नियात्रा ५ः रुकुमको स्वर्ग ठूली दह

कार्यक्रमको रक्षाः सिर्जनशिल कक्षा

मंशिर पाँच गते बिहान पाँच नबज्दै मेरो पुरानो साथी लालबहादुर केसीको फोनको घण्टीले मलाई ब्युझाउँछ । फोनमा उनले अतिथिहरुलाई बेलुका मासुचिउरा खुवाउने प्रस्ताव राख्छन् । रुकुममा अतिथिहरुको स्वागताभिलाषी स्थानीय साहित्यकारपछि उनी नै देखिएका छन् । हामीले सोलाबाङ टेकेदेखि नै हाम्रो कार्यक्रमको बारेमा यिनले चासो राखिरहेका छन् ।

“आहा, खोजेकै त्यही हो, तपाईँको निम्तो स्वीकारेर हामी जरुर आउनेछौँ ।” म तत्कालै उनको प्रस्तावमा सहमति जनाउँछु ।

उनको फोन राखिसकेपछि सम्झन्छु, गत रातिको कमलजीसँगको ‘गोप्य वार्ता ।’ ओहो, कक्षा नचले त हामी फर्किसक्नेछौँ आज बिहानै, कहाँ बस्छौँ त यहाँ बेलुकासम्म ? म सो कुरा उनलाई जानकारी गराउन कलब्याक गर्छु । उनले नै हतारहतार आफ्नो भनाइ राख्छन्: “अघि कुरा गर्दागर्दै लाइन कट्यो । तिमीहरुको गाडी छ क्यारे, हामी धेरै छैनौँ तीनचारजना मात्र छौँ र साथमा एउटा बोका पनि छ । हामीलाई डिग्रेसम्म छोडिदिनुपर्‍यो ।”

“मासुचिउरा ? गोप्यवार्ता ? र बोको ?” म रणभुल्ल पर्छु । अकस्मात हातबाट फोन भुइँमा खस्छ । म हत्तपत्त फोन टिप्छु । फोन कटिसकेको छ । आफैलाई सम्झाउँछुः म पूर्णशाकाहारी भैसकेको छु र पशुपन्छी काटमार गर्नकै लागि पशुबध स्थलमा अबोध पशु पुर्‍याउनु मेरो आचारभित्रको कुरा होइन भन्ने सायद यिनलाई थाहा नहुन सक्छ । मैले स्वीकार गरिहाले पनि उनको बोको न त त्यो सानो गाडीको क्यारिजमै अट्छ, न त राजुले नै गाडीमा बोको बोक्न अनुमति दिन्छ । ऊ त साहित्यकार नामधारी बोकाहरुसँग हिजै आजित भैसकेको छ । हिजै स्यार्पूमा हामीले चढाएका आधा घण्टे एक यात्रीलाई उसले तुरुन्तै झारिदिएर हामीलाई लज्जित तुल्याएको थियो । थप अर्को पशु बोको बोक्न कुनै हालतमा राजी हुनेछैन ऊ ।

आफ्नो पुरानो साथीको वचन फाल्नुपर्ने ग्लानीले एकातिर छट्पटाइरहेको छु भने अर्कोतिर चालक राजुलाई आज मनाउन सकिनेछैन भन्ने आशंकाले गाँजेको छ । राजुले उठ्नेबित्तिकै ‘आजसम्मको भाडा देऊ, म दाङ फर्किहाल्छु !’ भन्ने जिद्दि कस्ला भन्ने डरले थुरथुर भैरहेको छु । हिजोको त्रासदीपूर्ण बाटो र भोकको सास्तीले हिजै हामीसँग नाराज भैसकेको छ ऊ ।

खलंगा कक्षा सञ्चालन गर्न ढिलाइ भैरहेको छ । ऊ सुतेको कोठाको ढोका ढकढक पार्दै सक्दो नरम बोलीले बोलाउँछुः

“राजु बाबु ? निद्रा पुग्यो, बाबु ? उठ, उठ अब ! हेर न उज्यालो हुन थालिसक्यो ।”

ऊ पहिल्यै उठिसकेको रहेछ । हातमुख धोई तयार भएर मलाई नै पर्खिरहेको रहेछ । बोलाउनेबित्तिकै झोला बोकेर बाहिर निस्कियो । मनलालजी पनि यतै सुतेको बिर्सिएछु मैले । मनलाल पनि राजुसँगै बाहिर निस्किए । उसले झोला बोकेको देखेर झनै आतङ्कित हुन्छु म ।

