बा

“………………………………… ।”

“………….. । मन्दराचल पर्वतलाई मदानीजस्तै घुमाएर समुन्द्र मन्थन भैरहेको थियो । मन्थनबाट कालकूट विष पैदा भयो । लगत्तै कामधेनु गाई प्रकट भयो, उच्चैःश्रवा घोडा निक्लियो, ऐरावत हात्ती उत्पन्न भयो, लक्ष्मीसँगै सुन्दर अप्सराहरु प्रकट भइन् । अमृत-कलशसहित धन्वन्तरि निस्किए । समुन्द्र मन्थन रोकिएन ।

मन्थनबाट अद्भूत कुराहरु निस्कन नपाउँदै स्वामित्वको लागि हानथापको खेल शुरु भैहाल्यो । त्यस खेलमा ऋषिमुनिहरुले गाई जिप्ट्याए । बलीले घोडा हत्यायो । कौस्तुभ मणि र लक्ष्मीलाई विष्णुले टप्काए । अप्सराहरुलाई देवताहरुले हत्याए । धन्वन्तरिलाई छोडी अमृत-कलशमा देवता र राक्षसहरुको खोसाखोस चल्यो ।

तर कालकूट विष कसैले छुन मानेन । त्यो विषको प्रभाव परपर फैलन थाल्यो । वरपरका प्राणीहरु भयले आत्तिए । विषको दुष्प्रभावबाट मुक्तिको लागि सबै मिलेर महादेवसँग पुकारा गर्न थाले । महादेव झटपट मन्थन स्थलमा उपस्थि भएर आम प्राणीको कल्याणार्थ उब्रिएको सबै विष घटघटी पिइदिए । भय शमन भैसकेपछि पुनः उत्पन्न सामग्रीहरुमा खोसाखोस चल्न थाल्यो …… ……… ………” पण्डितजी धाराप्रवाह प्रवचनमा निमग्न थिए ।

म ध्यानमग्न भई गाउँमा चलिरहेको सत्यनारायण-कथा स्थलमा धार्मिक प्रवचन सुन्दै थिएँ । तल्लो घरको ठूल्दाइ हतारिँदै मेरो नजिक आए र हठात् मलाई पर तान्दै लगे ।

“के भयो ? के भयो ?” केही अनिष्ट खबर सुन्नुपर्ला भन्ने भयले म लगलगी काँप्नथालेँ ।

“कान्छा बा ….. ” “कान्छा बा ……… ” उनले योभन्दा अगाडि केही भन्न सकेनन् । उनी घरतिर दौडिए म पनि ‘हे भगवान, मेरो बालाई केही नहोस् !’ भनी पुकार्दै उनको पछिपछि दौडिएँ ।

मेरो घरको आँगनमा धेरै मान्छेहरु जम्मा भएर पनि सन्नाटा छाएझैँ देखिन्थ्यो । कोही के गर्ने कसो गर्ने भन्दै यताउता दौडिरहेका थिए । म त्यो भीडलाई छिचोल्दै बिचतिर पुगेँ, बिचमा बालाई सुताइएको थियो र वरिपरि दिदीहरु अलापबिलाप गरिरहेका थिए । बाको दायाँ गोडामा रगत लतपत भएको कपडा बाँधिएको थियो । बाँधिएको कपडा भिजाएर पनि रगतले खुट्टामुनिको परपरको जमिन रङ्गाइरहेको थियो ।

वरिपरिको गाइँगुइँ सुनेँ : “दाउरा चिर्दा बन्चरो खुट्टामा बज्रेछ । चुरीगाँठाभन्दा तलको पूरै पाइताला खुट्टाबाट छुट्टिएको छ । रगत एकदमै धेरै बगिसक्यो । जे गरे पनि बचाउन गाह्रो छ ।”

“बा के भयो तिमीलाई ?” मैले बालाई हल्लाउँदै चिच्च्याएँ । मेरो चित्कारले बाका आँखा खुले र मतिर हेरे । बालाई केही भएको रहेनछ भनेर अलिकति ढाढस मिल्यो ।

आमा ‘बफेल्ने’ काइँलामामालाई साथमा लिएर हस्याङफस्याङ गर्दै आइपुगिन् । मामाले आफूसँग ल्याएको पोको खोले । पोकामा विभिन्न प्रकारका जडीबुटीहरु थिए । चारदशक अघिको गाउँमा उपचारको अर्को विकल्प थिएन । वरिपरिका मान्छेहरुले बाको खुट्टामा बाँधिएको कपडा उतार्दै गए । खुट्टाबाट कपडा उतारिएपछि बाको खुट्टाको पूरै घाउ देखियो । त्यो देखेर म आत्तिएँ । बन्चरोको घाउ भयानक थियो, खुट्टाबाट पाइताला छुट्टिन थोरै मात्र बाँकी थियो । काटिएको हाड र नसाहरु जिब्रो फट्कारिरहेका दैत्यजस्तै भयानक देखिन्थे । खुट्टातिरको भाग पनि सुन्निएर अरर्रिएको थियो ।

मैले बाका आँखातिर हेरेँ । त्यति ठूलो घाउको दुखाइले पनि बाका आँखा पटक्कै भिजेका थिएनन् । मामाले जडीबुटीलाई पिँधेर घाउमा लेपन लगाइदिए । सायद चहरायो होला, बाले झस्किँदै पुनः आँखा खोले र आफ्नो खुट्टातिर आँखा डोर्‍याए । बाको अनुहार औधि दुखाइले खुम्चियो, तर मुखबाट ‘ऐया ! आह !’ को एक शब्द पनि निस्किएन । सायद दुखाइभन्दा पनि जीवन उभ्याउन मद्दत गर्ने खुट्टाको हालत देखेर औडाहा भएथ्यो होला ।

जडीबुटीको करामतले गर्दा खुट्टाबाट रगत बग्न एकछिनमै बन्द भयो । रगत बग्न छोडेको देखेर घरपरिवार लगायत सबैमा आशाको सञ्चार हुन थाल्यो । ती मामा नआइपुगेको भए बाको प्राण बचाउने उपाय कसैको काबुमा थिएन ।

बा घाइते भएर थला परेपछि बाले गर्नुपर्ने कामजति सबै आमाको काँधमा आइपर्‍यो । तीनचार रोपनी खेत थियो, पाँचछवटा भैँसी र आठदशवटा गाईगोरु नै थिए । यता गर्‍यो उता नपुग्ने, उता गर्‍यो यता नपुग्ने हुनथाल्यो काम । आमा एकातिर बाको चिन्ताले  अर्कोतिर कामको चापले गर्दा झन् झन् थकित र गलित हुन थालिन् । आमाले एक्लै काम गर्न हम्मे-हम्मे परेकोले दिदीहरुले स्कूल छाड्नुपर्ने भयो । दिदीहरु स्कूल जान छोडेपछि हामीहरुको पनि पढाइ बिग्रियो ।

खेतलाई गोडमेल र सिँचाइ पुगेन । चुलोमा आगो नबली पुत्ताउन थाल्यो । रोटी काँचा हुन थाले । दाल पाक्न छोड्यो । फलतः हाम्रो परिवारमा सबै सदस्यको पालैपालो पेट दुख्न थाल्यो ।

बाको सन्चोबिसन्चो सोध्न आउने र काममा सघाउन आउनेहरु छिमेकीहरु पनि घट्दै जान थाले । बा भने अझै खुट्टा टेक्ने भैसकेका थिएनन् । दिशापिसाब गर्दा एउटै खुट्टाले टेकेर लड्खडिँदै पाइखानासम्म पुग्थे । उनलाई आफ्नो खुट्टाको चिन्ताभन्दा पनि उनकै कारणले हामीले भोग्नुपरेको सास्तीको बढी चिन्ता थियो । घरिघरि “यो गर” “ऊ गर” “यसरी गर” “उसरी गर” भनी अह्राउँथे । तर उनले भनेसरह हामीहरु के गर्न सक्थ्यौँ ?

धानबाली ढल्याउन निक्कै हम्मे-हम्मे भयो । हाम्रो दशैँ तिहारलगायतका चाडपर्व खुशियालीबिना गुज्रेर गए । न मीठोमसिनो बनाउन आमाको जाँगर चल्यो, न त फूपूहरुले ल्याएको कोसेलीपात नै मीठो लाग्यो ।

खेतमा गहुँबाली लगाउने समय आइपुग्यो । छरछिमेक सबैले आआफ्नो खेतमा गहुँ छरिसकेका थिए । हाम्रो खेत भने बाँझै थियो ।

“अरुले गहुँ छरिसके । अब गाउँभरि हलि-बाउसे पाइन्छन्, बोलाएर छिटो खेत जोत्न लगाऊ न ।” बाबा ओछ्यानबाटै अह्राउँथे,

“कसलाई बोलाऊँ त ?” आमा सोध्थिन् ।

“कालेले छिटो जोत्छ ।”

“अँहँ, त्यो त हतार मात्र गर्छ । हतार गर्दा जमिनको माथिमाथि मात्र जोतिन्छ । सियो जमिनमा गाडिएन भने बाली नै सप्रिँदैन ।” आमा जवाफ फर्काउँथिन् ।

“बलेलाई बोलाऊ न त, उसले पनि जोत्नसक्छ ।”

“नाइँ, उसले त राँटा मात्र हाल्छ । राँटा परेको जमिनमा आधा पनि गहुँ फल्दैन ।”

“नदेलाई बोलाए पनि भयो, उसले पनि राम्रै जोत्छ ।”

“त्यसले त ढिक लाउनै जान्दैन । घारिपट्टिको जमिन पनि त्यत्तिकै छोडिदिन्छ । गोरु फर्काउँदा पनि आधा जमिन त्यत्तिकै छोड्छ ।”

“किस्ने पनि छ नि !”

“नाईँ त्यसलाई त हाम्रा गोरुले टेर्दैनन् । गोरु बिच्किएर हलो जुवाली भाँचेरै भाग्न सक्छन् ।”

हामी केटाकेटीहरु बाआमाको वार्तालाप बुझ्न मात्र सक्थ्यौँ, गर्न केही सक्दैनथ्यौँ । बाले गाउँभरिका मान्छेलाई सिफारिश गर्दा पनि आमाले प्रत्येकमा एकएक खोट देखाएर जोताउन नसकेको भाव प्रकट गरिन् । आमाको नजरमा राम्रोसँग खेत जोत्नसक्ने गाउँमा बाबाहेक कोही पनि रहेनछ । हामी छक्क पर्‍यौँ । एकपटक बाआमाको झगडा हुँदा आमाले भनेकी थिइन् : “तिमी लोग्नेमान्छेहरुले गरेका जति सबै काम हामी पनि गर्न सक्छौँ ।” बाले औँला ठड्याउँदै जवाफ फर्काएका थिएः “खेत जोत्न त सकौला, पानी चार्न (सिँचाइ गर्न) पनि सक्छौ ?”

बाको यो अडबाङ्गे प्रश्नले आमालाई बेसरी हसाइदिएको थियो । मजस्तै फुच्चे दाइले भनेका थिए “चिन्ता नगर बा, पानी त म एक्लै चार्न सक्छु । खेतमा पानी बगाउनु कुनचाँहि ठूलो कुरा भयो र ?” बा दाइपट्टि फर्केर खितिक्क हाँसेका थिए ।

जसोतसो खेत जोताएर गहुँ पनि छरियो । चारपाँच दिनमा उम्रिएको गहुँ पन्ध्रबीस दिनपछि गाँजिएर हलक्कै बढ्यो । तर एकमहिना पुग्दानपुग्दै पानी नपाएर ओइलाउन थाल्यो । गहुँले पानी खोजेकोले छिट्टै पानी चार्नुपर्ने भयो । खेतमा पानी चार्न पालो कुर्नुपर्ने नियम छ गाउँमा । केही गरी आफ्नो पालो फुत्कियो भने अर्कोपटक पालो आइनपुग्दै बाली सुकिसक्छ । बा ओछ्यानबाट अझै उठ्न सकेका थिएनन् । पानी चार्ने पालो आइपुगेकोले एक बेलुका हामी चारभाइबहिनी र आमा खेतमा पानी चार्न हिँड्यौँ । रातिको बेला कुलो ठूलो बग्छ । बीचबीचमा कुलो भाँच्ने जोखिम पनि कमै हुन्छ ।

आमा र दिदीहरु खेतको बीचबीचमा पसेर कुलो लगाउन थाले । दाइ र म कुलोको पहरा दिन थाल्यौँ । रातभर एकदुईपटक बाहेक हाम्रो पालोको कुलो भाँचिएन । भाँचिनेबित्तिकै हामी दुई भाइ कुद्दै गएर खेतमा कुलो फर्काइ हाल्थ्यौँ । कुलोमा छप्ल्याङछप्ल्याङ गर्दै तलमाथि कुद्नुको मज्जा नै अर्कै थियो । अँध्यारोका सम्भावित जोखिमको रत्तिभर डर लागेन ।

बिहानीपख कुलो चार्ने पालो अर्कैको आइपुगेकोले उसले भाँचिहाल्यो । कुलो भाँचिएपछि हामी निराशापूर्वक कुलोको पुच्छरसँगै मल्स्याङ-मल्स्याङ गर्दै आफ्नो खेतमा फर्कियौँ । त्यतिबेलासम्म रिउँरिउँ उज्यालो भैसकेको थियो र खेतको चिसो भाग र ओभानो भाग छुट्टिनेबेला भैसकेको थियो । आमा पम्फुरामा हात राखेर खेतको आलीमा बसिरहेकी थिइन् । दिदीहरु आमाको वरिपरि थिए । रातभर पानी हुल्दा पनि खेतको बिचबिचमा पानी पुगेकै रहेनछ । पानी नपाएका गहुँका बोटहरुलाई हेर्दै आमा आँशु चुहाउँदै अलाप्दै रहिछन्: “पानी चार्ने अर्को पालो आउँदासम्म यी बोटहरु मरिसक्नेछन् ।”

बाको अगाडि पुगेपछि आमा बेसरी भक्कानिइन् र भनिन् : “भयो, म नसक्ने भएँ । हाम्रो खेतबारीको माटोढुङ्गो पनि तपाईँकै ईशारामा बाँचेका रहेछन् । तपाईँ छिटो सन्चो हुनुहोस् ।” आमाका आँशुहरु अझै जोडतोडका साथ भेल बनेर उर्लन थाले । बा विजयोन्मादको लयमा खितिक्क हाँसे मात्र ।

केही महिनापछि बा त तंग्रिए, तर आमा बिरामीले थला परिन् । गाउँको ओखतीमूलो, धामीझाँक्री, झारफुके, वैद्यहरुको बिरामी आमालाई बीसको उन्नाइस पार्ने कुनै सिप चलेन । उल्टो झन्झन् चाप्दै जान थाल्यो । आमाको रुग्ण अवस्था देखेर बा विचलित भैरहेका थिए । गाउँका जान्नेबुझ्नेहरुले नेपालगंज नपुर्‍याए बचाउन गाह्रो हुने सुझाव दिन थाले । बाले औषधिमूलोको लागि पैंसा जुटाउन खसीबोका बेचे, गाईभैंसी बेचे र खेतका पाटाहरु समेत बेच्नुपर्‍यो ।

त्यसको भोलिपल्ट एकाबिहानै केही छिमेकीको सहयोगमा आमालाई उपचारको लागि नेपालगंजतिर लग्ने तयारी भयो । अरुलाई बोक्नै नदिई बाले आमालाई आफैले बोके । आँगनबाट निस्कँदा आमाले हामीतिर फर्केर बर्बर्ति आँशु झारिन् । आमा बिरामी परेदेखिनै बाका परेला भिजिरहेका थिए । बन्चराको त्यति ठूलो घाउ पर्दा पनि एकथोपा आँशु नझार्ने बाको आँखामा आमाको दयनीय रुग्नताले आँशुको भेल उराल्दै गइरहेको थियो ।

समुन्द्र मन्थनबाट उब्जिएको बिष पिउने सुरा महादेवले पत्नी सत्यवतीले आत्मदाह गरेपछि गरेको अलाप-विलापको विदिर्ण कथा सम्झिएँ मैले ।

हामी केटाकेटीहरु भने आमाबा टाढिइरहेको त्यो दृश्य हेर्दै बार्दलीमा बसेर रोइरहेका थियौँ । कसैले हामीले पछ्याउनसक्ने ठानी पहिल्यै बाहिरबाट मूलढोकामा साङ्लो लगाइदिइसकेछ ।

290 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *