नजराना

फेरि कनीकुथी उक्लँदैछु अक्करे भीरजस्तै
प्यासी नजरको त्यो उकालो
विश्वासको झिनो बैशाखीको सहाराले
एक भारी मनको कोसेली लिएर ।
(यो मनको पोकोभित्र
पापधर्म, सत्असत्. असलखराब
हर-मौसममा टिपे/खसेका फल-फूल चाँचेको छु ।)

बीचतिरै छु भ्यागुते यात्राको
एक औँल उफ्राइ र एक औँल झराइको दूरी नाघेर
नजरको डिलसम्म पुगिसक्दा
थाहा छैन कस्तो रहनेछ त्यताको मौसम ?

चञ्चल नजरसँगै घुमिरहन्छ मौसम
एकातिर नाङ्गो घाम चर्कने पाखो
अर्कोतिर मुटु ठिहिर्‍याउने घामबिनाको स्याँल
सुख र दुःखको डिलबाट उर्लेको आँशुको भेल
परेली झिम्क्याउँदा चलेको ‘लु’को झोँक्का
परेली बिझाउँदा खसेको हिमपहिरो
तर्नै हम्मेहम्मे छ यहाँ मलाई
थाहा छैन कति छन् भेल/पहिराका झोँक्काहरु !

बाटोदेखाउने निहुँले ओर्लिरहन्छ त्यो नजर
कतै जुरुक्क उचाल्दै, कतै थचक्क पछार्दै
मोडभित्रका खोँच ढुकेर
मनको पोको खोतलखातल पारी
कोसेलीपात छामछुम/लुटपाट मच्चाएपछि
लुक्दै बेपत्ता हुन्छ घरिघरि ।
छरिएको मन बटुल्दै
उक्लन थाल्छु फेरि त्यो उकालो !

थोरै फराक ठाउँ फेला पारेर
नजराना चढाएपश्चात्
अलिक लामो समय ठहर्नुछ यो पटक
चिप्लिए भीरबाट उक्लन सकुँला फेरि
गिरेपछि त्यो नजरबाट
कदापि उक्लिन नसकुँला कि ?

२०७५।०६।२९

 

52 total views, 3 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *