पहलकदमी

जब पुसमाघको अति जाडो मौसम आउँछ, त्यो डाँडोले दिउँसो दशबजेसम्म घाम छेकेर चिस्याइराख्छ । अनि, सोलाबाङ कठ्याङ्ग्रिएर थुरथुर काँपेको मज्जाले हेरिरहन्छ । जब गर्मीको समय आउँछ झुल्कनेबित्तिकै दिनलाई यतै लखेटिदिन्छ र दिनभरिको उखरमाउलो दिनको पोलाइले ऐया र आत्थु पारिरहन्छ । सोलाबाङ, जो मुसिकोटको पाउ हो, बसेर हेर्दा भलाक्चा अत्यन्तै दुरुह र पीडादायक लाग्छ । त्यो भलाक्चा, मुसिकोटको सधैँ कडा प्रतिष्पर्धी रहिआएको छ ।

भूगोलको हिसाबले पनि मुसीकोट डाँडा जसरी घोडाको पिठ्यूँको आकारमा पूर्वपश्चिम सुलुत्त परेर फैलिएर उभिएको छ, भलाक्चा डाँडाको संरचना पनि ठ्याक्कै उस्तै छ । तर त्यो अग्लो छ र हात्ती आकारको छ । राजनैतिक हिसाबले पनि मुसिकोटका नेताहरुकै प्रतिष्पर्धाका नेताहरु जन्माइरह्यो भलाक्चाले । बौद्धिक हिसाबले, मुसिकोटका दक्ष प्राविधिक जनशक्तिभन्दा अब्बल र डबल जनशक्ति जन्माएको हुनुपर्छ भलाक्चाले । समाजवादका पाइला पछ्याउने पहलकदमी उठाउनेमा पनि भलाक्चा नै अगाडि हुनुपर्छ भन्ने लाग्छ मलाई ।

यदि तपाईँ पश्चिम रुकुम पुग्नुभयो, तर पूर्वी रुकुम पुग्न सक्नुभएन भने भलाक्चासम्म पुगे हुन्छ । पूर्वी रुकुमका धेरै विशेषताहरु भलाक्चाले अद्यापि अँगालोमै बेरेर राखेको हुनुपर्छ ।

जब म सेरीगाउँबाट आठकक्षा पढ्न खलंगा हाइस्कूल उक्लिएँ, मैले दशकक्षा नसकुन्जेल भलाक्चे हिमबहादुरको कडा प्रतिष्पर्धाको सामना गर्नुपर्‍यो । भलाक्चातिरबाट आउने विद्यार्थीहरुका टाउकाहरु नै बडेमानका हुन्छन् । उनीहरुको पाखुरातिर तपाइँका नजर पुगे भने सातो जानसक्छ, यामानका ठूलाठूला हुन्छन् । अझै डरलाग्दा त पिँडौला हुन्छन् । पहलमानका जस्ता फनक्क बटारिएका । हात्तीजस्तो शरीर हुन्छ । हात्तीमा मानिसजस्तै बुद्धि भैदिएको भए के हुन्थ्यो ? अस्तित्व रहन्थ्यो होला यो मान्छे नामको पशुको ? तर ती हात्तीहरुमा दिमाग पनि भरेर पठाइएको चुनौतीपूर्ण इलाका हो भलाक्चा । यस्तासँग प्रतिष्पर्धा गर्न कति सकसपूर्ण हुन्थ्यो होला ।

अहिले भने मुसिकोटले आफ्नो अँगालोमा बेरिसकेको रहेछ त्यो सन्निकट प्रतिष्पर्धीलाई । खुशी हुनुपर्ने हो म । तर पटक्कै खुशी हुन सकेको छैन । लाग्छ, नजिकैको प्रतिष्पर्धीलाई समाप्त गर्नु भनेको आफ्नै प्रतिष्पर्धी योग्यताहरु समाप्त गर्नु हो । आफ्नै दक्षताहरुलाई कमजोर तुल्याउनु हो ।

मेरो माइलामामा लक्षिराम वर्षौँवर्ष भलाक्चामा शिक्षक हुनुभयो । त्यतैबाट बिहे गर्नुभयो । अहिले मेरो मामाघरको एक हँगालोमा भलाक्चाकै रगत बगिरहेको छ । मामा आफै विलक्षण प्रतिभाको धनी हुनुहुन्थ्यो । जसलाई उहाँले प्रेमजालमा छोपेर ल्याउनुभयो, सायद माइलीमाइजु सँग पनि त्यस्तै प्रतिभा थियो होला । अत्यन्तै सुरिलो भाकामा गीत गाएको धेरै पटक सुनेको थिएँ मैले ।
म एक शारदीय बिहानीमा भलाक्चाको डाँडोमा माइलामामासँगै पुगेको थिएँ । रामायणमा वर्णित स्वर्ग मैले त्यहीँ भेट्टाएको थिएँ पहिलोपटक ।

त्यसबेलादेखि मैले डाँडोतिर मात्र ध्यान दिन छोडेँ । भलाक्चाबाट बगेको साँखखोलाको पानी मेरो बारीमा आइपुग्थ्यो । त्यही डाँडोमा ठोक्किएर मेरो गाउँमा वर्षा हुन्थ्यो । डाँडोले छेक्ने घामभन्दा त्यसले दिने पानीकै महत्त्व देख्न थालेको थिएँ त्यसपछि ।

केही वर्षअघिसम्म के तपाईँले साँखखोलाको पानी सुँघ्नुभएको थियो कहिल्यै ? त्यो पानी रक्सी र जाँड गन्हाउँथ्यो । लाग्थ्यो, साँखखोलामा पानी होइन, जाँड बगिरहेको छ । जाँडसँगै पसिना बगिरहेको छ । त्यो जाँड पसिना भलाक्चेहरुको थियो । त्यो गन्धमा भलाक्चेहरुको बुद्धि बगिरहेको थियो । त्यो गन्धमा भलाक्चेहरुको सामर्थ्य बगिरहेको थियो । त्यसैमा मेरो माइलामामाको क्षत्रियपन बग्यो र आखिरमा जीवन नै बग्यो ।

सबथोक बग्दाबग्दै पनि भलाक्चेहरु मुसिकोटका प्रतिष्पर्धी भई नै रहे । भई नै रहे ।
दुःखको कुरा यो अत्याधुनिक युगमा ती सामर्थ्यवान भलाक्चेहरु मुसिकोटेको कब्जामा परिसकेछन् । मन कताकता कटकटी खाइरह्यो ।

कसैले भनेको थियो मलाईः ‘तिम्रो नाम नै कन्याराशी रहेछ तसर्थ तिमी अत्यन्तै कमजोर छौ ।’ सुन्दा झनक्कै रिस उठेको थियो । तर के गर्ने ? मेरो शरीर पुलिङ्गी भए पनि मन भने स्त्रीलिङ्गी नै छ । मेरा सबै प्रस्तुतिहरु कोमल छन् । यसले हिनताबोध पनि गराउँछ घरिघरि । मेरो नाम किन कन्याराशी राखिदिए होलान् पुरेतले ?
………. …………. …
जब म एकजना साथी सम्झन्छु मलाई त्यो स्मृतिले ढाढसको काम गर्छ । नाम मात्र हो र ? जात पनि कन्याराशी ! उनलाई देखेपछि खुच्चिङ भन्छु ।
तर माइनसमा माइनस थपिँदा प्लस हुने सिद्धान्तले भने खङ्ग्रङ्गै हुन्छु । हुन पनि उनको शरीर नै पहलमानजस्तो छ, नडराउने कुरै छैन ।

हो, उनी पनि भलाक्चाबाटै झुल्किएका थिए शुरुमा । किशोरावस्थामै बडेमानको टाउको । बडेमानको छाति । ठूलाठूला पाखुरा र पिँडौलाहरु । मैले यिनलाई भलाक्चे नै ठान्थेँ । त्यत्रो शरीरमा पनि बुद्धि पनि एक भारी राखिदिएको थियो कसैले । मुसिकोटमा पढुन्जेल बुद्धि र बल दुवैले हायलकायल पारिराखे मुसिकोटे विद्यार्थीहरुलाई ।

विद्यार्थी राजनीतिमा पनि त्यत्तिकै अब्बल । आफ्नो विद्यार्थी संगठनका होलटाइमरहरुलाई पनि पारेहोलान् हायलकायल ।

मुसिकोटमा हायलकायल पार्नु कुन ठूलो कुरा थियो र भन्ठान्नुहोला तपाईँ ? सुन्नुभएको छ पुल्चोक इन्जिनियरिङ क्याम्पसको नाम ? अहिलेसम्म त्यो क्याम्पसमा छिर्न पाउनेलाई भाग्यमानी ठहर्याइन्छ । हामी आफ्ना छोराछोरीलाई हरेकचोटी आशिक दिँदा ‘इन्जिनियर भएस् !’ भन्ने गर्थ्यौँ । अहिलेजस्तो ‘अमेरिका, बेलायत छिरेस् !’ भन्ने आशिक होइन । हो त्यही क्याम्पसका सयौँ विद्यार्थीलाई समेत हायलकायल पारिरहेका भेटिन्थे उनी । पढाइमा होस् कि, विद्यार्थी राजनीतिमा होस् कि, साहित्य प्रतियोगितामा होस्, जुन प्रतिष्पर्धा आइपर्यो त्यसैमा एककदम अगाडि । मनमनै भन्थेँ पहिलोकदमी ।

गेस गर्नुभयो ? तपाइँको गेसले फेल खाएको छैन । उनी पहल पुन नै हुन् !

४६ सालको जनआन्दोलन पश्चात् नेपालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली भएको केही समयपछिको घटना हो । मुसिकोटमा गणतन्त्रलाई पक्षपोषण हुने एउटा नाटक देखाइयो । नाटकमै ‘राजतन्त्र मुर्दाबाद !’ भन्ने नारा घन्काइयो । सायद राजतन्त्रको विरोधमा पहिलो नारा थियो होला त्यो । सायद पहल नै थिए कि त्यो नारा उराल्ने पनि । अहिले कथनको रुपमा भन्दा सामान्य लाग्छ तर त्यसबेला त्यो नारा एकदमै जोखिमपूर्ण थियो ।

भोलिपल्ट रुकुमका आकाशमा सेनाका हेलिकप्टरले आकाश ढाकिरहेको थियो । जेठअसारमा आकाशमा देखिने कालाकाला धब्बा बादलहरुले पारेको छायाँभन्दा निकै डरलाग्दा थिए ती छायाँ । नेपालीसेनाहरु कहिले पनि नदेखेका मुसिकोटवासीको लागि एकैपटक दर्जनौँ हेलिकप्टरहरुबाट सयौँ सेनाहरुको फौज ओरालिँदा कतिको त मुटु पनि फुट्यो होला ।

सुनियोः त्यही नाटक देखाएको अपराधमा पहल पुनलाई पनि ल्याइँदै छ रे रुँघाबाट । हामी सोलाबाङको बार्दलीहरुमा निस्केर जीउ लगलगी कँपाउँदै मुटु थामेर त्यो दृश्य लुकीलुकी हेरिरहेका थियौँ । ठाँटीबजारबाट कालो न कालो वस्त्रधारी सेनाहरुको लाम उकालो लाग्यो र लामको अग्र भाग सोलाबाङ गाउँको किनारकिनारै पश्चिमतिर पुगिसकेको थियो । तलबाट उक्लिरहेको कमिलाजस्तै लाम टुङ्गिएकै थिएन पुच्छर देखिएकै थिएन । तिनीहरुको बीचमा हाम्रो स्मृतिमा यसरी नाचे पहलः

‘पहललाई भर्खर ब्याएको पाडोलाई घिसारेजस्तै घिसारेर ल्याइँदै छ । घिसार्ने सेनाहरु सातआठजनाजति उनका हातखुट्टा समात्नको लागि वरिपरि छन् । उनलाई राइफलको कुन्दाले ठोकिँदै र पिटिँदै छ । कहिले पनि हाँसो नओइलाउने पहलको मुखबाट पीडाले चित्कार छोडिरहेका छन् । त्यो चित्कारको प्रतिध्वनि पहाडमा ठोक्किँदा निकै डरलाग्दो र उराठलाग्दो भएको छ । ढुङ्गे बाटोमा घिसार्दा घिसार्दा लुगा च्यातिइसकेका छन् उनका । जीउभरिबाट भलभलि रगत बगिरहेको छ । अनुहार हेर्दा चिनिँदैन । उनलाई देख्ने कमजोर आत्मा भएकाहरु मुख छोपीछोपी रोइरहेका छन् ।’
यस्तो कल्पना गर्नु अनौठो थिएन । तपाईँ जङ्गलमा एक्लै परेको बखत दर्जनौँ बाघहरुले तपाईँलाई घेरा हाले भने के गर्नुहुन्छ ?

हो, त्यतिबेलाको समयमा कहिले पनि सेना नदेखेका मान्छेहरुको लागि सेना भनेका जङ्गलका हिँस्रक बाघहरु नै थिए । मानवभक्षी बाघ नै थिए भनेर सुनाइन्थ्यो ।

हामी यही कल्पनामा डुबिरहेको बखत सेनाको बीचबाट एउटा सुरिलो हाँसो नाच्दै हाम्रो कानसम्म आइपुग्यो । यो खितितिति हाँसो चीरपरिचित हाँसो थियो । त्यो हाँसोसँग सेनाको हाँसो पनि मिसिएको थियो । हामीले त्यतातिर आँखा निज्याइनिज्याइ हेर्न थाल्यौँ । सेनाहरुकै फौजको बीचमा उही भलाक्चे हात्ती लमकलमक लम्किरहेको थियो । हामीले चिनिहाल्यौँ त्यो हाँसो पहलकै थियो । निर्धक्क लम्किने मात्र होइन बुद्धिविनोद गर्दै थियो ऊ सेनाहरुसँग । उनीहरु पनि पहलसँग निर्धक्क रमाइरहेका थिए । यो दृश्य देखेपछि छचल्किएका थिए देख्नेहरुका विस्मयका आँशुहरु । सेनाप्रतिको आतङ्कको अविश्वास सर्लक्कै माझिएको थियो । दन्तेकथामा सुनिने बाघ र हात्तीको अनौठो मित्रता आफ्नै आँखाले देख्न पाउँदा तीनछक परेका थिए गाउँलेहरु ।

पछि सुनिएको थियो जनार्दन लगायत पहलहरुलाई छोप्ने खर्च त्यतिबेलाको साठीलाखभन्दा धेरै पुगेको थियो रे । अहिलेको साठीकरोडभन्दा धेरै खर्च ।

पहलसँग केही भन्नलायक र केही लुकाउन लायक कथाहरु अरु पनि छन् मसँग । लुकाउन लायकलाई दुलामै छोडेर भन्न लायक केही कथा भन्दैछु म ।

उनी र मैले एउटै कक्षामा नपढे पनि आसपासको कक्षामा पढ्यौँ खलंगा हाइस्कूलमा । त्यसबेलासम्म परिचयको हिसाबले उनको र मेरो बीचमा केही दुरी कायम थियो, तसर्थ राम्रोसँग बुझ्न सकिन उनलाई । अध्ययनको सिलसिलामा जब काठमाण्डौ पुगेँ त्यसबेला उनले मलाई नजिकैबाट धेरै सहयोग गरेका थिए । उनी नभैदिएको भए मङ्गलबजारको सदरखोरमा कति दिन थुनिन्थ्यौँ होला सम्झँदै काँडा फुल्छन् । त्यो स्मरण अत्यन्तै रमाइलो छ । जो मुकुन्द शर्मा र ओपेन्द्र शर्मासँग पनि जोडिएको छ । त्यो संस्मरण अर्को भागमा आउने नै छ ।
त्यसबेला विद्यार्थी नेता नेत्रविक्रम चन्दका निकट साथी थिए पहल पुन । चन्दलाई हाम्रो कोठा चिनाइदिने पहल नै हुन् ।

काठमाण्डौ बसाइको दुईवर्षे अन्तरालमा पहलको निकटमा रहेर हाम्रो साथ उति धेरै जुरेन । एउटा कारण थियो उनी इन्जिनियरिङका विद्यार्थी थिए । उनको पढाइ नै उनलाई भारी थियो । त्यो भारीको सँगसँगै विद्यार्थी राजनीतिको भारी पनि जसोतसो बोकेकै थिए । दुवैलाई तालमेल मिलाउँदैमा उनलाई फुर्सद हुँदैनथ्यो । दोस्रो कारण थियो विद्यार्थी राजनीतिको हिसाबले हामी धेरथोर डरपोक नै थियौँ । सकभर पहलसँग जोगिएरै हिड्नपाए हुन्थ्यो जस्तो पनि लाग्थ्यो ।

उनीसँग साथ गर्ने इच्छा भने मसँग उर्लिरहेको थियो । राजनीतिभन्दा पर केही चिज देखिरहेको थिएँ मैले पहलको व्यक्तित्वमा । साथ खोज्ने कारण सायद त्यही थियो ।

मलाई त्यतिबेलाका चर्चित नेता मष्तबहादुर श्रेष्ठको सहयोगले स्थानीय नेता हिराचन्द्र मल्लले सिम्रुतु स्कूलमा ल्याए । ल्याउने मात्र होइन हाइस्कूलको हेडमास्टरको जिम्मेवारी नै सुम्पिदिए । बौद्धिक हिसाबले भलाक्चाले मुसिकोटसँग गर्नुपर्ने प्रतिष्पर्धा त्यतिबेला सिम्रुतुमा सरिसकेको थियो । किनभने भलाक्चा निमावि मात्र थियो र भलाक्चाकै समर्थन र सहयोगमा सिम्रुतुमा प्रस्तावित हाइस्कूल स्थापना हुन सकेको थियो ।

हिराचन्द्र मल्ल आफै कुशल राजनीतिज्ञ थिए । कुशल राजनीतिको कारणले पूर्वराजा वीरेन्द्रबाट सम्मान थाप्नेमा उनी पनि एक थिए । हिराचन्द्रलाई बौद्धिक परामर्श दिने विश्वेश्वर पोख्रेल थिए । यिनीहरुको पहलकदमीले सिम्रुतुमा प्रस्तावित हाइस्कूल जुर्मुराउँदै थियो । त्यसलाई जसोतसो जोगाउनु थियो यिनीहरुले । जोगाउनुको अर्थ किन भनियो भने मुसिकोटले यस स्थानमा हाइस्कूल स्थापना भएको देखिसहेको थिएन । त्यस स्कूललाई जरैदेखि पल्टाइदिने धम्कीहरु पनि आउँदथे रे । सर्वेसर्वा मुसिकोट नै थियो त्यतिबेला । यस हिसाबले निकै कठिन थियो सिम्रुतु स्कूललाई निरन्तरता दिनु । शैक्षिक र प्रशासनिक सहयोग शून्यप्रायः थियो ।

त्यस्तो परिस्थितिमा सिम्रुतुमा मलाई नै हेडमास्टर बनाइएकोले त्यसको दुष्प्रभाव धेरैपछिसम्म खेप्नुपर्यो मैले । मुसिकोट निवासी मलाई नै सितिमिति मुसिकोट स्कूलमा अध्यापनहेतु छिर्न दिइएन । मुखमै पुर्‍याइसकिएका गासहरु पनि खोसियो धेरै पटक । अन्ततोगत्वा निजामती सेवामा छिर्नुपर्ने बाध्यता पनि त्यसकै परिणाम थियो ।

सिम्रुतुलाई जोगाउने पक्षका राजनीतिज्ञहरु पनि कम चलाख थिएनन् । त्यसबेला जिल्लाका विद्यालयका टपरहरुलाई सिम्रुतु स्कूलमा ल्याइन्थ्यो । फलस्वरुप मेरो पालामा जीतबहादुर शाह, पहल पुन, गङ्गालाल ओली, धनबहादुर ओली, डिल्ली मल्ल, छविलालद्वय आदिलाई शिक्षकहरुमा खोजीखोजी नियुक्ति दिइयो ।
यसरी नियुक्त शिक्षकहरुको मुख्य कर्तव्य सिम्रुतुलाई टिकाउनु जगेर्ना गर्नु र शैक्षिक हिसाबले मुसिकोटलाई टक्कर दिनु थियो ।
एसएलसी उत्तीर्ण गराउने हिसाबले मुसिकोटलाई नै टक्कर दिनु भने गाह्रो थियो । त्यतिबेला अतिराजनीतिको कारण विद्यार्थीहरु पढाइमा कम र विद्यार्थी राजनीतिमा बढी लागेका थिए । मैले बारम्बार सम्झाउँथेँ विद्यार्थीहरुलाई, ‘पहिलो प्राथमिकता पढाइलाई देऊ । दोस्रो प्राथमिकता बाँकी कुरालाई ।’ तर परिस्थिति मेरो वशमा हुँदैनथ्यो । अब्बल विद्यार्थी हुँदाहुँदै पनि उनीहरु नियमित पढ्न सक्दैनथे र हाम्रो एसएलसी रिजल्ट कमजोर बन्न पुग्दथ्यो । घरको कुकुर बलियो भनेझैँ घरभन्दा बाहिर निस्किएर एसएलसी परीक्षा दिन त मुसिकोट नै जानुपर्थ्यो । होमसेन्टरले प्राप्त गर्नेजति लाभ मुसिकोटले लिन्थ्यो भने त्यसको हानी सिम्रुतुले बेहोर्थ्यो ।

तर अतिरिक्त क्रियाकलापका प्रतिष्पर्धाहरुमा भने सिम्रुतुले नजिकैबाट टक्कर दिइ नै रह्यो मुसिकोटलाई । खेलकूद प्रतियोगिता, साँस्कृतिक प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिताहरुमा ।

शुरुशुरुमा पहल-जीतबहादुरको नेतृत्व गर्न के सकिएला र भन्ने डर पनि लागेको थियो । तर यी पढाइका हस्तीहरुसँग भेट भएपछि सामान्यीकरण हुँदै गयो । विद्यार्थीहरुलाई कसरी प्रतिष्पर्धी तुल्याउन सकिन्छ भन्नेमा हामी अहोरात्र खटिन्थ्यौँ । यसमा सबै शिक्षकहरुको उत्तिकै सहयोग पाएँ मैले । जिल्लामा त के विश्वविद्यालयहरुमा समेत छाँटिँदै कुशलतापूर्वक अब्बल निस्किएका साथीभाइहरुबाट निर्बाध सहयोग पाउनु मेरो भाग्य नै थियो । नत्र त हेडमास्टर हुनसक्ने क्षमता उनीहरुको नै बढी थियो । के कमी थियो र पहलमा ?

शुरुशुरुमा त लाग्थ्यो यिनले हामीहरुलाई हायलकायल पार्नेछन् । तर हामीबीच हायलकायलको नामोनिशान नै रहेन । ती साथीभाइको सहयोगमा अलिकति बढी सहयोग मैले पहलबाट पाइरहेको थिएँ । उनको हात्तीजत्रो छातिको बलको सहयोग त जरुरत परेन, तर अरु सहयोग भने भरपूर पाएँ । जीतबहादुर शाहका अभिन्न मित्र थिए पहल । साहित्यिक रुचि उस्तै थियो । पढाइको उस्तै थियो र अतिरिक्त रुचि उस्तै थियो । यति हुँदाहुँदै पनि यी कुराहरु कतै नमिल्ने मसँग पनि उत्तिकै मन मिल्न पुग्यो । त्यति मात्र होइन त्यस स्कूलको शैक्षिक नेतृत्वको सम्बन्धमा मेरो प्रत्यक्ष अगाडि कहिले पनि मेरो विरोध भएन । यो नै मेरो लागि अहोभाग्यको कुरा थियो ।
………… …………. …………….
धेरै दिनदेखि पहलजीले मलाई आफ्नो घरमा खाना खाने निम्तो दिइरहेका थिए । मैले जान फुर्सद पाइरहेको थिएन । एकदिन म पहलको घरमा जाने फुर्सद निकालेँ । चारबजे छुट्टी भएपछि दुवैजना कुरा गर्दै गर्दै रुँघाको उकालो काट्यौँ । उनको घरमा पुग्दा अँध्यारो भैसकेको थियो । उनको झुप्रो भन्न सुहाउने खालको अति सामान्य पहाडी घर थियो । मलाई त्यस घरको एउटा कोठामा पुर्‍याइयो । कोठामा जब पाइलो टेकेँ, कोठाको सजावटले म मन्त्रमुग्ध भएँ । पहिलोपटक यसरी चिटिक्क मिलाएको कोठा देख्दैथिएँ । खाटमा बाक्लो बिछ्यौना थियो । सुन्दर रङको सफा तन्ना बिछ्याइएको थियो । कोठामा भर्खर बुनिएका गुन्द्रीहरु बिछ्याइएको थियो । राजनीतिक पुस्तकहरुभन्दा साहित्यिक पुस्तकहरु बढी देखिन्थे र चिटिक्क मिलाएर दराजमा राखिएको थियो । भित्तामा टाँसिएका प्रमाणपत्रहरुले थप शोभा बढाएका थिए । घुगुतीहरुमा विभिन्न प्रतियोगिताका तक्माहरु झुण्डिएका थिए । लाग्थ्यो रुकुमको रुँघामा होइन, कुनै शहरको व्यवस्थित संग्रहालयमा पुगेको छु म ।
पहलको आमाले खाना खुवाउँदाको आतिथ्यता र खानाको स्वाद कहिल्यै भुलिनसक्नु थियो ।
खाना खाइसकेपछि हाम्रो साहित्यिक र पारिवारिक गफतिर लाग्यौँ । गफ यसरी गहिरिँदै गए कि नितान्त व्यक्तिगत कुराहरु हुन थाले । उनको पारिवारिक अवस्थाको इतिहास पीडाले भरिपूर्ण थियो । कुरा गर्दा उनका आँखामा टिलपिलटिलपिल आँशु निस्किरहन्थे । ओठ पिलपिल भइरहन्थे । मलाई अनौठो लागिरहेको थियो । बाघको बीचमा लम्कने त्यति ठूलो हात्ती यतिसम्म कमजोर पनि हुँदोरहेछ । त्यति चौडा छातिमा यतिविधि कमलो मन हुँदोरहेछ । म पनि उनको कथा र उनको दिलको महानताले द्रविभूत भैरहेको थिएँ ।

करिब बाह्रबजेसम्म हाम्रो गफ सकिएको थिएन । रात धेरै बितेकोले गफ बिट मार्ने कुरा भयो । सुत्नु अघि पिसाब र फेर्न बाहिर निस्कियौँ । पहलले भन्दै थिएः ‘टाढा नजानुस्, लड्नुहोला ।’ म भने त्यो अँधेरी रातमा पनि घरदेखि झन्झन् टाढाटाढा गएँ ।
मलाई साविककै कोठामा पुर्याएर पहल अर्को कोठामा सुत्न गए । कोठाको खाटमा जब सुतेँ कोठा गन्हाउन थाल्यो । यता फर्किएँ यतै गन्हाउन थाल्यो । उता फर्किएँ उतै गन्हाउन थाल्यो । म जर्पत्ताल उठेँ र सलाई बालेर हेरेँ । धत्तेरिका ! मैले त पिसाब फेर्न जाँदा गुहू कुल्चेर पो आएछु ! त्यो गुहु ओछ्यान, सिरक जताकतै लतपतिएछ । के गर्ने कसो गर्ने केही भेऊ पाइन । आखिरमा आफ्नै गलबन्दीले पुछ्न थालेँ । गुन्द्रीमा पनि लतपतिएछ । गुन्द्रीमा पनि पुछेँ । तर पुछ्दैमा न त दाग हरायो, न त गन्ध नै । पहलले के भन्ठान्लान् ? यो अवस्था देखेर के भन्लान् ? उनको आमाले के भन्नुहोला भोलिबिहान ? यति सुन्दर कोठा मैले गुहू लतपताएर बिगारिदिएको थिएँ । जानीजानी त होइन, तर बाहिरबाट भित्र पस्दा खुट्टातिर ध्यान नदिनू, नपखाल्नु मेरो ठूलो भूल थियो । नजिकै भर्खरै कलधारा जोडिएको थियो ।

रातभरि गन्ध र चिन्ताले म निदाउन सकिन । मीठा गफहरुमा हात्तीबाट मुसोमा परिवर्तन भैसकेका पहल । अब मेरो नजरमा पुनः हात्तीभन्दा पनि भयंकर ठूलाठूला प्रतित हुन थाले ।

भोलिपल्ट उज्यालो नहुँदै म उनको कोठाबाट बाहिरिएँ । अलि पर पुगिसकेपछि भनेँ : “पहल सर म गएँ है ।”

त्यस दिन खलङ्गा जाने निहुँले स्कूल नै छाडिदिएँ र भोलिपल्ट पनि स्कूल आइन । पर्सिपल्ट पहललाई छलेर यताउता लागिरहेँ, उनको मुख नै हेर्न सकिन । हप्तादिनपछि बल्लतल्ल वातावरण सहज हुँदै गएको महशुस भयो । तर यो बीचमा पहलले मेरो त्यो कमजोरी कहिल्यै औँल्याएनन् । अहिलेसम्म पनि न रउनले त्यस घटनाको सम्बन्धमा केही भनेका छन्, न त मैले ‘त्यस दिन मेरै गल्तीले कोठा सबै बिगारिदिएँ, क्षमा दिनुहोला है !” भन्नसकेको छु ।

छक्क त त्यसपछि परेँ जब उनले केही हप्तापछि फेरि आफ्नो घरमा बास बस्न निम्तो दिए । अरु भैदिएको भए मलाई छिछि र दूरदूर गरिरहन्थे होलान् । मलाई त्यही कुरा देखाएर लज्जित तुल्याइराख्थे होलान् । तर उनले साथीको मनमा कुनै पश्चात्ताप नहोस् भनी त्यो कुरा पचाइदिए । कुरा उठाइदिन आवश्यक नै ठानेनन् ।

सलाम छ त्यो माहुतेलाई जसले पहलरुपी हात्तीलाई नियन्त्रण गरेर पहलकदमी अगाडि बढाइरहेको छ ।

म सोलाबाङ पुग्दा सोच्न बाध्य हुन्छु त्यो भलाक्चाको डाँडोलाई हेरेर । जुन डाँडोले कहिलेकाँही घाम छेके पनि पानी दिन भने कहिल्यै छाडेको छैन ।

तर अहिले ताजुब लाग्छ त्यो डाँडो किन मुसिकोटसँग स्वस्थ प्रतिष्पर्धा गर्नबाट पछि हट्यो ?

82 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *