देशी चश्मा

 

 

“ए कविराम कति ढिला गरिरा ? मैले चारचारवटा तन्नाहरु धोइसक्दा पनि जाबो दुइटा सिरानीको खोल धुन पनि दिनै फाल्छ, बजिया । … छाड् ! यीः यसरी धो न ! दुइटा त खोल नै धुन नै बाँकी छ । अलि छिटो गर् । कपडा सुकेन भने भोलि यस्तै चीसो रेतमा सुताउँछस् नयाँ दुलहीसाबलाई ?”

……………………

“बाबा हो ! कति गन्हाको ? राम्रो ओडुनिल पनि पाइँदैन यो बजारमा ? यसलाई प्यान घोट्न पनि आउँदैन, छाड् मै घोट्छु । यी‍‍‍.. यता राख् सनीफ्रेस । एउटैले प्रयोग गर्ने भाँडो पनि कति फोहर बनाको होला । यति त दिनदिनै आफै सफा गर्नुपर्छ नि । पानी अलि धेरै राख्, त्यो कुनाकानी कतै बाँकी नराखी पानीले सफा गर् । फिनेल यी यता छर्के आइज । खोपाखोपामा कपुर राख ।”

……………………………….

“ए बलबहादुर ! कुर्सी सोफा सबै मिलायौ ? राम्रो खालको कलम नोटबुक टेबुलमै राखिदेऊ । टेबुल पोश कुर्सीको रुमाल पनि फेरिहाल । फर्निचरहरु सबै घोट्न लगाएर चिटिक्क पारी राख । मान्छे नै हिरो छन् रे । देशी चश्मा लाउँदा त सेम सलमान खान जस्तै रे । फोनमा बोल्दा पनि अंग्रेजी र हिन्दी नघुसाई बोल्दै नबोल्ने । धेरै शब्द त मरिगए बुझ्दै नबुझिने । अँ फाइलहरु सप्पै मिलाएर राख है । जे खोजे पनि टक्क भेटिने हुनुपर्छ । प्रगति  विवरण तयार पार्यौ ? यो वर्षभरिकै तयार पार्नु । ब्रिफिङ गर्नुपर्छ सबै ।”

……………………………

“अनि सुन, नदिराम, खाद्यबाट अलि राम्रो चामल, दाल हप्तादिनलाई पुग्नेगरी ल्याइराख । तरकारी ताजाताजा ल्याउनु, दिनदिनै सखारै उठेर मैले भनिराख्नु नपरोस् । राम्रो दूध ल्याउने मान्छेलाई आजै सम्पर्क गरी हाल । एकदिन बिराई माछामासु चाहिन्छ रे । सानीभेरीका माछा दिनहुँ पाइहालिन्छ, बरु लोकल भालेहरु खोज्नू विदाको दिनमा ।”

………………………….

“ए सान्नानी मालाहरु उइनियौ ? कतिवटा पुग्यो ? १५-२० वटा उइनिनु पर्छ । सबैलाई पुग्दैन फेरि । चाँफासम्म हामी पनि जाने भनी १२ जना हाकिमहरुले नाम टिपाइसके । त्यही कोच्चेर गए यो गाडीमा त बढीमा दशजना हो । अँ कृष्ण, गाडी ठीक कन्डिसनमा त छ नि ? सफा गरी राख । सुन त कृष्ण, शिक्षाको गाडी पनि भन्नुपर्छ, मलाई सम्झाउनू एकछिनपछि । अँ सान्नानी, बगैँचाका सबै फूलहरु स्वाहा नपार्नु नि फेरि । कृषि फाराममा खानेपानी अफिसमा पनि भन्द्या छ । त्यताबाट ल्याएर काम चलाउनुपर्छ । बारीका फूल नामेट पार्ने होइन ।”

“कत्ति न जान्ने हुनुपर्ने भाको होला यो सुब्बा दाजुलाई पनि ! आखिर छोडेर जाँदा सबैको एक न एक लात खाएकै छ  लात न खाएपनि ल्वाप्पा ख्वाइमागेकै छ ।” छेड हानी सान्नानीले ।

……………………………………

यसरी दिनभर दौडधुप र छटपट गरिराख्यो जिविसको पुरानो सुब्बा केशवबहादुरले ।

खानाखाइवरी ओछ्यानमा पल्टेको चार घण्टा भइसक्यो, पटक्कै निद्रा आएको छैन ।

‘हुँदैन, हुँदैन ! मैले आफूलाई अझै सम्हाल्नुपर्छ । मैले गुमाउनुसम्म गुमाइसकेँ । अब पनि गुमाउने भूल गर्नु हुँदैन । आफ्नै परिस्थितिलाई जसरीतसरी अरु अनुकुल बनाउँदै जानुपर्छ ।’

‘के गर्ने चित्त बुझ्दैन, बोलिहालिन्छ । गर्नेहरुले पनि अति गर्छन् । न परिस्थितिको विश्लेषण गर्छन्, न सामान्यीकरण गर्न नै खोज्छन् । बोल्न बाध्य नै पार्छन् भन्या ! तिनीहरु हात धोएर मेरो पछि लागेकोलागेइ गर्ने ! मैले मात्र कति आफूलाई सम्हाल्ने ?’

‘तिनीहरुकै जस्तै मैले पनि हात धोएर तिनीहरुको पछि लागेको भए के के हुन्थ्यो के के ! जे पनि हुन सक्थ्यो । हो नि, जे पनि हुन सक्थ्यो ! आफ्नो त गुमाउने भन्नु नै के छ र !’