“झोला किन बोकेको त राजु बाबु ? खलंगा छबजेभित्र नगई भाछैन । के गर्नु, कार्यक्रम नै त्यस्तै छ । दुःख भयो तिमीलाई । नरिसाऊ है ?” म सकेसम्म विनम्र बोली बनाउँछु ।

“कबोलमा हारिसकेको छु, के रिसाउनु र सर ? जानै पर्‍यो नि ।” ऊ भारी मनले मलाई विश्वस्त तुल्याउन खोज्छ । मेरो संशय बढार्न यति नै पर्याप्त छ ।

अश्विनीलाई होटेलबाट लिएर अँध्यारोमै हामी सोलाबाङको बजार छिचोल्छौँ । डिग्रे मेलामा बोका चढाउन जानेहरु बाटोको दायाँबायाँ लाम लाग्दै गाडीको प्रतिक्षामा छन् । हाम्रो गाडी देखेर अगाडि नै तेर्सिएर गाडी रोक्नखोज्छन् । सायद लालबहादुर पनि यतैकतै यही भीडभाडिभत्र होलान् । हामी गाडीले भीड धकेल्दै धकेल्दै अघि बढ्छौँ र उकालो चढ्छौँ ।

अश्विनिले बाटोमा सोध्छन् : “खोइ, टिभि एफएम तथा समाचारपत्रका पत्रकारहरु आउँछन् भन्नुभाथ्यो । हिजो आएको देखिन । आज आउँछन् त ?”

“आउलान् ।” अस्ति रुकुमतिर आउँदै गर्दा लेखकहरुलाई “रुकुमस्थित सबै पत्रकारहरु आउनेछन्, एफएम नै पाँच-पाँचवटा छन्, राष्ट्रिय टेलिभिजन तथा पत्रपत्रिकाहरुका पच्चीस/तीसजना त पत्रकार मात्र छन्, तपाईँहरुलाई अन्तर्वार्ता दिन भ्याइ नभ्याई हुनेछ !” भनी लाउनु उल्का लगाएको थिएँ । त्यो आशा हिजै मरिसकेकोले मैले अनिश्चयात्मक जवाफ दिन बाध्य भएको बुझे होलान् अश्विनिले ।

“कर्मचारी शिक्षक र पत्रकारहरु पनि त आउलान् नि कक्षा लिन । सम्पर्कमा छन् कोही ?”

“सबैलाई चिठ्ठी काटेको हो क्यारे सर ।” मनलालले पनि निश्चयात्मक जवाफ दिन सक्दैनन् ।

“अनि यहाँका सिडियो, एलडियो र जिशिअ पनि साहित्यकार नै हुन् । उनीहरुले भेट्न चाहेमा त्यो पनि समय मिलाउनुपर्नेछ पनि भन्नुभाथ्यो ?” राजु पनि मभित्र बलेको आगोमा घ्यू थप्न खोज्छ । उसले पनि सुनेछ अस्तिको मेरो कुरा ।

म नाजवाफ भएपछि राजु अश्विनिलाई उचाल्ने प्रयास गर्छः “यदि तपाईँहरु कुनै नेता, प्रशासक वा अभिनेताको निमन्त्रणामा आउनुभएको भए वर्तमान माहोल सयौँ गुणा तातो हुन्थ्यो । म यस्ता कार्यक्रमहरुमा कति ठाउँमा पुगेको छु कति । यस्ता निम्छरा आयोजकको निम्तो स्वीकारेर आउनुभएछ समस्या यहीँभित्र रह्यो । यो कार्यक्रम तपाईँहरुको निम्ति सन्तोषजनक होला जस्तो लाग्दैन मलाई त ।”

अश्विनि र राजुले लगातार प्रश्नको झटारोले ओरालो लागेका मृगहरुलाई लखेटिरहेका छन् । उकालो र तेस्रोमा भए मनलाल र मैले कुदेर देखाइदिने थियौँ । तर के गर्ने हामी ओरालोमा परेका छौँ । पिठ्युँमा प्रश्नका झटारो थाप्न बाहेक अर्को विकल्प छैन । मनलाल आफ्नो बचाउ गर्न खोज्छन्: “भरतकुमार शर्मा भैदिएको भए धेरै सहज हुनेथियो हजुरहरुलाई ।”

अश्विनि वाल्ल परेर मनलाललाई हेरिरहेकाछन् । उनलाई ‘भरत’ को हुन् ? ‘शम्भू रेग्मी’ को हुन् ? के मतलब ? वा उनलाई लाग्यो होला भाषा साहित्यको कार्यक्रममा पद र नामले के फरक पार्छ र ?

मनलाल र म मुखामुख गर्छौँ । मनलालको अनुहारको भाषा पढ्छु उनको अनुहारले भन्दै छः “के गर्ने हजुर ? भन्नलाई त समावेशिता र छुवाछुत निषेधको लागि वर्तमान संविधानलाई सर्वोत्कृष्ट संविधान भनिन्छ । संविधानको त्यही भावना कार्यान्वयन गर्न नेता प्रशासकहरु अहोरात्र खटिएका छन् । उनीहरुले नै कला साहित्य र संस्कृतिको जगेर्नामा लाग्ने स्थानीयहरुलाई अछुतसरि व्यवहार गर्छन् । व्यक्त छुवाछुत व्यवहारभन्दा अव्यक्त छुवाछुत व्यवहार हजारौँ गुणा भयानक र पीडादायी हुन्छ । उनीहरु सजीव भावनाको कार्यान्वयन गर्न छोडेर निर्जिव अक्षरहरुको कार्यान्वयन गर्न कटिवद्ध छन् ।”

‘आँ गरे अलङ्कार बुझ्ने’ अश्विनि पनि अवाक् छन् । आफै पाहुना छन्, के भनुन् बरा ?

मौन वार्तालाप हुँदै गर्दा हामी साढे पाँचबजेतिर नै खलंगा पुगिसकेका छौँ । खलंगा हाइस्कूलमा नै प्रशिक्षण कक्षा चलाउने कुरा भएको छ । बिहानी यात्राको चिसो फाल्नलाई स्कूल नजिकै रहेको चिया पसलभित्र पस्दा मेरो वचन फाल्न नसक्ने जुवाइँ डिल्ली डाँगी भेटिन्छन्, भाइ नरबहादुर ओली भेटिन्छन्, गुरु मीनबहादुर पुन भेटिन्छन् । उनीहरुलाई पनि सिर्जनशिल कक्षा लिइदिन हात जोड्छु । पुरानो मित्र डम्बर खडकालाई फोन गरेरै दुर्लभ अवसर प्राप्तिको लागि तुरुन्त खलंगा आउन फोन गर्छु । उनले तत्कालै सहमति दिन्छन् र एकछिनमै आइपुग्छन् पनि । यतिभएपछि मेरै पहलमा चारजना जुटाइसकेको छु ।

सिर्जना, गिरीप्रसाद र मनलालको पहलबाट बोलाइएका साथीहरुको चहलपहल बढ्न थाल्छ । कक्षा निर्धारित समयमै शुरु हुन्छ । सिर्जनाले दोहोर्‍याइ दोहोर्‍याइ सहभागीहरुका टाउका गनिराखेको देख्छु । क्याम्पस चिफ मुकुन्द शर्मा र खलंगा हाइस्कूलका प्राचार्य हरि खनाल लगायत सत्र अठारजना पुगिसकेका छन् । उनको मुहारमा प्रफुल्लताको लाली चढेको छ । मनलालका चाम्रिएका गालाहरु खुशीको रेखाले पुरिन थालेका छन्, किनकि सिर्जनशिल कक्षा चल्ने करिबकरिब निश्चित जस्तै छ । यी कुराबाट बेपरबाह अश्विनि कसरी शिक्षार्थीलाई बढीभन्दा बढी दिने भन्ने ध्याउन्नमै उर्लिरहेका छन् ।

ढुक्कसाथ चलेको सिर्जनशिल कक्षाले अनिश्चयको संघारमा पुगिसकेको हाम्रो पूर्विनिर्धारित साहित्यिक पर्यटन कार्यक्रमको रक्षा गरिदिएको छ । यस खुशियालीमा प्रमोदकुमार शर्माले बालिकाहरुको सुन्दर नृत्य प्रस्तुत गरिदिएर कक्षालाई मनोरञ्जक तुल्याइदिन्छन् ।

हिजोको विघ्न थकाई फुमन्तर भैसकेको छ र आज हाम्रो जाँगर बिहानैदेखि भकभकी उम्लिरहेको छ । बिहानीको प्रशिक्षण कक्षा समापनपछि हामीहरु खाना खान मनलालजीको सेरीगाउँस्थित घरमा जम्मा भएका छौँ । म आजको ठूलीदहसम्म लामो पैदल यात्राको लागि साथ दिन चाहनेहरुलाई फोन सम्पर्क गर्नमै व्यस्त रहन्छु ।

 

पैदल यात्राः तयारी र हतारो

रुकुम भ्रमणको समष्टीगत कार्यक्रममा सबैभन्दा राम्रो कार्यक्रम आजैको छ, मनोरञ्जक छ । आज मुसीकोटदेखिनै ठूलीदहसम्म पैदल भ्रमण गर्ने कार्यक्रम रहेको छ । मेरो योजना छ, ‘सेरीगाउँ, थर्पू, घिमाने, बसीबाङ, चयाँरी हुँदै ठूलीदह पुग्ने र फर्कँदा साँखको गाउँ भएर फर्कने ।’

यताबाट जाँदा सेरीगाउँको शिरानमा रहेको ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साच्चिकै पो पोखरा नै रैछ…’ तथा  ‘म मरे पनि मेरो देश बाँचि रहोस्….’ भन्ने कालजयी गीतहरु लगायत ‘मधुकर छोटो जीवनी लामो कहानी’, त्यो एउटा अजेय शिखर मधुकर,  मधुकर, अनुभूतिका स्वरहरु लगायत राष्ट्रियताको भाव झल्कने पुस्तकहरुका लेखक तथा गायक प्रेम प्रकाश मल्लको जन्मस्थल देखाउन सकिन्थ्यो ।

यो पैदलमार्गबाट आरामसँग हिँड्दै ठूलीदह पुग्न करीब चारघण्टा लाग्नसक्थ्यो र अधिकतम् प्राकृतिक मनोरमताको रस निचोर्न पाइन्थ्यो ।

तर समयले त्यो सम्भावनामा क्षयीकरण निम्त्याउँदैछ । हामीलाई प्रशिक्षण कक्षा र बिहानीको खानाले भ्रमणका यथेष्ट अवसरहरुमा भाँजो हालिरहेका छन् । मनलालजीको घरमा खाना खान उस्तै ढिला भैरहेको छ । एकदर्जन जतिको जमातलाई सानो परिवारले बनेको घरमा सामलतुमल जुटाएर खाना तयार गर्नु सोचेजस्तो सजिलो भने अवश्य छैन ।

हामी खाना खाइवरि यात्रा प्रारम्भ गर्दा दिनको बाह्र बजिसकेको छ । अब पूर्व योजनामुताबिकको पैदलमार्ग हुँदै गन्तव्यमा पुग्न मुसिवत् छ र पुगेर फर्कने समय पनि छोटिइसकेको छ । अतः साविक योजना फेरबदल गरी साँखसम्म गाडीमा जाने र त्यताबाट ठूलीदह उक्लने योजना तय भैसकेको छ । आजको कार्यक्रममा साथ दिँदैछन् रुकुम साहित्य परिषद्का साथीहरु गिरीप्रसाद, मनलाल, सिर्जना र एक्कबहादुर केसी लगायत शिक्षा अधिकृत बिनाराम खडका, प्रधानाचार्य दामोदर पौडेल, उपप्राध्यापक हरिविष्णु ओली र शिक्षक डिल्ली डाँगीले ।

हामीहरु  राजुको गाडीबाट सेरीगाऊँ, शितलपोखरी हुँदै मध्यपहाडी लोकमार्गको उकालो समात्छौँ । हामीलाई पछ्याइरहेका छन् बिनाराम, गिरिप्रसाद, हरिविष्णु, दामोदर, डिल्ली र मनलालले आआफ्ना मोटरसाइकलहरुमा ।

 

सुन्दर साँखः पापिनी दह

यो सडक ग्राभेलिङको काम समेत सम्पन्न भई कालोपत्रेको पर्खाइमा रहेको रहेछ । बाटो फराकिलो नै छ । हिजोको सडकले मनभित्र गाडिदिएको त्रासका जरा अहिले उख्लिँदै गएका छन् । ठाराढुङ्गा, डाङडुङ्गेका सुन्दर बस्तीको मनोरमता लुट्दै हामी साँख पुगिसकेका छौँ । पहाडको थाप्लोमा समथर रुपमा फैलिएको साँख गाउँले मोहनी लगाइदिएको छ लेखकहरुलाई । खेतका पाटाहरुमा थापेका जमरा र तोरीको फूलबारीको पहेँलपुरले गर्दा गाउँको सुन्दरता धपक्कै बलेको छ । गाउँको बीचमा रहेको नीलो तालले सो सुन्दरतालाई जुरुकजुरुक उचालिरहेको छ । हामी साँखको पापिनी दहलाई घुमीघुमी हेरेर अघाउँदैनौ ।

यत्तिकैमा स्थानीय पूर्णबहादुर बुढा हामीलाई भेट्न आइपुग्छन् । उनीसँगै गादोमा ठूलै भारी पिठ्यूँमा बोकिरहेकी महिला पनि छिन् ।

उनले ती महिलासँग परिचय गराउँछन्: “यिनी मेरी सहयात्री गोपेन्द्र बुढा । आज तपाईँहरुलाई यस गाउँको लोक संस्कृति देखाउने रहर छ । साथीहरु दहतिर उक्लिसके । गादोभित्र यहाँका बाजाहरु हुन् । हामी दुवैजनाले तपाईहरुलाई लिएर उक्लिनको लागि पर्खिरहेका थियौँ ।”

 

स्वर्ग पुग्ने बाटोः मसिना पाखो

अतिथि साहित्यकारहरु सहित हामी गाडीमा सवार हुनेहरुको लागि साँख गाउँको अलिकति पर मसिना पाखोबाट उक्लन सुझाव दिन्छन् उनी । पूर्वी मार्गको लागि हाम्रो पथप्रदर्शकको रुपमा पत्नीलाई खटाउँछन् । मोटरसाइकलमा आउनेहरुको लागि आफै नेतृत्व गर्छन् र सिधै साँखबाट उक्लन थाल्छन् पहाड ।

हामी गाडीबाट मसिना पाखोको पुछारमा ओर्लिएपछि गाडी फिर्ता पठाइदिन्छौँ । मध्यपहाडी लोकमार्गलाई त्यतै छोडेर हामी अइरी, ऐसेलु, कुकुरडाइनो, टिम्मुर, चोथ्रा, करेली घङ्गारु, आदिको बुट्यान तथा खर्सू रइँस, डिम्मुर आदि बोटहरुको बाक्लो झाडी भएको वनपाखामा ठाडै उक्लन थाल्छौँ । केही साथीहरु गति अस्वाभाविक रुपमा बढाउँदै अघिअघि लाग्छन् । मनलाल र म बाँकी साथीहरुलाई पर्खने हेतुले पछि परेका छौँ र ती साथीहरु साँख गाउँबाटै सिधा उक्लिसकेको जानकारी पाएपछि उक्लनथाल्छौँ जङ्गलको उकालो; घसेरा, दाउरे र गुवालाहरुका पाइतालाले चिरेका डोरेटाहरु पछ्याउँदै ।

पहाडी जडीबुटी र बुट्यानहरुको सुन्दरता भव्य छ ।  डोरेटो घरिघरि लोप हुँदा हामी अर्को डोरेटो खोज्दै उक्लिरहेका छौँ । अलिकति पश्चिम ढल्केका दिनको पारिलो घामलाई झाडी र बुट्यानले छेक्दा कतैकतै रातको जस्तै अँध्यारोले पनि गाँज्छ । बाघभालु लगायत जङ्गली जनावर पनि भेटिन सक्ने कुरा पूर्ण बुढाले बताएका छन् । एकमहिना जति अगाडि भालुले एकजना बच्चाको अनुहार चिथोरिएको घटना बल्केर अनुहारमा उत्रन्छ । पारितिर नौबहिनी लेकहरुको समूहले हाम्रो तमासा हेरिरहेका छन् ।

अलिकति माथि पुगेपछि युवराज नयाँघरे र सिर्जना भेटिन्छन् । दुवैले लठ्ठीको सहायताले कनीकुथी उकालो नापिरहेका छन् । माझीले तलाउमा जाल फ्याँकेजस्तै डाँडाकाँडा, रुख, बुट्यान तथा झाडीहरुका गहनतभित्र आँखाहरुलाई फ्याँक्दै र दृश्य उभाउँदै गरिरहेका छन् । त्यो सबै दृश्य अटाउन आँखा मात्र पर्याप्त नहुँदा केही दिमागमा भरिरहेका हुँदाहुन् । बढीजसो भने कापीमा टिपिरहेका छन् । उनको मुखाकृतिले नै झल्किएको छ कि पदयात्राको सर्वोत्तम आनन्द लुटिरहेका छन् ।

मनलाल र म भने आँखालाई बल्छीतुल्य प्राकृतिक मनोरमताको छेउछाउमा फ्याँक्दै छौँ र आँखाको बल्छीमा परेका खिँजातुल्य दृश्यलाई खल्तीमा हालिरहेका छौँ । युवराजको दुई सदस्यीय टोलीसँग मिसिएपछि अब हामी चारजनाको समूहमा छौँ र अझै बाँकी समूहबाट एक्लिएकै छौँ । सँगसँगै यात्रा गर्दाको रोमाञ्चकता झनै बढी हुने आशाले सिठ्ठी मार्दै हामी अघि अघि चढिरहेको समूहलाई बोलाउँछौँ । कोही चिच्याउँछौँ: “ए, अश्विनी सर SSSSS, ए, नयनराज सर SSSS, ए, भूपीन सरssssss, ए, कमल सर sssssss, भन्दै ।

निरन्तरको उकालोले मुख प्याक्प्याक्ती सुकिसकेको छ । ‘नाम ठूलीदह भए पनि पानी नपाइने दह हो’ भनी म सम्झाउँछु युवराज नयाँघरे सरलाई । थकाइको मारवश् उनी झनै अत्तालिन्छन्, “अहिल्यै पानीको चाहनाले ओठमुख सुकिसक्यो, पानी नपाइने ठाउँमा कसरी बाँचिएला त त्यहाँ रहुन्जेल ?”

केही उकालो चढेपछि हाँसोको एउटा फड्को हाम्रो अघिल्तिर झरेर बिलाउँछ । सिर्जनाले त्यो फड्को टिप्छिन् खेलाउँदै पहिचान गर्छिन्: “यो हाँसो त अश्विनीजी सरको हुनुपर्छ । अरुको हाँसो यहाँसम्म आइपुग्ने क्षमताको छैन । उहाँहरु अझै धेरै टाढा हुनुपर्छ । ”

जतिजति माथि उक्लँदै जान्छौँ उतिउति अरु हाँसो पनि बाक्लिँदै गएको पाउँछौँ ।

युवराजले अडकल गर्छन्, “असिनाजस्तै मसिना, साना, मझौला र ठूलाठूला गेडा भएको हाँसो पो वर्षिरहेको छ त । छातासाता केही ल्याइएन कसरी छेक्ने ? निरन्तर हाम्रो टाउकोमाथि बर्सिरहेका हाँसाका गेडाहरुलाई टिपेर ओल्टाइपल्टाइ पारेपछि युवराज घोषणा गर्छन्: “यीमध्ये मसिनो हाँसो भूपीन र एक्कबहादुरजीको हो । सानो नयनराजको हो, मझौला कमलको र अश्विनीजीको त यसै ठूलो हुने भैहाल्यो ।”

नभन्दै कल्याङमल्याङ बाक्लिँदै जान्छ र एउटा खोँचमा छुटेका मान्छेहरुको चहलपहल पनि देखिन्छ । अघिअघि उक्लिएका साथीहरु त्यतै रहेछन् । साहित्यअनुरागी एक्कबहादुर केसी र पथप्रदर्शक दिदी पनि त्यहीँ छिन् । त्यहाँ एउटा पानीको खोबिल्टो भएकोले पानी खाने लाइनमा छन् उनीहरु । गाईबाख्राले भर्खरै धुमालेको जस्तो धमिलो पानी छ । अञ्जुलीमा लिएर पानी पिउँदा हिलो मात्र होइन जुका समेत चुसिने सम्भावना रहेछ । सोको निराकरणको लागि एक्कबहादुरले वैकल्पिक प्रविधिको रुपमा आफ्नै टोपी सिफारिश गरेका रहेछन् । त्यही टोपीबाट हिलो छानेर पानी चुस्नमा हानथाप भैरहेकोले हाँसो पनि बेसरी मौलाउन मौका पाएको रहेछ त्यहाँ ।

अब यतातिरबाट उकालो लागेका सबै पदयात्री एकजुट भैसकेका छौँ र सँगसँगै उक्लन थालेका छौँ । केही मिटर माथि उक्लिएपछि डोरेटो तेर्सिन थालेको छ । अश्विनीजी विश्वस्त छन्, “यो भूगोलबाट नै थाहा हुन्छ कि अब हाम्रो गन्तव्य धेरै टाढा छैन ।”

“कुनै कुनै बाटो त झनै ठाडो उक्लनको लागि पनि अलिकति तेर्सो परेका हुन्छन् नि !” पटकथाकार नयनराजजी पाण्डे फिल्मी शैलीमा अत्याउँछन् अरुलाई ।

त्यो कुरा पत्याउन तयार छैनन् भूपीन र कमल, “हामी एकघण्टा जति उक्लिसक्यौँ अब ठाडो त मरिकाटे आउँदैन ।” लाग्छ थकाइले अतिथिहरुको ज्यानलाई थकावटले छुन खोजिरहेको छ र आत्मविश्वासको टेकोमा अडिन भए पनि यी उद्गारहरु व्यक्त गरिरहेका छन् । अघिअघि दिदी छिन्, पछिपछि सिर्जना बहिनी छिन् र बीचमा हामी पुलिङ्गीहरु छौँ । यी दुईबहिनीहरुले हामी बीचमा बेलाबेलामा चिलझैँ पर्न आउने थकाइलाई नजिक पर्न दिएका छैनन् । सहयात्रामा नारी नभै नहुने प्राणीजगतमा यात्रामा पनि नारीको उपस्थितिले जादूको काम गर्दो रहेछ नत्र त थकाइले चूरचूर हुने थिए नवागन्तुकहरु ।

 

रुकुमको स्वर्गः ठूली दह

नभन्दै अब समथर जमिन शुरु भैसकेको छ । बोनसाइ प्रविधिले सजाइएका जस्ता खर्सू र लालीगुराँसका झ्याम्म परेका रुखहरु पातलो हुँदै जान थालेका छन् । अब परपरसम्म फैलिएको सुख्खा पाटन सबैको नजरमा परिसकेको छ र पैदलयात्रीका पाइतालाहरु घस्रिन छाडेर छिटोछिटो जुरुकजुरुक उचालिन थालेका छन् । मन्त्रमुग्ध तुल्याइदिएको छ त्यो दहको दृश्यले सबैलाई । वाक्य कसैको फुट्न सकेको छैन । बयानको लागि बाएका ओठहरु कुनै शब्द नभेट्टाएर जोडिन सकेका छैनन् ।

भुइँमा कसैले रोपेको जस्तै सुख्खा दुबो बाक्लिँदै गएको छ । कोही त्यही दुबोमा टुसुक्क बसेका छन् भने कोही लुटुपुटु गर्दैछन् त कोही ढलीमली गरिरहेका छन् ।

एकछिनको विश्रामपछि चढ्न बाँकी रहेको टाकुरातिर सोझिन्छन् सबैका गोडाहरु । उस्तै झाडीभित्र छिर्दै पचासमिटर जति उक्लिएपछि बुट्यान मात्र भएको टाकुरोको थाप्लो शुरु हुन्छ र हावाका झोँक्काहरु कावा खाइरहेका भेटिन्छन् । अलिकति माथि सरेपछि अग्लाअग्ला पर्वतहरुको बीचमा हातैले छोइएला झैँ हिउँ बिलाउँदै गरेको सिस्ने हिमाल उत्तरतर्फ खडा भैदिन्छ र अलिकति पूर्वतिर पुथा हिमालका श्रृङ्खलाहरुले आँखा नै तिरिमिरि पारिदिन्छन् । सानीभेरी नदी धर्सोजस्तै पातालमा बगिरहेको भान हुन्छ ।

प्रकृतिको विहंगम सुन्दरताले निबन्धकार युवराज नयाँघरे र मनलाललाई छाँयल पारेको जस्तो छ, कथाकार अश्विनीजी र नयनराजजीलाई कायल पारेको छ भने कवि भूपीन सिर्जना गिरीप्रसाद र म स्वयमको हृदयलाई घायल तुल्याइरहेको भावभङ्गीबाटै देखिन्छ । पोज फेरिफेरि गरिएको फोटो सेशन अन्त्यहिन होला जस्तो लाग्छ ।

यात्राको प्रारम्भदेखि नै क्रुरतापूर्वक पछि लागेको समय त्यहाँबाट पनि फुत्किने चेष्टा नगरी छोड्दैन । समयको चेष्टालाई बुझ्ने हैन भने अरु त अरु जीवनयात्रा समेत वाहियात हुनसक्छ । समयले नै शिखर चढाउँछ र समयले नै फेदतिर घोक्रेठ्याक् लाउँछ । अतः हामी पनि मन नलागी नलागी समयको चाप पछ्याउँदै पुनः दहतिर नै घोक्र्याइँदै छौँ ।

दहको विशाल चौरमा हाम्रो समूह गोलघेरामा थपक्क बस्छ । आफूसँग बोकेर ल्याएका मकै र भट्मासका खाजामा चाउचाउ, दालमोट मिस्याएर वितरण कार्यक्रम शुरु हुन्छ । अनि ? सुन्दरता र थकाइले सिर्जना गरेको भोकले ती खाजाहरुको सस्वर कुरुमकुरुम स्वाद नै अनुपम लाग्छ ।

खाजा खाइसकेपछि पूर्ण बुढाको समूहले झ्याली मादल सहित सिँगारु तथा पैँसेरु नाच शुरु गर्दछ । उनीहरुको नाचमै सबै अतिथि तथा पैदलयात्रीहरु झुम्मिन्छन् । गोडाको तालमा प्रत्येकका कम्मरहरु मर्किन्छन् । हातहरु लहराउँछन् र सप्पैको एकमुष्ठ मीठो स्वर गुन्जन्छः “हो भन साइँली होऽऽऽऽऽ ।” अश्विनिको बुर्लुकबुर्लुक ऊफ्राइ मृगको पाठो जस्तै गज्जबको छ । नयनराज ताल समातिसकेका छन् जसको नाच । युवराज, कमल र भुपिन पनि बाजाको ताल समाउने प्रयत्नमा छन् ।

ठूलीदहको विशाल फाँटबाट अब टोली पश्चिमतिर लाग्दछ । त्यहाँ अतिथिहरुलाई आफ्नो हरित सुन्दरता प्रदर्शन गर्न सानीदह पनि प्रतिक्षारत रहेकी रहिछन् । यो समूह त्यता पुगेपछि हत्तपत्त आफ्नो अङ्गालोमा बेर्दछिन् । मन त उनकै अङ्गालोमा बेरिइरहने थियो । तर यो पनि देखी सहँदैन समयले । हामी उनको बाहुपास फुत्काउँदै अब पुनः साँखतिर ओर्लन्छौँ । साँख पुगेपछि ताततातो निशुल्क चियाले साँखबासीले हामीलाई विदाइ गर्छन् ।

भोकले आन्द्रा कोक्याएपछि बिहानै फोन गर्ने लालबहादुरलाई सम्झन्छु र हत्तपत्त फोन लगाउँछु : “के छ कार्यक्रम ? हामी त फर्कन थाल्यौँ ।”

“त्यस्तो विशेष केही छैन । पाहुनालाई खुवाउन व्यस्त छु ।” भनी फोन काटिदिन्छन् । गाडीमा बोको हालेर डिग्रे नपुर्‍याइदिएको उनको झोँकको गन्ध ठसठसी मेरो नाकभित्र पस्छ । गन्ध मनसम्मै फैलिन्छ बेसरी कुँडिन्छ । आफ्नो समस्या एकातिर छ, अर्कोतिर बोको नबोकिदिएकोले नास्ता नखुवाउने घुर्की छ, कस्तो बिडम्बना ।

बेलुका अर्कैको आशाले भोकै नपरियोस् भन्दै देवकुमारीलाई खानाको तयारीको लागि फोनबाट अत्याउँछु ।

हामी साँखबाट अघि बढ्छौँ । हाम्रो यात्रामा साथ दिनको लागि हाम्रोसामु अँध्यारो उपस्थित भएकी छिन् अब । अँध्यारोमा डाँडाभरि चारैतिर छरिएका गाउँहरुको झिलिमिलि हेर्न लायक छ । रुकुम होइन, हामी कतै विकसित भूगोलभित्रै छौँ कि ? भन्ने अनुभूति हुन्छ यतिखेर । उज्यालो अभियानका अगुवाहरुलाई मनमनै धन्यवाद दिँदै हामी अँध्यारोमा पनि केही प्राप्त गर्ने हेतुले वारिपारि आँखा डुलाउँदै बिस्तारै निवासस्थल सोलाबाङ झर्छौँ ।

आज बेलुकाको खानाको लागि देवकुमारी खाना तयार गरेर हामीलाई पर्खिरहेकी रहिछिन् । सोलाबाङस्थित मेरो घरमा पुगेपछि लेखकहरुसँग आतिथ्यता प्रदान गर्ने वृद्ध आमाबाको धोको पूरा भएको छ । साथै मानव धर्म सेवा सत्सङ्ग मण्डलीबाट धार्मिक स्वागत गर्न पाएकोमा ठूल्दाजु र ठूल्दिदी पनि प्रफुल्लित हुनुहुन्छ ।

 

174 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *