Free songs
Home / संस्मरण / प्रतिशोध

प्रतिशोध

निमावि सोलाबाङका शिक्षक लोकबहादुर खडका,प्रावि किँदाका शिक्षक बलबहादुर केसी र प्रावि कैलदेऊको शिक्षक म गरी तीनजना आधारभूत शिक्षक तालिमको सिलसिलामा त्रिचालीस सालतिरको उम्सोले सुर्खेतमा नुहाउँदै थियौँ । उखर्माउलो गर्मी र ढाडिएका झुसे मच्छरबाट हाम्रो सिकुटे जीउको रगत चुसाउनुको अर्को विकल्प सुर्खेतमा थिएन । इत्राममा दिनभरि हप्याकहप्याक गर्दै कष्टसाध्य तालिम लिन्थ्यौँ भने रातभरि डेरामा हातैले जीउ हम्केर शितलता प्राप्त गर्ने दुस्प्रयास गथ्र्यौँ । डेराको कोठामा एउटा सानो खिड्की थियो, तर फ्यान सुविधा थिएन ।
हरघडी घरतिरै कुदिरहने मनलाई शान्ति दिलाउन पाँच महिने तालिम हाफेर पाँचैपटक रुकुम पुगिसकेका थियौँ । त्यतिबेला सुर्खेतबाट छिन्चु, मेलकुना, संग्रही, कइनकाँडा,मर्माज्यूला,चौरजहारी, खोलागाउँ, नुवाकोट, पेउघा हुँदै तीन दिनमा पैदलै रुकुमको सोलाबाङ पुग्थ्यौँ । प्रत्येक पटकको भगाइमा बरु तालिम नै छोडिदिने तर सुर्खेत नफर्किने प्रण गथ्र्यौँ । रुकुम पुगेपछि रुकुमेली चीसोले त्यो उम्सो बिर्साइहाल्थ्यो र एकदुई दिन मात्र बिसाएर पुनः सुर्खेतको उम्सोमा होम्मिन फर्कि हाल्थ्यौँ । बल्लतल्ल पाएको तालिम मनलागी छोड्न मिल्ने कुरा पुिन थिएन ।
सुर्खेतको वातावरणीय उम्सोभन्दा पनि झनै उत्पात तताउने अर्कै थोक थियो त्यहाँ ।
सुर्खेतको पश्चिमपट्टि चीसापानीको मध्य गाउँमा तिवारी थरका व्यक्तिको दुईतले कच्ची घर थियो । हामीले त्यही घरमा डेरा लिएका थियौँ । घरमुलीका दम्पति सानो करेसाबारीमा दिनभर यसोउसो गरी दिन कटाउँथे । उनका एकजना छोरा थिए जो सरकारी जागिर खान्थे । छोरी भर्खर कलेज पढ्दै थिइन् । बुहारीले सानोतिनो होटेल चलाएकी थिइन् । नातिनातिना पनि स्कूल जान्थे ।
बुहारी होटेल बन्द गरेर बेलुका घरमा आइपुग्ने बित्तिकै ससुराचाँहिले बिनसित्ति निहुँ खोजेर बुहारीलाई तथानाम काँचीभारी गालीको श्रीगणेश गर्दथे । उनी बुहारीमाथि हात हाल्नु पाप ठान्ने धार्मिक मनका देखिन्थे । आफूले बुहारीमाथि हात उठाउनुको सट्टा टुलुटुलु झगडा हेरेर बसेको छोरा लगायत अन्य सदस्यहरुलाई उचालेर बुहारीमाथि खनिनँ आह्वान गर्थे । ः
“के हेरिराको ? भुत्ल्या तेरी राँडलाई !”
“खन्याइदे तातोपानी !”
“भाँच्दे हातखुट्टा । हान् हान्, काट् काट्, मार मार !!”
केही बेरसम्म छोरो मुकदर्शक भएर हेरिरहन्थे । पालैपालो गरी परिवारका पूरै सदस्य गृहयुद्धमा फसेपछि छोरा पनि त्यो गृहयुद्धमा सामेल नभई सुख्खै पाउँदैनथे । बुहारी मात्र एकातिर हुन्थिन् । बाँकि परिवार अर्कोतिर । रात घर्किँदै गएपछि ऐया, आत्थु र विलापपूर्ण रुवावासीले रातलाई भस्मेइ उराठिलो तुल्याउँथ्यो । यस प्रकारको झगडा कहिले आधा रातसम्म रहन्थ्यो भने कहिले त अर्को बिहानपखसम्म ।
हामीहरुले कान थापेर सुन्न बाहेक अरु केही गर्न सक्दैनथ्यौँ । निद्रालाई दशहात परै अड्काइ रहेको मच्छरराज र उम्सोपनमा उनीहरुको कलहको अचाक्ली रातबिरात टुलुटुलु हेरि बस्थ्यौँ । बाहिरबाट शिक्षित जस्तो देखिने यस परिवारको यस्तो घृणित क्रीडाले गर्दा हामी हुनुसम्म आजित भइरहेका थियौँ ।
तिवारीकै होटेलमा हामीले महिनावारी खान्थ्यौँ । खाना भनिसाध्य थिएन । कहिले ढुसी परेको बासी भात, कहिले ह्वास्सै गन्हाउने बासी दाल साजी खानामा नमिसाए उनीहरुको चित्तै बुझ्दैनथ्यो । कहिले काँचो भात, कहिले गेडाबिनाको दालको पातलो झोल । खाना यसोउसो भनेर गुनासो पोख्न पाइन्नथ्यो । चिया खान खोज्थ्यौँ दूधमा पानी मात्र हुन्थ्यो । पानीको मोल दूध बराबरी तिथ्र्याैँ । त्योभन्दा उच्चस्तरका होटेल सुर्खेतमा नभएका होइनन् । विकल्पहरु प्रशस्तै हुँदाहुँदै पनि हाम्रो आयस्तर र भोलाभालापनले गर्दा पनि विकल्प खोज्नु आवश्यक ठानेनौँ । जाबो पाँच महिनामा करिब दुई महिना त रुकुम आउजाउ गर्दा बितेको थियो । कतिपटक डेरा सारेर साध्य !
लोकबहादुर कहिलेकाँही झोक्किँदै भन्थेः “के हामी पशु हौँ ? हाम्रोतिर पशुले पनि खाँदैन यस्तो खाना !” यो गुनासोति होटेल्नीले कान फटफटाउँदैनथिन्, बरु जागिरदार छोराले सुन्नपुग्थे । उनले हाम्रो गुनासो सुन्नुको बदला “रुकुम त विकट पाखे ठाउँ हैन र ? त्यहाँ त फापरको रोटीबाहेक अर्थोकको कल्पना गर्न मुस्किल होला है ? यस्तो भात त दशैँको एकदिन मात्र पाइन्छ रे ” भन्दै हामीलाई गँवारको बिल्ला भिडाएर तुष्टि लिन खोज्थे । हामीसँग मिच मार्नु बाहेक अर्को विकल्प बाँकी रहन्नथ्यो ।
महिना नपुग्दै त्यस प्रकारको खानाको पाइपाइको हिसाब गरेर पैँसा तिर्नु पर्दथ्यो । भोलि तिरौँला भनेर एकदिन उधारो बस्न कसैगरी पाइन्नथ्यो ।
०००
पाँचमहिना जसोतसो गुजारेपछि तालिम पनि सकियो, हामीले त्यो सुर्खेती वातावरणको उम्सोपनबाट पनि मुक्ति पाउने भयौँ ।
कहिले नरिसाउने लोकबहादुर सुर्खेत बसाइको अन्तिम दिन रिसले काँपिरहेका देखिए । कोठा छोडेर आँगनमा पुग्नेबित्तिकै उनले चोर औँला ठड्याउँदै भनेका थिएः “जीवनमा एक न एक दिन यो पाखे तिवारीसँग म प्रतिशोध नलिई छोड्ने छैन ।”
बजारमा आइपुगेपछि मैले ठट्टा गर्दै भनेको थिएँ, “अब यो तिवारीसँग भेट भए पो प्रतिशोध लिन्छौ ? न यसको घरसम्म हामी नै बाटो बिराएर आइपुग्ने छौँ, न त त्यो तिवारी रुकुमतिर नै आइपुग्ने छ ।”
“पृथ्वी डोलो छ । एक दिन न एक दिन भेट कसो नहोला ?”
घर फर्केको महिनौँसम्म पनि हामीले तिवारीकै अभद्र स्वभावको कुरा काटेर मनोरञ्जन लिन्थ्यौँ । बिस्तारै वर्षदिनको समयान्तर पर्न थालेपछि भने सुर्खेत बसाइ हाम्रो विस्मृतिको ओझेलमा पुरिँदै जान थाल्यो ।
०००
केही वर्षपछि लोकबहादुरसँगको मित्रताको साइनोबाट म उहाँको बहिनी जुवाइँको पदमा उक्लिइसकेको थिएँ । अतः नयाँ जुवाइँको नाताले ससुरालीको घरसम्म मात्र होइन कि भान्छासम्म बेरोकटोक बारम्बार उक्लिन थालेको थिएँ ।
एकदिन म ससुरालीमै थिएँ, जेठान लोकबहादुर खलंगाबाट आइपुग्नु भयो । जीउभरि पसिना तरतरी बगिरहेका थिए । हातगोडामा एक प्रकारको कम्पन थियो । अनुहार नीलोकालो र तमतमाइलो भएको देखेँ । मैले अड्कल काटेँ,“गर्मी र धपेडीले त्यसो भएको होला ।”
उहाँले एक अम्खारा मोही मागेर घट्घटी पिइसकेपछि मेरो नजिक आएर बस्नुभयो र बिस्तारै भन्नुभयोः “त्यो सुर्खेती तिवारीको छोरा त सरुवा भएर यहीँ रुकुममै पो आइपुगेछ ।”
“हँ ???” यो असम्भव ठानिएको अप्रत्याशित समाचारले बिर्सिसकेको सुर्खेत बसाइ ताजा भएर फेरि आँखा वरिपरि फनफनी नाच्न थाल्यो । त्यो उम्सोपन । ती रगतले निलोकालो भएको ढाडे मच्छर । त्यो टेढो तिवारी । उसका ससुरा बुहारीको दैनिक डाढे कलह । त्यो बासी खाना र त्यो अभद्र एवम् घृणित व्यवहार ।
आफ्नो आँखामा पूरै सुर्खेत रिङ्न थाले पनि जेठानको आँखामा त्यो दृश्य ननाचोस् भनी कामना गर्न थालेँ ।
“मैले उतिबेला गरेको प्रण सम्झनुभयो ?” म विगतमा डुबेको देखी जेठानले मलाई कोट्याउनु भयो ।
“के थियो र ? मैले त त्यस्तो केही सम्झन सकिनँ ।” म झसङ्गै तर्सिए पनि थाहा नभएको जस्तो नाटक पसारेँ ।
“म त्यो तिवारीसँग प्रतिशोध नलिई छोड्दिनँ ।” जेठानको अनुहार प्रतिशोध भावनाले चम्किरहेको थियो । जे नहोस् भन्ने कामना गर्दै थिएँ, त्यही नै हुने भएपछि मेरो अनुहारमा पनि विषादको हुण्डरी मच्चिएको देख्नुभयो होला उहाँले ।
“हँ ? किन? के थियो र ? उतिबेलाको कुरा त सबै बिर्सिइ सकियो त ! अब नराम्रो कुरा दिमागबाट हटाएकै वेश । उसले प्रतिशोध लिनैपर्ने गरी हामीलाई त्यस्तो केही गरे जस्तो लाग्दैन मलाई त ।” मैले जेठानलाई थामथुम पार्ने प्रयत्न गरेँ ।
“कहाँ बिर्सन सकिनु ? त्यो नै यहाँ आइ नपुगेको भए त जेसुकै चिर्को बजिङ्गो पर्दो हो । त्यसले त गर्नु गरेको थियो नि ! त्यो हाम्रै गाउँघरमा आइपुग्नु त हामीलाई नै हाँक दिनु भई गयो नि । आफ्नै घरआँगनबाट दिएको हाँक त हाम्रो लागि अवसर पो हो । यो मौकाबाट किन पछि हट्नु ?”
“उसले जानेको त्यति मात्र थियो । उसले पृथ्वी डोलो छ भन्ने चेतै पाएन । हामीले त्यस्तो सोच्नुहुँदैन ।” मैले अझै सम्झाउने पाराले भनेँ ।
“मैले पनि त्यही कुरा त त्यसलाई राम्ररी सिकाउन खोजेको हो । बुझोस् पनि रुकुमेली कस्ता हुन्छन् भनेर । यसरी बुझोस् कि ऊबाट त्यस्तो अभद्र व्यवहार अरु कसैले पनि आइन्दा भोग्नु नपरोस् ।”
“भइहाल्यो छोड्दिनुस् । उमेर पाक्दै जाँदा नराम्रैसँग आफै सिकिसक्यो होला उसले ।”
“अँहँ, म त्यसलाई छोड्दिन ।”
“समझदार व्यक्तिले प्रतिशोध लिने कुरै गर्नुहुँदैन ।”
“समझदारले नै हो प्रतिशोध लिने । असमझदारले के पो प्रतिशोध लिन जान्लान् ? म त्यसलाई छोड्दै छोड्दिनँ ।” जेठानको जिद्दी अनौठो थियो । जेठानसाब् यस्तै जिद्दिवाल छन् । घरायसी मिहिन कुरादेखि महान कुरासम्म उहाँले नै सोचेको तरीकाले सम्पन्न गरिनुपर्छ भन्ने ढिपि गरिरहनुहुन्छ उहाँले ।
जेठानसँग वादविवाद गरिरहनु पनि एउटा एस म्यानको भूमिकामा रहेको जुवाइँको हैसियतले श्रेयष्कर थिएन । अतः यस्ता झिनामसिना कुराको पछि नलाग्न अनुरोध गरिसकेर अशुभ संकेतको गन्ध सुँघ्दै त्यो रात म घर फर्किएँ ।
०००
एक हप्तापछि मलाई जेठानले ससुरालीमा बोलाउन ुभयो र भन्नुभयोः “भोलि त्यसलाई यहीँ घरमै आउन निम्तो दिएको छु । मान्दैन होला भन्ठानेको थिएँ सजिलरी आउँछु भनिदियो !” उहाँले मकै भुटेको आवाजको हाँसो निकाल्नु भयो ।
म जुवा हारेको जुवारेसरी बेसरी झस्किएँ,“ हँ? हो र ??” मनमनै प्रार्थना गरेँ, ‘ऊ कसैगरी यो घरसम्म नआओस् ।‘ मुटु ढुकढुक गर्न थाल्यो । जीउमा चिटचिट पसिना उम्रिए ।
“किन आत्तिनु भयो ?”
“हैन, हैन, त्यस्तो केही छैन, अनि‘.ऊ एक्लै आउँछ रे ?”
“उसले आफ्नो साथी पनि ल्याएर आउँछु भनेको छ ।”
साथी पनि आउँछ भनेपछि त्यतिविधि अनर्थ हुने छैन भन्ने कुरामा म ढुक्क भएँ र आफू बलियो हुँदै सोध्ने आँट बटुलेँ, “साथी पनि साथमै आइदिए त तिवारीसँग कसरी प्रतिशोध लिन सक्नुहोला त ?”
“ऊ एक्लैसँग लिएको प्रतिशोधको खबर अरुसम्म कसरी पुग्छ र ? मेरै घरमा गुपचुप भैहाल्छ नि । मैले नै तिवारीलाई साथी पनि ल्याएर आउनू भनेर कर गरेको हुँ ।”
म फेरि झस्किएँ, ‘हो न हो त्यसलाई सदाको लागि सिध्याइ दिने प्रतिशोध पो हो कि जेठानको ??’
एक मन भयो कुनै अनर्थ हुन नपाउँदै उसलाई सम्भावित प्रतिशोध बारे पहिल्यै जानकारी गराइ हालूँ । अर्को मनले भन्यो नितान्त पारिवारिक योजना बारे पराइलाई कसरी जानकारी गराऊँ ? म जे भए पनि यही परिवारकै एक सदस्य हुँ । पहिल्यै जानकारी गराउँदा उसले आफूप्रति रचिएको षडयन्त्रको गवाही मलाई नै बनाउँदै जेठानविरुद्ध मुद्दा हालिदियो भने के होला यो परिवारको अवस्था ? हुन्न हुन्न । उसलाई कुनै हालतमा सुइँकोसम्म हुन्न । जे होला अब !
म घरमा फर्कन खोज्दै थिएँ जेठानले भन्नुभयोः “यहाँ त एउटा भुत्ते खुकुरी मात्र छ । तपाईँको घरमा त लाग्ने खुकुरी छ केरे, भोलि त्यो ल्याएर बेलुका बास बस्ने गरी आउनु होला ।”
म छाङ्गोबाट खसेतुल्य निसास्सिएँ ।
मेरो मुटु फेरि बेसरी हल्लियो । मैले जेठानको अनुहार एकोहोरो हेरिरहेँ र कुनै परिवर्तन नदेखेपछि नाजवाफ घरतिर फर्किएँ । जेठानमा किन यस्तो बिनसित्तिको अपराधिक भावनाको आँधी मच्चिएको होला ? प्रतिशोधले पर्न जाने पारिवारिक प्रभाव कति ठूलो होला ? पारिवारिक विग्रह नै त हुने होइन ? जानेबुझेका मान्छेले यति सुन्दर जीवनलाई खाल्डोमा जकाउन के मन लागेको होला ! एकमनले भन्यो जेठानकी बहिनीलाई भए पनि जानकारी दिऊँ, अर्को मनले भन्यो मर्द भनेको मुटु त यसरी हल्लिरहेछ, यो कुराको सुइँको पाइन् भने उनको अवस्था झन् के होला ? उनी झन् रुँदै कराउँदै अहिल्यै माइती पुग्नेछिन् । घरमा रडाको मच्चिएला । जेठानले के सोच्लान् ?
त्यस रातभर म राम्रोसँग सुत्नै सकिनँ । जब आँखा झिम्काउन खोज्थेँ, उत्तिखेरै काटमारले अपरिचित जन्तु रक्तमुच्छेल भएको डरलाग्दो सपना देखिहाल्थेँ र तर्सँदै ब्यूझिहाल्थेँ । मेरो त्यो रात अनिदोमै बित्यो । बिहान भयो । बिहानी सिरसिरे चीसो हावा पनि लु जस्तै चलेको अनुभूति भयो । दिउँसोको घामको पोलाइ भनिसाध्य थिएन ।
“जे त होला !” बेलुका ससुराली नजाने नै निधो गरेँ । पत्नीलाई, ‘जरुरी काम परेर उतै बस्ने गरेर खलंगा गइसके भन्दिनू !’ भनेर ससुरालीमा खबर पठाएँ । उनलाई आज कुनै हालतमा माइतीमा नबस्नू भनेर सम्झाएँ ।
बोलाएको समयमा म नपुगेपछि बेलुकातिर जेठान मेरो घरमै झुङ्लुङ्ग देखा पर्नुभयो ।
जेठानले आमासँग खुकुरीको कुरा गर्नुभयो । तुरुन्तै आमाले सिरुपाते सल्यानी खुकुरी जेठानको हातमा थमाइ हाल्नुभो । एउटा हातले खुकुरी र अर्को हातले मेरो पाखुरा पक्रँदै जेठानले मलाई भन्नुभयोः “जाऊँ, उनीहरु आइसके । खलंगाबाट सँगसँगै आको भए पनि हुने ।”
“म त नजाऊँ केरे ! मलाई आज अलि सन्चो छैन ।” म अनकनाएँ ।
“किन नजाने ? तपाईँलाई हलो जाताउँदैनौँ, भारी बोकाउँदैनौँ । तपाईँ नै नगए त मेरो प्रतिशोध कहाँ सफल हुन्छ र । बलबहादुर प्वाङतिरै छन् । सुर्खेतका एकमात्र गवाही तपाँईँ त हो नि ।” उहाँले मलाई तान्दै भन्नुभयो । जुवाइँको कमजोर नाइँनास्तीले उहाँ हार्ने कुरै थिएन । लुरुलुरु उहाँको पछि लाग्नु बाहेक मसँग अर्को विकल्प थिएन । अनुहार तमतमाइलो हुँदै गयो । जीउभरि ह्वाल्ह्वाल्ति पसिना बग्न थाल्यो । जेठान त आफ्नै निश्चयमा दृढ भएझैँ बेपरवाह लमकलमक लम्किरहनुभएको थियो ।
जेठानको घर पुग्दा पाहुनाहरु घरको पेटीमा बसेर गफमा भुलिरहेको देखिए । पेटीमा परालको गुन्द्रीमा बाक्लो जुम्ली कम्बल बिछ्याइएको थियो, त्यसैमा उनीहरु खुट्टा फैलाएर गजधम्म बसेका थिए । मकैको खाजा कुरुमकुरुम चपाउँदै मोहीले निलिरहेका देखिन्थे । खाजा एवम् मोही थप्न आजूहरु (जेठानकी पत्नी) भित्रबाहिर गरिरहेका देखिन्थे । तिवारी अझै हृष्टपुष्ट र चिल्लाचापुल्ला देखिए । लुगा पनि सुकिला पहिनेका थिए । मानौँ उनको लवाइखवाइमा आमूल परिवर्तन आइसकेको थियो । कहाँका उहिलेका युद्धकालीन सुर्खेती, कहाँका अहिलेका शालिन सुर्खेती !
मलाई देख्नेबित्तिकै तिवारीले भनिहालेः “तपाईँ वलीजी होइन र ? लऽऽ, पन्ध्र वर्षपछि पनि तपाईँ त उस्तै पो हुनुहुँदोरहेछ । कस्तो भाग्य, वलीको पनि पाहुना नै भयौँ आज हामी !”
“पख् न वलीको रैछस् कि बलीको बोका रैछस् ! चालपाउलास् आज । खुब शालिन पल्टिँँदोरहेछ !” मनमनै भनेँ । प्रकटमा के भन्नुपर्ने हो कुनै मेसो पाइनँ ।
जेठानले उत्तिखेरै तिवारीको जिब्रो समाइहाल्नु भयोः “हो नि, हामी रुकुमेलीहरु जहिल्यै रुप र सारमा उस्तै रहन्छौँ । अरुजस्तै छेपारोले रङ बदलेझैँ रङ बदलिरहन्नौँ ।” मैले बुझिहालेँ यो तिवारीतिरकै झटारो हो । तर उनले त्यो झटारोको वास्तै गरेनन् । मात्रै मेरो चित्र काल्लियो ।
अगेनामा दन्किँदो आगोमाथि टेकाइएको कराहीमा खीर छड्किरहेको थियो । खीर पकाउन सासुससुरा खटिनु भएको थियो । शुद्ध दूधको खिरको बासना बाहिरसम्मै मगमगाइरहेको थियो । त्यो बासनाले तिवारीहरु घुटुघुटु थुक निल्न बाध्य तुल्याएको प्रस्टै देखिन्थ्यो ।
“यताको दूध पनि कति मीठो र विशुद्ध बासना आएको ! हाम्रोतिर त दूधको बासना आएकै थाहा हुँदैन ।” तिवारीले अर्कोचोटी थुक निल्ने बहाना झिके ।
“पानी नमिसाउनेलाई मात्र थाहा हुन्छ, दूध कति बसाउँछ भन्ने कुरा ! ” जेठानको कटाक्ष रोकिएन ।
“अँ, कति पर्छ यतातिर दूधको मूल्य ?” तिवारीले कुरा फेरे ।
उसको प्रश्नलाई घरपट्टिकाले हाँसोमै उडाइदिए । तिवारीले बुझ्नुपर्ने थियो कि दूधको पनि कुनै मूल्य हुन्छ र ?
सोलाबाङ गाउँको दृश्यले नै तिवारीलाई धेरै प्रश्नहरुको जवाफ दिइरहेको थियो । ढिकतिर कतै लहलह तिल्की चामल त कतै विविध तरकारी खेती झुल्ने गराहरु भएको ठूलो फाँट । घारितिर हरिया झ्याम्म परेका डालाबोटहरुको भित्र लुकेको सुन्दर तथा बाक्लो बस्ती । हरेक घरमा कम्तीमा एकवटा लौरु भैँसी भएका थुप्रै वस्तुभाउको गोठ । माथितिर घना जङ्गल । प्रत्येक कुइनेँटामा पानीका स्वच्छ मूलहरु । गाउँलाई फनक्कै घुमेका साँख खोला मुग्लुखोला र पानेखोला । अलिकति तल सानीभेरी नदी । हरघडी बहिरहने सिरसिरे शितल हावा । सुर्खेत हेरी यो गाउँ त स्वर्ग नै थियो ।
“जति मिलेको गाउँ, उति मिलेको परिवार है ?” परिवारका हरेक सदस्यको मेलमिलाप देखी मख्ख पर्दै आश्चर्य प्रकट गरे तिवारीले ।
“हो नि । हामी रुकुमेली परिवारहरु मिल्न र मिलाउन मात्र जानेका छौँ । परिवारभित्र झगडा के हो, हामीलाई थाहा हुँदैन । परिवारमा झगडा मच्चाएर दुनियाँ हसाउने चलन छैन हाम्रो ।” यो पनि उनीतिरैको झट्कारो थियो, उनले बुझे बुझेनन् उनैले जानून् । यस्तै थुप्रै सवालजवाफ बेलाबेला तिवारीको मुखभरि दिँदै जानुभयो जेठानले । तर तिवारीले बुझ्ने गरी होइन कि आफ्नै उत्कण्ठालाई मत्थर पार्नको लागि मात्र ।
बाहिर अँध्यारो हुँदै जान थाल्यो । बेग्लै अँध्यारो झनैनिख्खर गाढा भएर मेरो मनमा पस्न थाल्यो ।
जेठान घरपछाडिको आँगनमा पुगेर डिलमा गाडिएको उदिनमा खुकुरी उध्याउन थाल्नुभयो । मेरो मुटु त्यही खुकुरीले रेटिएझैँ पिलिकपिलिक दुख्न थाल्यो ।
“ए साइँला तातोपानी ठीक पार ।” जेठानको यो आदेशले उहिलेको सुर्खेती कलह सम्झाइदियोः ‘खन्याइदे तातोपानी !’ र बरक्क बर्कन पुगेँ ।
“ए जुवाइँ त्यसलाई तपाईँ भुत्ल्याउन सक्नुहुन्छ कि ?” मलाई आँगनको छेउमा बोलाएर कानमा खासखुस गर्नुभयो जेठानले । म सुर्खेतबाट वापस फर्कनै सकिनँ, सम्झिएँ, “भुत्ल्याइदे राँडलाई । हान् । मार ।”
मेरो सातापुत्लो उड्यो । भनिदिएँ, “नाइँ, मलाई यस्तो काम मनै पर्दैन । जीउ नै यति लिखुरे छ, एक्लै भुत्ल्याउन पनि त सक्दिनँ !”
“ए माइला, यता पछाडि आइज ।” आफ्नो भाइलाई बोलाएपछि मतिर फर्किएर भन्नुभयो, “भुत्ल्याउनमा माइलो तकडा छ । उसले एक्लै भुत्लयाउन सक्छ । तपाईँ पाहुनाहरुलाई भुलाउँदै गर्नुस् ।”
म छक्क परिरहेको थिएँ यता जोडतोडसाथ प्रतिशोधको तानाबुना बुनिँदै छ, उताभने तिवारीलाई यसको सुइँपत्तो छैन । मख्ख परेर बसेको छ बिचरो तिवारी । उसको भाग्य गडबड भइरहेको उसलाई के थाहा ? यस्तै गम्दै म आलसतालस भैरहेको थिएँ ।
जेठानको हात डोकोभित्रै उपद्रो मच्चाइरहेको कटुजे कुखुरोतिर सोझिएपछि मैले उन्मुक्तिको सास फेरेँ । खुकुरोको कुरो त तिवारीलाई नभई कुखुरो भुत्ल्याउन पो रहेछ । मलाई निकटको सम्भावित त्रासबाट मुक्ति मिलेको आभाष भयो । लामो सास फेरेँ, ‘यो पटक त जोगियो तिवारी ! धन्न अहिल्यै केही भएन ।’
“खीरसँग पनि कुखुराको मासु ?” लोकल कटुजे भालेको ‘क्वाँय(क्वाँय’ सुनेर उता तिवारी राल चुहाइरहेका थिए ।
“हामीसँग जे कुरा उपलब्ध छ, त्यसैले पाहुनालाई सत्कार गर्नु धर्म ठान्छौँ हामी । यसमा एक अंश पनि लोभलालच गर्दैनौँ ।” जेठान मुस्कुराइरहनु भएको थिए ।
खीर र कुखुरोको पकवान तयार भैसकेको थियो । पाहुनालाई भनेर दिउँसो मात्र काढेको महको पनि व्यवस्था गरियो । पाहुनाहरु हात चुठेर भान्छा तयार भैरहेको अगेनातिर सरे ।
तिवारीहरुले आफ्नो भागैभरि पस्किएको बाह्रथरि मिष्ठान्न भोजन मीठो मानी मानी भोग गरिरहेका छन्, तर उनीहरुको काल नजिकै सिँगौरी खेलिरहेको उनीहरुलाई सुइँपत्तो छैन । कस्तो बिडम्बना !
उता तिवारीहरु यो दुर्लभ आतिथ्यतामा चुर्लुम्म डुबेका थिए, यता भने अब्बै कुनै दुर्घटना घट्नेछ तब्बै अनिष्ट हुनेछ भन्ने त्रासले म आत्तिरहेको थिएँ । उनीहरुलाई खाना खुवाइपछि कम्बल तथा सिरकको यथेष्ट व्यवस्था सहित दलिनमै सुताइयो । उनीहरु ओछ्यानमा पल्टिने बित्तिकै घुर्न थालिहाले ।
‘मूलाहरु एक रात नसुते पनि के बिग्रन्थ्यो र !’ उनीहरु मस्त सुतेको देखेर ममा डाह पलायो । सुर्खेत फेरि आँखाभरि नाच्न थाल्योः रातभरको उम्सो, मच्छरको टोकाइ र ससुराबुहारीको निर्बाध कलह । पख्लास् तँ पनि आउलास् हाम्रो घरतिर भन्दै जेठानले खाएको शपथ ।
‘एकनिँद आनन्दले सुतून् ।‘ मनले मनलाई नै ढाढस दियो ।
यस्तैगरी आधारात त त्यत्तिकै बित्यो । मध्यरात पछिसम्म पनि कुनै अनिष्ट हुने हो कि ? म अझै तर्सिन छाडेको थिइनँ । परिवारका अरु सदस्यहरु सुतिसकेका भए पनि जेठान वर्कीफर्की गरिरहेको आफू निदाएको बहाना गरी चियाइरहेँ । आधा रातपछि जेठान पनि घुर्नथालेको चाल पाएपछि मात्र ढुक्कसँग सिरकले मुख छोपेँ । कुनबेला तिवारीलाई सिध्याउने बेला भयो भनेर जेठानले कोट्याउने हुन् भन्ने तर्सोले अत्याइरहेको थियो । केही छिनमै निद्राले छोपेको त पत्तै पाइनछु ।
बिहान उठ्ने बित्तिकै तिवारी सद्दे अवस्थामा छन्, छैनन् चियाएँ । उनलाई जसको तस भेट्टाएपछि मनको धुलोमैलो सर्लक्कै पख्लियो । अब भने तिवारीको ज्यानको जोखिम घटेको अनुमान गरेँ । जेठानको मनमा उर्लिएको त्यतिविधि प्रतिशोध कता हरायो त ? मेरो मनले जेठानको मन छामछुम पार्योु ।
बिहानको छाकपनि तिल्की चामलको भात, कालो सिमीको दाल, भाङोको चटनी, कर्दीले काटेको दहीको सगुनले तिवारी पाहुनाहरुको भव्य स्वागत सत्कार भयो ।
जब तिवारी विदाइ हुने जमर्को गर्दै थिए, जेठानले, “कहाँ रित्तै जान पाइन्छ ?” भन्दै एक बिसौली घ्यू हातमा थमाइदिनुभयो । तिवारी कृतज्ञ हुँदै विदा माग्न सासुससुराकहाँ पुगे । ससुराबाट एक बिसौली मह कोसेली प्राप्त गरे भने सासुबाट एकपाथी कालो सिमी । अलि पर के पुगेका थिए आजूले रोक्दै चारमानो भाङो पनि त्यसैमाथि थपिदिनुभयो ।
कोसेलीको त्यो गह्रुँगो भारी बोक्न नसकी तिवारी ठसठसी कनिरहेको देख्दा जेठान भने मरीमरी हाँसिरहनुभएको थियोः “लौ जा । उहिले सुर्खेतमा हामीलाई खुवाएको त्यतिविधि सास्तीको साटो तिवारीले राम्रैसित फेरिमागे ।”
अनि मतिर फर्कँदै भन्नुभयोः “यही होः विशुद्ध प्रकारको रुकुमेली प्रतिशोध । समझदारहरुले यसरी नै प्रतिशोध लिन जान्नुपर्छ । मनमा कलुषता बोकेर प्रतिशोध साँध्नेहरु त मूर्ख हुन् ।” जेठानले ठूलै युद्ध जितेजस्तै अनुहारलाई तेज बनाउनुभएको थियो ।
तिवारी सद्देरुपमा फर्किएको देखेर हिजोदेखि मेरो मनमा जबर्जस्ती डेरा जमाएको डर अर्कोबाटो लाग्यो । सो ठाउँमा अपार सन्तोषको भेल जीउ नै रोमाञ्चित तुल्याउने गरी उर्लिन थाल्यो ।

 35 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top