नियात्रा ७ः डिग्रे मेला

अधुरो रुकुमकोटलाई अँध्यारोमै छोड्दा

आज मार्ग ७ गते । एकाबिहानै घन्किएको कवि शिरोमणिको सत्यसन्देशको सस्वर कविताले चाइना होटेलमा आश्रय लिइरहेका सबै निद्रालुहरुको निद्रा खलबलिएको छ । प्रतिक्रियास्वरुप होटेलका कोठाकोठाहरुमा ढोकाझ्यालहरुको घर्‍याकघुरुक् र मान्छेहरुको सर्‍याकसुरुक शुरु भएको छ । बाथरुमका धाराहरुको ध्वारर्र, नित्यकर्मीहरुको प्वाररर्र र ख्वाक्कख्वाक्कको कर्कश ध्वनिबाट आफूलाई जोगाउन निद्राको न्यानो काखमा लुटुपुटु गरि नअघाएकाहरु सिरक खप्ट्याउँदै अझै गुटुमुटु पर्न खोज्छन् । बेलुका सुत्दा नसुत्दै बाह्रको संकेत गर्दै सुताउन बल गर्ने घडीको सुइ रातभरको हिँडाइको थकानले लखतरान परेझैँ अहिले चारको धर्सो वरपर घस्रिरहेको थियो ।

यति स्वरले शंका नमाझिएकोले म मोबाइलको अलार्मलाई दोब्बर चर्को ध्वनिमा रिपिट गरिदिन्छु । रातलाई नखलबल्याई बिहानै झर्दैन । बिहानीलाई नखलबल्याई उज्यालो पर्दैन । आफ्नो अल्छीपनलाई नखलबल्याई जोशजाँगर उर्लँदैन । विश्रामलाई नखलबल्याई यात्रा प्रारम्भ गर्न सकिँदैन ।

गिरिप्रसादलाई पुलुक्क हेर्छु, उनी उठेर टुसुक्क खाटको छेउमा बसिसकेका छन् । राजु उठिसकेर पनि ब्रसमन्जन हातमा लिएर बाथरुमको पालो उछिनिसकेको छ । हरेक बिहान राजुले यात्रा शुरुवातको यो एउटा राम्रो छनक देखाउँदछ र मेरो लागि आशाजनक मीठो आधार बन्न पुग्दछ ।

म हत्तपत्त अतिथि मित्रहरुले कब्जा जमाएका चारवटै कोठामा छिर्दै सत्य सन्देशले अतिथि लेखकहरुको निद्रा खलबलिएको जाँच गर्दछु ।  भ्रमण कार्यक्रमको शुरुवात गर्न ५ नबज्दै खलबल गर्न तम्तयार भैसकेका छन् सबै साथीहरु । मैले निर्णय सुनाउँछुः “हाम्रो काम उता बितिरहेको छ । यता सबै कुरो हेरेर साध्य छैन । अतः हामी अब यताउता नलागी सिधै मुसीकोट फिर्छौँ ।”

“खोइ, कमल ताल नै अघाउन्जेल हेर्न पाइएको छैन । एउटा ताल र एउटा टाकुरो मात्र झुलुक्क देखिए पनि बाँकी एकाउन्न पोखरी बाउन्न टाकुरीहरु कताकता छन् हेर्नै पाइएको छैन ? सिस्नेकै काखबाट सिस्नेहिमालको मुहार हेर्न पाइएको छैन । यहाँको प्रसिद्ध गुफा देउराली गुफाभित्र छिर्न पाइएन । यहाँसम्म आइपुगिसकिएकोले रुकुम गाड र सानीभेरीको दोभानसम्म पुग्न पाए पनि हुने । समीबोटमा फत्ते म्याडमको निमन्त्रणा छ । त्यति हेर्दैमा हाम्रो यात्राको रुटिन के बिग्रिएला र ?”

साथीहरुको एकएक मागका खलबले तगाराहरु यात्राको प्रारम्भलाई खलबल्याउन पर्याप्त छन् ।

“प्रशिक्षार्थीहरु हामीलाई कुरेर बसिरहेका होलान् । दुइदुइवटा सिर्जनशिल कक्षा चलाउन बाँकी नै छ । कक्षा समाप्तिपछि साहित्यिक भ्रमण समापनको कार्यक्रम छ ।

यस भ्रमणको मुख्य आकर्षण नै डिग्रे मेला हो र आजकै मध्यान्हपछि यो वर्षको प्रसिद्ध मेला समाप्त हुँदैछ । त्यो ऐतिहासिक साँस्कृतिक मेला हामीलाई कुरेर बसिरहने छैन ।

हिजो पार गर्नुपरेको सकसपूर्ण मार्गका धर्साहरुले तर्साउन छोडेका छैनन् । त्यो पार गर्नै हामीलाई एक घण्टा बेसी लाग्नसक्छ ।

यता अलमलिन थाल्यौँ भने हेर्नैपर्ने र गर्नै पनि कुराहरु छुट्नेछन् । अतः हामीले यहाँ अलमल गरिरहनु युक्तिसंगत छँदै छैन ।”

राजु पहिल्यै गाडीसम्म पुगेर सुताहाहरुको कानकीरा खाने गरी गाडीलाई घ्यार्घ्यारघुर्घुर पार्दै रहेछ । जब हामी आआफ्ना झोलाहरु काँधमा भिरेर गाडीसम्म पुग्छौँ गाडी त बाहिर निस्कन नपाएको आक्रोश पो पोख्दै रहेछ । पछाडि निस्कने बाटो छैन, अगाडि अरु गाडीहरुको लामो लाईनले छेकेर बीचमै फसेको छ । ती गाडीहरुका चालकहरुमध्ये केही चाइना होटेलमा बास नपाएर अन्तै बास बसेको जानकारी पाएपछि हाम्रो सातोसतारो जान्छ । उनीहरुलाई खोजेर अगाडिपट्टिका गाडी हटाउँदाहटाउँदै ६ बजिसकेको छ र यात्रामा हामी अरु एकघण्टा ढिला भैसकेका छौँ ।

गाडी निकाल्नेबित्तिकै हिजो आएको बाटो झर्दै हामी रफ्तारमा फर्किरहेका छौँ मुसीकोटतिर । रुकुमकोटको गोर्‍यानमा पुग्दा झुसमुक उज्यालो भैसकेको छ । हिजोको बाटोको दुरावस्थाले केही साथीहरु माग तेर्स्याइरहेका छन् :

“मिल्छ भने तल्लो बाटो जाऊँ । जोखिमको बाटो तय गर्नुभन्दा केही समय ढिलै भए के फरक पर्ला र ?”

“जुन बाटो निर्माण भैरहेको छ त्यो बाटोदेखि नै तर्सेर वर्षौँवर्ष बिग्रिरहेको बाटोको तय गर्नु झनै जोखिम नहोला र ?”

सजिलो बाटोमा सूर्यस्नान

हाम्रो छलफल अगाडि बढ्दा नबढ्दै राजुले हिजैको मध्यपहाडी लोकमार्ग समातिसकेको छ । यो कुरा थाहा हुने बित्तिकै हिजै तर्सिएका मनहरु बिच्किन थालेका छन् ।

हाम्रा चनाखा चनाखा आँखाहरु वायुपङ्खे मनमा चढेर गाडीको गतिलाई उछिन्दै सडकको अघिअघि गुड्न थाल्दछन् । ती गुडिरहेका नजरले हिजोको पहिरो कतै फेला पार्न सक्दैनन् । हिजोको चिप्लोबाटोमा कतै चिप्लँदैनन् । हिजोको भिरमा कतै उछिट्टिने ठाउँ भेट्टाउँदैनन् । राजु पनि निर्धक्क गाडी हुँइक्याइरहेको छ ।

हिजोको बिरानो आँखा रिङ्ने उँचाइ सामान्य लाग्छ । हिजोका डरलाग्दा घुम्तीहरु आज सजिला लागेका छन् ।  हिजोका चिप्ला र धारिला पहरहरु आज कोमलकोमल प्रतित भैरहेका छन् । हिजो बिराना ठानिएको सप्पै प्रकृति आज आफन्त बनिसकेको छ । आफन्तका अनुहारमा कतै पनि बिराना त्रासद चिन्हहरु फेला पर्ने कुरै भएन ।

रातारात कसरी परिवर्तन भयो सडकको त्यो दुरुह अवस्था ? प्रश्न सबैको छ, जवाफ दिनसक्ने कोही छैन ।

मिर्मिरे हुँदैछ । सिस्नेहिमाल सूर्यको पहिलो झुल्कोलाई पोल्टोमा खेलाउँदै जिस्किरहेको छ । हिमालबाट परावर्तित सुनौलो प्रकाशका धाराहरुमा अग्लाअग्ला चुचुराहरु आफ्नो नाङ्गो जीउ थापीथापी नुहाइरहेका छन् । बिस्तारै प्रकाशको फिँज पहाडको डँडाल्नु हुँदै जाँघजाँघसम्म झर्दै छ ।

हामी बिहानीपखको हिमाल र पहाडहरुको सूर्यस्नानको मनोरमता लुट्दै फर्किरहेका छौँ । पहाडले नुहाउँदा उछिट्ट्याइएका प्रकाशका न्याना बाछिटाहरु हाम्रो जीउमा समेत पर्न थाल्दछन् । हामी हौसिँदै गाडी रोकेरै सूर्यस्नान गर्न तम्तयार हुन्छौँ । अतिथि लेखकहरु नाङ्गिएर स्नान गर्न जम्जमाउँछन् । तर नजिकै हिजैकी पहाडी सुन्दरीले हाम्रो चालढाल चियाइरहेकी छिन् । बलात्कृत ठान्ने हतासिएको मन आज पुलकित छ । कटितिरबाट फुस्किन थालेको मन सम्हालिनसकिनु भएको छ मित्रहरुलाई ।

केही पर पुगेपछि फराकिलो सडकले स्वागत गर्दछ । प्राकृतिक र निर्मित भूआकृतिमा कतै केही फरक छैन । पूर्वी र पश्चिमी जिल्लाको अन्तर भेटिँदैन । ५ नं र ६ नं प्रदेशको भेद कतै खुल्दैन । भ्रमणमा समेटिएका गिरिप्रसाद, पूर्ण ओली र युवराज नयाँघरेजस्तै ।

हिजो त्रासले खलबलिएका मनहरु आज आशले खलबलिइरहेका छन् । आखिर जे गरे पनि मान्छेको मनको काम नै खलबलिनु रहेछ । खलबलिएका मनहरु थामथुम पार्न राजु पोख्त छ । कतै गाडी उछिट्याउँदै त कतै अकस्मातको ब्रेकले जोल्ट्याउँदै गाडीलाई शितलपोखरीछेउ एकछिनमै दाखिल गर्दछ ।

शितलपोखरी र शितल मनहरु

शितलपोखरी पुगेपछि मलगायत कमल, अश्विनीजी र युवराजको मागबमोजिम हामीलाई मध्यपहाडी र राप्तीराजमार्गको संगम चोकमा छोडेर भूपीन र नयनराजलाई लिएर गिरी र सिर्जनाहरु खलंगातिर लाग्छन् । हामी मध्यपहाडी मार्गलाई विदाइ गर्दै शितलपोखरीमा रहेको एउटा छाप्रोभित्र चिया खाने प्रस्तावसहित पस्छौँ ।

कमल, अश्विनीजी र युवराजको मनले खोजिहिँडेको ठ्याक्कै एउटा जोडी फेला परेको छ त्यहाँभित्र । होटेलभित्रै डोर्‍याइएको प्लास्टिकको पाइपमा बगेको ठण्डा पानीमा एक अधबैँसे महिला जुठाभाँडा धुँदै छिन् । ठिटौले पुरुष चिया पकाउनको लागि दाउराको आगो ठोसठास पार्दै छन् । उमेरले ती दुई प्राणीको बीचकी देखिने एक युवती भाँडाहरु यताउता सार्ने निहुँले लुकिछिपि कमल र अश्विनिलाई धारिला नजरले हानिरहेकी छिन् ।

अश्विनिले ती पुरुषलाई आफैले चिया पकाइदिने कुरा मनाउन सफल भएका छन् । युवराज भाँडा धोइरहेकी आइमाइसम्म पुग्छन् र आफूभित्र भकभकी उम्लिरहेको जिज्ञासा पोख्न भ्याउँछन् :

“… भनेपछि आमाले छोराछोरी पनि तन्नेरी बनाइसक्नुभएछ । एक छोरा र एक छोरी हैन त ?”

ती प्रौढ महिला धोएका भाँडा एकातिर राखेर बर्कोले मुख छोपेर हाँस्न थाल्छिन् । एक फत्को हाँसोले गलिहाल्ने प्रेमका परिभाषक अश्विनि त्यो हाँसोले फत्रक्कै पर्दछन् र हत्तपत्त केटाकी दिदीजस्ती लाग्ने युवतीलाई सोधिहाल्छन् कुरै बुझिएन नि नानी आमा नयाँघरेलाई जवाफै नदिएर हाँसिराख्नुभको छ । तपाईँको भाइ हुनुपर्ने उता फर्केर हाँस्दैछन् । उहाँ तपाईँको आफ्नै भाइ होइन र । तपाईँहरुको अनुहार पनि मिलिरहेकोले हामी त यस्तै सोचिरहेका थियौँ त ?

उनी खिलखिलाउँदै भन्छिन् : “कहाँको भाइ हुनु नि ? उहाँ त मेरो बाबा हो । अनि उहाँ भाँडा धुनेचाँहि मेरी आमा ।”

त्यो प्रष्ट देखिएको बाबुछोरी बिचको उमेरको विरोधाभाष टिप्नलाई युवराजका मनका पानाहरु सकिइसकेको छनक देखाउँदछन् र हत्तपत्त कापी झिकेर तीनपुस्ते टिप्न थाल्दछन् । यही विरोधाभाषपूर्ण जानकारीको प्रहार उता कमलको अक्करमै लागेको रहेछ र अक्क न बक्कको अवस्थामा रन्थनिइरहेका छन् । उनी हाँसोलाई बलजफ्ति निल्दै एकछिन स्तब्ध हुन खोज्छन् र रोकिएको हाँसोको फड्कोहरु जोरजुलुम पारेर सबैको बीचमा एकैचोटी प्रहार गर्दछन् । रुखका डालीमा बसेका चराहरु भुरुर्र भाग्छन् । आरामसँग होटेलमा चक्कर मारिरहेका कुखुराकुखुरीहरु पखेट्टा फटफटाउँदै लाखापाखा लाग्छन् । चिया खाइरहेका अरु आगन्तुकहरुको घुट्कोले फट्को नै लगाइदिन सशक्त छ कमलको अजीवको हाँसो ।

शितल खालको विरोधाभाष । शितल खालको हाँसो । शितल खालको आतिथ्यता । चौतर्फि शितलताको वर्षा हुन थालेपछि मान्छेका मनहरु नभिज्ने कुरा कहाँ सम्भव थियो र ? शितलपोखरीमा मनहरु पनि शितल शितल हुन पुगेका छन् ।

फलस्वरुप त्यो जोडीका अनेक पोजका फोटोहरु लिन चुक्दैनन् अतिथिहरु । आफै चिया पकाएर खुवाउँछु भनी तम्सिएका अश्विनि एक किल्टी चिया नै भाँडोमा सुकाइदिन्छन् । यो खुशियालीमा युवराज अरु होटेलमा पाक्दै गरेका थरिथरिका स्वादका चियाहरु जिप्ट्याइदिन्छन् ।

त्यो अमिल्दो जोडीको दृश्य लोभीपापी नजरलाई सजिलै निल्न गाह्रो भैरहेकोले त्यहाँबाट चाँफा झरेर अर्को कप चिया लडाइदिन्छन् उनीहरु । चिया थपथाप पार्नुपछिको गूढ रहस्य राजुको गाडीको प्रतिक्षा पनि हुनुपर्छ ।  नयनराजहरुलाई छोडेर फर्किहाल्नुपर्ने गाडी अझै आइपुगेको छैन । अब मुसीकोट डाँडामा पुगेर हामी मुसी-मिथकको बारेमा छलफल गर्छौँ । अझै गाडी आइपुग्दैन । हामी राजुलाई कम र गाडीलाई बढी सत्तोसराप गर्दै त्यताबाट पनि सडकमा ओर्लन्छौँ । सोलाबाङको विद्यालयको फर्किरहेको रित्तो गाडी देखेपछि युवराज हात उठाउँछन् । गाडी रोक्नुको बहादुरीको बखान गर्दै हामीहरु सोलाबाङतिर ओर्लिन्छौँ ।

सोलाबाङबाट खाना खाइवरी नुहाइधुहाइ सकेर पुनः खलंगा उक्लँदा बाह्र बजिसकेको छ । अब हाम्रो यात्रामा देवकुमारी, उनकी बहिनी देवी र फुच्चे सुदिप पनि थपिएका छन् । उनीहरुको यात्राको गन्तव्य डिग्रेसम्मको छ । नयाँ यात्रीहरुसँग नयाँ प्रसङ्गका कुरा गर्दै हामी खलंगा पुग्छौँ । उनीहरु कार्यक्रम स्थलसम्मजान मान्दैनन् । उनीहरुलाई मात्र लिएर डिग्रे पुग्न राजुले मानिरहेको छैन ।

हामी कक्षा भैरहेको स्थलमा पुग्दछौँ । उता  समय घर्किँदै ओरालो लागिरहेको छ अश्विनीजी भने कथाको विषयमा आफूले हिजो विद्यार्थीलाई दिएको होमवर्क जाँच्न थाल्छन् । सबै प्रशिक्षार्थीहरुले लेखेका लामालामा कथाहरु वाचन गर्न लगाएर । खै के खै के ? अश्विनिले कथा सुन्न कान थापेका छन् । प्रशिक्षार्थीहरुले अश्विनिको प्रतिक्रिया सुन्न कान थापेका छन् । तर समयले भने कानमा बुजो हालेर उनीहरुबाट भागिरहेको छ ।

त्यसपछि मात्र औपचारिक कार्यक्रम शुरु हुन्छ र कार्यक्रमका सभापति मनलाल ओलीबाट अतिथिहरुलाई प्रमाणपत्र वितरण गर्दै सिर्जनशिल प्रशिक्षण कार्यक्रमको समापन गर्छन् ।

डिग्रे मेलाको उत्कर्ष

मंशिर ७ गते भ्रमण कार्यक्रमको उत्कर्षको दिन पनि हो । अतिथिहरु आजसम्म रुकुमका कुना कन्दराहरु घुमी घुमी जति हेरे त्योभन्दा धेरै तर एकै ठाउँमा देखिने दिन हो यो । एकै स्थलमा रुकुमेली भाषा, भुषा, धर्म, संस्कृति, फलफूल, उद्योग, व्यापार, पर्यटनका थरीथरी आकार प्रकारहरु देख्न पाइने मेला । तर यी यावत कुराहरु हेर्न एकदुई घण्टाले पुग्दैन । बारम्बार अतिथिहरुलाई घचघच्याइरहेको छु यही कुराको जनाउ दिँदै । तर यताउता अलमल गर्दागर्दै तीन बजिसकेको छ खलङ्गामै ।

हामी खलङ्गाबाट डिग्रे मेला हेर्न उक्लँदैछौँ तीनबजेतिर । मुसिकोट नगरपालिकाको उत्तरी भेगमा रहेको थर्पुमा डिग्रेमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म मेला लाग्छ । आधा घण्टाजतिको उकालो काटेपछि डिग्रे पुगिन्छ । उकालो कटाउने गरी सिर्जनाले अतिथिहरुलाई अर्थ्याइरहेकी छिन्

डिग्रे मेलाका दुईवटा उत्कर्षहरु छन् ।

पहिलो धार्मिक उत्कर्ष । डिग्रे साइकुमारी आफैमा केको प्रतिक हुन् भन्ने जनधारणा फरक फरक छ । मन्दिर बाहिर दुर्गामाताको मूर्ति छ, तर नवदुर्गामा पूजा गरिँदैन र नवदुर्गा थापेर मेला लाग्दैन पनि । कोही कुमारीको प्रतिक ठान्दछन्, जिवित कुमारी राख्ने प्रचलन पनि छैन । यतातिर मष्ट देवताको पूजा गरिन्छ, मष्टसँग कुमारीको सरोकार छ छैन ? त्यसो त ईश्वरकै अस्तित्व अस्विकार गर्ने भौतिक युगले सबै क्षेत्रतिर मानवीय चमत्कारहरु देखाइरहेको छ । ईश्वरकै अस्तित्व प्रश्नको घेरामा परेको जमानामा ईश्वरको तीनपुस्ते पत्ता लगाउन खोज्नु दिवास्वप्न मात्र हो ।

धर्मभीरुहरु भने डिग्रे साइकुमारीलाई मनकामना पूर्ण गरिदिने भगवतीको रुपमा आत्मसाथ गर्दछन् । निसन्तानहरुले सन्तान पाउने, दुर्गति भोग्नेले प्रगति गर्ने, एकलले युगल भेटाउने आशामा भाकल गर्दछन् र कामना पूरा भएमा भगवतीलाई बोका चढाउन आउँछन् मंशिर दुवादशीदेखि चतुर्दशीसम्म भक्तजनहरु । चतुर्दशीकै दिनमा सबैभन्दा बढी बोकाहरु चढाइन्छ र रगतको खोलो बग्दछ मन्दिरको पूर्वपट्टि । कालीबियाँ र माँशभोजनबाट हप्तादिनदेखि अलग रही  निराहार व्रत बसेर भगवतीको शरणमा पुगेका व्रतालुहरुले पहिलो नजरमै अबोध प्राणीको रगतको भेल बगेको टुलुटुलु हेर्नुपर्ने बाध्यता डिग्रेको पहिलो उत्कर्ष हो । हामी चतुर्दशीको दिनमा डिग्रे पुग्न असमर्थ भएकोले रगतको खोलो हेर्ने उत्कर्ष हामीले छुटाइसकेका छौँ ।

रुकुमको छिमेकी जिल्ला रोल्पा, डोल्पा, जाजरकोट, सल्यान जिल्लाहरु लगायत प्युठान दाङ, बाँके, बर्दियासमेतबाट समेत मेला भर्नेहरु आउँदछन् यहाँ । । मेलामा मान्छे बढेसँगै मन्दिर नजिकै रहेका पानीका धाराहरुमा पानी पनि बढ्ने विश्वास छ।

थर्पुका गौतम थरका गुवालाहरुले चराउन लगेका गाईलाई साइकुमारी भगवती देवीले दूध चढाउन आग्रह गरेको र दूध नचढाई गाई नफर्किने गर्न थालेपछि डिग्रे साइकुमारीलाई शक्तिको प्रतिकको रुपमा पूजा गर्न थालेको किंवदन्ती छ।

हरेक वर्ष देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने आस्था रहे अनुरुप मंशिर दुवादशीदेखि चतुर्दशीसम्म ठूलो मात्रामा बोकाहरुको बली दिइन्छ ।

यो मेलालाई विशेष महत्व दिँदै देशका विभिन्न भू–भागहरु लगायत रुकुमको छिमेकी जिल्ला रोल्पा, डोल्पा, जाजरकोट, सल्यान जिल्लाहरु, प्युठान दाङ, बाँके, बर्दियासमेतबाट समेत तथा मेला भर्न आउँछन् । यी भेकमा जन्मिई परदेशमा रहेका प्रवासीहरु पनि यो मेलालाई नै लक्षित गरी स्वदेश फर्कने समय मिलाएका हुन्छन् ।

मन्दिरमा चढाइएको भेटीबाट सातआठ लाख आम्दानी नै हुन्छ । मेलामा राखिएका विभिन्न फलफूल तथा उपभोग्य सामानहरुको विक्रि वितरणबाट लाखौँ रुपैयाँ बराबरको कारोबार हुन्छ । मेलामा जिल्लाकै समष्टिगत विषयवस्तुहरु प्रदर्शित हुन्छन् ।

महिनौँ एक्लिएका आफन्तहरुले यहाँ आफन्तजन भेट्टाउँछन् । प्रेम बिछुडिएका प्रेमी मनले प्रेम भेट्टाउँछ । बिजोडीले जोडा भेट्टाउँछ । यस्तै मेलामा केटी रक्छिएर घरबार बसाउने सोचले पनि कुनै युवक भौँतारिएका हुन्छन् । धार्मिक मनले धर्म भेट्टाउँछ । नचारुले हराएको नाच भेट्टाउँछ । संगीतकारले बिलाएको संगीत भेट्टाउँछ । एकजना साहित्यमनले लाखौँ कथाहरु मेला भर्न आएको भेट्टाउन सक्छ ।

डिग्रे मेलाको मुख्य आकर्षण हो लठ्ठी नाच । देवीको सुरक्षाको लागि लठ्ठी नाच नाच्ने गरेको भनाइ छ। मुसिकोट नजिकैको साँखका  मगर जातिका सयौँ तन्नेरीहरुले मदमत्त भएर लठ्ठी नाच देखाउने गर्दछन् । यो नाच पूर्णिमाको दिनमा करिब बाह्रबजेदेखि दुईबजेबीचको अवधिमा देख्न सकिन्छ । मेलाको दोस्रो उत्कर्ष पनि यही हो । मेला भर्नेहरु सबै यही दृश्य हेर्नलाई पर्खिरहेका हुन्छन् । यो दोस्रो उत्कर्ष पनि छुटाइसकेका छौँ हामीहरुले ।

नवागन्तुक लेखकहरुलाई बताइसक्छिन् सिर्जनाले ।

 

रित्तो मेलामा रित्ता मनहरु

सगाल मेला पस्दा एकाएक तात्तिएको रौनक केही क्षणमा बिस्तारै घट्दै जान्छ । विक्रिका लागि राखिएका फलफूलहरु सिद्धिन्छन् । बेच्न राखिएका अत्यावश्यकीय वस्तुहरु सकिन्छन् । चिया नास्ताका परिकारहरु सकिन्छन् । प्रितिका गीतहरु सकिन्छन् । रगत उम्लने गरी नाच्ने नचारुको उत्साह सकिन्छ । बाजागाजाहरुको स्वर मधुरो हुँदै जान्छ । साइकुमारी भगवतीका आशिर्वादहरु सकिन्छन् । साथसाथै डिग्रेको लागि मात्र भनेर मेलारुहरुले महिनौँदेखि पालेका सबै कामनाहरु समाप्त हुनेहुँदा मेलाभर्नेहरुको अनुहारको खुशीपनाको चमक पनि सँगसँगै सकिन्छ । इच्छा सकिएका यात्रीहरु आआफ्ना घर फर्किन थालिहाल्छन् । मेलाका रित्तापनहरु मात्र बाँकी रहन्छन् त्यहाँ ।

हामी अझै मेलामा पसिसकेका छैनौँ । डिग्रे मेला डिग्रेबाट तल्लो थर्पूतिर सरिसकेको छ ।

रित्तोपनाको दृष्टिपान गर्नेगरी हामी अलि अबेर मात्र मेला लाग्ने स्थलमा पुग्यौँ । त्यहाँ रित्तिन थालेका हरिपवन भेटिए, बहादुर केसी भेटिए, प्रमोदकुमार शर्मा पनि भेटिए ।

मेलामा रित्तिँदै गएका थुप्रै चिजहरु त बाँकी नै थिए । रित्तिन थालेको बचेखुचेको नाचमा पनि अतिथिहरु रमाए । उनीहरु एक्लिएरै बचेखुचेको रोमाञ्चकता मनमन्दिरमा कैद गर्न थाले । एकअर्काबाट छुट्टिएर मेलाको थोपाथोपा रस स्वादन गर्न हौसिए । साइकुमारी भगवतीबाट बचेखुचेको आशिर्वाद थापे । बचखुचेको रित्तो डाँडातिर जम्मा भएका ओइलाइसकेका मेलारुहरु हेरेर भए पनि चित्त बुझाए अतिथि साहित्यकारहरुले । सायद त्यही रित्तोपनामा पनि केही भेट्टाइरहेका थिए कि ? उनीहरुले रित्तोपनाको महशुस नगरुन् भनी मैले केही भनिन । ‘यो रित्तो हो’ नभनिदिएसम्म हरेक कुरामा पूर्णताकै अनुभव गर्छ मानिसको विवेकले ।

अब यो रित्तोपनबीच अझै केही रित्त्याउन बाँकी थियो हामीले ।

अतिथिहरु रुकुम प्रवेश गरेदेखि सँगसँगै रहेर खटिरहेकी सिर्जनालाई ‘ल बाइ, सि यु !” भन्दै अब एक्लै घर फर्काउन ढिला भैरहेको थियो । बहादुर केसीलाई ‘ल है त फेरि भेटौँला’ भन्नुथियो । सिर्जनशिल कक्षामा सक्रियतापूर्वक भाग लिएका र मेलामा पनि पथप्रदर्शनको लागि आइपुगेका हरिपवन प्रहरलाई ‘लेखनमा प्रगति गर्दै गर्नु !’ भन्नुथियो । पाँचपाँच दिसम्म निरन्तर साथ दिइरहेका मनलाल, गिरिप्रसाद लगायतका साहित्यमनहरुलाई खलङ्गामै छोडिसकेका थियौँ र उनीहरुलाई “अब हामी एक्लिने भयौँ !” भन्दै कसेको हातमा सन्देश पठाउनुथियो । छोटो साथ पनि लामो समयदेखि नै भएको जस्तो लागिरहेको थियो । आफ्नै परिवारको निकटतम सन्तानजस्ता भैसकेका थिए यी गौप्राणीहरु ।

“ल बस्नू है त हामी अब तिमीहरुलाई रुकुमको सुन्दरताको भीडभाडमा एक्लै छोडेर फर्किँदैछौँ !” भन्नलाई ओठ फरफराए पनि भन्न सकिरहेका थिएनौँ । अतः यो विदाइ कष्टकारक भैरहेको थियो हाम्रो लागि ।

एउटी दुरदराजकी अबोध आमालाई बेइमान छोराले पशुपतिमा लगेर छोडिदिएजस्तै डिग्रे मन्दिरको आसपासमा छोडेर हामी सिर्जनादेखि उम्कियौँ । हरिपवनलाई सेरेङ्गे नाच भैरहेको ठाउँमा छोडेर बाहिर फुत्कियौँ । बहादुर केसीलाई पर्यटन मेलाको एउटा छेउमा पर्खाएर भाग्यौँ । कमजोर मुटुलाई दह्रो छ भन्ने एकअर्कालाई राम्रै नाटक देखाउनुथियो, देखायौँ ।

साथ छुटेका साथीहरुको रुन्चेअनुहारहरु हाम्रै अनुहारमा टाँसिइरहेका थिए । हामीले ती अनुहारहरु उप्काउँदै र मन अमिल्याउँदै बिस्तारै बासस्थान सोलाबाङतिर ओरालो लाग्यौँ । हामीसँगै हाम्रो कार्यक्रम पनि ओरालो लागेको थियो । हाम्रो अपेक्षा ओरालो लागेको थियो र हाम्रा अनुहारहरु ओरालो लागेका थिए । करिब एकघण्टासम्म मौनधारण गर्दै हामी सोलाबाङ पुग्यौँ ।

 

57 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *