Free songs
Home / व्यक्ति विशेष / फटाहा एक्लव्य

फटाहा एक्लव्य

“सर नमस्कार !”चिनेचिनेको स्वरले मेरो अकस्मात ध्यान खिँच्यो ।मैले अफिसको फाइल एकातिर पन्छाएर अभिवादन गर्नेको मुख हेरेँ ।

मेरो अगाडि अनुहारभरि लज्जाको गुलाबी रङ पोत्दै एकजना पुड्केपुड्के चिनेको केटो उभिएको थियो । उसको एउटा हातमा सानो डायरी थियो, अर्को हातमा बिर्को खुलेको कलम । उसको अनुहार हेर्नेबित्तिकै म तर्सिएँ । समय कस्तो थियो भने आफ्नो गाउँतिरका मान्छे देखिए पनि डराउनुपर्ने । आन्तरिक द्वन्द्व उत्कर्षतिर चढिरहेको थियो ।

म तर्सनु अर्को कारण पनि थियो । एक हप्ताजति अघि मेरो ठेगाना खोज्दै मेरो गाउँको एकजना मित्र मेरो अफिससम्म आइपुगेका थिए । भेट हुँदा उनको अवस्था टिठ लाग्दो थियो । ओइलाएको अनुहार । कलेटी परेका ‌ओठ । मैलिएर कट्कटिएका कमिज पाइन्ट । उनले आफ्नो दशा देखाउँदै आफू आन्दोलनमा होमिएकोले यस्तो अवस्था भएको कुरा दिनभरि पुग्ने गरी सुनाए । बेलुका फर्किँदा आफूसँग बस चढ्ने र बेलुका हातमुख जोर्ने पैँसा नभएकोले एकदुई हजार सापटी दिन अनुरोध गरे । मैले छैन भनेँ । सरकारी जागिरमा प्रवेश गरे पनि मेरो अवस्था पनि खासै भिन्न थिएन । मेरो खल्तीमा बस चढ्ने पैँसाभन्दा बढी कहिले पनि हुँदैनथ्यो ।

मैले सरसापट गरेर दुईसय उपलब्ध गराएँ । अब उनी दिनहुँ अफिस आउन थाले र मसँग दिनहुँ सापटी माग्थे । दिउँसो मलाई ल्याइदिएको खाजा बाँडीचुँडी खान्थ्यौँ । आफूसँग भएको पैँसा उनलाई दिएको बेलुका म बबरमहलदेखि हिँड्दै सानोठिमी पुग्थेँ । गन्ध त शुरुकै दिनमा पाएको थिएँ तर सापटीको भोलुम जति बढी हुन्थ्यो उनी उति बढीमातिएर अफिस आउन थाले । मेरो निकटतम मित्रको दिउँसै झ्याप हुने बानीले मलाई अफिसमा मुख देखाउन लाज हुन थाल्यो । आफूले दिएको सापटी त गुम्यो गुम्यो, अब इज्जत पनि जोगाउनुपर्ने अवस्था सिर्जना भयो । गेटपालेलाई ‘फलानो हुलियाको मान्छे आएमा म विदामा बसेको भनिदिनू’ भन्नथालेँ । केही दिनसम्म यसरी भाग्न थालेपछि गेटपालेले पनि उनलाई भित्र पस्न रोक्न थालेछ । यसरी उनीबाट मैले मुक्ति पाएको थिएँ ।

मलाई मेरो सामु उभिएको यो मान्छे पनि यस्तै उद्देश्यका साथ आइपुगेको होला भन्ठानेँ ।

अनि आफूलाई सम्हाल्दै भनेँ,”अरे, तिमी कहाँबाट आइपुग्यौ ?”

“सर, म पनि यतै छु ।”

“यतै ? के गर्दैछौ त यता ?”

“सानोतिनो पत्रकारिता सर !” उसको काँपिरहेको खुट्टाले सानो जीउ पुरै हल्लाइरहेको थियो । रगत चुहिएला जस्तो अनुहार राताम्मे भएको थियो ।

बहाना बनाइरहेको होला मैले अनुमान गरेँ ।

“के छ त अरु ? मसँग केही काम थियो कि ? भन न त । म आजै अलि बेफुर्सदमा छु ।”

“सर, म त हजुरको अन्तर्वार्ता लिन आएको ।”

“अन्तर्वार्ता ?” मैले पल्याकपुलुक वरिपरि हेरेँ कसैले सुनिहाले कि भनेर । डर र शंकाको मारवश् सास बढेर आएकोले सास फेर्नै कठिन हुनथाल्यो । वाणिज्य विभाग त्यसबेला चर्चाको उत्कर्षमा थियो । त्यतिविधि चर्चा हुनुको कारण महानिर्देशक कृष्णहरि बाँस्कोटा थिए । उनी हरघडी विभिन्न पत्रकारहरुबाट घेरिएर बसेका हुन्थे । म भर्खरै नासुमा छिरेको कारिन्दा मात्र थिएँ । ताइ न तुइको निम्नस्तरीय कारिन्दाको अन्तर्वार्ता लिन कोही पत्रकार आएको छ भनेपछि त्योभन्दा ठूलो बिडम्बना के हुनसक्थ्यो ! धन्न त्यो कुरो सुन्नमेरो कोठामा कोही उपस्थित रहेनछ । मैले लामो सास फेरेँ ।

“मेरो के अन्तर्वार्ता लेउला तिमी ? बरु तिम्रै अन्तर्वार्ता लिन्छु म ।”

ऊ अरु लजायो । अनुहारभरि चिटचिट पसिना नै निकाल्यो ।

“बस सजिलोसँग । मेरो अन्तर्वार्ता दिन लायक प्रगति केही पनि गर्न सकेको छैन बाबु । मैले त यहाँ, लाजको मारवश् सिम्रुतु माविको प्रअ थिएँ पनि भन्न सकेको छैन । आइहाल्यौ, तिमीलाई एक कप कालो चिया खुवाएर पठाउँछु है त ।” भन्दै कार्यालय सहयोगीलाई चिया ल्याउन अह्राएँ ।

