पदयात्राका कुरा

सल्यानका पछिल्ला दुई शनिबारका बिहानीहरु रमाइला मान्छेहरुसँग बिते, रमाइला कुराहरुसँग बिते र रमाइलोसँग बिते । हुन त यता रहँदाबस्दा जतिसँग चिनजान भयो, सबै मान्छेहरु रमाइला थिए । तर यी दुई शनिबारहरुमा सम्पर्कमा आउने मान्छेहरु विशेष रमाइला भैदिए ।

यी दिनहरुमा न त बर्खे झरी ओइरियो, न त गर्मी यामको धुपले टट्टायो । मान्छेहरु पनि न त धेरै ओसिला, न त धेरै खरा । सयमा सय शिष्ट र मृदुभाषी । सरकारी पगरीको आधारमा ती मान्छेहरु थिएः सहायक प्रजिअ नारायण लामिछाने, शिक्षा-इकाइ प्रमुख लालबहादुर घर्ती, कारागार प्रमुख बलबहादुर केसी, निर्वाचन र कोलेनिकाका कर्मचारीहरुः कृष्णप्रसाद पोखरेल, चेतविक्रम अधिकारी र शेरबहादुर विष्ट । पछिल्लो शनिबारमा थपिएः जिल्ला प्रशासनका शंकर बुढाथोकी र कारागारका केशवराज न्यौपाने । शिष्ट मान्छेहरुसँग बिताएको पल विशिष्ट हुँदोरहेछ ।

पदयात्रा यसै पनि सर्वोत्तम यात्रा हो । पहुँच-शिघ्रताको हिसाबले बाहेक अरु सबै हिसाबले पदयात्राका फाइदै फाइदाहरु मात्र छन् । पदयात्राको क्रममा प्रकृतिको निकटस्थ भइन्छ । प्रकृतिका छटाहरु मनग्गे हेर्न पाइन्छ । प्रकृतिका कुराहरु सुन्न पाइन्छ । प्रकृतिको बेग्लै सुगन्ध सुँघ्न पनि पाइन्छ । प्रकृति-आमाको काखमा लुटुपुटु गर्न पाइन्छ । यसैले पनि मलाई पदयात्रा असाध्यै मन पर्छ ।

यहाँ आएदेखि नै यहाँका मनोरम स्थलहरुमा पुग्न प्रयास गरियो र कतै एक्लै त कतै सानो समूहमा घुमफिर गरियो पनि । तर मीठा मान्छेहरुको ठूलै समूहमा घुम्न धेरै दिनदेखि खसखस भइरहेको थियो ।

त्यसैले शनिबारे विदाको दिनमा पदयात्राको कार्यक्रम शुक्रबार बेलुका बुनियो । पहिलो शनिबारको कार्यक्रम बन्योः सल्यान खलंगाको उत्तरी बाटोबाट टुनीचौर, बरला हुँदै शितलपाटी पुग्ने पदयात्रा । दोस्रो शनिबारको कार्यक्रम बन्यो खलंगाको दक्षिणी पाखो हुँदै खैराबाङ भगवतीको मन्दिरसम्मको पदयात्रा । जाउँ न त भन्नेबित्तिकै साथ दिन तमतयार हुने साथीहरु छँदै थिए ।

छन त बरला-शितलपाटीको यात्राभन्दा खैराबाङको यात्रा दोब्बर दुरीको थियो । मनले खाइसकेका साथीभाइलाई हिँडेरै खैराबाङ पुगौँ न त भन्ने प्रस्ताव राख्दा प्रत्येकको मन अत्यासिएको थियो, “बर्खाको समय त्यति लामो दुरी कसरी सकिएला र ?”

यात्राको प्रथम थालनी हो: आफ्नै निवासको संघार पार गर्ने आँट गर्नु । भयो पनि त्यस्तै । ती शनिबारहरुमा संघार पार गरेको केही समयमै गन्तव्यमै पुगिहाल्यौँ । त्यो ‘केही समय’ भने चानचुन थिएन, चानचुन सातआठघण्टाको थियो ।

पदयात्रा भनेको पाइला र बाटोबीचको अन्तर्संघर्षको कथा हो । पाइला उचाल्दै जानुपर्छ र बाटो पनि पछिपछि पर्दै जानुपर्छ । पाइलाहरु मान्छेको संवेदनासँग सम्बन्धित कुरा हुन् । लगातार सातआठ घण्टासम्म आफ्ना पाइताला उचाल्दै र पछार्दै गरिरहँदा कसका पाइला नदुख्दा हुन् र ? यात्रामा त्यो दुखाइ बिर्सनुपर्छ ।

पाइतालाहरुको थिचाइको स्वागत गर्दै बाटो तपाईँको संघारदेखि गन्तव्यसम्म लम्पसार सुतिदिएको हुन्छ । बाटो खोज्न कतै जानुपर्दैन, अनगिन्ति बाटाहरु तपाईँलाई नै खोज्दै खोज्दै तपाईँको सामु उपस्थित भैदिन्छन् । यता जाने कि उता ? तपाईँले निर्णय गर्नुपर्छ । पाइला हाल्न छनोट गरिएको त्यो बाटोलाई पाइला-पाइलाको हिसाबले पछिपछि धकेल्दै-धकेल्दै जानुपर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिन्छ ।

बाटोजस्तै, यात्रामा तपाईँलाई खोज्दै आउने अर्को कुरा भनेको “कुरा” हो । “कुरा”को कुनै रुप हुँदैन, गन्ध हुँदैन र हुँदैन आयतन पनि । कुराले नै मान्छेलाई मान्छे बनाएको हुनुपर्छ । कुरा गर्न नजानेको भए मान्छे, मान्छे कहाँ बन्थ्यो र ? रहन्थ्यो पशुको पशु नै । कुरा गर्न जान्नेहरुले नै प्रसिद्धि कमाइरहेका छन् यहाँ ।

तपाईँ भन्नुहोला, ‘कुराभन्दा दिमाग ठूलो हो कि ? दिमागबाटै त कुरा निस्कने हो ।’ मलाई लाग्छ, दिमाग भन्नु कुरैकुराको डल्लो मात्र हो । त्यो डल्लो जति कुरा निस्किएर गए पनि घट्दैन र जति कुरा थपिन आए पनि बढ्दैन । भनौँ न महासागर जस्तै । एक भङ्गालो नदी मिसिँदैमा वा एक अङ्गालो वाफ उड्दैमा केही फरक नपरेसरि ।

कुराको आयतन हुँदैन भन्नुको मतलब कसैको लागि झिनोमसिनो ठानिएको कुरा अर्काको लागि भयानक भैदिन्छ । एउटाको लागि ज्यादै महत्त्वपूर्ण कुरा अर्कोको लागि वाहियातको भैदिन्छ । कुरैले मान्छेलाई मान्छेसँग जोड्छ, कुरैले मान्छेलाई फाटो पारिदिन्छ र द्वन्द्व पनि चर्काइदिन्छ । घरबारसम्म भत्किएको कारण खोज्दै जानुभयो भने तपाईँले पाउनुहुनेछ मसिना मसिना कुराहरु ।

कसैको एउटै कुरा सुनिरहनुपर्‍यो भने त्यो “गनगन” हुन जान्छ । धेरैको धेरै कुरा सुन्नुपर्‍यो भने हल्लीखल्ली हुनजान्छ ।

तसर्थ कुरा गर्न जान्नुपर्दछ । कुरा गर्दा होशियार हुनुपर्दछ । मनोरञ्जनको लागि निकालिएका कुरा कसैको लागि बिझ्ने भैदिन सक्छ । ‘हतियार’ को घाउ सन्चो हुनसक्छ रे, तर ‘कुरा’ को घाउ कहिल्यै सन्चो हुनसक्दैन रे । त्यसो त कुराले पारेको घाउलाई कुराले नै सफा गर्न पनि मिल्छ । फू-मन्तर पनि कुराकै चामत्त्यकारिक रुप हो ।

यसैगरी कुरा सुन्न पनि जान्नुपर्छ । कुरा सुन्न नजानेर पनि संसारमा ठूलाठूला मतभेदका घटना घटेका छन् ।

हो, यात्रामा पनि निस्कन्छन् यस्तै विभिन्न थरी कुराहरु । पदयात्राको क्रममा निस्कने कुराले पाइतालाको दुखाइ बिर्साइदिन्छ । पाइतालाको मात्र होइन जिउको बाँकी अङ्गको दुखाइ समेत बिर्साइदिन्छ । कुनै एकजनाको कुराले बनेको घाउ अर्को जनाको कुराले गर्दा बिसेक पारिदिन सक्छ ।

यात्रामा निस्कँदा यातायातको साधन प्रयोग गर्नुभयो भने यी कुराहरु कहाँबाट पाउनु ? कुरा भैहाले पनि सिमित व्यक्तिका कुरा मात्रै हुनजान्छन् र ती कुराहरु गनगन हुनपुग्छन् । त्यहाँ त मेशिन कठघरामा कैद भइन्छ । ग्यासच्याम्बरको उकुसमुकुस मात्र हुन्छ । घरिघरि प्रकृतिमा पुगेर कहाँ ठोकिन पाउनु ? त्यो ठोकाइ प्रकृतिले अनुभूत गर्न कहाँ पाउनु ?

पदयात्रामा गरिने कुराहरु सुन्न धेरै कानहरु उत्सुक हुन्छन् । कुराहरु अनेक हुन्छन् । मान्छेको स्वभाव नै कस्तो छ भने अरुको प्रशंशाभन्दा अरुको खोइरो खनिएको सुन्न बढी उत्सुक रहन्छ । अतः यात्राभरि कुपात्रहरुका कुकर्मका कुराहरुले ठाउँ लिन पुग्छन् । आफू सुपात्र हुँ भनेर ढ्याङ्ग्रो ठटाइरहेका मान्छेहरु कसैको नजरमा कुपात्रमा दरिएको हुन्छ र उसका कुराहरुले अधिकांश ठाउँ ओगटिदिन्छन् यस्ता यात्राहरुमा । उसका कुकृत्यका कुराहरु विभिन्न पदयात्रीको एउटा समूहले सुन्छ । त्यो समूहका प्रत्येक यात्रीले त्यसमा थपथाप पार्छ बङ्ग्याइटिङ्ग्याइ पार्छ र अर्को यात्रामा अर्को समूहसम्म पुर्‍‍याउँछ ।

यात्री मात्र कहाँ हो र ? बिरानो ठाउँको माटोले सुन्छ ! ढुङ्गाले सुन्छ ! रुखपातले सुन्छन् ! कीराफट्याङ्ग्राले सुन्छन् ! आफ्ना कुकर्मको वर्णन बिरानो ठाउँको बिराना मान्छे र झारपातले सुन्नुजति लज्जास्पद कुरा अरु के होला ?

अँ त पहिलो शनिबारको पदयात्रामा बल, लाल, चेत र म गरी चारजना रुकुमेली थियौँ । त्यो सङ्ख्याको आधा अर्थात् दुईजना सल्यानी थिए नारायण र शेर । त्यो संख्याको आधा अर्थात एकजना मात्र कोहलपुरवासी कृष्ण थिए । दोस्रो शनिबारमा रुकुमेली शंकर थपिएकोले रुकुमेली चारबाट पाँच पुग्यौँ । एकजना जाजरकोटी केशवराज थपिए । रुकुमेलीको आधिक्यताले गर्दा बाटोभरि रुकुमका कुराहरुको अंश पनि अधिक नै बन्यो । लालबहादुर र बलबहादुर कुराहरु पोखेको पोख्यै । सल्यानी कोहलपुरे र जाजरकोटीलाई कुरा गर्ने पालो आइदिए पो ।

त्यसैमा अरुले सुन्न लायक मनोरञ्जक होस् भनेर केही कुरालाई अतिरञ्जित तुल्याउन बाँकी यात्री कहाँ कम्ता थियौँ र ?

रुकुमेली कुराहरु कतिसम्म अधिक भैदिए भने नारायण सोध्न बाध्य भैहाले, “रुकुमको माटो नै त्यस्तो हो त ?”

मान्छेले गरेको कुकृत्यलाई विशुद्ध प्राकृतिक ढुङ्गो-माटो पानीसँग जोड्नु धृष्ठता हुनजाला, तर के हुँदोरहेछ भने जति नै गोप्य राखिएका भनिएका कुराहरु पदयात्राको बाटोभरि पोखिने रहेछन् । पोखिएका कुराहरु कुपात्रका रहेछन् भने धेरै पैदलयात्रीहरुले थुक्छन्, छिःछिः गर्छन् र कुल्चन्छन् ।

यदि सुपात्रका सुकृतिबारेका कुराहरु पोखिए भने पैदलयात्रीहरुले खुरुखुरु टिप्न पनि सक्छन् र दिमागरुपी गोजीमा हालेर सामा पनि गर्न सक्छन् ।

अतः पदयात्रा यात्रीको लागि एउटा घुम्ती पाठशाला पनि हुँदोरहेछ । पढाउने, खोकाउने, घोकाउने र छोडाउने पाठशाला । त्यहाँ प्रत्येकले पढाउने गुरु हुने अवसर पाउँछ र प्रत्येकले पढ्ने चेलो बन्न पनि पाउँछ । खोकाउने: किनभने, कुरा गर्न नसक्ने ठानिएको घोगे लाटोले पनि यात्रामा कुरा गर्ने अवसर भेटाउँछ । अघिपछि थोरै कुरा गर्नेले यात्रामा धेरै कुरा गर्ने अवसर भेट्टाउँछ । घोकाउने: किनभने, कुराहरु मार्मिक हुन्छन् र अरुकै उदाहरणहरुबाट यो गर्नु ठीक र यो गर्नु बेठीक रहेछ भन्ने विश्लेषण गर्दै जान्छ यात्री । छोडाउने: किनभने, कुपात्रहरुका कुकृत्यहरु सुन्दा सुन्ने नै सतर्क हुन्छ र श्रोतालाई, ‘ओहो ! मैले कुकृत्यहरु गरेँ भने अर्को ठाउँमा यसरी नै पोखिन सक्छ । तसर्थ मैले यो काम आजका दिनदेखि गर्नेछुइन’ भनेर छोडाउन पनि मद्दत गर्दछ ।

दुवै शनिबारका यात्रामा यस्तै सीमाविहिन कुराहरु ओइरिँदै रहे । हँसीमजाक हुँदै गयो । पाइलाहरु ओराली र उकालीमा उचालिइरहे । कुरालाई आकर्षक बनाउन शरीरका हाउभाउहरु नाचिरहे । र बाटो निरन्तर कटि नै रह्यो । फलस्वरुप गन्तव्यमा पुग्न कसैलाई पनि कुनै प्रकारको सारोगारोको महशुस भएन । पहिलो शनिबारको गन्तव्य शितलपाटी थियो । शितलपाटीकै एक होटेलमा खाएको खानाको भुक्तानी चिठ्ठाविधिबाट सहज तुल्याइयो । खाना खाएको पैँसा नारायण र चेतविक्रमले तिर्नुपर्ने भयो ।

यो शनिबारको गन्तव्य भने आस्थाकी धरोहर देवी खैरावाङी भगवतीको चरण छुनु थियो । खलंगा हुँदै चुकेखोला घाटमा झरेर पुनः ठाडो उकाली हुँदै थुम्कै थुम्का परेका शिखरहरु सल्लाघारीमा बुर्कुसी मार्दै खैराबाङ पुगियो र नाङ्गोछाति भोकोपेट भगवतीको दर्शन गरेर आआफ्नो इच्छामुताबिकको मनग्गे आशिष पनि थाप्यौँ । बजारको हल्लाखल्ला, तँछाडमछाड, थिचोमिचो र धुलोधुइरोबाट धेरै पर, धेरै माथि सुदूर शिखरहरुमा विवेकपूर्ण ढङ्गबाट निर्मित देवस्थलहरुमा पुग्दा एकछिन सबैको मन पखालिएको अनुभूति दिलाउँछ । पदयात्राको थकाइले चूर भएपश्चात् प्राप्त हुने यस्ता स्थलको सिरसिरे हावाको स्वर्गीय अनुभूति अघिपछि कहाँ संगाल्न सकिएला र !

शंकरले सल्यानको सल्लेरी पाखा उक्लँदै गर्दा सल्लेरी वनमा सल्लेउ च्याउ पनि संकलन गर्न भ्याएछन् त्यही पकाउन लगाइयो खैराबाङको एक घरमा । दर्शन पश्चात् भोजन भर्खरै टिपिएको सल्लेउ च्याउको तिहुँन र पाप्रोको तरकारीसँग भात मुछेर खाँदा कति स्वादिष्ट भयो होला ?

खानाको पैंसा कसले तिर्ने भन्ने कुनै अन्यौ रहेन । भुक्तानी चिठ्ठाविधिबाटै भयो । चिठ्ठा पर्ने भाग्यमानीहरु कृष्ण र शंकर भए । नाम नै हिन्दू भगवानको चोरेका, अरुलाई किन पर्थ्यो चिठ्ठा ? न्यायसंगत पनि भयो ।

खानापश्चात् भ्रमण टोली शितलपाटीतिर ओरालो रवाना भयो । उस्तै कुरा उस्तै मज्जाक र उस्तै हस्यौली र ठट्यौली प्रस्तुत गर्दै र ग्रहण गर्दै । शितलपाटीबाट गत शनिबारजस्तै टेम्पोमा थकान मेटाउँदै पदयात्रा टोली खलंगा हाजिर भयो । कुरा सकिएपछि बल्ल थाहा भयो पाइताला त कति भतभती पोल्ने भैसकेछन् । पिँडौला र पिठ्यूँ कति करकरी दुख्ने भैसकेछन् ।

हिजोसम्म निकै टाढा देखिने खैरावाङ मन्दिर अवस्थित शिखर त अब हातैले छोइएलाजस्तो एकदमै नजिक पो देखियो । कति न टाढा पुगेका रहेछौँ र हामी भन्ने मन बुझाइले पाइताला दुखाइलाई समते हाइसञ्चो भैदियो ।

यही पदयात्राको सम्बन्धमा तपाईँसँग अलिकति कुरा गर्न खोजेको थिएँ तर कुराको फेर समात्नै सकिन र भैदियो गनगन मात्रै ।

२०७६।०४।११ सल्यान खलंगा ।

112 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *