बुद्ध बन्ने लहड

(१)

मध्यतराईको एक गाउँमा एकजना बुद्ध गौतम नामको तन्नेरी बस्दथ्यो । गाउँलेहरूमध्ये कसैले उसलाई बुद्ध नामले बोलाउँथे भने कसैले बुद्धु पनि भन्दथे । न्वारानको नाम उसको बुद्ध नै थियो तैपनि ऊ बुद्ध बन्न चाहन्थ्यो । थरले ऊ गौतम नै थियो फेरि पनि गौतम नै हुन चाहन्थ्यो । अर्थात् बुद्ध गौतम ‘गौतम बुद्ध’ बन्न चाहन्थ्यो । जङ्गलमा वनतरूल खोस्रेझैँ बुद्ध गौतमले दिनरात गौतम बुद्धका उपदेश तथा किस्साहरू सङ्कलन गर्थ्यो र मान्छे खेरीकन वा खेरिएको ठाउँमा पुगीकन त्यस्ता उपदेश तथा किस्साहरू सुनाउन अघि सर्दथ्यो । आफूले समेत बुद्धका उपदेशहरू व्यवहारमा लागू गरेको गाउँलेलाई देखाउन चाहन्थ्यो ।

उसले प्राइमरी क्लासमा पढ्दै गर्दाको कुरा हो । एक दिन उसको कक्षामा गौतम बुद्धको बाल्यकालको बारे पढाइ हुँदै थियो । विद्यार्थीहरू भने पल्याकपुलुक गर्दै चोर नजरले बुद्ध गौतमलाई हानिरहेका थिए । उसलाई कता कता घोच्ने भएकोले ती चोर नजरबाट छलिनको लागि ऊ पछिल्लो बेन्चमा उधोमुन्टो लगाइबसेको थियो ।

“गौतम बुद्ध त…”, एकजनाले पछिल्लो बेन्चमा बसेको बुद्धलाई औँल्याउँदै जिस्क्याइहाल्यो, “ऊ..हाम्रो कक्षामै आइपुगेर ध्यानमा बसेका छन् ।“ अनि त के चाहियो र ? सबै विद्यार्थीहरू बुद्धतिर फर्केर गलललल हाँसोको फोहोरा नै फ्याँक्न थाले । कोठा नै हाँसोले उचालिँदा शिक्षक पनि नहाँसी बस्न सकेनन् । त्यस दिनदेखि विद्यार्थीहरूले उसलाई गौतम बुद्ध भन्दै जिस्क्याउन थाले । विपरीत नामले आफूलाई जिस्क्याइँदा बुद्धलाई यति असह्य भयो कि त्यो स्कूल कहिल्यै नफर्कने गरी छोडिदियो । पछि अर्को स्कूलमा पुगेर हाइस्कूलको पढाइ त सिध्यायो तर त्यहाँ पनि उसलाई गौतम बुद्धकै नाम भिडाइयो ।

पछि बुझ्दै जाँदा उसले थाहा पायो कि गौतम बुद्ध त विश्वकै एक महान व्यक्ति पो रहेछन् । आफूले बित्थैमा स्कूल फेरेकोमा चुकचुकायो । उसलाई लाग्न थाल्योः आफूले पनि बुद्धका गुणहरू अवलम्बन गरेर त्यस्तै महान बन्न पाए !

त्यसपछि उसले बुद्धका उपदेश, महावाणी र कथाहरूमा औधी दिलचस्पी लिन थालेको थियो ।

०००

उसले स्कूल पढ्दा नै सुनेको थियोः सिद्धार्थ गौतमले घाइते पानीहाँसलाई पुनर्जीवन दिएको कथा । देवदत्तलाई न्यायमा हराइएको किस्सा ।

बुद्धले एक सरकारी कार्यालयमा सानोतिनो करारको जागिर भेट्टाएको थियो । एक दिन घरतिर फर्किरहेको बखत उसले आफ्नो पछिल्तिर कुकुरहरूको चर्को भुकाइ सुन्यो । आवाज आएतिर फर्केर हेर्दा देख्यो कि कुकुरहरुले एउटा स्याललाई लखेटिरहेका रहेछन् । भाग्दै गरेको स्यालको मुखमा कुखुरो च्यापिएको थियो । बुद्धले स्याललाई ताकेर ढुङ्गाले हिर्कायो । मान्छेले समेत लखेट्न थालेपछि कुखुरा त्यहीँ छोडेर स्यालले सुइँकुच्चा ठोक्यो । कुखुरो समात्न खोज्ने कुकुरहरूलाई पनि बुद्धले ढुङ्गाले हिर्काएर यताउता भगायो र कुखुरो टिप्यो । धन्न कुखुरो घाइते मात्र रहेछ, मरिसकेको रहेनछ । उसले सिद्धार्थले पानीहाँसलाई गरेको उपचार सम्झियो र तेलबेसार लगाई बचाउने उद्देश्यले घरमा लिएर गयो । बुद्धले कुखुरो बोकेर आएको देखी घरका सबै परिवार निकै खुशी देखिए, मुख मिठ्याए । बुद्ध तेलबेसार खोज्नपट्टि लाग्यो । उसको बाबुले खुकुरी उध्याउन थाले र आफ्नी बूढीलाई पानी उमाल्न लगाए । त्यसपछि बाबुछोराको कुखुरो खोसाखोस चल्यो ।

“मैले स्यालको मुखबाट खोसेर ल्या’को । यसको प्राण बचाउने जिम्मेवारी अब ममा आइपरेको छ । मलाई छोड्देऊ बा यो कुखुरो !” छोरो चिच्याउँदै बाबुलाई बिन्तीभाउ लगायो ।

“कुखुरो छोड्छस् कि कुखुरैसँग तँलाई भुत्ल्याऊँ ? तैँले तेलबेसार लगाउँदैमा यो बाँच्छ भन्ठानेको ? यदि बाँचिहाल्यो भने पनि यसका खास मालिकले भोलि हामीलाई चोरेको आरोप लगाउनेछन् । तसर्थ यसलाई बचाउनभन्दा मार्नमै हाम्रो कल्याण छ ।“

“पाप लाग्छ बा, त्यसो गर्नुहुँदैन ।“

“हामीले नै चोरेको भए पो पाप ? अर्कैले चोरेको र अर्कैले मारेकोलाई हामीले उपभोग गर्दा केको पाप ?”

“कसैले चोर भनेछन् भने सुटुक्क फिर्ता दिउँला बरू ।“

“गाउँबाट धेरैका कुखुराहरू हराएका होलान् । कतिको जिम्मा लिन्छस् तँ जाबोले ? अहिले कुखुरो सुटुक्क मलाई दे । यो रात्रिभोजन मिठो तुल्याउनुपर्छ । एउटै भुत्लो बाँकी नराखी जलाइदिनुपर्छ । भोलि तँलाई लिएर गाउँमा घुमाइदिउँला । मासु खानेहरूले के भन्दारहेछन् तेरै कानले सुन्लास् ।“

एक्लो बुद्धको केही जोर चलेन । कुखुरोको भुत्लो बाँकी नराखी व्यवस्थापन गरियो । भोलिपल्ट दुवै बाबुछोरा गाउँमा घुमे । पञ्चभलाद्मी जान्नेसुन्ने सबैलाई सोधेर हेरे । मासु खाए पाप लाग्छ भन्ने कुरामा कोही सहमत हुनसकेनन् । उनीहरूले खानेलाई मात्र होइन मार्नेलाई समेत पाप नलाग्ने जिकिर गरे । अनेक तर्क-कुतर्क गरे । गौतम बुद्धले पापको उच्चारण समेत नगरेको बताए । बुद्धलाई नयाँ बुद्धत्त्व प्राप्त भएजस्तै हुन गयो ।

०००

उता अकारण बुद्धको जागिर खोसिएको थियो । यही अवसर छोपी उसले गाउँमा कुखुराको भव्य मासु पसल नै सुरू गरिदियो । उसले ज्यूँदा कुखुरा बजारबाट ल्याउँथ्यो । आफ्नो पसलमा पुर्‍याउनुपहिल्यै छिमेकी रामलाई मार्न लगाउँथ्यो । मरेका कुखुरा बुद्धले भुत्ल्याउँथ्यो । अचानोमा टुक्राटुक्रा पार्थ्यो, अनि मासु बेच्थ्यो । बिहान बेलुका उसको पसल ग्राहकले गुन्जायमान हुन्थ्यो । आउनेहरूलाई बुद्धका एक एक किस्साहरू सुनाएर मनोरञ्जन दिलाउँथ्यो पनि । भन्थ्योः “मासु खाएर तपाईँहरूलाई एक थोपा पाप लाग्नेछैन । यो पापको भागीदार म पनि होइन ।“

पैँसाको पोको बोकेर एकपटक बुद्ध ज्यूँदा कुखुरा ल्याउन बजारतिर जाँदै थियो । उसले छिटो र छोटो जङ्गलको बाटो समातेको थियो । बीचमा पुग्दा अकस्मात एकजना लुटेरा उसको बाटो छेक्न आइपुग्यो । बुद्ध डरले थर्कमान हुँदै सोध्यो, “तँ को होस् ?”, उसले भन्यो, “मलाई गोलमाली डाँका भन्छन् । यो बाटो मेरो डरले हत्पत्ति कोही एक्लै हिँड्दैनन् । तँ मेरो आहारा बन्न आइपुगिस् । प्राण जोगाउने ईच्छा भए तँसँग भएको नगद जिन्सी सप्पै मलाई बुझाइदे ।“  बुद्धले आफूलाई गौतम बुद्ध भन्दै आनाकानी गरेपछि त्यस डाँकाले दुईचार चड्कन लगाइदियो । बुद्धले एक्लै प्रतिरोध गर्न नसकी घडी, मोबाइल, एटिएम लगायत नगद जिन्सी जम्मै उसलाई हात लगाइदियो । बुद्धसँग भएको सबथोक पाएर पनि डाँकालाई चित्त बुझेन र हतियार उज्याउँदै बुद्धलाई मार्न तम्सियो । बुद्धले डाँकाको पाउ पर्दै आफ्नो प्राण बचाइदिए अरू अर्बौँको स्रोत देखाइदिने र त्यसले उसलाई बसीबसी खाने अवस्थामा पुग्नेछ भनी बिन्तिभाउ गर्‍यो । गोलमाली डाँकाले बुद्धको कुरा पत्यायो र उसको पछि लाग्यो ।

बुद्धलाई खासमा आफूले देखेभोगेको गाउँ वा शहरमा को अरबौँका धनी छन् भन्ने कुराको केही छेउटुप्पो थाहा थिएन । उहिल्यै जागिर खाँदा एकजना धनीमानी हाकिमलाई भने राम्रैसँग चिन्दथ्यो । समयान्तरमा उसलाई ती हाकिमले करारको जागिरबाट फुत्क्याइदिएर आफ्नो मान्छे भर्ना गरेका थिए ।

बुद्धले यस आपतमा तिनै हाकिमलाई सम्झियो । उसले त्यस लुटेराबाट फुत्किने यही नै सर्वोत्तम उपाय हुनसक्छ भन्ठान्यो र वीरगन्जस्थित भुपु हाकिमकै घरभित्र गोलमाली डाँकूलाई छिराएर ऊ त्यहाँबाट टाप कस्यो ।

त्यस घटनाको केही समयपछि एकजना पण्डितको अन्तर्वार्ता पत्रिकामा छापिएको बुद्धले देख्यो । अन्तर्वार्ताको शिरमा गोलमान महाप्रभूको नाम र गेरू वस्त्रधारी फोटो थियो । उसले चिनिहाल्यो कि यो त उही आफूलाई मार्न खोज्ने गोलमाली भन्ने डाँकू पो हो । अन्तर्वार्तामा उसले भनेको थियो कि “आफू र आफ्ना सन्तानको जिविकोपार्जनको लागि पैँसा कमाउनु जायज हो । यसरी गरिने यावत कार्यहरू पापभित्र पर्दैनन् । हात बाँधेर बस्नु बरू पाप हो । तथापि अब आफू हात बाँधेरै बस्ने निर्णय गरेको……. “ भन्ने खालका तर्कले अन्तर्वार्ता भरिएको थियो । उसको अन्तर्वार्ताबाटै थाहा भयो कि हतियार देखाएर लुट्नुभन्दा त्यस लुटेराले छद्म भेषबाट मान्छे लुट्ने तरीका सिकिसकेछ ।

अन्तर्वार्ताको अन्तिम प्रश्नको जवाफ हेरेर ऊ तीनछक परेको थियो । अन्तर्वार्ताकारले उसलाई सोधेको थियो, “तपाईँको जीवनमा यसरी आमूल परिवर्तन आउनुमा जस कसलाई दिनुहुन्छ ?” जवाफमा उसले भनेको थियो कि “केही समयअघि कलीयुगको साक्षात् गौतम बुद्ध नै भेट्टाएँ । उसको नाम पनि बुद्ध गौतम नै रहेछ ।“

०००

(२)

गोलमालीले यसको श्रेय आफूलाई दिएको जवाफ देखेर बुद्ध पूरै रोमाञ्चित भइहाल्यो । उसलाई लाग्यो कि, “गोलमालीको अन्तर्वार्तामा जजसको आँखा पर्नेछ तिनीहरू भोलिदेखि नै मेरो वरिपरि झुम्मिन आइपुग्नेछन् । अब भने म असली बुद्ध कहलिने भएँ ।“ तर त्यो समाचार छापिएको हप्तादिनसम्म पनि उसलाई सोधपुछ गर्न कोही पनि आएन ।

आठौँ दिनमा रुँदै कराउँदै एकजना महिला काखमा मृत्यू भइसकेको सन्तानलाई बोकेर ऊकहाँ आइपुगिन् र मेरो बच्चा बचाइदिनुहोस् प्रभू भन्दै अलापविलाप गर्न थालिन् । बुद्धसँग त्यसको रेडिमेड जवाफ छँदै थियो । त्यसैले ऊ पटक्कै आत्तिएन । उसले भन्न थाल्योः “बालिके जाऊ, मान्छे नमरेको घरबाट एक-एक माना चामल ल्याएर आऊ । अनि म तिम्रो बच्चा बचाइदिनेछु ।“

बुद्धको आश्वासन सुनेर बच्चाकी आमाले मरिसकेको बच्चालाई बारम्बार म्वाँइ खाँदै भन्न थालिन् “हे भगवान, यो मृत बच्चालाई हजुरले संरक्षण गरिदिनुहोला । म चामल ल्याएर एकछिनमै आइहाल्छु ।“

“यहाँ राखेर के काम ? साथमै लैजाऊ । तिमीलाई चामल जुटाउन सजिलो हुनेछ । यल्लाई चामलसँगै साथमै ल्याएर आउनू ।“

मरिसकेको आफ्नो सन्तान बाँच्नेछ भन्ने आशामा उनी महादेवले सत्यवतीलाई बोकेझैँ बोकेर अलापविलाप गर्दै गाउँ चहार्न हिँडिन् ।

त्यही मार्गमा एकजना अधबैँसे जोडीले टीकटक बनाउँदै थिए । उनको अलापविलापले ती टीकटके जोडीको ध्यान पटक्कै खिँचिएन । ध्यान त गयोहोला तर उनीहरूमा अलिकति पनि संवेदना उत्पन्न भएन । तिनीहरूलाई घच्घच्याउँदै ती महिलाले छाँद हाल्न पुगिन्, “मलाई लाग्यो, तपाईँको परिवारमा आजसम्म कसैको मृत्यू भएको छैन । त्यसो हो भने मलाई एकमाना चामल दिनुहोस् ।“

ती जोडीले खुशी हुँदै भने, “कसरी चाल पायौ ? मृत्यू त परै जाओस्, आजसम्म हाम्रो परिवारमा कोही बिरामी परेको समेत थाहा छैन । बरू त्यो बच्चासँग एउटा टीकटक बनाउन देऊ । तिमीलाई दुई माना चामल दिउँला ।“

बच्चाकी आमा उनीहरूको शर्त स्वीकार गर्न बाध्य भइन् । किनकि उसलाई छोरो बाँच्नेछ भन्ने लागेको थियो । उनीहरूले जसोजसो भन्छन् त्यसै गर्न उनी तयार भइन् । बच्चाको मृत शरीरउपर खेलाँची गर्दै उनीहरूले ढिला गर्न थालेपछि बच्चा खोसिन् र दुई माना चामल लिएर अर्कोतिर लागिन् ।

बाटोमा केही सुकिलामुकिला पुरुषहरुले घेरिएकी एक स्त्री देखिइन् । मुटु ठिहिर्‍याउने पुसको जाडोमा पनि उनी करिब करिब निर्वस्त्र थिइन् र अनुहारमा खुशीको चमक देखिन्थ्यो । लाग्थ्यो उनीहरू सुटिङ युनिटमा कतै गइरहेका कलाकारहरू हुन् । बच्चाकी आमाले हात जोड्दै सोधिन्, “के तपाईँको घरमा कोही मरेको छैन । त्यसो हो भन्ने यो बच्चाको लागि एकमाना चामल दिनुहोस् ।“ एकजना बहुलाहीजस्ती स्वास्नीमान्छेको यो कुराले उनीहरूलाई उदेक लाग्ने मात्र होइन रिस समेत उठायो । तथापि चामल दिएर उनीहरू पनि उम्किए ।

ती महिला केही पर पुगेपछि अर्को एकजना वृद्ध व्यक्ति भेटियो । ऊ एक्लै बात मार्दै हाँस्दै चुड्की बजाउँदै हिँडिरहेको थियो । ती महिलाले उसलाई पनि त्यही प्रश्न दोहोर्‍याउँदै चामलको लागि अनुरोध गरिन् । उसले आफ्नो परिवारमा कहिल्यै कोही नमरेको र आइन्दा पनि कहिल्यै नमर्ने जवाफ दियो । उसले आगामी चुनावमा आफूलाई भोट हाल्ने भए मात्र चामल दिने शर्त राख्यो । बच्चाकी आमाले उसैलाई भोट हाल्न कबोल गरिन् र एक मानो चामल प्राप्त गरिन् ।

यसै गरी उनी त्यहाँबाट हाँसीखुशी देखिने व्यापारीकहाँ पुगिन् । उसले एकपाथी धान किनिदिए मात्र चामल दिने बतायो । उसको शर्त स्वीकार गरेर भुस भैसकेको धान किनिदिइन् र चामल लिएर अर्कोतिर लागिन् । हातमा क्यामेरा बोकेको अर्को व्यक्तिलाई हारगुहार गरिन् । उसले पनि अन्तर्वार्ताको भिडियो बनाउन दिए चामल दिन सकिने शर्त राख्यो ।

यसै गरी कर्मचारी, शिक्षक, वकिल आदिकहाँ समेत पुगेर चामल प्राप्त गर्दै गइन् । गाउँमा घुम्दा घुम्दा काखको मृतबच्चा दुर्गन्धित हुन थालिसकेको थियो । कसैले पनि उनलाई, ‘हाम्रो घरमा पनि विगतमा आफन्त मरेका थिए, हामीलाई पनि तिम्रोजत्तिकै पीडा छ, मान्छे नमरेको घर हुँदैन, मान्छे जन्मेपछि अवश्य मर्छ नै, ढिलाचाँडो मात्र हो !’ भनी समवेदना प्रकट गरेनन् । बरू विपरीत जवाफ दिँदै चामल दिँदै गए । उनले बल्लतल्ल दश पाथीजति चामल जम्मा गरिन् र बुद्ध अझै खुशी होऊन् भन्ने हेतुले घरमा रहेको दश पाथी चामल पनि त्यसमा मिस्याएर बुद्धकहाँ पुगिन् । उनलाई अब त छोरो पक्का बच्नेछ भन्ने आशा थियो । तर बुद्धले भनिदियोः “आधा चामल यहाँ छोड र आधा चामल लिएर छोराको क्रियाकर्म गर । म यसलाई कदापि बचाउन सक्दिनँ ।“

बेहोस् भएर ती बच्चाकी आमाले त्यहीँ प्राण त्यागिन् ।

०००

(३)

आफ्नै अगाडि एउटी अबुझ महिलाले प्राण त्याग गरेकोले बुद्धमा औधी बैराग उत्पन्न भयो । उसले गृहत्याग गरेर यो मृत्युको कारण पत्ता लगाउन चाहेको थियो । तथापि गृहत्यागको कदम उठाउन निकै कठिनाइ भैरहेको थियो । जस्तो कि बल्लबल्ल उसकी स्वास्नीले छोरो जन्माइदिएकी थिई । उसले छोरोलाई छोडेर मृत्यूको कारण खोज्न कहाँ जाओस् । अर्को वर्ष फेरि अर्को छोरो जन्मियो र उसको सन्तोष दोब्बर हुन पुग्यो । उसलाई परिवार छोड्न दोब्बर कठिन भयो । तेस्रो वेतमा एक छोरी जन्मिई । बुद्धले गृहत्याग गर्न खोज्यो तर सकेन । चौथो बेतमा भने स्वास्नीले जुम्ल्याहा छोरीहरू जन्माइदिई । बल्ल उसमा गृहत्याग गर्ने जोस जुट्यो । अघिल्लै वर्षहरूमा गृहत्याग गरिहाल्नुपर्ने भनी उसलाई घोर पश्चात्ताप पनि भयो । अनि उसको पालो लालपूर्जा, नागरिकता, एटिएमकार्ड, बैँक चेक, केही नगद झोलामा खाँदेर पाँचपाँचजना प्यूँसाहरूसहितकी सुत्केरी स्वास्नीलाई छोडेर वनगमनको लागि पाइला उचाल्यो ।

उसको गन्तव्यस्थल आइनपुग्दै पहिले सन्ध्याकाल आइपुग्यो । रातारात हिँडेर कहीँ पुग्नु थिएन । रात छिप्पिँदै जान थालेकोले एउटा घरमा बास माग्यो । झोलाको मोटाइ तथा वजन अड्कलेर त्यस घरकी मालिक्नीले बास बस्न दिने भइन् । संजोगले ती मालिक्नी एकजना मात्र बस्ने घर रहेछ । दुवैजनाको चिनापर्ची भयो । पाहुनाले आफ्नो परिचय बुद्ध भनेर दिएपछि घरवाली निकै खुशी भई । कलीयुगमा मोटो र खँदिलो झोलाको भारी बोकेर बुद्ध आइपुगेको देखेपछि ऊ निराश हुनुपर्ने कुनै कारण थिएन । दुई विपरीत लिङ्गी प्राणीले अबेर रातिसम्म एकअर्कालाई बुझ्ने प्रशस्त मौका पाए । बुद्ध वनवासतिर लागेको कुरा घरमालिक्नीले कोट्याई कोट्याई ओकल्न लगाई ।

“किन वन जान चाहन्छौ ?“

“मान्छे किन दुःखी हुन्छ ? किन मर्छ ? आदि बारे ज्ञान प्राप्त गर्न ।“

“ज्ञान प्राप्त गरेर के गर्न चाहन्छौ ?”

“बुद्धजस्तै संसारका धेरै मान्छेहरूलाई ज्ञान बाँड्न चाहन्छु ।“

“धत् बुद्धु‍! अहिलेको जमानामा पनि ज्ञान खोज्न जङ्गल जानुपर्छ त ? सबै प्रकारको ज्ञान यही ठाँडोमै उपलब्ध हुन्छ ।“ भन्दै उसले एकबित्ता च्याप्टो रङ्गीन मोबाइल बुद्धको आँखैमा पुर्‍याएर नचाई ।

“हो र ?” चकित पर्‍यो बुद्ध । उससँग मोबाइल त थियो तर निकै दुब्लो । कल गर्नु र उठाउने बाहेक मोबाइलको अरू प्रयोजन उसलाई पटक्कै थाहा थिएन । उसलाई केही द्विविधा उत्पन्न भएकोले प्रमाण पेश गर्न लगायो । महिलाले गुगल हेल्प टुल्स प्रयोग गरी । बुद्धले सोधेको हरेक प्रश्नको जवाफ मोबाइलले नै दिन थाल्यो । संसारका विभिन्न कुनाकन्दराका अच्चम्भित पार्ने खालका नाच तथा गीतहरू मोबाइलमै देखाई । संसारका विभिन्न विचारकहरूले दिएको भाषण सुनाई । हरेक शब्दका उल्टासुल्टा अर्थ र भाषानुवाद गरेर देखाई । चटनीदेखि मटनी बनाउने तरीकाहरू सोधेर देखाई । सजिला गेम खेलेर देखाई । बुद्धलाई नपत्याई करै लाग्यो । ऊ लाटोसरी ट्वाल्ल परेर मोबाइलको करामत हेरिरह्यो ।

महिलाले झटपट बुद्धको नाममा फेसबुक खाता खोलिदिई । चिनेका नचिनेका गरी हजारौँ साथीहरू बनाइदिई । नेटबाट विभिन्न बुद्धका महावाणी लगायत विश्वका अनेक विद्वानहरूका इन्स्पाइरेशनल कोटेशन्स सर्च गरेर शेर गर्न सिकाइदिई । सुरूमै उसको कोटेशन्सको भ्यूज सङ्ख्या एकहजार नाघ्यो ।

उसले हिसाब निकालिदिईः “यो ज्ञान एकजनाले एकएक हजार जनालाई शेयर गरे दशलाख हुन्छ, बुझ्यौ ? एउटै कोटेशनबाट दशलाख भ्यूज भनेको चुड्कीको भरमा एकैछिनमा तिम्रा दशलाख चेलाहरू बन्नु हो । यसरी तिमी ज्ञानको खोजी गर्दै र र शेयर गर्दै गरेर केही दिनसम्म यहीँ बस्न सक्छौ । आरामपूर्वक बुद्धका चेलाभन्दा धेरै गुणा बढी तिम्रा चेला बन्नेछन् । वनवासबाट होइन कि सहवासबाट तिमी असली बुद्ध बनेर निस्कनेछौ ।“

बुद्धले खोजेकै त्यही थियो । उसले वनवासको योजना तत्कालै स्थगित गरिदियो । महिलाले अनलिमिटेड फ्रेन्ड्स ज्वाइन तथा शेयर गर्न सकिने उपाय जानिसकेकी हुँदी हो । खानपिन पश्चात् शयनकक्षको भरपुर उपयोगमा आयो । उसले सजिलोको लागि आफ्नै ल्यापटप उपलब्ध गराई र प्रयोग गर्न सिकाई । सुविधाको लागि आफ्नै नाङ्गो ल्याप पनि खुल्ला छोडिदिई । बुद्ध सङ्कोचले खुम्चियो । फूलको रस माहुरीले खाँदा फूल र माहुरी दुवैलाई क्षति हुँदैन, दुवैको परस्पर अस्तित्व रहिरहन्छ भनी गौतम बुद्धले नै भनेको कुराको महिलाले उदाहरण सुनाएपछि बुद्धलाई अलि सहज भयो ।

 महिलाले इन्टर्नेट सर्च गर्दै नयाँनयाँ चेला र ज्ञान थुपार्न र त्यो ज्ञान शेयर गर्नमा बुद्धलाई मद्दत गर्न थाली । बुद्ध पनि सहज ज्ञान आर्जन गर्न र बाँड्नमा मच्चिन थाल्यो । बुद्धले बुद्धकोभन्दा निकै गुणा बढी चेलाहरूको गुरू बनेको अनुभूति संगाल्यो । ऊ केही दिनसम्म यसरी डुब्यो कि बाहिर रात छ कि दिन भन्ने समेत सुँइँपत्तो पाएन । बिस्तारै उसको शेयर तथा भ्यूजमा क्रमिक ह्रास हुँदै पछिल्ला पोष्टहरू हेर्नै छोडिदिएका थिए उसका भर्चुअल मित्रहरूले । अतः यसरी ज्ञान बाँड्ने काममा पनि उसको रस हराउँदै गयो । ज्ञान बाँड्ने काम शून्यमा झरिसकेपछि ऊ तपोध्यानबाट झसङ्ग ब्यूँझियो । बाहिर हेर्‍यो । बिहानको मिर्मिरे उज्यालो बस्तै रहेछ । कतिऔँ दिनको बिहानी थियो त्यो कुनै हेक्का रहेन ।

बुद्धले अब ती महिलाबाट विदा लिनुपर्छ भनी सुरसार कस्यो ।

महिलाले उसलाई असली बुद्ध बनाइदिएको शुल्क खोजी ।

“कति ?” अकमकायो बुद्ध ।

“धेरै होइन । पाँच लाख मात्र ।“

बुद्धको आँखाबाट रिस र त्रासका झ्वाँला छुटे । सबै कुरा पचाइसकेकी महिलाका लागि त्यो कुनै नौलो कुरो थिएन । उसले उल्टै धम्की दिई, “तिमीसँग भएका तिम्रो धनमाल, नागरिकता, एटिएम सबै मेरो कब्जामा परिसकेका छन् । यति बुझ कि तिम्रो प्राण पनि मेरो हातमा छ । तर मैले यी सबै छोडिदिनेछु यदि एक हप्तामै पाँच लाख खोजेर मलाई बुझायौ भने । नत्र तिम्रो चलअचल सम्पत्तिमा मेरोबाहेक अरू कसैको पनि हक लाग्नेछैन ।“

ऊ डरले खङ्ग्रङ्गै भयो । अब घर यत्तिकै फर्कँदा परिवार र समाजले के भन्ला ? यस पातर्नीले त केही समयमै सबै पोल खोलिदिन सक्छे । होइन भन्ने ठाउँ आफूले कतै केही छोडेको पनि छैन । आखिर विकल्प के ? आत्महत्या मात्र हो त ? उसलाई असली दुःखको कारण र मान्छे किन मर्छ भन्ने ज्ञान प्राप्त भइसकेको थियो । तथापि उससँग एक विकल्प जुन पहिल्यै छानेको थियो बाँकी नै थियो । अर्थात् वनवासको मार्ग अझै प्रशस्त हुन पुगेको थियो ।

(४)

ऊ त्यहाँबाट रित्तो हात भौँतारिँदै जङ्गलतिर लाग्यो । रातदिन नभनी हिँडेको हिँडेइ गरेपछि उसले खोजेअनुरूपकै जङ्गल पनि भेटियो । अब जङ्गलमा के गर्नेछ भन्ने उससँग कुनै पूर्वयोजना थिएन । ऊ जङ्गलको एक कुनाबाट अर्कोतिर बरालिइरह्यो । जङ्गली जन्तुको अलिकति डर थियो तथापि जङ्गलबाहिरका मान्छेहरूको झन् ठूलो डर थियो । त्यही जङ्गलको बीचमा एउटा पीपलको रूखमुनि एकजना तपश्वीले ध्यान गरिरहेका थिए । उनलाई देखेपछि बुद्धको निकै भरोसा जाग्यो । एक मन त लाग्यो यिनैको शिष्य बनेर यतै उनको पाऊतिर बसिदिऊँ । तर उसको जन्मजात ईच्छा त गुरू नै बन्ने थियो । जाबो चेला बन्ने होइन । अतः नजिकैको अर्को पीपलको रूखको मुनि बसेर तपस्यालीन मुद्रामा थुचुक्क बस्यो ।

दिनभरि त केही थिएन रात घर्कँदै जाँदा ऊ भोकप्यासले इन्तु न चिन्तु हुनथाल्यो । तर विकल्प पनि त केही थिएन । सहारा नजिकै तपस्यालीन तपस्वी थिए । सोच्योः ती तपश्वी पनि त नखाई यत्तिकै त किमार्थ बाँच्दैनन् । अतः उनलाई कतैबाट केही खाना आइपुगे जिप्ट्याउने सुरले मौका पर्खेर बसिरह्यो ।

नभन्दै रातको मध्यतिर एकजना मुख छोपेकी स्त्री ताततातो खीर बोकेर बिरालोको चालमा उसको छेउमा आइपुगी । उसलाई गुरू मानेर चरण ढोकी । तातो खीरको बासनाले उसले आफूपछाडिको संसार भुलिसकेको थियो । उसलाई क्षुधा, जाडो, जङ्गल र जन्तुको डर आदि समस्या हावाले नै बरालेकोजस्तो हाइसुख्ख भएको थियो ।

जब स्त्रीले आधा घुम्टो खोली उसको आधा अनुहार देखेर बुद्ध अत्तालिन पुग्यो । त्यहाँ त्यो अवस्थामा आइपुग्ने त आफ्नै स्वास्नी पो रहिछ । बुद्ध रिसले आगो भयो । कलिला छोराछोरीलाई छोडेर वनजङ्गलमा भौँतारिने स्वास्नीको नियतबारे प्रश्न उठाउँदै ऊ निकै च्याँठ्ठियो । स्वास्नीलाई तथानाम गाली गर्न थाल्यो । त्यतिले नपुगी उसले स्वास्नीलाई धक्कडपक्कड पार्न थाल्यो । त्यो स्त्री प्रतिरोध नगरी फर्किई । निर्जन जङ्गलमा एक्लिनुपर्दा उसलाई डर तथा पश्चात्तापले फेरि गाँज्न थाल्यो । ती स्त्रीलाई फर्काउन ऊ परसम्म पुग्यो र भागिरहेकी स्त्रीको घुम्टो खोस्दै बाटो छेक्यो । पूरै अनुहार उघ्रेर आम्नेसाम्ने भएपछि पत्ता लाग्यो कि त्यो त उसकी स्वास्नी नभई अर्कै स्त्री पो रहिछ । ऊ सबै प्रकारको संशयको रापतापबाट सेलाउन पुग्यो । त्यस स्त्रीले उसलाई त्यहीँ घचेडिदिई र ऊ लडेको मौका छोपी त्यहाँबाट भागी । बुद्धको भागमा स्त्रीको घुम्टो, खिर छोपेको पछ्यौरा र खिरको भाँडो मात्र पर्‍यो । उसले घर सम्झियो । परिवार सम्झियो । भर्खरै जन्मिएका छुनुमुने बच्चाहरू सम्झियो । उसलाई त्यो सब त्यागेर वनवास लागेकोमा निक्कै ग्लानी हुन पुग्यो । औडाहा भयो, धुरूधुरू रोऊँजस्तै भयो । तर ऊ विकल्पहीन थियो । भर्खरै भागेकी स्त्रीले छोडेका लुगाफाटाको आश्रयले उसले रुखमुनि कठिन रात गुजार्ने प्रयास गर्‍यो ।

भोलिपल्ट एकाबिहानै उसको नजिकै निकै हल्लाखल्ला मच्चियो । आँखा खोली यताउता चियायो । पल्लो रूखका तपस्वी भागिसकेका थिए । के भैरहेछ बुझ्न नपाउँदै दुईतीन थान क्यामेरा बुद्धतिर तेर्सिइसकेका थिए । डरले उसको होसहवास उड्यो । उसका दूरदर्शी नजरले अलि पर प्रहरीहरू लुक्दै आफैतिर सरिरहेको भेट्टाइहाल्यो । उसले पत्रकारहरुको आँखा छलेर घुम्टो, पछ्यौरा र भाँडाकुँडा त्यहीँ छोडी जङ्गलको गुप्तभागतिर बेपत्ता भयो ।

नक्कली बुद्धको हुलिया मुलुकभरका पत्रपत्रिकामा छ्याप्छ्याप्ती छापिइसकेको थियो । उसलाई बुद्धको नाममा प्रचार चाहिएको थियो र अब प्रचार पनि भइहालेको थियो । मुफतको प्रचारले ऊ खुशी हुनुपर्ने थियो । तर त्यो प्रचार नै उसको लागि जोखिम बनेर गलपासो बन्न पुगेको थियो । अब न ऊ जङ्गलमा सुरक्षित थियो न त जङ्गलबाहिर नै । जहाँ पुगे पनि तत्कालै छोपिन सक्ने उच्च जोखिम थियो । भारतीय सीमाना त नजिकै हुँदो हो तर पारि जाने चोरबाटो थाहा थिएन । सीमाचौकीबाट समेत ऊ पक्राउ पर्न सक्थ्यो । ऊ दिनभर जङ्गलमै लुकेर बस्यो । रातिराति गरेर जङ्गल पार गर्‍यो ।

जङ्गलको छेउमा पुगेपछि केही पर भगवान बुद्ध स्वयम् प्रकट भैरहेको देख्यो । उसको हर्षको सीमा नै रहेन । ऊ नजिक नजिक सर्दै गयो । ती त साक्षात् बुद्ध नभई बुद्धको प्रतिमूर्ति पो रहेछ । ऊ बुद्धको प्रस्तर मूर्तिको पाउमा छाँद हाल्दै भक्कानिन थाल्योः “भगवान मैले त भुस्याहा कुकुरले समेत नपाउने दुःख पाएँ । मलाई यस दुःखबाट छिट्टै मुक्ति देऊ भगवान ।“  बुद्धको निश्चल मूर्ति भने शान्त मुद्रामा हाँसिरह्यो ।

उसले मूर्तिको पछिल्तिर बौद्ध गुम्बा पनि देख्यो । उसले त्यहीँ पुगेर शरण माग्ने विचार गर्‍यो । ऊ सर्दै सर्दै प्रवेशद्वारमा पुगेर उभियो । धेरै बेर कुर्दा पनि त्यहाँ उसलाई सोधपुछ गर्न कोही उपस्थित भएन ।

केही बेर उभिउन्जेल उसले गुम्बाभित्र बस्नु र बाहिर बस्नुका फाइदा र बेफाइदाहरू केलाउन थाल्यो । भित्र बस्दा आजीवन केश खौरेर पीत वस्त्र धारण गर्नुपर्ने । बौद्ध भिक्षुहरूको कडा अनुशासनमा बस्नुपर्ने । मन लागी गर्न नपाइने । गुरूको सट्टा चेलो भएर बस्नुपर्ने आदि बेफाइदाको थुप्रो उसको मनमा थुप्रियो ।

उसलाई लाग्यो यहाँभन्दा बरू म जेलमै बस्नु श्रेयष्कर छ । यति सम्झी ऊ बिब्बेपाइला चाल्न थाल्यो । त्यसै बेला प्रवेशद्वारको ढोका खुल्यो र शान्त सौम्य स्वरुपमा एकजना भिक्षु देखा परे, “पर्ख, पर्ख ।“

बुद्धका गोडा रोकिए तर सिधा नजरले उनको अनुहार हेर्न पनि सकेन । उनको अनुहार सूर्यजत्तिकै चमचम चम्किरहेको थियो ।

ती भिक्षुको मुखारबिन्दबाट सत्य वचनका धाराप्रवाह छुट्न थालेः

एक युगमा एकपटक मात्र एक महान व्यक्तिले जन्म लिन पुग्छन् । बुद्धलाई मात्र होइन कृष्णलाई हेर । जिसस क्राइस्ट हेर । पैगम्बर मोहम्मदलाई हेर । भगवान जैनलाई हेर । उनीहरूले सर्पविषतुल्य ईच्छाहरूलाई मनभित्रै दग्ध गरिसकेका थिए । कामनाले हीन थिए । मनलाई आफ्नो काबूमा राखेका थिए । माथिल्लो कक्षा चढ्नको लागि पासअङ्क ल्याउनेजति निश्चित कोर्स रटेझैँ सजिलो छैन महानता प्राप्ती गर्नु । उनीहरू तिम्रोजस्तो लहडले महान बनेका होइनन् कि स्वनियमनको गहन तपस्याले महान बन्न पुगेका हुन् । महान व्यक्तिका गुणहरू महान हुन्छन् । कर्म महान हुन्छन् । सन्देश महान हुन्छन् । बुद्धको मार्गमा हिड्न चाहन्छौ भने प्राणीको हिंसा नगर, मद्यपान नगर, चोरी नगर, झुठो नबोल र व्यभिचार नगर । यति गरे तिमी पनि परिवारसँग बसेरै बुद्ध बन्नसक्छौ । बाहिर भौँतारिनुपर्दैन । दुःखको कारण तिमी स्वयम् हौ ।“

बुद्ध गौतमले यस्ता कुराहरू त पहिल्यैदेखि निकै पटक सुनिसकेको थियो र अरूहरूलाई पनि बारम्बार सुनाइसकेको थियो । तथापि ती भिक्षुको मुखबाट खसिरहेको ध्वनी अलौकिक लाग्यो । त्यो ध्वनिमा यति शक्ति थियो कि उसको अन्तरहृदय चिरेर भित्र प्रवेश गरेझैँ लाग्यो । उसलाई ती सत्यवचनले झकझक्याएको जस्तो लाग्यो । उसलाई आफ्नो बित्थैको लहडउपर रिस उठ्यो । घोर पश्चात्तापले आत्मग्लानी भयो ।

जेसुकै आइपरे पनि आइन्दा आफ्नै घरमा फर्किएर आफ्नो कर्तव्य निभाउने बुद्धले निश्चय गर्‍यो ।

 290 total views,  3 views today

Leave a comment

Your email address will not be published.


*