ऊ असजिलो गरेर कुर्सी तानेर मेरो नजिकै बस्यो ।उसले अनुहार मतिर नफर्काएर भुइँतिर जोतिरहेको थियो । आँखाबाट आँशु नझारे पनि आँशुले लतपतिएको विषादको भावना भुइँमा झारिरहेको स्पष्ट देखिएको थियो । म उसको भावनालाई पछ्याउँदै सिम्रुतुसम्म पुगेँ ।

000

२०५३ सालको फागुनको अन्त्यतिर एकजना मरन्च्याँसे केटो ८ कक्षामा भर्ना हुन आइपुग्यो । छबिलाल खडकाले मेरो कानमा खुसखुसाए,”प्रशासनको भाइ ।”

“ए हो ?” मैले चिनेजस्तो गरेँ तर प्रशासन को थिए, उनलाई मैले चिनेको भने थिएन ।

त्यस केटाले ठेगाना लेखायोः “रुँघा गाविस वडा नं ७, माथिगाउँ ।’

“को प्रशासन ?” छबिलालसँग सोधिहालेँ ।

“भैगो, प्रशासनलाई चिन्नुहुन्न भने नौ कक्षामा पढ्ने शक्तिलाई त चिन्नुहुन्छ होला ? उसैको भाइ ।”

शक्तिकक्षामा गनिन लायक विद्यार्थी भएकोले राम्रैसँग चिन्थेँ । ऊ पढाइमा त लगनशील र उम्दा नै थियो तर अलिकति घमण्डी खालको । शिक्षकलाई नटेर्ने । भर्ना हुन आउने त्यस केटाको नामको वरिपरि प्रशासन र शक्ति नामका विशेषणले मोडिएकोले केही दिनसम्म उसको क्रियाकलापलाई नियालेर हेरेँ । न ऊ शक्तिको जस्तो पढाइमा प्रतिष्पर्धामा उत्रन सक्यो, न त अन्य कुनै क्रियाकलापमा गनिन लायक देखियो । ऊ अन्तिम बेन्चमा बस्थ्यो, पढाइमा पटक्कै ध्यान दिँदैनथ्यो । पढाउँदा उसको ध्यान अर्कैतिर खिँचिइरहेको हुन्थ्यो । उसको ध्यान खिच्नको लागि प्रश्न उसैलाई सोध्थेँ, उसले किताबी ज्ञानको जवाफ नदिई कुनै उटपट्याङ जवाफ दिन्थ्यो र कक्षामा हाँसोको फोहरा मच्चाइदिन्थ्यो । मलाई रिस उठ्थ्यो र उसको टाउकैमा बजारिदिन डष्टर उठाउँथेँ, तर त्यो डष्टर मेरो मुठीमै रहन्थ्यो । सायद डष्टरलाई पनि शक्ति र प्रशासन नामको डर थियो कि ? उसका सहपाठीहरुले उसलाई एक नम्बर फटाहाको संज्ञा दिएका थिए ।

त्यति फटाहा केटो एक दिन विद्यालयको चहुरमा एक्लै रोइरहेको फेला पर्‍यो । मैले रुनुको कारण सोधेँ । उसले मलाई जवाफ दिँदै दिएन । अर्को साथीलाई सोधेपछि थाहा भयोः उसलाई अत्यन्तै माया गर्ने उसको भिनाजुको गाउँले झगडाको कारण असामयिक निधन हुन पुगेको रहेछ । मलाई पनि दुःख लाग्यो ।

“छोडिदेऊ अब । यति मुटू दरो हुने केटो रोएको सुहाउँदैन ।”उसलाई सम्झाउने हेतु यति मात्र भन्न सकेँ मैले । भोलिपल्टदेखि उसले मेरो अगाडि आफ्नो आँखामा पटक्कै आँशु उत्रन दिएन ।

एक दिन मैले आठ कक्षाका विद्यार्थीहरु प्रत्येकलाई सोध्दै गएँ,”भविष्यमा के बन्ने उद्देश्य बोकेका छौ ?” उसको पालो आएपछि उसले भन्योः “म नामुद डन बन्न चाहन्छु ।”

उसको जवाफ सुनेर कोठा हाँसोले गुन्जायमान भयो । यसले पक्का पनि यस्तै जवाफ दिनेछ भन्ने अनुमान गरिसकेकोले आफ्नो रिसलाई काबुलमा राखेको थिएँ । आफ्नो जवाफलाई साथीहरुले हाँसोमा उडाइदिएपछि ऊ निलोकालो भयो । ठूलाठूला नेत्र तुल्याएर फनक्कै कोठाभरि आँखा डुलायो र चिल्ने नजरले नै हाँस्नेहरुको मुख थुन्ने असफल प्रयास गर्‍यो उसले ।

“डन ? डन भनेको के हो थाहा छ तिमीलाई ?” मैले उसलाई हियाउने दृष्टिले प्रश्न थपेँ ।

“थाहा छसर, थाहा छ ।भारतको कुख्यात डन दाउद ईब्राहिम र छोटे राजन यी दुवै उत्तिकै मन पर्छन् मलाई ।” उसले आँखा तर्दै साथीहरुलाई हेर्‍यो र ऊ अझै ठूलो स्वर बनाउँदै साथीहरुलाई थर्काउन थाल्यो,”चिन्छौ तिमीहरु ती डनहरुलाई ? नाम सुनेको भए लाग्दो हो, तिमीहरुलाई तिनीहरु सिर्फ डाँकाहरु हुन् । तिमीहरुलाई थाहा छ उनीहरुको कथा ? थाहा छ दाउद बैनी हसिना पार्करको बारेमा ?किन डाँका बन्नुपर्‍यो उनीहरुले ? थाहा छ तिनीहरुको संघर्षको कथा ?”

उसको ठूलो स्वरले कोठामा धुवाँजस्तै रङमङाइरहेको हाँसो एकछिनमै सामसुम भयो । विद्यार्थीहरु कान केटातिर र आँखा आफ्ना कितावतिर जोतेजस्तो गरेर मुन्टो निहुराए । मैले पनि दाउदको नाम त कतै पत्रिकामा पढेको थिएँ । तर मलाई उसको बैनीको नाम र काम भने थाहा थिएन । यस बजियाले त मैले थाहा नपाएको कुरा पनि थाहा पाएको रहेछ । उसको जवाफले मलाई पनि टाउको निहुराउन बाध्य बनाइदियो ।

“तर म डन बन्दिनँ होला सर ।”अलिकति नरम स्वर लगाउँदै उसले मेरो ध्यान तान्यो, मैले टाउको उठाएर उसको मुखतिर पुलुक्कहेरेँ ।

“डन बन्न सकिनँ भने म बरु फिल्मको हिरो बन्छु सर ।”उसको संशोधित जवाफको कारण बल्ल मैले सजिलोसँग सास फेरेँ ।

अर्को एक दिन विद्यार्थीहरुबिच आफूलाई मनपर्ने शिक्षकहरुको सर्वेक्षण गराएँ । कसैले मेरो नाम लिए कसैले छबिलाल खडकाको नाम लिए ।  कसैले गङ्गालाल ओली, कसैले धनबहादुर ओली, कसैले कृपाराम पुनको नाम लिए । तर उसले मोहन डाङीको नाम लियो । अरु कसैले मोहन डाँगीको नाम लिएका थिएनन् । उनले स्कूलमा शारीरिक शिक्षा पढाउँथे । खेलकूदमा उनको शोख थियो र मिठो स्वरमा गाउँथे पनि । उनको अग्लोअग्लो आकृति र स्वरमा लोभिएको रहेछ त्यो केटो ।

अर्को दिन कसको लागि र केको लागि पढ्ने भन्ने सर्वेक्षण गराएँ । कसैले आफ्नै लागि भने, कसैले राष्ट्रको लागि, कसैले गाउँको विकासको लागि यस्तै यस्तै ।

उसले आफ्नो पालोमा जवाफ दिएको थियोः “तिमीहरु आदर्शको कुरा नगर । म त मेरो परिवारको लागि पढिदिन्छु । उनीहरुले घोक्रेठ्याक नलगाउँदा हुन् त म स्कूल नै आउने थिइनँ ।” जवाफ सुनेर सबै विद्यार्थी पुनः गललललल हाँसिदिएका थिए ।

000

अतिरिक्त क्रियाकलापमा साहित्य प्रतियोगिता, वक्तृत्वकला, हाजिरीजवाफ आदि प्रतियोगिता खासै भाग नलिने केटो एकदिन साँस्कृतिक कार्यक्रम गर्दा भने भागलिन अघि सर्‍यो । ऊ मन्चतिर अघि बढ्दै गरेको बखत विद्यार्थीहरुले मुखामुख गरे । उसले हातमा बाँसुरी लिएको थियो । लागेको थियो बाँसुरीलाई भ्वाँ भ्वाँ पारेर विद्यार्थीहरुलाई हसाउनु हसाउनेछ ।

अधिकाँशको अनुमान विपरीत उसले मुरली यति सुमधुर लयमा बजाइदियो कि सबैलाई हेरेको हेरेई बनाइदियो । मन्चमा बसेका मूल्याङ्कनकर्ता कृपाराम पहल र मोहन डाङीलाई मन्त्रमुग्ध तुल्याइदियो । नभन्दै प्रथम स्थान पनि उसैले हात पार्‍यो ।कुनै न कुनै विद्यार्थी ,कुनै न कुनै कलामा प्रवीण हुँदोरहेछ र अवसर दिइयो भने आफ्नो प्रतिभा देखाउन सक्दो रहेछ भन्ने प्रमाणित गरिदियो उसले ।

साँस्कृतिक प्रतियोगिता र फटाइँमा बाहेक उसको नाम कतै पनि आउँदैनथ्यो र स्कूलमा गुमनाम जस्तै हुन्थ्यो ऊ ।

एक दिन म सिम्रुतु स्कूलबाट बेपत्ता भइदिएपछि सिम्रुतुको भूगोल, सिम्रुत स्कूल र स्कूलका शिक्षक, विद्यार्थीहरु पनि मेरो नजरबाट बेपत्ता भए । पहिल्यै मेरो नजरमा गुमनाम भैसकेको थियो ऊ । बिस्तारै मैले सिम्रुतुका सम्झन लायक विद्यार्थीहरुको अनुहार पनि बिर्सँदै थिएँ । उनीहरु बेपत्ता भएको चार वर्ष पुगिसकेको थियो र म सरकारी जागिरेको रुपमा काठमाण्डौको बबरमहलमा भेटिएको थिएँ ।

मैले उसको भावभङ्गी हेरिरहेको थिएँ । उसले शिर निहुराइरहेको थियो । त्यति आँटिलो र फटाहा केटो किन यति विधि नरम देखिइरहेको होला । मलाई दया पलायो ।

मैले त उसको नाम पनि बिर्सिसकेको रहेछु ।

तिम्रो नाम केरे मैले टाउको कन्याएँ

“पदम पुन हो सर !” ऊ निकै नरम शैलीमा प्रस्तुत भैरहेको थियो । कहाँको सिम्रुतुको उट्पट्याङ पदम ! कहाँको मेरो अगाडि प्रस्तुत झ्याउरो पदम !

“हो हो । सम्झेँ । भन,के छ त सिम्रुतुको हालखबर पदम ?”

“म पनि ५५ सालमा एसएलसी पास गरेपछि यतै आएर बसेको छु । मलाई पनि उताको उति खबर थाहा नै छैन । चौकीतिर हेरेको आरोपमा देवसिँ बोहरालाई असईले मर्ने गरी चुटेको सम्झना छ ।स्कुल अगाडिको धुपी रुखमा तत्कालीन बिद्रोही माओबादीले कालो झण्डा राखिदिँदा प्रहरी निरिक्षक ….. कट्टेलले हजुरप्रति गरेको दुर्ब्यबहार सम्झना छ । त्यतिबेला नै आफ्नो ज्यान जोगाउन भाग्न सफल धर्म पुन र धर्म ओलीलाई बारम्बार सम्झन्छु । यत्ति हो ।” उसले बिस्तारै टाउको उठाउँदै जवाफ दियो ।

“उहिले तिम्रो रुची त पत्रकारितामा थिएन केरे । डन बन्छु भन्दै थियौ, तसर्थ म त तिमीलाई देख्नेबित्तिकै डराएको । कसरी बन्नपुग्यौ पत्रकार ?” ऊ अब उहिलेको सिम्रुतुको अवस्थाको प्रत्यक्ष प्रसारण गरेर मेरो समय बर्बाद गरिदिनेछ भन्ने लागेपछि मैले हाँस्दै प्रसङ्ग बदलेँ ।

ऊ एकछिन अकमकियो । उसले लामो सास फेर्‍यो । हातको डायरी र कलम टेबुलमा खेलाउँदै आफ्नो भनाइ राख्न थाल्योः

“म जतिबेला भर्खर अक्षर चिन्ने भएको थिएँ, त्यतिबेला मेरो जेठो दाजु प्रशासन कुमार पुन काठमाण्डौ पाटन सँयुक्त क्याम्पस पढ्दै हुनुहुन्थ्यो । उहाँ प्रत्येक दशैँमा घरमा आउँदा युवा मन्च, मुना, रङ्गमन्च भन्ने पत्रिका लिएर आउनु हुन्थ्यो । मलाई भन्नुहुन्थ्यो,’पढ्, पछि लोकसेवामा काम लाग्छ ।’ शक्ति दाइ युवा मन्च र मुना पढनु हुन्थ्यो । म चैँ रङ्ग मन्च पढन खुब रुचाउथेँ । त्यसैमा फिल्मी कथाहरुको साथै भारतको कुख्यात डन दाउद ईब्राहिम र छोटे राजन यी दुबैको कथा पनि त्यसैमा पढेँ । त्यसैले उतिबेला कि डन बन्छु कि त हिरो बन्छु भनेको हुँ सर ।”

“ए ए, गज्जब रैछ तिम्रो सांयोगिक लक्ष्य ! अनि ? अनि ? अरु भन ।”

“हजुर सर । दुख्ख सुख्ख गर्दै  कम्पार्टबाट ५५ सालमा पास भएर सिम्रुतुको पढाई  सिध्याएँ ।बचपन देखि नै हिरो वा डन बन्ने रहर थियो। गाउँमा बसेर यी दुवै हात पार्न सक्दिनँ भन्ने प्रस्ट थाहा थियो मलाई । ठूल दाइ र माइला दाइ दुवैले काठमाण्डौ पढ्ने भएकोले म पनि लागेँ काठमाण्डौतिर । अर्थात दुनियाँको सपनाको सहर तिर।

यो काठमाण्डौ सहर हेर्दा लाग्छ रहर, सपनै सपनाको सहर, कति सपना गर्भमै तुहिने कति सपनाले जन्म लिए पनि, बीरुवामै निमोठिनु पर्ने रहरको रहर ।”

“कुरा छोटोमा सक । अब विदा हुने बेला भैसक्यो । म जानुपर्छ कोठातिर ।”मेरो जिज्ञासा विपरीत ऊ त बहकिन थालेकोले उसलाई रोक्ने कोशिस गरेँ मैले ।

“सरको कोठा कता छ हजुर ?”

“सानोठिमीमा ।”

ऊ पनि खुशी हुँदै भन्योः “हो र सर ? म पनि सानोठिमीमै बस्छु त । कस्तो आजसम्म भेटै हुन नसकेको त!”

“यिनी गन्थन पछि सुनौँला । तिमीले भन्दै थियौ नि । काठमाण्डौ सपनाको शहर । अनि अरु के के सपना र के के रहर पूरा गर्‍यौ ? भन । समय धेरै छैन ।”

उसले फेरि शुरु गर्‍योः

“जब काठमाण्डौमा पाईला टेकेँ मेरो लक्ष पढाइभन्दा नितान्त फरक थियो। तैपनि जेठो दाजुको करकापमा सानोठिमी शिक्षा क्याम्पसमा भर्ना भएँ ।अनि भयो कलेज लाइफको दैनिकी शुरु ।माईलो दाजु शक्ति पुन र म संगै भर्ना भएका थियौँ ।उहाँ र म लगभग तीन महिना सँगै क्याम्पस पढन गयौँ ।तर मेरो मन पढाईतिर पटक्कै जाँदैनथ्यो, पत्रपत्रिका पढन पाए बिज्ञापन समेत पढ्न भ्याउँथे ।कोर्षको पढाइ भनेपछि एक पाना पढ्यो कि पुरै अल्छिलाग्दथ्यो।अनि मैले बुनेको योजना मुताबिक कार्यान्वयनमा उतार्न शुरु गरिदिएँ । अर्थात् बिहान बिहान मार्सल आर्ट सिक्न जाने,बेलुकी डान्सको साथसाथै अभिनयकला सिक्ने ।आफ्ना सपनाहरुलाई बिपनामा उतार्न लुकिछिपी एकबर्ष जति बित्यो । अन्तमा एघार कक्षाको रिजल्ट आयो दाइ पास । म एक बिषय लागेर फेल ।” ऊ फेरि बहकिन थाल्यो ।

“ल, ल, भयो आजलाई । तिम्रो कुरा अर्को कुनै दिन सुनूँला । पाँच पनि बज्यो जान्छु म ।”

“हस् सर । बस स्टपसम्म सँगै जाम् न त हुन्न ?”

“उसो भए जाम न त सगैं ।” हामी दुवैजना बबरमहल बस स्टपतिर लाग्यौँ । उसले आफ्नो कुरा जारी राख्योः

“मैले पढाइको सट्टा बिहान बेलुका अन्तै कुदेको गन्ध मात्र थाहा पाउनुभएको थियो दाइले । फेल नै भए पछि त दाजुको गनगन र चियोचासो ह्वात्तै बढिहाल्यो।आखिर हिरो बन्नको लागि मैले गरेका क्रियाकलापको पर्दा खुलिहाल्यो । त्यसपछि मप्रति झनै आक्रामक हुन थाल्नुभयो ।

समय बित्दै गयो सानोठिमीतिरका रैथाने साथीहरुथिए ।  उनीहरुले’यो मगरको छोरा आँटी छ,ठोक्छ !’ भन्दै बाईक पछाडि बसालेर उपत्यकाका बिभिन्न क्याम्पसमा पुर्‍याउँथे र त्यहाँ लडाई झगडामा सामेल पनि गराउँथे मलाई ।कहिले हग्नेइ गरी पिटाइ खाइन्थ्यो कहिले चिन्नु न जान्नुका विद्यार्थीहरुलाई लतका पनि दिइन्थ्यो । त्यतिबेलासम्म मेरो दिनचर्याको बारेमा भए नभएका कुराहरु घरसम्म पुगिसकेछ ।”

हामी बबरमहल बसस्टप पुगिसकेका थियौँ ।

सानोठिमी जाने बस आइपुगेपछि म बसमा चढेँ । तर ऊ भने बसमा चढेन । बस यात्रुलाई कुरेर रोकिराखेको थियो । मैले झ्यालबाट उसलाई सोधेँ : “सानोठिमी नै कोठा हो भन्ने, अनि किन बस नचढेको त ?”

“सर म सँग त बस चढ्ने पैँसा छैन । म बिहान पनि हिँडेरै आको, हिँडेरै फर्किन्छु ।” उसले बाहिरबाट निन्याउरो अनुहार पार्दै मलाई जवाफ फर्कायो ।

मेरो मनमा अकस्मात यसलाई उद्धार गर्न पाए हुन्थ्यो भनी हत्तपत्त गोजी छामेँ । मसँग पनि एकजनाको भाडा बाहेक एकसुको पनि बढी थिएन । रात पर्न थालिसकेको छ । बिचरो कसरी जाला ऊ एक्लै सानोठिमीसम्म ? मलाई ऊप्रति दया लाग्यो र झरेँ ।

“किन झर्नुभयो सर ?” म चढेको बस छुटेपछि मलाई विदाइ गरेर पैदल यात्रा शुरु गरुँला भन्ने सोचेको हुँदो हो उसले,तर  म पनि झरेको देखेर अनौठो मान्दै मलाई सोध्यो ।

“भैगो, तिमीलाई मात्र किन हिँडाऊँ ! तिम्रा कुरा पनि सुन्न पाइन्छ । तिमीलाई साथ दिने मन लाग्यो । जाम हिँड्दै ।” मेरो प्रस्तावले ऊ खुशी भयो । हामी वानेश्वरतिर लाग्यौँ ।

“ल, आरामसँग शुरु गर तिम्रा कुरा ।”

“हजुर सर । अनि दोस्रो बर्षको पनि रिजल्ट आयो फेरि पनि म फेल,दाजु भने रेगुलर पास। अनि के चाहियो ! दाजुको फुर्ति शुरु भैहाल्यो ।ठूलो दाजु प्रशासनको शर्त थियो कि हामीलाई बाह्र कक्षासम्मको लागि बढीमा दुई वर्ष मात्र पढाइ खर्च बेहोर्ने। त्यसपछि हामीहरुले आफै जागिर गरेर पढ्नुपर्ने ।म बारम्बार फेल हुन थालेपछि परेन फसाद ?

दाजु शक्तिले रेगुलर पास गरेकै दिन कोठाको सबै झिटिझ्याम्टा बोकेर रुकुमतिर लाग्नुभयो ।यता आफूभने न हिरो भइयो नत डन नै। दाजुले छोडेर जाँदा म संग एकरुपैया पनि थिएन। घरमा दाजुले सबै कुरा पुर्‍याएर होला बुबाले भन्नुहुन्थ्यो रे,’मेरा चार भाइ छोरा मध्ये एक छोरालाई मैले माया मारेँ। अब मेरा मात्र तीन छोरा छन् ।’

मलाई नाङ्गै पारेर दाइले मलाई एक्लै छोडिदिएपछि अनि भयो मेरो कठिन संघर्षको शुरुवात्। नत खानलाई कोठामा चामल, नत कोठाभाडा तिर्न पैसा, नत बाहिर निस्कन खल्तिमा सुक्को दाम।”

हामी वानेश्वर चोकमा आइसकेका थियौँ । वानेश्वरमा आइपुगेपछि मान्छेहरुको भिडको हल्लीखल्लीले पदमका कुरा सुन्न गाह्रो भयो ।

“रोक एकछिन तिम्रो गफ ।” हामी शंखमुलतिर जाने बाटोलाई काटेर मिनभवनतिर अगाडि बढ्यौँ । फेरि प्रसङ्ग जोड्न लगाएँ :”अँ, शक्ति दाइले छोडेर गएपछि के के भयो अरु ? तिमीले त खुब रसिक कुरा गर्न पनि सिकिसकेछौ त !”

“परिस्थितिले सिकाइरहेको छ सर । अँ त । मेरो कोठा नजिकै घिमिरे साहुको पसल छ । हामीले दाल चामल तरकारी सबै उनकै पसलबाट उधारो ल्याएर हातमुख जोड्थ्यौँ । पैँसा शक्ति दाइले तिरिदिन्थे । घिमिरे साहुले दाजुले मलाईरित्तो छोडेर गएको थाहा पाएछन् क्यारे मलाई उधारो दिन बन्द गरिहाले ।एउटा भाइ थियो कमल पाण्डे रुकुम साँखको । ऊ र म तल्लो माथिल्लो रुममा बस्थ्यौँ ।उसको हविगत पनि मेरोभन्दा भिन्न थिएन । उसैसँग बाँच्ने जुक्तिको प्रस्ताव गरेँ,”जाउँ क्यारेम खेल्न ।” ऊ पनि क्यारेम खेल्ने भनेपछि हुरुक्कै हुन्थ्यो। सिम्रतुमा सरहरुलाई नटेरी नटेरी दिनभर क्यारिम खेलेको यता काम लाग्यो, क्यास खेल्न दाम थिएन। अनि त्यही घिमिरेकै पसलमा चाउचाउ बाजी खेल्न थालियो । दिनभर करिब मैले १० देखि १५ वटा सम्म चाउचाउ बाजी जित्थेँ। अनि बिहान बेलुकाको छाक त्यही चाउचाउले करिब दुई महिना टारेँ ।भोक त टारेँ तर घरभाडा तिर्न नसकेकै कारणले दुई ठाउँबाट निकाला गरिमागेकोआजै जस्तो लाग्छ ।”

हामी मिनभवनको ओरालो झर्दै थियौँ अब । ऊ सासै नरोकेर आफ्ना विगत ओकलिरहेको छ ।

“डन बन्ने या हिरो बन्ने सपना बोकेको मजस्तो आलोकाँचोको सपना यो शहरले यसरी चक्नाचुर पारिदियो कि अहिले पनि ती रात सम्झेर हाँस्दाहाँस्दै आँखामा आँशु आउँछ।

अनि एउटा साथी थियोउसलाई जागिर खोजिदिन अनुरोध गरेँ । उसलाई मेरो पढाइको डिग्रिबारे खुलस्तै थाहा थियो। म उपर छेडछाड कसिहाल्योः”एसएलसी पासले खान मिल्ने जागिर के होला र यो शहरमा ?

एकदिन पत्रिकाको विज्ञापनलाई पछ्याउँदै म मध्यपुर ठिमीको एक्टिभ ईङ्लिस स्कुलसम्म पुगेँ । शिक्षकको चाहिएको विज्ञापन थियो त्यो । त्यहाँ पुगेर आफ्नो कुरा सबै प्रस्ट राखेपछि मध्यपुर त्यस स्कुलमा शिक्षकको जागिर खान पाउने भएँ । महिनावारी १२०० ले जीवनकै प्रथम जागिरको शुरुवात गरेँ ।मेरो ध्यान भने विद्यार्थीहरुलाई पढाउने भन्दा पनि हिरो बन्नेतिरै बढी जान्थ्यो । त्यस्तै कुराहरुको चासो जाग्थ्यो म मा । कहिलेकाँही त विद्यार्थीहरुसँग पनि फिल्मी दुनियाँकै कुरा गरेर दिन बिताइदिन्थेँ । प्रिन्सिपल बिजय प्रजापति बारम्बार मेरो जागिर खाईदिने धम्की दिनुहुन्थ्यो ।आफ्नो इच्छा विपरीतको जागिरमा जेनतेन करिब ९ महिना संघर्ष गरियो।”

हामी तीनकुने पुगेर कोटेश्वरको उकालो चढ्न थाल्यौँ । पदमले कुरा रोकेकै थिएन ।

“अनि सायद त्यतिबेला एक छाक मात्र खाएर होला केही पैसा जम्मा गरेँ । अनि त्यही पुरानो साथीलाई केही सहयोग मागेर डिल्लिबजारमा आइटिसिको ३ महिने पत्रकारिता कोर्समा ज्वाइन भएँ र बडो ध्यानदिएर सिक्न थालेँ ।दिनभरि स्कुल र बिहान पत्रकारिताको कोर्स पढ्नुको परिणाम के निस्कियो भने पत्रकारितामा  A ग्रेडको सर्टिफिकेट प्राप्त गरियो।हामी प्रशिक्षार्थीहरु त्रिचालीस जना थियौँ। ती प्रशिक्षार्थीहरुमध्ये ध्यान दिएर पढ्ने सायद म मात्र थिएँ जस्तो लाग्थ्यो ।पत्रकारिताको सर्टिफिकेटले म मा अपूर्व जोश उमारिदियो । जीवनमा केही गर्नसक्छु भन्ने आशा पल्लवित भयो । त्यस दिन मेरो खुट्टा भुइँमा थिएनन् । म दौडदै सिधै पढाउँदै गरेको स्कूलमा पुगेँ र धम्की दिने प्रिन्सिपललाई प्रस्ताब राखेँ अब जागिर छोडछु भनेर । उहाँले त ३०० बढाइदिन्छु स्कूल नछोड पो भन्नुभयो। उनको सम्मानित व्यवहारले मेरो अभिमान उम्लेर आँखाबाट पोखिन थाल्यो । छाति आकाशजति फैलिएको महसुस गरेँ । हातमा आफ्नो सपना साकार हुने सर्टिफिकेट परिसकेको थियो । जाबो तीनसयले के रोकिँदो हुँ । त्यसै दिनदेखि मैले त्यो स्कूलमा पढाउन छोडिदिएँ ।”

मान्छेहरुको हल्लीखल्ली बढेपछि हाम्रो ध्यान बजारतिर आकर्षित भयो । हामी कोटेश्वर आइपुगेका रहेछौँ । कोटेश्वर चोक काटुन्जेल पदमलाई कुरा रोक्न लगाएँ र पारिपट्टि पुग्नेबित्तिकै सोधेँ,”अनि भेट्टाएको जागिर छोडेपछि फेरि के गर्न थाल्यौ त ?”

“त्यसपछि बाँच्नको साथै आत्मसम्मानको लागि पत्रकार बन्छु भन्ने आँट गरेँ । फेरि जागिर खोज्न थालेँ पत्रकारको । पत्रिकाहरुमा जागिरको विज्ञापन हेरिरहन्थेँ । एकदिन मध्यान्ह दैनिकमा जागिर खुलेको विज्ञापनमा आँखा गयो । म दौडँदै मध्यान्ह दैनिकमा पुगेँ । जहाँबाट एभरेस्ट मिरर मासिक र मध्यान्ह दैनिक पत्रिका प्रकाशित हुन्थे । ती पत्रिकाका सम्पादक मदन कुमार श्रेष्ठले जागिर त दिने तर तीन महिना प्रशिक्षार्थी बन्नुपर्छ भन्नुभयो। मेरो पालो हुन्छ भनिहालेँ । मेरो खुट्टा फेरि भुइँमा टेकिन छोडे । अनि आइडि कार्ड बन्यो प्रेस _ पास लेखिएको। तर पदमा प्रशिक्षार्थी। मेरो उत्साहलाई यो पदले रोक्नेवाला थिएन । तैपनि केही गर्ने उद्देश्यले म जागिरेको रुपमा मध्यान्ह दैनिकको कार्यालय जो बागबजारमा थियो ओहोर_दोहोर गर्न थालेँ ।

कार्यालय समय कस्तो थियो भने बिहानै ६ बजे कार्यालयमा पुगि सक्नुपर्थ्यो । कार्यालय पुग्न सानोठिमीबाट ३ रुपैया भाडा थियो ।आफूसंग भाडा पनि बाँकी नरहेकोले बिहानै ४ बजे उठ्थेँ र पैदल बागबजारतिर रवाना हुन्थेँ । दुईघण्टाको पैदलयात्रापछि ६ बजे बागबजार पुग्थेँ । दिनभरि काममा खटिन्थेँ । दिउँसो १२ बजे छुट्टिहुन्थ्यो । अनि फेरि हिँड्दै रुम पुग्थेँ । बागबजारबाट भक्तपुर मेरो दैनिकी चार घण्टाको रुट नियमित चल्न थाल्यो ।

यता तीन महिने परिक्षणकाल सकियो, उता मलाई साप्ताहिक विमर्शमा अफर आयो, राजनैतिक तथा आर्थिक बिट हेर्ने। पत्रकारिता क्षेत्रमा म सर्वथा नौलो थिएँ । कसरी काम गर्ने खासै जानकारी थिएन । तर हुन्छ भन्ने आँट गरेँ ।यता परीक्षण कालमा मध्यान्हमा काम गर्दा बैदेशिकरोजगार हेर्ने गर्थेँ त्यही हेरेर उता अफर आको रहेछ मैले बिमर्शमा काम गर्दा । केही समय काम गरेपछि अनुभवले मान्छेलाई सिकाउँदो रहेछ। मैले दुवैतिर काम गर्दा पत्रकारिता सम्बन्धी धेरै अनुभव बटुलिसकेको थिएँ ।”

“अनि ? अनि ?” मलाई उसको कुरा जान्न उत्सुकता बढिरहेको थियो । हुन त लागिरहेको थियो, यसले बगम्फुसे कुरा पो गरिरहेको छैन ?

“सर, मेरो कोठा त आइपुग्यो ।”

“कहाँ आइपुग्यौँ र हामी ?” हामी सानोठिमी चाइल्डनेचर स्कूल अगाडि पुगिसकेका रहेछौँ । झुसमुक अँध्यारो पनि भैसकेको रहेछ । कुरामा गफिएर अँध्यारो भएकै चाल पाइनछु मैले ।

“जाऊँ सर मेरो कोठातिर । उतै सुनाउँछु बाँकी कुरा ।” उसले मलाई प्रस्ताव राख्यो ।

“कहाँको तिम्रो कोठा जानू ? मेरो कोठामा केटाकेटीहरु रोएर बसिरहेका होलान् । गएर खाना पकाई खुवाउनुपर्छ नि ।”

“म्याडम हुनुहुन्न र सर ?”

“उनी त गाउँमै छिन् नि । बच्चाहरुलाई पढाउनको लागि मैले नै यतै राखेको छु ।” मैले यथार्थता बताइदएँ ।

“उसो भए हजुरको कोठामा म गइदिन्छु नि त आज सर !” उसले त मसँगै जाने निहुँ पो झिक्यो ।

“पर्दैन पर्दैन । अर्को कुनै दिन जाउँला मेरो कोठा ।” मैले पदमलाई रोक्न प्रयास गरेँ ।

“सरको इन्टर्भ्यू लिनु थियो । कहिले लिने होला ? समय मिलाइदिए हुन्थ्यो सरले ।”

“भैगो छोडिदेऊ त्यो कुरा । म को हुँ र तिमीले अन्तर्वार्ता लिनुपर्ने ? कसले पढ्छ मेरो अन्तर्वार्ता यो शहरमा ?’

“पत्रिकामा निस्किएपछि नपढी सुख्ख सर !”

“पर्दैन । पर्दैन ।” भन्दै म आफ्नो कोठातिर लागेँ । ऊ पनि आफ्नो कोठातिर लाग्यो ।

त्यसपछि उ सँग हप्तादिन जति भेट भएन । ऊ म देखि छुटेपछि उसका गफ हावादारी हुनुपर्छ भन्ने निश्कर्षमा पुगेको थिएँ । एकदिन म हिँड्दै फेरि बबरमहल जाँदै थिएँ । नयाँवानेश्वरको फुटपाथभरि पत्रिका बेच्नेहरु थिए । मेरो आँखा एभरेष्ट मिररमा पर्‍यो । मैले झल्याँस्स पदमलाई सम्झिएँ र हत्तपत्त त्यो पत्रिका उठाइहालेँ । भित्रका विषयवस्तु हेर्दै थिएँ । त्योभित्रको एउटा पेजमा आफ्नो तस्बिर पर्ने बित्तिकै म रोमाञ्चित भैहालेँ । शिर्षक थियो :’ओझेलमा परेको पहराको एउटा फूल ।’

पदमलाई नपत्याई करै लाग्यो मलाई ।

मिठो शैलीमा बढाईचढाइ गर्दै मेरो अन्तर्वार्ता साँच्चिकै छापिदिएछ पदमले त ! त्यो देखेपछि उसले भन्ने गरेजस्तै मेरा पनि भुँइमा खुट्टा रहेनन् । केही नहुँदा नहुँदै पनि केही हूँ भन्ने जस्तो लागेर छाति फराकियो । धन्न गोजीमा तीनवटा पत्रिका किन्न सकिने तीस रुपैँया बाँकी रहेछन् । मैले वानेश्वर फुटपाथका तीनवटै पत्रिका उठाइदिएँ । लागेको थियोः ‘अफिसमा देखाउँछु ।’ तर अफिसमा पुगेपछि देखाउन शरम लाग्यो । कसैलाई देखाउन सकिनँ । पदमलाई धन्यवाद दिन उसको न त ठेगाना थियो न त ल्यान्डलाइन फोन । उतिबेला मोबाइल फोन भने उच्चपदस्थ कर्मचारीहरुसँग मात्र हुन्थ्यो ।

म पदमलाई भेटाउन व्यग्र भैरेहेको थिएँ । तर भन्ने बित्तिकै भेट्न सकिने कुनै माध्यम थिएन उसबेला । केही बेरमै पदम झुलुक्क मेरो अगाडि देखापर्‍यो । उसले पनि मेरो लागि दुईवटा पत्रिका बोकेर ल्याएको रहेछ । मैले ‘पर्दैन !’ भन्दा भन्दै मेरो हातमा थमाइदिइहाल्यो । पदमलाई धन्यवाद दिन मसँग शब्दहरु कमै थिए त्यस दिन । बेलुका दुवैजना हिँड्दै र गफिँदै सानोठिमीसम्म पुग्यौँ ।

त्यस दिनदेखि पदम र म पुनः एकअर्कादेखि हरायौँ । अकस्मात हराएको पाँचसात वर्ष बितिसकेको थियो । एकदिन मलाई नयाँ नम्बरबाट फोन आयो । उठाएँ । उताबाट चिने चिनेजस्तो फोन आयो ।

सोधेँ मैले,”को बोलेको होला ?”

“म आनन्द !”

“को आनन्द ?”

“हजुरको चेलो ।”

“मैले त कुनै आनन्दलाई पढाएको जस्तो लागेन त । म कहिल्यै पनि आनन्द नामको चेलाको गुरु बनेको छैन ।”

“हजुर कहाँ हुनुहुन्छ ? म त्यहीँ आएर आफ्नो परिचय दिन्छु ।”

“म निर्वाचन आयोगमा छु । कान्तिपथमा ।” मैले अफिसको ठेगाना बताइदिएँ ।

“ल, उसोभए म पन्ध्र मिनेटमा आइपुगेँ है त !”

मलाई यो आनन्द नामको मान्छे को रहेछ ? भन्ने व्यग्र चासो भैरेहेको थियो । म निर्वाचन आयोगको आँगनमै निस्किएँ । मेरो अगाडि एउटा चिल्लो र सेतो कार आएर रोकियो । म सशंकित भएँ, कतै यही गाडीमा त छैन आनन्द ?

नभन्दै कालो चश्मा र सेतै पहिरनमा सजिएको एकजना सलमान खानजस्तो युवक कारबाट शानदार तरिकाले ओर्लियो र सिधै मेरो हातमा ढोग्न आइपुग्यो । मैले आशिर्वाद दिन नभ्याउँदै उसले चश्मा खोल्यो । आनन्द को होला भनेको त उही पदम पो रहेछ ।

“जाम गुरु हजुरलाई म छोडिदिन्छु सानोठिमीसम्म ।”

“म त अहिले दुवाकोटमा पो बस्छु पदम ।”

“अब म पदमबाट आनन्दमा बदलिइसकेँ सर । मलाई पदम भनेर कसैले चिन्दैन । यसको कथा म बताउँला कुनै दिन । मेरो बसाइ पनि निकोसेरा त हो नि । म पुर्‍याइदिइहाल्छु नि दुवाकोटसम्म त ।” उसले मलाई फकायो ।

अफिसबाट विदा मागेर म उसको कारमा गई बसेँ । आफैँ ड्राइभ गर्दोरहेछ उसले । बाटोभरिको उसको कुराबाट जानकारी भयो कि उसले ‘कस्तो टेन्सन’, ‘साईकल’, ‘फिङ्गर प्रिन्ट’, ‘माया मर्दैन’,’पास्ट’आदि ठूला पर्दाको फिल्म समेत खेलिसकेछ । अतिथि कलाकार त दर्जनौँ फिल्ममा खेल्न भ्याएछ । न्यूज डट प्रेस तथा नेपाल टक आदिको प्रधान सम्पादक समेत भैसकेछ । पढाइमा स्नातकोत्तर सकिसकेछ । प्रमिला खत्रीसँग बिहेबन्धनमा जोडिएर प्रणव नाउँको एउटा घुतुमुने छोरोको बाबु पनि बनिसकेछ ।

उसले मलाई घर पुर्‍याइदिएपछि केही दिनमा मैले काठमाण्डौको बसाइ छोड्नुपर्‍यो । ऊसँग पुनः भेट हुन छाड्यो ।

म सल्यान जागिर खाने क्रममा उसको रहरअनुसारको मुसी नाटक तयार गरेँ र उसलाई राजकुमारको भूमिका दिन अफर गरेँ । उसले मेरो कुरा पत्याएन ।

हामी कहिलेकाँही फोनमा त भेट हुन्थ्यौँ तर मैले पुनः काठमाण्डौ सरुवा भएको जानकारी उसलाई गराइनँ । मेरा साहित्यिक गतिविधिहरुमा भने निरन्तर रुपमा उसले चासो देखाएको प्रष्ट हुन्थ्यो ।

एक दिन म यतै काठमाण्डौमै रहेको सुइँको पाएर लकडाउनको समयमा पनि ऊ मेरो घरमै आइपुग्यो र मेरो हातमा घोप्टो पर्दै आशिष थाप्यो । केही छिनको बातचितपछि हामी दम्पतिलाई आफ्नो कारमा हालेर आकाशेधारा पुर्‍यायो । त्यहाँ पुगेपछि मात्र जानकारी भयो कि ऊ त परिवर्तन खबरको प्रधान सम्पादक पो बनिसकेछ । उसको आलिसानको कार्यकक्षमा पस्दा नपस्दै हामी दम्पत्तिको भिडियो अन्तर्वार्ता लिन हामीलाई बाध्य तुल्याइहाल्यो । साहित्यिक गतिविधि सम्बन्धमा मेरो छुट्टै भिडियो अन्तर्वार्ता पनि लिन भ्यायो । लाजवश् मैले आजसम्म पनि उक्त साहित्यिक अन्तर्वार्ता प्रकाशन गर्न सकेको छुइनँ ।

मैले पदमलाई कहिल्यै पनि कुनै प्रकारको गुण लगाइनँ । मैले कहिल्यै पनि उसलाई कुनै प्रकारको सहयोग गरिनँ । उसलाई दुई वर्षजति पढाएँ हुँला मैले सिम्रुतुमा । तर उतिबेला पनि मेरो नजरमा ऊ गुमनाम थियो ।

तर पनि ऊ मेरो सार्वजनिक प्रचारको लागि किन मरिहत्ते गरिरहेको छ ? कहिल्यै यो पूर्व जुनिको एकलव्य त होइन ? जसले गुरु द्रोणाचार्यले माग्दा बूढी औँला नै चढाएको थियो, कतै म उही द्रोणाचार्य त होइन ? जसले आफ्नै चेलाको बूढी औँला मागेर चेलाको अजेय गुणलाई परास्त गरिदिएको थियो !!! म सोचमग्न हुन थाल्छु ।

 36 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top