Free songs
Home / प्रवचन संग्रह / भगवानको हात र साथ

भगवानको हात र साथ

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

ब्रह्मकुमार ब्रह्मकुमारीहरुले आवाज निकाल्छन् बाबा हामी तपाईँको साथ छोड्दैनौँ । यसको उत्तरमा बाबाले के भन्नुभयो होला ? जब आत्मा आफ्ना पिता परमात्मासंग भन्छन् कि ‘बाबा हामी हजुरको साथ छोड्दैनौँ’ तब परमात्माले के भन्नुभयो होला ? उहाँले पनि केही त भन्नुभयो होला नि ! कुनै सानो कारण हुने बित्तिकै मान्छेको जातले हात र साथ दुवै छोडिदिन्छन् । तर बाबा जो परमपिता परमात्मा हुनुहुन्छ, उहाँले हाम्रो आवाज सुनिरहनुभएको हुन्छ । अनि उहाँले के भन्नुहुन्छ होला त ? उहाँको मुखारविन्द कस्तो देखिन्छ होला ? उहाँले पनि भन्नुहुन्छ होला ‘हो, बच्चा, मेरा मीठा बच्चा, मेरा सिकिलधे बच्चा, म पनि तिम्रो साथ छोड्दिन ।’ जब हामी उहाँको साथ छाड्दैनौँ भने उहाँले पनि कसरी हाम्रो साथ छोड्न सक्नुहुन्छ र ? भक्तिमार्गमा हामीले उहाँलाई अर्जी गरिरह्यौँ, चिठ्ठी लेख्दैगर्‍यौँ, तर कुनै जवाफ आएन । प्रार्थना गर्दै रह्यौँ, तर कुनै पनि जवाफ मिलेन । भगवानसंग प्रार्थना गर्नु नै उनलाई अर्जी लेख्नु हो । किन ? किनकि हामीलाई उहाँको परिचय थाहा थिएन ।

तर संगमयुगमा बाबाको उत्तर तुरुन्त मिल्दछ । हामीमा त्यो सुन्ने शक्ति हुनुपर्‍यो । तपाईँ उहाँप्रति ध्यान दिनुभयो भने उहाँको आवाज पनि सुन्न सकिन्छ कि उहाँले भनिरहनुभएको हुन्छ, ‘मीठे बच्चे, म पनि तिम्रो साथ छोड्दैन ।’ यो सुन्ने तपाईँमा योग्यता हुनुपर्‍यो । बाबाले तत्कालै जवाफ दिनुहुन्छ, ‘बेटे, लाडले बच्चे, सिकीलधे बच्चे, मेरे विशेष बच्चे, सेवाधारी बच्चे, मैँ भी आपका साथ नहीँ छोडूँगा ।’ सुन्न आउँछ ? यसैले भनिन्छ भित्रको पट खोल । भित्रको आँखालाई तेस्रो नेत्र भनिन्छ । त्यो नेत्र खोल्नु नै पर्छ । त्यो वेगर हामीले कसरी परमधाम देख्नसकौँला ? स्वर्ग देखौँला ? शिव बाबाको धाम, नाम, रुप के हो ? यी कुरा पनि देख्न सक्दैनौँ । तेस्रो नेत्रका साथ तेस्रो कान पनि खोल्नुपर्‍यो । मान्छेहरु तेस्रो नेत्रको बारेमा त भन्छन्, तर तेस्रो कान के हो जान्दैनन् । यही तेस्रो कानले नै भगवानले के भनिरहनुभएको छ सुन्न सकिन्छ । हामीले त रिसिभर पनि बन्द गरेर राखेका छौँ । उहाँले बच्चाहरुको फोनमा केही कुरा बताउन चाहनुहुन्छ, केही कुरा गर्न चाहनुहुन्छ कि ‘मेरा बच्चाहरु कठिनाइमा छन्, तिनलाई मुक्त गर्न युक्ति बताऊँ ।’ तर बच्चाहरुले टेलिफोनको रिसिवर नै स्वीच अफ गरेर राखेका छन् । अनि के गर्ने ? हामी बच्चाहरु भन्छौँ, ‘बाबा, हामीलाई मद्द गर्नुहोस्, हामी मुश्किलमा छौँ ।’ उहाँले हाम्रो प्रार्थना सुनि रहनुभएको छ र जवाफ पनि दिन चाहिरहनुभएको छ, तर के गर्ने ? हामीले हाम्रो मनलाई वा बुद्धिलाई उहाँतिर फर्काउँदैनौँ । कहीँ अन्तै व्यस्त छौँ हामीहरु । आफ्नो टेलिफोनलाई अरुसंगै कुरा गर्नमा व्यस्त राखेका छौँ । लाइन फ्रि नै नराखेपछि जवाफ कसरी प्राप्त गर्ने ? जब हामी पनि भन्छौँ, ‘बाबा, हामी हजुरको साथ छाड्दैनौँ’ र बाबाले पनि भन्नुहुन्छ, ‘म पनि तिम्रो साथ छाड्दैन’ यसको परिणाम के होला ? के तपाईँलाई थाहा छ ? जब भगवानले पनि कसैलाई साथ दिनुहुन्छ र उसले पनि भगवानको साथ छाड्दैन भने यसको परिणाम के होला ? त्यस व्यक्तिको आशा तथा मनोकामना पूरा होला ।

साथ र हात नछोड्नुको र जोड्नुको अर्थ के होला ? कसरी साथ छोड्न सकिन्छ ? र कसरी जोड्न सकिन्छ ? यी सब सुक्ष्म कुरा हुन् । स्थूल कुरा होइनन् । भनिन्छ कि दुई रामायण छन्, एउटा रामायण र अर्को अध्यात्म रामायण । राम थिए, उनकी सीता थिइन्, एक दिन रावण आयो र सीतालाई उठाएर लग्यो, राम-रावणको लडाइ भयो, यो भयो रामायण । संगमयुगमा बाबा आएर बच्चाहरुलाई बताउनुहुन्छ, राम को हुन् ? रावण को हो ? सीतो को हुन् ? यसलाई अध्यात्म रामायण भनिन्छ । यसै प्रकार बाबाले आएर हामीलाई यो बताउनुहुन्छ कि साथ छोड्नु र साथ जोड्नुको आध्यात्मिक अर्थ के हो ? साथ जोड्नुको अर्थ हो साथसाथै जानु, एउटाको बगलमा अर्को हिड्नु, एकअर्काको पछि पनि नजानु, साथसाथै हिड्नु । एकअर्काको मदतगार भएर जानु । बाबाको साथ भयो भने हामी उपर मायाको सवार हुनेछैन । यदि कसैको उपर सवार भए पनि बाबा उसको साथमा हुनुहुन्छ भने उसलाई बचाउनुहुन्छ, मदत गर्नुहुन्छ । यदि कुनै आत्मा कुनै धोखाबाट मायाको वशमा परेको छ भने पनि बाबाको कर्तव्य हुन्छ कि आफ्ना बच्चाहरुको रक्षा गर्नु, मदत गर्नु । जरुर गर्नुहुन्छ र गरिरहनुभएको छ । मायाको वशमा परेको त्यस व्यक्तिलाई बाबाले पत्र लेख्नु भएको छ, फोन गर्नुभएको छ र आफूकहाँ बोलाएर फेरि उठ्नको लागि उमंग र उत्साह भर्नुभएको छ । बाबाले उनीहरुलाई छोड्नुभएन । जसले बाबालाई भने कि ‘बाबा म तपाईँको साथ छोड्नेछैन’ अनि आफ्नो वाचा निभाउन कोशिस पनि गरे भने बाबाले पनि उनको साथ कहिले पनि छोड्नुभएन, उसलाई पूरै साथ दिनुभयो र दिनुहुन्छ पनि । यस्ता धेरै उदाहरणहरु हामीले देखेका छौँ । यदि हामी बच्चाहरुले भगवानको हात र साथ छोड्दैनौँ भने ती सर्वशक्तिवान परमपिताले ती बच्चाहरुको हात र साथ कसरी छोड्नसक्नुहुन्छ र । यो हाम्रो भगवानसंग भएको सम्झौता-Agreement हो । यो सामान्य Agreement होइन । जो पेपरमा लेखिन्छ, त्यो हराउन पनि सक्छ, यो त आत्माहरु र सर्वशक्तिवान आत्माबीचको Agreement हो । अविनाशी आत्माको अविनाशी परमात्मासंग भएको सम्झौता हो । यदि दिलबाटै सम्झौता गरिएको भए यो अन्तसम्म रहनेछ र पूरा हुनेछ पनि । उहाँ धर्मराज हुनुहुन्छ, आफ्नो वाचा पूरा गरेरै छाड्नुहुन्छ । तर तपाईँले आफ्नो भित्री पेट उहाँको अगाडि खोल्नुपर्छ । यो सम्झौता धेरै मूल्यवान छ । यो सम्झौता गर्दाखेरि नै तपाईँको भाग्य बनिसक्छ । तपाईँको लागि स्वर्गको द्वार खुला हुन्छ । तपाईँ सुख चैनले बाँच्न सक्नुहुन्छ, किनकि तपाईँको भगवानसंग एग्रिमेन्ट भैसकेको छ कि हामीलाई संहाल्ने सारा जिम्मेवारी भगवानको भइसकेको छ ।

बाबा सँधै भन्नुहुन्छ ‘सफलता तिम्रो जन्मसिद्ध अधिकार हो ।’ तर पनि हामी बाबाको महावाक्यहरुलाई बुझ्न सक्दैनौँ । बाबा भन्नुहुन्छ ‘सफलता तिम्रो जन्मसिद्ध अधिकार हो’ तर आफै अकमकाउँछौँ सफलता होला कि नहोला भनेर । यस संसारमा हरेक कुरा कुनै न कुनै शर्तको स्थितिमा आधारित हुन्छ Everything is subject to a condition. कसैले भन्छन् कि तीन महिनामा एउटा महल खडा गरिदिन्छु । फेरि किन खडा हुन सकेन ? उसले भन्छ कि वर्षा भयो त म के गरुँ ? बजारमा सिमेन्ट मिलेन त कसरी बनाउने ? मजदुरहरु छुट्टी लिएर गाउँमा गएपछि मैले के गर्ने ? उसको भनाइको मतलब यी सबै परिस्थिति अनुकुल भएपछि मात्र समयमै बनाउने हो, वर्षा हुनुभएन, बजारमा निर्माण सामग्रीको अभाव हुनुभएन, आवश्यकताअनुसारका मजदुर पाइनुपर्‍यो, अनि पो तीन महिनामै बिल्डिङ बन्छ त ! यी सारा कुराहरु शर्तमा निहित छन् । यसप्रकार सफलता मेरो जन्मसिद्ध अधिकार हो भनेर आरामसंग झुलमा झुलिरहने, कुनै प्रयत्न नगर्ने, अमृतबेलामा नउठेर सुतिराख्ने, योग नलगाउने, तर ‘भगवानले भन्नुभएको छ, सफलता मेरो जन्मसिद्ध अधिकार हो’ भन्दैमा सफलता मिल्दैन । सफलता तपाईँको जन्मसिद्ध अधिकार त्यसबेला हुन्छ, जब यी शर्तहरु पालन गर्नुहुन्छः अमृतबेलामा योग गर्नुहोस्, संसारमा के देख्ने ? के नदेख्ने ? नराम्रो नसुन्ने, नराम्रो न देख्ने, नराम्रो नबोल्ने । यसैले आफैसंग सोध्नुहोस्, ‘सफलता प्राप्त गर्नको लागि के मैले यी नियमहरु र शर्तहरुको पालना गरिरहेको छु ?’ जे गरिन्छ, त्यही पाइन्छ, जस्तो छर्छौ, त्यस्तै फसल काट्छौ । यो कर्मको सिद्धान्त हो । यो कर्मको अटल नियम हो । नियमलाई छोडेर यस ड्रामामा कुनै कुरा पाइनेवाला छैन । बाबा भन्नुहुन्छ, ‘सफलता तिम्रो जन्मसिद्ध अधिकार हो तर मैले जे भन्छु, त्यस्तै गर्दैगयौ भने मात्र ।’ यो शर्त अनुसार तपाईँको सफलता मिल्नेछ । यो रहस्य त्यसै कुरामा छिपेको छ ।

बाबाको साथ निभाउनु, यो कुनै स्थूलमा साथ रहनु होइन । साथको अर्थ हो उहाँको श्रीमतअनुसार चल्नु । उहाँलाई साथमा राखेर हर कर्म गर्नु । बाबा अमृतबेलामा उठ्नु हुन्छ कि हुन्न ? उठिरहनुभएको हुन्छ । बाबा अमृतबेलामा उठेर बस्ने, अनि तपाईँ अमृतबेलामा सुतिरहने ? यो कसरी साथ होला ? तपाईँ रातभर बसेर टिभी हेर्ने, टिभीमा पनि कुनै पनि सिनेमा हेर्ने, अनि बाबा पनि तपाईँसंगै सिनेमा हेरेर बस्नुहोला ? अवश्य उहाँ त्यहाँ बस्नुहुन्न । बाबा भन्नुहुन्छ, ‘यदि तिमी मलाई साथमा राख्न चाहन्छौ भने यी टिभी, सिनेमा आदि हेर्न बन्द गर ।’ यो उहाँको शर्त हो । जहाँ रावण छ, त्यहाँ राम हुँदैनन् । जहाँ पाप छ, त्यहाँ बाप हुनुहुन्न । यी सब कुराहरु निश्चित शर्त अन्तर्गत छन् । तपाईँ भन्नुहोला ‘राति निद्रा परेन, यसैले अमृतबेला उठ्न सकिन ।’ अनि तपाईँ भन्नुहोला ‘राति अलि अबेर सुतेँ, जब अमृत बेला उठेँ, फलस्वरुप योग गर्दा झुङ आइरह्यो ।’ तपाईँ योगमा झुङेर बस्ने अनि बाबाले तपाईँलाई पर्खेर बस्नुहोला त ? बाबालाई आफ्नो साथमा राख्न तपाईँ चुस्त रहनुपर्छ । यदि आलस्य आयो भने थोरै घुमफिर गरेर आउनोस्, मुख धोएर बस्नोस् । के तपाईँलाई थाहा छ ? दिदी मनमोहिनीजीले अमृतबेलामा सँधै योगमा आउनुभन्दा पहिले स्नान गरेर मात्र आउनुहुन्थ्यो । योग पछि पुरै राम्रो तरिकाले रहन फेरि स्नान गर्नुहुन्थ्यो । यस प्रकार तपाईँले आफ्नो शरीरलाई ठीक ढङ्गले कसरी चलाउने ? भन्ने कुरा थाहा हुनुपर्छ । के गर्दा मेरो शरीरले मलाई ठीक तरीकाबाट सहयोग गर्छ ? त्यस विधिको जानकारी राख्नुपर्छ । यदि तपाईँले अमृतवेलामा नै योग गर्नुहुन्न भने कसरी सफलता मिल्ला ? केही मान्छेहरुले भन्ने गर्छन् ‘मलाई सफलता त मिल्छ, तर जति सफलता मिल्नुपर्ने हो त्यति मिल्दैन ।’ यसको अर्थ हो कहीँ न कहीँ लिकेज छ । कुनै न कुनै नियमको उल्लंघन तपाईँले गरिरहनुभएको छ वा कुनै न कुनै शर्तको पालता तपाईँले गरिरहनुभएको छैन । तसर्थ बाबाले भन्नुहुन्छ, ‘त्यस लिकेजलाई बन्द गर, शर्त पूरा गर र नियमको पालना गर ।’

हामी योग लगाइरहेका हुन्छौँ, तर साथमा छ आलस्य र सुस्ती । हामीले भगाउनुपर्ने आलस्य र सुस्तीलाई, तर आलस्य र सुस्तीले नै योगलाई भगाइरहेको हुन्छ । उल्टो माला जपिरहेका छौँ, माला त जपिरहेका छौँ तर उल्टो । भनिन्छ कि कुम्भकर्ण ६ महिना सुत्थ्यो । कसैले किर्तनकारलाई सोधे कि ‘महाराज, कुम्भकर्ण किन ६ महिना सुत्छ ? के उसलाई यति धेरै निँद आउँथ्यो ?’ उनले जवाफ दिए कि ‘कसैले कुम्भकर्णलाई भनिदेऊ कि इन्द्रको उपासना गर ।’ उसले इन्द्रको उपासना गर्‍यो । ऊ सुस्त मान्छे थियो । उसले ‘इन्द्र, इन्द्र, इन्द्र, ….’ भन्दाभन्दै आलस्यले गर्दा ‘निद्रा, निद्रा, निद्रा,…..’ भन्न थाल्यो र निद्रामा झुङ्न थाल्यो । जहाँ बस्थ्यो, त्यहाँ सुतिहाल्थ्यो । यसैले उसलाई भन्न थालियो कि ऊ ६ महिना सुत्ने गर्थ्यो । इन्द्रियजितलाई इन्द्र भनिन्छ । त्यसैले  उसले यदि यथार्थ रुपमा इन्द्रको उपासना गरेको भए इन्द्रियजीत बन्थ्यो । इन्द्रको बदला उसले निद्राको उपासना गरेकोले इन्द्रियको गुलाम अर्थात असुर बन्नपुग्यो । यसैले हाम्रो योग हुनुपर्छ परमात्माका साथ । परमात्मा हुनुहुन्छ सुक्ष्माति सुक्ष्म ज्योतिर्विन्दू । हामी आत्मा पनि छौँ सुक्ष्माति सुक्ष्म ज्योतिर्बिन्दु । यति सुक्ष्म ज्योतिको कणलाई परमात्माको साथ बुद्धियोग लगाउनुपर्नेछ भने हाम्रो बुद्धि कति चुस्त हुनुपर्ला ? अत्यन्त चुस्त राख्नुपर्‍यो । बाबाले भन्नुहुन्छ कि ‘सबैभन्दा महान कर्म नै योग गर्नु हो । योग गर्नु नै महान पुरुषार्थ हो ।’ मन-बुद्धि अलर्ट रहनुपर्‍यो । बाबा आँखा खोलेर नै योग गर्ने किन भन्नुहुन्छ ? किनकि हामीलाई निद्रा नआओस्, सुस्ती नआओस् । यदि कोही व्यक्ति निद्रामा जान चाहन्छ भने उसले पहिले बिछ्यौना लगाउला, लाइट बन्द गर्ला, आँखा बन्द गर्ला, त्यसपछि मात्र निद्रा आउन थाल्ला । तर हामीले आँखा बन्द गर्न चाहँदैनौँ, तर पनि निद्रा आइहाल्छ योगमा । किन ? किनकि योगको लागि आउँदा हामी निँदलाई पनि साथमै लिएर आउँछौँ । योगमा बस्दाखेरि नै हाम्रो भित्र बसेकी निद्रादेवीले आफ्नो अस्तित्व देखाउन थालिहाल्छिन् । यसैले जसरी भए पनि योगमा आलस्य र सुस्तीलाई भगाऔँ । यस्तो नसोच कि योग आज लागेन भने भोलि त लाग्ला । यसो भनेर एक एक दिन गरेर आजसम्म कति दिन बितिसके ? यसैले भोलिको सट्टा आजनै आफूलाई चेक गरौँ र आफूलाई चेन्ज गरौँ । किनकि बाबाले भन्नुभएको छ कि ‘अन्तिम समय यस्तो आउनेछ, त्यस समय तपाईँ योग लगाउन जानुभयो भने योग नै लाग्नेछैन । चारैतर्फ हाहाकारका घटनाहरु र हाहाकारका कुराहरु मात्रै हुनेछन् ।’ यसैले आजैदेखि तपाईँले योग बलको संग्रह गरेर राख्नुहोस्, अनि मात्र अन्तिम समयमा काममा आउनेछ । योग लगाउनमा, योगबाट बल प्राप्त गर्नमा अलमस्त नबन्नुहोस् । जसरी भए पनि अमृतबेलामा उठेर बाबासंग बुद्धियोग ठीक तरीकाले लगाउने प्रयत्न गर्दै रहनुहोस् । भोलिको लागि नपर्खौँ । बाबासंग बुद्धि लगाउनु हाम्रो अनिवार्य कर्म हो । यसैले जस्तोसुकै गरेर भए पनि अमृतबेलाको योग ठीक गरौँ, सफल गरौँ, यही नै हाम्रो फाउण्डेसन हो । यसैमाथि नै हाम्रो पूरै दिनको कार्यकलाप चल्दछ । जेसुकै होस्, जस्तोसुकै होस् यस कार्यमा अलमस्त नबनौँ ।

मलाई यस प्रसंगमा एउटा कुरा याद आयो । जब मधुबनमा सम्मेलन हुन्थ्यो, तब जस्टिस कृष्ण अय्यर मधुबन आउँदथे । उनी इन्द्रप्रस्थमा बस्दथे । म पनि उनको बगलको कोठामा बस्दथेँ । उनी रोज २ -२.३० मा उठ्दथे । उठेर लेख्न थाल्दथे । उनले कैयौँ पुस्तकहरु लेखेका छन् । जब सांस्कृतिक कार्यक्रम हुन्थ्यो र केही साथीहरुले उनलाई हेर्न जाउँ भन्थे । उनले भन्थे ‘कृपया, मलाई छोड्दिनुहोस्, म आउन सक्दिन मलाई माफ गर्नुहोस् ।’ कोही यस्ता व्यक्ति पनि हुन्थे जसले भन्थे कि ‘दादीजीले नै भन्नुभएको हो, तपाईँ जसरी पनि आउनोस् अरे ।’ जब दादीको नाम सुन्थे, उनी बाध्य भएर जान्थे । गएर पाँच-छ मिनेट मात्र बसेर, उठेर आफ्नो कोठामा फर्किहाल्थे । म पनि दुई बजे उठ्थेँ, त्यसबेला उनको कोठामा बत्ती बलिरहेको हुन्थ्यो र उनले आफ्नो लेख्ने काम गरिरहेका हुन्थे । उनलाई थाहा छ कि ‘म २ बजे उठेर आफ्नो लेख्ने काम गर्नुछ, मन र बुद्धिलाई अलर्ट राख्नुछ’ । र अरु के के गर्ने भन्ने सोचेर गर्दथे, टाइमटेबुल बनाएर राख्थे । त्यसकै अनुसार उनी चल्थे । त्यसै प्रकार हामीले पनि हाम्रो टाइमटेबुल बनाएर सो अनुसार चल्नुपर्छ । बाबाले भन्नुहुन्छ, ‘कुनै पनि हालतमा रातको १० बजेसम्म सुत । जति काम भए पनि त्योभन्दा अघि नै पूरा गर्ने कोशिस गर । छिट्टै सुत र छिट्टै उठ । सुत्ने समय सुत, पढ्ने समय पढ, सेवा गर्ने समय सेवा गर ।’ यही नै सुखपूर्वक जिउने तरीका हो । जसलाई समयको महत्त्व थाहा छैन, उनीहरुलाई कसरी सफलता प्राप्त होला ? यही नै समयको प्रबन्ध (Time Management) हो । यसैले अमृतबेला योगमा सफल गर्ने विधि जसरी पनि हामीले अपनाउनै पर्छ । यो ठीक हो कि अमृतबेलामा जो ओछ्यानमा सुतिरहेका हुन्छन् उनीभन्दा हामी असल छौँ । नियम त पालना गर्‍यौँ । अमृतबेला नै अमृत प्राप्त गर्ने समय हो । त्यही अमृतबाट नै हामी अमर हुनेछौँ, अमरपुरीको वर्सा पाउनेछौँ । यसैले योगीको लागि अमृतबेला सफल गर्नु एकदमै जरुरी छ । जब हामी अमृतबेला प्राप्ति स्वरुप हुन्छौँ, अर्थात बाबालाई हामीसंगै राख्छौँ, तब सफलता हाम्रो जन्मसिद्ध अधिकार हो ।

यसै प्रकार खराब नसुनौँ, खराब नदेखौँ, खराब नसोचौँ, खराब नबोलौँ, खराब नगरौँ – यी नियमहरुको पनि हामीले अनुसरण गर्नुपर्छ, तब हामीलाई सफलता मिल्छ । सारा दिनमा हामीकहाँ धेरै मान्छेहरु आउँछन् । आएर तरह-तरहका व्यर्थ कुराहरु गर्छन्, व्यर्थ कुरा हामीले पनि सुन्नुपर्छ । तर बाबाले भन्नुहुन्छ सब व्यर्थलाई छोड । व्यर्थलाई छोडेपछि मात्र सफल हुन सकिन्छ । व्यर्थ भनेकै खराब हो । जसरी  व्यर्थ सुन्नु र सुनाउनु खराब हो, त्यसरी नै व्यर्थ देख्नु र गर्नु पनि खराब हो । जस्तो टिभी हेर्नु । केही मान्छे भन्छन् कि टाइम पास गर्न म टीभी हेर्छु । कसैले भन्छन् म त रिटायर भएको छु घरमा खाली बस्नुपर्छ यसैले टिभी हेर्ने, रेडियो सुन्ने गर्दछु, मलाई त्यस्तो आसक्ति केही छैन, टाइम पास गर्न यसो गर्छु । संगमयुगको एक-एक घडी अत्यन्त अमूल्य छ । दुनियाँमा धेरै क्रियटिभ चिजहरु पनि छन् । यो तपाईँमै निर्भर गर्छ कि कसरी समय सफल गर्ने भन्ने कुरा । तपाईँ हामीसंग सोध्नुस्, हामीले बताइदिन्छौँ समय कसरी सफल गर्ने ? भन्ने कुरा । टिभी खोलेर बस्ने, अनि सारा कुरा हेर्दैजाने यो ठीक होइन । टिभी हेर्नु एक व्यसन (Addiction) हो । जस्तो मादक पदार्थ पिउने लत बस्छ र पछि छाड्न मुश्किल हुन्छ । टिभी हेरेर के खराबी हुन्छ ? भन्ने कुरा अमेरिकन आमाबाबुलाई सोध्नुहोस् । अमेरिकामा बच्चाहरुले पढ्दै पढ्दैनन् । उनका आमाबाबुले भन्छन् उनीहरु सँधै टिभीको अगाडि बसिराख्छन् । यहाँसम्म कि उनीहरुलाई एउटा सामान्य एप्लिकेशन लेख्न पनि आउँदैन । टिभीको सामुन्ने बसेर चक्लेट खान्छन्, खाइसकेपछि चिया पिउँछन्, चार पुरी खान्छन्, अनि कफी पिउँछन्, अनि कोकोकोला पिउँछन् । यसप्रकार सबैजसो टिभीको सामुन्ने नै हुन्छ । सारा दिन बसिरहन्छन्, धेरै खानेपिउने गर्छन्, जसले गर्दा एकातिर आँखा खराब भइरहेको छ भने अर्कोतिर शरीर मोटो हुँदै जाँदो छ । मोटोपन त्यहाँको ठूलो रोग बनेको छ । तपाईँ टिभीमा के हेर्नुहुन्छ ? एक कारले अर्को कारलाई पछ्याइरहेको हुन्छ । पछाडिको कारमा गुण्डा हुन्छन्, अगाडिको कार तेज गतिमा भागिरहेको हुन्छ, पछाडिको कारले त्यही गतिमा पछ्याइरहेको हुन्छ । त्यसबेला तपाईँ आफ्नो मुटुको धड्कन चेक गर्नुहोस् । त्यो दृश्य हेर्दाहेर्दै तपाईँको मन कस्तो भइरहेको हुन्छ ? दिलको धड्कन सितिमिति नर्मलमा आउँदैन । जब हार्ट-बिटिङ नर्मल हुँदैन भने त्यसको असर शरीरमा कस्तो पर्छ होला ?

टिभी अथा सिनेमा हेरेर बच्चालाई कति हदसम्म प्रभाव पर्छ भन्ने कुराको उदाहरण हेर्नुहोस् । अमेरिकाको एक होस्टेलमा रहेको विद्यार्थीले आफ्नो कोठाको सामुन्नेको कोठाको चुकुल खोलेर त्यहाँ रहने एक केटीलाई अत्याचार गर्‍यो । जब न्यायाधीशले उसलाई सोधे, उसले भन्यो कि ‘म राम्रो खानदानको बच्चा हुँ । मेरा आमाबा समाजमा राम्रो मान सम्मानवाला हुनुहुन्छ, चाहेमा तपाईँले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ । म पनि असल केटा नै हुँ र स्कूलमा पनि होशियार विद्यार्थी नै हुँ । तर एक दिन मैले एउटा सिनेमा हेरेँ, त्यसमा देखाइएको थियो कसरी कोठाको चुकुल खोल्ने ? र कसरी केटीलाई रेप गर्ने ? भन्ने कुरा । मैले पनि त्यही कपी गरेँ र यो अपराध हुनगयो । म त अपराधी नै हुँ सजायको लागि हकदार नै हुँ, तर मलाई यो कसले सिकायो ? मैले त्यस सिनेमा हेरेर यो अपराध गरेँ भने त्यस सिनेमा निर्मातालाई पनि किन सजाय गर्नसक्नुहुन्न ? यस प्रकार बच्चा होस् वा बूढा खराब चिज कहाँबाट सिक्दछन् ? टिभी तथा सिनेमाहरुबाट । केही मान्छेहरुले भन्छन् सिनेमा टिभी हेरेर मलाई कुनै असर गर्दैन । म भन्छु यो एकदमै गलत हो । आज त्यसको असर नहोला । तर बिस्तारै बिस्तारै एक महिनापछि त्यसको असर पक्का पनि उसको कर्ममा व्यक्त हुन्छ । तपाईँले टिभी/सिनेमा हेर्नेबेला वा हेरिसकेपछि केही न केही जरुर सोच्नुहुन्छ, त्यो बिचार तपाईँकोभित्र घुस्छ । त्यो भित्र पस्यो भने कुनै न कुनै काम त गर्छ । एक कारको एक्सिडेन्ट भयो । त्यसमा जो व्यक्ति थियो, उसको टाउकोभित्र शिशाका टुक्राहरु पसे । डाक्टरले उसको सर्जरी गरेर शिशाका टुक्राहरु निकालिदिए । तर एउटा सानो शिशाको कण शिरमै रहन पुग्यो । डाक्टरले ठाने कि मैले सबै शिशाका टुक्रा निकालिसकेँ र बिरामीलाई ठीक गरिदिएँ । केही दिन पश्चात् त्यस व्यक्तिले भन्न थाल्यो कि मेरो टाउको दुखिरहेको छ । ऊ यसले गर्दा निकै हैरानी खेप्नुपर्‍यो । हरेक प्रकारका डाक्टरहरुलाई उसले देखायो, उनीहरुले हरेक प्रकारका औषधिहरु दिए । तर पनि उसको दुखाइ सञ्चो भएन । वास्तविकता यो थियो कि कारका शिशाका जुन एक टुक्रा थियो त्यसको सानो कण त्यस व्यक्तिको शिरको नसामा बसेको थियो र त्यसैले दुःख दिइरहेको थियो । यसैले उसलाई उत्तेजना पैदा गरिरहेको थियो । यसैले गर्दा उसको नर्भस सिस्टम ठीक थिएन । त्यो त शिशाको एक स्थूल कण थियो, जसलाई सर्जिकल साधनद्वारा निकाल्न सकिन्थ्यो । तर यो बिचार र संकल्प त त्योभन्दा पनि धेरै सुक्ष्म चिज हो । कुनै डाक्टरलाई डाक्टर साहेब मेरो यो बिचारलाई अपरेशन गरेर झिकिदिनुहोस् भन्नुभयो भने उसले सक्ला ? यस्तो कुनै इन्स्ट्रुमेन्ट त निक्लेको छैन जसले बिचारलाई काटेर फ्याँक्न सकियोस् । बिचारले मात्र बिचारलाई निकाल्न सक्दछ ।

एक पटक कसैले कसैलाई सोध्यो, ‘प्याज लसुन खान्छौ ?’ उसले भन्यो ‘अरे-अरे ।’ अरेको दुई अर्थ हुन्छ एक अरे । अर्को हरे । जस्तो कि विष्णु र शंकरलाई हरि भनिन्छ । एक हुन सक्छ अरे- के सोधेको यस्तो ? त्यस्तो कुरा म कहिले खान्छु होला त ? अर्को यो हुनसक्छ मैले हरे-हरे (हरियो हरियो) खान्छु सुकाएको होइन । भनिन्छ कि एक युगल ज्योतिष कहाँ गएर सोधे कि ‘हाम्रो बच्चा होला कि बच्ची ?’ ज्योतिषले भने ‘पुत्री न पुत्रः ।’ ती आमाबालाई पुत्र चाहिएको थियो, सोचे पुत्र नै हुन्छ । ज्योतिषीको कुरा सुनेर उनीहरु खुशी भएर ज्योतिषीलाई धेरै दक्षीणा दिएर फर्किए । तर पछि भयो पुत्री । फेरि उनीहरु ज्योतिषसंग आफ्नो गुनासो पोखे कि ‘तपाईँले पुत्र हुन्छ भन्नुभएको, तर पुत्री भयो नि ? उसले भन्यो ‘मैले त भनेकै हुँ नि पुत्री, न कि पुत्र ।’ यदि मातापितालाई पुत्री चाहिएको बेला पुत्र भइदिएको भए त्यो ज्योतिषले भन्ने थियो मैले त पुत्री होइन पुत्र भनेको पो हुँ । यसैगरी त्यस मान्छेले भनिदियो अरे-अरे । कसैले एक व्यक्तिलाई सोध्यो, ‘ए भाइ रक्सी पिउँछौ ? उसले भन्यो राम-राम ! उसले भन्न खोजेको थियो ‘रम’ मात्र पिउँछु । त्यसरी नै केही मान्छेहरु भन्छन् ‘ओहो म त सिनेमा हेर्दै हेर्दिन । त्यसोभए के हेर्छौ त ? टिभी मात्र हेर्छु । टिभीमा जुन सिरियल आउँछ त्यो के हो ? के सिनेमा होइन ? टिभीमा तपाईँ समाचार हेर्नुहुन्छ, धार्मिक संस्थाको कार्यक्रमको भिडियो हेर्नुहुन्छ भने त्यसको लागि छुट छ, तर टिभी खोलेर त्यसमा जे आउँछ त्यही दिनभरि हेर्नको लागि बाबाले छुट दिनुहुन्न । टिभी हेरेर तपाईँले आफ्नो मानसिक प्रदुषण बढाइरहनुभएको छ । बाबा भन्नुहुन्छ ‘वायुमण्डल प्रदुषणको एउटा कारण मानसिक प्रदुषण पनि हो, त्यसलाई रोक ।’ तर तपाईँ टिभी हेरी हेरीकन मानसिक प्रदुषण फैलाइरहनुभएको छ । आफूले आफैलाई खराब गर्नु यो त समझदारीको काम होइन । आफूले आफैलाई हेर्नुहोस्, हाम्रो दृष्टि, वृत्ति व्यवहार कस्तो हुनुपर्ने हो ? ब्राह्मणको लक्षण के हो ? यी सारा कुराहरु सोच्नुहोस्, बुझ्नुहोस् । आजसम्म हामीले आफ्ना पुराना नेगेटिभ बिचार समाप्त गरेका छैनौँ, तर अझै पनि टिभी सिनेमा हेरेर नेगेटिभ बिचार बढाइरहेका छौँ । के ब्राह्मणको लक्षण यही हो ? यसको परिणाम के होला ? बाबा भन्नुहुन्छ ‘यो जुन टिभी छ, त्यो त टिबि एक खतरनाक रोग हो ।’ टिबी त उपचार गरे आजभोलि ठीक भइहाल्छ, तर टिभीको टिबी त छिट्टै उपचार हुँदैन । हामी मन बहलाउनको लागि अथवा समय पास गर्न टिभी आदि हेर्दैरह्यौँ भने हामी आफ्नो ईश्वरीय पढाइमा पास हुनुको सट्टा फेल हुनेछौँ । हामी टाइम त पास गरौँला तर खूद कल्प-कल्पान्तरको बाजीमा फेल हुन पुग्नेछौँ । यस्तै यस्तै साना साना कुराहरुको बारेमा पनि सोच्नुपर्छ र ईश्वरीय नियमको पालना गर्नुपर्छ । देख्दा, भन्दा साना-साना कुरा भए पनि यी त वीष समान हुन् । वीषको मात्रा कम होस् कि बढी होस् त्यो त वीष नै हो । जीवन समाप्त गर्नको लागि त्यो कम भए पनि पर्याप्त हुन पुग्छ । टिभी हेर्नु, यो मीठो वीष हो, एकदमै मीठो लाग्छ, तर प्राणको लागि खतरा छ । हामी बाबाका उत्तराधिकारी बच्चा हौँ । उत्तराधिकारी बन्ने हो भने बाबाले जस्तो गरेर देखाउनुभएको छ, त्यस्तै गर्नुपर्छ । के बाबाले त्यस्तै गर्नुभएको थियो जस्तो आज हामीले गरिरहेका छौँ ?

हामीले देख्यौँ, एक पटक बाबाको सुगरको मात्रा एकदमै बढेको थियो र ब्लडप्रेसर पनि थियो । डाक्टरले भने कि ‘बाबा छिट्टै उठ्नुहुन्छ, दिनभर विश्राम पनि गर्नुहुन्न, बाबालाई रेष्ट दिनुहोस्, रेष्ट गर्ने भन्नुहोस् ।’ मलाई याद छ, त्यसताका म मधुबनमै थिएँ । दिदी मनमोहिनीजी र अरु दुईचार भाइबहिनी मिलेर बाबालाई भन्नुभयो कि, ‘बाबा हजुर अमृतबेला योगमा नआउनुहोस् । हजुर त राती अबेरसम्म बस्नुहुन्छ र विश्वसेवाको बारेमा सोचिरहनुहुन्छ । जब हामी हजुरको कोठामा आउँछौँ, हजुर जागा नै रहनुभएको हुन्छ । हजुर सारा दिन-रात योग त लगाइराख्नुभएको हुन्छ, तसर्थ थोरै दिनको लागि सबेरै अमृतबेलामा योगमा नआउनुहोस् ।’ बाबाले भन्नुभयो ‘बच्ची, तिमी के भन्दैछौ ? के अमृतबेलामा म नउठूँ ? यो कसरी हुनसक्छ ? ती अलमाइटी बाबाले समय दिइरहनुभएको छ भने मैले कसरी छोडूँ ?’ उनीहरुले बाबासंग फेरि धेरै बिन्ती गर्दै भने ‘बाबा, डाक्टरले भनेका छन् कि हजुरले विश्राम लिन एकदमै जरुरी छ । बाबाले भन्नुभयो, ‘म कुन डाक्टरको कुरा सुनूँ ? यी डाक्टरले भन्छन् अमृतबेला रेष्ट गर, ती सुप्रिम डाक्टर भन्नुहुन्छ अमृतबेला उठेर मलाई याद गर । मैले त सुप्रिम डाक्टरकै कुरा मान्नुपर्‍यो नि होइन ? यसैले अमृतबेला म रेष्ट गर्न सक्दैन ।’ यति भनेर बाबाले उनीहरुको बिन्तीलाई इन्कार गरिदिनुभयो । दिदीजीले पनि मान्नु भएन । उहाँले भन्नुभयो कि ‘डाक्टरले धेरै भनेका छन्, यसैले हजुरले कमसेकम दुईतीन दिन भए पनि नआइदिनुहोस् । हाम्रो यो बिन्ती हजुरले मान्नै पर्छ ।’ धेरै जिद्दी गरेपछि बाबाले भन्नुभयो ‘ठीक छ, छोरी, सोचुँला ।’ जब सँधैझैँ भोलिपल्ट अमृतबेलामा हामी सबै योगमा बस्यौँ, बाबा पनि सुटुक्क आएर योगमा बसिहाल्नुभयो । हेर्नुहोस्, बाबाले आफ्नो जिन्दगीमा एक दिन पनि अमृतबेलाको योग मिस गर्नुभएन । जस्तोसुकै बिमारी होस्, जतिसुकै उमेर होस्, उहाँले ईश्वरीय नियमको उल्लंघन गर्नुभएन ।

जसले नियमहरुको रेगुलर पालन गर्दछ, उसलाई फल प्राप्त हुनैपर्छ । प्राप्त नहुने कुरा असम्भव छ । तपाईँहरुमध्ये कोही शिक्षण पेशामा हुनुहुन्छ होला । जो टिचर हुनुहुन्छ उनको जिम्मेवारी के हुन्छ ? तपाईँ जान्नुहुन्छ । कोही विद्यार्थी जति डल बुद्धिवाला भए पनि क्लासमा सँधै आउँछ, रेगुलर छ, पंक्चुअल छ भने ऊ पास हुनैपर्छ । पास भएन भने यसमा टिचरको गल्ती हुन्छ । विद्यार्थी जति मन्दबुद्धिवाला भए पनि पढाइमा रेगुलर छ भने ऊ पास हुनैपर्छ । त्यसैगरी रोज अमृतबेला ठीक योगमा बस्छौँ भने हामी पासविद अनर नहुने ? के यो मामला पैदा हुन सक्ला ? सक्दै सक्दैन । पासविद अनर हुनैपर्छ । धर्मराज बाबा भन्नुहुन्छ ‘तिमी सँधै अमृतबेला योग गर, तिम्रा सबै पापहरु दग्ध हुनेछन् । तिमी सजायबाट टाढा रहनेछौ ।’ यदि हामीले उहाँको यस नियमलाई सँधै पालन पनि गर्ने र फेरि पनि धर्मराजको सजाय खाने ? यो हुनै सक्दैन । यदि यस्तो भयो भने यसको लागि धर्मराज नै जिम्मेवार हुनुहुन्छ । तपाईँ धर्मराजसंग सोध्नसक्नुहुन्छ कि ‘हाम्रो टिचरले भन्नुभएको छ, रोज नियमित रुपमा पढाइ गर्यौ भने अमृतबेला ठीक तरीकाले योग गर्यौ भने, तिमीलाई मै पास गराइदिन्छु अर्थात पापबाट मुक्त गराइदिनेछु । मैले त मेरो टिचरको आज्ञा अनुसार पढाइ ढङ्गबाट गर्दागर्दै पनि मलाई सजाय किन ? मेरा टिचरसंग सोध ।’ तर यहाँ टिचरले भनेअनुसार रोज अमृतबेला उठ्यौहोला, योगमा पनि बस्यौ होला, तर ठीक तरीकाबाट योग गरेनौ होला नि । यदि ती सर्वशक्तिवानसंग बुद्धियोग जोडेनौ भने पाप कसरी दग्ध होला ?

बाबाले भन्नुभएको छ कि यो राजयोग हो । राजयोगका धेरै अर्थ बाबाले हामीलाई बताउनुभएको छ । यो राजयोग मनको योग हो । मन इन्द्रियको राजा हो । यस योगबाट मन इन्द्रियहरुलाई कन्ट्रोल गर्न लाग्दछ । यो योग समस्त योगहरुभन्दा श्रेष्ठ छ । जो राजयोग सिक्दछ, उसमा रुलिङ र कन्ट्रोलिङ पावर आइहाल्छ । राजालाई अंग्रेजीमा रुलर भनिन्छ, अरबीमा हुकमाराम भनिन्छ, हिन्दीमा प्रशासक भनिन्छ । राजयोगी बनेर यदि हामी इन्द्रियहरुमाथि राज्य गर्दैनौँ, मनको प्रवृत्तिहरुमा कन्ट्रोल गर्दैनौँ भने हामीले के राजयोग गरौँला ? राजयोग मुख्यतः के गर्दछ ? इन्द्रियहरुलाई आफ्नो वशमा गर्दछ, उनीमाथि शासन चलाउँछ । मनुष्यलाई यही इन्द्रियहरुले भट्काउँछन् । आज मनुष्यहरु कुनै न कुनै इन्द्रियको गुलाम भएका छन् । यी इन्द्रियबाट गुलामी हुनबाट मुक्त हुने युक्ति बाबाले यस राजयोगबाट सिकाउनुहुन्छ । यो हामीले अहिले नै गर्नुपर्छ । अहिले भएन भने कहिल्यै हुँदैन । हामी बाबाकहाँ पुस्तक लेखेर पास गराउन जान्थ्यौँ । त्यो हेरेपछि बाबाले हमेशा भन्नुहुन्थ्यो कि लास्टमा यो लेखः ‘अभी नहीँ तो कभी नहीँ ।’ अतः राजयोगबाट हामी स्वराज्य अधिकारी बन्न सक्छौँ, उत्तराधिकारी बन्न सक्छौँ र विश्वको पवित्रता, सुख, शान्ति, समृद्धिले सम्पन्न स्वर्ग बनाउन सक्छौँ ।

मैले आफ्नो जीवनभर यस स्लोगन ‘अभी नहीँ तो कभी नहीँ’ याद राखेँ र त्यसअनुसार चल्ने पूरा कोशिस गरेँ । मेरो आफ्नो अलौकिक जीवनको शुरुवातमा कैयौँ कठिनाइहरु आए । क्वालिफाइड भएपछि मेरो ट्रान्सफर सोनीपतमा भयो, जुन दिल्लीबाट २५ मिल टाढा छ । त्यहाँ मेरो जिम्मेवारी धेरै थियो । त्यहाँ म होस्टेलको अधिक्षक पनि थिएँ र टिचर्स ट्रेनिङ कलेजको प्रिन्सिपल पनि थिएँ । यसको अलावा अन्य जिम्मेवारीहरु पनि थिए । मलाई त्यस ठाउँ छाडेर अन्य जाने अनुमति थिएन । तर मलाई रोज बाबाको क्लासमा नगइ हुन्थेन । यसको लागि मैले धेरै कठिनाइहरु सामना गर्नुपर्‍यो । बहिनीहरुलाई चिठ्ठी लेख्थेँ कि ‘म भोलि आउन सक्दिन,’ ‘फलानो दिन आउन सक्दिन, किनकि मकहाँ शिक्षा मन्त्री आउनेवाला छन्’ ‘आज मकहाँ शिक्षा निर्देशक आउँदैछन् ।’ मैले एक एजुकेशन म्युजियम बनाएको थिएँ । त्यस समय त्यो भारतमा यस किसिमको प्रथम म्युजियम थियो । यसैले कैयौँ प्रान्तबाट यो हेर्नको लागि एजुकेशन मिनस्टर्स, एजुकेशन डायरेक्टर्स आउँथे । उनीहरुलाई देखाउन, खुवाउन, पियाउन, घुमाउन यो सब मैले नै गर्नुपर्थ्यो । यस्तो समयमा म मुख्यालयमा नहुनु राम्रो हुँदैनथ्यो, सभ्यता पनि हुन्थेन । मैले बहिनीहरुलाई पत्र त लेख्थेँ, तर एउटा कुराले मलाई पिरोल्थ्योः ‘बाबा परमधामबाट आउनुभयो होला, मुरली चलाउनुभयो होला, त्यो मुरली मैले मिस गरिरहेको छु । यो मैले कल्प-कल्प मिस गर्नुपर्नेभयो ।’ जब म यस्तो सोच्थेँ, तब मलाई एकदमै ग्लानी हुन्थ्यो, के मैले त्यो मुरली हरेक कल्प मिस गर्नैपर्ने भयो त ? बाबाको जीवन कहानी सुनेको थिएँ, त्यसअनुसार जब बाबाको पुजाको समय हुन्थ्यो र त्यस समय कोही पनि जतिसुकै ठूला पाहुना आउनेवाला भए पनि, चाहे नेपालका महाराजा नै किन नहोउन्, बाबाले स्टेशनमा स्वागत गर्न अरु कसैलाई पठाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो कि ‘पहिले आफ्नो पूजा आदि गरुँला, पछिमात्र उनीसंग भेटूँला किनकि यो समय परमात्माको लागि राखेको हो । राजा होउन् कि पदाधिकारी, उनीहरुले त मलाई नोट मात्र देलान्, तर भगवानले मलाई सबैथोक दिनुहुन्छ ।’ यसप्रकार बाबाले पहिले धार्मिक कार्यक्रमलाई महत्त्व दिनुहुन्थ्यो ।

ट्रेनबाट नै म सोनीपतबाट दिल्ली जान्थेँ । स्टेशनको सामुन्ने मेरो अफिस थियो । जब गाडी आउँथ्यो, उसको आवाजबाट मलाई थाहा हुन्थ्यो कि गाडी आइसक्यो, किनकि त्यसबेला कोइलाबाट गाडी चल्दथ्यो । यस्तैमा एक दिन मेरो गाडी मिस भइहाल्यो । त्यस दिन म यति व्यस्त थिएँ कि गाडी कुन बेला आयो पत्तो नै पाइन । जब छुट्ने सिटि बज्यो अनि मात्र थाहा भयो कि गाडी चलिसक्यो । छिटोछिटो अफिस बन्द गरेर म स्टेशनमा पुगेँ, गाडी धेरै पर पुगिसकेको थियो । गाडी स्पिडमा थियो, तसर्थ मैले पकड्न सकिन । त्यस समय ममाथि कस्तो आपत आइपर्‍यो होला ? मेरो मनमा त्यही खेल्न थाल्यो कि ‘शिव बाबा परमधामबाट आउनुभयो होला, मुरली चलाइरहनुभएको होला, त्यो मैले आज मिस गरेर कल्प-कल्पको लागि मिस गर्नुपर्ने भयो । म त सिर्फ २५ माइल मात्र टाढा छु, तर बाबा परमधामबाट आउनुहुन्छ । परमधाम कति टाढा छ ! बाबा यति टाढाबाट मेरै लागि, मैलाई पढाउनको लागि मेरै कल्याणको लागि आउनुहुन्छ । यति महान अथोरिटी मलाई शिक्षा दिनको लागि त्यति टाढाबाट आउनुहुन्छ । उहाँ करुणाका सागर, दयाका सागर, कृपाका सागर, अहिले त्यहाँ आइपुग्नुभयो होला । उहाँ यति महान शिक्षक र सद्गुरु मेरै लागि आउनुभयो होला । उहाँको सामुन्ने म केही पनि होइन, फेरि पनि मैले जान पाइरहेको छैन । उहाँ आउनुभयो होला, मुरली सुनाइरहनुभएको होला । अरे म यति दुर्भाग्यशाली रहेछु कि मैले मुरली सुन्न जानै सकिन ।’

त्यहाँ एउटा मालगाडी खडा थियो, त्यो जान तयार थियो । त्यहाँ स्टेशन मास्टर पनि खडा थिए । मैले उनीसंग भनेँ, ‘मलाई दिल्ली जानुछ, बसको समय पनि समाप्त भइसक्यो, मलाई यस मालगाडीमा जानदिनुहोस् ।’ ती स्टेशन मास्टरले मलाई चिन्दथे । त्यसबेला सोनीपत त्यति ठूलो शहर थिएन । प्रिन्सिपलको पद ठूलै हुन्थ्यो । त्यहाँ सबै अफिसर कुनै न कुनै कार्यक्रममा वा मिटिङमा भेट हुन्थ्यो । उनले मसंग मजाक गर्न लागे कि ‘तपाईँ कुनै माल थोरै हो र मालगाडीमा पठाउनको लागि ? तपाइँ त मान्छे हो ।’ मैले भनेँ, ‘तपाईँ मजाक छोड्दिनुहोस्, मलाई अर्जेन्ट दिल्ली जानुछ ।’ यहाँ सबैले मलाई भन्थे कि यो मिस्टर अर्जेन्ट हो । मिस्टर इम्पोर्टेन्ट हो । त्यस समय मैले पनि भन्ने गर्थेँ कि ‘यो अति नै अर्जेन्ट काम हो ।’ यसैले उनले सम्झिए होलान् यो व्यक्तिले हरेक कामलाई अर्जेन्ट नै भन्छ, यसको नेचर नै यस्तो छ । मैले फेरि भनेँ, ‘हो म साँच्चिकै भनिरहेको छु, मलाई अर्जेन्ट जानु छ, मेरो इम्पोर्टेन्ट काम छ, जसरी भए पनि मलाई यस मालगाडीमा पठाइदिनुहोस् ।’ उनले भनेः ‘ओहो, के तपाईँ मेरो बर्दी उतार्न चाहनुहुन्छ ? मलाई नोकरीबाट निकाल्न खोज्नुभएको हो भने तपाईँ यसमा जानुहोस् । तपाईँ त मेरो साथी हुनुहुन्छ । मैले त पठाउँला, तर मेरो जागिर नै खत्तम हुन्छ !’ मैले भनेँ, ‘यस्तो कुरा नगर्नुहोस् । यस्तो कुनै कानुन पनि होला कि कुनै इमर्जेन्सीमा प्रिसिडेन्ट आदि कसैलाई अर्जेन्ट जानुपर्ने हुनसक्छ । किनकि हरेक कुरामा एक अपवाद हुने नै गर्छ । यस्तो कुनै नियम छ भने हेरिदिनोस् ।’ उनले मसंग सोध्न थाले, ‘कुनचाँहि प्रेसिडेन्ट बिरामी छ ? कुन लडाइँ चलिरहेको छ जसमा तपाईँ जानुनै छ ?’ उनले मसंग मजाक गरिरहे । फेरि मैले गम्भीर भएर भनेँ कि, ‘यो मजाक छोड्दिनुहोस् । यही गाडी पनि छुट्ला । तपाईँ मेरो टिकट बनाइदिनुहोस् ।’ अनि उनले पनि परिस्थितिलाई बुझे र टिकटवालालाई भने कि यिनलाई एउटा इमर्जेन्सी टिकट बनाइदेऊ र हस्ताक्षर मलाई गराइहाल । टिकट बन्दै थियो । त्यसैबेला मालगाडी चल्न थाल्यो । म गाडीको पछिपछि कुदेँ । सबभन्दा पछाडि गाडीको डिब्बा हुन्छ, म त्यसैमा चढिहालेँ । गार्डले मलाई भन्योः ‘भाइसाब यो के गर्दै छौ ? गाडीमा किन चढेको हो ? के यो प्यासेन्जर गाडी हो ? यो त गार्डको डिब्बा हो । छिटो उत्र ।’ मैले पनि गार्डको जिम्मेवारी बुझ्दथेँ । यसमा प्यासेन्जरलाई चढ्ने अनुमति थिएन । मैले उसको कुरा सुनेर उत्रिहालेँ । फेरि मैले भनेँ, ‘दाइ, मैले टिकट बनाइरहेको थिएँ, उतिखेर नै गाडी चलिहाल्यो । तपाईँ दुई मिनेट रोक्नुहोस्, म टिकट बनाएर ल्याइहाल्छु ।’ उसले सोध्यो ‘टिकट कसले बनाउँछ ?’ मैले भनेँ, ‘स्टेशन मास्टरले ।’ गार्डले भन्यो, ‘के त्यो पागल हो  ? ऊ आफू पनि डिसमिस होला, मलाई पनि डिसमिस गराउला । तपाईँ टिकटका कुरा छोड्दिनोस् । यस्तो हुँदैन । तपाईँ यस गाडीमा जाने आशा छोड्दिनोस् ।’ उसले मानेन र म उत्रिहालेँ । त्यहीबेला फेरि मनमा आयो ‘शिवबाबा परमधामबाट आउनुभयो होला, मुरली चलाउनुभयो होला । हर कल्प मैले यस मुरली मिस गर्नुपर्ने भयो ।’ फेरि म दौडेर त्यस डिब्बामा चढिहालेँ । उसले भन्न थाल्यो, ‘अरे भाइ, तिमीलाई के भयो ? मेरो कुरा किन मान्दैनौ ? गाडी तेज हुन थालिसक्यो । जब मैले तिमीलाई सम्झाएँ, उत्रिहाल्यौ । फेरि के भयो ? गाडीमा फेरि चढिहाल्यौ ? उत्रिहाल । मैले तिमीलाई लिएर जानै मिल्दैन ।’ मैले भनेँ ‘दाइ, एकदमै जरुरी काम छ ।’ उसले भन्यो, ‘मैले मानेँ, तिम्रो धेरै जरुरी काम छ । तर छिटो उत्रिहाल ।’ उसले यो भन्दैथियो म उत्रिहालेँ । फेरि मलाई त्यही ख्याल आयो, ‘शिव बाबा परमधामबाट आउनुभयोहोला…… । मैले बाबासंग भनेँ, ‘बाबा, मलाई क्लासमा आउनु नै छ । यसले गाडी चढ्न दिइरहेको छैन । हजुरले मलाई मदत गर्नुहोस् ।’ फेरि म गाडीमा चढिहालेँ । उसले हकार्न थाल्यो, ‘अरे तिमी कस्तो मान्छे हौ ? फेरि उत्रिन्छौ, फेरि चढ्छौ । के म पुलिस बोलाऊँ ?’ मैले पनि एकदमै दयनीय रुप (Pathetic Way) बाट अनुरोध गरेँ, ‘दाइ, मेरो कुरा तपाईँ किन बुझ्नुहुन्न ? म तपाईँको कुरा बुझ्दछु, यसैले उत्रन्छु, तर मेरो कुरा मलाई याद आउँछ, फेरि चढिहाल्छु । तपाईँ मलाई किन सोध्नुहुन्न ? कि तिम्रो के अर्जेन्ट छ ? भनेर । गार्डले भन्नथाल्यो, ‘तिम्रो कुरा सुन्ने समय छैन । अब तिमी उत्रन्छौ कि नाइँ ?’ फेरि मैले भनेँ, ‘मेरो कुरा त सुनिदिनोस, सम्झने कोशिस त गर्नोस् ।’

अनि ऊ मेरो कुरा सुन्न तयार भयो र भन्यो, ‘तुरुन्त एक मिनेटमा सुनाऊ, तिम्रो कस्तो खालको जरुरी काम हो ?’ मैले भनेँ, ‘मलाई सत्संगमा जानुछ ।’ उसले भन्यो, ‘कुन सत्संगमा जाँदैछौ ? सत्संगमा जानु पनि कुनै जरुरी काम हो ?’ दुनियाँको नजरमा सत्संगमा जानु कुनै जरुरी काम होइन । मैले उसलाई यो बुझाउन सक्दैनथेँ कि शिव बाबा स्वयम् परमधामबाट आइरहनुभएको छ । ऊ हैरान भएर सोच्न थाल्यो र आखिरमा भन्यो, ‘ठीक छ बस । अनि बाटोमा सोध्न थाल्यो, कुनचाँहि सत्संगमा जाँदैछौ कि जो यति जरुरी थियो ?’ ऊ वृद्ध थियो । सेवा निवृत्त हुनेवाला थियो । म त मोटो तगडा जवान थिएँ । उसले भन्यो, ‘मलाई त लागेको थियो कि दिल्लीमा कुनै नयाँ फिल्म चलेको होला । त्यही हेर्न जाँदैछौ होला । यति सानो उमेरमा कुनचाँहि सत्संगले तिमीलाई आकर्षित गरिरहेको छ ? मैले बाटोमा यस संस्थाको सारा परिचय सुनाएँ । बाबाको परिचय पनि दिएँ । पछि ऊ ज्ञानमा पनि आयो र बाबाको बच्चा बनेर सँधै क्लासमा आउन थाल्यो ।

मैले यो उदाहरण यस कारणले सुनाएँ कि यदि हाम्रो मनमा यस्तो धुन सवार भैरहन्थ्यो कि मलाई रोज अमृतबेला उठ्नुछ, प्रतिदिन मुरली सुन्नु छ, बाबाको श्रीमत फलो गर्नुछ, उनको सेवा गर्नुछ, अनि मात्र बाबाको मदत मिल्दै जान्छ र बाबाको सपुत बच्चा, उत्तराधिकारी बच्चा सहज रीतिबाट बनिन्छ । बाबाले त सबथोक दिनुहुन्छ, दिनकै लागि बन्धनमा हुनुहुन्छ । उहाँ खूद भन्नुहुन्छ, ‘मलाई युज गर, तर लिने वाला हुनुपर्‍यो, हिम्मतवाला हुनुपर्‍यो, दृढ निश्चयवाला हुनुपर्‍यो ।’

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 989 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top