नीता

“तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?”
“मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ । बादललाई सोधेँ, ‘भर्खरै पश्चिमतिर लागेको देखेको हुँ’ भन्यो, जूनलाई सोधेँ, ‘देखे-देखेजस्तो लाग्यो’ मात्र भनेर पन्छियो, ताराहरुलाई सोधेँ, ‘हामीले त देख्दै देखेनौँ’ भने, तिमीले पनि कम्ता तड्पायौ र मलाई ?”
“‘भन्टाङभुन्टुङ डे’मा हराएको मान्छे, ‘भ्यालेन्टाइन डे’मा मात्र झुल्कियौ ।
“तिमीलाई भेट हुन पनि भ्यालेन्टाइन डे नै पर्खनुपर्ने ?”
“एक अर्काका युनिक भ्यालेन्टाइन भएर होला नि ।”
“अनि ? भ्यालेन्टाइनको लागि के उपहार टक्र्याइँदैछ नि ? कि कविता सुनाए पुग्छ”
“मेरा बारीभरि गुलाबकै कथाहरु छन् नि । थोरै कविताले टार्ने मन छैन मेरो ।”
“त्यसो भए म पनि गुलाब लिन तिम्रै बारीमा आइपुगूँ त ?”
“हार्दिक स्वागत छ आऊ न ।’
“के हो यो ? को हो त्यो ?” को घरको भित्ता नै थर्किनेगरी हप्काएको स्वरले म बरक्क बर्किएँ । गृहस्वामिनीको यो स्वर मेरो काननेरै पड्किएको थियो । नीतासँग फेसबुकमा भइरहेको च्याटमा अकस्मात हस्तक्षेप गरी अर्धाङ्गिनी ‘प्रिती’ले । हाम्रो च्याट उसले मेरो पछाडि लुसुक्क छिपेर चियाइरहेकी रहिछे । प्रितीको अनुहारमा हेरेँ उसको अनुहार त हेर्नलायक भैसकेछ भनौँ रणचण्डीजस्तै उग्र भइसकेको थियो । ओठ काँपिरहेका थिए । आँखामा आँशु उम्रिन थाल्दै थियो ।
मैले हत्तनपत्त ल्यापटप शटडाउन नै नगरी ढकनी बन्द गरिदिएँ र उसको स्वरभन्दा तीखो स्वर लगाएर चिच्याएँ म पनि, “किन के भयो र । उस्सै कानै फुट्नेगरी कराउनुपर्छ ?”
“केही भएको छैन नि । तिमीहरुका कुराकानी सब हेरसकेँ मैले । किन बन्द गर्छौ कम्प्युटर ? म सबै कुरा पत्ता नलगाई छाड्दिन आज ।” भन्दै मेरो हातबाट ल्यापटप खोसेर लिई प्रितीले ।
मैले उसलाई फकाउने सुरमा भनेँ, “प्लिज तिमी आजै पत्ता नलगाइदेऊ । तिमीले पत्ता लगायौ भने पत्ता लगाउन बाँकी केही रहनेछैन । हाम्रो जीवन निरस हुनेछ ।”
“हाम्रो सम्बन्ध भनेको कोसँगको ? त्यै नकच्चरीसँगको ?”
“तिमीसँग पनि र ऊसँग समेतको ।”
“कसरी त्यसो भन्न सकेको होला ? हेर न बिरालो चाल ! थुक्क ढोँगी, छली लोग्ने मान्छे !”
“त्यसो नभन प्लिज । नरिसाइदेऊ न प्लिज । बरु म कान समात्छु ।”
“कान मात्रै हो र पर्ख न तिमीहरुको के के समात्नुपर्रछ मैले जानेकी छु ।”
मैले उसको हातबाट ल्यापटप तान्न खोजेँ उसले मलाई बलपूर्वक धकेलिदिई र ल्यापटप बलपूर्वक समातेर अर्को कोठातिर लागी । म उसको पछिपछि लागेँ ।
उसले ल्यापटपको ढकनी उघारिन् । ल्यापटप लक भइसकेको थियो ।
“पासवर्ड देऊ ।”
“दिन्न म ।”
प्रितीले ल्यापटप नै उज्याई, “म फुटाल्दिन्छु यो ठाँडोलाई !”
“प्लिज, त्यसो नगर दिन्छु, दिन्छु । पासवर्ड हो । अँ.. अँ.. ।.. एन.आइ.टि.ए. !”
“नाम पनि त्यसकै ?” उसले दुवै हातले आफ्नो टाउको थिची । सायद उसलाई एकपछि अर्को शकले रिङ्टा उठायो होला । भाउन्ने भयो होला ।
मैले नै पासवर्ड हालिदिएँ । विन्डो रिकभर भयो र हाम्रो भर्खर अगाडिको मनिटरको तल्लो दायाँ कुनामा च्याट बक्स देखियो । च्याटमा माथिको दायाँतिरको कुनामा नीताको थाइकट कपालको आकर्षक फोटो थियो । अरु तीनवटा लगातार एकोहोरो मेसेज आइसकेका थिएः
“अनि… ? ..गुलाबको फूल दिन हिँड्यौ कि क्या हो ?”…., “किन के भयो र ?….. अकस्मात च्याट अफ भयो ।…..” “मलाई त आज दिनभरि तिमीसँगै कुरा गरुँ गरुँ लागेको थियो ।…..”, “भाउजूले फेरि हप्काइन् कि क्या हो ?…. अरुको अगाडि त अलि अलि डमरु हुँ झैँ गर्छ भाउजूको अगाडि त भिजेको बिरालो जस्तै छ । हा हा हा हा हा……”
“थुक्क बाइफाले ! मलाई कसरी भाउजू भन्न सकेको होला ?” प्रितीले दाह्रा किटी ।
“ऊ मेरो बहिनी पनि त हुन सक्छे !” मैले फेरि ठट्टा गरेँ ।
मलाई कुइनोले एक धक्का दिँदै सातो खाई, “मलाई मूर्ख किन बनाउँदैछौ हँ तिमी ? बहिनीले कतै भ्यालेन्टाइन डे मा गुलाब माग्छे ? थुक्क ! गुलाब हुँदै के के माग्ने हो, के के, श्रीसम्पति भविष्य सबै माग्ने होली अब ?” उसको स्वास बढिरहेको थियो । निधारभरि चिटचिट पसिना निस्किरहेको थियो । अनि ल्यापटप मनिटरमा नीतासँग भएको च्याटिङको आफैले मेसेज हिस्टोरी स्क्रल गर्न थाली ।
हिस्टोरी यस्तो थियोः “खाना खायौ ?” “के छ आजको हालखबर ?” “भेट्न आउँछु ?” “हैन हैन तिमी आउनुपर्दै मै आउँछु ।” आदि सम्वादहरु उसले अधैर्यसाथ हेर्दै थिई । अझै माथि सार्दै गई । कर्सरले माथिमाथिको कुरा कोट्याउँदै थियो र हाम्रो वार्तालापका अंशहरु तलतल झर्दै थिए । अलि माथि हामी दुईको कवितात्मक दोहोरी यस्तो थियोः
“भनूँ भनूँ लाग्छ ”
“मायाँ लाऊँ”
“तिम्रै दिलभित्र”
“म अटाऊँ ।”
त्योभन्दा बढी पढ्न सकिन उसले । ल्यापटपलाई भूइँमा बजार्ने शूरले फेरि उज्याई । मैले खोसेर आफ्नो हातमा लिएँ ।
“पर्ख न पर्ख, बेलुका छोराछोरीलाई तिम्रा करतुतहरु सब उदाङ्गो पारिदिन्छु । आफ्नो बाबुको चर्तिकला बारे कहिल्यै शंका नगर्ने सन्तानहरु छन् । मैले भनेको पत्याउँदै पत्याउँदैनन् । बाजे बन्न थालिसकेका बाबुका करतुतहरु सब थाहा पाउनेछन् आज । सधैँ त्यही शब्द सुनिरहेकी छु मैले तिम्रो मुखबाट । निता.., निता.., निता.., निता…”
अनि बिछ्यौनामा सिरकभित्र गुटमुटिई ।
एकछिनमै सिरक एकातिर मिल्काएर फोन लगाउन थाली । फोन पनि उता लागेन र मोबाइललाई हुत्याइदिई । मोबाइल एकातिर र कभर अर्कोतिर उछिट्टियो ।
आज के के उधुम मच्चाउने हुन् भनी म चिन्तित हुन थालिसकेको थिएँ ।
“एउटै कुरा बाँकी रहेछ, तिमीहरुले गर्नुपर्ने”, उसले तीखा र व्यङ्ग्य नजर ममाथि गाडी ।
“के कुरा देख्यौ त त्यस्तो ?” ममा रिसराग अङ्कुरण हुन सकिरहेको थिएन ।
“आइ लभ यु भनेर त उसले पनि लेखेकी रहिनछे नि त । तिमीले पनि लेखेको भेट्टाइन । भेट हुँदा मात्र भन्छौ होला, होइन ?”
म अझै मजाक गर्ने मूडमै थिएँ, “लेखौँला नि त । कति ठूलो कुरा भयो र ?”
ऊ उठेर बसी, “म केही गर्दैन ल्याऊ त्यो ल्यापटप” भन्दै अलि शान्त पाराले मागिन् । ल्यापटपमाथि रिस पोख्ने छैन भन्ने विश्वस्त भएर ल्यापटप उसको हात लगाइदिएँ ।
उसले नीताको प्रोफाइल खोली । नीताका केही एक्ला र केही समूहका तस्बीरहरु हेर्दै गई । उसका फोटोहरु प्रायः युगलमा थिए, “केटीजस्ती पनि नदेखिने कस्ती केटी हो यो ? न श्रृङ्गार छ न नारी स्वभाव देखिन्छ ? कति उत्ताउली र उजाड देखिन्छे यो ! खोज्नैपरेपछि त एकसेएक सुन्दरीहरु मिल्थिन् होला, यस्ताको पछि पनि किन लाग्नुपरेको होला, प्रायः संगै देखिने यसकी बहिनी होली हैन ? दिदीबहिनीजस्ता पनि पटक्कै देखिँदैनन् । बहिनीलाई घलेक र धोती नै सुहाएको छ, दिदीलाई भने खुब सर्टपाइन्ट ठोक्नुपर्ने !” उनी आफैसँग फतफताइरहेकी थिई । आफूमा उर्लिरहेको रिसको बाढी तिनै तस्बीरहरुमा छिरेर उधुम मच्चाइरहेको जस्तो देखिन्थ्यो ।
“होला !” भनिदिएँ मैले ।
अनि च्याट बक्स खोलेर केही टाइप गर्न थाली । म अलि होशियार भएँ, “जे पायो त्यही नलेख नि फेरि ।”
उसले चिल्ने नजरले हेरी र भनी, “ल आफै लेख तिम्री रखैलीलाई । तर मैले भनेको लेख्नुपर्छ ।”
“भैहाल्छ नि” मैले सहजै मानिदिएँ ।
“ल लेख आइ लभ यु नीता”
म अर्को पटक तर्सिएँ । के भन्दै छे यो ! मैले प्रकटमा भनेँ, “अहिल्यै यी कुराहरु लेख्न हतार गर्नुहुन्न । आफूलाई धैर्यशील त बनाऊ । तिमी होशमा त आऊ ।”
“धैर्य त तिम्रै गुमेको रहेछ मेरो के को गुम्नू नि । आज तिमीले मेरै अगाडि यो कुरा लेख्नैपर्छ ।”
“यो लेखेर तिमीलाई के फाइदा हुन्छ ?”
“केही फाइदा हुँदैन । घाटा नै हुन्छ । तर मलाई तिमीले यो कुरा लेखेको हेर्ने खुलदुली जाग्यो । अरु केही जान्दैन, म तिमीबाट यो नलेखाई छोड्दैन ।”
म धर्मसंकटमा फसेँ । आफ्नी प्रितीको प्रेमप्रस्तावको भावना मेरै हातबाट कसरी मैले त्यस चिन्नु न जान्नुको व्यक्तिसम्म पुर्‍याउनसक्थेँ र ! हामी त मजाकका मित्र मात्र थियौँ । त्यति गहिराइमा पुगेकै थिएनौँ ।
“मलाई अंग्रेजी संग्रेजी मन पर्दैन । नेपालीमै लेख्छु हुन्न ?” मैले लेखिदिएँ, “नीता, म तिमीलाई फ्रेम गर्छु ।”
उताबाट तुरुन्त मेसेज देखियोः “हाहाहाहा यही भन्नलाई यति ढिला गरेका हौ ? प्रेम गर्न नजान्नेले फ्रेम त गर्छन् नि ।”
यता प्रितीले मलाई बेसरी चिमोटिदिई र मैले चिच्याउँदै लेख्नपुगेँ “ऐया !”
उताबाट जवाफ आयोः “मन पर्ला भनेर लेखेको शब्दले घोच्यो कि क्या हो ? कहाँ घोच्यो मुटुमै ?”
मैले लेखेः “घोच्यो नि ! घोचिने त अरु पनि छन् यहाँ । फ्रेम मात्रै लेख्दा त यति घोच्यो भने.. ।” मनमा त प्रेमको घोचाइ बढी हुन्छ भन्ने लेखूँ भन्ने थियो । त्यो लेखिन र लेखेँ, “प्रेममा भन्दा फ्रेममा बढी माया हुन्छ क्या ।”
“फ्रेममा गरिने त ढोँगी र संकुचित माया मात्र हो । एउटा निश्चित फ्रेमभित्र कैद गर्नु पनि कुनै माया हो ? हिजोआजको संसारमा गरिने फ्रेमकै माया हो, प्रेमको माया त कसले पो गर्न सक्छन् । प्रेममा स्वतन्त्रता हुन्छ, फ्रेममा बन्दी हुन्छ । फ्रेम जति पनि हुनसक्छन्, प्रेम एउटै हुन्छ । प्रेम त फ्रेममा कहाँ अटाउन सक्छ र ? बिहे गर्नु पूर्वसम्म वास्तविक प्रेम हुन्छ, बिहेपछि प्रेम फ्रेममा बदलिसक्छ ।” लामै आदर्शले भरिपूर्ण मेसेज देखियो ।
मलाई त्यस मेसेजले बढी घोच्यो । कसलाई सिकाउँदै यसले यो प्रत्युत्तरले म याने भावनाको संवाहकलाई कि भावनाको उत्पादकलाई । उसले त मलाई नै लक्षित गरेको थियो तर यता भने लक्षित हुने अर्कै थिई ।
त्यस मेसेजको प्रतिक्रियास्वरुप यता प्रितीबाट दुई मुड्की प्रहार भइहाल्योः “प्रेम नै लेख न पि.रे.म. । के वाहियात नाटक गरिरहेका छौ ।”
मैले लेखेँ, “प्रेम !”
उताबाट तुरुन्तै जवाफ आयोः “प्रसाद !”
मैले लेखेँ, “फसाद !”
जवाफ आयो, “किन फसाद ?”
प्रितीमा अधैर्यता उम्लिरहेको थियो । उसले हठात् मेरो हातबाट फेरि ल्यापटप खोसेर लिई र आफै लेखी
“नीता, मलाई तिम्रो फोन नम्बर देऊ न ।”
उताबाट जवाफ आयोः “सेकेन, सेकेनमा फोन गरिरहन्छौ त मलाई ? फोन नम्बर नै थाहा छैन ?”
यताबाट बनावटी जवाफ लेखियोः “भर्खरैं मोबाइलको सबै डाटा डिलिट भएछ । कण्ठ थिएन के । तिमीलाई अब म फोनमै कुरा गर्छु ”
उताबाट नम्बर देखियो, “९८१८१८१८१८”
प्रितीले त्यो नम्बर हातमा टिपी र ल्यापटपलाई पन्छाएर प्रिती उछिट्टिँदै बाहिर गई । अनि त्यही नम्बर डायल गर्न थालिन्, दाँत किटकिटाउँदै र गाला थर्थराउँदै । मोबाइल कानमा हल्लिरहेको प्रष्ट देखिन्थ्यो । लामो घण्टीपछि उता फोन उठ्यो ।
मलाई अनावश्यक झञ्झटमा फसिएको चिन्ताले चिमोटिरहेको थियो । मनमा शंकाका काला धब्बाहरु बाक्लिँदै गइरहेका थिए । कतै उसले नै फोन नउठाएर आफ्नी भ्यालेन्टाइनलाई फोन दियो भने स्थिति कस्तो होला ? कति रुमल्लिएला यो पहिचानको द्वन्द्व !
उताबाट पुरुष स्वर सुनियो “हेलो ? हेलो ? हेलो ?”
“को बोल्नुभएको हो ? नि…. ?”
“हो, हो म निश्चल नै हुँ ।”
उताबाट आएको पुरुषको स्वरले मेरो बेचैनी त घट्यो तर एकछिनमै आफै पराजित भएको महसुस हुन थाल्यो । म काँचा आन्द्रा खाएतुल्य हुन पुगेँ । मैले आफूले पाउनुपर्ने भ्यालेन्टाइनको प्रस्ताव अर्कोतिर हस्तान्तरण गर्दैछु तर उसले आफ्नो भ्यालेन्टाइनको प्रतिरक्षा आफै गर्दैछ । मैले आफैलाई धिक्कारेँ ।
“निश्चल ???” आश्चर्यचकित भई मेरी प्रिती ।
“हजुर, म निश्चल तामाङ हुँ । तपाईँले कसलाई खोज्नुभएको हो र ?
“म, म, म प्रेमप्रसादकी श्रीमती” प्रितीले ढाँट्न सकिन ।
“हा..हा..हा..हा.. भाउजू बोल्नुभाको हो ? अनि ? अहिले दाजुभाउजू संगै होइन र ? दाजुले त मसँग अनलाइनमै बात मारिरहेको छ त ।”
यता अवाक् भइसकेकी थिई प्रिती ।
“हाम्रीहरुलाई भ्यालेन्टाइनको के अफर गर्ने भनी गम्भीर छलफलमा थियौँ हामी ।”
“अनि केटीको नाम किन राखेको त फेसबुक आइडिमा ?” उनी पराजित मूडमा ओर्लिसकेकी थिई ।
“कस्तो भाउजू पनि ! नाम पनि कतै केटीको र केटाको हुन्छ ? नामले छुट्ट्याउने हो केटा र केटीलाई ?, तिनीहरु त शारीरिक बनावटले पो छुट्टिन्छ त भाउजू । निश्चल तामाङको छोट्करी रुप नि.ता. भएन र ?”
एक सय डिग्रीभन्दा बढीको तापक्रमबाट ऊ शून्यमा झरिसकेकी थिई । उसको अनुहारको लाल रङ अब नीलो रङमा परिवर्तन भएको थियो । मोबाइल खेलाउँदै ऊ आएर मेरो काखमा घुस्रिई र मेरो गालामा एक चड्कन दिई । “उस्सै अर्कालाई सताउनेलाई यही हो भ्यालेन्टाइनको उपहार ।”, भन्दै ऊ खितखिताई ।
मैले पनि जस्तालाई त्यस्तैले जवाफ फर्काइदिएँ, झड्याम्, झड्याम, दुई चड्कन, “उस्सै शंका गर्नेलाई यही हो भ्यालेन्टाइनको उपहार” भन्दै ।
निश्चल तामाङसँग एउटा साहित्यिक सम्मेलनमा परिचय भएको थियो । उसलाई कविताहरु पढ्न खूब मन पर्ने । आफूले लेख्ने अभ्यास पनि गर्दै थियो । लेखाइ अभ्यासको लागि हामीले च्याटिङमा अनेक विषयवस्तुमा कवितात्मक शैलीमा बिचार आदानप्रदान गर्थ्यौँ । बूढाबूढी, प्रेमप्रेमिका, मित्रशत्रु, छरछिमेक सबैको अभिनय गर्दै मीठामीठा बात मार्थ्यौँ हामी ।
“अनि कम्प्युटरको पासवर्ड पनि त्यसकै नाम किन राख्नुपर्ने नि ?” प्रितीले कौतुहुलता पोखी ।
“निता भनेपछि निश्चल तामाङ मात्रै हुन्छ ? अरु कोही छैन यो संसारमा ?”
“कि फेरि अरु कोही छ त ?” ऊ जुरुक्क उठेर अलग्गै बसी । उसको संशय फेरि बाक्लिएको देखियो ।
“हुन सक्छन् ।” सहजै भनिदिएँ मैले । “सुन, निता (NITA) को पूरा रुप नेशनल इन्फर्मेशन टेक्नोलोजी फर अटोमेशन (National Information Technology for Automation) हो । यो एउटा सूचनाप्रविधि सम्बन्धी काठमाण्डौमा खुलेको नयाँ संस्था हो । यो ल्यापटप नै त्यहीँबाट ल्याएको हो मैले । मलाई त्यहाँ पार्टटाइम काम पनि गर्दैछु भनेर तिमीलाई कतिपटक भनिसकेँ ।”
“मलाई के थाहा त राम्रोसँग बुझाउनुपर्छ नि । यो नाम सुन्यो कि मलाई छट्पटी भइहाल्थ्यो र बाँकी कुरा सुन्नै सक्तैनथेँ म । खै ल्याउ त ल्यापटप त्यस तामाङ केटाको प्रोफाइल हेरौँ ।”
मैले निश्चलको प्रोफाइल खोलेर देखाइदिएँ ।
उसका प्रोफाइल तस्बीरहरु हेर्दै गई प्रिती । नीताका फोटाहरु प्रायः उसकै भ्यालेन्टाइनसँग गाँसिएका हुन्थे ।
“यो मान्छेको जीउडाल पनि कति मिलेको होला ! यो मान्छे त स्वास्नीभन्दा पनि धेरै सुन्दर देखिन्छ ! कस्तो ठ्याक्कै केटीको जस्तो अनुहार भएको केटो होला यो ?”
“तामाङ केटाहरु यस्तै त हुन्छन् नि । अघि त उत्ताउलो अनुहार भएकी केटी भन्दै थियौ त ?”
“केटालाई केटी ठानेर हेर्दा अर्कै देखिँदा रहेछन् । केटालाई केटाकै दृष्टिले र केटीलाई केटीकै दृष्टिले हेर्दा उनीहरुको सुन्दरतामा निखार आउँदो रहेछ ।” उसले खितखिताउँदै जवाफ दिई ।
उसले उसका फोटोहरु उधिन्दै गई । २०१७ फेब्रअरी, जनवरी, २०१६ डिसेम्बर, नभेम्बर, अक्टुबर २०१५, २०१४, २०१३…..”
“यो मान्छेको एउटा फोटो पनि नराम्रो देखिएन । जताकतै सिँगारपटार गरेर नै खिचेको फोटोजस्तै” चकित परी ऊ ।
“अरु केटाको फोटो पनि कति हेर्नुपरेको होला ? खोइ, छाड, देऊ ल्यापटप, म मेरी नानीसँग कुरा गर्छु, अब । अब शंका गर्ने पालो ममा सरिसकेको थियो ।”
“को नानी नि फेरि ?”
यसबेला उसलाई नअलमल्याएर तुरुन्तै भनिहालेँ, “नारायण निरौला !”
मैले नीताको प्रोफाइल बन्द गरेर नारायण निरौलालाई मेसेज पठाइहालेँ, “कता हो नानी ? के छ नानीको हालखबर… ?”
प्रितीलाई भने नीताको फोटो हेर्ने धोको अझै मेटिएको थिएन ।

2073/11/3

Bhairahawa

643 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *