बाबा ! बुबु !!

 

“बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले
म ब्यूँझिएँ झल्याँस्स आधी रातमा
तिमी गुन्द्रीको छेउ लागेर
दुवै आँखाबाट मोटा आँशु बगाउँदै
नाकमुखबाट र्‍यालसिँगान चुहाउँदै
हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर
“बाबा ! बाबा !” भन्दै
आँखा मिचिरहेका थियौ
“के बाबु ? के ? मेरो सानु छोरा के ?”
तिमीले दूधेबोली फेरि बोल्यौः
“बाबु ! बाबु !” “बाबु ! बाबु !”
र तिम्रा सानासाना औँलाले
औँल्यायौ हिजै मात्रको नौलो पाहुना
अझै सानो भाइलाई
जो अर्को गुन्द्रीमा
तिम्री आमाको काखको हकदार भई
मस्त निद्रामा थियो ।

निशब्द भएँ म
फेरि बोल्यौ:
“बाबा ! बाबा !”
“बाबी ! बाबी !”
आफ्नी आमाबाट केही मागिदिन
तिमीले मसँग अनुनय गरिरहेका थियौ
मसँग विनय गरिरहेका थियौ
भाषाको अबोध विनिमय गरिरहेका थियौ
र त
‘मामी’ लाई ‘बाबी’ बोल्यौ

त्यो नवजात शिशुलाई
अलिकति पर सारेर
मैले तिमीलाई
आलो प्रसवपीडाबाट उन्मुक्त मस्त निदाएकी
तिम्रो आमाको काखमा सुताइदिएँ
फेरि ममाथि बिन्तिभाव खन्यायौ
“बाबा!” “बुबु ! बुबु !”

मैले भनेँ, “खाऊ बाबु, खाऊ !
निर्धक्क खाऊ !”
“तिम्री बाबीको बुबु खाऊ ।“

तिमीले
मेरा दिल पगारिसकेपछि
तिम्री आमाका किर्ने दूध पगार्नथाल्यौ
तिम्री आमाका दूध पग्लिरहे
मेराो दिल पग्लिरह्यो
तिम्रो खुशीले तिम्रै अधिकारच्यूत दूध चुस्नथाल्यौ
मैले खुशीले मेरा आफ्नै आँशु चुस्नथालेँ ।

२०७३।९।९ भैरहवा

3,721 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*