ध्रुव, सत्य,साङलाे र स्वाद

पोखरा पुग्नु धेरै नेपालीहरुको लागि गौरवको कुरा हुनसक्छ । त्यसैमा पनि पोखराको फाइभस्टार होटेलमा बास भनेपछि कसै कसैको लागि पहुँच बाहिरको कुरा हुनुपर्छ । पोखरा पुगेपछि “…मबिना कसैकसैलाई……..” भन्न खसखस लागिहाल्छ । त्यही होटेलभित्र बसेर चिया, खाजा र खाना खान पाएको कुरा सार्वजनिकीकरण गर्दा मेरो पुड्कोपनमा शताअंश उचाइ बढ्ला कि भन्ने अनुमान गरेको छु मैले । अरुअरुलाई अरुको पीर घरज्वाइँलाई खानैको पीर ! ससुरालीमा गएर चाखेको खानाले पत्नीमाथि पिरति बढेझैँ मलाई पनि सुरतिको नशाले झैँ ‘के भनौँ, के भनौँ’ भन्ने तलतल लागिहाल्यो । तसर्थ उल्लिखित शीर्षकमा पछिल्लो शब्द ‘स्वाद’बाट शुरु गर्न गइरहेको छु ।

“पाँचतारे होटेलमा खाइयो !” भन्ने फूर्तिले विदेशगमनको बारम्बार अनुभूतिजन्य अवसर प्राप्त भाग्यमानी मित्रहरुको यो तातो न छारोको भोगवर्णन सम्बन्धी लेखले रौँ पनि हल्लाउनसक्दैन तर एकतारेदेखि चारतारे होटेलसम्मको अनुभूति संगालेका अर्धभाग्यमानीहरुको भने जिब्रो राम्रैसँग हल्लाइदियो होला भन्ने अनुमान गर्न पुगेको छु । अहिलेसम्म नहल्लिए पनि अब हल्लिनेमा कुनै दुविधा नमाने हुन्छ । कुरा त्यस्तै छ ।
अहिले म ‘बफे’ सिस्टमको लाइनको खाने क्यूको अघिल्लो पङ्तिमा पुगिसकेको छु । यो लाइनमा नेपाली मात्र छैनौँ नेपलीहरुको रुप आकृति र फेशन मात्र होइन लोभ र सोच पनि नमिल्ने विभिन्न देशका पर्यटकहरु पनि मिसिएका छन् । भन्दाभन्दै छुटेछ । कुन हलमा आफ्नो लाइन छ भन्ने पूर्वजानकारी र भोग लाइसेन्स प्राप्त नगरेमा कुइरोमा काग हराएजस्तै भइने । खानाको लागि चियाको लागि खाजाको लागि र मधुपानको लागि अलगअलग बडेमानका हलहरु छन् ।

अब कचौरा र प्लेटहरु टिप्दैछु । स्वतापीय विधिमा कुरिरहेका टल्कने ठूलाठूला कसौँडीहरुको लाइन झण्डैझण्डै खानाखानेहरुको लाइन जत्तिकै लामो छ । सलादका प्रकार, भातको प्रकार, तरकारीका प्रकार, दालको प्रकार, अचारको प्रकार, जुसका प्रकार, सुपको प्रकार र अन्तमा मासुका प्रकारहरु छनौट गर्दागर्दै आधाघण्टा लाग्लाजस्तो । नेपालीहरुको लोभी बानी- सबै प्रकार नचाखी पनि नहुने । म यस मानेमा अलिकति बढी भाग्यमानी ठान्छु आफूलाई । शाकाहारी जीवनशैली अपनाएकोले मासुका प्रकारहरु छनौट गर्ने समय उब्रिन्छ मेरो । मैलै खाएर भ्याइसक्दा मभन्दा अगाडि र पछाडि रहेका मित्रहरुले मासुको प्रकार छान्नै व्यस्त हुन्छन् । जसले गर्दा लाइन सर्न धौधौ भइरहेको छ । यसको घाटा तुलनात्मक रुपमा सीमित खानाको प्रकार छानेर खाने वा शाकाहारीहरुलाई बढी पर्न जान्छ ।

म सबै कुरा चाख्ने ध्येयले एकएक पिस परिकारले थाली भर्दैछु । राखिएका सबै कुरा चाख्न थालीको क्षमताले दिँदैन । अतः सलाद माथि तरकारीहरु, त्यो माथि दाल, त्योभन्दा माथि भातको थुप्रो लागिसकेको छ । यी कुराहरु अलग अलग राख्न बटुकाहरुको पनि व्यवस्था छ । तर थालीमा दुईवटा बटुकाले नै सबै भाग ओगटिसक्छन् । तसर्थ लोभीहरुको लागि यो उपाय ठीक हुँदै होइन । सबै कुरा एउटै थालमा खाँद्दा परिकारहरु छुट्ट्याउन मुश्किल छ । खानाको स्वाद चाख्छु बरु दालभातको मात्र खिचडी धेरै गुणा मीठो हुन्थ्यो । तरकारी र सलाद समेत त्यही खिँचडीमा भैँसीलाई दिने कुँडोजस्तै भैसकेको छ । सबै परिकारहरुको स्वाद चाख्ने लोभले स्वाद बेस्वादमा परिणत भइसकेको छ ।

सानो थालीमा सानोतिनो हिमाल सिर्जना गरेपछि फालेर हिड्नु पनि मिलेन । सकी निसकी पेटमा कोच्छु । मान्छे सिर्जना गर्ने ब्रह्माले पेटचाँहि माटोको बनाइदिएको भए अवश्य फुट्थ्यो होला । पेटको आकारभन्दा ठूलाठूला रासहरु सबैले प्रतिष्पर्धात्मक रुपमा पेटभित्र कोचेकोकोच्यै छन् । तैपनि मुखसम्म भरिएको छैन । मलाई पनि अटेसमटेससम्म भएको छ । वाकवाकी लाग्लाजस्तो सम्म भएको छ ।

यति हुँदाहुँदै पनि मेरो स्वादे जिब्रोको लोभ फिटिक्कै घटेको छैन । उहिले बाजेबोइले खानाखाएपछि सुल्फामा कक्कर खान्थे र पनि दीर्घायु हुन्थे । अहिलेको युगमा खानापछि डेजर्टको चलन छ । डेजर्टको लागि हेर्दै मुखबाट र्‍याल काढ्न बाध्य तुल्याउने विभिन्न प्रकारका मीठाइहरु व्यवस्था गरिएको छ । चिया खाँदा सुगर छ भन्ने मित्रहरु पनि मन मार्न सकेका छैनन् । मजस्तै उनीहरु जोडतोडका साथ अर्को अलि सानो प्लेटमा सबै प्रकारका मीठाइहरु भर्नमा व्यस्त छन् ।

ध्रुव सरसँग खानापछि भेट हुन्छ । “खानाको स्वाद कस्तो लाग्यो ?” भनेर सोध्नुभयो भने के जवाफ दिने ? भनी पिरलो थपिएको छ । लख काट्छु मेरोभन्दा अलिकति उहाँको अवस्था सुधारात्मक छ ।

बिहान खाजाको व्यवस्था उस्तै छ । परिकार झण्डै झण्डै उति नै प्रकारका छन् । म एउटा बटुकामा गहुँको खीर मात्र हालेर खान बस्छु । पहिलो गासमै तीतोतीतो अनुभव हुन्छ । अरुले हेरेको भए मैले तीनपाने चाख्दा मुख बिगारेझैँ बिगारेँ हुँला । सम्झन्छु नुनले स्वादमा सुधार ल्याइदिन सक्छ । टेबुलको त्यो विशालबजारमा काँटा चम्चा र चक्कुहरु शोकेशमा सजाएझैँ राखिएका छन् । टेबुलमै नुनदेखि सुनसम्मका वैकल्पिक भाँडाहरुको व्यवस्था पनि छ । एक चम्चा नुन हाल्न तम्सिन्छु । उत्तिखेरै बुद्धिले प्रतिरोध गर्छ “खिरमा पनि नून हाल्ने ? मूर्ख कहीँको ! नूनको सट्टा चिनी हाल् न, चिनी ।“
अनि चिनी थप्छु । असली खीरको स्वाद बल्ल पाइन्छ । अनि एकदुई आइटम पनि यसरी नै चाख्छु । लोभको मात्रा घटाउँदा अभूतपूर्व स्वादको संचय गर्ने अवसर मिलेको छ अहिलेचाँहि ।

विश्वबैँकको सहयोगमा सञ्चालित आयोजना IWRMP द्वारा आयोजित समीक्षा गोष्ठीमा यो अवसर प्राप्त भएको छ । तपाईहरुले ठान्नुभयो होलाः “यो मूर्खले बल्ल पाँचतारे होटेल देख्न पाएछ ।“ त्यसो होइन । म निर्वाचन आयोगमा छँदा नै एकदर्जन जति विभिन्न पाँचतारे होटेलहरुको स्वाद चाखिसकेको सानोतिनो भाग्यशाली कर्मचारी हुँ । गत वर्ष पनि यही होटेलमा यही कार्यक्रममा आइसकेकोले अहिले आम मित्रहरुलाई बोलीको स्वाद चखाउन खोजेको मात्र हुँ ।

यो स्वाद चखाउनुको प्रसङ्ग भने अलि बेग्लै छ ।

गत वर्ष मैले प्रतिस्थापन गरेका कर्मचारीलाई विदाइ गरेकै दिन यो कार्यक्रममा उपस्थित भएको थिएँ । मन्त्री लगायत सैयौँ सरोकारवालाहरुको समेत उपस्थिति रहेको उद्घाटन कार्यक्रममा बेरुजू फर्छ्यौटको विषयलाई लिएर म सबैको सामू अगाडि उभ्याइएको थिएँ । त्यस गोष्ठीमा प्रतिनिधित्व गर्ने ४२ कार्यालयमध्ये सबैभन्दा बढी बेरुजू कायम हुने र सबैभन्दा कम बेरुजू फर्छ्यौट गर्ने कार्यालयको रुपमा मैले भर्खरै ज्वाइन गरेको कार्यालय परेको रहेछ ।
“नयाँ हुँ“ भनेर स्पष्टीकरण के दिन खोजेको थिएँ सचिवजीले ‘उत्तरदायित्व पन्छाउन खोजेको’ भन्दै गतिलो तर नमीठो स्वाद चखाइदिनुभएको थियो । त्यसमाथि अवहेलना सजायस्वरुप सारालाई ताली पड्काउन लगाउँदाको स्वाद जिन्दगीमा कहिल्यै भुलिनसकिने खालको छ । उहाँले चेतावनी स्वरुप व्यक्त धेरै कुराहरुमध्ये एउटा अलि अनौठो यस प्रकार छ कि त्यो स्तरबाट भन्नुभएको थियोः “कम्तीमा एउटा ठेक्का बीलमा त सिग्नेचर ठोकिसक्यौ हौला नि ? दर्जनौँ कार्यालयहरुमा बेरुजु छोड्दै हिँडेर अझ पानीमाथिको ओभानो बन्न खोज्ने ?”

भर्खर अफिसको सिँगारमात्र कुल्चेको तर भित्र पसिनसकेको । सत्र वर्षे सरकारी अवधिमा पहिलोपटक मात्र विकासे अड्डामा आइपुगेको आदि सम्बन्धमा स्पष्टीकरण दिएर सुनुवाइ हुने वा सफाइ पाउने सम्भावना छँदै थिएन । म सामान्य प्रशासन समूहको नायब सुब्बाबाट लोकसेवाको जाँचबाट लेखा समूहमा प्रवेश गरेको धेरै अवधि नभएको कुरा लेखा समूहकै साथीहरुमध्ये पनि कमैलाई मात्र जानकारी छ ।

तर्साइएकोले होइन कि तत्कालीन कार्यालय प्रमुखको विश्वास र आफ्नो कर्तव्यपरायणता स्वरुप कार्यालयको बेरुजु फर्छ्यौट लगायतका व्यवस्थापनमा मैले सकेजति गरेको थिएँ ।
म अक्सर आफूले गरेको कुरा बोलेर व्यक्त गर्न नसक्ने मान्छे हुँ । मनमा उम्लिएर बाहिरै पोखिनथालेपछि मात्र लेखनीको माध्यमबाट पोख्ने गर्दछु । यस्ता समीक्षा गोष्ठी अन्तरक्रिया र तालिम कार्यक्रमहरुमा एक शब्द पनि उच्चारण नगरेर फर्किने म बाहेक अरु कोही होला जस्तो पनि लाग्दैन । म उभिनुपर्‍यो कि खुट्टा कँपाउने बानी हटाउन किमार्थ सक्दिन । हातखुट्टा जतिसुकै काँपे पनि तर यस गोष्ठीमा म केही कुरा राख्छु भन्ने निश्चय गरिसकेको थिएँ ।

पहिलो दिनको गोष्ठीको उद्घाटनसत्र सिध्याउनेबित्तिकै हालका सचिवजी र महानिर्देशकजी कार्यक्रमहलबाट निस्किसक्नुभएको थियो । उहाँहरुकै अगाडि बोल्नुथियो मलाई । मेरा कुरा सत्य ठहरिउन् कि नठहरिउन् मैले सुनाउनैपर्छ भन्ने दृढ निश्चय गरेकोमा उहाँहरुको अनुपस्थिति बाध्य भइदिएकोले थक्कथक्क लागिरहेको थियो । तैपनि बाँकीलाई भए पनि सुनाउनैपर्छ भन्ने निश्चय भने मरिसकेको थिएन ।
कार्यपत्र प्रस्तुत गर्ने पालो प्रमुख लेखा नियन्त्रक देवीप्रसाद ज्ञवालीको थियो । सैद्धान्तिक र व्यावहारिक कक्षा थियो त्यो । मैले कुरा राख्ने जोखना हेराउँदै थिएँ । प्रस्तुतीकरण सकिनै बित्तिकै छलफल शुरु हुने आशाले पहिलो पालो लिन म उठिहालेँ । तर माइक अर्कै साथीकहाँ पुग्यो ।
‘कार्यक्रम धेरै ढिला भइसकेकोले अब बाँकी सहभागीको कुरा राख्न नसकिने’ जानकारी आयो । म आफ्नो पालो नगुमोस् भनी उभिई नै रहेर “एकछिन बोल्न पाऊँ, एक सेकेन्ड बोल्न पाऊँ” भन्दै अनुनय विनय गरिरहेको थिएँ । प्रस्तुतीकरणकर्तालाई ताली बजाइदिएर विदा गर्न उद्घोष हुन नपाउँदै मेरो हातमा माइक आइपुग्यो ।
मैले स्वर कपाउँदै बोल्न थालेँ । कार्यक्रमको सभापतित्व गर्ने क्षेत्रीय डाइरेक्टरज्यूले ‘बोल्ने समय छुट्टै उपलब्ध गराउने’ वाचा गर्दै मलाई रोकिरहनु भएको थियो । मैले सर्सर्ति कार्यालयको पूर्वअवस्था आफूले गरेका केही प्रतिवेदनमा देखिने र केही प्रतिवेदनमा नदेखिने कुराहरु तथा काम गर्दा देखिएका चुनौतिहरुको बारेमा संक्षेपमा पोख्न भ्याएँ । समय हेरेँ करिब पाँच मिनेटभन्दा थोरै मात्र बढी समय लिएछु । मलाई अपेक्षा गरेभन्दा बढी सन्तुष्टि मिल्यो । रोक्दारोक्दै पनि स्वाद मीठो भइदियो । तथापि सहभागीहरुलाई अर्को कक्षा लिने हतारोले मेरो कुरा केही पनि नसुनेका पनि हुनसक्छन् ।
बोल्न त बोलियो । त्यसको परिणति भोग्नुपर्ने अवस्था तुरुन्तै सिर्जना भइदियो ।
म एक क्रोनिकल विमारीले ग्रसित छु । मलाई कहिले हप्तामा त कहिले त्योभन्दा बढी दिनमा रिङ्टा लाग्ने डायग्नोसिस नभएको अनौठो विमारीमा फसेको करिब दुई वर्ष पुग्न थाल्यो । रिङ्टा उठ्न थाल्यो भने आठनौ घण्टा म आँखा खोल्न सक्दिन । जिउ ठाडो अड्याउन सक्दिन । अक्सर तनाव बढेको बेला यस्तो हुनेगर्दछ ।
मलाई रिङ्टाका लक्षणहरु देखिन थालिहाले । म उठेर कोठामा पुग्दा भर्खरै आर्जन गरेको सन्तुष्टि खेर जाने डर थियो । मेरो विमारी त्यहाँ कसैले बुझ्दैनथे । मूर्खले आफ्नो कुरा राख्यो तर अरुको कुरा नसुनेर भाग्यो भनेर आक्षेप आउने भयले म उठिन ।
रिङ्टा बढ्दै गयो । म कुर्सीमा लेपास्सिएर अडिएँ । मैले तनावलाई होइन सत्य सन्तुष्टि र स्वादलाई मात्र दिमागमा डेरा दिएँ । पानी प्रशस्त पिएर उत्पन्न गर्मीलाई तल झार्ने प्रयत्न गरिरहेँ । घरि हेरेँजस्तो गरेँ, घरि आँखा चिम्लेर पनि टाउको हल्लाइरहेँ ताकि अरुलाई निदायो भन्ने नपरोस् । गर्दन मालिस गरिरहेँ ।
खाना खाने बित्तिकै शयनकक्षमा आराम गरेँ । रिङ्टा घट्न थाल्यो ।

मैले पोहोर सालजस्तो उभिएर सजायको ताली खानु नपरेको भन्दै आफूलाई ढाढस् दिइरहेँ । मैले मात्र होइन अरुले पनि न्यून प्रगतिस्वरुप सजाय पाएनन् बरु बढी प्रगति गर्नेहरुले प्रशंशाको ताली खाए । यो सभापतित्व गर्ने सुशील सरको विवेकीपन हो भन्ने मनन् गर्थेँ । पाँचतारे होटेलका सुविधाहरु र स्वादहरु पनि कल्पिएँ । यस्तै कुराहरु कल्पना गर्दै रहेँ । किनकि मभित्र उब्जिएको तनाव कम गर्दै लानुथियो मैले । कल्पनामा पनि धेरै चोरबाटाहरु सिर्जना भैदिन्छन् । त्यस्तै चोर बाटोबाट “सभापतिले सहभागीको रुपमा मलाई किन बोल्न दिएनन् ? किन मलाई रोक्न खोजे ?” भन्ने प्रश्न आइरहे । यस्ता प्रश्नहरुलाई “नियोजित कार्यक्रम सहभागीहरुको हातमा छोडिदिए व्यवस्थापनको काम नै के रह्यो र ? फेरि यसरी कार्यक्रम सम्पन्न हुन पनि त सक्दैन । बाध्यता थियो होला । बारम्बार छुट्टै शेसन उपलब्ध गराउँछु भन्नुभएकै थियो नि” भन्दै थामथुम पारिरहेँ ।
रिङ्टा आफ्नो वशमा आइसकेपछि फेरि म गोष्ठीको हलमा सहभागी भएँ । सहजकर्ता हुनुहुन्थ्यो कृषिका क्षेत्रीय डाइरेक्टर साब् ।
एकछिन त म अलमलमा परेँ उहाँले आर्थिक प्रशासन सम्बन्धी कक्षा लिइरहनुभएको थियो कि ? कृषि सम्बन्धी ?’ उहाँको भनाइ थियोः “लेखाका कर्मचारीहरु स्वभावैले बद्माश हुन्छन् । उनीहरुले आफ्नो स्वार्थको लागि बिल समेत च्यात्न बाँकी राख्दैनन् । आदि आदि । बेरुजु कार्यालय प्रमुखको कारणले नभई लेखाका कर्मचारी स्वयमको कारणले बढ्छ ।“ आदि आदि । सायद उहाँलाई व्यवस्थापन पक्षले सहभागी सम्बन्धी जानकारी गराएको थिएन कि ? त्यस गोष्ठीमा पचास प्रतिशत लेखाकै कर्मचारीहरु सहभागी थिए । एकजनाले प्रतिवाद पनि गरेः “लेखाका सबै कर्मचारीहरु त्यस्ता हुँदैनन् सर !” तर उहाँले सुन्नुभएन वा सुन्न चाहनुभएन ।

उहाँको पहिलो प्रस्तुतिले के देखायो भने उहाँले धेरै लेखाका कर्मचारीहरुको व्यवहार भोगिसक्नुभएको छ । तिनीहरुको स्वाद नराम्रोसँग चाखिसक्नुभएको छ । मानौँ सब वाकवाकी लाग्ने स्वादका छन् सब वेस्वादका छन् ।
तर उहाँले कसरी चाख्नुभयो विचारणीय कुरा यो हो । सबै प्रकारका परिकारलाई एउटै थालमा थुप्र्याएपछि स्वादिलो होला कि बेस्वादिलो । वा खिरमा चिनी राख्नुको सट्टा नुन राखेपछि के होला ? भोजनको स्वाद लिने कुराहरु सिकाइँदैनन् । आफैले जान्नुपर्छ । कतिवटा परिकार कसरी चाख्ने जान्नु पनि हत्पति व्यक्त नगरिने मानव जीवनको ठूलो कला हो । एकजना क्षेत्रीय डाइरेक्टरको पद सम्हालिसकेका जिम्मेवार नेतृत्वले बोलेका शब्दहरु जिम्मेवारपूर्ण हुन् कि होइनन् ?

उहाँले मात्रै मूल्याङ्कन गरेर विषवमन गर्नुको कुनै तुक छैन । उहाँलाई पनि कति पानीमा हुनुहुन्छ भनेर उहाँको समीपमा रहेर काम गर्न पाउने धेरैले मूल्याङ्कन गरेका होलान् ।
सबैलाई थाहा छ केही कर्मचारी प्रवृत्ति बारे । कागका फुल चोर्ने कला सिक्न उद्यतहरु पनि छन् । इमान्दारहरु पनि छन् ।
समाजका सबै क्षेत्रमा एउटै परिवारमा राम्रा पनि छन् र त्यही परिवारमा नराम्रा पनि छन् । जस्तो कि राजनीतिक पार्टीका विचारधाराहरु अलग अलग हुँदाहुँदै पनि परिवार भिन्नै भए पनि भिन्न भिन्न परिवारमा गगन थापा पनि छन् । गोकर्ण विष्ट पनि छन् र जनार्दन शर्मा पनि छन् ।

यो गुनासो पढ्ने यदि जिम्मेवार लेखाका पदाधिकारीहरु पनि हुनुहुन्छ भने एकपटक उहाँको समीपमा रहेर काम गर्ने मौका दिनोस् । कसको कारणले स्वाद बिग्रिएको हो भन्ने जानकारी लिन पाऊँ । उहाँलाई भिन्न स्वादको अनुभव दिलाउन पनि सकिन्थ्यो कि ?

शुरुमा उल्लेख गरेको बफे सिस्टम एउटा लाक्षणिक उदाहरण हो । लाइनबद्ध को को छन् ? राज्यले उपलब्ध गराएका विभिन्न प्रकारका अवसरहरुमध्ये सबैथरि चाख्न चाहन को को छन् ? सबैथरी चाख्न चाहनेले सिर्जना गरेको झन् लामो लाइनमा पछाडितिर उभिएर तपाईँले छानिरहेको हेर्न विवश् को को छन् ? अझ सरकारी जागिरीरुपी शाकाहारी र मांशाहारीहरुको एउटै लाइन हुँदा अघिल्लो पङ्तिमा रहेकाले विभिन्न स्वादका मासुहरु चाख्ने लोभबाट हुने अत्यन्तै लामो अलमलबाट शाकाहारीहरु आजित छन् कि छैनन् ? मूल कुरा यो हो डाइरेक्टर साब् । कृषि विषयक प्रस्तुतीकरणबाट तपाईँले संग्रह गर्न खोजेको मीठो स्वादलाई तपाईँकै अभिव्यक्तिले अमिलो तुल्याइदिनुभयो ।

कक्षा सकिएपछि ध्रुव सर र म कोठामा आयौँ । ध्रुव सरले प्रस्ताव राख्नुभयोः “ओलीजी तपाईँले तयार गरेको योजनाको तालिकाको मैले फोटो ल्याएको छु त्यो पनि हाम्रो प्रिजेन्टेशनमा राखौँ ।“
“सान्दर्भिक होला र हाकिम साब् ?” मैले संशय पोखेँ । यो शिक्षक हुँदा बनाउन सिकेको गोजेतालिका थियो । गोजेतालिकामा आवश्यकताअनुसारका विवरणहरु सम्बन्धित गोजीमा समय समयमा फेरेर राख्न मिल्छ । अति महत्त्वपूर्ण संवेदनशिल र तुरुन्तै सम्पादन गर्नुपर्ने तथ्याङ्कहरु पनि छुट्टै रङमा भरेर राख्दा तुरुन्तै ध्यान जाने बनाउन मिल्छ ।
“किन नहुनु ? राम्रो हुन्छ ।“ मेरो संशय उपर ढाढस् दिनुभयो ध्रुव सरले ।
मैले प्रिजेन्टेशनको एउटा स्लाइडमा त्यो फोटो राखिदिएँ । भोलिपल्टको पहिलो प्रिजेन्टेशन हाम्रै पर्‍यो । कार्यालयमा नयाँ भए पनि पुरानै सरह उहाँले सर्सर्ति आकर्षक प्रस्तुतीकरण गर्नुभयो । कार्य सम्पादनका क्रमका फोटोहरुसँगै मेरो सानो प्रयत्नले पनि ठाउँ पायो ।
धन्यवाद दिने क्रममा सभापतित्व गरिरहनुभएका डाइरेक्टर शिशिर सरले पहिलो शब्दमा नै “उदाहरणीय काम गरेकोमा रुपन्देहीका सिएसाबलाई धन्यवाद छ !” भनेर प्रशंशा गरिदिनुभयो । ‘राम्रोलाई राम्रै हो’ भनेर स्वीकार गर्ने संस्कारको अभाव भएको कर्मचारीतन्त्रमा उहाँले ‘राम्रो’ भनी विरलै नेतृत्व गुण प्रदर्शन गरिदिनुभयो ।
“तपाईँलाई पनि मेरोतर्फबाट हार्दिक धन्यवाद छ डाइरेक्टर साब् ।“ जसले गर्दा मलाई काम गर्न थप जाँगर पैदा गरिदिएको छ । ‘धन्यवाद’ भन्ने सानो एक शब्दमा काइनेटिक शक्ति हुँदोरहेछ भन्ने मैले अनुभूति गरेँ ।

मलाई अर्को कुरा के लाग्यो भने जीवनको उत्तरार्धमा महत्त्वपूर्ण तर साना साना रिङहरु जोडिँदै छन् । त्यसमा म पनि जानी नजानी जोडिँदै छु । ती रिङहरु सैयौँ मात्रामा जोडिए भने धेरै लामो र धेरै बलियो साङ्लो बन्न सक्तछ । त्यस साङ्लोको पिङद्वारा म तल पनि पुग्न सक्छु र माथि पनि पुग्नसक्छु । अघि पनि पुग्न सक्ने र पछि पनि पुग्न सक्ने प्रशस्तै सम्भावनाहरु छन् । ‘कत्रो कुरा भयो र त्यो ?’ भन्नुहोला । कहीँ नपुग्नुभन्दा कहीँ न कहीँ पुग्नु निश्चय नै महत्त्वपूर्ण घडी हुनेछ मेरो लागि । मैले राम्रा सपना देख्न थालिसकेको छु ।

भोलिपल्ट हामी बिहानै सदाझैँ मर्निङ वाकमा निस्कियौँ । हाम्रो हिँडाइ कहिले फेवाताल, कहिले महेन्द्र पुल र कहिले पाताले छाँगोसम्मको हुन्थ्यो । पोखरा भन्ने बित्तिकै यी ठाउँहरु नै आकर्षणका गन्तव्य बन्दछन् । यिनीहरुको विषयमा हजारौँ लाखौँ गुणा बढी अरुहरुले विभिन्न विधाबाट शब्दहरु खर्च गरिसकेकोले मेरो भागमा केही बचेन ।

तर शब्दहरु खर्च हुन बाँकी अर्को ठाउँ पनि रहेछ पोखरामा । पोखरावासी र वरपरका निवासीहरु बाहेक अरुलाई कमै जानकारी भएको हुनुपर्छ यो ठाउँको विषयमा । त्यो ठाउँ रहेछ पोखराको पुच्छ्रेखोलाको किनारको फेवा पावरहाउस । गन्तव्य महत्त्वपूर्ण होइन मार्ग यहाँ महत्त्वपूर्ण छ । गन्तव्यसँगैको सयौँ खुड्किलाहरु (तीनसय पाँच) रहेको मार्ग माथिबाट हेर्दा आँखा रिङ्ने खालको भए पनि रेलिङ समातेर मजासँग तलमाथि गर्न सकिँदोरहेछ । भनिहालेँ होश गर्नुहोला निकै ठाडो छ असीपचासी डिग्रिको एङ्गलमा । यदि तपाईँ सुगर वा मोटोपन वा पेटको रोगी हुनुहुन्छ भने यहाँ पुगेर चारपाँच दिन तलमाथि गर्नुस् । तपाईँको समस्या फूमन्तर गरेझैँ चट् हुन सक्छ । तल पुग्ने हिम्मत गर्ने हो भने वरपरका कुनै बीचबाटै उम्रिएका त कुनै माथिबाटै झरेका सुन्दर झरनाहरुको अनुभूति एकैपटक संगाल्न सकिँदो रहेछ । पावरहाउस नजिकै रहेको सानो गोल मैदानमा कुदिरहेका मान्छेहरु र पुच्छ्रे खोलाको शितल पानीको अनुभूति तल नपुग्नेले संगाल्नै सक्दैनन् ।

हाम्रो मर्निङवाकको क्रममा त्यहाँ पुग्नु पहिल्यैको मार्ग पनि छ । सजिलो अप्ठ्यारो दुवै छ । त्यो मार्ग देखाउने ध्रुव सर झनै महत्त्वपूर्ण लाग्छ मलाई ।
त्यो मार्ग भनेको उहाँबाटै व्यक्त ‘निश्चयात्मक मार्ग’ हो । पोखराका थुप्रै समथर मार्गहरुबीच त्यो मार्ग पावरहाउस पुग्ने त्यस्तै ठाडोबाटोजस्तै छ । माथिबाट हेर्दा कठिन देखिन्छ । तर रेलिङ समात्न सकिने सुविधा पनि उपलब्ध छ उहाँको मार्गमा पनि । उहाँले गर्ने निश्चयहरु औसत कर्मचारीहरुले गर्ने निश्चयभन्दा एकदमै पृथक छन् । उहाँले हरेक दिन मलाई भन्नुहुन्छः “ओलीजी म पर्सनल बेनेफिटको लागि कुनै हालतमा काम गर्नेछैन । म यो राज्यको लागि समर्पित कर्मचारी हुँ । राज्यको बेनेफिटको लागि प्राण नै अर्पण गर्नेछु, तर कर्तव्यबाट बिचलित हुनेछैन ।“
“यो कुनचाँहि नौलो कुरा भयो र ? साहित्यिक विधा होस् कि कानून नीति र आचरणका दफाले होस् त्यही मार्ग त देखाउँछ नि !” भन्नुहोला तपाईँ । कुरा त्यसो होइन । कुरा त्यसै हुँदाहुँदै पनि भनाइ र गराइको अन्तरले व्यवहारमा त्यसो हुन सकेको छैन । वा भनौँ नितान्त एक्लै हुँदा गर्न मिल्ने थुप्रै व्यावहारिक तथा निजात्मक कुराहरु हुँदाहुँदै यस्तो निश्चय आउनु आश्चर्यजनक होइन त ? यस्ता कुराहरु कि सभा गोष्ठीका सयौँ सहभागीहरु बीच ताली खाने अपेक्षाले, कि त रक्सीको मातमा मात्र गरेको सुनेको थिएँ । हुनसक्छ मेरो ज्ञान त्यतिसम्म सीमित थियो ।

 

म ध्रुव सरको लागि र ध्रुव सरको लागि अहिले एकापसमा नितान्त नौला नै छौँ । काम गर्ने क्रममा गोडा जुध्दा यी कुरा प्रत्यक्ष देख्न र भोग्न पाइनेछ । तसर्थ योभन्दा धेरै अगाडि नबढ्दा नै राम्रो होला ।

मैले पछिल्ला क्लासहरु काम भएको बहाना पारेर छुटाएँ । कक्षा छोड्नुपूर्व आफ्नो सार्थक उपस्थिति देखाउनैपर्थ्यो मैले । हिजो आफूले राखेका कुराहरु नसुनिदिनुको क्षोभ पनि छँदै थियो मनमा । तसर्थ सबैभन्दा आकर्षक मानिने दुई प्रिजेन्टेशन रोज्नुथियो मैले । चाहेको कुरा भइछाड्छ । अघिल्ला वर्षहरुमा राम्रा प्रस्तुति भनिएका तनहुँका डिभिजन प्रमुख हरिदत्त पौडेल र गोरखाका डिभिजन प्रमुख लोकबहादुर थापाको प्रिजेन्टेशन लगातार हुन पुग्यो । सबैले चासोपूर्वक यिनै प्रिजेन्टेशन सुन्ने हुँदा ती माथि गरिने कमेन्टमा चासो नहुने कुरै हुँदैन भन्ने लख काट्दै उहाँहरुसामू आफ्ना पृथक चासोहरु राख्न पनि भ्याएँ ।

यसले मलाई गोष्ठी अवधिको पूरै स्वाद दिलाइदियो अपितु भोलि पनि गोष्ठीको कार्यक्रम अझै बाँकी छ ।

भोलिको दिनमा घटनाहरु जेसुकै थपिऊन् । आजका दिनसम्मको गोष्ठीको अनुभूति शेयर गर्नैपर्छ भन्ने सोची यति संस्मरणात्मक अनुभूति तपाईँको सामू पस्केको छु ।

लेखाइमा अघि नबढे पनि पूर्ववर्णित कुराले मलाई चिमोटेको चिमोट्यै छ ।

ध्रुव सरको निश्चयात्मक कर्तव्यनिष्ठताको फिलोसोफी के हो ? वा वर्षदिन अघिका सचिवजीबाट सार्वजनिक रुपमा व्यक्त ‘कम्तिमा एउटा ठेक्का बीलमा सही ठोक्नु’ को फिलोसोफी के हो ?

यी दुईमध्ये सत्यको नजिक कुन छन् ?

कसले देला मलाई चित्तबुझ्ने जवाफ ?

पोखरा
२०७४।०७।२३, १८:००

109 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*