नियात्रा ८ः बाइबाइ रुकुम फेरि भेटौँला

बिदाबारी

आज मंशिर ८ गते । बिहान २ बजेतिरै ब्यूँझिएका छौँ दुवैजनाः देवकुमारी र म ।

आज रुकुमबाट फर्कनुछ कर्मथलोतिर ।

म दशैं तिहारमा पनि आउन सकिरहेको छैन बाआमाको हातबाट टीका थाप्न । असी वर्षमाथिको बाआमाको स्याहारको खाँचो छ, उहाँहरुको नजिकै बसेर सन्चोबिसन्चो सोधिरहने आफन्तको खाँचो छ । सन्तानहरु वरिपरि भएको हेर्न चाहनुहुँदो हो । उहाँहरुले देख्दा-देख्दै उहाँहरुसँग जन्मेका इष्टमित्रहरु धेरै अन्तिम बिदाइ भएर गइसके । मावलीमा तीनभाइ छोरा र तीन बहिनी छोरीमा आमा र कान्छामामा मात्र जिवित हुनुहन्छ अब । घरमा बा मात्र हुनुहुन्छ । आमाबाले तीनवटी आफ्नै छोरीहरुलाई उमेरमै सधैँको लागि विदाइ गरिसक्नुभएको छ ।

यस अर्थमा उहाँहरुले जीवनको अर्थबोध गरिसक्नुभएको छ ।

मेरो भोगाइमा पनि अनगिन्ति दुखाइहरु मेरो नजिक भएर पार भएका छन् । केही पीडाहरु मलाई धकेलेर गएका छन् । धकेलिए पनि म धङधङिएको छु मात्र । म ढलिहालेको चाँहि छैन । धेरै मित्र तथा आफन्तहरुलाई अल्पकालीन र दीर्घकालीन विदाइमा मैले पनि भाग लिएको छु । एकजना जवान छोरालाई सधैँको लागि बिदाई गर्ने साहस पनि गरिसकेँ । यो घटनाले लामो अवधिसम्म मलाई ढलायो । तर म अहिले उठ्ने प्रयासमा छु फेरि । हो म ढल्दै र उठ्दै गरिरहेको छु । मलाई उठाउन खोज्नेहरुको कमी छैन । मलाई उठेको हेर्न चाहनेहरु धेरैभन्दा धेरै छन् ।

यो कार्यक्रम पनि मेरो उठाइको सानो प्रयास हो । कमल ढकालजीले मेरो दुःख नजिकबाट देखेका छन् । दुःखहरु मसिना हुन्छन् । नजिकैबाट हेर्नेले मात्र दुःखको आकारप्रकार तथा रुपरङ पहिचान गर्न सक्छ । अतः उनले मलाई उठेको हेर्न चाहन्छन् । त्यसैले सानो अनुरोधमा नै देशकै चर्चित साहित्यकारहरुलाई जुटाइदिए र रुकुम पुर्‍याउन मद्दत गरे ।

यी संस्मरणहरुमा मैले मेरोतर्फबाट व्यक्त भावहरु मात्र हुन् । सिर्फ मेरा दृष्टिकोणहरु मात्र हुन् । कमलजीको दृष्टिकोण फरक छ । यो नियात्राका अर्का अभिन्न अङ्ग कमलजी नै हुन् । मेरा अनुभूतिहरु थोपाथोपा मात्र हुन् । कमलजीले अनुभूतिको धारो बगाउन सक्छन् । भूपिनले भोगाइका खोलै बगाइदिन सक्छन् । अश्विनिले दुईवटा ठूला दुई गाडहरु बगाइसके । नयनराज नदी नै बगाउने तर्खरमा होलान् । युवराज सागर नै उर्लाउने चाँजोपाँजो मिलाइरहेका होलान् । ती अनुभूतिका बहावहरु नितान्त फरक हुनेछन् ।

आज कामको सिलसिलामा आमाबालाई रुकुममै छोडेर म तिनै साहित्यकार टोलीसँग कर्मथलोतिर फर्कँदै छु । करिब एक हप्ता घरमै रहँदा पनि आमाबाको सञ्चोबिसञ्चो सोध्न सकेको छैन । सोध्ने समय पनि आमाबाको निम्ति जोगाउन सकेको छैन । बिहान घरबाट हिँड्दा उहाँहरु उठिसक्नुभएको हुन्न र बेलुका सुतिसकेपछि मात्र कार्यक्रमबाट फर्किरहेको हुन्छु ।

अब त उहाँहरुलाई यतै छोडेर फर्कने बेला नजिकिँदै छ । विभिन्न पीडाले थिलथिलो भएको छ आमाबाको मुटु । एउटै पीडाको भारीले नै थिलथिलो पारेको छ मेरो मुटु । अब यी मुटुहरु बीच कुनै औपचारिकताको आवश्यक छैन ।

आज हामीलाई विदाइ गर्न चारबजेतिर आमाबा पनि ब्यूँझिसक्नुभएको छ ।

आइपुग्नको दिनमा ‘आइपुगेँ है, आमाबा !’ भनेको थिएँ । अब ‘जान्छु है त, आमाबा !!’ भन्नुपर्नेछः सजिलै भन्छु पनि ।  कहिलेकाँही वाहियात लाग्छ मेरो जागिरी र अन्य सामाजिक कार्यहरुतिरको अति व्यस्तता । यो अवस्थाका आमाबालाई त हेर्न सकेको छैन अरु के हेर्नसक्छु म ? कतै म पनि एउटा ढोँगी ढर्रा त पछ्याइरहेको छैन ? जे होस् अर्को विकल्प पनि छैन  मसँग ।

म आमाबालाई ढोगिदिन्छु । बदलामा एकथैलो आशिष बोकाइदिनुहुन्छ उहाँहरु । यही आशिषले म अरु पाँचछ महिना काम चलाउँछु । कमी भएको महशुस हुनथालेपछि फेरि रुकुमस्थित घरमा आइपुग्छु र पुनः आशिष थाप्छु । यो क्रम लम्बिइरहोस् भन्ने कामना गर्दछु ।

“बच्पन जस्तै अहिले पनि मागेको आशिष ममाथि थुपारिदिनुहुन्छ मेरो आमाबा ।” यही कुरा सम्झँदै सजल नेत्रको सहाराले बाटो लाग्छु । देवकुमारी पनि बिदाबारी भई मेरो पछि लाग्छिन् ।

देवकुमारीको हालत पनि मेरोभन्दा फरक छैन । मैले प्राकृतिक नियात्राको क्रममा विभिन्न शिखर चढिरहँदा उनले घरमा र माइतीमा रहेका आमाबाहरुको उमेरको सकसपूर्ण शिखरयात्रा टुलुटुलु हेरिरहिन् ।

उमेर छउन्जेल जीउमा रगत हुन्छ । आँट हुन्छ । आफन्तहरुको समर्थन हुन्छ । आवश्यक श्रोतसाधनहरु जे खोज्यो, त्यही उपलब्ध हुन्छ । त्यसबेला उमेरदारहरुको यात्रा ओरालो वा तेर्सोतिर हुन्छ ।

जब उमेर ढल्दै जान्छ । रगत सुक्दै जान्छ । आँट र जाँगर ओइलिँदै जान्छ । आफन्तहरु क्षणिक र दीर्घ बिदाइबाट एकएक गरी टाढिन थाल्छन् । जीवनयात्रा भने त्यसपछि ठाडिन थाल्दछ । हातमा रहेका सबै श्रोतसाधनहरु खोसिइसकेका हुन्छन् । त्यसैबेला नाङ्गिई सकेको मनले उमेरको शिखरयात्रामा होमिनुपर्छ । एउटा भयावहपूर्ण यात्रा । एउटा संकष्टपूर्ण यात्रा । त्यो यात्रा बूढाबूढीहरुले एक्लैएक्लै तय गर्नुपर्दछ । भिरबाट नचिप्लिएसम्म । चट्टानमा न बजारिएसम्म । त्यो यात्राको गन्तव्य नै ठुन्मुनिँदै सदासदाको लागि पृथ्वीतलबाट समाप्त हुनु हो ।

उनले यही यात्रामा हिँडिरहेका आफन्तजनहरु र गाउँलेहरुको अनुभूति संगालिन् भन्ने कुरा उनका गहमा भरिएर छचल्किई रहेका महासागरको गहिराइ हेरेरै चाल पाउँछु म ।

बजारमा पुगेपछि थाहा लाग्छ, अतिथिको टोली पनि फिर्तिसवारीको लागि तम्तयार भैसकेको छ । सिद्धार्थ होटेलका साहु तथा मेरो पूर्व विद्यार्थी शंकरले हार्दिकतापूर्वक अतिथिको विदाइ गर्छन् । बिदाइको चिया भने होटेल नजिकै रहेको देवीको घरमा उम्लन्छ । बिहानै उठ्नुपरेकोले हो या अव्यक्त पीडाले हो सुदिपको एकतमासले रुवाइका हिक्काहरुले उम्लिएको चियालाई चिस्याउन सामर्थ्य राख्दछ । ऊभित्र पनि उस्तै कहिल्यै नओइलाउने घाउ छ । उस्तै उस्तै तर फरक आयतनको घाउ । पहिल्यै अग्गअग्ग भैसकेको मेरो मुटुलाई उसको रुवाइले अरु रेट्न थाल्छ ।

हामी उनीहरुबाट विदाइका सामान्य औपचारिकता पूरा गर्दै त्यहाँबाट फुत्किन्छौँ ।

हाम्रो गाडी बिहानीको चिसो सिरेठोसँग जुध्दै बतासिन्छ, सिम्रुतु, खारा, झुल्नेटा, खौला हुँदै । रुकुमको अन्तिम सीमामा रहेको शहिद स्मृति द्वारबाट बाहिर निस्कन्छौँ । ‘बाइबाइ रुकुम !’ भन्नलाई रुकुमतिर फर्केर हेर्छौँ, अँध्यारो मात्रै छ चारैतिर । हाम्रो औपचारिकता सुन्न उठिसकेको छैन खाराको रानीवन वा सिस्ने हिमाल । बिहानीको मिर्मिरे भैसकेको छैन । मंशिरको आधाआधीमा उज्यालो हुन साढे छ बज्नुपर्छ, हामी छ नबज्दै यहाँ आइपुगेका छौँ ।

जलेखर्क, सिमखोली, बाङ्गेलाँकुरी, शिवरथ हुँदै खरीबोट पुगेपछि मात्र पूरै उज्यालो हुन्छ । मन उद्दिग्न भएर होला अस्तिको चहलपहलपूर्ण बजार शून्यशून्य लाग्छ, मान्छेहरु नियास्रा लाग्छन्, वरिपरिका पहाडहरु, खोलानाला सबै नियास्रा लाग्छन् । गाडीबाट झरेर चिया खान समेत जाँगर चल्दैन हाम्रो । प्रत्येक बजारमा एक कप चिया उडाउने अश्विनी चुपचाप छन् । युवराजलाई वासु शशिको किस्सा सुनाउन जाँगर चलेको छैन । नयनराज, भूपीन, कमललाई ती किस्साहरु सुन्ने जाँगर चलेको छैन ।

अब बागचौर, थारमारे, कालाखेत, मोख्ला, पटारे, चाख्लीघाट, ढारचौर, बरला, शितलपाटी पार गर्दै निरन्तर भागिरहेका छौँ हामी । जुन गतिमा भाग्छौँ त्योभन्दा दोब्बर गति बढाएर नियास्रोपनले हाम्रो बाटो छेकिरहन्छ । सडक वरिपरिका बग्रेल्ती चियापसलहरुमा पनि चिया पिउन त के पानी प्यास समेत लागेको छैन कसैलाई । लागे पनि व्यक्त गर्ने जाँगर चलेको छैन । यसरी नै लान्ति, भोटेचौर, शंखमूल, लुहाम, टुनीबोट, अरिङ्गाले फेँदी, मूलपानी, कपुरकोट, राम्री हुँदै दाङको समथर फाँटमा प्रवेश गर्छौँ । समथरमा पस्ने बित्तिकै नयाँ जोशजाँगरसित बत्तिन थाल्छ हाम्रो गाडी । हामी भने दिलको बोझ कत्ति पनि हलुको नहुँदा गाडीभित्र बामे सरेको अनुभूति सँगालिरहेका छौँ ।

दाङमा रामबहादुर खडका र लालबहादुर केसीले रुकुमका देशारुसँग भेटघाटको व्यवस्था मिलाएका रहेछन् । उनीहरुको हार्दिक स्वागत स्वीकार गर्दै रामबहादुर खडकाको आलिशान निवासमा चियापान गर्छौँ । खाना भने बिजौरीस्थित लोकबहादुर बिसिको ससुरालीमा गर्दछौँ । अश्विनिले लोकबहादुर बिसिसँग अन्तर्वार्ता लिएर दोहोरो लाभ प्राप्त गर्छन् ।

खानपिनपछि हामी घोराही हुँदै लमही झर्छौँ । नयनराज हामीलाई छोडेर नेपालगन्ज जान चाहन्छन् हामीलाई नछाड्नुहोस् भन्ने हाम्रो अनुनय विनयले उनको मन पटक्कै पग्रिन्न । फलस्वरुप उनको विदाइको लागि हामी लमहीमा केहीबेर अलमलिन्छौँ । नयनराजलाई नेपालगंजको बस चढाएर उनलाई हात हल्लाउँदै हामी भैरहवातिर सोझिन्छौँ ।

भैरहवा पुग्दा थकित भैसकेको हुँदा देवकुमारी अस्मिता र परिक्षित आतिथ्यता स्वीकार्न अतिथिहरुले अप्ठ्यारो मान्छन् । बस्ने व्यवस्था कृषि विकास बैङ्कको अतिथिगृहमा नै मिलाइसकिएको छ । उनीहरु हामीसँग पनि विदाइ भएर आफ्नो निवासस्थलतिर लाग्छन् ।

कार्यक्रमको बोझ समाप्त भएको छ, तर सोको प्रभावको बोझ भने अरु थपिएझैँ भारीभारी अनुभूति भैरहेको छ ।

 

क्रिया र प्रतिक्रिया

आज मंशिर ९ गते । म अलिकति अबेर उठ्छु । जब फेसबुक खोल्छु, केही साथीहरु कार्यक्रमको समीक्षाको लागि लाइन लागेको भेटिन्छन् । कसैलाई प्रतिक्रिया दिन आफै निम्तो दिन्छु ।

बलदेवजी भन्छन्: ‘तिमीले मीनबहादुरजस्तो मान्छेलाई सहभागी गराएकोले हाम्रो साथ रहेन ।’ सुबोध भन्छन्: ‘कार्यक्रममा नवराजजस्ता कठोर काँग्रेसलाई सहभागी गराइएकोले कार्यक्रमको औचित्यमा नै प्रश्न चिन्ह उठ्यो, अतः हामी पछि हट्यौँ ।’ कमला भन्छिन्: ‘सिर्जनाजस्ता फुच्चेफाच्चीहरु समेत सहभागी भएको कार्यक्रम मलाई मन पर्दैन, तसर्थ म आइन ।’ अनुराग भन्छन्: ‘गिरीप्रसादलाई काँधमा बोकेका छौ कसरी कार्यक्रम सफल हुन्छ ?’, प्रतिक भन्छन्: ‘तिमीले प्रतिक्रियावादीहरुलाई जमघट गरेर रुकुमको दुष्प्रचार गर्न खोजेका हौ । अतः यो कार्यक्रम प्रतिक्रियाबादीहरुको डिजाइन हो भनी हामी निश्कर्षमा पुग्यौँ । तिमी सोही डिजाइनको गोटी बनेका छौ, यसको हामी घोर भर्त्सना गर्दछौँ ।’ आशिष भन्छन्: ‘यो माओवादीहरुको नयाँ चाल हो । कार्यक्रम भएका स्थल जतासुकै माओवादीहरुको बाक्लो उपस्थिति थियो र उनीहरुलाई नै मलजल पुग्ने गरी भाषण छाँटियो । तसर्थ हाम्रो सहभागिताको कुनै अर्थ थिएन ।’ यी नामहरु वास्तविक नाम होइनन् । सामाजिक सञ्जालमा जबर्जस्त उपस्थितिको लागि राखिएका छद्म नामहरु हुन् भन्ने अड्कल काट्न सक्छु म ।

म अकाउन्ट साइनआउट गरेर ल्यापटपलाई एकातिर मिल्काइदिन्छु । मनको गहिराइबाट एक प्रकारको घृणा भकभकी उम्लेर आउँछ र बाहिर पोखिन खोज्छ । यसको रापले दिमाग तात्तिन्छ र दिगमिग हुनथाल्छ ।

के चाहेको थिएँ ? के पाइरहेको छु यो ??

रुकुमका यावत कुराहरु आजसम्म बाहिर आउँदै नआएका पक्कै होइनन् । धेरै पहिलेदेखि नै सरकार र पार्टी दुवैतिर दमदार उपस्थिति छ यहाँका नेताहरुको । राज्यको नीतिहरु उनीहरुको इशारामा रातारात निर्मित हुनसक्छन् । लाग्छ प्रदेश राज्य मात्र होइन, संघीय राज्यको एउटा महत्त्वपूर्ण पाटो नै भैसक्यो रुकुम । रुकुमको लागि अब गर्न नै के बाँकी छ र ?

मैले हजारौँ लाखौँ साहित्यकारहरुमध्ये आधा दर्जन लेखकलाई रुकुम घुमाएर ठीक गरेँ कि बेठीक ? उनीहरुको आवाज यस्ता नेतासम्मको कानसम्म पुर्‍याउनुको कुनै अर्थ छ ? वा अर्को अपजसको भारी बोक्नुपर्ने त होइन ?

मेरो खहरेसरि उर्लिरहेको चिन्ता चिर्नेगरी फोनको घण्टी लगातार बजिरहेको छ । धेरै कलहरु उठाउँदिन म । अझै बजिरहेको छ । अन्तिम मिसकल भरतको रहेछ । भरतकुमार शर्मा रुकुमको सामाजिक साँस्कृतिक विकासको लागि आशलाग्दो नाम हो । म यो फोनलाई उपेक्षा गर्न सक्दिन ।  फोन उठाउँछुः “कार्यक्रम सफल पारेरै छाड्नुभो । तपाईँलाई मेरोतर्फबाट धेरै धेरै बधाइ छ । स्थानीयहरु तपाईँप्रति एकदमै खुशी छन् ।” अनपेक्षित यो ढाढसले दिमागमा उम्लिइरहेको दिगमिगलाई स्वाट्टै एकातिर बढारिदिन्छ ।

म प्रफुल्लित हुँदै भन्छुः “यो भ्रमण फलदायी होस् । रुकुमको गर्भमा रहेका कुराहरु सतहमा आउन् । बौद्धिक बहस बढोस् । लगानी गर्नेहरुको ध्यान यतातिर खिँचियोस् । रुकुमले लाखौँ सम्भावनाका क्षेत्रहरु ओगटेर सुधारको पर्खाइमा छ । सुधारको दिशा पक्रियोस् ।”

तैपनि मन एकप्रकारले खिन्नताबाट बाहिर निस्कन मानेको छैन । समयको सीमितताले गर्दा यो भ्रमण अपूरै अपूरो रहनपुगेको छ ।

३ गतेः सिम्रुतुमा उपस्थित सयौँ शिक्षक विद्यार्थी लगायत समाजसेवीहरुलाई आफ्नो ध्येय सुनाउन पाइएन ।

४ गतेः न स्यार्पूमा शयर गर्न पाइयो, न सानीभेरीको जल छुन पाइयो ।

५ गतेः दिनभरिको जङ्गल सफारीको अनुभूति संगाल्न पाइएन ।

६ गतेः रुकुमकोट पुगेर पनि बाउन्न पोखरी र त्रिपन्न टाकुरीको एकीकृत दृश्य हेर्न पाइएन ।

७ गतेः डिग्रे मेलाको उत्कर्ष नै हेर्न पाइएन ।

र समष्टिमाः जति भूभाग हेरियो, जति समाज हेरियो त्यो पूरै रुकुमको एक प्रतिशत पनि थिएन । यही अपूरो एक प्रतिशतको अनुमानको आधारमा लेखकहरुका बिचार छचल्किएर रुकुमको अधुरो र अपूरोपन मात्र छरपष्ट हुने त होइन ?

म पुनः कल्पिन्छु पूर्णता कहिल्यै सयवटा ‘शत’ मिलेर शतप्रतिशत बनेको हुँदैन । यो त एक-एकप्रतिशत सयवटा पुगेर शतप्रतिशत बनेको हो । ती शुरुका ‘एक, एक’ हरु आफैमा अपूर्ण हुन । जहाँ पुगियो, जे देखियो र जे भोगियो सबै एक एकका संयोग मात्र हुन् । त्यो एक बन्न पनि ०.०००१ देखि ०.९९९९ सम्मको योगदान हुनुपर्छ । यसरी नै नियात्राको क्रममा संगालिएका एक एकहरु बढ्दै गए, बढ्दै गए । आठौँ दिनमा आइपुग्दा ती एकहरु मिलेर ठ्याक्र्याक्कै ‘सय’ पो बन्न पुगे ।

आहा ! म खुशी छु । मेरो इच्छा ‘सय’ पुगेको छ । मेरो अपेक्षा ‘सय’ पुगेको छ । कमलजीको अपेक्षा ‘सय’ बन्न पुगेको छ । बाँकी साहित्यकारहरुको रुकुम टेक्ने अपेक्षारेखाले ‘सय’ देखाइरहेको छ ।

नियात्रा अवधिभर एक-एकको विशेष महत्त्व रह्यो । ती एकहरु अविस्मरणीय रहनेछन् । ती ‘एक’ हरु जसले कार्यक्रमलाई सय तुल्याउन सहयोग गरे तिनीहरुप्रति कृतज्ञ छ यो भ्रमण टोली ।

मैले जे गरेँ ठीक गरेँ । कतै बेठीक भएको भए पनि अझै सुधारेर ठीक तुल्याउन सकिने सम्भावनाहरु प्रशस्तै बाँकी नै छन् ।

(समाप्त)

73 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *