प्रणिता

मन काकाकुल छ । लथालिङ्ग छ । शान्त रहन साउती गर्छु र सम्हाल्न खोज्छु घरिघरि । विदाको घण्टीपछि तितरबितर भएका विद्यार्थीहरुलाई लाइनमा लगाउन हम्मेहम्मे परेजस्तै परिरहेको छ । आफ्नै गोडा उचाल्न पनि धौधौ भइरहेको छ । दौडधुप पटक्कै छैन तैपनि मुटुको धड्कन बढ्दैछ । फलतः स्वाँस्वाँ पनि थाम्नै नसकिने गरी बढ्दो छ । बल्लतल्ल करिब एक घण्टाको पट्यार एवं अत्यासलाग्दो भक्तपुरे बसयात्रापछि नयाँवानेश्वर चोकमा ओर्लिसकेको छु ।
मलाई अझै गन्तव्यसम्म पुग्न त्यो उत्तरपट्टिको बसस्टपनेर पुग्नुछ ।
“उनीभन्दा पहिल्यै पुगिसक्नुपर्छ है !” ढाढस दिँदैछु मनोबललाई । मनले शरीरका अङ्गहरुलाई आदेश गर्दा त्यत्तिकैत्यत्तिकै रोमान्चित हुन्छ सर्वाङ्ग ।
उनलाई दिएको समय पनि झिनो बारको पछिल्तिर आइपुगेको छ । समीपतालाई अँगालो मार्न बार नाघ्न खोज्दै छ ऊ ।
व्यग्रतालाई थामथुम पार्दै गन्तव्यमा पुग्छु म । नयाँ वानेश्वरको बसस्टपको भीड अस्वाभाविक रुपमा बढिरहेको छ । त्यही भीड सुविधाको उपयोग गर्दै छेलिएर आफ्ना सर्ट पाइन्ट तन्काउँछु । निधारबाट पसिनाको खहरे उर्लिएको छ बेसरी, खल्तीतिर रुमाल छामछुम पार्छु, ल्याउनै बिर्सिएछु, औँलाहरु खुम्च्याएर पुच्छु हातैले । तर्सन्छु, देखिन् कि उनीले ? अँहँ किमार्थ देख्नेछैनिन्, सम्झाउँछु मनलाई ।
एउटा मीठो अविश्वास जाग्छ उनीप्रति । कामना गर्छु, उनी पटक्कै नआउन् आजको यो मेरो निम्तो स्वीकार्न । मेरो मुटु बेकारमा उफ्रिरहोस् । आँखा यही भीडलाई चीरफार गर्दागर्दै थाकून् चूरचूर हुँदै । पुसको ठिहिर्‍याउँदो जाडोमा पनि व्यर्थ म पसिनाले भिजूँ निथ्रुक्कै र आफैलाई ल्वाप्पा खुवाउँदै फर्कूँ करिब एक घण्टाको प्रतिक्षा पश्चात् ।

चोक नजिकै पत्रिकाहरु फिँजाएर राखिएको छ । म एउटा उठाउँछु र नाकको समिपमा लगेर रोक्न खोज्छु आँखाहरुलाई । आँखाहरु अखबारका अक्षरहरुसँग खेल्न मान्दैनन्, त्यताबाट फुत्केर दायाँबायाँको भीडमा पौडिन खोज्छन् । भीडको गहिराइबाट एउटा सुन्दर माछा पक्रिने ध्याउन्नमा छन् यी आँखाहरु ।
“उनी पटक्कै आउनेछैनिन् ।” ढाढस दिन्छु मनलाई । उनले मेरो निमन्त्रणा अस्वीकार गर्नसक्ने प्रशस्तै आधारहरु विद्यमान छन् । प्रमुख कारण नै यो छ कि उनी अर्थात् प्रणिता वाणिज्य विभागकी प्रमुख भएको नाताले उनी मेरो हाकिम हुन् र म उनको सिर्फ कारिन्दा हुँ । मैले आज विदाको सदुपयोग गर्दै उनको निवासस्थान नजिकैको चियापसलमा चिया खान निम्तो दिएको छु उनलाई ।
म अफिसमा आफ्नै कारिन्दीय कर्तव्यहरु निभाउँछु । अफिसमा उनको गहन प्रशासकीय जिम्मेवारी छ । नयाँनयाँ सिर्जनात्मक कार्यमा हात हाल्ने उनको रुची छ । सेवाग्राहीहरुलाई कसरी सरल, सुगम्य र सुपथ सेवा दिने भन्ने कुरामै उनी दत्तचित्त रहन्छिन् । त्यसो त औपचारिक सम्बन्ध बाहेक त्योभन्दा बढी हिमचिम हाम्रो केही पनि छैन हिजोआज । ,
तसर्थ मैले निम्तो दिँदैमा उनी आइहाल्छिन् भन्ने कुनै ग्यारेन्टी छैन ।
हिजोको दिन विदा हुनुभन्दा अगाडि उनी मेरो कोठामा छिर्दै भनेकी थिइन्, “के गर्दै हुनुहुन्छ पूर्ण दाइ ?”
मैले कम्प्युटर टेबुलबाट उनीतिर मन्टो फर्काउँदै भनेको थिएँ, “म नागरिक बडापत्रको विद्यमान ढाँचालाई केही व्यावहारिक बनाउने प्रयासमा छु, तयार गरेँ भने हजुरलाई देखाउँछु ।”
“धेरै राम्रो ! मैले तपाईँबाट यस्तै रचनात्मक कार्यको अपेक्षा गरेकी छु ।”
“धन्यवाद म्याडम् ।”
“अनि भोलिको विदा कसरी मनाउदै हुनुहुन्छ त ?”
म यस खालको प्रश्नको जवाफको लागि तयार भैहालेको थिइन । हडबडाउन पुगेछु । के जवाफ दिने कसरी दिने ?
“चिया खायो, पत्रिका पढ्यो, यस्तै यस्तै म्याडम् ।”
“पत्रिका पढ्ने बानी उस्तै छ है तपाईँको । तपाईँलाई विदाको दिनमा वानेश्वरमा चोकमा पत्रिका पढिरहेको प्रायशः देखिरहन्छु म ।”
यो प्रश्नले फेरि मलाई अलमल्याइदियो । म धनकुटाबाट भक्तपुरतिर भर्खरै आएको छु । विदा वा काजमा कहिलेकाँही आउँदा भक्तपुरबाट विदाको दिनमा काठमाण्डौँतिर आउँदै आउँदिन । आए पनि वानेश्वरमा त्यति ओर्लन्न । ओर्लिहालेमा मात्र उनले देखेको कुरा सत्य हुन सक्छ । तर मैले आफ्नो हाकिमलाई त्यो पत्रिका पढ्ने व्यक्ति म नहुन सक्छु कसरी भनूँ ?
“हजुर म्याडम् चिया पनि पिउँछु त्यता । रोज क्याफेको चिया मीठो लाग्छ मलाई” अनायास भनिदिन्छु म ।
मेरो जवाफले उनलाई कतै छोयो कि हेर्छु उनको मुहारतिर ।
उनको मुहारमा अवर्णनीय मुस्कानको कोपिला फक्रिन खोजेको अनुभूति गर्छु । म होसहवास गुम हुने अवस्थामा पुगेको छु ।
अनायास मुखबाट फुत्किन्छः “म्याडमलाई पनि चिया मन पर्छ भने भोलि बिहान ७ बजे रोज क्याफेमा मेरो निम्तो भयो ।” सोच्दै नसोचेको वाक्य कसरी रुद्रघण्टीमुनि निर्माण भएर मुखबाट फुत्कियो अलमलमा पर्छु । फुत्किएको वाक्य फिर्ता लिन सकिँदैन । जे त होला भन्दै उनको प्रतिक्रियाको प्रतिक्षा गर्दछु ।
“भैहाल्छ नि, निमन्त्रणाको लागि धन्यवाद । लागेको काम पनि सिध्याउनुहोस् है ?”
उनी मुस्कुराउँदै फटाफट बाहिर निस्कन्छिन् । म नतमष्तक भैरहेको छु । मैले कस्तो खालको औपचारिकता पूरा गरेँ ? ठीक गरेँ कि गरिन ? प्रश्नहरु झुत्ति खेलिरहन्छन् मनभरि । अफिसबाट कुन बेला कोठा पुगेँ याद केही छैन ।
बिहानै उठ्छु । शनिबारको लागि नै कैयौँ मैला कपडाहरु हप्तादिनदेखि मलाई पर्खेर बसेका छन् । हप्तौँ नबढारिएको कोठा मलाई नै पर्खिएर बसेको छ । अलिअलि पढाइलेखाइको काम पनि विदाकै दिन भनेर थाँति राखेको छु । पत्नी आफ्नै पढाइमा व्यस्त छिन् । केटाकेटीहरु मसँगै विदामा रमाउन चाहन्छन् । कसरी जाऊँ म यी साप्ताहिक अपरिहार्यताहरुलाई लत्याएर ? उनी निम्तो भनिएको ठाउँमा आउने नआउने पनि त कुनै निश्चित छैन ।
‘आउनुहुन्छ कि आउनुहुन्न म्याडम् ?’ भनी फोन गरेर सोध्न पनि हिचकिचाउँछु र ६ बज्नै थालेकोले हतारहतार बस समात्न पुग्छु । जसरी पनि हिचकिचाहट र व्यग्रतामा तैरँदैतैरँदै नयाँवानेश्वर चोक पार गरिसकेर पनि अहिले गन्तव्यमा उपस्थित भैसकेको छु ।

आँखाहरु केही चिज पक्रिएर ल्याएकोमा खुशीले उफ्रँदै छन् । ध्यान दिन्छु त्यतातिर मेरो समिपमा नै पत्रिका समातेर उभिँदै पढिरहेको नारी आकृति छ । पत्रिकाको थोरै काप बाँकी राखेर चियाउँछु राम्रोसँग । उनी तिनै प्रणिता हुन् भन्ने ठम्म्याइसकेपछि मुटु बाहिरै निस्कलाझैँ उफ्रन थालिसकेको छ । मैले हत्तपत्त सबै अनुहार छोप्छु पत्रिकाले । हातगोडा काँपिरहेको अनुभूति हुन्छ ।
“पूर्ण दाइ, आइसक्नु भो तपाईँ ?” उनको सुमधुर ध्वनिले मेरो बनावटी ध्यानलाई तान्न पुग्छ ।
पढ्ने बहानाले मुख छोपिरहेको पत्रिका हटाउँदै जुम्ला हात जोड्दै भन्छु, “आइपुगेँ म्याडम् । हजुरले पनि मेरो निमन्त्रणा स्वीकार गर्नुभएछ । खुशीले आल्हादित छु । म त आउनुहुन्न कि भन्ठानेको ।” एकै जवाफमा मनभित्र गाँठो परेका अविश्वासहरु पोख्न भ्याउँछु ।

मैले अत्यन्तै दुर्लभ अवसर प्राप्त गरेको छु । मेरो अगाडि मेरो चाहनाको अमूल्य निधि थुप्रिएको छ । त्यस निधिको चहकले मेरा आँखाहरु नै तिरमिराइरहेका छन् । निधारबाट निस्किएका खहरेहरु आँखामा पुगेर बिलाइरहेका छन् । आँखाको डिलभित्र जल भरिने क्रममा छ । पूर्व पश्चिम उत्तर र दक्षिण चारैतिरबाट हज्जारौँ माइलको दूरीदेखि विभिन्न बाधाहरु नाघ्दै समुन्द्र आँखा अगाडि आइपुगेको छ । त्यही सागरको गहिराइमा समिपको नारी निधि डुबिरहेको छ । वानेश्वरमा उर्लिएको मानव तथा सवारीसाधनको उर्लिएको खोला मात्र होइन सम्पूर्ण वानेश्वर क्षेत्र त्यही सागरभित्र चुर्लुम्म डुबिरहेको छ ।
“के लिनुहुन्छ ?”
“पानी, एक अन्जुली पानी ।” सायद मेरो शरीरभरिको पानी सिनित्तै सरेर आँखामा आइपुगेको छ र मुख प्याक्प्याक्ती सुकिरहेको छ ।
मैले के मागेँ यो ? आफैलाई धिक्कार्छु आफ्नो अगाडि पानीको सागर उर्लिरहेको छ तर मैले मागिरहेको छु एक अन्जुली पानी !
………………….. ………………………… …………………….. ………………….
करिब आठदश वर्ष अगाडि म जागिरीमा भर्खरै प्रवेश गरेको थिएँ । शुरुमै काठमाण्डौमै पदस्थापन भएकोले मैले सरकारी बस प्रयोग गर्न पाउने सुविधा प्राप्त गरेको थिएँ । मेरो अहोभाग्य नै थियो त्यो । म बसेको कोठा नजिकै सेतो प्लेटको सरकारी माइक्रो बस आइपुग्थ्यो र सफेद तथा स्निग्ध रङको बसमा खुट्टा राख्न पाउँदा मलाई औधि गर्वको अनुभूति हुन्थ्यो । मैले बस चढिरहेको वा ओर्लिरहेको दृश्य वरिपरिका अरुहरुले देखून् भन्ने चाहना हुन्थ्यो र गाडीको ढोकाबाहिर उभिएर बसभित्र बसेकाहरुलाई हात हल्लाइरहन्थेँ । मेरो यस खालको क्रियाकलापले बाहिरतिरकालाई प्रभाव पर्थ्यो कि पर्दैनथ्यो, तर गाडी चढ्नेहरुले मलाई एक अद्भूत सामाजिक प्राणी ठान्न थालेका थिए र यसै कारण उनीहरुसँग आत्मीयता पनि बढेको थियो ।
बसले भक्तपुरका विभिन्न स्टपबाट सरकारी कर्मचारीहरु बटुल्दै अगाडि बढ्थ्यो । काठमाण्डौवासी कर्मचारीहरुको वार्तालापभन्दा पनि भेषभुषा र मेकअप दर्शनीय लाग्थ्यो मलाई । जति हेरे पनि नअघाइने । दर्जनौँ कर्मचारीको फरकफरक आभुषण । त्यसबेलासम्म कर्मचारीको तोकिएको ड्रेस आइसकेको थिएन । नआउनुले पनि मलाई एकप्रकारको फाइदा नै भैरहेको थियो ।
कोटेश्वर ओरालो लागेपछि तीनचारजना महिला कर्मचारीहरु बस चढ्थे । तिनीहरुमा पनि दर्शनीय भेषभुषा हुन्थ्यो भनेर दोहोर्‍याउनै परेन । तर तिनीहरुको बीचमा एकजना यस्तो महिला चढ्थिन न तिनको आकर्षक भेषभुषा थियो न त कुनै नक्कली मेकअपमा नै सजिएकी हुन्थिन् । सेतोसेतो खालको टिसर्ट हुन्थ्यो तल त्यस्तै कलर म्चाच गर्ने पाइजामाजस्तै खुकुलो पाइन्ट हुन्थ्यो । कैलो खालको छोटोछोटो कपाल कतै नबाँधिएर कुमकुममा छाडिएको हुन्थ्यो । नाक कानमा सांकेतिक मसिना फुलीहरु मात्र हुन्थे, जुन टाढाबाट हत्पति देखिँदैनथे । आँखामा गाजल, गालामा पाउडर र ओठमा लालीको कतै लेष पनि थिएन । रङ्गीबिरङ्गी कर्मचारीहरुको बीचमा एकदमै फिका लाग्थिन् उनी । शरीर पोष मात्र नभई स्वभाव पनि त्यस्तै थियो । अरुभन्दा अलि बढी गम्भीर देखिन्थिन् । बोल्दा ओजपूर्ण दुईचार कुरा गर्थिन्, नत्र यात्राभर चुप नै रहन्थिन् ।
सायद अरुले मलाई पनि यस्तै एउटा फिका खालको एकलकाँटे जन्तु देख्थे होलान् भनी अनुमान गर्थेँ । मैले यात्राभर आफूलाई एक्लो महशुश गरिरहन्थेँ । उनको उपस्थितिले भने मलाई परोक्ष ढाढस दिन थालेको थियो । म प्रायः पछिल्लो सिटमा बस्ने भएकोले प्रत्येकको बसाइ उठाइको अवलोकन गर्न सक्थेँ र सबैलाई चिन्न पनि सक्थेँ तर मलाई भने अगाडि बस्नेहरुले उति देख्दैनथे र चिन्दैनथे पनि । उनको लागि सधैँ अघिल्तिरकै सिट खाली बचेको हुन्थ्यो ।
एकदिन म पनि अघिल्लो सिटमा बसेको थिएँ र कोटेश्वरको ओरालोबाट उनीसँगै अफिससम्मको यात्रा जुट्यो । सामान्य परिचय भयो । उनी झापाली रहिछन्, नाम प्रणिता, सूचना मन्त्रालयकी खरिदारस्तरकी कर्मचारी रहिछन् । मैले आफू तेह्रथुमको बासिन्दा भएको र सामान्य प्रशासन मन्त्रालयको नासु स्तरको कर्मचारी भएको जानकारी गराएँ । उनी पनि लोकसेवाको शाखा अधिकृत तयारीमा जुटेकी रहिछन् । मैले उनलाई हौसला दिएँ: “तपाईँ यसै वर्ष शाखा अधिकृत पास गर्न सक्नुहुन्छ । पढाइलाई निरन्तरता दिनुहोला ।”
नभन्दै उनले त्यसै वर्ष शाखा अधिकृतमा नाम निकाल्न सफल भइन् । म फाइल बढुवाबाट शाखा अधिकृत भएँ । संयोगवश् हामी दुवैजना लोकसेवा आयोगको धनकुटास्थित निर्देशनालयमा पोष्टिङ हुनपुग्यौँ । पूर्व परिचित भएको नाताले हामी अरुभन्दा बढी नै एकअर्काप्रति निकट रहन थाल्यौँ ।
उनले मलाई ‘दाइ’ भनेर बोलाउँथिन् । मैले पनि उनलाई ‘बहिनी’ भन्न मात्र होइन मान्न थालेको थिएँ । बहिनी मानेकोले उनलाई तपाईँबाट तिमीको दर्जामा झारेको थिएँ । कहिलेकाँही त ‘तँ’ सम्बोधन गरेर पनि बोलाउँथेँ । यो सम्बोधनले उनी झनै खुशीले चङ्गा हुन्थिन् ।
उनकै प्रस्ताव थियोः “अब हामी उपसचिवको तयारीमा जुट्नुपर्छ ।”
लोकसेवाको तयारी भन्यो कि मेरा नौनाडी गलेर आउँथे । तर ‘म सक्दिन ‘ चाँहि भन्दैनथेँ ।
“हो, लाग्नुपर्छ । तिमी नोट बनाऊ । म त्यही पढुँला ।”
उनको पढाइ विश्लेषणात्मक हुन्थ्यो । नोट संक्षिप्त तर सम्पूर्ण हुन्थ्यो । मेरो साहस पनि बढ्थ्यो कहिलेकाँही, यिनको नोट मात्रै पढेँ भने मैले पनि उपसचिव पास गर्नसक्छु ।
हाम्रो शाखा अलग अलग भए पनि घरिघरि कि त उनी मेरो शाखामा आउँथिन् कि उनको शाखामा म जान्थेँ । अलगअलग कार्यविभाजन भए पनि हामी एकअर्काको मद्दत लिएर मात्र काम गर्थ्यौँ । हामी एकअर्काको डेरामा पनि बिना रोकटोक जान्थ्यौँ । कहिले मेरोमा खाना पाक्थ्यो त कहिले उनको भान्छामा हाम्रो संयुक्त खाना पाक्थ्यो । हामीबीच यो झ्याम्मिँदै गएको सम्बन्ध अरु कर्मचारीहरुलाई पटक्कै पचिरहेको थिएन । उनीहरुमध्ये महिला कर्मचारीहरुले उनलाई र पुरुष कर्मचारीहरुले मलाई जिस्क्याउन पुग्थे: “यति सम्बन्ध विकसित भइसकेको छ, अब छिट्टै बिहे गरे पनि भैहाल्यो नि !”
यो जिस्क्याइ असाध्यै पिरो लाग्थ्यो र प्राणघातक लाग्थ्यो । आँखाबाट रिसका झ्वाँला छुट्थे । लाग्थ्यो यिनीहरुको थुतुनो च्यातिदिऊँ । तर पदीय हैसियतले त्यसो गर्न सुहाउँदैनथ्यो । विरोधस्वरुप यति मात्र भन्थ्यौँ कि “हामीबीच विशुद्ध भाइबहिनीको पवित्र सम्बन्ध छ । त्योभन्दा परको पाप सोच्दै नसोच्नुहोस् ।”
“प्रेम गरेर बिहे नगर्नु बरु महापाप हो । तपाईँहरुको आँखामा हामीले असली प्रेम फुलिरहेको देखेका छौँ ।” उनीहरु झनै जिद्दि गर्थे । हामीले जस्तोसुकै स्पष्टीकरण दिए पनि उनीहरु पटक्कै पत्याउँदैनथे ।
अफिसमा त कामले उनीहरुका तीखा वाणको घोचाइलाई भुलाउन सक्थ्यो । जब कोठा पुग्थेँ त्यो घाउको मारवश् असाध्यै छटपटिन्थेँ म । प्रेमलाई मान्छेले के बुझिरहेको छ ? आमाछोरा बीचको प्रेम कस्तो हुन्छ ? भाइबहिनीबीचको प्रेम कस्तो हुन्छ ? प्रेमीप्रेमिकाबिचको प्रेमका लक्षणहरु के के हुन् ? के कुराले छुट्ट्याउँछ यी फरकफरक सम्बन्धहरु बीचको प्रेमसम्बन्धलाई ? आमासँग बिछोडको पीडा र प्रेमिकासँग बिछोडको पीडाबीच फरक कुनचाँहि मानवीय भावनाले छुट्टिन्छ ? बहिनी तथा छोरीसँग हुने मिलनको हर्ष र प्रेमिकासँग हुने मिलनको हर्षमा के कुरामा आधारभूत फरक छ ?
यौनिकता ? के यौन प्रेम हो ? हो भने प्रणितासँग मेरो कुनै यौन चाहनाको लेष पनि छैन । प्रणितासँग भाइबहिनीकै सम्बन्ध हो भनेर बुझाउन के के प्रक्रियाहरु पूरा गर्नुपर्ने हो मैले ? के तिहारमा माला थाप्दैमा भाइबहिनीको सम्बन्ध स्थापित हुने हो ? त्यसो हो भने पनि ऊ सहमत छैन किनकि ऊ क्रिस्चियन हो । खीमा, चन्द्रा, पार्वती, गङ्गा र पुनम जस्ता मेरा काकाचेली, फूपूचेली तथा मामाचेलीहरु छन् । उनीहरु कुनै चानचुने प्रेमिकाको भन्दा हजारौँ गुणा बढी दाजुको नाताले आदरस्वरुप प्रेम गर्छन् मलाई । उनीहरु मेरा सहोदर बहिनी नभए पनि म पनि उनीहरुलाई उत्तिकै बहिनीको नाताले प्रेम गर्छु । त्यो प्रेम के हो ? अनावश्यक हो ? पापपूर्ण हो ?
यौनजस्तो सबैभन्दा तुच्छ र पापपूर्ण मानवीय क्रियालाई किन प्रेमको कसी बनाउन खोज्छन् मान्छेहरु ? कतै यही बुझाइको पराकाष्ठा त होइन बलत्कारजस्ता सामाजिक जघन्य अपराधहरु ?
मेरो यस प्रकारको बैचारिक छट्पटी धेरै दिनसम्म रहेन । किनकि उनले एकवर्षकै अवधिमा खुल्लातर्फबाट सहसचिवमा नाम निकालेरै छोडिन् र उनको पोष्टिङ काठमाण्डौमै भएकोले उनी तुरुन्तै त्यता रवाना भइहालिन् । उनलाई विदाइ गर्दा मेरो दिलमा बिछोडको एउटा घाउ लाग्न पुगे पनि उनको लोभलाग्दो उन्नतिले मलहमको काम गरेकोले त्यतिविधि चहराउन पाएन । उनको छलाङपूर्ण बढुवाले कुरा काट्नेहरुको मुखमा एक्कासी बुजो लाग्नपुग्यो । उनीहरुमा एउटा विश्वासको आधार के बन्यो भने एकजना शाखाअधिकृत र एकजना सहसचिवबीचको साविक सम्बन्ध अब नराम्ररी चुँडिनपुग्यो । अब कदापि कायम रहनेछैन ।
म भने यो कुरा मान्न तयार थिइन । उनी रवाना भए पनि मैले उनलाई फोन गरेर झिज्याइरहन्थेँ । मैले उनलाई सहोदर कान्छी बहिनीसरह देखिरहेँ, सोचिरहेँ ।
उनको अनुपस्थितिमा उनको विषयमा थुप्रै कविता र कथाहरु पनि लेखेँ र उनलाई मेल गरेँ । मेरा हरेक रचनाहरु दिलचस्पि दिएर हेरिदिएको कुरा उनको कमेन्टले छर्लङ्ग हुन्थ्यो । जब उनी अमेरिका गइन् त्यसपछि झन् नेपालको बारेमा सूचनाहरु संकलन गरेर उनलाई पठाइदिने मेरो नियमित काम नै भयो । उनी अमेरिका जाँदा हामीबीचको दूरी नबढेर झन्झन् घट्न पुग्यो । तर आफूले सोचेझैँ परिस्थिति अनुकुल र सधैँ एकनाश नहुँदो रहेछ ।

जब अमेरिकाको केही हप्ताको बसाइपछि नेपाल फर्किइन् हामीबीचको संवाद एकाएक पातलिँदै गयो । बिस्तारै मैले पठाएका इमेल सूचना र कथाकुथुङ्रगीहरु उनले हेर्नै छोडिन् । उनकै विषयमा लेखिएका लेखनीहरु उनले नै नहेरिदिएपछि मैले पनि उनको विषयमा लेख्न छोडिदिएँ ।
उनमा जिम्मेवारीको बोझ अभूतपूर्व थपिएको थियो । मैले तारन्तार फोन गर्दा कहिलेकाँही दिक्क मानेको स्वरमा “काममा छु है । फुर्सदमा कुरा गरौँला” भन्थिन् उनी । कहिलेकाँही त कैयौँ घण्टी पनि उनले उठाउँदैनथिन् र फुर्सदमा पनि रिस्पोन्स गर्न छोडेकी थिइन् । मैले उनको बढ्दो जिम्मेवारीको बोध गर्थेँ र फोन नगरेको भए पनि हुने भन्दै आफैलाई धिक्कार्न पुग्थेँ ।
कुरा काट्नेहरुले सोचेझैँ परिस्थिति बदलिँदै गयो । हाम्रो सम्बन्ध दिनदिनै कुनै कारणविना नै चिसिँदै चिसिँदै जानथाल्यो । अब हप्तादिन मात्र होइन महिनौँ दिनसम्म पनि हाम्रो फोनमा संवाद हुँदैनथ्यो ।
‘आफ्नै सहोदर बहिनी भइदिएको भए त माथिल्लो पदमा पुग्दा आफ्नो दाइलाई झनै खुशीले मरिमेटेर प्रेम गर्थी होली !’ भन्नेसम्मको आफ्नी हुनु र नहुनुबीचको भेद खोतल्न थालिसकेको थिएँ मैले ।
………………. ………………………. …………………………..
दुई वर्ष अवधि पुगेपछि मेरो पनि काठमाण्डौमा सरुवा भयो । म वाणिज्य विभागमा सरुवा भएको थिएँ । म यतिसम्म बेहोशी थिएँ कि आफू सरुवा भएर जाँदै गरेको अफिसमा को हाकिम छन् भन्नेसम्म पनि रत्तिभर चासो राखिन ।
महानिर्देशक नेमप्लेट झुन्ड्याइएको कोठाभित्र अलिकति नौलो र विचलित मनोदशा सहित छिर्नेबित्तिकै म झस्किएँ । त्यहाँ उनै मेरी प्यारी बहिनी प्रणिता महानिर्देशकको कुर्सीमा बिराजमान थिइन् ।
कम्तीमा नेमप्लेट हेरेको भए त स्वाभाविक हुँदै उनको अगाडि प्रस्तुत हुन पाइन्थ्यो भन्दै आफैलाई धिक्कारेँ । केही बेरसम्म के गरुँ कसो गरुँ को असमन्जसमा परिरहेँ। उनले मलाई पुलुक्क हेर्नेबित्तिकै मैले उनलाई हात जोडेँ. उनले फर्काइन् र हाम्रो सामान्य अफिसियल औपचारिकता पूरा भयो ।
उनले मलाई शाखा तोकिदिइन् । कार्यालय शुरुप्रवेशकै दिनमा शाखा सम्हाल्न पाएकोमा मैले आभार व्यक्त गर्न भने चुकिन ।
मैले शाखाको जिम्मेवारी सम्हालेको कुरा पहिल्यै मेरो अर्धाङ्गिनीसम्म पुगिसकेको रहेछ, मैले कोठामा पाइला राख्न नपाउँदै उनले हकार्न पुगिन्, “तिमीले यहाँ आएर पनि पुनः कामै नहुने शाखा पायौ रे हैन ? कसरी पाल्छौ जहानबच्चा काठमाण्डौको यस्तो महंगीमा ? तेह्रथुमतिरै घरपायक सरुवा माग्नु भनेर कति भनेकी थिएँ मैले ! किन माग्नुपरेको होला फेरि काठमाण्डौमैँ सरुवा ?”
म अनपेक्षित परिस्थितिले पुनः बिलखबन्दमा पर्न पुगेँ । साँच्चिकै के मैले पाएको शाखा काम नै नहुने शाखा हो त ? के उनले जानीजानी काम नहुने शाखामा मिल्काउन खोजेकी हुन् त ? के मैले त्यस शाखामा काम गरे वापत मासिक तलब पनि पाउँदिन ? शाखा पाएकै निहुँमा यसरी क्रोधित हुने श्रीमतीको कानमा शाखा तोक्ने वर्तमान हाकिम आफ्नै पुरानो चिनजानकै मित्र हुन् भन्ने समाचार समेत पुगे उनले के सोच्लिन् ? हाम्रो तत्पश्चात्को सम्बन्ध कस्तो होला ? मैले त्यति परसम्म सोच्नथालेछु ।
“भर्खर त आउँदैछु । एकदुई हप्तापछि अर्को शाखा पनि पाइहालौँला नि । हातमा सिप छ, झोलामा योग्यताका प्रमाणपत्रहरु छँदैछन् भोकै मरिँदैन के ।” मैले उनलाई सम्झाउने प्रयत्न गरेँ । तर वास्तविकता भने उनले भने अनुसारकै थियो ।
भोलिपल्ट म समयमा त अफिसमा पुगेँ तर उनलाई भेट्ने साहस गरिन । मलाई हामीबीचको पुरानो सम्बन्धबीच अफिसको औपचारिकता घाँडोजस्तै झुण्डिरहेको महशुश गरेको थिएँ । म के कुरामा सतर्क थिएँ भने यी समस्याहरु पोख्ने ठाउँ अफिस हुँदै होइन । आफ्ना समस्याहरु उनलाई खुलस्त थाहा छ र मैले दर्शाउनेबित्तिकै समस्या समाधान भइहाल्नेछन् । यसको लागि अफिसबाहिरको वातावरण मात्र उपयुक्त हुनेछ ।
मेरो यही गुह्य मतलब थियो उनलाई चियाको निम्तो दिनुको ।
……………………. ……………………………… …………………………………
र अहिले त्यो आकस्मिक चिया निम्तो समेत स्वीकार गरेर उनी मेरो अगाडि खडा थिइन् ।
मैले शुरुमा उनलाई देखेको रुपरङ्ग सम्झन पुगेँ, फिक्का भेषभुषा, फिक्का रुपरङ्ग । तर त्यही फिक्कापननै हाम्रो सम्बन्ध जोडिनुको मूल आधार थियो । सायद उनी अरु जस्तै साजसज्जीपूर्ण रुपमा उपस्थित भइदिएको भए उनीसँग परिचय पनि हुन्नथ्यो कि ?
अहिले उनको सजावट विहङ्गम छ । रङ्गीबिरङ्गी देखिने कपाल सलक्क कटीसम्म पुगेको छ । चमकयुक्त चिल्लो साडीको पहिरनमा असाध्यै खुलेकी छिन् । आँखामा कालो गोगल्स छ । सायद भर्खरै ब्यूटीपार्लरबाट निस्किएर आएको हुनुपर्छ । शरीरको अत्तरको सुगन्ध मभन्दा पनि धेरै परपरसम्म पुगेको होला ।
“जे जस्तो भए पनि यिनी मेरी बहिनी हुन् ।” मैले मनलाई थामथुम पार्छु ।
मेरो आँखामा अश्रु सागर उर्लिएको छ । उनको आँखा शुष्क तर चनाखा भइरहेका छन् । मैले अनुमान गरेको छु, मेरो आँखाको डिलभित्रको सागर केही क्षणमै फैलिएर उनको आँखासम्म पुग्नेछ ।
यिनी यति नजिक छिन् कि मैले चाहेमा ग्वाम्लाङ्गै अँगालोमा बेर्न सक्छु । ‘बहिनी !’ भन्दै अनुहारैभरि चुम्बनै चुम्बनको डाम पार्न सक्छु । सायद बढेकी बहिनीलाई चुम्बन दिनु सामाजिक आचारभित्र पर्दैन होला । मैले कल्पना नै नगरेको पद, प्रतिष्ठा, सुन्दरता, माया, प्रेम, सद्भावयुक्त सिँगै महासागर मेरै निमन्त्रणामा मेरो अगाडि सिङ्गै उपस्थित छ ।
“म्याडम, चिया खाऊँ ?”
“पर्दैन, पर्दैन, सिँहदरबारतिर खाउँला । बरु हिँड्नोस् मसँगै ।”
मेरो आशा विपरीत निम्तो अस्वीकृत हुनुपुगेको शुरुकै वचनले म बिचलित हुन पुग्छु । पुनः चियाको लागि जिद्दी गर्न सक्तिन । किनकि अस्वीकृति भनेको अस्वीकृति नै हो । लाचार भएर म उनको पछिपछि लाग्छु ।
उनी उत्तरपूर्वतिर रोकिराखेको एउटा चिल्लो कारको पछिल्लो ढोका खोल्छिन् र मलाई पनि संगै बस्न आदेश दिन्छिन् ।
म र उनी एउटै सिटमा झण्डैझण्डै छोइएर बस्न पुगेका छौँ । मैले विगतमा उनीसँग चिनजान हुन पुगेको बसको सिट झल्झली सम्झन्छु । त्यतिबेला थुप्रै साथीहरु वरिपरि राखेर परिचय साटासाट गरेका थियौँ । सायद त्यो बसको सिटबाट मेरो पसिनाको दुर्गन्ध उनको नाकमा समेत पस्यो होला । अहिले मेरो पसिनालाई उनको अत्तरले निलिरहेको छ र यस सम्बन्ध बारे बेखबर ड्राइभर बाहेक उनी र म एक्लै छौँ यहाँ । सम्बन्धको नवीकरण वा पुनःनिर्माणको आवश्यकता त जरुर नै छ तर कस्तो खालको सम्बन्ध ? अब के त्यो भाइबहिनीको सम्बन्धभन्दा पर जान सकौँला ? कि औपचारिक अफिसियल सम्बन्ध बाहेक बाँकि सबै प्रकारका सम्बन्धहरु निर्मुल पार्न उपस्थित छौँ हामी ? यो कुरा आजै छिनोफानो हुनुपर्छ भन्ने पनि लागिरहेको छ मनमा ।
म कारमा असजिलोसँग बसेपछि कारको सिसा खोल्न खोज्छु यसर्थ कि म कोसँग टाँसिएर बसेको छु बाहिरतिरका सबैले देखून् । ‘को’ भन्नाले पद, प्रतिष्ठा, सुन्दरता, कौमार्यता आदि आदि । तर यी यावत परिचयहरु प्रेमको दायराभित्र पर्छन् कि पर्दैनन् ? छुट्ट्याउन सकिरहेको छैन । किन किन उनीसँगको सामिप्यताले मलाई गौरवान्वित हुनुको हौसला प्रदान गरिरहेको छ । मलाई अहिले त्यही चाहिएको छ. जो उनले प्राप्त गरिसकेकी छिन् र उनले गरेको प्राप्तिको हैसियतबाटै म देखिन र चिनिन चाहन्छु । के यो प्रेम हो कि लालसा हो ? माया हो कि मोह हो यो ?
उनले मेरोतिरको झ्यालको सिसा बन्द गर्दै भन्छिन्, “बाहिर चिसो छ, सिसा बन्द गरेर एसि खोल्दा न्यानो हुन्छ नि !”
मतर्फको सिसा बन्द गर्दा उनी मेरो जीउमा लपक्कै टाँसिएकी छिन् उनको शरीरको सुगन्धको आधा भाग मेरो जीउमा समेत सरेको हुनुपर्छ ।
म अर्कोपटक अस्वीकृत हुन पुगेको छु । आफूलाई चिनाउने मेरो प्रयत्न धुलिसात् हुन पुगेको छ र म कालो सिसाभित्र कैद हुन पुगेको छु । म बाहिरतिरको सबै दृश्य देख्न सक्छु तर कारभित्र बसेका हामीहरुलाई कसैले देख्न सक्दैन, अर्थात् म कोसँग बसिरहेको छु भन्ने कुरा अरुको नजरबाट छेकिइसकेको छ । म उनको नामले चिनिनबाट पुनः वन्चित हुन पुगेको छु । यसबाट अर्कोतिर फाइदा के भएको छ भने म नजिकै बसेको व्यक्तित्वको पद, प्रतिष्ठा, सुन्दरता, सुवासना मेरो मात्र हुन पुगेको छ अर्थात् मेरी बहिनी प्रणिता मेरी मात्रै हुन पुगेकी छिन् । प्रणितासँगै उनको कार र उनको ड्राइभर पनि मेरै हुन पुगेको छ यतिखेर ।
मलाई के लागेको छ भने अब यिनले खोतल्न थाल्नेछिन् हाम्रो शुरुको परिचयदेखिको नौलो इतिहास तथा धनकुटा बस्दाका आत्मीय क्षणहरु । उनीतिर हेर्छु, उनी उसैगरी गजधम्म निशब्द बसिरहेकी छिन् । नयाँवानेश्वरदेखि तलैसम्म जाम देखिन्छ सवारीसाधनको, सायद सिँहदरबारसम्मै पुगेको होला । यो जामले उनमा बेचैनी बढाएको जस्तो बुझ्दछु तर मेरो लागि भने समय उब्रिएको छ । म खुशी छु उनलाई बेचैनी बढाएर फुत्किँदै गरेको समय पनि जम्मै मेरो हुन पुगेको छ । यसरी प्राप्त गरेको यथेष्ट समयबाट मनग्गे कुरा गर्न पाउनेछु मैले उनीसँगको शून्य समयमा ।
जाम पनि बिस्तारै खुल्न थालिसकेको छ । कार बिस्तारै अगाडि बढ्छ । वरिपरि अरु कारहरु हाम्रो कारसँगै टाँसिएर पाइलापाइला गर्दै अघि बढिरहेका छन् । अलिकतिको पनि जोकसैको हेलचेक्र्याइँले दुर्घटना हुनसक्छ । तसर्थ हामीतिर बेपरबाह छ ड्राइभर र हामीबाहेक अगाडिपछाडि वरिपरि र सिधा अगाडि चियाउनमै व्यस्त छ ऊ । हामीहरु पाइलाको हिसाबले धेरै अगाडि बढिसकेका छौँ । सयौँ सेकेन्डको अवधिमा पनि उनी बोल्ने छाँटकाँट नदेखेपछि म नै बोल्न अगाडि सर्छु:-
“म्याडम् ?”
उनी अलिकति झर्किन्छिन् : “मलाई तपाईँको बारम्बारको ‘म्याडम’ ‘म्याडम’ भन्ने सम्बोधनले कताकता घोचेको जस्तो लाग्छ । प्लिज यो शब्द प्रयोग नगरे हुन्न ?”
म खङ्ग्रङ्ग हुन पुग्छु । साँच्चिकै कति बेहोशी छु म । ‘म्याडम’ नभनेको भए पनि हुने उहाँलाई । म्याडमले त निजत्वको अर्थ दिन सक्छ । उनी अब मेरो निजत्वबाट फुत्किएर धेरै टाढा पुगिसकेकी छिन् । मेरो पत्नीलाई साथीभाइले पूर्णसरको म्याडम् भन्छन् तर मैले उनलाई आजसम्म म्याडम भनी सम्बोधन गरेको छैन । यिनी त मेरो कार्यालयकी हाकिम पो हुन् । त्यति मात्र कहाँ हो र विभागीय महानिर्देशक हुन् । मैले त डिजिसाब् वा हाकिमसाब् शब्दले पो सम्बोधन गर्नुपर्थ्यो त । यतिसम्म पनि हेक्का राखिनछु मैले । म आफैलाई घरिघरि धिक्कार्छु ।
त्यसो त एकडेढ वर्ष पहिलेसम्म मात्र उनलाई तँ सम्म कारेर पनि बोलाइन्थ्यो । तँ सम्बोधन गर्दा पनि यिनी कति फुरुङ्ग पर्थिन् । ती कुरा ? ती सब कुरा बिर्सनुपर्छ मैले अब । अब उनीसँगको सम्बन्ध कारिन्दाको मात्र छ र रोजीरोटीको मात्र छ । उनी पदीय अनुशासनकी निर्देशनकर्ता हुन् म सिर्फ अनुशासन पालक मात्र हुँ । कति फरक छ उनी र ममा । तैपनि मैले घरिघरि म्याडम् भनिरहेको रहेछु । मैले धेरै कुराहरु सोचेर मात्र बोल्नुपर्छ ।
मलाई मेरो श्रीमतीले हकारेको कुराले घरिघरि चिमोटिरहेको छ, ‘कसरी पाल्छौ महंगीमा जहानबच्चा ?’
मैले विकल्प खोज्नैपर्ने भएको छ र विकल्प खोज्नलाई विलम्ब भइरहेको छ । विकल्पको लागि अनुरोध गर्ने चीरपरिचित मान्छे पनि त भेट्टाएको छु । समीपमै । अहिले दुवैजना एक्लैएक्लै जस्तै छौँ । मैले योजस्तो एकान्त समय अन्त पाउनेछैन ।
गाडी बिजुलीबजारको पुल तरेर बबरमहलको मोडमा पुगिसकेको छ । म फेरि बल गर्छु, मैले जसरी पनि अनुरोध गर्नैपर्छ ।
“हाकिमसाब् ?”
उनी विजयोन्मत्त भावमा देखिन्छिन् र बिस्तारै मुख खोल्छिन् । उनका ओठहरु केही भन्न फरफराइरहेका छन् । म दोधारमा छु सशंकित पनि छु । के भन्नेहुन् अब यिनले ? ‘हाकिमसाब’ सम्बोधनमा पनि कुनै दोष छ कि वा कुनै खोट छ कि ?
अब उनको नजरमा पनि सागर उर्लने पालो सरेको स्पष्ट देखेको छु । तर त्यो सागर घृणाको होला कि ? रिसको होला कि ? हर्षको ?
मेरो प्रतिक्षाको घडीलाई समाप्त गर्दै उनको मुखबाट बोली फुट्छः “भन्नुहोस् मेरो प्यारो दाइ, नहिच्किचाइ भन्नुहोस् । म उही तपाईँकी प्यारी बहिनी हुँ । पद, प्रतिष्ठा फेरिए पनि हाम्रो सम्बन्ध पटक्कै फेरिएको छैन । मलाई पहिलेजस्तै तँ सम्बोधनले बोलाए पनि हुन्छ ।”
उनको यो भनाइ कानमा गुन्जिरहन्छ केही बेर । म सतर्क हुन्छु म कल्पनामा चुर्लुम्मै डुबेर दिवास्वप्न त देखिरहेको छैन ? उनलाई उही कारमा चुलबुले नजरले आफ्नो जिज्ञासाको प्रतिक्रियाको लागि प्रतिक्षारत रहेको देख्छु र यथार्थ महशुश गर्दै म हर्षले आल्हादित हुन्छु । मेरो आँखामा पनि उताको सागर उर्लँदै आइपुग्छ ।
“पानी !” भन्छु म,
कारमा राखिएको मिनरल वाटर मेरो हातमा थमाइदिन्छिन् उनी ।
बोत्तलभरिको पानी रित्त्याएपछि उनलाई पुलुक्क हेर्छु । मेरा सजल नेत्रले उनलाई उस्तै फिका देख्छन् जस्ती पहिलो भेटमा देखिएकी थिइन् ।
म सम्हालिँदै भन्छुः “मेरो पत्नी घर पायकमै सरुवा होस् भन्ने चाहन्छिन् । म तेह्रथुममै जान चाहन्छु ।”
उनीसँग जे कुराको माग राखियो त्यसलाई परीक्षण गरिहेर्छु । के भनेँ मैले यो ? संयोगले उनको अफिसमा आइपुगेको छु, तर आइनपुग्दै मागेको छु सरुवा हुन । किन भन्नु परेको होला यो मलाई ? बरु अर्को शाखा देऊ बहिनी भने पनि त हुने !”
मेरो मागले उनीमाथि के प्रभाव पर्‍यो जाँच्छु । उनी स्वाभाविक अवस्थामा नै छिन् र थप्दैछिन्:
“म पनि त्यही सोचेर सिँहदरबार जाँदैछु । मेरो सरुवा तेह्रथुम जिल्ला प्रशासनमा भइसकेको छ । तपाईँको सरुवा पनि त्यतै गराउँछु । यस पटकको तिहारमा माइती घरमै पुगेर दाइको गलामा मालाले सजाउन खुब रहर छ मलाई ।”
उनको यो अनपेक्षित प्रतिज्ञाले म हर्षले गदगद हुन्छु र नधितिउन्जेलसम्म उनको मुहार हेरिरहन्छु । एकजना क्रिस्चियनले सनातन धर्मको अनुसरण गर्ने प्रतिज्ञा गरेकी छिन्. सिर्फ भाइबहिनीबीचको अमर सम्बन्धलाई दीगो तुल्याउनको लागि र मेरो समाजलाई आधार प्रमाण देखाएर विश्वास दिलाउनकै लागि भए पनि ।
मेरो कर्मचारी परिचयपत्र घरमै छुटेकोले उनीसँग बिदा माग्दै म सिँहदरबार गेट बाहिर नै झर्छु र सिँहदरबारभित्र प्यारी बहिनी प्रणिता चढेको कार बिस्तारै चिप्लिँदै गएको परपरसम्म हेरिरहन्छु ।

मेरो शरीरमा सरेको प्रणिताको आभुषणको हल्का सुगन्धले मेरो पसिनाको दुर्गन्धलाई अझै पनि जितिरहेको जस्तो भान भैरहेको छ ।

२०७५।०६।०२ भैरहवा

42 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *