नियात्रा ६ः बाउन्न पोखरी त्रिपन्न टाकुरी

अश्विनिसँग कुस्ताकुस्ती

आज मंशिर ६ गते । उठ्नलाई हतार गर्नुपर्ने आवश्यक नभए पनि पाँचबज्नु पहिल्यै निद्रा खुलिसकेको छ । आजको सिर्जनशिल कक्षा सञ्चालन गर्ने जिम्मा सिर्जनाले पाएकी छिन् । कक्षा लिन युवराज नयाँघरे जानुपर्नेछ ।

म नित्यकर्म सकिसकेपछि सखारै लेखकहरुको आश्रयस्थल पुग्छु । अतिथिका अरु कोठाहरु ताल्चा मारिएका छन् । युवराज सुत्ने कोठा मात्र भित्रबाट लक गरिएको पाउँछु । बिहानै कक्षा लिन खलंगा जाने जिम्मेवारी लिएका युवराज अझै सुतिरहेका त छैनन् ? यही आशंकावश् म ढोका ढकढक्याउन थाल्छु- ‘ढकढक ढकढक ढकढकढकढक ।’

सितिमिति ढोका खुल्दैन, केही प्रयासपछि जब अलिकति खुल्छ, म झसङ्गै तर्सिन्छु ।

तर अकस्मात् यो के देख्दैछु म ? अश्विनिले आफ्नो नग्नतालाई ठूलै सिरकले छोपछाप पार्दै मेरो अगाडि रौद्ररुपमा प्रस्तुत भैरहेका छन् । सिद्धार्थ होटेल नै हल्लाउनेगरी ठूलो स्वरमा हप्काउँदैछन् मलाईः “कति कान फुट्ने गरी ढोका ढकढक-ढकढक मात्रै गरिराको ? काम छैन अरु केही ?”

मलाई अश्विनिले चिनेनन् कि भन्दै, “म ओली के सर । म पूर्ण ओली !” दोहोर्‍याउँछु ।

उनी सुन्दैनन् या बुझ्दैनन्, म बाहिर धकेलिने गरी उनी भित्रबाट करायो पारेर अलिकति खुलिसकेको ढोका पनि लगाउनखोज्छन्, म ढोका बाहिरबाट भित्रतिर ठेल्न खोज्छु । केही क्षणसम्मको दोहोरो भिडन्तपछि जित मेरै हुन्छ र ढोकासँगै ढलपलिँदै म उनको बिछ्यौनामै थचारिन पुग्छु ।

युवराज र अश्विनिको सुत्ने कोठा एउटै छ । कोठाको अर्को बेडमा युवराजलाई नदेखेपछि अलिकति हल्का हुन्छु कि उनी कक्षा लिन हिँडिसकेछन् । मेरो मनमा गाँजिदै गएको शंका उखेल्न यति मात्र कारण पर्याप्त छैन । बरु अरु साथीहरु कता हराए भन्ने चीसोले गाँजिएको शंकालाई नै सिंचित गर्न पुग्छ । आफूलाई यथास्थितिमा ल्याउन समय लाग्छ मलाई ।

अश्विनी भने सिरक फालेर नग्न अवस्थामै मसँग मल्लयुद्ध गर्न तम्सिएका छन् । दुवै हातले मेरा पाखुरा समातेर बलजफ्ती मलाई बाहिर निकाल्न ट्रिकहरु अपनाउँदै छन् ।

अश्विनि यो यात्राका सबैका पृयपात्र । हसिला रसिला पनि उनी नै देखिन्छन् । उनको सितिमिति रिस पनि उठ्दैन । आध्यात्मिक पनि छन् । व्यवहारिक कुरामा पनि निपुण देखिन्छन् । लाग्छ यी व्यवहारमा उनी सदाबहार हुन् ।

तर अकस्मात उत्पन्न विपन्न परिस्थिति मलाई शंकाको आगो पुच्छरमा झोसेर लंका जलाउन उडाउन उद्यत छ र म अतितमा उडान भर्न थाल्दछु ।

साहित्यिक कार्यक्रम हुने निश्चित भैसकेपछि मैले सबैभन्दा पहिले आमालाई खबर गरेको थिएँ: “मेरा साथीहरु आउँदैछन् चारपाँच जनालाई चारपाँच दिन घरकै रुखोनिख्लो खुवाउन पर्ने हुनसक्छ । त्यसको लागि तयारी गर्नुहोला । तिहारपछिका सयपत्री र मखमलीका फूलहरु जोगाएर राख्नुहोला र दुईतीन गतेतिर माला उइनिए हुन्छ ।”

यति भनिसकेर मैले औपचारिक स्वागतको लागि गाउँस्थित दुईवटा विद्यालयका हेडसरहरुलाई सम्पर्क गर्ने बिचार गरेँ । पहिलो हेडसरलाई फोन लगाउँदै जब चर्चित साहित्यकारहरु सोलाबाङमा आइपुग्ने खबर गरेँ, उनले मेरो जानकारीलाई हाँसोमा सक्दो माथिसम्म उडाउन थाले । उनले बुझेनन् कि भनी मैले उनीहरु चर्चित हुनुको बेलिबिस्तार लाउन थालेपछि उनको हाँसोको उडानमा फिरफिराहट पनि थपिन पुग्यो । उनको भनाइ थियोः “हाम्रो आफ्नै काम छ, बेफ्वाँकमा समय उबारेर दिन सकिँदैन ।” पहिलो वार्ताबाट निराश भैसकेपछि दोस्रोलाई सम्पर्क गर्न आँट नै आएन । यसै कारणले स्यार्पूको स्कूलमा कार्यक्रम स्थल नचलाउने योजना बुनिएको थियो ।

यही उडानको मारवश् म सुदूर अतितको अर्को पोखरीमा छप्ल्याङछुप्लुङ डुबुल्की मार्न थाल्दछु ।

त्यो अतितमा म मुसिकोट सोलाबाङमूलको एक मास्टर थिएँ र मास्टरी पेशामा मुसिकोटलाई बाहिरबाहिरै चक्कर लगाउनु मेरो नियति थियो ।

एकजनाले मलाई सुनाएको थियो, “तिमी सोलाबाङेले त रातिमा बितरा परेका पाहुनालाई समेत बास दिँदैनौ । कसैले बास दिइहाल्यो भने त्यहीँ पुगेर धपाइदिन्छौ ।” अर्कोले भनेको थियोः “चौतारे, मछ्म्याल र सोलाबाङेहरु रुकुमका एकनम्बरी कोचलगाँरा हौ । त्यहाँ पुग्ने जोसुकैसँग बिनसित्ति निहुँ खोजेर झगडा मच्चाइहाल्छौ ।” अर्कोले भनेको थियो, “बजार र स्कूल सँगसँगै छन् । के पढाउँछौ तिमीहरु ? बजार त रक्स्याहा र फटाहाहरुको गुण्डागर्दी, लुटपात, रिसइबी साँध्ने साधन मात्र बनेको छ । तिम्रो शिक्षाले असल संस्कार सिकाउनुपर्नेमा कुसंस्कारमै मलजल पुर्‍याइरहेका छौ ।”

अरु कसैले भनेको थियो, “पछिल्लो समयमा विकासका पूर्वाधारहरु सामाजिक अपराध निर्बाध आयात गर्न सहायकसिद्ध भएका छन् । यस्तो अवस्थामा त्यसको दोहोलो कार्न शैक्षिक संस्था सक्रिय रहनुपर्थ्यो । तर त्यस्तो लक्षण पटक्कै देखाएनौ । पछिल्लो समयमा बलात्कारको मुद्दामा समेत यस्ता बजारहरु बदनामको पगरी गुथ्न तँछाडमछाड गरिरहेका छन्, गाउँको शैक्षिक विकासलाई आफ्नो पेवा ठान्नेहरुले कानमा तेल हालेर बसेका छौ ।”

(बलात्कार ? मेरो जीउमा अकस्मात उम्रिएका भयबीज काँडाले सर्वाङ्ग सिरिङ्ग हुनेगरी घोच्न थाल्छन् । मनमा स्वतः कोरिइरहेका विरुप चित्रलाई मेटमाट पार्न खोज्छु । कम्तीमा अहिले यो कोठाभित्र त्यो मुद्दा प्रवेश गरेको कल्पनासम्म गर्नु हुँदैन मैले ।)

आत्मसम्मानमा प्रहार गर्दै यस्तो भन्नेहरुप्रति रिसले मुर्मुरिए पनि मैले तिनीहरुलाई उचित जवाफ कहिल्यै दिन सकेको थिइन । बारम्बारको घोचाइ र ग्लानीले  पुनः गला अवरुद्ध पार्न थालेकोले विगतबाट वर्तमानको सतहमा उत्रिन्छु ।

पछिल्लो घोचाइले म पीडा र भयवश् खङ्ग्रङ्गै भएको छु । आफ्नै गाउँको विरुप चित्र मनमष्तिष्कमा जमजमाउँछ । पक्का पनि लेखकहरु यहाँ बसेको मन नपराउने केही जँड्याहाहरु राति आएर बिनसित्ति झगडा मच्चाए होलान् । प्रतिरोध गर्न नसक्दा लेखकहरु भागाभाग परेर अश्विनी मात्र बाँकी रहेका हुन् कि ? उनको व्यवहारले त्यस्तै कुरा बोलिरहेको प्रष्ट थियो । अरु लेखकको कोठाबाहिर ताल्चा झुण्डिएको अवस्थाले यस शंकालाई बल पुर्‍याइरहेको छ ।

मेरो सातोसतारो हरायो । जीउभरि काँडासँगै पसिना उम्रिए । श्वास बढ्यो र लगलगी हातगोडा काँप्न थाले ।

“के भयो भन्न त भन्नुस् प्रष्टसँग ।” पक्का पनि केही अनर्थ भएको हुनुपर्छ भन्ने ठान्दै मैले तन्द्रामै रहेका अश्विनिलाई हल्लाउँदै हतारहतार सोधेँ ।

“के हुनु नि ? मान्छेलाई राम्रोसँग सुत्न दिनुपर्दैन ?” अश्विनि निद्रा खलबलिएर झिजिइरहेको अनुभूति गर्दै रहेछन् ।

“उज्यालो भैसक्यो । दिउँसैसम्म किन सुतिरहनुपर्‍यो त ?”

उनी बरबराउँछन्: “रातभर नयाँघरे घुरेर सुत्नै दिएनन् । एकाध घण्टा मात्र झकाउँछु भनेको तपाईँले बिच्काइहाल्नुभो । ‘नयाँघरे’ होइन बूढा त लाष्टै ‘नयाँ घुरे’ रहेछन् नि यार् । उनका घुराईहरु पनि थरिथरिका फेरिइरहने । यस्तो भयानक प्रकारको घुराईको त जिन्दगीमै पहिलोपल्ट फेला परेँ । उनको घुराइले म नजिक आउनखोजेको निद्रालाई लखेटिरह्यो र म रातरातभर जाग्राम रहेँ ।”

अश्विनिको कुरा के बुझ्नुथियो मेरो हाँसोको फड्को लागेपछि रोक्न सक्दिन र मरीमरी हाँस्न थाल्छु । आफ्नो जन्मभूमिप्रति आफैले अनावश्यक शंका गरिरहेकोमा पछुतो मान्दै मनमनै सुन्दर शान्त जन्मभूमिलाई धन्यवाद दिन्छु ।

“जानुस् न जानुस् । बाहिरै हाँसे बरु कसैले छेक्दैन तपाईँलाई ।” अश्विनिले मलाई धकेल्न छाडेका छैनन् । म उनको परिस्थिति राम्रैसँग बुझ्छु र धकेलिन सजिलो बनाइँदिँदै कोठाबाट बाहिर निस्किदिन्छु ।

 

सरबाटोको सरस यात्रा

कमल, नयनराज र भूपीन चिया खान निस्किएका रहेछन्, उनीहरु फर्किरहेको बखत होटेलबाहिर भेट हुन्छ । आधा मिनेटमै हाम्रो पदयात्राको कार्यक्रम तय हुन्छ । बिनारामलाई एकछिनमै चिया खान आउँछौँ भनी चिया पकाउन लगाएको थिएँ । कार्यक्रम यति टाइट भैसकेको छ कि उनीकहाँ चिया खाने फुर्सद उबार्न सक्दैनौँ ।

पदयात्रा शुरु हुन्छ कयनपानी, सिस्नेखोला, सालीबिसौना, पोखरी, गरगरे हुँदै चाँफा निस्कने । वरिपरि सालको घना जङ्गलले बाटो नै अँध्यारो न अँध्यारो बनाएको छ । अधिकांश बाटो ढुङ्गा र चट्टानयुक्त छ । सडक सञ्जाल आइनपुग्दै यही बाटो थियो सदरमुकामसम्म पहुँचको, जसलाई सरबाटो भनिन्थ्यो । घोडाखच्चर र हटारुहरुको चहलपहल बिहान भाले नबास्दैदेखि राति अबेरसम्मै हुन्थ्यो । घना जङ्गल भए पनि मान्छे निरन्तर हिडिरहने हुँदा एक्लै हिँड्दा पनि डर हुँदैनथ्यो । बाटो मर्मतको लागि वर्षको दुईपटक झारा लाग्थ्यो । गाउँपञ्चायतले पनि मर्मत गरिरहन्थ्यो । मोटर गुडाउन मिल्ने फराकिलो र चिल्लो सरबाटो थियो । घसारु र गुवालाहरु पनि स्थानीय ठाडीभाका घन्काउँदै यही बाटोबाट उँधोउँभो गरिरहेका भेटिन्थे ।

मोटर बाटो आइपुगेपछि भने यो बाटोमा यात्री बिरलै हिड्छन् । बाटो उखडखाबड भैसकेको छ । विगतको त्यो सरबाटोको अवशेष कतै कतै मात्र फेला पार्न सकिन्छ । सडकमा जम्मा हुँदै सोगरिएर झर्ने भलले सिस्नेखोला पुरिने अवस्थामा पुगेको छ । गाउँलाई जलपान गराइरहेको सिस्नेखोला नै मासियो भने के होला गाउँको भविष्य ? जिरिङ्ग काँडा फुल्छन् शरीरभरि । पाँचपाँच मिनेटको पैदल दूरीको बीचबीचमा चौतारीहरु थिए । अब चौतारीको अवशेष पनि नासिने अवस्थामा छन् । पोखरीस्थित फराकिलो पिपल चौतारी भताभुङ्ग भैसकेको छ । मान्छेको चहलपहल नहुँदा दिउँसै जङ्गली जन्तुको आक्रमणमा परिने सम्भावना होला भनी अनुमान गर्छन् लेखकहरु ।

मैले तीनवर्ष अगाडिको घटना सुनाउँदै भन्छुः “जङ्गली जन्तुहरु त माथितिरको सडकको कोलाहलले नजिक नपर्लान्, तर अमान्छेको आक्रमणमा पर्नबाट भने जोगाउने कोही छैन । म तपाईँहरुलाई यसै सरबाटोमा घटेको पछिल्लो घटना सुनाउन चाहन्छुः

‘चारवर्ष अघिको कुरा हो स्कुलेजीवनमा ओहोरदोहोर गरेको बाटो कस्तो भएछ भन्ने जान्न उत्सुकताले यो बाटो झरेँ । एउटा चौतारीमा फुच्चेहरु जम्मा भएको देखेँ, ‘के छ बाबु ? को हौ तिमीहरु ?’ मात्र भनी के सोधेको थिएँ उनीहरु सबै मेरो वरिपरि जम्मा भएर केही पैंसा दिन अनुरोध गरे । मसँग एउटा झोला थियो र त्यसभित्र भर्खरै धोएका चीसा र पुराना लुगाहरु खाँदिएका थिए । गोजीमा जम्मा पचास रुपैँया थियो ।

मैले माग्दैमा पैंसा किन दिनुपर्ला र ? भन्ठान्दै पैंसा त छैन भनेँ । उनीहरुले मलाई धक्करपक्कर पार्न शुरु गरे । गोजीहरु छामछुम पारे र भएको पैंसा मुठ्याए । उनीहरुसँग मैले प्रतिरोध गर्न सकिन, किनकि उनीहरुले हातहातमा ढुङ्गा टिप्न भ्याइसकेछन् । मेरो झोला खोसे र लुगाहरु छरिदिए । एकजनाले झोला त चाहिएको थियो भन्दै भिरिहाल्यो । म अवाक् थिएँ । यत्तिकैमा सबैले मेरो शरीरका कुनै अङ्ग बाँकी नराखेर प्रत्येकले दुईतीन मुठ्ठीका दरले मर्मत समेत गरे  । म तिमीहरुकै काका हुनसक्छु भन्दा पनि उनीहरुले टेरेनन् । जब मैले उनीहरुको सम्भावित बाबुआमा र बाजेहरुको नाम लिन थालेँ अनि मात्र उनीहरु मुख छोप्दै परपर सरे ।”

मैले बताएको घटना सुनिसकेपछि कमलजीले तर्क गरे, “यो विकासको भयंकर दुष्परिणाम हो । विकासको साथसाथै सत्मार्गको बारेमा शिक्षा दिन सकिएन भने सामाजिक विकृतिहरु झन् बढ्दै जानेछन् । यो राजनीतिक प्रशासनिक सामाजिक तथा धार्मिक सबै नेतृत्वको जिम्मेवारीको मामला हो ।”

हामीहरु अगाडि बढ्दै गयौँ । अवशेषको रुपमा रहेको पदमार्ग जङ्गल तथा पहाडी संरचना भने अनुभूति गर्न लायक थियो । भूपीन भन्दै थिएः “आजको अजीव दृश्यावलोकन युवराजले मिस गरे । यो अवस्था देखेको भए नियात्राका कति विषयवस्तु पाउँदा हुन् उनी ? नयनराजजी भन्दैथिएः “निद्राको भोगी अश्विनीजीले झनै ठूलो अवसर गुमाए । रुकुमसम्म आइपुगेर सुतीसुतीकन यस्ता दृश्यहरु छुटाउन मिल्छ ?”

हामी कुरा गर्दागर्दै चाँफा पुगेको पत्तै भएन । चाँफामा रहेको समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्रमा छिरेर  तरकारी बालीको अवलोकन गर्‍यौँ । अनि चाँफाबाट पुरानो पैदल बाटो हुँदै पानाखोला झरेर सेरीगाउँतिर उक्लियौँ । सेरीगाउँको तल्लो पिपलचौतारीमा थकाइ मारेर टटेलातर्फको पुरानो पैदल बाटो हुँदै बाघखोर निस्कियौँ, जहाँ खाजाको रुपमा सिस्नो र रोटी तयार गरेर गिरिप्रसाद हामीलाई पर्खिरहेका थिए ।

गिरिप्रसादको घरको छतबाट खलंगा र सेरीगाउँको आधाआधी भाग देखिन्छ । त्यो आधी भागको दृश्यपानले मनमा केही गज्याङमज्याङ रेसाहरु बारम्बार उत्रिरहेका छन् र ती रेसाहरुले एउटा घृणित चित्र बनाउन कोशिस गरिरहन्छ । मैले भित्रभित्रै संघर्ष गरिरहेको छु त्यो चित्र मेटाउन ।

म मुसीकोटको सन्तान हुँ । यो स्थल मेरो आमा र बा दुवै हो । मैले आदर सम्मान गर्नुपर्छ । नतमस्तक हुनुपर्छ म मुसीकोटदेखि । मैले यथेष्ट संरक्षण र आमाकै जस्तो प्रत्यक्ष माया र अप्रत्यक्ष आर्थिक-सामाजिक लाभ प्राप्त गरेको छु मैले, मुसीकोट सदरमुकाम हुनुको नाताले ।

तर यो के भैरहेको छ ? मनको बाँझो भागमा विषवृक्ष झाँगिन खोजिरहेको छ । त्यसकै हाँगोमा धपाउँदाधपाउँदै एउटा काग आएर बसिदिन्छ र कर्कस ध्वनिमा काका गर्छ । त्यो काऽकाऽ र मनको काकाकुलले बलात्कारी अर्थ लाग्ने अर्को ध्वनि प्रतिध्वनित भैरहेको छ ।

 

रुकुम पश्चिमदेखि रुकुम पूर्वसम्म

हाम्रो भ्रमणको कार्यक्रम आज पूर्वी रुकुममा हुनेवाला थियो । अर्को जिल्लामा भ्रमण भनेपछि त्यत्तिकै अतिथिहरु उत्साहित थिए । झनै ५२ पोखरी ५३ टाकुरीको गाउँपालिका प्रसिद्ध कमलदह रहेको स्थल तथा पुरानो सदरमुकाम,  हिमाली जिल्ला, मगर समुदायको जिल्ला जस्ता विशेषणहरु थपथाप पारेपछि त उनीहरुको मन चङ्गासरी फिरफिर-फिरफिर उडिरहेको देखिन्थ्यो ।

समस्या के थियो भने गाडी चालक राजुलाई मनाउनु । स्यार्पू जाने बाटोले अस्ति नै उसको सातो उडाइसकेको थियो । नयाँ गाडीको लोभ एकातिर थियो भने अर्कोतिर छसात दिन रुकुममा गाडी नचलाई आराम गर्ने सम्भावनासहित उसले हामीलाई साथ दिएको थियो । तर यहाँ आइपुगेपछि बिहान अँध्यारो नखुलेदेखि राति झमक्क अँध्यारो नपरेसम्म कुदिरहनुपर्ने अवस्थाले हामी कार्यक्रमदेखि आजित थियो ऊ । हामीले उसलाई फकायौँ, “यो बाटो हिजोको जस्तो दुरुह छैन । ग्राभेल गरेर पिच गर्न बाँकी हो । बाटो पनि फराकिलो छ । जम्मा २९ किलोमिटर मात्रै दूरी रहेकोले एक घण्टामै पुग्न सकिन्छ ।”

उसले नमानेर के गरोस् यात्रा प्रारम्भ नगरी सुख्खै थिएन र यात्रा प्रारम्भ भयो पनि । साँखसम्म हिजै यात्रा भैसकेकोले बाटोको मूल्याङ्कन राम्रै गरिएको थियो । जब साँख छोडेर अघि बढ्यौँ बाटोको अवस्था झनै राम्रो भेटिँदै गयो । राजुको अनुहारमा सन्तोषका रेखाहरु उम्रँदै थिए । लेखकहरुलाई भने बाटोको सुक्को मतलब थिएन । पहाडहरुको, गाउँहरुको जङ्गलको तथा रुखपातको तीनपुस्ते उधिन्नमै व्यस्त थिए ।

हामीले ओछ्याइरहेको मध्यपहाडी लोकमार्ग मुसिकोटबाट रुकुमकोट जानलाई नयाँ र सिधा बाटो हो । यही बाटोको माध्यमले मुसिकोटबाट छोटो दुरी छिचोलेर रुकुमकोट चिया पिएर खाजा खान मुसिकोट नै फर्कन सकिन्छ । केही वर्षअघिसम्म रुकुमकोट पुग्नु दिनभरिकै दुरुह पदमार्ग थियो ।

गाडीले आधाभन्दा बढी बाटो चालीस मिनेटमै पार गरिसकेको थियो । यही गतिमा हानिए आधा घण्टामै रुकुमकोट पुग्न सकिन्थ्यो । जब भञ्ज्याङ छिचोलेर गाडी अगाडि बढ्न थाल्यो, गाडीको साविक गति पनि मत्थर हुँदै गयो । सडक साँगुरिँदै गइरहेको थियो र त्यसलाई फराकिलो तुल्याउन निर्माण कार्य धमाधम भैरहेको थियो ।

करिब तीन दशक अघि । ठूलीदह पुगेको बखत ठूलीदहको आधा घण्टा पैदल दूरीको डाँडामा पुगेर पहिलोपटक रुकुमकोटको दृश्य चाखेको थिएँ । परेलीले छोइएलाझैँ नाकको टुप्पोमै आइपुगेको थियो रुकुमकोट । त्यतिबेला नै यसको सुन्दरताले मलाई मन्त्रमुग्ध तुल्याएको थियो ।

अर्कोपट ४५ सालमा चुनबाङ हुँदै रुकुमकोट ओर्लिएको थिएँ । उचाइबाट दृश्यपान गरिएको रुकुमको सुन्दरता साँच्चिकै अवर्णनीय थियो । त्यसपछिको रुकुमकोट लक्षित यो यात्राको लागि म पनि नवागन्तुक नै थिएँ ।

अतः अहिले मलाई लागिरहेको थियो भन्ज्याङ कट्नेबित्तिकै रुकुमकोटको गाउँ शुरु भैहाल्नेछ ।

ओरालोको एकदुई घुम्ती पार गरेपछि एउटा गाउँ अलिकति पर झुल्कियो । मुटुले ढुकढुक गर्न थाल्यो । जति खुशी हुनुपर्ने हो, त्यति खुशी हुन सकेको छुइन म । म मात्रै हो कि भनेर गिरिप्रसाद, दामोदर र सिर्जनाका अनुहारको बाहिरबाहिरै घुम्छु, उनीहरु पनि मेरो नजरमा उति खुशी जँच्दैनन् । अनुहारदेखि उनीहरुको मनभित्र पस्न सक्दिन । अतिथिहरु आफ्नै कुरा र उत्साहमा तन्मय छन् । तर मेरो मनमा भने बिहानैदेखि एउटा भयानक विषवृक्ष बढ्ने र ढल्ने क्रम जारी छ । सोलाबाङमै अश्विनिसँग कुस्ताकुस्ती पर्दा नै बलात्कार शब्दले सातो लिइसकेको थियो ।

अलिकति पर कुनै युवती पहाडको भिरालोसँग सेपिएकी दृष्टगोचर हुन्छिन् । पहाडी सुन्दरीलाई भयभीत तुल्याउन हजारौँ भयहरु ताँती लागेर आइदिन सक्छन् । तीमध्ये कुनै पनि भयले आफू नजिकैबाट वारपार गर्दा भिरालोतिर सेपिनुपर्ने बाध्यता भैदिन्छ । युवतीको लागि बलात्कार नै सबैभन्दा नजिक गुज्रेर जाने मानवभक्षी भय हो । बलात्कृतको लागि त महाकाल हो बलात्कारी । हामी आएको चाल पाईपाई किन लेपास्सिएकी छिन् पहाडको भित्तोमा गिरिसुन्दरी ?

ती युवतीको चुलोनजिकैको एक्लोपनामाथि आँखा गाड्ने कुनै लोभीनजर डाँडापारिबाट बिरालोझैँ लुसुक्क छिरेर उनको वासना लुटी भागिसकेको थियो कि ? वा कसैले छक्काउँदै छक्काउँदै आफ्नै घरमा पुर्‍याएर युवतीको जोवनमा रजाइँ मच्चाइसकेपश्चात् यता ल्याएर छोडिदिएको थियो कि ? त्यही मारवश् इज्जत सहितको अनुहार जोगाउन सेपिएकी हुन् कि ती सुन्दरी ? मैले जान्नेसुन्ने भएदेखि नै ती युवतीउपर बलात्कारका दुखद कथाहरु सुन्दै आएको थिएँ । मनमा एकप्रकारको उच्चाटको हुरी चल्छ । मैले एक युवतीको नजरले हेरिरहेको उदास गाउँलाई औँल्याउँदै सोधिहाल्छु गिरिजीलाई, ‘के रुकुमकोटको गाउँ शुरु भैसक्यो ?’

‘होइन यो त घोरखानी हो । हामी अझै मुसिकोट नगरपालिकाभित्रै छौँ । अब केही बेरमा शुरु हुनेछ अर्को जिल्ला ।’

गिरिजीको यस जवाफले म अब दुस्वप्नबाट बाहिर निस्केको छु । मुटुको ढुकढुक त्यो जवाफको न्यानोले पग्लेर बिलाउन थाल्दछ ।

केही क्षणमै हाम्रो गाडीले भलखोला तर्छ ।

‘अब हामी राजनीतिक विभाजनको हिसाबले भर्खरै छुटा भएको कान्छो जिल्लामा प्रवेश गरेका मात्र छैनौँ, ६ नं प्रदेशबाट ५ नं प्रदेशमा पनि प्रवेश गरिसकेका छौँ । कान्छो जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोट जिल्लाकै पश्चिम सिमानामा अवस्थित छ । २०३० साल अगाडि सदरमुकाम पाएको यस ठाउँले २०७२ मा पुनः सदरमुकाम त पाएको छ, तर सदरमुकाम विवाद चुलिइरहेको हुँदा सन्तोषको सास फेर्न पाएको छैन ।’ सायद दामोदर पौडेलले सूचना जारी गरिरहेका छन् अतिथिहरुलाई ।

हामीमध्ये कसैले कुरा उठाएको छः “५ नं प्रदेशको अस्थायी राजधानी बुटवलमा बसाइएको छ र स्थायी राजधानी अन्यत्र सार्ने सम्भावना मरनासन्न अवस्थामा छ । बर्दियादेखि पूर्वी रुकुमसम्मको भूभेगको लागि बुटवल राजधानी हुनु उति सार्थक छैन । यो विकटताको चरम सहनशिलताको लाभको सिद्धान्त हो । बजार विकास भैसकेको ठाउँलाई राजधानी तोक्नुभन्दा त्यो अवसर अर्को ठाउँलाई दिइएको भए न्यायोचित हुन्थ्यो ।”

म राजनीतिक-गणित नबुझ्ने लद्दू विद्यार्थी हुँ । बुटवल प्रदेशको राजधानी हुनसक्छ, तर रुकुमकोट जिल्लाको राजधानी हुन सक्दैन भन्ने घोकाइने पाठ मरिगए बुझ्न सक्दिन ।

हामी यात्रीबीच पनि त्यो कुरा बहसको विषय बन्न सकेन किनकि अबको बाटो असाध्यै चिप्लो छ । कतैकतै माथिबाट लेदो सहितको पहिरो झरिरहेकोले चिप्लिँदै पार गर्नुपरिरहेको छ । बाटो उबडखाबड उस्तै छ । धेरै तलको धाउने बगरतिर आँखा पुग्दा पनि र माथितिरको छाङ्गो भीरमा आँखा उक्लँदा जिउ सिरिङ्ग हुन्छ । हामी करिब ३००० मिटरको छाङ्गो भिरको उचाइमा कुदिरहेका छौँ ।

यस्तै अर्को लेदोसहितको पहिरो पार गर्दै थियौँ, गाडी अचाक्ली कोल्टे परेर बामे सर्न थाल्यो । अलिकति लापरवाही वा बलमिच्याइले गाडी चिप्लिएमा गाडीको मात्र होइन गाडीमा सवार मनुवाहरु कसैको हाडखोड सग्लो नभेटिने निश्चित थियो । अब लेखकहरुको आँखाहरु वारिपारि डुलाउन छोडेर सडकको सिधा अघिल्तिर खेरखार पारेर लखेटिरहेका थिए ।

गाडीको स्टेरिङ हातमा हुने राजु रुन मात्र बाँकी थियो । ऊ रुकुम आउनुपरेकोमा आफ्नै चाँदोमा कर्कच्चेले हान्ने सिवाय अर्को के गर्न सक्थ्यो र ? गाडीमा सवार सबैको मुटु काँपिरहेको थियो, निधारमा चिटचिट पसिना उम्रिरहेको थियो । गाडीको गति प्रति घण्टा पाँच किलोमिटरमा झरेको हुँदो हो । कमल त साइड हेर्ने निहुँले पैदलै हिँडिरहेका थिए र हिँडेरै गाडीलाई मज्जैसित उछिनिरहेका थिए ।

यही हालत केही छोटिएपछि बाटोको दुरुह अवस्थाले निम्त्याइरहेको सम्भावित संकट टर्‍यो र बाउन्न टाकुरीका थुम्काहरु परपर देखिए । अब भने मरिन्न भन्ने कुरामा सबै ढुक्क थिए । अब रोडरोडै डोर्‍याइएका नजरहरु तितरबितर भएर वारिपारि लाखापाखा लागेर दर्शनीय स्थलहरुमा बुर्कुसी मार्ने उद्देश्यले चर्दै टाढिन थाले ।

बाउन्न पोखरी त्रिपन्न टाकुरी

बाउन्न पोखरी र त्रिपन्न टाकुरी कताकता छन् भनी भेट्टाउने उद्देश्यसाथ नजरहरु यताउता छरिइरहेका थिए । हामी गाडीभित्र कोच्चिएर सवार गरेकाहरु रुकुमकोटको गोर्‍यानतिरबाट शिरानतिर यात्रा गरिरहेका थियौँ । रुकुमकोटको शिरानमा नपुगी एकैचोटी सबै पोखरी र टाकुरीहरु देखिन असम्भव थियो भन्ने कुरा कसैले बताइरहेको थिएन । चर्न खोजेको थोक नभेट्टाउँदा साँझतिर थकित भई लखतरान फर्किएका जस्ता देखिन्थे नवागन्तुकका प्यासी नजरहरु ।

कृष्णकी श्रीमती रुक्मिणीको जन्म यही स्थानमा भएको र त्यही नामबाट रुकुम नाम कायम भएका किम्बदन्ती पनि प्रचलित छ ।

यदि हामी शिरानदेखि नै गोर्‍यानतिर यात्रा गरिरहेका हुँदा हौँ त साक्षात् रुक्मिणीको स्वरुप एकैचोटी सर्लक्क देख्न सक्थ्यौँ । पुतलीबुट्टे घाँघरा फैलाएर छुपुक्क बसेकी षोडषी बैँसालु जस्ती रुकुमकोटको साक्षात् स्वरुप आँखा आँखामा कैद गर्न सक्थ्यौँ । उनको दुर्लभ दृश्य मनमनमा सुटुक्क लुकाउन सक्थ्यौँ । त्यो सम्भावना गोर्‍यानतिरबाटको यात्राले सम्भव तुल्याइरहेको थिएन । हाम्रो गाडीले कमलदहको तल्लो ओठमुनि अडिएर यात्रा बिटमै पुगेको जनाउ दियो ।

हाम्रो खानपिन कमल दह होटेलमा व्यवस्थापन गरिएको रहेछ । स्थानीय सिमीको दालले भोजनलाई एकदमै स्वादिष्ट तुल्याएको छ । अरु परिकारहरु पनि दालभन्दा कम स्वादका छैनन् । मुख फेर्ने गतिलो अवसर भेट्टाएकोले हाम्रो टोलीले थपीथपी खाना खान्छ । खाना खाने ठाउँमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन शाह आइपुग्छन् र हामीलाई कार्यक्रम स्थलतिर डोर्‍याउन थाल्दछन् । रुक्मिणी मावि रुकुमकोटका भूपू प्रधानाध्यापक नन्दलाल शर्मासँग भेट भएपछि पाइला हलुका हुन्छन् । उनकै हातबाट मैले एकदुई चौमासिकको शैक्षणिक तलब थापेको र त्यही निहुँले उनको घरमा बास बसेको बासी अतित आलो भएर बसाउँछ ।

केही कदम नउचाल्दै नजिकै कमल दह हाम्रो नजरदेखि क्षितिजसम्म पसारिन्छ । रुकुमकोटको वरिपरि भाग सिङ्गो एशियाजस्तै प्रतित हुन्छ भने बीचको कमलदह नेपालको नक्शामा परिणत हुन्छ ।

कमल दह भनेपछि कमलले आफ्नै नाममा जुराइएको दहको अनुभूति संगालिरहेका छन् । दहबीचमा उम्रिरहेका कमलमा आफू नै आफू देख्न थालेका छन् । उनको अपनत्व एक्कासी चुलिएको छ र शनैशनै सेलाइरहेको रजगज ह्वात्तै बढेको छ । फुरफुर गर्दै झण्डै दुई किमि लामो दह नै एकचक्कर लगाउलान् जस्तै यताउता अस्थिर हुँदै कुदिरहेका छन् । अश्विनीजीले उनलाई साथ दिने कसम खाएर पछिपछि कुदिरहेको जस्तो दृश्य परपरसम्म देखिन्छ ।

कार्यक्रमः समयसँग पौँठेजोरी

कार्यक्रमको उद्घाटनको लागि ढिला भैसकेको जानकारी आउँछ कार्यक्रम स्थल रुक्मिणी माविको प्राङ्गणबाट । हामीहरु हतार हतार कमलदहको पाखो उक्लँदैछौँ । कमल र अश्विनीजीलाई कमलदहलाई फन्को मार्न दिएर । तालमाथि थुम्कोमा अवस्थित रुकुमकोट माध्यमिक विद्यालयमा ठूलो संख्यामा दर्शनाभिलाषीहरुको उपस्थिति छ । विद्यार्थीहरु पनि खचाखच छन् । सिस्ने गापा अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्धन बुढा, जनप्रतिनिधिहरु, प्रजिअ मित्रलाल शर्मा, प्रमुख अनुसन्धान अधिकृत, प्रनाउ, कार्यकारी अधिकृत बिमला रोका, उवासंघ अध्यक्ष यज्ञप्रकाश मल्ल,  मानवअधिकारकर्मी दामोदर गौतम, समाजसेवी टीकाराम उपाध्याय, डिकेन्द्र शाह, शोभाकर पौडेल लगायत रुकुम पूर्वका जिल्लास्थिति कार्यालयका प्रमुख तथा कर्मचारीहरु, शिक्षकहरु, समाजसेवी र राजनीतिक दलका व्यक्तिहरु र सयौँको संख्यामा विद्यार्थी भाइबहिनीहरु तथा स्थानीय साहित्यप्रेमी महानुभावहरु उपस्थित छन् । यो सबै व्यवस्थापन मिलाएका छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समाल (मदन शाह), कार्यकारी अधिकृत विमला रोका, फत्ते कुमारी ओली सहितका स्थानीय साहित्यकारको टिम लगायत स्थानीय शुभेच्छुकहरुले । दामोदर पौडेल त मुसिकोटबाट नै हाम्रो पुच्छर अमेठ्दै कार्यक्रम स्थलसम्म ल्याइपुर्‍याउने गुवाला नै भैहाले । रुकुमकोटको अद्यावधिक वर्णनको लागि हाम्रो कुशल गाइडको भूमिका उनैले निभाएका छन् ।

मेरो अध्यापनकालीन आदरणीय शिक्षक मित्रहरु एवं नन्दलाल शर्मा, कृष्ण गौतम, भुवनेश्वर शर्मा, पञ्चबहादुर केसी, ऋषिराम शर्मा, वसन्त गौतम, यादव थापा, मानबहादुर बस्नेत, शिवनाथ साह, मोहनबहादुर शाही, पोखर शाही, डम्बर खराल, लोकमणि शर्मा, लोकेन्द्र बुढाथोकी, अनिल आचार्य, किरणकुमार मल्ल, हिमराज केसी, अमिरवल बिसि, गोपाल बुढाथोकी, विन्दु समाल, रमेश देवकोटा, सन्तोष थापा, रेणुका शर्मा, अरुणकुमार शाह, गीता आचार्य, रमेश शर्मा, अर्जुन बुढाक्षेत्री, भूपेन्द्र आचार्य, हरिबहादुर थापा, टंकराज बस्नेतजीहरुसँगको भेटघाटले मन प्रफुल्लित भैरहेको छ । उनीहरु हरतरहले सहयोग पुर्‍याउन कटिवद्ध छन् ।

यो न्यानो आतिथ्यताको साबुनपानीले यात्रा अवधिमा जमेको मनको मैलो पुरै सफा भैसकेको छ । मन चङ्गा बनेर उडिरहेको छ ।

कार्यक्रमस्थल बेहुलीझैँ सिँगारिएको छ । आँगनभरिको स्वागतार्थीको बाक्लो उपस्थितिले कार्यक्रमलाई मनोरञ्जक तुल्याउन पर्याप्त छ । मञ्चमा साहित्यअभिलाषीहरु अतिथिहरुलाई उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसैबीचमा अतिथिहरु मञ्चमा उक्लिएपछि सयपत्रीका मालाहरु र रातो दोसल्लाले आगन्तुकहरुलाई स्वागत गरिन्छ । स्वागतलगत्तै विद्यालय प्राङ्गणमै रहेको आदिकवि भानुभक्त आचार्य र अलिकति पूर्वतिर रहेको देवी सरस्वतीको प्रतिमामा माल्यार्पणको कार्यक्रम सम्पन्न हुन्छ र पुनः अतिथि तथा साहित्यअनुरागीहरुको आसनग्रहणले औपचारिकता पाउँछ ।

यति गर्दागर्दै तीन बजिसकेको छ । हाम्रो योजना ३ बजे नै फिर्नु थियो । राजु छटपटिँदै मन्च छेउमै हामीहरुलाई अत्याउन आइपुगेको छ ।

एकदमै छोटकरीमा कार्यक्रम संचालन भए पनि कार्यक्रम सकिँदा साढे चार बज्न सक्छ भन्ने मेरो अनुमान छ । हिउँदको समय पाँचबजे त अँध्यारो नै भइसक्छ । आउँदा भोग्नुपरेको सडकको डरलाग्दो अवस्था आँखामा रिङिरहेको छ ।

तीनबजे नै नफर्कने हो भने यो बाटोमा म गाडी चलाउन सक्दिन भनेर चेतावनी जस्तो दिइसकेको छ राजुले । मेरो आँखामा त्यही सडक फनफनी घुमिरहेको छ र कानमा राजुको त्यही चेतावनी रनरनी गुन्जिरहेको छ । फलतः यहाँ युवराज र कार्यक्रमका सभापतिले मात्र बोल्ने कार्यक्रम तय गरिएको छ ।

विद्यार्थीहरु र अभिभावकहरु अतिथिहरुबाट केही कुरा सुन्न चाहन्छन् । साहित्यिक अभिलाषीहरुले साहित्य क्षेत्रका विद्वतवर्गबाट ज्ञानवर्द्धक खुराकहरु प्राप्त गर्न चाहन्छन् । राजनीतिक तथा प्रशासनिक व्यक्तित्वले विकासको विद्यमान अवस्थाको ऐना देखाएर अतिथिको ध्यान तान्न चाहन्छन् ।

तर…,

यहाँ पनि समयले आफ्नो धर्म निभाउने निहुँमा हाम्रो अभिलाषाप्रति बेइमानी गर्न सिङौरी खेलिरहेको छ । उसको सिङौरीबाट हार खाएर कार्यक्रमलाई हतारहतार अन्त्य गर्ने हो भने भव्य स्वागत गर्दै प्रतिक्षामा बसेका स्वागतार्थीप्रति ठूलो अन्याय हुनेछ । म के गरौँ, कसो गरौँ को दोधारको चक्करमा फसिरहेको छु ।

राजुले मन्च बाहिर मलाई निरन्तर हाउभाउहरु भेजेर मेरो ध्यानाकर्षण गरिरहेको छ । म ‘पर्ख पर्ख !’ भन्दै उसको अनुरोध यसर्थ टारिरहेको छु कि उसलाई दिन सुहाउने कुनै जवाफ छैन मसँग । केही सिप नचलेपछि ऊ मन्चमै उक्लिन्छ र हामीलाई भन्छः “बाटो भोलि बिहानसम्मको लागि बन्द भैसकेको छ अब के गर्ने ? म नजिकै बसिरहेका मदन शाहलाई कोट्याउँदै उसको समस्या जस्ताको तस्तै राखिदिन्छु । मदन शाहले यतै बासको व्यवस्था मिलाइदिने आश्वासन दिन्छन् ।

‘के खोज्छस् काना आँखो’ भनेझैँ भएको छ मलाई । तुरुन्त फर्कनुपर्दाका समस्याहरु लाइन लागेर ओझेल भैसकेका छन् मेरो मनमष्तिष्कबाट । खुशीको मारवश् सबै अतिथिहरुलाई बोल्ने कार्यक्रम मिलाउँछौँ । विद्यार्थी भाइबहिनीहरुलाई आआफ्ना प्रतिभाहरु देखाउन अवसर दिने कार्यक्रम बन्छ ।

मैले मात्र जितेको जित हो र यो ? यस्तो जीत जो राजुले पनि जितेको छ, आयोजक टोलीले पनि जितेको छ, अतिथिहरुले पनि जितेका छन् । कसैले हार्नुपरेको छैन । अभिभावकहरुले पनि जितेका छन् र विद्यार्थीहरुले पनि जितेका छन् । हारेको छ त हामीलाई अत्याइरहेको समयले । अब ऊ हामीदेखि हायलकायल छ । समयलाई निर्मम तरीकाले विद्यालय प्राङ्गणमा रहेको पिपलको हाँगोमा झुन्डाएर गिरि बुढा, सिर्जना शर्मा, पूर्ण ओली, फत्तेकुमारी र कवि भूपीनले कविता सुनाउन पाएका छन् । अश्विनी, नयनराज, र युवराजले उपस्थितिको मनको कुरा जान्दै बालकथाहरु सुनाउन पाएका छन् । श्रोताहरु मन्त्रमुग्ध छन् । एकादेशको कथा होइन पूर्वी रुकुमलाई नै जुरुकजुरुक उचाल्न सकिने कथाहरु । सहभागीहरुले आआफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । उर्मिला गौतमको मीठो भाकाको मार्मिक गीतले श्रोताहरुको मन धुन काफी छ ।

स्थानीय साहित्यकारहरुले पनि कतै छुट्टिनुपरेको वेदना पोख्दै र कतै स्वायत्तताको खुशी छताछुल्ल पार्दै आफ्ना मार्मिक रचनाहरु सुनाउँछन् ।

‘बाटो बन्द भैसक्यो !’ यो भन्ने अन्तिम अस्त्र सायद राजुले हामीउपर षडयन्त्र गर्ने हेतुले हामीउपर प्रहार गरेको पनि हुनसक्थ्यो । तर त्यो षडयन्त्र हामीउपर कामयावी हुननसकी समयउपर नै तेर्सिएको छ ।

कार्यक्रम सकिने बित्तिकै भेट्न आतुर सन्ध्या पनि हामीबीच आइपुग्छिन् । यी सन्ध्याको मोहपासमा बेरिँदा हामी रुकुमकोटको माथिल्लो भागतिर जान असमर्थ हुन्छौँ र भोलि हेर्ने इच्छा राख्दै चाइना होटेलतिर लाग्छौँ ।

साहित्यिक पोखरी र टाकुरी

यसै पनि रुकुमकोटको साहित्यिक दह कमल दहजत्तिकै विशाल र सिस्नेहिमालजत्तिकै उच्च दृष्टिगोचर हुन्छ । डिलाराम शर्माले रुकुमको सन्देश यहीँबाट शंखघोष गरेका छन् । बिदा लिएका मणिराम गौतमले पितृकोटलाई र रुकुमकोटलाई यहीँ रोकिएर फर्केर हेरिरहेका छन् र अरुलाई पनि फर्केर हेर्न अनुरोध गरिरहेका छन् ।

तेजेन्द्र खाम मगरले अठार मगराँतका सांस्कृतिक चालचलनहरू, कहला, नेपाली जनक्रान्तिमा मगरहरूको बलिदान, अठार मगराँती खाम व्याकरण, कामी बुढा मगरको जीवनी आदि यहीँ तैराएका छन् । दीपक गौतमले प्रतिबिम्ब र नरोकिने पाइला यहीँ वरिपरि चालिरहेका छन् । बखतबहादुर मल्लले दुई दिनको जिन्दगी यहीँ बिताइरहेका छन् । प्रवेश पुनले अल बिदा र क. सहनशिलाको जीवन दर्शन यहीँ पस्केका छन् ।

लोकेश पुनले अधुरो यात्रा यहीँ पूरा गरेका छन् । गोबिन्द पुन “गिरीश” ले ढकमक्क गुराँस यहीँ फुलाएका छन्, समीर गौतम/नवराज बस्नेतले रुकुमेली बाल साहित्य आवाज यहीँ भरेका छन्, धर्मकुमार बुढाले जीवनका पाइलाहरु यहीँबाट चाल्न शुरु गरेका छन् ।

फत्तेकुमारी ओलीले सयौँ रङका फूलहरू यहीँ फुलाएकी छन्, हस्त गौतम ‘मृर्दुल’ ले उनमिका यहीँ स्थापित गरेका छन्, सत्यनारायण श्रेष्ठले गुनामे श्रेष्ठ वंशावली यहीँ रचेका छन्, जितमान पुनले आस्थाका पर्खालहरू यहीँ अग्ल्याएका छन् ऋषिराम शर्माले घाम उदाएको देश यहीँ निर्माण गरेका छन् ।

यति त दृष्टिपात भएको साहित्यिक सतह मात्र हो दहको गहिराईबाट कमल लगायत विभिन्न फूलहरुका जरा निकाल्न त कति बाँकी छन् कति ।

अतिथिहरुले रुकुमकोटको इतिहास जान्ने इच्छा राखेकोले स्थानीय जानकारहरुले यसरी बताइदिन्छन् :-

‘कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना हुने क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुमको बोक्से जाडलाई मारेर रुकुम राज्य स्थापना गरे । राजा पिताम्बरका केही पुस्तापछिका प्रख्यात राजा जयत बम (दारेजैतम) ले आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट, कोटजहारी नेपालमा गाभिएका थिए ।

वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो ।  २०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमकोटलाई बनाइयो ।

२०३० वैशाख २ गते रुकुमकोटबाट बलपूर्वक मुसीकोट सदरमुकाममा स्थान्तरण गरियो र पुनः कायम ४४ बर्ष पछी नयाँ संघीय सरचना अनुसार  २०७४ सालमा पुर्वी रुकुम जिल्ला स्थापित भएको हो ।

यो जिल्ला पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ । यो जिल्ला बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित छ । बाउन्न पोखरीहरु निम्नानुसार रहेका छन्

१. पोधर्ना पल्लो पोखरी २. पोधर्ना उत्तर पोखरी ३. पोधर्ना दक्षिण पोखरी ४. पोधर्ना बीचको पोखरी ५. सानो कल्लापाटा पोखरी ६. उपल्लो कल्लापाटा पोखरी ७. साउनेपानी पोखरी ८. ठुलास्वांरा पोखरी ९. गैराखेत पोखरी १०. लुस्पाघारी तल्लो स्वांरा पोखरी ११. उपल्लो स्वांरा पोखरी १२. राङकोट पोखरी १३. मूलपानी पोखरी १४. भैंसेखाल पोखरी १५. अम्राईबोट पोखरी १६. गैरीगाउं पोखरी १७. गैराबारी पोखरी १८. बीचको गैराबारी पोखरी १९. ओख्राबाङ घारी पोखरी २०. रातामाटा गैरी पोखरी २१. दक्षिण गैराबारी पोखरी २२. तल्लो सिम पोखरी २३. उपल्लो सिम पोखरी २४. रुलीखोला पोखरी २५. दाङ्चा पल्लो खारा पोखरी २६. ओल्लो खारा पोखरी २७. छिप्रिदह पोखरी २८. जुगेना पोखरी २९. मङग्रा पोखरी ३०. आग्रीगाउं पोखरी ३१. सँुगुरदारे पोखरी ३२. बाग्दुला पोखरी ३३. मटीखन्नी पोखरी ३४. चिउरेनी पोखरी ३५. डाँडा पोखरी ३६. चिउरेनी गैरी पोखरी ३७. गौस्वारा पोखरी ३८. काजिन्द्रा पोखरी ३९. टिकेखारा पोखरी ४०. चोकबजार पोखरी ४१. मष्टाथान पोखरी ४२. बाहुन्थाना गैरी पोखरी ४३. मेल बिसाउना पोखरी ४४. बजुपुज्ने पोखरी ४५. जोखिनपुर पोखरी ४६. किमुखारा पोखरी ४७. रुलीखोलाघारी पोखरी ४८. पाखागाउं धारामुनी पोखरी ४९. आलापाखा पोखरी ५०. सिलिङ्गीबोट पोखरी ५१. बोराबारी पोखरी ५२. कमल दह पोखरी

त्रिपन्न टाकुरीहरु निम्नानुसार रहेका छन्

१ पोधर्ना उत्तर टाकुरी २. पोधर्ना बीचको टाकुरी ३. पोधर्ना दक्षिण टाकुरी ४. पोधर्ना टाकुरी ५. कल्लापाटा टाकुरी ६. कल्लापाटा घारी टाकुरी ७. साउनेपानी टाकुरी ८. राङकोट टाकुरी ९. अम्राईबोट टाकुरी १०. सानो राङकोट टाकुरी ११. भैंसेखाल टाकुरी १२. धौलेगरा टाकुरी १३. तल्लो सिम टाकुरी १४. उपल्लो सिम पानी कुटी टाकुरी १५. दाङ्चा टाकुरी १६. खलटाकुरा टाकुरी १७. ब्रम्हथान टाकुरी १८. सिम्लामरुख टाकुरी १९. उपल्लो सिम बीचको टाकुरी २०. सिमापाखा घारी टाकुरी २१. बाउन टाकुरी २२. आला नायकडेरा टाकुरी २३. लामकाने थान टाकुरी २४. मङ्ग्रा टाकुरी २५. जुगेना टाकुरी २६. बाँरारुख टाकुरी २७. चिउरेनी टाकुरी २८. खिरखिरे डाँडा टाकुरी २९. काजिन्द्रा टाकुरी ३०. उधिन ढुँगा टाकुरी ३१. बजु पुज्ने टाकुरी ३२. शिवलाथान घारी टाकुरी ३३. मेल बिसाउना टाकुरी ३४. शिवलाथान पश्चिम टाकुरी ३५. अस्पताल घारी टाकुरी ३६. दहपातल टाकुरी ३७. धूपीरुख टाकुरी ३८. बाहुनथाना टाकुरी ३९. मष्टाथान टाकुरी ४०. चिउरापाटा टाकुरी ४१. जोखिनीपुर टाकुरी ४२. वरलाँकुरी टाकुरी ४३. टिकेखारा चौतारा टाकुरी ४४. बाहुनथाना चौतारा टाकुरी ४५. बोराबारी टाकुरी ४६. बाग्दुला टाकुरी ४७. भदेपानी टाकुरी ४८. पनटुकुरी टाकुरी ४९. पाखागाउँ टाकुरी ५०. वराहथानघारी टाकुरी ५१. उपल्लो कल्लापाटा टाकुरी ५२. पोखरी डांडा टाकुरी ५३. सर्पकोट टाकुरी

उल्लिखित पोखरीहरुमध्ये सबैभन्दा ठूलो पोखरीको रुपमा रहेको कमल ताल प्रसिद्ध पर्यटकीय क्षेत्र पनि हो । यसले धार्मिक तथा पर्यटकीय महत्व छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ ।

रुकुमको उत्तरी सिमानामा अवस्थित ५,८४१ मि. अग्लो सिस्ने हिमालबाट यस गाउँपालिकाको नाम रहन गएको छ । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ ।

देउरालि ओडार भनिने देउराली गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारमा अवस्थित छ । गुफा भित्र प्राकृतिक रूपमा बनेका मानिसका बिभिन्न क्रियाकलाप झल्कने चित्रहरुको साथै बिभिन्न देवि देवताका मूर्तिहरू रहेका छन् । यो गुफामा  ९ वटा तलाहरू रहेको भनिन्छ ।

कमल दहमा ब्रहाजिको मन्दिर  पनि रहेको छ ।

धौलागिरि हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई सानीभेरी नदी बगेको छ जो बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा, माछ्मी, गरायला हुदै ठुली भेरी नदीमा मिलेको छ ।’

रुकुमकोटको साँझ

भोलिको भ्रमण कार्यक्रमको रुपरेखा कोर्न बाँकी नै छ । बहिनी सिर्जनाले शुक्रबार प्रसारण हुने नियमित श्रृङ्खला साहित्यमालाको स्वराङ्कन यहीँ गर्छिन् । कार्यक्रमको समाचार तयार गर्छन् गिरिप्रसाद बुढा । कमल, अश्विनीजी र युवराज अन्तर्वार्तामा सरिक भैदिन्छन् ।

हामीलाई एकरातको लागि चाइना होटेलमा व्यवस्थापन गरिदिएका मदन शाह हामीलाई भेट्न आइपुग्छन् । उनी भूपू माननीय लोकेन्द्रबहादुर शाहका छोरा । नेतृत्वमा हुनुपर्ने गुण बाबुबाट सरेको छ । लोकेन्द्रबहादुर शाह पञ्चायतकाली राजनीतिका एक्ला वृहस्पति । जो सधैँ बाँफीकोटे राजा र मुसीकोटे राजासँग एक्लै प्रतिष्पर्धा गरिरहे । उनीसँग राणाराजको अनुभूतिको भकारी हुनुपर्छ, पञ्चायतीराजको अनुभूतिको थुन्से हुनुपर्छ । पछिल्लो राजनीतिक परिवर्तनको अनुभूति संग्रह त एक डोको जति हुनुपर्छ । म मदन शाहलाई फकाउँछुः बुबाको जीवनी लेखाउनुहोस् । म त्यसमा सहयोग गर्छु । उनले आफ्नो बाबुबाट स्वीकृति मागेर मात्र मलाई थमाइदिने वचन दिन्छन् ।

हामीलाई त्यस होटेलमा जम्मा ४ वटा कोठा उपलब्ध गराइएको छ । हामी आठजनालाई दुईदुईखाटको दरले आठवटा नै खाट छन् । तर एकजना महिला छिन् हाम्रो साथमा उनलाई अलग कोठा चाहिन्छ र अर्का सुकिला कमल छन् उनलाई पनि सिङ्गल कोठा चाहिन्छ । यस हिसाबले ६ वटा कोठा नभई हामीबीच उपस्थित रातले बिदा लिनेवाला छैन । होटेलका बाँकी सबै कोठा भरिईसकेका छन् । छन त गिरिप्रसाद र सिर्जनाका आफन्तहरु पनि नजिकै छन् । तर उनीहरुलाई उता पठाउँदा आजै सम्पन्न गर्नुपर्ने कामहरु अधुरा रहन्छन् । तसर्थ एउटा कोठाको सिङ्गल खाटमा गिरिप्रसाद र म अटाउँछौँ त्यही कोठाको छेउको खाट गुरु राजुलाई छुट्ट्याउँछौँ । तल्लो तलामा एउटा कोठामा एकजना मात्र महिला रहेको सूचना पाएपछि उनीसँगै एडजस्ट हुन पठाउँछौँ सिर्जनालाई ।

बल्लतल्ल शुरुवात गरिएको सिर्जनशिल लेखन प्रशिक्षणका अझै दुइवटा कक्षाहरु बाँकी नै छन् । भोलि नै डिग्रे मेला छ । पर्सि फर्कने कार्यक्रम पक्कापक्की नै छ । सिर्जनशिल कक्षाको समापन कार्यक्रम पनि बाँकी नै छ । लाग्छ यहाँ बास बसेर यी जरुरी कार्यक्रमप्रति अन्याय भैरहेको त छैन ? रुकुमकोटसम्म आइपुगेर जे हेर्नुपर्ने हो, त्यही कुरा पनि हेर्न छुट्दै छ हाम्रो ।

साहित्यिक आन्द्रा गाँसिएका गिरिप्रसाद र म । तीन फिटे सिङ्गल खाटमा झण्डै टाँसिएर सुत्दा समेत शरीरको एउटा पनि रौँले एकअर्कालाई छ्वास्स मात्र नछोएर सिङ्गो रात धपाइदिन्छौँ ।

 

 

232 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *