नियात्रा ४ः मुसिकोटको सेरोफेरो

बिहानीमा मुसिकोट

आज मंशिर ४ गते । मेरो बानी जस्तै परिसकेको थियो बेलुका एघारबजेसम्म निद्रा नपर्ने र बिहान चार नबज्दै निद्रा खुलिहाल्ने । उठेर नित्यकर्म सिध्याएपछि चालक राजुलाई ब्यूँझाएँ ।

हामीहरु घरबाट अतिथि स्रष्टाहरु बास बसेको स्थल सोलाबाङ बजारतिर लाग्यौँ । भरतकुमार शर्मालेलाई आज बिहानै सेरीगाउँ र खलंगा क्याम्पसमा कार्यक्रम रहेको बारेमा जानकारी गराएँ । उनले भनेः “मैले त्यहाँका सबै साथीहरुलाई खबर गरिसकेको छु ।”

रुकुममा साहित्यिक भ्रमणको कार्यक्रम हुने निश्चित भैसकेपश्चात् भरतले दूरसञ्चारमार्फत निरन्तर पिछा गरिरहेका थिए हामीहरुलाई । रुकुमका दर्शनीय स्थलहरुमा कहाँ, को कोसँग भेट्ने, के के हेर्न नछुटाउने, आदि सम्बन्धमा मार्गनिर्देशन गरिरहेका थिए । रुकुममा कार्यरत रहुन्जेल साहित्य, कला र संस्कृति विकास उनको प्राथमिकतामा पर्दथ्यो । अहिले उनी तनहुँमा प्रमुख जिल्ला अधिकारीको भूमिका निभाइरहेकोले यता शारीरिक रुपमा अनुपस्थित छन् ।

हामीहरु सोलाबाङ मध्यबजारमा रहेको सिद्धार्थ होटेलमा पुगेर अतिथिहरुको ढोका ढकढकाउन पूर्व नै अतिथिहरु पनि उठिसकेका रहेछन् । बाहिर अँध्यारोले अझै जरा गाडेकै थियो । हामी सोलाबाङको ‘बाङ (फाँट)’ बाट ठाडो उकालो चढ्न थाल्यौँ । गाउँ सकिएपछि सालघारी शुरु हुन्छ । छन त यो जङ्गलमा सालबाहेक सल्ला र अरु जातका रुखहरु पनि छन् । तर सालकै रुखहरुको बाहुल्यता रहेकोले सालघारी भनिन्छ । अँध्यारोले ढाकेकोले आसपासमा जङ्गल छ कि खोला छ अझै अत्तोपत्तो छैन ।

हामी नागबेलीझैँ बेरिएको सडक नाप्दै बोरागाउँ पुग्दा अँध्यारो फाट्न थालिसकेको थियो । बोरागाउँ आठदश घरहरु भएको जङ्गलको शिरमा रहेको सानो गाउँ । गाउँको पश्चिमपट्टि नेपाली सेनाको ब्यारेक थियो केही वर्षअघिसम्म । त्यताबाट पनि सडकका तीन घुम्ती उकालो पार गरेपछि डाँडाको थाप्लोमा कोट भेटिन्छ । यही कोट डाँडाबाट मुसिकोट नाम रहन गएको हो । कोटको डाँडामा पुगिसक्दा मिर्मिरे उज्यालो भइसकेको थियो ।

बिहानीपखको कोमल सुन्दरताले अतिथिहरुको आँखा चुम्बकसरि खिँचिरहेको थियो । यस्तैमा पारिपट्टिको सुन्दर बस्तिको आकर्षणले अरु त अरु राजुलाई समेत गाडी चलाउन जाँगर मारिदियो । उसले कोट डाँडाको अलिकति अगाडि ठानागाउँमा रहेको पिपलको रुखछेउमै गाडी अड्याइदियो ।

पारिपट्टि आफ्नो सोह्रश्रृङ्गार अस्तव्यस्त राखेर आफ्ना आङ ढाक्ने लुगाहरु समेत लथालिङ्ग छोडी एउटी षोडषी सुन्दरी अद्यापि सुतेर अझै आँखा मिच्दै गरेकी भेटिई । शिरतिर कालो र बाक्लो कपाल छरपष्ट थियो । निधारमा लगाएको श्वेत टीका यताउता सरेको थियो । लाललाल गालाहरु लामो सुताइले डाम परेका थिए । पुष्ट वक्षस्थल करिब करिब उघ्रिएको अवस्थामा थियो । यस्तो अर्धनग्न अवस्थामा एक नवयौवना आफूलाई कसैले च्याउँदैछ भन्नेसम्म चेत नभएर असरल्ल परेर सुतिदिएपछि बाँकी वर्णन अशोभनीय ठहर्ला ।

यति भएपछि सँगै आएका लेखकहरुलाई के चाहियो र ? घुचेटाघुचेट गर्दै ती सुन्दरीको फोटो क्यामेरामा कैद गर्न थाले । एकहातमा पाँचसय मेघापिक्सेलको अत्याधुनिक मोबाइलको क्यामेरा छँदैथियो र अर्को हातमा हजार मेघापिक्सेलका आँखा छँदै थिए । फोटो जति खिचे पनि जति पनि अट्ने लाखौँ ट्रेटाबाइट क्षमताको हार्डडिस्कयुक्त मन छँदै थियो । ढुक्कैसाथ ती षोडषीको अङ्गप्रत्यङ्ग कोट्याई-कोट्याई र जुम गरी-गरी फोटो खिच्न मच्चिए । खिच्नुसम्म सेल्फी खिचे । को भन्दा को कम थिए यी कमजोर दिलका लेखकहरु । पचासको वरिपरि घुमिरहेका लेखकहरुले अहिले चाँहि सोह्र वर्षे जवानीमा ओर्लेको तमासा देखाइरहेका थिए ।

ती षोडषीको नाम व्यग्रतापूर्वक सोधे लेखकहरुले

बताइदिएँ: “सेरीगाउँ ।” उनीहरु नामैले रोमाञ्चित भइहाले ।

ती षोडषीको ओछ्यानमा एउटा नवयुवक अर्कोपट्टि कोल्टे परेर सुतेको थियो, र, ऊ अझै मस्त निद्रामा घुरिरहेको थियो । उसको शिर युवतीकै शिरसँग छुवाएको थियो । एकहात र एकखुट्टा सोलाबाङको भूइँतिर झरेका थिए । अर्को हात र खुट्टा अर्कोपट्टि फैलिएका थिए होलान् यतातिरबाट देखिँदैनथ्यो । यस्तो लाग्थ्यो यो जोडीले गत राति झगडा मच्चाएर अबेरतिर मात्र सुतेका हुँदाहुन् ।

“को हो त्यो ?” ईर्ष्या जागेको प्रष्ट बुझिन्थ्यो लेखकहरुमा । उनीहरुले ती षोडषीको निजत्व ग्रहण गरिसकेका रहेछन् । मलाई के पत्तो ?

“ती युवतीकै प्रेमील जोडा हो । नामः खलङ्गा ।” मैले चिनारी दिएँ ।

डाँडामा घाम झुल्किउन्जेलसम्म मस्तसँग निदाएका ती जोडीलाई ब्युँझाउनु थियो कानैमा ‘कानेकाने कुर्रर्रर्रर्रsssss’ गरेर भए पनि वा कुतकुत्याएर भए पनि । यताउता छरिएका आभुषणहरु पहिराइदिनु थियो । सिरानीमुनि लुकाइएका गहनाहरु लर्काइदिनुथियो शिरदेखि पाउसम्म । यति गर्न सके थप मेकअपका सामग्रीहरुको खोजी गरिरहनु जरुरत नै थिएन । पाहुनालाई देखेर शरमले भए पनि उठ्न हतार गरुन् भनीकन ल्याइएको थियो लेखकहरुलाई पनि ।

 

औपचारिक कार्यक्रमहरु

फोटो सेशनको आनन्द लुटिसकेपछि हामी चाँफा, शितलपोखरी, कानेबाङ हुँदै सेरीगाउँमा अवस्थित यमुना नन्द मावि प्राङ्गणमा पुग्यौँ । त्यहाँ अतिथिहरुको स्वागतार्थ राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओली, भुपु अध्यक्ष गिरीप्रसाद बुढा, उपाध्यक्ष सिर्जना शर्मा, सदस्य प्रमोदकुमार शर्मा, सदस्य कमप्रसाद देवकोटा, सदस्य मीरा जीएम, नगरप्रमुख देविलाल गौतम, समाजसेवीहरु नवराज गौतम,  तथा शिवराम खत्री, भूपू प्राचार्य मीनबहादुर पुन, प्रधानाध्यापक दामोदर पौडेल, शिक्षकहरु नन्दराम देवकोटा तथा गोपाल केसी लगायत विभिन्न स्थानीय साहित्यकारहरु र विद्यालय परिवारको बाक्लो उपस्थिति हाम्रै पर्खाइमा थियो । उक्त समुहले अतिथिहरुको स्वागतरुपि सुनपानीले छर्केपश्चात् लेखकहरु समेतको समूहले प्राङ्गणको पूर्वोत्तरमा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पण गर्‍यो । औपचारिक कार्यक्रम भने उक्त विद्यालयको कार्यालय कोठामा सम्पन्न भयो ।

यही स्कूल थियो जहाँ जनार्दन शर्मा लगायत जिल्लास्तरका विभिन्न बौद्धिक नेतृत्वहरुले कखरा चिनेका थिए । जहाँ मैले चारकक्षादेखि नै सोलाबाङदेखि धाईधाई निमावितहको अध्ययन पूरा गरेको थिएँ । अहिले यसैको प्राङ्गणबाट विकासका सम्भावनाहरु बोकेर मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्ग छुट्टिन्छन् ।

सेरीगाउँमा जम्मा भएको साहित्यअनुरागी टोली सेरीगाउँको मध्य गाउँ, टटेला हुँदै भीरबारीमा रहेको मुसीकोट क्याम्पस पुग्यो र क्याम्पसमा स्वागतार्थ उपस्थिति साहित्य अनुरागी समूहसँग मिसियो । त्यहाँ क्याम्पस प्रमुख मुकुन्द शर्मा, प्रअ हरि खनाल, जिल्ला समन्वय अधिकारी माधव प्रसाद शर्मा, पत्रकार गणेश चिन्तन, उपप्राध्यापकहरु टेकबहादुर ओली, गंगाबहादुर कार्की, ढुण्डीराज शर्मा, डम्बर खडका तथा साहित्यअनुरागी हरिपवन खडका, पहलसिँ घर्ती लगायतले अतिथि स्रस्टाहरुको स्वागत गरे ।

अतिथि सहितको उक्त समूहले त्यहाँ रहेको लक्ष्मीप्रसाद देवकोटाको प्रतिमामा माल्यार्पण गर्‍यो । साहित्य परिषद् रुकुमले अतिथिहरुलाई भाङ्ग्राका टोपीहरु तथा जिल्ला परिचय झल्कने पुस्तकहरु उपहार प्रदान गर्‍यो । कार्यक्रमले औपचारिकता पायो र अतिथिहरुले आआफ्नो मनको कुरा खोले ।

स्थानीय साहित्यकार गिरिप्रसाद बुढाजी राजनीतिकर्मी पनि हुन् । उनले समयचेतनालाई च्याप्पै समातेर थुप्रै पद्य तथा गद्य कविताहरु लेखेका छन् । उनका ‘बिग्रेको हर्के’ र ‘आस्थाका फूलहरु’ शीर्षकका दुई खण्डकाव्यहरु प्रकाशित भैसकेका छन् । उनी आफ्नो नाम ‘गिरि’ लाई सार्थक तुल्याउन ‘अटल’ र ‘अग्लो’ हुन कम्मर कसेर लागेका छन् । त्यस कार्यक्रममा भने उनको कविता सुन्ने सुनाउने इच्छा अधुरै रह्यो । अर्का स्थानीय कवि गणेश चिन्तनको मीठो कविता सुन्न पाए अतिथि तथा स्थानीय लेखकहरुले ।

त्यस दिन बिहानको हाम्रो खाना गिरीप्रसादको घरमा भयो । गिरिजिले टिम्मुरको चटनीसँगै मकैको ढिँडोको बेहद मीठो स्वाद मात्र चखाएनन्, बरु आफूले लेखेका छन्दबद्ध कविताहरुमध्ये एउटा कविताको मीठो स्वरको स्वाद लेखकहरुलाई थपिदिँदै उनीहरुलाई मन्त्रमुग्ध तुल्याए ।

 

बाँफीकोटकी स्यार्पू

खानापछि अतिथिहरु, मनलाल, सिर्जना लगायत हामीहरु स्यार्पूको लागि प्रस्थान गर्‍यौँ ।

सल्ले विमानस्थल पुगेपछि सानीभेरी नदीले हाम्रो ध्यान आकर्षित गरिन् । सल्लेबाट हेर्दा बीचमा सर्पझैँ विशाल बगरमा बगेकी सानीभेरी र वरिपरि हातैले मिलाएर राखेझैँ महका चाकाका आकारमा चाँचिएका दर्जनौँ पहाडहरुको दृश्य प्राकृतिक कलाकारिताको सर्वोत्कृष्ट सुन्दर नमूना झैँ लाग्दथ्यो । लेखकहरुले धित मरुन्जेल दृश्यपान गरे सानीभेरीको ।

हामी अब सल्लेबाट रातामाटा झर्दै गिल्बाङको बाटो समात्यौँ । अश्विनिले अकस्मात हामीलाई भनेः “ल, ल, हिजोको नासो फिर्ता दिइहाल्नुस् ।”

“हिजोको ? के नासो दिनुभएको थियो र ?” म अलमलिन्छु ।

“बिर्सनुभो ? तपाईँहरुलाई बाटोमा आउँदै गर्दा जे दिएका थियौँ त्यो ।”

उनीहरुले मलाई के त्यस्तो दिएका थिए मैले सम्झनै सकिन ।

“सडक सुविधा पहुँचको लागि दिएको धन्यवाद अलि बढी नै भएछ । त्यो धन्यवाद फिर्ता गरिहाल्नुस् ।”

नभन्दै बाटोको अवस्था क्रमशः बिग्रँदै गएको थियो । यो देखेपछि अघिल्लो दिन विकासे नेताहरुलाई  दिएको धन्यवाद् फिर्ता मागिरहेका थिए उनी ।

भर्खरै स्यार्पूमा महोत्सव सम्पन्न भएको थियो, मलाई लागेको थियो त्यही मौकामा स्यार्पू पुर्‍याउने बाटोमा धेरै सुधार भैसकेको होला । तर बाटोको अवस्था एक दशकको अवधिमा पनि जस्ताकोतस्तै थियो । उस्तै धुलो, उस्तै खाल्डाखुल्डीहरु । करिब एक घण्टाको कठीन यात्रापछि हामी गिलबाङ पुग्यौँ र गिलबाङको सानोबजारमा एकछिन बिसायौँ । गिलबाङबाटै रुकुमकोट जाने बाटो र स्यार्पू जाने बाटो छुट्टिन्छ । यो गाउँमा अधिकांश समय प्रकाशबाट समेत ओझेलमा रहने हुँदा सधैँ ओसिलो हुन्छ । खुद्रा पसलहरुमा सुन्तला केरा तथा अम्बाहरु पनि राखिएको थियो । हामीले केही फलफूल किनेर खायौँ ।

दश किलोमिटर पार गर्न पनि हामीलाई करिब तीन घण्टा लाग्नथाल्यो । अब हामी छिङ्खेत झरेर बाँफीकोटको सालघारीमा उक्लन थाल्यौँ । वारिपारि घुमिरहेका नजरहरुलाई सडकै सडक पुच्छर उठाएर बुर्कुसी मारिरहेका एक हल बल्ल (गोरु) सडकको लम्बाइतिर एकत्रित गरिदिएका थिए ।

सालघारीको बाटो काट्न हामीलाई पन्ध्र मिनेट जति लाग्यो । सालघारीको उकालो सकिएपछि बाँफीकोटको गाउँ शुरु हुन्छ । एउटा भित्ताको र्‍याकमा पुस्तकको थुप्रो परेको आकारमा थुम्को परेको छ यो गाउँ । यो ‘मैले देखेको दरबार’ का लेखक विवेककुमार शाहको गाउँ । विगत राजनीतिको केन्द्रबिन्दुमा रहेर गोपालजीसँग प्रतिष्पर्धा गर्ने ध्रुव विक्रम शाहको गाउँ । मेरो पथप्रदर्शक, गुरु सुधिरविक्रम शाह, जो अहिले निर्वाचन आयोगका सदस्य छन्, उनको गाउँ ।

अरु थुप्रै नामहरु छन् तर अरु कसैसँग परिचित छैनन् लेखकहरु । चर्चित पुस्तकको लेखकको नाताले उनीहरु विवेककुमार शाहसँग परिचित छन् र उनकै घर हेर्न उत्सुक छन् लेखकहरु । हामी कार्यक्रम स्थलमा पुग्न झण्डै साढे दुई घण्टा ढिला भैसकेका छौँ । गाडी रोकेर सोधीहेर्न फुर्सद छैन कसैलाई । हामी कुदिरहेका छौँ गाडीमा ।

गाउँलाई पछाडि छाडेर हामी पहाडको भित्तालाई फनक्कै मोड्दै तलतिर झर्छौँ र केही समयपछि हामी सुन्दर स्यार्पू तालको छेउमा पुग्छौँ । त्यहाँ साहित्य परिषद् रुकुमका भूपू अध्यक्ष नदीराम केसी र वडाअध्यक्ष चन्द्रबहादुर खत्री हर्कसिँ खत्री शिक्षक चुमानसिँ बोहरा चन्द्रसिँ केसी र डम्बर केसीहरु रुकुमको प्रसिद्ध नाचको साँस्कृतिक झाँकी सहित अतिथिहरुको स्वागतार्थ वरैसम्म आइपुगेका छन् । उहाँहरुसँगै स्कूलका विद्यार्थीहरु भाइबहिनी तथा शिक्षकहरु पनि छन् । सिङारु नाचको गीतको भाका यस्तो छः

“हल बल्ल हलारी गैजाऊ खोली खेत साउनलाई,

स्यार्पू तालले स्वागत गर्छ टाढाका पाउनालाई”

हामी साँस्कृतिक झाँकीको पछि लागेर स्यार्पू तालको छेउमा रहेको कार्यक्रम स्थलमा पुग्छौँ । कार्यक्रममा स्यार्पूवासी बालबच्चादेखि वयोवृद्धसम्म उपस्थित छन् । लाग्छ प्रकृतिनै जीवन्त रुपमा हाम्रो अगाडि खडा भएकी छिन् । स्यार्पू त्यहीँ छिन्, सिस्ने त्यहीँ छन्, र सानीभेरी त्यहीँ छिन् । टाकुरी त्यहीँ छन्, बेँसी त्यहीँ छन् । हरेक भूधरातलका सबै सबै वनस्पति त्यहीँ छन् ।

कति विशाल छ यो स्यार्पू । गम्दै जाँदा बाँफीकोटवासीद्वारा रचित पुस्तकको थुप्रो भेट्टाउन सकिँदो रहेछ यहाँ । बाँफीकोट निवासी रामप्रकाश पुरी जो प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष हुन् र राप्ती साहित्य परिषद्का सल्लाहकार हुन्, उनका नानीकी आमा (उपन्यास), सच्चाइको गीत (उपन्यास), बनमाराका बुटाहरु (उपन्यास), विचरण (महाकाव्य), अक्षुण्ण (महाकाव्य), सङ्कल्प (महाकाव्य), ग्रहण नलागोस् (खण्डकाव्य), स्मृति (खण्डकाव्य) आदि नदीराम केसीका विद्रोहको गीत (उपन्यास), रुकुमको साहित्यको ऐतिहासिक रुपरेखा (खोज), मग्माली गौतम वंशावली (खोज) आदि पुस्तकहरु शरुण बाँठाका फुट्कर लेख तथा कविताहरु, धनबीर दाहालका गीतहरु, चन्द्रशेखर केसीका थुप्रै फुट्कर कविता तथा लेखहरुले यहाँको साहित्यिक दराज भरिएको छ । सबै यहीँ छन् । सानो खोपाबाट च्याउन सकिने विशाल साहित्याकाशको क्षितिज देखिन्छ यहाँबाट ।

ढुङ्गा उही छन्, माटो उही छ, तर वनस्पति उही छ तर अभूतपूर्व सुन्दर देखिएकी छिन् प्रकृति । भूस्वर्ग सायद यही हो । मान्छे उही छन्, तर पाहुनाहरु फरक छन् । उनीहरुको लागि बजाइएको लोकसाँस्कृतिक सुमधुर स्वर र गीतको गुन्जनले एकै ठाउँमा ल्याइदिएका छन् ती प्राकृतिक अंशहरुलाई । तिनीहरुको सुन्दरता झनै विहंगम दृष्टिगोचर भैरहेको छ ।

रेडियो सानीभेरीकी साहित्यिक कार्यक्रमकी प्रस्तोता, मन्दाकिनी गजल संग्रहकी जननी तथा रुकुमेली साहित्य परिषद्को उपाध्यक्षको पद सम्हालेकी सिर्जना शर्मा जो रुकुममा प्रायजसो सबै साहित्यिक कार्यक्रमहरुको सञ्चालिकाको काम गर्दछिन् उनी पनि यही प्रयोजनको लागि हामीसँग आइपुगेकी छिन् । तर यहाँ आयोजित साहित्यिक कार्यक्रमको सञ्चालकको अभिभारा स्थानीय प्रखर युवा साहित्यकार चन्द्रशेखर केसीलाई सुम्पिएकी छिन् । जुँगाको रेखा नबस्दै चन्द्रको साहित्यिक अनुहारमा कसैले गहन लेखनको एकमुठो जुँगा थपिदिएको छ ।

साहित्यिक कार्यक्रमलाई भव्य तुल्याउने पनि सबथोक त्यहीँ छ । सुन्दर नाच त्यहीँ छ । वाद्यवादनका प्रस्तुति त्यहीँ छन् । सुरिला गीतहरु त्यहीँ छन् । अतिथि श्रष्टाहरु युवराज नयाँघरे नयनराज पाण्डे अश्विनी कोइरालाको मीठा ओजपूर्ण साहित्यिक भाषण त्यहीँ छन् । कवि भूपिनको नोटको कवितामय सनसनीपूर्ण जीवनी त्यहीँ छ । हर्कसिँ खत्रीको मीठो कविता त्यहीँ छ । तिम्रै आए दाउका रचनाकार जो कार्यक्रमको अध्यक्ष्यता गरिरहेका छन् ती मनलाल ओलीको ठाडीभाका मिश्रित मन्तव्य त्यहीँ छ । के छैन त्यहाँ ?

चन्द्रजीले आकर्षक ढङ्गले सञ्चालन गरेको कार्यक्रम उता चलिरहेको थियो, अतिथिगणलाई अर्कै कुराले आकर्षित गरिरहेको थियो । उनीहरु त चोरीचरी स्यार्पूको निर्वस्त्र ताल हेर्नैमा मख्ख थिए । उनीहरुको इच्छा सुन्नेमा भन्दा पनि गुन्नेमा थियो: स्यार्पूको हात र गोडामा पानी छिल्याईछिल्याई कतिखेर छिल्लिऊँ । कतिखेर आँखामा नाच्दै बेपरवाह फैलिएको स्यार्पू तालमा सयर गरौँ ।

 

कार्यक्रमको बिट मार्दा

कार्यक्रम यसरी चलिरहेको थियो कि श्रोताहरु स्थिर थिए, आवाज स्थिर थियो, भोकप्यास स्थिर थियो, प्रकृति र प्राणी साराको सारा कुरा स्थिर थिए, तर समय मात्रै खरायोझैँ उफ्रिउफ्रि भागिरहेको थियो । कुनै पनि स्थिरताले भगुवा समयलाई थामथुम पार्न सकेन । अतः सर्वप्रथम कार्यक्रमलाई स्थिरता प्रदान गरिरहेका चन्द्रजीलाई नै अस्थिर तुल्याउनुपर्ने भयो ।

उनले कुरा बुझे र मनोरञ्जनको उत्कर्षतिर लम्किरहेको कार्यक्रमलाई नै मनलालजीले ठाडीभाकामा गीत गाउँदै निर्मम तरीकाले भाँचकुँच पारिदिए । तब स्थिर भैरहेका सबै कुराहरु अस्थिर भैहाले । अस्थिरताको सबैभन्दा आकस्मिक प्रस्तुति त अतिथिहरुले पस्किए । उनीहरु भित्रभित्रै उम्लेर पोखिन थालेको इच्छालाई ठेगान लगाउन हामफालीहाले स्यार्पूको छेउतिर । उनीहरु स्यार्पूको सुन्दरतामा यतिसम्म लठ्ठ भैरहेका थिए कि चाहन्थे स्यार्पूकै एकान्तस्थमा रातरातभर आफूलाई स्वतन्त्र छोडियोस् ।

उता सन्ध्याले हाम्रो राजु गुरुलाई खजमज्याउनु खजमज्याइरहेकी थिइन् । उसको पेटमा मुसाहरु टप्पा नाचिरहेका थिए, उनको आँखामा सितिमिति सुध्रिन नचाहने खतरनाक गिल्बाङ सडक ताण्डव नृत्य नाचिरहेको थियो र विवेकमा पछुतो काभ्रे डान्स नाचिरहेको थियो । उनी आफै किनार वारिपट्टि बेतालमा पैंसेरी नाच्दै गाइरहेका थिएः “भैरहवाबाटै फर्किनुपर्ने थुक्क मेरो बुद्धि !” राजुले चाहन्थे सकभर उज्यालोको झुसमुकमै बासस्थानसम्म पुग्न सकियोस् ।

एक ध्रुवमा थिए लेखकहरु, अर्को ध्रुवमा थिए राजु । यी दुई विपरीत ध्रुवको इच्छाहरुको सन्तुलन मिलाउन मलाई कम्ता सकस परिरहेको थिएन । बल्लतल्ल एकाध घण्टाको प्रयासपछि सबैको इच्छाहरु राजुकै गाडीमा खाँदखुद पार्न सकियो ।

हामीलाई विदाइ गर्ने स्थानीयवासीहरुका अनुहार अँध्यारा भए, स्यार्पू अँध्यारिइन्, वरिपरिका गिरीकन्दराहरु अँध्यारिए,  सालघारी अँध्यारियो, हामीले समातिरहेको मार्ग नै अँध्यारियो । के गर्न सकिन्थ्यो र ? अँध्यारोपनको कोसेली मनको अञ्जुलीमा थाप्दै हामी लाग्यौँ बासस्थान सोलाबाङतिर ।

“सडक हो कि चटक हो यो ? धान रोप्न तयार पारिएको खेत हो कि गैँडालाई पासो थापिएको खाडल हो यो ?” राजुले हामीलाई प्रश्नका झटाराहरुले हानेको हान्यै छ,  मानौँ हामीले नै यो बाटो यतिबिघ्न बिगारेका हौँ । हामीहरु पनि त उसकै तालमा अघिपछि जोल्टिरहेको थियौँ ।

आस्तिकहरुले ‘राम-राम’ भनिरहेका छन् । भीरपाखाले ‘हराम-हराम’ भनिरहेका छन् । भोकले लखतरान जीउले ‘आराम-आराम’ भनिरहेको छ । बेलाबेलामा सानीभेरीको सुस्साहट कानसम्मै ठोकिन्छ र लाग्छ उसले ‘खाम्-खाम्’ भनिरहेको छ । अँध्यारोको साम्राज्य यति घनीभूत छ कि हामी भीरमा हामफाल्दै छौँ कि उकालोतिर उडिरहेका छौँ ? कुनै सुइँपत्तो छैन । गाडी कतै भ्यागुताझैँ उफ्रिँदै र अड्किँदै गर्दै छ, कतै सर्पझैँ चिप्लिँदै र फननन्न नाच्दै गरिरहेको छ । करिब पाँचछ किलोमिटरको बाटो पार गर्न हामीलाई पाँचछ घण्टा नै लाग्लाजस्तो छ ।

कठीनतम् बाटोलाई बल्लतल्ल पार गर्दै हामी माछ्मी जिउला आइपुगेका छौँ ।

“अब यता जान्छ मध्यपहाडी लोकमार्ग, चौरजहारी हुँदै ।” म पश्चिम दिशातिर औँल्याउँछु ।

“अनि यतातिर, हामी आएको बाटो, जो पूर्वी रुकुम पुग्दछ ।” उत्तरदिशातिर औँल्याउँछन् मनलाल ।

“अनि यता मुसिकोट जाने बाटो ।” पूर्वोत्तरतिर औँल्याउँछिन् सिर्जना ।

“खै कता ? खै कता ?” लेखकहरुले हामीहरुले सोझ्याएको औँलाभन्दा पर अरु केही देख्न सक्दैनन् । बाहिर यति अन्धकार छ कि बाटो छेउको भित्तो पनि देखिँदैन ।

अलिकति पर पुगेपछि भन्छुः “यहाँका लोकपृय राजनीतिज्ञ गोपालजीजङ्ग शाहको गाउँ हो यो । अत्यन्तै सुन्दर छ ।” मेरो स्मृतिपटमा आँखे गरा तथा सुपे गरा रहेको सुन्दर फाँटको बस्ती दुरुस्त नाच्दछ ।

“खै कहाँ ? केही त देखिँदैन ! त्यति चर्चित नेताको छेउकै बाटो किन यस्तो नि ?” लेखकहरु जिब्रो समातिहाल्छन् । गाउँ हेर्न नपाएकोमा असन्तुष्टि छ लेखकहरुको भनी बुझ्छु म । बाटोको हविगत र अँध्यारोको साम्राज्यले गर्दा बिथोल्नु बिथोलेको छ नवागन्तुकहरुलाई । बोल्नु नै व्यर्थ छ जस्तो लागिरहेको छ । हामी अझै उस्तै बाटो मुश्किल मुश्किलले पार गरिरहेका छौँ ।

केही बेरपछि जब सोलाबाङको बजारका बत्तीहरु झिलिमिलि देखिनथाले बल्ल सबैको होश् पनि आआफ्नो ठेगानमा आइपुग्यो । बजारको बत्तीको प्रकाशले वरिपरिको वातावरण र आफ्नै दुर्दशा पनि देखिन थाल्यो । मंशिरको चिल्ने सिरेठोमा पनि हामीहरु पसिनाले लतपत भैसकेका रहेछौँ ।

 

आकस्मिक गोप्य वार्ता

बिहानदेखि भोको यात्राले थकित औ गलित छन् सबै । भोको पेटमा उखडखाबड सडकमा यात्रा गर्नु कम सकसपूर्ण हुँदैन । कमलजी जति खिन्न छन्, म पनि उत्तिकै खिन्न हुन पुगेको छु ।

दुवै खिन्न मनहरुको उपस्थितिमा कमलजीको कोठामा आपतकालीन गोप्य बैठक बसाल्नुपर्ने स्थिति सिर्जना भएको छ र हामी दुईजना झ्यालढोकाको चुकुल ठोकेर भित्र खासखुस गरिरहेका छौँ ।

कमलजी खुइए सुस्केरा छोड्दै भन्छन्, “रुकुममा प्रशस्ति सँगसँगै सास्ती पनि बेसरी खाइने भइयो । गोजीमा सुक्को खर्चपर्च कसैले बोकेका छैनन् । यता सिर्जनशिल कक्षा चल्ने आशामा बिहानैदेखि तुषारापात भैरहेको देख्छु । के गर्ने ? यो यात्रालाई अगाडि बढाउन सकिने लक्षण देख्दिन म त ?”

“तपाईँको अड्कल सही हो । त्यति दुःखजिलो गरेर काठमाण्डौबाट यहाँसम्म आइपुग्नुभएको छ । बरु भोकप्यास माया मारौँ । यात्रालाई जसरी पनि गन्तव्यसम्म पुर्‍याइदिऊँ ।”

“भोक हामी त सहौँला, त्यो राजु गुरुले सहन सक्दैन भन्ने देखिहाल्नुभयो । उसको भोकलाई पनि पेलपाल पारौँला रे, तर दिन थपिँदै जाँदा गाडीभाडा र इन्धनलाई त पेलपाल पार्न सकिँदैन । के गर्ने ? हुन त त्यो पक्ष सबै तपाईँकै हुने वचन दिनुभएको छ । सक्नुहुन्छ बेहोर्न ?”

म मनमनै हिसाब गर्छु, आठ दिनको भाडा मात्रै छत्तीसहजार लाग्नेछ र इन्धनमा पन्ध्रहजार मात्र खर्च भए पनि पचासहजार लाग्नेछ । कहाँबाट बेहोर्ने त्यत्रो पैँसा ? मुटु काँप्छ मेरो ।

“मेरो पनि कक्षा चल्छ भन्ने आशा हो । भोलि बिहान कक्षामा उपस्थित भएरै हेरौँ । दशजना पुगेनन् भने भोलि नै सोचौँला हुन्न ? कक्षा चलिहाल्यो भने पन्ध्रबीसहजार जुटे त ठूलो राहत हुनेथियो !” मैले विकल्प दिन छाडेको छैन ।

“आज एकजना पनि नपुगेको, कहाँबाट पुग्छन् दशदशजना ? अब कक्षासक्षा गोली मारिदिनोस् । भूगोल देखिसके लेखकहरुले । लैजाऊँ फिर्ता अब । कम्तिमा गाडीभाडा र इन्धन त जोगिन्छ ।” कमलको फर्किहाल्ने जिद्दि उस्तै छ ।

म मौन रहन्छु । उनी चारहातखुट्टा फैलाएर बिछ्यौनामा पल्टिन्छन् र लामो सास फेर्छन् ।

“मैले भनिहालेँ नि । बिहान अन्तिम प्रयास गरौँ, यहाँबाट आठनौ बजे हिँडे पनि बेलुकासम्म भैरहवा पुगिहालिन्छ ।” म उनको नैराश्यतालाई बढार्न कुचो लाउने प्रयास गर्छु । मेरो यो अन्तिम विकल्प थियो । अरु भन्नसक्ने अवस्था थिएन । बिहानभरि जिल्लास्थित नगरपालिका र गाउँपालिकामा कार्यरत साथीहरुलाई सहयोगको लागि हारगुहार गरेको थिएँ । तर तत्कालै सहयोग पाइने विश्वास कतैबाट पाइएको थिएन ।

“ठीकै छ, म तपाईँप्रति नै पूर्ण निर्भर भएर आएको छु । तपाईँ र अश्विनीजी कक्षा चलाउन बिहानै खलंगा उक्लिनुस् । म त जाँदिन । कक्षा चलेन भने सातबजे नै खबर गर्नुहोला । यहाँ किन बसिराख्नु ?”

बाहिर मनलाल र सिर्जना गोप्य बैठकको निर्णय सुन्न हतारो गरिरहेका थिए ।

बैठक समापनपछि बाहिर निस्किएर भनेको थिएँ: “निर्णय सुखद छैन । तपाईहरुलाई बेकारको दौडधुप गराइयो । आआफ्ना साप्ताहिक योजनाहरुलाई तिलाञ्जली दिनुभएथ्यो होला । अब यो इच्छालाई पनि तिलाञ्जली दिनुपर्छहोला । अझै पनि राति दशएघारबजेसम्म फोन गरेर भए पनि नजिकका साथीहरुलाई जुटाउनुहोस् । बिहानै पुनः फ्लो गर्नुहोस् ।”

“हेरौँ !” यो मनलाल र सिर्जनाको भविष्यवाणी थियो । भविष्यवाणीभित्र भने शून्य बाहेक अरु केही थिएन ।

“यदि कक्षा सञ्चालन भएन भने यो पटकको साहित्यिक यात्रा पनि टुङ्गियो, यही बुझ्नुहोस् ।”

यो निर्णय सुनेर दुवैको अनुहार एक्कासी अँध्यारियो र खुम्चिँदै गयो । सानातिना समस्यामा नहडबडाउने सिर्जनाको आँखामा आँशु टलपलाउन थाले ।

 

76 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *