लतल्ल आँखा खोलेको थिएँ । छाति त पहिल्यै पोलिरहेको थियो, पुस्तकको आगमनको स्वागतार्थ मात्र एकछिन आराम भएको थियो ।

भोलिपल्ट दुखाइ हल्का भएपछि फातसुङ सिद्ध्याएँ । पर्सिपल्ट सगरमाथाको गहिराइ बुत्याएँ । तर भुइयाँ मरिगए छुन सकिनँ ।

तेस्रो दिन पनि भुइयाँ हेर्ने जाँगर चलेन । चौथो दिन के पढूँ के पढूँ भैरह्यो । आफैलाई सम्झाएँ । पुस्तकको अक्षरहरुसँग केको रिसराग ? के रैछ हेरूँ न त !

अनि भुइँयाका पाना पल्टाउन थालेँ । ससाना कथाले ऐतिहासिकता समेटेजस्तो लाग्यो । अलिकति ध्यान उकासियो । तातो कराही शुरु गरेँ । शैली नै मीठो रमरम भयो जिब्रोमा । अलिकति अगाडि बढेर पार्वती राजीको सुकुम्वासी वस्तीमा छिरेँ । मछेलीसम्म पुग्न आँट आयो ।

प्रस्तुतिकला अरुभन्दा थोरै फरक लाग्यो । कथाहरुतिर छिर्न थालेँ । कथाभित्र अनेकौँ कथाहरु । कथाहरुभित्र अनेकौँ व्यथाहरु । व्यथाहरुभित्र अनेकौँ भोगाइहरु । यथार्थ दुखाइहरु । देख्नेले सानो देख्ने तर भोग्नेको लागि निकै गह्रुँगा घाउहरु । सबैले अत्यन्तै सुझबुझ र व्यवस्थित हिसाबले चाङ मिलाएर राखिएको बान्की । मेरी बास्सै किताब त गज्जबकै रैछ त ।
पूरै किताब अझै पढिसकेको थिइनँ, सगुनाजीलाई मेसेज गरिहालेँ : “म्याम् मलाई प्राप्त पुस्तकहरु बारे थोरै गन्थन लेखेको छु । थोरै भन्दाभन्दै चारपाँच पेज लामो भैहाल्यो । बुकाहोलिक्सको पेजमा पोष्ट गर्न मिल्ला नमिल्ला ?”

“ल ल पठाइहाल्नू, म साहित्यपोष्टमा छपाइदिन्छु ।“ म गर्छु गाग्राका कुरा म्याम गर्नुहुन्छ आग्राका कुरा ।

झनक्कै रिस उठ्यो ‘बुझ्नुसुझ्नु छैन । छपाइदिन्छु रे ! भूपेन्द्रजीको ठाउँमा यिनी भैदिएको भए कतिको पुस्तक छपाइदिँदी हुन् ?’

मैले आफ्नै ढिपी कसेँ, “यस्ता छेउ न पुच्छरका कुराहरु राखेर साहित्यपोष्टको गरीमा नघटाम् भो !”

यस्तै भएको थियो, रितु खनालसँगको प्रसङ्गमा पनि । उहाँका कविताहरु नौनीमा लतपतिएको जस्ता लाग्छन् । चिनजान भएको थिएन फ्रेन्ड रिक्वेष्ट पठाइहालेँ । उहाँले तुरुन्तै एसेप्ट गरिहाल्नुभयो । मैले पनि ताततातै उहाँका कविता मन परेको कुरा राखिहालेँ । परिचयको क्रममा मैले सांस्कृतिक संस्थानमा उहाँको कविता सुनेको प्रसङ्ग जोडेँ ।

“मैले त हजुरलाई चिनिनछु,“ उहाँले पश्चात्ताप मानेझैँ गर्नुभयो ।

मलाई हाँसो उठेर आयो ‍जवाफ दिएँ, “तपाईँले मात्र होइन म्याम्, साहित्यकारको नाम कमाएका वा विकाएका हजारौँ साहित्यकारहरुमध्ये चारपाँचजना बाहेक कसैले पनि चिन्दैनन् मलाई । किनकि म कुनै सिद्धहस्त लेखक होइन, तर तपाईँहरुको असल पाठक भने अवश्य हुँ ।“ उहाँले पत्याउनु भएन । कहिलेकाँही साँचो कुरा पनि पत्याउन गाह्रो हुन्छ ।
रितुजीलाई भनेझैँ एक पाठक मात्र नभई सानोतिनो लेखक पनि हुँ म । कहिलेकाँही अलिअलि लेख्छु पनि । नाम चलेकै पत्रिकामा प्रकाशित पनि भएका हुन्छन् मेरा लेख । मेरो रचनाका पाठकहरु सीमित चिनजानका साथीहरु नै हुन्छन् । सिद्धहस्त मेसेन्जरमै पठाइदिए पनि नाम चलेका एउटै लेखकले मेरा लेखहरु पढेका हुँदैनन् । जसका पुस्तकहरु म खोजीखोजी पैँसा तिरीतिरी पढ्छु उसैले मलाई टेरपुच्छर लाउँदैनन् । कहिलेकाँही लाग्छ, भो नलेखूँ क्यारे । तर मन सन्त्याउँछु, म त असल पाठक हुँ नि त, असल लेखक थोरै हुँ र ? असल लेखकको स्तरमा पुग्न त मैले धेरै परिश्रम खर्चिनुछ । त्यो भनेको आफ्ना लेखहरु कसैले पढिदिऊन् कि नपढिदिऊन् लेखिरहनुपर्छ, लेखिरहनुपर्छ, एउटै पाठक नभए पनि लेखिरहनुपर्छ । मनमा जे आयो त्यो लेखिरहनुपर्छ । लेख्नै छोडेँ भने कहिल्यै उनीहरुको स्तरमा पुग्नेछैन म ।

कुरा यही नै हो । रितु खनालजी र सगुना शाहजीले कति बुझ्नुभयो, उहाँकै जिम्मा । सगुनाजीले त मेरो बारेमा धेरै बुझ्नुहुनेछ, किनकि यो लेखको एउटा मात्र पाठक सगुनाजी नै हो । बाँकीको प्रयोजनको लागि यो लेखिएको हुँदै होइन ।

भुइयाँको कुरा नसकेर अन्तै लागेछु म । यही हो आलाकाँचा र पाका साहित्यकार बीचको अन्तर ।

ठीकै गरेछन् नि त भूपेन्द्रजीले भूइयाँ किताब मलाई भिडाइदिएर । विषम परिस्थितिमा बाहिर निस्किएका । कोठामै थुनिएकाहरुलाई उद्धार गर्दै हिँडेका । उनको समय र बाध्यता आफ्नोसँग दाँजेर कहाँ हुन्छ त ? उनका आफ्नै कामका चाङहरु थिए होलान् । भलै उनीसँग परिचय नै हुन नसके आफ्नो के बित्छ र ? उनी अहिले यी किताबका लागि माध्यम भैदिए, लेखक र वस्तुस्थितिसँग सम्वाद गर्न मलाई सजिलो भैदियो । समयसँग सम्वाद गरेर कष्टसाध्य दिन धकेलियो, यही नै होइन र उनले लगाउन सबैभन्दा ठूलो गुण ? भविष्यमा काम लाग्लान् पनि । कामै नलागे पनि आफ्नो दृष्टिबिन्दु यिनकै कारणले मेटिने कदापि होइन ।

झण्डै यति महत्त्वपूर्ण पुस्तकहरु नपढेर नकाम गरेनछु !

 50 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top