नियात्रा ३ः यात्राको पहिलो पाइला

पारिवारिक सुझाव

कार्त्तिक ३० गते । कमलजीको एकाबिहानैको तारन्तारको फोनले सुत्नै दिएन । मैले फोन उठाइन र आँखा चिम्लि नै रहेँ । रातभरको रिङ्टाले गर्दा टाउको निकै भारी भैरहेको थियो । म बिछ्यौनाबाट चलमल गर्न नसक्ने अवस्थामा पुगेको थिएँ ।

आँखा खोल्दा छोरी अस्मिता, छोरा परिक्षित र पत्नीले मलाई घेरेर मेरै बिछ्यौनामा बसेको पाएँ । केही महिना अघिदेखि रुकुममा साहित्यिक भ्रमणको कार्यक्रम राख्नको लागि मेरो जुन दौडधुप चलेको थियो त्यसले दिएको हैरानी उनीहरुलाई छर्लङ्गै थियो । उनीहरुको चिन्तित मुद्रा र फरफराइरहेका ओठले मलाई केही कुरा भन्न खोज्दै थिए । जुन कुरा देवकुमारीले नै उकासिन्, “भैगो, तपाईँ यस्तो अवस्थामा पहाड जानसक्नुहुन्न, यो कार्यक्रम रद्द गरिदिनुस् ।”

छोराछोरीहरुले आमाको ‘नाइँ’ मा ‘नाइँ’ थपिदिए, “सकभर यो भ्रमण कार्यक्रम रद्द गरिदिनुस्, हैनभने आमालाई सँगै नलिएर जानै पाउनुहुन्न ।” त्यसअघिसम्म म एक्लै भ्रमणमा जाने कुरो तय गरिएको थियो ।

मैले उनीहरुलाई रुकुम भ्रमणको कार्यक्रम अघिल्लै रात रद्द गरिसकेको जानकारी दिएँ । मेरो अप्रत्यासित निर्णयले देवकुमारी त खुशीले उफ्रिइन् । अस्मिता र परिक्षितले भने मुखामुख गर्न थाले ।

“के भयो फेरि ?” मैले उनीहरुलाई सोधेँ ।

“एक्कासी कार्यक्रम कसरी रद्द भयो त ?” परिक्षितले सोध्यो ।

“कतै कार्यक्रम रद्द भएको चिन्ताले नै रातभर तपाईँलाई रिङ्टा चलेको त होइन ?” अस्मिताले मेरो मनोविज्ञान कोट्याई ।

“त्यसो नहुनुपर्ने हो । तिमीहरुलाई थाहै छ यो बारम्बार यसरी नै दोहोरिन्छ । आराम गर्दागर्दै पनि दोहोरिन्छ । चिन्ता नगर्दानगर्दै पनि दोहोरिन्छ ।” मैले उनीहरुलाई ढाढस दिन खोजेँ ।

अस्मिताले मलाई केही भनिन, आमालाई चाँहि, “बालाई मन लागेको गर्न दिनुहोस्, आमा । उहाँको खुशी नै हामी सबै परिवारको खुशी हो ।” भन्दै जुरुक्क उठेर आफ्नो कोठातिर लागी । परिक्षित मसँगै बसिरह्यो ।

अस्मिताको ढाढसले मलाई बिछ्यौनाबाट उठ्ने साहसको काम गर्‍यो । म उठेर ल्यापटप खोज्न थालेँ ।

“रातभर रिङ्टा चलेको छ । फेरि ल्यापटप खोज्दै हुनुहुन्छ ?” देवकुमारीले मनाही गरिन् ।

परिक्षित उठेर ल्यापटप खोजेर ल्याई मेरो काखमा थमाइदियो । अनि आमालाई नै हपार्यो, “बाबाको इच्छाअनुसार गर्न दिनुस् भनेको सुन्नुभएन दिदीले ? बारम्बार कति रोक्नुहुन्छ बाबालाई ?”

देवकुमारीको आँखाबाट बरररर आँशु चुहुन थाले । मैले पनि आँशु थाम्न सकिन । परिक्षित जुरुक्क उठेर आफ्नो कोठातिर लाग्यो ।

 

कमलजीसँग करार

मैले ल्यापटप अन गरेँ । ल्यापटपको स्क्रिनसँगै फेसबुक पनि अन भइदियो । मैले सटडाउन गर्न भुलेको रहेछु ल्यापटप । फेसबुक स्टाटसको शिरानमै यस्तो गीत झुल्किएको थियोः

“आमा मलाई रुन होइन हाँस्न सिकाइदेऊ

कलमले शब्दमाला गाँस्न सिकाइदेऊ ।

हत्केलामा कलम राख्छु हात उठाइदेऊ

बिन्ति आमा भाइसँगै स्कूल पठाइदेऊ ।”

गीतले अँध्यारोपनबाट उज्यालोमा निस्कन बल गरिरहेकी बालिकाको बह बोल्थ्यो । यस खालको भावले रुकुमको सम्झना पुनः ताजा गराइदिन्छ मलाई । गीतको गहनताले त भित्रै कताकता छोइदियो । स्टाटस पोष्ट गर्ने उनै रहिछन् ।

मैले सो स्टाटसको मुनि सानो जानकारी राखेँ, “हेर्नू न, भ्रमणको कार्यक्रम त रद्द भयो !”

कुनै रिप्लाइ आउँछ कि भनी मैले मेसेन्जर खोलेँ । मेसेन्जरमा नयनराज पाण्डे, अश्विनी कोइराला र युवराज नयाँघरेको मेसेज आएर थपक्क बसेको रहेछ । हेरेँ, उनीहरुले एउटै जानकारी मागेका थिएः “हामी त रुकुम जाने पक्कापक्की भैसक्यो । पूर्वनिर्धारित आआफ्नो कामबाट विदा लिइसक्यौँ । रुकुमतिर जाडो के कस्तो छ ? लुगा के कस्ता लानुपर्ने हो ? अरु सामान के कस्ता लग्नुपर्ने हो ? जानकारी दिनुहोला ।”

लेखकहरुलाई मैले ‘कार्यक्रम रद्द भैसकेको’ भनी भन्नै सकिन ।

कमल ढकालको पनि मेसेज  थन्किबसेको रहेछ, “के गर्नू मेरो काम कति थियो ? तपाईँले गर्दा म नगई सुख्खै पाइन । तपाईँ  पनि कस्तो मान्छे ? फोन नै उठाइदिनुभएन ।”

मैले उनलाई मेसेन्जरबाटै जवाफ दिएँ, “कार्यक्रम रद्द भयो’ भनी भनिसकेँ उताका साथीहरुलाई । अब रुकुम जान सकिँदैन । तपाईँ आफ्नो बित्न थालेको काम जारी राख्नुहोस् ।”

यता अश्विनीजीले मेसेन्जरमा कुनै रिप्लाइ नआएपछि फोन गरिहालेः “खै मेसेजको केही रिप्लाइ आएन । हामी तयार भैसक्यौँ । कहिले, कसरी हिड्ने हो ? हामी कहाँ भेट्ने हो ? आफूसँग केकसो लानुपर्ने हो ? केही त बताइदिनुहोस् ।”

“एकछिन् है सर, कमलजीबाट सुनिश्चितता आएपछि सबै बताइदिन्छु म ।” मैले अश्विनिको फोन काटिदिएँ ।

युवराज नयाँघरे र नयनराज पाण्डेको पनि ठ्याक्कै त्यही सोधनीको फोन आयो । मैले कमलजीले नै टुङ्गो नलगाएको भनी उनीतिरै सारिदिएँ ।

कमलजीले पुनः फोन गरे, “के हो तपाईँको ताल ? मबाटै सुनिश्चितता नभएको भन्नुभएछ लेखकहरुलाई । म जान्छु त भनिहालेँ नि । विप्लव सरको ठाउँमा कवि भूपीन जाने हुनुभो । अरु के सुनिश्चित गरुँ म ?”

मैले भनेँ: “उता साथीहरुलाई कार्यक्रम रद्द भैसकेको जानकारी गराइसकेको हुँदा जम्मा भएकाहरु पनि आआफ्नो काममा लागिहाले । रद्द भनेपछि रद्द ।”

मेरो इन्कारी सुनेपछि सायद कमलजी दुवै हातले टाउको समातेर थुचुक्कै बसे होलान्, वा रुकुम पुग्न आतुर भैरहेका लेखकहरुलाई कार्यक्रम रद्द भएको जानकारी कसरी गराउने ? भनी सोच्न नसकी बेसरी रन्थनिए होलान् ।

अब म भने केही उत्साहित भैसकेको थिएँ । सबै लेखकहरुले एकएकगरी उत्सुकता जनाइसकेपछि भ्रमणको कार्यक्रम पक्कापक्की हुने लक्षण पाइसकेको थिएँ मैले ।

मैले कार्यक्रमको विस्तृत रुपरेखा र साथमा लैजानुपर्ने कुराहरु सम्बन्धमा लिष्ट नै तयार गरेर लेखकहरुको मेलबक्समा खसालिदिएँ । कमलजीसँग भने बार्गेनिङ गर्नु नै थियो । उनलाई कार्यक्रम हुन नसक्ने भनी दोहोर्‍याइरहेँ ।

“कसरी कार्यक्रम हुँदैन भनिराख्नुभाछ तपाईँ ? केले अड्कियो कुरा ?” कमलजी मसँग रन्किए ।

“कुरा मुख्य कुरामै अड्कियो, अर्थात् आर्थिक व्यवस्थापनले अड्कियो । उता सिर्जनशिल कक्षा लिनेहरु पाँचजनाभन्दा बढी हुन गाह्रो भयो । पाँचजनालाई मात्र कसरी कक्षा लिने ? हाम्रो खर्च साठीहजार नाघ्नेछ । कहाँबाट ल्याउनु त्यत्रो पैंसा ?”

कमलजीले यही कुरा लेखकहरुलाई हुबहु सुनाइदिएछन् । प्रत्येक लेखकले शंका निवारण गर्न खोजे मबाट । आफूहरुले निकटको कामलाई थन्क्याइसकेकोले जसरी पनि समयमै कार्यक्रम अगाडि बढाउन जोडबल गरेका थिए उनीहरुले ।

मैले उनीहरुसँग भनेँ, “कार्यक्रम कुनै हालतमा पनि दिइएकै समयसारिणीअनुसार सम्पन्न हुन्छ, हुन्छ । ढुक्क भएर तोकिएको झोलीतुम्बा कसिहाल्नुहोस् र निर्धारित समय अर्थात् मंशिर २ गते बिहान ७ बजे हिँडे हुन्छ । तर…..”

‘तर’ शब्दले उनीहरु झसङ्गै तर्किए होलान्, “त्यत्रो सुनिश्चितता दिइसकेपछि किन फेरि ‘तर’ नि ?”

“हामी कुनै सम्पन्न शहरमा जाँदैछैनौँ । हामी विकट जिल्ला रुकुम जाँदैछौँ भन्ने भ्रमणमा जानेहरुले हेक्का राख्नुपर्नेछ । जे मिल्यो खुशीसाथ खाइदिनुपर्नेछ, आइपरे भुइँमै पनि सुतिदिनुपर्नेछ । दुवै नमिले केही समयलाई भोक र निद्रा त्यागिदिनुपर्नेछ । मानसिक रुपमा त्यसरी तयार नभई भ्रमण प्रारम्भ हुनेछैन ।” मैले सम्भावित अप्ठ्यारोपन शुरुमै राखिदिन उचित ठानेँ ।

युवराज नयाँघरेबाट तुरुन्त मैले तेर्स्याएको शर्त स्वीकार भैहाल्यो । बाँकी लेखकहरुबीच केही समय विचारविमर्श भयो होला । तयार भैसकेको कार्यक्रम रद्द हुनुभन्दा शर्त स्वीकार गर्ने सहमति भयो होला भन्ठान्छु । सबैले मेरो शर्त एकएक गरी स्वीकार्न बाध्य भए ।

कमल फेरि व्यग्र तथा कम्पित स्वरमा फोनमा बोलेः “तपाईँले मलाई त भड्खालामै लगेर जाकिदिनुभयो । रुकुमेली यस्ता हुँदारहेछन् भन्ने बल्ल जानकारी भयो । जालमा यसरी परियो कि फुत्किने ठाउँ नै देख्दिन । लेखकहरु अहिल्यै हिड् कि हिड् भन्छन्, तपाईँ कार्यक्रम हुनैसक्दैन भन्नुहून्छ । मलाई जिन्दगीमा कहिल्यै नभोगेको अन्टसन्ट पारिदिनुभो ।”

मैले सिधै प्रश्न तेर्स्याइदिएँ, “उसोभए कार्यक्रम सम्पन्न हुन लाग्ने सत्तरी हजार रुपैँया तपाईँले बेहोर्नुपर्‍यो । सक्नुहुन्छ ?”

मेरो प्रस्तावले उनको दिमाग तातियो होला । “म मात्रै त कसरी बेहोरुँ ? केही आवस् भनेर त लगानी गर्ने हो । घाटा देखीदेखी किन हात हालूँ म ?”

“लेखकहरुलाई ददशहजार बेहोर्ने गरी मनाउनुस् उसोभए ।”

“मैले ‘तपाईँहरुलाई एकपैंसा लाग्नेछैन’ भनी वचन दिइसकेको छु । कसरी भनूँ लास्ट आवरमा पैँसा बेहोर्नै पर्ने भयो भनेर ? यसो भनेँ भने उनीहरुसँगको मेरो सम्बन्ध सँधैको लागि चिसिनेछ । म उनीहरुलाई गुमाउन चाहन्न ।” कमलजीले एकप्रकारको दिक्दारी उकेले ।

“ल उसोभए यो कार्यक्रम अहिलेलाई क्यान्सेल ! राखिदिऊँ फोन ?”

“त्यसो नभन्नू न । केही गरी मिलाउनुहोस् । मैले बिन्ति नै गरेँ तपाईँलाई । नगरपालिका, सिडियो कार्यालय, जिविस जताततै पहल गर्नुहोस् ।”

“अब अन्तिम घडीमा आएर त्यो सम्भव छैन । हामी आउनेभयौँ भन्दैमा कसैले बजेट ल्याएर हाम्रो पोल्टोमा हालिदिनेछैन ।”

“केही गरी मिलाउनुस् न यार् । मलाई धुरुक्कै नरुवाउनुहोस् ।”

“ल अन्तिम सुझाव सुन्नुहोस् मेरो । तपाईँले यो मान्नु भएन भने यो कार्यक्रम कुनै हालतमा हुँदैन ।”

“के कुरा हो ? भन्नु न छिटो !”

“खानपिन, बासस्थान र कक्षा वापत लेखकलाई दिने पैँसा तपाईँले बेहोर्नुस् । गाडीभाडा र इन्धन जति लाग्छ म बेहोर्छु । ओके ?”

फोनमै हिक्का छोडेका कमल एक्कासी हाँसोमा फुटेः “हा..हा..हा..हा.., अघि नै भन्नुपर्दैन यो कुरा ? ल ओके ओके ! मलाई ब्ल्याकमेल गरिछाड्नुभो । तपाईँ पनि कम्ता परपीडक लागेन मलाई । ल जे होस्, ओली बा’को जय होस् । म ढुक्क साथ निदाउने भएँ अब ।” कमलजीबाट पनि सुनिश्चितता प्राप्त भयो । मेरो सहज प्रस्ताव सुनेर कमलजी खुशीले बुर्लुक्कै उफ्रिएको हुनुपर्छ ।

मैले अब भकाभक सूचना संशोधन गर्न थालेँ । रुकुममा हुने कार्यक्रमको रुपरेखा कोर्न थालेँ र भ्रमणका नियमहरु समेत तयार गरी फेसबुकमा पोष्ट गरिदिएँ । यति गर्दा रातको एक बजिसकेको थियो ।

 

साहित्यसिन्धुको एक हंगालो

मंशिर २ गते । धेरै दिनदेखि चिरप्रतिक्षित दिन दैलोमा आइपुगेको छ । भैरहवामा म बिहान ५ बजे नै ब्यूँझिएँ । सायद काठमाण्डौतिर पनि यतिबेला नै पाँच बजेको हुनुपर्छ र भ्रमणको लागि कौतुहुलताको भारी बोकेका लेखकहरु पनि यसैबेला ब्यूँझिएको हुनुपर्छ ।

शुरुमा पेप्सीकोलाबाट यात्रा शुरु गर्ने अश्विनिजीलाई ब्यूँझाएँ । त्यसपछि क्रमशः वानेश्वरका कमल, महाराजगञ्जबाट निस्कने नयनराज र कलंकीबाट मिसिने युवराजलाई । उनीहरुलाई हिँडाइसकेपछि फोन तथा मेसेन्जरहरुबाट दिनभरि उनीहरुको पिछा गरिरहेँ । नारायणघाटबाट भूपीनलाई सामेल गराएँ ।

बेलुका साढे ६ बजेतिर उनीहरु भैरहवा आइपुगे । भूपीनजी आफन्तकहाँ गएछन् । बाँकीलाई मेरै डेरामा ल्याएँ । मेरो के भन्नु छोरी अस्मिताको सरकारी क्वाटर हो यो ।

उनीहरुलाई केही विश्राम गर्न दिएपछि कमलजीलाई सोधेँ, “के गर्ने ? होटेलमा बस्ने कि यहीँ ? यहाँ बस्नुभयो भने यहीँ खाएर यही एउटा कोठामा लहरै सुत्नुपर्नेछ । होटेलमा जानेहो भने पनि कुरा गरिसकेको छु ।”

“होटेलमै जाम भो”, नयनराजजीले सुविधा खोजे ।

मैले कमलजीतिर आँखा सन्काएँ । उनलाई एकान्तमा लिएर कानमा साउति मारेँ, “होटेलमा बस्नुभयो भने गास र आवासको गरी एकरातको सातआठ हजार तिर्नुपर्नेछ । दिनदिनै होटेलमै सुत्नखोज्नुभयो भने आठ दिनमा पचाससाठी हजार सुत्नखानमा मात्रै खर्च हुनेछ ।”

“छोड्दिनुहोस् एकरातलाई । छसात हजार पुगे पनि तपाइ र मैले आधाआधा तिर्दा त तीनतीन हजार मात्र त पर्ने हो नि । मेरो त एक्लै सुत्ने बानी छ । अर्कोसँग त मरिगए सुत्न सक्दिन ।”

“तपाईँसँग करार भैसकेको छ है । म सुत्नखाने खर्चको एकसुको पनि तिर्नेछैन ।” कमलजीलाई धम्काएँ । कमलजीको अनुहार निन्याउरो हुनथाल्यो ।

मैले प्रसङ्ग अर्कैतिर मोडेँ । हाम्रो परिवारबीच चिनाजानी पनि भयो । खाना पहिल्यै तयार भैसकेको थियो । दिनभरिको यात्रा लेखकहरुले मीठो मानी-मानी खाइदिए । खाइसकेपछि भनेँ, “ल जाम् होटेलमा ।”

अब सबैको अनुहार उज्यालियो । मैले कृषि विकास बैँकको गेष्टरुमका पाँचवटा कोठा बुक गरिसकेको थिएँ, सबै कोठाको जम्मा छ सय मात्रमा ।

उनीहरुलाई कोठामा पुर्याइसकेपछि उर्दि जारी गरेँ, “भोलि गाडी बिहानको ठीक चारबजे छुट्नेछ । तीनबजे नै सबै उठिसक्नुहोला ।”

कमलजी फेरि आत्तिए, “म त छ बजे पहिले कहिल्यै उठ्ने गरेको छैन । म त कुनै हालतमा सक्दिन चारबजे उठ्नलाई !”

“उसोभए सातबजेसम्मै सुतिराख्नुस् । लेखकहरुलाई काठमाण्डौदेखि ल्याएर मेरो पोल्टोमा हाल्दिसक्नुभयो । अब यो यात्राको लागि तपाइँको जिम्मेवारी सकियो । तपाइँ नउठ्दैमा केही फरक पर्नेवाला छैन । गाडी भने एकमिनेट ढिला हुनेछैन ।”

मैले कमलजीलाई मायालु नजर झिम्क्याइदिएँ ।

उनले जवाफमा भने, “हैट, तपाइँ त लास्टै परपीडक हुनुहुँदोरहेछ यार् । परेपछि चिनिँदोरहेछ मान्छे । तपाइँ यस्तो हुनुहोला भन्ने सपनामा पनि रत्तिभर सोचेको थिइन मैले ।”

यात्राको हतारो

मंशिर ३ गते बिहानको साढे तीनबजेको फोन कमलजीको नै थियोः “ल हामी रेडी भैसक्यौँ । चारबजेभन्दा एकमिनेट ढिला भयो भने तपाईँउपर कारवाही हुनेछ ।” जसले सबैभन्दा ढिला उठ्छु भनेका थिए उनले नै तयार भैसकेको जानकारी दिएपछि म ढुक्क भएँ: यात्रा अवधिभर कतै पनि अलमल हुनेछैन ।

हामी दम्पति भने बिहानको दुईबजे नै ब्यूँझिसकेका थियौँ । देवकुमारी पनि हामीसँगै जान तयार भैसकेकी थिइन् । आज ठूलो एकादशी थियो, तसर्थ उनी नुहाइधुवाइ गरी पूजाको काम समेत सकिसकेकी थिइन् र हामीले झोला कसिसकेका थियौँ । भाडामा लिएको गाडी पनि आइपुगेकोले चार नबज्दै भूपीनजीलाई बुद्धचोकमा रिसिभ गरेर हामी कृषि विकास बैँकको आवासगृहमा पुगिहाल्यौँ ।

सबै साथीहरु तल ओर्लिए । गाडी सातसिटे स्कार्पियो रहेछ, क्यारिजमा दुईवटा झोलाभन्दा बढी नअट्ने । हामी सातजनाकै झोलाहरु दशबाह्रवटा पुगिसकेका थिए । ती झोलाहरु समेत सिटमै राख्यौँ र सकेसम्म खाँदिएर बस्यौँ । गाडीले बाटो लाग्दा बिहानको पाँच बजिसकेको थियो ।

घोराही नपुगी बाटोभर कतै चिया पिउने र पिसाबसम्म फेर्न फुर्सद दिइन मैले । चालकले बुझिसकेको थिए कि त्यस गाडीको सहचालक मै हुँ । घोराहीमा भाइ प्रकाशले कफि खुवाएर पहिलो आतिथ्यता प्रदान गर्यो र हामी एकछिन त्यतै अलमलियौँ ।

चियापान र भोजनजस्ता अपरिहार्य मानवीय कार्यक्रमले घोराही, तुल्सीपुर र कपुरकोटमा हाम्रो निर्धारित कार्यतालिकालाई बिलम्बित तुल्याइरहेको थियो । लुहाम पुगेपछि शारदा नदीले नयनराज र कमललाई चिनिहालिन् र उनले आफ्नो वक्षस्थलको किनारै किनार खेलाउन थालिन् । त्यसपछि लोभ्याउने पालो थियो शितलपाटी बजारको ।

नयनराजको पुर्ख्यौली घर यतै भएकोले शारदासँग सन्निकट साइनो बाँधिएको रहेछ । कमलले पनि पहिल्यै पाइलो हालेकोले शारदा नजिक नै पर्दिरहिछन् । हामी त हामी भइहाल्यौँ यिनै शारदाको किनार हजारौँपटक नाङ्गा पाइतालाले नाप्नेवाला ।

जब सल्यान-खलंगा जाने बाटो र रुकुम जाने बाटो यहीबाट छुट्टियो मुसीकोट ८५ किमि भन्ने माइलस्टोनले लेखकहरुलाई झस्काइदियो । मुसीकोटको बाटो छुट्टिएपछि शारदाको कटिस्थलभन्दा तल मात्र रमण गरेका नयनका नयनहरु ठूलाठूला हुँदै गए । युवराजको यौवन अझै चुलिँदै थियो । कमलको कलम तिख्रिन थाल्यो । भूपिनको भूगोल नविन हुँदै गयो ।

चिया पसल देख्यो कि अश्विनीजीलाई चिया पिउने तलतल लागिहाल्दो रहेछ । गाडी रोक्न खोज्दै थिए, तर उनको हातमा स्टेरिङ थिएन । त्यो स्टेरिङ र ब्रेक मेरो हातमा थियो । मैले गाडी रोक्न मानिन, “यता चिया मीठो पाइँदैन । अब पाँच किलोमिटर पर मात्र ?” भन्दानभन्दै गाडी बजार छोडेर धेरै अगाडि हुँइकिसकेको थियो ।

पाँच किलोमिटर परको बरला पनि आइपुग्यो, तर गाडी रोकिएन । गाडी शारदा खोलाको किनारै किनार बतासिइ नै रह्यो । प्रत्येक पाँचपाँच किलोमिटरको दुरीमा चाख्लीघाट आयो, पटारे आयो, मोख्ला आयो, थारमारे आयो तर मेरो रिमोट कन्ट्रोलरको अन्डरमा कुदिरहेको गाडी रोकिँदै रोकिएन । अब अश्विनीजी मात्र होइन करिबकरिब सबै यात्री भोकप्यासको थकानवश् रिसले मुर्मरिएर आक्रामक अवस्थामा पुगिसकेको हाउभाउबाटै प्रष्टै देखिइरहेको थियो ।

शितलपाटी आइनपुगुन्जेल हाँसो प्रतियोगिता गरेको भए अश्विनीजी पहिलो हुने स्योर थियो । तर उनको हाँसोको तागत शितलपाटीबाटै मत्थर हुनपुग्यो । अब जित्ने सम्भावना कमलजीको थियो, अर्को स्टपमा उनको हाँसो पनि गायब भैदियो । यसरी क्रमशः खरीबोट पुगुन्जेल सबैको हाँसो एकएक गरी गायब भैरहेको थियो । हस्सीमज्जाकको सट्टा तिक्ष्ण छेडछाड शुरु भैसकेको थियो । छेड एउटालाई ताकेर प्रहार गरिन्थ्यो लाग्थ्यो अर्कैलाई । यसरी अन्धाधुन्ध प्रहारले प्रत्येकको अनुहार घाइते बाघको हालतमा पुगेकोले हेर्नलायकको भैसकेको थियो । लेखकहरुलाई यो यात्रामा उक्साउने पहिलो पात्र कमल नै भएकोले स्याबासी होस् कि गालीगलौज होस् त्यसको पहिलो निशाना कमलजी नै हुने पक्कापक्की भएकोले म भने त्यो प्रहार आफूमा नपर्नेमा ढुक्क थिएँ ।

यस्तैमा खरीबोट आइपुग्यो । मैले चालकलाई गाडी रोक्न आदेश दिएँ । गाडी रोकिनु के थियो तँछाडमछाड गर्दै हाम्रा यात्रीहरु ग्वार्गार्ति ओर्लिए । लेखकहरुमा भोक थाम्नुपरेको रिस यति चुलिएको थियो कि बजारमा देखिएका खानमिल्ने कुराहरुमा त्यो रिस तात्तातै फेर्नु थियो । झुप्रे पसलहरुका बाहिरतिर ध्वाँसे टेबुलमा थुप्रिएका चिसा पकौडा, झिँगा भन्किएका समोसा, पाक्न नपाएका अम्बा, गल्न थालेका केरा, चाम्रिएका सुन्तला, धुलिएका बिस्कुट र उम्लिन नपाएको चिया समेत नभनी बलजफ्ती मुखमा हुलेर पोख्नु रिस पोखे । अश्विनीजीले त तीन कपसम्म चिया उडाइदिए । त्यहाँका मान्छेहरु हाम्रा गाडीका अजीव प्राणी देखेर मज्जा लिइरहेका थिए । सायद अन्य गाडीका यात्रीहरुको भोकाएको अवस्थाको मज्जा पनि यसरी नै लुट्दा हुन् ।

भोक र रिस दुवै थामथुम पारिसकेपछि हाम्रो गाडी पुनः अगाडि बढ्यो । गाडीभन्दा बढी बतासिइरहेको थियो हाम्रो समय र डाँडा काट्ने तयारीमा रहेको दिन । अपरान्ह चार बज्न आँटिसकेको थियो । चारबजे सिम्रुतुमा राखिएको कार्यक्रम आधाआधा घण्टाको दरले परपर सार्नुपर्ने बाध्यताले गर्दा हामीलाई स्वागत गर्न पर्खिएर बसेका मनलाल ओली लगायतको समूहले हाम्रो विलम्वित यात्राप्रति फोनबाटै रोष प्रकट गरिरहेका थिए । स्वागतार्थ जम्मा भएका सिम्रुतुबासीहरुले एकएक गरी मनलाललाई गिद्दले सिनो छोडेझैँ छोडिरहेका होलान् भनी मैले बुझिरहेको थिएँ । तर गर्न के नै सकिन्थ्यो र ? कतै आरामसमेत नलिई हामीहरु पानीसम्म नपिएर कुदेका कुद्यै थियौँ । शिवरथ, बाङ्गेलाँकुरी, सिमाखोली, जलेखर्क हुँदै हामीले उज्यालोमै रुकुमको सिमाना छुनु थियो ।

 

रुक्मिणीको स्वागत

हामी जसै सल्यान र रुकुमको सिमाना रहेको खौला भन्ने ठाउँ पुग्यौँ । हाम्रै व्यग्र पर्खाइमा तनक्क तन्किएर रहेको ‘शहिद-स्मृति रुकुम-सल्यान मैत्री-द्वार’ ले अतिथिहरुको पाखुरामै समात्दै एकएक गरी गाडीबाट ओरालिसकेपछि स्वागतार्थ दरा हात मिलायो, झुकेर शिर मुसारिदियो र नवागन्तुकहरुलाई आफ्नो पाइतालामा उभ्याएर सेल्फि हान्यो । उसले गर्व गर्दै थियोः ‘मेरो देब्रे खुट्टातिरबाट झरेको पानी पश्चिमतिर शारदा हुँदै बबइमा बिलिन हुन पुग्छ । दायाँ खुट्टातिरबाट झरेको पानी पूर्वोत्तरबाट सानीभेरी हुँदै कर्णालीमा पुगेर मिसिन्छ । मेरो शिरबाट उछिट्टिएको पानी दक्षिणपूर्वबाट राप्ती नदीमा पुगेर मिसिन्छ । अतः मलाई करिबकरिब आधा नेपालको द्योतक सम्झे हुन्छ !’

यतिखेर सूर्य भने रुक्मिणीसँग दिनभरको क्रिडा सकेर सल्यानको क्षितिजतिर सरेका थिए र रुक्मिणीलाई कर्के नजर लाउँदै विदा हुने तर्खरमा थिए । हो तिनै रुक्मिणी जो आफ्नो अपमानमा गाला बजाइदिन बेर लाउँदिनन् र आफ्नो सम्मानमा गाला जोर्न बेर लाउँदिनन् । रुक्मिणीका विभिन्न रुपहरुको बारेमा अहिल्यै नफुस्काउन मलाई कर गर्दै थिइन् ।  यसर्थ कि अब सन्ध्याले रुक्मिणीलाई आफ्नो अँगालोमा लुटुपुटु पार्न मोहित गरिरहेकी थिइन् र उनी उज्याला सम्भावनाका झ्यालढोकाहरु बन्द गर्ने सुरसारमा थिइन् ।

प्रवेशद्वारले आफ्नो टाङमुनि छिराएपछि हाम्रो टिम अब रुकुमेली पाराको भैसकेको थियो । अर्थात् हामी अभूतपूर्व छिटोछरितो देखिइरहेका थियौँ । सन्ध्यालाई पछि पार्ने हेतुले कुदिरहेका हामीलाई रोकेर प्राकृतिक सुन्दरतामा ठाँटिएकी लेकाली रानीवनले गाला मुसार्न आइपुगिन् । पारि पुथा हिमालका चुचुराहरु ज्वाजल्ल्यमान हुँदै अतिथिहरुको प्रकितिसँगको प्रेमालापउपर औँला ठड्याउँदै उभिए । अलि पर नपुग्दै अनुहारमा थोरै मात्र हिमपाउडर दलेर सिस्ने हिमाल उत्तरतिर मादकतापूर्वक मुस्कुरायो । पुथा र सिस्नेसँगै नारिएर अग्लिएका चुचुराहरुले घाँटी तानीतानी हातहातमा गोधुलीको राँको बोकेर मसँग आएका अतिथिहरुलाई च्याउन थाले, मानौँ मैले यिनीहरुकै लागि भनेर नयाँ दुलाहाहरु खोजेर ल्याइदिएको छु ।

वारिपारिका गाउँहरुमा झिलिमिलि बत्तिले दिपावली गर्न थाले, आँगनमा अँध्यारो पस्न नभ्याउँदै । हाम्रो साथमा माओवादी समर्थक यात्रु भैदिएको भए यो सब उज्यालो नेपालका अभियन्ता जनार्दन शर्माको कमाल हो भनेर अतिथिहरुको कान भर्थ्यो होला । हुन पनि केही वर्ष अघि मात्रै यी गाउँहरुमा बिजुली र सोलार पुग्न असम्भव ठानिन्थ्यो भने अहिले बिजुली नपुगेको कुनै गाउँ र कुनै कुना छैन रुकुममा पनि । जनार्दन मेरो बाल्यसाथी र दाइ दुवै हुँदाहुँदै पनि उनको विज्ञापन गर्न केल्ले रोक्छ अख्यान पाउन सकेको छैन मैले । यो दिपावली पनि आफ्नै स्वागतको एक अंश हो भन्ने कुरामा अतिथिहरु पनि मख्ख छन् विश्वस्त छन् ।

वनपाखामा झ्याउँकिरी र वनकिरीहरु गाउँदै नाच्न थालेका छन् ।

सल्यानको सिमानासम्म एकतमासको नियास्रो वातावरणले पूरै १८० डिग्रि फन्को मार्‍यो । जता हेर्‍यो उतै अजीव अजीवका दृश्यहरु अतिथिका नजरमा घुम्न थाले । अब उनीहरुले भोक प्यास भुसुक्कै बिर्सिसकेका थिए । भोकप्यास मात्र होइन, आफू कहाँ आइपुगेको छु ? र मेरो वरिपरि समेत को छ ? भन्ने कुरामा अचेत थिए । अब हाम्रो गाडी पाङ्ग्रा गुडेर पनि स्थिर थियो र मात्र रुक्मिणीका अङ्गअङ्गहरु हाम्रो स्पर्श गर्न नजिकनजिक आइरहेको भान भैरहेको थियो । यसरी नै झुल्नेटा बजार हामीलाई छोएर पछि पर्‍यो । फेरि उत्तर कोल्टो परेको रानीवनको सघनताले झमक्कै साँझ परेको भान गरायो । रानीवन छिचोलेपछि अलिकति गोधुलीको उज्यालोमा खाराको टाकुरो पारिपट्टि ठिङ्ग उभिएको देखियो । उसको शरीरभरि आगोले पोलेका खतहरु प्रष्ट देखिन्थे ।

हामीमध्ये युवराज नयाँघरेलाई खाराले बढी चिनेको रहेछ क्यारे नयाँघरे र खाराघरे दुवैले मुखामुख गरे । काठमाण्डौलाई कोर्रा लगाउने युवराजले खारालाई खरानीको फूल उपमा भिराइदिएदेखि चिनजान भएको थियो रे यिनीहरुको अन्ठाउन्न सालतिरै ।

अँध्यारो बढ्दै गरेकोले खाराकी खराल्नीहरु टाढाटाढा चर्न पुगेका चल्लाहरुलाई “त्ब्रु, त्ब्रु, त्ब्रु, त्ब्रु” भन्दै पन्छी भाषामा बोलाएर डोकोहरुमा छोप्ने ध्याउन्नमा थिए । होला सुरक्षाको एकखालको प्रत्याभूति । वरिपरि घना जङ्गल छ । अँध्यारो हुँदै गएपछि स्याल तथा वनविरालाहरुको सहजै शिकार बन्न सक्छन् बिचरा चल्लाहरु । यसैले अँध्यारो हुनथालेपछि आत्तिन्छन् यिनीहरु । अँध्यारोमा भुस्याहा कुकुरहरुले नै वनबिरालाको रुप फेर्न पनि सक्छन् ।

ती खराल्नीहरुका मुख्य आधार खरालहरु धेरै वर्षअघि खरानी भैसकेका छन् यतैकतै ।

यस हिसाबले खाराले आज मात्र होइन धेरै अँध्याराहरु भोगिसकेको छ । अँध्यारो फाल्न तम्सिएका हेमन्तप्रकाश ओली लोकेन्द्र विष्टमगर लगायतका युवाहरु आफै अँध्यारोमा गुमनाम भइरहेजस्तै छन् यतिखेर ।

मैले खाराकी खराल्नीहरुलाई कल्पनामा सजाइरहेको बखत युवराज सोध्दै थिए खाराको खरानीको कुरा । ५६ साल फागुनमा ११ गते एकथरि निर्मम मान्छेले अर्कोथरि निर्बोध मान्छेका ६ दर्जनजति कटेराहरुमा आगो सल्काइदिएका थिए । घरमा आगो लागिसकेपछि भागाभाग परेको थियो गाउँलेहरुको । दर्जनौँ खरालहरुको अकाल ज्यान गएको थियो त्यतिबेला ।

युवराज आफ्नो खरानीको फूल सम्झँदै भन्छन्: “यहाँ मान्छेको भागाभाग पर्दा एउटा गाई भने ब्याउँदै थियो रे । प्रसवपिडाले छटपटाइरहेको शुधो गाई चतुर मान्छेजस्तै भाग्न सकेन रे । उसको नवजात बाच्छो लगायत गर्भिनी गाई कटेरोमै खरानी बनी रे । क्रुर मान्छेको प्रतिशोधको तारो बन्न पुगे रे ती अबोध प्राणीहरु । रगतका आहालमा पौडँदै आनन्द लिने मान्छेहरुको जति यस क्रुरताको जति घृणा गरे पनि कमै हुन्छ ।”

निहत्था खरालहरु २०६१ चैत्र पच्चीसमा अर्कोपटक खरानी बन्न पुगे । त्यतिबेला ती खरानी हुनेहरुको रङ दुवैतिरको सेनासँग मिल्दैनथ्यो ।

कतिले कटेराहरुमा बलिरहेको आगो तापे र त्यसैमा उज्यालो देखे । कतिले चिताको आगो तापे र त्यसैले फैलाएको आगो देखे । कसैले अँध्यारोलाई उज्यालो देख्छन् । कसैले उज्यालोलाई नै अँध्यारो देख्छन् । देख्नेको देखाइ र भोग्नेको भोगाइ नितान्त फरकफरक कुरा हुन् ।

त्यही खरानीको विम्व प्रयोग गर्दै युवराज भन्छन् : “मेरी आमाले खरानीबाट सलेदो तयार गर्नुहुन्छ र खरानीले बाटिएको सलेदोलाई तेलले भिजाएर बालिदिएपछि बत्तीको काम गर्दछ । बत्तीले वरपर बस्नेलाई उज्यालो दिन्छ । तपाईँहरु पनि खाराका खरानीको बत्तीहरु बनाउन अगाडि बढ्नुहोस् ।”

आफ्नो लेखको काल्पनिक खारा र प्रत्यक्ष देखिएको खारासँग कहाँ मिल्यो, कहाँ फरक पर्‍यो, भनी गाडीभित्रैबाट नाप्दै  छन् युवराज । अरु लेखकहरुले पनि खुब दिलचश्पि दिइरहेका छन् : खाराको खरानीको कथामा । अतः गाडीभित्र पनि आवाजविहिन अँध्यारो खनिएको छ ।

अब हामी तल्लो खारा, डाङीमोड हुँदै ओरालो झर्न थाल्यौँ । हामीभन्दा छिटोछिटो अँध्यारो ओर्लिरहेको थियो । त्यो अँध्यारो भगाउन पूर्णिमाअघिकी चन्द्रमाले प्रयत्नरत छिन् आकाशमा । यतातिरको रातलाई पनि फरकफरक अँध्यारो तुल्याइदिएकी छिन् यिनै चन्द्रमाले यताउता लुकामारी खेल्दै । कसैले यसैलाई उज्यालो हो भन्छन् । कसैले अँध्यारो हो भन्छन् । तर्कहरु आआफ्ना छन् ।

सिम्रुतु झर्दा झम्के साँझ परिसकेको थियो र हामी गाडीका बल्ड्यङ्ग्रा आँखाहरुले बाटो पग्याइरहेका थियौँ ।

खोलाको चिसो झोँक्काले सातो खाएको हुँदा बजारका व्यापारी र किनमेल गर्न आएकाहरु पसल तथा घरका ढोकाहरु बन्द गरी भित्रपट्टि पसिसकेका थिए । अतिथिहरुको स्वागतार्थ मनलाल ओली, रामलाल गौतम, मोहन घर्ती, प्रकाश क्षितिज, टेकबहादुर पाण्डे लगायतको टोली भने हामीलाई पर्खिरहेको थियो । हामी गाडीबाट ओर्लने बित्तिकै अतिथिहरुलाई अबिर तथा माल्यार्पणले स्वागत गर्‍यो ।

बाटोको अवस्था, सुगमता र गाउँगाउँमा बजारीकरण देखेर अतिथिहरुले विकासमा कटिवद्ध नेतालाई धन्यवाद दिँदै स्वागतार्थीसँग खोलाको चीसो किनारबाट उभाएको न्यानो साटे । अतिथिहरुको भाव थियोः रुकुममा फरक थोक केही छ र केही लिएर फर्कनेमा विश्वस्त छौँ ।

अब हामी मंशिर घुलिएको खोलाको चीसो सिरेठोसँग पौँठेजोरी खेल्दै मुग्लुखोलाको किनारैकिनार मुसीकोटतिर हानियौँ । चीसो, अँध्यारो, कुदाकुद, भोकप्यासले गर्दा अतिथिहरुको हालत निकै दयनीय भैसकेको थियो । यस्तो अवस्थाका अतिथिलाई सोलाबाङका घरघरमा पुर्‍याई थप कष्ट दिनु मनासिव लागेन । सोलाबाङ बजारमा पुगेपछि सिद्धार्थ होटेलमा गासबासको व्यवस्था मिलाइदिएँ र अतिथिहरुलाई भोलि बिहानै छ बजे नै सेरीगाउँमा कार्यक्रम रहेको जानकारी गराउँदै भनेँ: “भोलि बिहान मैले ढोका नघच्घच्याउन्जेल आरामसँग सुत्नुहोला ।”

देवकुमारी म र राजु सोलाबाङ बजारदेखि थोरै पूर्वतिर रहेको हाम्रो पुरानो रुकुमेली घरमा पुग्यौँ, जहाँ मेरो वृद्ध आमाबा हामीलाई नै पर्खेर बसिरहनुभएको थियो । उहाँहरुले हामीलाई दिनभरि नै फोनबाट पछ्याइरहनुभएको थियो र घरमै ल्याइपुर्‍याइने भनिएका पाहुनाहरुलाई हाम्रो साथमा नदेखेपछि निराश हुनुभएको थियो ।

236 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *