Free songs
Home / प्रवचन संग्रह / भगवानका साथ अद्वितीय अनुभव

भगवानका साथ अद्वितीय अनुभव

  • ब्रह्माकुमार जगदीश चन्द्र

हरेक गीतको आ-आफ्नै विशेषता हुन्छ । हरेक गीत सुन्नेवालालाई मन-बुद्धिमा प्रभाव पर्न जान्छ । त्यो अनुभव एकदमै असाधारण र अनौठो लाग्दछ । यसले पनि जीवनमा परिवर्तन ल्याउन सक्छ । जब यो गीत बजाइन्छ, सुन्नेवालाको मनमा उमंगको आवाज बज्न थाल्दछ । पुरानो संस्मरण जागेर आउँछ कि त्यसको अनुभव कति असाधारण थियो ! जो श्रृष्टिका आदिपिता प्रजापिता ब्रह्मा सारा मनुष्य श्रृष्टिका पितामह हुनुहुन्छ, जसको साथ रहने मौका मिल्यो, जसको साथ कार्यक्षेत्रमा काम गर्ने सौभाग्य प्राप्त भयो, उनको बोली, उनको नयन, उनको स्पर्श, उनको निकटता, उनको स्नेह, उनको सान्निध्य, उनको संरक्षण, ईत्यादिको जुन अनुभव थियो, त्यो निकै अद्वितीय थियो । जसबाट आत्मा गदगद हुन्थ्यो । यी जुन गीत छन्, जब कहिले म सुन्छु, मनलाई जगाइदिन्छन् र मनका तार-तार यसरी झंकार गर्दछन् कि भित्रभित्रै यस्तो अनुभव हुन्छ कि आफ्नै मनले गीत गाइरहेको छ, त्यो अनुभव असाधारण लाग्छ । जो संसारकै सारा मानव मात्रका नम्बर वान शिव बाबाका प्यारा दुनियाँमा सर्वश्रेष्ठ छन्, उनलाई नै मान्छेहरुले चिन्दैनन् । बाबा भन्नुहुन्थ्यो, साँवरा कृष्ण र गोरा कृष्ण । गोरा कृष्णभन्दा पहिले साँवरा कृष्ण हुनुहुन्छ, जसलाई प्रजापिता ब्रह्मा भनिन्छ । कृष्णको अर्थ साँवरा हो ।  उनी को थिए ? जसले ती गोरा कृष्णका साथ जोडिन पुग्छन् र आज गल्ली गल्लीमा उनकै महिमा गाइन्छ । हामीलाई सौभाग्य प्राप्त भयो, उनको निकट रहेर उनको अनुभव गर्ने । त्यो वास्तवमै यति ठूलो खजाना अथवा अनुभव प्राप्त भयो कि जसको न कुनै मूल्य लगाउन सकिन्छ, न चुकाउन सकिन्छ । यो एक सर्वश्रेष्ठ अनुभव थियो । यो समान यस दुनियाँमा अरु केही पनि छैन ।

जो आत्माहरु पछाडि आए, जसले साकारमा अनुभव गर्न पाएनन्, जसलाई यो सौभाग्य प्राप्त हुन सकेन, उनको लागि बाबाले मार्जिन छोडिदिनुभएको छ । शिव बाबाले सबैलाई मौका दिनुहुन्छ । सबै उहाँकै बच्चा हुन् । जो बच्चाहरुले राम्रो इच्छा राख्दछन्, जो सांसारिक हुँदैनन्, जसको दैवी इच्छा हुन्छ, जसलाई आत्माका उन्नति प्रगतिको इच्छा हुन्छ, विश्वको कल्याण गर्ने इच्छा हुन्छ, यो हुन सक्दैन कि बाबाले उनीहरुको ती इच्छाहरु पूरा नगर्ने । श्रेष्ठ कामना, शुभ भावना गरेर, कसैले राम्रो कार्य गर्ने संकल्प गरेर चल्छ भने बाबाले ती इच्छाको जरुर पूरा गर्नुहुन्छ । जसको यो इच्छा हुन्छ ‘बाबा, हजुरका साथको अनुभव अद्वितीय हुन्छ र त्यो अनुभव मैले पनि गर्नुछ,’ बाबाले उसको इच्छा अवश्य पनि पूरा गरिदिनुहुनेछ ।

गीत र संगीतको प्रभाव मनुष्यमा मात्र होइन पशु-पंक्षीहरु र रुखबीरुवामा समेत पर्दछ । वैज्ञानिकहरुले यसमा प्रयोग गरेर पनि हेरेका छन् कि फलानो गीतले यी पशुपंक्षी, तरुलतामा के असर परेको छ ? उनीहरुको भनाइ अनुसार रोग निदान चिकित्सा गीत तथा संगीतको माध्यबाट पनि हुन सक्छ । भनिन्छ कि गाईको दूध गीत वा संगीतबाट बढाउन सकिन्छ । यो पनि भनिन्छ कि मनुष्यको विकास गीत वा संगीतबाट बढाउन सकिन्छ । गीत-संगीत यस्तो वस्तु हो मनुष्यका हरेक जिन र जीवकोशहरुलाई प्रभावित गर्छ । यसरी नै हामी योगीहरुले पनि जब यस्तो गीत वा संगीत सुन्छौँ, तब मनमा यस्तो स्थिति आउँछ कि जसलाई हामी योगको स्थिति भन्न सक्छौँ । यो आफ्नै प्रकारको योगको स्थिति हुन्छ । संसारलाई भुलेर, बिना कुनै मेहनत, मन बाबाको साथमा गइहाल्छ, जुन अनुभव एकदमै असाधारण र अनौठो हुन्छ । मैले यो भन्दै थिएँ कि जो पछि आए उनीहरुलाई पनि बाबाको साथको अद्वितीय अनुभव गर्ने सौभाग्य प्राप्त हुन्छ । बाबाले भन्नुभएको छ, ‘बच्चा हो, अव्यक्त स्थितिको धारण गर । अशरीरी अवस्थाको धारण गर ।’ बाबा पार्थिव रुपको शरीरमा त हुनुहुन्न, अव्यक्त स्थितिमा हुनुहुन्छ, अव्यक्त धामको निवासी हुनुहुन्छ । अव्यक्त बापदादा मधुबनमा जब शरीरमा आउनुहुन्छ, तब तपाईँ अव्यक्त स्थितिमा हुनुहुन्छ भने असाधारण अनुभव गर्न सक्नुहुन्छ । नत्रभने तपाईँलाई सांसारिक स्थूलता नै देखिन सक्छ । यदि तपाईँ अव्यक्तधाममा गएर बाबाको अनुभव गर्न चाहनुहुन्छ भने त्यो अनुभव तपाईँले आफू अव्यक्त स्थिति धारण गर्नुभयो भने हुन्छ । बाबा अव्यक्त भएपछि जब साकार सन्देशीको तनमा आउनुभयो तब उहाँले बच्चाहरुलाई भन्नुभयो कि ‘बच्चा हो, आखिर सबैलाई अव्यक्त हुनैपर्छ । यस पार्थिव शरीरमा त कैद भइरहने होइन । तिमी बच्चाहरुको स्थितिलाई अव्यक्त गर्नकै लागि म अव्यक्त भएको हुँ । सबै बच्चाहरु मसंग भेट्न चाहन्छन्, तर साकारमा सबैलाई समय त दिन सकिँदैन । अव्यक्त वतनमा सबैको लागि प्रवेशद्वार खुला छ, जब चाहन्छौ, जुन समय चाहन्छौ, जति पटक चाहन्छौ, आएर मसंग भेट गर्न सक्छौ, कुरा गर्न सक्छौ । मकहाँ आउनको लागि कसैलाई सोधिरहनुपर्दैन ।’

हरेकले आफ्नो तकदीर आफ्नो साथ लिएर आएका हुन्छन् । अब आउने बच्चाहरुलाई बाबाले यो सौभाग्य अथवा तकदीर दिनुभएको छ, यो मौका हामीले गुमाउनुहँदैन । यसैले यस सौभाग्यको अनुभव गर्नपर्‍यो । यो समय बित्यो भने फेरि यो दिन याद आउनेछ कि ओहो मैले त्यो अमूल्य समय गुमाइहालेँ । भनिन्छ नि राम नामको लूट छ, जति लुट्न सक्छौ लुट । यहाँ बाबाको साथको जुन अनुभव छ, यो कल्पमा एक पटक मात्र मिल्छ । हरेक युगमा तपाईँलाई सबथोक मिल्छ, व्यक्ति, पदार्थ, वैभव, राज्य, भाग्य, सुख, सम्पत्ति, तर परमात्मा र परमात्मासंगको असाधारण अनुभव मिल्नेछैन । स्वर्गभन्दा पनि उच्च स्टेज यहाँ छ, जुन हो संगमयुगको । यदि तपाईँ आफ्नो अव्यक्त स्टेज प्राप्त गर्नुहुन्न, विदेह स्थिति प्राप्त गर्नुहुन्न, भने आफ्नो तकदीरमा आफै पर्खाल लगाउँदै हुनुहुन्छ । यसमा बहाना बाजी चल्दैन । यस श्रृष्टि नाटकमा बहाना बाजी चल्नै सक्दैन । कि हुन्छ कि हुँदैन । अनुभव गर्न चाहनुहुन्छ भने गर्नुहोस्, केही पनि हुन्छ । चाहनुहुन्न भने आफ्नो तकदीरमा पर्खाल लगाउनोस् र पछि पछुताउनुहोस् । यसमा बहानाबाजी नगरौँ, किनकि बाबाको सामुन्ने यो चल्दैन । बाबाले त तपाईँको लागि द्वार खोलिदिनुभएको छ । गर्ने न पाउने तपाईँकै मर्जी । तपाईँ गर्नु चाहनुहुन्न वा पाउन चाहनुहुन्न भने बाबाले के गर्न सक्नुहुन्छ र ? सम्झनुहोला यसको तकदीरमा यस्तै छ । जहाँ मान्छेको इच्छा हुन्छ, त्यहाँ बाटो निक्लिहाल्छ । यदि सम्झनुहोस् कुनै कोशिस त गर्नुभयो, तर बाटो निक्लिएन भने गर्ने इच्छा नै नभएको ठहर्छ । इच्छा भए बाटो जरुर निक्लन्छ । बाबाले धेरै तरीकाले सम्झाउनुभएको छ कि ‘बच्चा हो, धेरै गइसक्यो, अब थोरै बाँकी छ, थोरैभन्दा पनि थोरै बाँकी छ, अब अनुचित विलम्ब नगर । धेरै समयदेखि बाबाले भन्दै आउनुभएको छ । योभन्दा बढी समय बाबाले के दिन सक्नुहुन्थ्यो ? जो त्रिकालदर्शी हुनुहुन्छ, उहाँले नै हामीलाई सावधान गराइरहनुभएको छ, कि ‘हे बच्चा हो, धेरै गइसक्यो, अब थोरै बाँकी छ, थोरैभन्दा पनि थोरै बाँकी छ अब अनुचित विलम्ब नगर ।’ पहिलो घण्टी ! दोस्रो घण्टी !! तेस्रो घण्टी !!! यस्तै घण्टीहरु बजिरहेको छ, तर हामी अझै उठ्दैनौँ । केही विद्यार्थीहरु परीक्षाको समयमा छिट्टै उठेर पढ्नको लागि अलार्म मिलाएर सुतेका हुन्छन् । जब बिहान अलार्म बज्छ, उनीहरु उठ्नुको सट्टा अलार्म नै बन्द गरेर फेरि सुत्छन् । अलार्म आफै राख्छन्, पढ्नको लागि सबेरै उठ्ने इच्छा आफै गर्छन् र जब अलार्म बज्छ, आफैले निदको मारवश् अलार्म नै बन्द गरिदिन्छन् । यो त भगवानको अलार्म हो, यसलाई त तपाईँ बन्द गर्न सक्नुहुन्न । यो समयको घण्टी आफ्नो समयमा घण्टी त बजाइ नै रहन्छ, त्यसलाई सुन वा सुत, त्यो तपाईँकै मर्जी हो । बाबाले बारबार भनिरहनुहुन्छ ‘बच्चा हो, अब जे हुन्छ, अचानक नै हुन्छ । त्यसमा सस्पेन्स हुन्छ नै । हुने हुनामी त फिक्स नै छ तर देख्नेहरुलाई अचानक लाग्ने मात्र हो । उसरी नै श्रृष्टि नाटकमा सबै कुरा फिक्स हुँदाहुँदै पनि त्यो अचानक हुन्छ, सस्पेन्स हुन्छ । जे अचानक हुन्छ, त्यसलाई मान्छेहरु नाटकीय ढङ्ग (Dramatic Way) बाट भयो भन्दछन् । त्यो त ड्रामेटिक इभेन्ट थियो । बाबाले त भनिसक्नुभएको छ कि यो श्रृष्टि नाटक हो । यसमा जे जस्तो हुन्छ, अचानक नै हुन्छ । हेर मम्मा जानुभो, अचानक नै । बाबा अव्यक्त हुनुभो अचानक, दीदी जानुभो अचानक, दादी चन्द्रमणि जानुभो अचानक । यस श्रृष्टि नाटकमा जे हुन्छ, अचानक नै हुन्छ । विश्वका जो ठूला ठूला घटनाहरु भए, सबै अचानक नै भएका थिए, अझ पनि भइरहेका छन् र अझै हुँदै जानेछन् ।

जसको लागि प्रेम हुन्छ उसको लागि मान्छे के गर्दैन ? सबथोक बलिदान गर्न सक्छ । ज्यान दिनको लागि तयार भइहाल्छ । मातृभूमिको लागि सिपाही के गर्दैनन् ? आफ्नो ज्यान दिन्छन् । जब हामी स्कूलमा पढ्थ्यौँ, त्यसबेला एक कथा सुनेका थियौँ । इंग्लिश सेनाको फ्रेन्च सेनासंग आम्नेसाम्ने भए । दुवैको लडाइ भयो । फ्रेन्च सेनासंग तोप थियो, इंग्लिश सेनासंग सिर्फ बन्दुक थियो । उनीहरु ७०० व्यक्ति थिए, जबकि यिनीहरु ७ व्यक्ति मात्र थिए । तिनीहरुको कुनै तुलना नै थिएन । उनीहरु उताबाट आइरहेका थिए, यिनीहरु यताबाट आइरहेका थिए । इंग्लिश क्याप्टेनले निर्णय लिनुथियो कि अब के गर्ने ? आत्मसमर्पण गर्ने कि ? भाग्ने कि ? लडाइ गर्ने ? उनले तुरुन्त निर्णय लिए र आदेश दिए ‘शूट ! फायर ! हमला गर !’ तिनीहरुमध्ये एक सिपाहीले भन्यो कि ‘यसले गलत निर्णय लियो, किनकि यो समय त हामीले ज्यान बचाउनु थियो, एक एकको ज्यान बहुमूल्य छ, हामीलाई आदेश चाहिएको थियो कि तिमीहरु भाग वा कहीँ न कहीँ आफूलाई छिपाऊ ।’ तर क्याप्टेनले फेरि भने, ‘हामी सिपाही हौँ, हामीलाई थाहा छ हामी मृत्यूको मुखमा गइरहेका छौँ । हामीले त देशको लागि कात्रो बाँधेर हिँडेका हौँ । हामीलाई थाहा छ कि उनीहरु ७०० जना छन् र हामी ७ जना मात्र छौँ । तापनि सीपाहीको धर्म हो आफ्नो देशलाई जोसुकैले हमला गरोस् त्यसको सामना गर्ने र देशको लागि लड्ने । हामीले यस देशको अन्न खाएका छौँ । यो हाम्रो प्रण हो कि हाम्रो धर्तीलाई कसैले हमला गर्‍यो भने जाइ लाग्नु, चाहे त्यसको लागि आफ्नो ज्यान गुमाउनु किन नपरोस् । यसैले सिपाहीहरु हो, तिमीहरु लड ।’ उसले हुकुम दियो । ती सैनिकहरुमध्ये एकजनाले भन्यो ‘भाइ हो, हाम्रो कर्तव्य नै कमाण्डरको हुकुमको पालना गर्नु हो । अगाडि बढ, हामीले यो हुकुम मान्नै पर्छ ।’ इतिहासले बताउँछ कि दुश्मनहरुको तोप सहितको ७०० जनाको फौज हुँदाहुँदै पनि उनीहरुको हार भयो र भागे । तिनको जीत भयो, जोसंग आत्मविश्वास रुपी अस्त्रशस्त्र थियो र देशभक्ति थियो । यहाँ परमपिता परमात्मा हाम्रा सेनापति हुनुहुन्छ । उहाँको आज्ञाको पालना गर्नु हाम्रो परम धर्म र कर्म हो । के सेनापतिलाई थाहा छैन कि आफूले गलत हुकुम दिइरहेको छु भन्ने ? अथवा मेरा सैनिकहरुले लड्न पाउलान् या नपाउलान् भन्ने ? के हामी उहाँभन्दा बढी समझदार भयौँ ? ती सैनिकले त गर वा मर सिद्धान्त अनुसार लडे र जिते पनि । त्यसै प्रकार हामीहरु पनि रुहानी योद्धा हौँ । हाम्रा सेनापति सर्वशक्तिवान परमपिता परमात्मा हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ ‘यसो गर ।’ हामीले पनि गरेर देखाउनुपर्छ । जसले गर्छ, उही नै विजयी हुन्छ । जसले गर्दैन, शंका मात्र व्यक्त गरिरहन्छ, ऊ अन्तसम्म यस्तै चलिरहनेछ । केही पाउनेछैन, केही पनि अनुभव गर्न पाउनेछैन ।

भनिन्छ घोडा चढ्ने लड्छ । जो घोडामा बसेर लडाइको मैदानमा जान्छ, उही त घोडाबाट लड्छ । लडेर के भयो त ? फेरि चढ्छ । हामीले हमेशा आदर्श उच्च राख्नुपर्छ । यदि हामीले त्यस आदर्शको शतप्रतिशत प्राप्त पनि गर्न नसके के भयो त ? हामीले त्यस आदर्शसम्म पुग्न नसके पनि नजिक त पुग्यौँ । आदर्श नै नराख्नुभन्दा वा साधारण लक्ष्य राखेर पाउने पदभन्दा यो धेरै राम्रो हुन्छ । यसमा हामीलाई नोक्सान के नै भयो र ? जे भयो, जे मिल्यो, राम्रो नै भयो । यसैले भनिन्छ, बिचार सँधै उच्च राख । भनिन्छ, लक्ष्य सँधै उच्च राख । लक्ष्य उच्च भए त त्यसै अनुसार हुने हो । यसैले सोच्नोस्, म गरेर देखाउने वाला हुँ । म नै गर्ने वाला हुँ । मैले नगरे कसले गर्छ ? यही विश्वास राखेर चल्नुहोस्, यसमा बाबाको हात र साथ रहन्छ । बाबाले भन्नुभएको छ कि मानौँ त्यस कार्य हुनु नै छ, मैले खाली निमित्त बन्ने मात्र हो । हमेशा इच्छा शक्ति दृढ राखौँ । तपाईँले स्कटल्याण्डका राजाको कथा सुन्नुभएकै होला । उनले धेरै पटक लडाइ लडे, तर सात पटकसम्म लडाइ हारे । यसबाट निराश भएर सोचे कि अब म लडाइँ लड्दैन, हरेक पटक हारेर के फाइदा भयो ? त्यसैबेला दुश्मनले उनको पिछा गरे, उनी भागेर एउटा गुफामा लुके । उनले त्यहाँ के देखे ? एउटा माकुराले जालमा चढ्थ्यो, फेरि खस्दथ्यो । उनले देखे कि त्यो माकुरा १७ पटक चढ्यो र १७ पटक नै गिर्यो । अन्तमा त्यो चढिछाड्यो । राजाले सोचे कि के म राजा भएर पनि यस माकुराभन्दा पनि गएगुज्रेको हुँ ? यो १७ पटक चढ्यो र गिर्यो, आखिर यसले त लक्ष्य प्राप्त गर्न सफल भयो ! के म जित्न सकिन भनेर हातमा हात राखेर बसिराखूँ ? उनी उठे, तरवार निकाले र लड्नको लागि तयार भैहाले । इतिहासले बताउँछ कि उनले फौज पुनः एकत्रित गरे र दुश्मनमाथि विजयी भइ छाडे । उनले कसरी जिते ? त्यस माकुराले के सिकायो ? बाबा भन्नुहुन्छ कि ‘बच्चा हो, मायादेखि नडराऊ । पुरुषार्थ गर । दृढतापूर्वक अघि बढ, विजय तिम्रो जन्मसिद्ध अधिकार हो ।’

यदि तपाईँ २५ वर्षदेखि ज्ञानमा हुनुहुन्छ र आफूले जति सफलता प्राप्त गर्नुपर्ने हो त्यति सफलता मिलेको छैन भने तपाईँ २५ वर्षको अनुभव विश्लेषण गर्नुहोस् कि मलाई सफलता नमिल्नुको कारण के हो ? २५ वर्ष जसरी बिते, यो २६ औँ वर्ष त्यसरी नगुजार्नुहोस् । विश्लेषण गरौँ, कारण खोजौँ र निवारण गरौँ । अनि यो एक वर्ष २५ वर्षभन्दा ज्यादा सुनौलो हुनेछ ।

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 1,056 total views,  4 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top