‘होइन, होइन । मेरा यी २० वर्ष तनावै तनावमा बिते । मेरो पनि क्यारियर छ । अब यसो गर्नुहुँदैन । नयाँ आउने हाकिमसाबसंग राम्रो सम्बन्ध कायम गर्ने भूमिका खेल्नुपर्छ मैले । जसरीतसरी पनि । एउटा हाकिमलाई मात्र खुशी तुल्याउन सकेँ भने पनि मेरो क्यारियर उज्यालिँदै जानेछ । अझै १५ वर्ष बाँकी छ जागिर खान । १५ वर्षभित्रमा मैले पनि यी हाकिम भनाउँदालाई रिझाएँ भने एउटा फुली त कसो नपाइएला र ! अरुले पुरस्कार थापेका थापेइ छन्, त्यत्रो विधि संख्यामा आफ्नो नाम कहिल्यै परेन !’

‘मैले कसको के बिगारेको छु र ? अहिलेसम्म, भन्ने हो भने, यो अफिस मैले नै धानेको हुँ । बाहिर जिल्लाका हाकिमहरु आउँछन् । आधा समय बुझ्नमै जान्छ, रमाइलो गर्छन्, रल्लिन्छन्, निस्कने समय नजिकिँदै गए निहुँ खोज्न थाल्छन्, अनि जान्छन् । जाँदाजाँदै ‘यसैले गर्दा काम गर्न नदिएर हो’ भनेर मलाई नै आरोप लगाउँछन् ।’

मनकुरा खेलाइराख्यो केशवबहादुरले । अँहँ निद्राले पटक्कै छोएन ।

“ए नदीराम, नदीराम ! नदीराम !! बेडरुममा पानी नै राखेको रहेनछ बजियाले । कति छिटो मस्त निद्रामा पर्छन् यिनीहरु ? भोलि पनि यसै गर्ला यो बजियाले ।” उठेर भान्सामा गई घट्लक घट्लक एकजग पानी रित्त्याउँछ र एकजग पानी गाग्रीबाट सारेर कोठामा ल्याई राख्छ । सिरानीमुनि राखेको आजै गर्नुपर्ने भनी टिपेको नोट सर्सर्ती जाँच्छ ।

‘भोलि कति बजे हिँड्ने हुन् ? ८/१० कल फोन नै रिसिभ गरेनन् । अस्तिसम्म त राम्रै कुरा भएको थियो । यताको बारे सब सोधेका थिए, कर्मचारीको बारेमा, राजनीतिको बारेमा, विकासको बारेमा, ठेकेदारको बारेमा, अनि पर्यटकीय स्थलहरुको बारेमा । खुब जिज्ञासा रहेछ हाकिमलाई । बोलीबाट त मान्छे मिलनसार जस्तै लाग्छन्, व्यवहार कस्तो छ पो अब ! आफू भलो त जगतै भलो ! अब आफैले राम्रो गर्नुपर्छ । त्यसदिनदेखि फोन नै उठेको छैन । जिल्लाका ठूलो हाकिम भएकोले फोन नै तीन चारवटा होलान् । उनका मान्छेहरुसंग फोन गर्दै फुर्सद छैन होला बरा ! मैले केही शंका गर्नुहुँदैन । मैले आफूलाई सकेसम्म सम्हाल्नुपर्छ ।’

‘कुखुरी काँ !’ ‘कुखुरी काँ !!’ भाले तर्रातर बास्न थाले । ‌

‘ओहो रात त गइसकेछन् त ! अब त के निदाउनू ? भोलि निदाउँला आनन्दसंग ।’

केशव उठेर अफिसको गेट पर्खाल सबैतिर हेर्दै गयो । अझै अँध्यारै भएकोले सेता कागज बाहेक अरु केही देख्नसकेन । देखिएका जति कागजपत्र टिप्दै डस्टबिनमा राख्नथाल्यो ।

उता घण्टी टङटङटङटङ टिनिनिनिन बज्न थाल्यो ।

“को आउँछन् बिहानै यो मन्दिरमा पुजा गर्न ?” ऊ मन्दिरतिर हेर्न गयो ।

घण्टी बजिरहेकै थियो ।

‘हत्तेरी, मेरो सुद्धि ! हुँदाहुँदा फोन र मन्दिरको घण्टीको स्वर पनि नछुट्याउने भइएछ ! फोनको घण्टी पो बजेको रहेछ । तर यति बिहानै ?’

ऊ कुद्दै कोठामा पुग्यो । हस्याङफस्याङ गर्दै फोन रिसिभ गर्यो ।

“म हाकिमको डाइबर बोल्या, किन फोन नै उठाउनुभएन त सुब्बासाब् ? हामी यताबाट हिडिसक्यौँ, त्यै जानकारी दिनलाई गर्‍या ।” उताबाट फोन काटियो । उसले यताको फोन जाँच्यो । दुईकल मिसकल आएको देख्यो । एक कल हाकिमकै मोबाइलबाट आएको रहेछ ! उसले हाकिमको फोनमा लगायो । फोन उठेन । डाइबरको फोन लगायो । फोन उठेन ।

गाडी चलाइरहेको डाइबरलाई फोन गर्नुहुँदैन । गाडीको आवाजले केही सुनिएको छैन होला, त्यै भएर हाकिमको फोन नउठेको होला ।

अनि झटपट जिल्लाका हाकिमसाबहरुलाई फोन लगाउन थाल्यो, “दाङबाट हाकिमसाब बाटा लागिसक्नुभो रे !  तयार हुँदै गर्नुपर्ला । चारबजे हिडेको गाडी दश नबज्दै आइपुग्छ । आठबजेभित्रै जिविसमै उपस्थित हुनुहोला ।”

“…………..”

“दाङबाट हाकिमसाब बाटा लागिसक्नुभो रे !  तयार हुँदै गर्नुपर्ला । चारबजे हिडेको गाडी दश नबज्दै आइपुग्छ । आठबजेभित्रै जिविसमै उपस्थित हुनुहोला । गाडी छुटेमा मलाई केही नभन्नुहोला फेरि ।”

“……………”

“…………………”

सबभन्दा पहिले इन्स्पेक्टर साब आइपुगे । उनले खादाको व्यवस्था भए नभएको बारेमा सोधेपछि सुब्बासाब हतारिए, “ए नदीराम, बजारमा गएर सोधिहेर त । सुन त तिमी त्यतैबाट बजारको पूर्वपट्टि निस्कनू । गाडी त्यहीँ आइपुग्छ ।” उसले टाउको कन्याएपछि आफ्नो पाकेटको एउटा हात्ती तानेर दिए । त्यसपछि मालाहरु चेक गरे । अबिर चेक गरे । शिक्षाको गाडी आइनपुगेकोले जिशिअ साबलाई फोन लगाएर तुरुन्त गाडी पठाइदिन अनुरोध गरे । साढे सात नबज्दै जिल्लाका प्रायः सबै हाकिमसाबहरु आइपुगे जिविसको प्राङ्गणमा । नागरिक समाजका प्रतिनिधि, बजार प्रतिनिधि, केही राजनीतिक दलका प्रतिनिधि पनि आइपुगे ।

“नयाँ योजना हाकिम साब् धेरै अनुभवी हुनुहुन्छ रे ।” “केको योजना हाकिम साब भनिराको, उहाँ त एलडिओ नै हो नि” “अलि कडा मिजासका पो पनि हुनुहुन्छ रे ।” “होइन, होइन निकै मिलनसार हुनुहुन्छ रे ।” “कामू एलडिओको जिम्मेवारी पाउनुभएर आउँदैहुनुहुन्छ रे ।” “कहाँ हुनु ! निमित्त मात्र हो रे, निमित्त भए त योजना साब् नै भन्नुपर्‍यो नि ।” “जे भएपनि हिरो, लक्का जवान रे ।” “कालो देशी चश्मा लाउने रे ।’ “चश्मा लाएको बखत त सेम सलमान खानजस्तै रे ।” “हा हा हा हा” “हा हा हा हा ।” हाँसोले जिविस धेरै दिनपछि फेरि बेसरी गुञ्जायमान भयो ।

“तयारी पूरा भयो हैन त ?”

“भयो, भयो ।”

“ल, अब हिँडिहाल्नुपर्छ, गफ उतै गएर गरौँला । बरु कहाँसम्म जाने ? शितलपोखरीसम्म ?”

“हैन, चाँफा अलि फराकिलो ठाउँ छ । तरकारी फाराम पनि देखाउन पाइन्छ । तरकारीका हाकिमहरु उतै हुनुहुन्छ ।”

“हैन कोटसम्म पुग्नुपर्छ । तलसम्मको बाटो र वारिपारि सबै देखिन्छ ।”

“ल, ल जाऊँ, जहाँ भेट हुन्छ त्यहीँसम्म जाम् । सबैको सल्लाह मिलेपछि गाडी स्टार्ट भयो । त्यतिकै बेला नदीरामको फोन आयो, “खादा त पाइयो, कतिवटा ल्याम् हजुर ?” “अँ कति भन्ने अब, हात्तीको जति आउँछ त्यति नै ल्याऊ, छिटो आइहाल ।”

शिक्षाको गाडी पनि आइपुग्यो । उपस्थित सबै ठेल्लमठेल गरेर गाडी चढे ।

“ए सुब्बासाब, तपाईँ मुख्य स्वागतकार हो, यता आउनुस् ।” इन्स्पेक्टरसाबले केशवलाई सोधे, “अनि हाकिमसाबलाई गाडी किन नपठाइदिएको ?”

“उहाँले आफ्नै गाडी छ भन्नुभयो, पठाउनुपर्दैन भन्नुभो हजुर, मैले त पठाइदिने नै भनेको हुँ ।”

“ए, ल भैगो ।” दुवै गाडी ओरालो झर्न थाले ।

सोलाबाङ चौकीले योजना हाकिमसाबको गाडी आइपुगेको खबर इन्स्पेक्टरसाबलाई गर्‍यो ।

“ल, हामी शितलपोखरीसम्म मात्र पुग्ने भयौँ । बाटो राम्रै छ । चार घण्टामै आइपुग्नुभएछ ।”

गाडी शितलपोखरी पुग्नेबित्तिकै हाकिमसाबहरु गाडीबाट ओर्लनथाले । पुग्नेजतिलाई केशवले माला बाँड्यो । अनि, ल्याएको जति खादा पनि बाँड्यो । दुइटामाला र दुइटा खादा आफ्नो लागि छुट्टै राख्यो । अनि अबिर खोज्न थाल्यो । अबिर सिटको चारैतिर । माला राखेको ठाउँनिर जताकतै खोज्यो । कतै फेला परेन ।

यता केशवले धुइँधुइँति अबिर खोज्दै थियो, उता नयाँ हाकिमसाबको गाडी आइपुग्यो । सबै हाकिमसाबहरु तँछाडमछाड गर्दै त्यतैतिर लागे । गाडीबाट सलक्क परेको अग्लो व्यक्तित्व अदबसाथ तल ओर्लियो । सफेद पोशाकमा कालो चश्मा अत्यन्तै म्याच गरेको थियो । केशव  त हेरेको हेर्‍यै भयो । अरुले माला लगाइदिनथाल्दा ऊ झल्यास्स भएर फेरि अबीरको प्याकेट खोज्न थाल्यो । भेटिएन ।

‘भो छाडिदे अबिरसबिर । माला र खादा मात्र भए पनि बेलैमा लगाइदिनुपर्छ’ भन्दै माला खोज्न थाल्यो । माला पनि अरुले नै लगिसकेछन् । अब परेन बित्यास ! अब त्यत्तिकै भए पनि आफ्नो परिचय दिन उपयुक्त ठानी अरुलाई पछाडि तान्दै केशव असिनपसिन हुँदै नयाँ हाकिमसाबको अगाडि पुग्यो र दुवै हातले नमस्कार टक्र्याउँदै परिचय दियो, “हजुर म निमित्त सुब्बा, हजुर म केशव । हजुरलाई स्वागत छ यो जिल्लामा ।” अनि पुलुक्क हेर्‍यो हाकिमसाबको नजरतिर । कालो चश्माले आफूलाई हेरेको हो कि अरुलाई नि केही खुट्ट्याउन सकेन । आगन्तुक हाकिमसाब केही नबोली आफ्नो गाडीमा चढे, उनको गाडी अघि लाग्यो, अरुहरु फटाफट सबै सदरमुकामबाटै आएका दुई गाडीमा साविकझैँ ठेलमठेल गरेर दुई गाडीमा भरिए र नयाँ हाकिमकै पछि लागे ।

बाटोभरि केशवलाई थक्कथक्क लागिरह्‍यो, ‘होइन, कहाँ हरायो होला त अबिरको बट्टा ? मैले अबिर नखोजेर, शुरुमै माला लगाइदिन गइहाल्नुपर्ने ! के भन्ठाने होलान् नयाँ हाकिमले ? मनमा लिए कि ? आ… लिएनन् होला ।… अति शंका उब्जन्छ के मेरो मनमा पनि ।… यस्तो भयो भनी सफाइ पेश गरिहाल्छु नि !… आखिर अब कम्तीमा दुई वर्ष संगै बसिने हो क्यारे । मनमा लिने मान्छे होइनन् जस्ता छन् ।’

दुवैतिर सुन्दर रुपमा सजाइएका कलश तुल्य तामाका ठूलाठूला भाँडाहरुलाई राखिएको गेटलाई पछि पार्दै गाडी भित्र छिर्‍यो र जिविसको प्राङ्गणमा गएर रोकियो । अरु गाडी पनि संगसंगै प्रवेश गरे । केशवले अह्राएअनुसार सबै कर्मचारीहरु आठबजे नै अफिसमा आइपुगेका थिए र चासो लिने अन्य कार्यालयका कर्मचारीहरु र सरोकारवालाहरु पनि आइपुगेका थिए । दुलहीझैँ सजाइएको कार्यालयमा सबैले लामवद्ध भएर नयाँ हाकिमको भव्य स्वागत गरे ।

कार्यकक्षमा प्रवेश गरेपछि सजाइएको कुर्सीमा विराजमान हुँदै हाकिमसाबले सबैको परिचय मागे । परिचयको क्रममा पनि केशवको पालो पुछारतिरै आयो । आफ्नो अलिकति लामो परिचय दिन खोजेकै हुन्, तर हाकिमले ‘अहिले पर्दैन !’ भनेपछि छोटो परिचयमै रोकिनुपर्‍यो । हाकिमको बोल्ने पालो आएपछि उनले धेरै जिल्लामा जिविस प्रशासन लगायतका कार्यालयको हाकिमी चलाइसकेको र जताकतै सफल भएको बताए । आफूलाई कार्यालय सञ्चालन लगायत विकास कार्यलाई सफल पार्न कर्मचारी राजनीतिज्ञ स्थानीय विद्वान सबैको सहयोग चाहिने बताए । केशव सुब्बाका त खुशीले गदगद हुँदा आँखाबाट आँशु नै झरेछन् । पछाडि फर्केर आँशु पुछे, अनि मनमनै भने, ‘हाकिम भनेको यस्तो हुनुपर्छ, सबैको मन जित्ने । अब यो सुब्बाका पनि दिन फिरे जस्तो छ ।’

जिल्लाका हाकिमसाबहरुको मिटिङ सकेपछि खाना खाने तरखर गरे । कामदार कर्मचारीबाट शुरुमै कुनै तलबितल नपरोस् भनेर आफैले भान्छा कोठामा पुर्याए । कपडा फेर्न र हातमुख धुन आफैले पानी बोकेर सघाए । खाना आफैले पस्किदिए । त्यतिबेलासम्म हाकिमले केशवलाई अन्य कुराहरु केही सोधेनन् ।

खाना खाने क्रमसम्ममा हाकिम केही नबोलेपछि केशवले नै बोल्ने मौका मिलाए, “हजुरलाई के मन पर्थ्यो कुन्नि ? यहाँ त यस्तै पाइन्छ । सेवामा कुनै तलमाथि पर्‍यो कि ?”

“मलाई मेरो काममा बाधा नहाल्ने मान्छे मन पर्छ । कामदारहरुले गर्ने काम सबै आफै गर्ने होइन । उनीहरुले गर्न सकिहाल्छन् नि । मैले अह्राएको मान्नुपर्छ, वश् ।”

केशवले खानाको विषयमा सोधेको थियो तर पायो जवाफ घुमाउरो । के भनूँ के भनूँ मेशै पाएन केशवले । अनि भन्यो, “हामीहरुले त लाएअह्राएकै काम गर्ने त हो नि हजुर । नत्र हाकिम पद नै किन चाहियो र ?”

“ए… हाकिम आएको पनि मन परेन होइन त ? मैले बाटोमा भेटेदेखि तिम्रो व्यवहार र मनस्थितिको आँकलन गरिराखेको छु । तिम्रो मुख निलोकालो हुँदै गइराखेको पनि देखेको छु । जागिर खाने हो भने आफ्नो हैसियतमा बस्ने, वश् ।” हाकिमले चिल्ने सापकै जस्तै नजरले केशवलाई घुरे । केशवको सातोपुत्लो उड्यो । अनि हाकिमलाई चुठाइसकेपछि शयनकक्षसम्म पुर्‍यायो । ऊ फर्केर आएर आफ्नो कोठामा पस्यो र ऐना हेरेर झड्याम झड्याम आफ्नै गाला हिर्कायो । तँ शुरुमै बढी जान्ने हुनुपर्ने ? अब यसरी शुरुदेखि हाकिमको मन बाङ्गो हुँदै गए के हुन्छ ? हुन्छ के ? ऐनाको आफ्नै प्रतिरुपले गिज्यायो । के हुन्छ ? के हुन्छ, के हुन्छ !

केशवको अनुहार झनझन निन्याउरो हुँदै गयो । तीनचार दिनको धपेडीले र तीन चार रातको अनिदोले गर्दा यसै थकानले चूर थियो । हाकिमको कटाक्षले झनै उसलाई गलाउन थाल्यो ।

दिउँसो राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकारहरु, व्यापारीहरु सबैसंग मिटिङमा हाकिम व्यस्त रहे । केशवले मिटिङको सहजीकरण गर्ने काम गर्‍यो, केही बोलेन ।

बेलुका हाकिमसाबको शयन कक्षमा पुगेर क्षमा माग्न खोज्यो । तर हाकिमले ‘भोलि, पर्सि सुनौँला, आज मलाई धेरै नझिज्याऊ’ भनेकोले निराश भएर आफ्नो कोठामा फर्क्यो । आज पनि उसलाई निद्रा लाग्ने कुरै थिएन । हिम्मत हार्नुहुँदैन, एक दिन न एक दिन बुझाउनै पर्छ भन्ने दृढता लिइरह्यो ।

हाकिमले ‘तिमीले यी काम गर्नुहुँदैन’ भन्दाभन्दै पनि तीन दिनसम्म केशवले आफैले हाकिमको खुब रेखदेख गर्‍यो ।

चौथो दिनमा केशवलाई बोलाए हाकिमले । केशव खुशी हुँदै सफाइ पेश गर्न पाइनेभयो भन्दै पुग्यो हाकिमको शयनकक्षमा । हाकिमले छोटै निर्देशनमा फर्काइदिए केशवलाई, “एउटै अफिसमा दुईदुई जना किन बस्नू ? तपाईँको घर पनि खासै टाढा रहेनछ । घरबाटै आउने जाने गर्नुहोस् । त्यतिको लागि बोलाको हो ।”

हाकिम साब् म मेरो कुरा राख्न चाहन्छु ।

“म तिम्रो कुरा केही सुन्दिन बश् । जाऊ भनेपछि जानैपर्छ तिमीले । यो अफिस चलाउने तिमीले होइन मैले हो ।”

“हैन हाकिमसाब् । म मेरो घरमा अवश्य जान्छु । तर मैले यो विषयमा हजुरसंग कुरा गर्न खोजेको होइन । म सफाइ पेश गर्न चाहन्छु ।”

“चाहिन्न, चाहिन्न । तिम्रो कुनै सफाइ चाहिन्न मलाई । जाऊ अहिल्यै गैहाल ।” भन्दै केशवलाई धकेल्दै बाहिरसम्म पुर्‍याएर भित्रबाट ढ्याम्म ढोका लगाइहाले हाकिमले ।

जानैपरेपछि भोलिसम्म किन पर्खने आजै जान्छु भन्ने शुर कस्यो केशवले । अनि खाना पकाउने र चौकिदारी गर्ने कर्मचारीलाई ‘हाकिमको सेवामा कुनै तलबितल नपार्न’ सम्झाउँदै अँध्यारोमा एकझोला कपडा कोचेर मोटरसाइकलमा आफ्नो घरतर्फ हानियो ।

घरमा स्वास्नीले रातमा कपडा बोकेर आएको विषयमा केरकार गरिन्, “फेरि हाकिमसंग झगडा गर्यौ ? तिमी नामर्द ! तिम्रै हैसियतका अरुहरुको कत्रो सान छ, ठाउँठाउँमा महल ठड्याएका छन् । तिमीले आफूलाई त ठग्यौ, ठग्यौ, यी जहानबच्चाको पनि बिचल्लीमै पारेर छाड्ने भयौ” भनेर छेडछाड गरिन् । केशव प्रतिकार गर्ने मुडमा थिएन । अघिपछि भए आफ्नो मर्दपना देखाउन तम्सन्थ्यो । तर आज उसले त्यसो गरेन । सिरकभित्र गुटमुटिएर धोको पुग्ने गरी सिरकभित्रै रोइरह्यो । स्वास्नीले जति कर गरे पनि खान मानेन । त्यस रात पनि अनिदोमै काट्यो । तर बिहान हुँदा सम्झायो । हिम्मत हार्नुहुँदैन । एकदिन त कसो नबुझाइएला र ।

उसले त्यसदिनदेखि घरबाटै आउनजान थाल्यो । केशव घरबाट अफिसमा आउनजान थालेपछि हाकिमसाबको चर्पी बढी फोहोर हुन थाल्यो । कार्यालय परिसर अस्तव्यस्त देखिन थाल्यो । त्यसको दोष पनि कामदारलाई समेत उचालेको भनी केशवले बेहोर्नुपर्ने भयो । अफिस वरिपरि लगाइएको तरकारी चोरी हुनथाल्यो । त्यसको दोष पनि केशवलाई नै लगाइयो ।

तेस्रो दिनमा पहिल्यैदेखि चलाइआएको मोटरसाइकल पनि चलाउन नपाइने आदेश आयो । त्यो पनि सहर्ष स्वीकार्‍यो उसले । घर झण्डै एकघण्टा टाढा भएकोले कहिले हिँडेर त कहिले लोकल बसमा चढेर अफिस आउनजान थाल्यो ।

अर्को दिन हाकिमसाबले भने, “के हो, तिमीले त पूरानो हाकिमको पाउने तलब र सुविधा समेत रोकिदिएका छौ रे ? के दुश्मनी साँचिराखेका हुन्छौ हँ हाकिमहरुसंग तिमीले ?”

“हैन हजुर, त्यो कुरा त मलाई थाहै छैन । त्यो त लेखापाललाई थाहा होला । मरिजाऊँ, मलाई केही थाहा छैन ।”

“सब थाहा छ मलाई । चोखिन खोज्न लाज लाग्दैन ? तिमीलाई नयाँ हाकिमहरु आएको मन पर्दैन । तिम्रो बारेमा मैले अघिल्ला हाकिमहरुबाट धेरै सुनेको छु । तिमीलाई कसैले तह लगाउन सकेको छैन । हेर्दै जाऊ । लेखापाललाई भनेर भू.पू. हाकिमको तु. अहिल्यै चेक पठाइदेऊ र यहाँबाट निस्किहाल । अरु म केही सुन्न चाहँदिन ।”

अर्को दिन बोलाएर हाकिमले भने, “तिमी घरमा जहान छोराछोरी हुँदाहुदै महिला कर्मचारीसंग लहसिँदै हिड्छौ रे ? आइन्दा यस्ता कुरा फेरि सुनेँ भने तिमीलाई आचारसंहिताअनुसार कडा कारवाही हुन्छ ।” केशव केही पनि बोलेन, उसलाई लाग्योऽ जे बोल्यो हाकिमलाई ती शब्द बाइलो नै हुन्थे । अतः चुपचाप सफाइ पेश गर्ने मौका पर्खिराख्यो केशवले ।

अर्को दिन हाकिमले कार्यकक्षमा बोलाएरै भने, “तिमी अफिसमा गुटबन्दी गर्दै हिड्ने ? फटाहा, कामचोर बेइमान ! यो अफिसका कर्मचारीहरुले एकेकले मलाई टेर्न छाडे, यो सब तिमीले गर्दा नै हो भएको हो । पियनहरुले समेत टेर्दैनन् । आइन्दा पनि यस्तै गरे म पनि छाड्ने छैन । मैले तिमीजस्तालाई धेरै ठाउँमा तह लगाइसकेको छु । बुझ्यौ ?”

नभन्दै अफिसको वातावरण बिग्रँदै गइरहेको थियो । एक कर्मचारीले अर्कोलाई टेर्दैनथ्यो । अफिस अस्तव्यस्त हुँदै गइरहेको थियो । तर यी सब केशवको कारणले भने भइरहेका थिएनन् भन्ने कुरा अरु कर्मचारीहरुलाई पनि खुलस्त थाहा थियो । तर यस बारेमा कोही पनि मुख बाउन सक्दैनथे वा चाहँदैनथे ।

अर्को दिन नागरिक समाजका प्रतिनिधिहरु आएर हाकिमसाबलाई सेवाग्राहीहरुले सेवा पाउन झञ्झटिलो भइरहेको गुनासो गरे । विकासका कामहरु पनि छिटोछरितो हुन नसकेको आरोप लगाए । पत्रकारहरु समेत आएर कार्यालयको प्रगति विवरण माग्न थाले । हाकिमसाबले अफिसका गोप्य सूचनाहरु केशवले नै चुहाइरहेकोले अफिसमा नयाँ चुनौतिहरु सिर्जना भएको आशंका गरे ।

६ महिनापछि हाकिमको सरुवा हुने गाइँगुइँ हल्ला चल्न थाल्यो । एकातिर हाकिमलाई चित्तबुझ्दो सफाइ नै दिन नपाउँदै सरुवा भइदिए पछुतो भइरहने भयो भन्ठानी चिन्तित भयो केशव । अर्को मनले चित्त बुझायो काला गए सेता आउँछन् । अर्को हाकिमलाई त कसो रिझाउन नसकिएला र !

त्यसको दुईदिनपछि सुब्बा केशवबहादुरलाई उसकै नामको पत्र बुझाइयो ।

केशवले पत्रको ठेगाना हेर्‍यो आफ्नै अफिसको रहेछ । यो देखेर उसको मुटुको धड्कन एक्कासी बढेर आयो । उसले डराइ डराइ खाम च्यातेर पत्र हेर्यो ।

पत्रको बेहोरा थियोः

मितिः २०५०।०५।०५

विषयः- सफाइ पेश गर्ने बारे ।

 

सुब्बा श्री केशवबहादुर

जिविसको कार्यालय ।

 

       तपाईँ सुब्बा केशबबहादुर रावलले निसे ऐनको दफा ४१ देखि ५५ सम्मका आचारसंहिताहरुको बारम्बार उल्लंघन गरेको र नियमावलीको नियम १०५()क बमोजिम कार्यालयका महत्त्वपूर्ण सूचनाहरु अनधिकृत व्यक्तिलाई दिएको पाइयो । तसर्थ तपाईँलाई ऐनको दफा ६१ अनुसार सेवाबाट हटाउने वा बरखास्त किन नगर्ने ? बर्खास्त गर्नु नपर्ने कुनै कारण भए चित्तबुझ्दो कारणसहित २४ घण्टाभित्रै सफाइ पेश गर्नू । अन्यथा उक्त दफा ६१ अनुसार कारवाही भई जाने बेहोरा जानकारी गराइन्छ ।

                                     . द.

………………

 

पत्रको बेहोरा पढिनसक्दै केशवलाई आफू बसेको जमिन भासिएझैँ भयो । वरिपरिको दृश्य फनफनी रिङ्नथाल्यो । लडुँलालडुँला भएकोले आफूलाई थाम्नै मुश्किल भयो । एकछिन दुवै हातले टाउको अड्याई जमिनमा टुक्रुक्क बस्यो । उसले आफूलाई सम्हाल्न कोशिस गर्‍यो ।

उसको लागि कुन सफाइको इरादामा आफूलाई सम्हाल्दै आएको थियो, कुन सफाइ पेश गर्नुपर्ने दिन आइपुगेका थिए ! उसको हातबाट विभिन्न प्रकारका अफिसियल पत्रहरु तयार हुन्थे । हाकिमहरुलाई समेत नियम कानून र प्रचलनका कुराहरु सिकाउँथ्यो उसले र जटिल समस्या आइपरे उसैले कानूनका जराजरा उधिनेर प्रमाणिक पत्रहरु तयार गरिदिन्थ्यो । तर यस्तो प्रकारको आफैले लिखित सफाइ पेश गर्ने औपचारिक व्यहोरा भने आजसम्म उसले जाने सुनेको थिएन ।

पत्र पाइसकेपछि केही लागिहाल्छ कि भनी केशव पुनः बिन्ति बिसाउन पुग्यो हाकिमकहाँ । हाकिमले उसको अनुहारतिर नै नहेरी पत्र काटिसकेकोले पत्रको लिखित जवाफको मात्र सुनुवाइ हुने, बोलीको सुनुवाइ कुनै हालतमा नहुने भनेर केशवको कुरा सुन्न इन्कार गरे । ऊ निराश भई फर्कियो ।

एक मनले त भन्यो आफ्नै ठाउँ हो, ठेगान लगाइदिन्छु, जे पर्ला पर्ला । बातले नमान्ने भूतलाई लातले धपाउनुपर्छ ।

अर्को मनले आफू अब सक्दो सहनशिल हुनुपर्ने प्रण सम्झियो । आफ्ना जहान केटाकेटीको भविष्य सोच्यो । आफूले जागिर खाने आउँदा १५ वर्षको लामो अवधिलाई सोच्यो । अनि नजिकै रहेको जगभरिको पानी रित्त्यायो ।

हैन, हैन, मैले यसो गर्नुहुँदैन । मैले कदापि यसो गर्नुहुँदैन । अब मैले लेख्नैपर्छ । लेख्नैपर्छ । तर के लेख्ने ? कसरी लेख्ने ? हातहरु कामे । मुटु हल्लियो । लेख्न त औपचारिक जवाफ लेख्न खोजेको हो, तर सकेन । उसको दिमागमा ऐन कानूनका दफाहरु सबै स्वाट्टै हराइसकेका थिए । अनि लेख्न पुग्यो यस्तो पत्रः

 

मितिः २०५०।०५।०५

पूजनीय हाकिमसाब

दशणाम जोडी प्रणाम ।

 

मातहत हामी सबै कर्मचारीहरुको एक मात्र रक्षक भएकोले हामीहरुले पुज्नु पर्ने व्यक्ति हो हजुर । तसर्थ मैले हजुरलाई अझै पनि पूजनीय नै मान्छु र कर्मचारीको जागिरी खाँदासम्म आफ्ना हाकिमलाई पूजनीय नै मान्नेछु । मैले जे जति गरेँ यही अफिसकै लागि गरेँ । मेरो दोष कतै केही पनि छैन भएको प्रमाणित भएमा सहुँला बुझाउँला । मेरो केही गल्ती छैन हजुर ।

       मैले हजुरलाई रिझाउन धेरै प्रयास गरेँ तर सकिन । मैले हजुरजस्तो न नाम कमाउन सकेँ, न दाम कमाउन सकेँ । मेरो परिवार अझै बिचल्लीमै छ । हजुरले त सात जुनी सपारिसक्नुभो । मेरो यही एउटा जुनी हो । कृपया हातपाउ जोडी बिन्ति गर्छु, यही एउटा जिन्दगी पनि बिगारिदिनुभो भने मेरो आँशुको सराप लाग्ला मेरो जहान बच्चाको आँशुको सरापले पोल्ला । किनभने मेरो केही गल्ती छैन हजुर ।

       मलाई लाग्छ हजुरको पनि कुनै गल्ती छैन । म पत्याउन्न एकदुई वर्षको लागि मात्र जागिर खान आउनेले मेरो जीवनभरिको इमान्दारिता र कर्तव्य निष्ठताको सबै प्रमाणहरु संकलन र विश्लेषण गर्नसक्ला अनि उसको गल्ती ठहर्ला । हजुरको दिलमा शंकाको बीउ रोप्ने काम त्यो देशी चश्माले गरिदिएको हो । हजुरको चश्माले जे देख्नुभो वास्तवमा चश्मा खोलेर हेर्ने हो भने म त्यस्तो मान्छे देखिँदैनथेँ हुँला । लामो समयसम्म यस अफिसमा बस्नु मेरो रहर होइन बाध्यता हो । अन्यत्र सरुवा भइसक्दा पनि म हिँड्दा पटकपटक अफिसको वातावरण बिग्रिएकोले मेरो सरुवा यहीँ थमौती हुन्छ त म के गरुँ ? केही मान्छेहरुलाई यो चित्त बुझ्दैन । जागिरीमा इमान्दार मानिसहरुलाई खनीखेदो गर्छन् सबैले । ती मान्छेहरुले नै हजुरको कान भरिदिए । यसरी भरिदिए कि मेरो सफाइ अट्ने हजुरको कर्णस्थलमा ठाउँ नै बाँकी रहेन । यसमा हजुरको र मेरो दुवैको गल्ती छैन हजुर ।

सफाइ त मैले हजुर आउनैको दिनमा पेश गर्न खोजेको हुँ । अँहँ, हजुरले कहिल्यै सुनिदिने आवश्यकता ठान्नुभएन । हजुरको कान भरिएपछि र हजुरका आँखा देशी चश्माले थुनिएपछि मैले मेरो असली रुप कसरी देखाऊँ ? पहिल्यै सफाइ मागेको भए सायद सफाइको व्यहोरा धेरै फरक हुन्थ्यो होला । कम्तीमा ऐन कानूनका दफाहरु त कोट्याउनुपर्दैनथ्यो । मेरो केही गल्ती छैन हजुर ।

मैले सफाइ पेश गरेर हजुरले सफाइ दिए पनि कुनै अर्थ देख्दिन म । हजुर सरुवा भएर गएपछि अर्को नयाँ हाकिमलाई पनि त्यही चश्मा लगाएर पठाइदिनुहुनेछ । अर्कोको सरुवा हुँदा फेरि यही अनावश्यक सफाइ पेश गर्ने मारमा पर्नेछु म । म यी चश्माका हेराइहरुबाट हार खाइसकेँ । जसले न्याय दिन सक्दैन, उसले दिन सक्ने बाँकी चिज भनेकै अन्याय हो । तसर्थ मैले त्यही पाएँ । हजुरहरुले त्यो चश्मा लाउन नछाड्ने, त्यस चश्माबाट न्याय देखिँदै देखिँदैन त म के गरुँ ? मेरो केही गल्ती छैन हजुर ।

हजुरको कारवाहीबाट म पुनरावेदनमा त जाउँला, तर त्यहाँ पनि मेरो पहुँच छैन । भन्छन्, त्यहाँ बस्नेहरुले झनै गाढा चश्मा लगाउँछन् रे । तस्बीरमा पनि मैले त्यस्तै देखेको छु ।

बरु मलाई कारवाही गरिहाल्नुभन्दा म राजिनामा दिन्छु हजुर । मेरो राजिनामा स्वीकार होस् । हजुरको जय जय होस् । हजुरको देशी चश्माको जय जय होस् ।

 

हजुरको सदा आज्ञाकारी

उही सुब्बा केशवबहादुर

 

उल्लिखित बेहोराको चिठ्ठी नदीरामले हाकिमलाई बुझायो ।

हाकिमसाबले चिठ्ठी खोलेर हेरे । पहिलो एक प्याराग्राफ र अन्तिमको एक प्याराग्राफ पढेपछि बाँकी पढ्ने धैर्यता रहेन उनीमा । चिठ्ठी कच्याककुचुक पारेर थुकेर डस्टबिनमा मिल्काइदिए । केशवका सफाइका हिक्काहरु धेरैबेरसम्म हाकिमसाबको छेउमै रहेको डस्टबिनभित्रै निशब्द हिक्लिक हिक्लिक गरिरहे ।

हाकिमले बलबहादुरलाई बोलाएर भनेः “ल दफा ६१ अनुसार सुब्बा केशवबहादुरलाई कारवाही अघि बढाउन टिप्पणी अहिल्यै उठाइहाल ।”

“हस् हजुर !” भन्दै बलबहादुरले निर्णयको लागि नेपाली कागजमा टिप्पणी कोर्न थाल्यो ।

सुब्बा केशवबहादुर भने इमान्दारितापूर्वक जिन्दगी गुजारेको आफ्नै अफिसको प्रतिक्षालयमा बसेर आफ्नी स्वास्नीलाई अविरल आँशुले कागज भिजाउँदै अर्को चिठ्ठी लेख्नथाल्यो ।

(कथावस्तु र पात्रहरु पूर्णतया काल्पनिक हुन् । कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ ।)

 

२०७२ कार्त्तिक

755 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *