परिशीलन, यो के बनायौ ?
- देवकुमारी ओली
बाबु, परिशीलन !! हामीलाई छोडेर कहाँ हरायौ ?
त्यो जुनेली रातलाई किन यो औँसीको रात गरायौ ?
हामीलाई आँशुको भयानक सागरमा डुबायौ !
हाम्रो सपना र विपना नछुट्टिने यो के बनायौ ?
तिम्रो अकल्पनीय बिछोडको त्यो कालो दिन अगाडि
तिमीले नै यो संसारका हरेक वस्तु अमृततुल्य बनायौ !
तिम्रो बिछोडको त्यो कालो दिन पछाडि
यो संसारका हरेक वस्तु विषतुल्य ? यो के बनायौ ?
तिम्रो कुभलो चिताउने वा यो बिछोड तुल्याउने
जो जो थिए तिनीलाई यो रमाइलो संसार किन दिलायौ ?
तिम्रो सदा भलो र उत्तरोत्तर प्रगति चिताउने
जो जो छन् तिनीलाई नै अँध्यारो संसार ? यो के दिलायौ ?
बाबु, यही नै स्वर्ग थियो हाम्रो लागि, किनकि
तिमीले नै हाम्रा चिन्ता, भय र दुःख सारा भगायौ !
बाबु, यही नै नर्क भयो हाम्रो लागि किनकि
चिन्ता, भय र दुःखको भेलले घेरिने, यो के बनायौ ?
आऊ है बाबु ! हामीले के गर्यौँ भने तिमी फर्कन्छौ ?
या तिमीले पुनर्जन्म लिएर कुन घर उज्यालो गरायौ ?
आामा बरबराउँदी, बाबु निशब्दः, दिदी, भाइ तिम्रा
कारकको खोजीमै भौँतारिने, तिमीले यो के गरायौ ?
बाबु, परिशीलन !! हामीलाई छोडेर कहाँ हरायौ ?
त्यो जुनेली रातलाई किन यो औँसीको रात गरायौ ?
हामीलाई आँशुको भयानक सागरमा डुबायौ !
हाम्रो सपना र विपना नछुट्टिने यो के बनायौ ?
2,383 total views, 1 views today
Leave a comment