देब्रे गोलीगाँठोको चोट

“ऐया ! मरेँ नि !!!”

बाथरुमबाट आफ्नै श्रीमतीजीको रोदन मिश्रित करुण चित्कार बाहिर निस्किई परपरसम्म प्रतिध्वनित हुनपुग्यो ।

त्यतिबेला मैले पत्रिका हेर्दै थिएँ । केही अनिष्ट हुन पुगेको आशंकाले त्यो पत्रिकासत्रिका त्यतै मिल्काएर म हतास हुँदै बाथरुमतिर कुदेँ । बाथरुमको ढोका भित्रबाट चुकुल लगाइएको थियो । मैले ढोका ढकढकाउँदै चिच्याएँ, “के भो देवु ? ढोका खोल छिटो ।”

म धेरैबेरसम्म कराउँदा पनि न भित्रबाट कुनै आवाज आयो, न त ढोका नै खुल्यो । श्रीमतीजी हप्तादिनसम्म मैलिएका परिवारका लुगाको थुप्रो बोकेर धुनको लागि बाथरुम छिरेको त्यस्तै पन्ध्र मिनेटजति भएको थियोहोला । लुगा धुँदा बाथरुम बढी नै चिप्लो हुनेगर्दथ्यो । अतः दुर्घटनाको पूर्वाभाषले गर्दा मेरो होश हवास गुम्न थाल्यो । अनि कोठाको चारैतिर ढोका फोर्न मिल्ने साधन खोज्न थालेँ । भर्याङमुनि एउटा घन भेटियो । त्यही घन उचालेर बाथरुमतिर कुदेँ ।

म बाथरुम नपुग्दै बाथरुमको ढोका खुलिसकेको रहेछ । विस्मित हुँदै ढोकाभित्र हेरेँ, श्रीमतीजी सामान्य अवस्थामै कपडा धोइरहेकी थिइन् ।

घनलाई भुइँमा राख्दै मैले प्रश्न गरेँ, “किन चिच्याएको त्यसरी ? के भो ? मैले त के के न भो भनी तर्सिएर ढोका फोर्न घन नै ल्याएको थिएँ !”

उनले मुस्कुराउँदै जवाफ दिइन्, “केही होइन । लुगा धुँदै गर्दा कुइनो भित्तामा ठोक्किन पुगेछ । शरीरभरि करेन्ट लागेजस्तै भएर सहनै नसक्नेगरी दुख्यो र अलिबेर त बेहोसै भएँ ।”
मेरो मुटुको ढुकढुकीको तिब्रता अझै सेलाउन पाएको थिएन ।
“त्यति जाबो कुरामा पनि अर्काको सातो खाइदिने ? बदमाश लाटी !” भन्दै मैले हातको पञ्जाले उनको गालामा झ्याम्म हिर्काइदिएँ ।”

मेरो हिर्काइको चोट उनको गालामा हल्का लागे तापनि दिलमा अलि बढी नै लागेछ क्यारे अहिले भने उनी सुँकसुँकाउँदै रुन थालिन् ।

केही दिनपछि म बाथरुम छिरेको बेला चिप्लेर मेरो कुइनो बाथरुमको भित्तामा ठोकिन पुग्यो र श्रीमतीजीले बेहोरेको त्यही दुखाइ मैले पनि बेहार्नुपर्यो । बल्ल मलाई थाहा भयो कि कुइनाको चोट कति पीडादायक हुन्छ र त्यो पीडा कति छिटो विलिन हुन्छ भन्ने कुरा । मनमनै श्रीमतीसंग त्यस घटनाको लागि क्षमा माग्ने निधो गरेँ । तर बाथरुमबाट बाहिर निस्कन नपाउँदै त्यस प्रायश्चितको भावना मेरो दिलबाट गायब हुन पुग्यो र त्यसको ठाउँ रिसले ओगट्न पुग्यो । अनि, ‘बाथरुम सफा नगरी चिप्लो बनाएकोले आफूलाई चोट लागेको’ भन्दै श्रीमतीजीलाई नै बेशमारी गाली गरेँ ।
धेरै वर्ष अगाडिको घटना हो यो । यसैसंग मिल्दोजुल्दो घटना फेरि दुई हप्ता अगाडि दोहोरियो र म गम्भीर घाइते हुन पुगेँ । यसबेला मलाई घाइते तुल्याई मैले बेशमारी गाली गर्नुपर्ने व्यक्ति मेरा नजिक कोही पनि छैनन् । त्यही घाउले गर्दा मेरो बायाँ खुट्टा बेलाबखत सहनै नसक्नेगरी दुख्ने गर्दछ । खासगरी सुतेको बेला, धेरै आराम गरेको बेला वा धेरै हिँडेको बेला । दुई हप्ता पहिले लागेको चोटले मुटुसम्म पीडाबोध गराउँदा चिच्याउने गर्छु, “ऐया ! मरेँ नि !!”

तर मेरो चित्कार सुनिदिने कोही पनि छैनन् यहाँ । मेरो आवाज एउटा समाजरुपी बाथरुममा संवेदनाहिन ढोकाको भित्रबाट स्वार्थरुपी चुकुल लगाई बन्द गरिएको छ । मेरो चित्कार त परपरको समाजसम्म सुनिन्छ, तर कोही पनि त्यो ढोका फोर्न घन लिएर दौडिन तयार छैन ।
सुनून् पनि कसले ? सबै मान्छेहरु संवेदनाशून्य भैसकेका छन् । सबैलाई अरुभन्दा अझ बढी सुखसयल पूर्वक बाँच्नुपरेको छ । बढी सुखको लागि बढी श्रोत सम्पत्ति जम्मा गर्नुपरेको छ । श्रोत आकाशबाट असिमित रुपमा बर्सिने भए त ठीकै थियो, मान्छेहरु आकाशकै भर पर्थेहोला । तर त्यसो नभई श्रोत हाम्रै समाजमा छ, हाम्रै गाउँमा छ, हाम्रै परिवारमा छ र हामीभित्रै सीमित रुपमा उपलब्ध छ, जो पहिल्यै अर्को कसैको छ । त्यही सीमित श्रोतलाई आफ्नो भागमा पार्न अर्काको भागमा आँखा गाड्नै पर्यो । अर्काको भाग खोस्नै पर्यो । अर्कालाई श्रोतविहिन पार्नै पर्यो । त्यसैले त मान्छेहरु संवेदनाहिन रुपमा स्वार्थप्रेरित काम गरिरहेका छन् ।

यो कुरा सबै प्रकारको पेशा गर्नेहरुको हकमा लागू भएतापनि बढी रुपमा यातायात व्यवसायीहरुमा लागू हुन्छ जस्तो लाग्छ हाम्रो जस्तो देशमा । अस्वाभाविक भाडा असुल गरेर हुन्छ कि, यात्रीहरुलाई अभद्र व्यवहार गरेर हुन्छ कि, दिदीबहिनीसंग बसेर सुन्नै नमिल्ने गीतहरु घन्काएर हुन्छ कि, यात्रीको अमूल्य समय गाडीमै कोचेर बर्बाद गरेर हुन्छ कि, ४० जनाको सिटमा १४० जना कोचेर हुन्छ कि, लापरवाहीवश् दुर्घटनामा पुर्याई जीउधन नष्ट गरेर हुन्छ कि न्यूनतम् मानवीय संवेदनाको पराकाष्ठा नाघेर भएपनि यिनीहरुले नाफा कमाउनै परेको छ ।

दुई हप्ता अगाडि म पनि यिनैको शिकार बन्नपुगेँ । म अचानक सडकमा लडेँ, पाइन्ट च्यातियो, हत्केला, घुँडा लगायत शरीरभरि घाउनैघाउ भयो । घाउबाट धेरै रगत बग्यो । यसबाट गाडीवालालाई के फाइदा पुग्यो होला ? सिर्फ ३० सेकेन्ड छिटो रित्तोगाडीलाई बसपार्क पुर्याउन सफल भएकोले १० एमएल डिजेलको बचत हुनगयो गाडीवालालाई ।

मेरो पनि कमजोरी थियो होला दुर्घटना हुनुमा । मैले काठमाण्डौमा २ वर्षसम्म बाइक चलाए पनि यता आएदेखि बाइक छोएकै थिएन । अतः हातको सफाइको लागि एउटा पुरानो बाइक लिएर सडकमा निस्केको मात्र थिएँ ।

सडकको स्तरोन्नति भइसकेकोले म मात्र होइन बाइक सिक्न खोज्नेहरु थुप्रै भेटिन्छन् सडकमा । बाइक सिक्नको लागि उपयुक्त ठाउँ पनि छैन अन्त । अरुहरु बाइकमा सरर कावा खाँदै बतासिएको देख्दा जोकोहीलाई पनि जोखिम मोलेर भए पनि सिक्ने कुतकुती जाग्दछ । यो कुरा थाहा छ प्रत्येक गाडीवालालाई । तर उनीहरु संवेदनशिल भएर गाडी चलाउनुको सट्टा प्रत्येक स्टपमा आधा घण्टाभन्दा बढी रोक्ने तर अर्को गाडीले उछिन्न थालेपछि तँछाडमछाड गर्दै घुम्ती नै घुम्ती भएको सडकमा ७० किमि प्रतिघण्टाको दरले कुदाउन होडबाजी गर्छन् । दुई गाडी सजिलै पार हुने चौडाइको पनि छैन सडक । यो कुरा सबैलाई थाहा छ । अनि कुनै दुर्घटना निम्तिएपछि मात्र होहल्ला गर्ने चलन छ यतातिर ।
त्यही एउटा गाडीले अर्को गाडीलाई हठात् ओभरटेक गर्दाको शिकार बनेँ म । म बाइकबाट लडेपछि उठाउनसम्म आवश्यक ठानेनन् चालक र सहचालकले । गाडी चालकहरु संवेदनाशून्य अट्टहास छोड्दै आफ्नो गन्तव्यतिर हानिएको केही बेरपछि मात्र बल्लतल्ल म उठेँ ।

आफैलाई लाज लागेर आयो । कसैलाई पनि यस दुर्घटनाको खबर गरिन । मेरा दुवै गोडाका गोलीगाँठाहरुमा गहिरो चोट पुगेको मलाई मात्र थियो । देब्रे गोडाको भन्दा दाहिने गोडाको गोलीगाँठाको चोट धेरै ठूलो थियो । म दाहिने गोडा खोच्याउँदै अफिस पुगेँ । धन्न चिनेका कसैले बाटोमा भेटाएनन् र भेट्टाएकाले के भयो भनी सोधेनन् ।

म त्यसपछि काठमाण्डौ प्रस्थान गरिसकेकोले मेरो पीडा अरुबाट ओझेल बनाउन मलाई ठूलो मद्दत मिल्यो । देब्रे गोडाको घाउ छिट्टै सुक्यो र दुखाइ पनि छिट्टै घट्दै गयो तर दाहिने गोडाको घाउ सञ्चो हुन धेरै समय लाग्यो । अन्ततः करिब दुई हप्ताको अन्तरालमै संवेदनाशून्य मान्छेहरुको अगाडि हस्सीमज्जाकको पात्र हुनबाट म जोगिएँ ।

देब्रे गोडाभन्दा दाहिने गोडालाई बढी भार पर्ने हुँदा सञ्चो हुन समय लाग्दछ भन्ने कुरा सुनेको थिएँ । त्यसै भयो पनि । मैले देब्रे गोडाको घाउ कम नै भएकोले उपचारमा पनि कमै प्राथमिकता दिएँ । त्यसको बदला दाहिने गोडाले नै बढी उपचार पायो । दाहिने गोडाकै बढी हिफाजत गरियो । दाहिने गोडालाई नै बढी आराम गराउँदा दुवै खुट्टाको सम्पूर्ण भार देब्रे गोडालाई पर्नगयो ।
जब म लड्न पुगेँ । देब्रे गोडाको गोलीगाँठामा करेन्ट लागेझैँ झड्का दिएको थियो शरीरभरि । तर त्यो झड्का केही क्षणमै बिलाउन पुगेको थियो । घाउ हेर्दा देब्रे गोलीगाँठोमा धेरै चोट नपरेको जस्तो देखियो । चोट बढी नै परेको पनि अनुमान गर्न सकिन, किनकि न घाउ थियो, न दुखाइ थियो, मानौँ, यस गोलीगाँठोले सानाोतिनो चोट सहन बानी परिसकेको छ । तर दायाँ गोडा “दुखाइ बढी भयो, सहन सकिन” भन्दै हप्तौँ दिनसम्म ऐया र आत्थु गर्दै अलापविलाप गरिरह्यो । जसले अलापविलाप गर्यो उसैलै नै संहानुभूतिहरु पायो । मेरो गोडाको दुवै घाउहरु हेर्न् जोसुकैले पनि जीब्रो टोक्दै भन्ने गर्दथे, “ओहो ! दायाँ गोलीगाँठोमा त बढी नै घाउ पो छ त ! कसरी हिड्न सकेका छौ ? दायाँ गोलीगाँठाको बढी ख्याल गर है ।” तर कसैले पनि दायाँ गोलीगाँठोको चोट र भार दुवै सहने अहिले देब्रे गोलीगाँठो हो भनी सहानुभूति प्रकट गरेनन् । मैले पनि सँधै त्यही रुपमा लिइरहेँ ।

त्यसो गरे वापतको सजाय मैले अहिले भोगिरहेको छु । अहिले देब्रे गोडाको पीडा फरक छ । त्यो दाहिने गोडाको दुखाइभन्दा अत्यन्तै भयानक छ । देब्रे गोलीगाँठा दुखिराख्दैन, तर कुनैकुनै बेला मात्र यसरी दुख्छ, मानौँ, मेरा प्राणपखेरु अब्बै उड्दैछन् । यो दुख्दा मेरो टाउकोको नसानसामा सिर्का हान्छ । मुटुमा सियोझैँ घोप्छ । कान बेजोडले कराउँछन् । आँखा रुँदैनन् तर बरबर पीडाको रस निकाल्छन् । मुख सुकेर प्याकप्याक्ती पार्छ । जीउभरिबाट खलखल्ती पसिना बग्दछन् । त्यसको पीडा दाहिने गोडासम्म पुग्दछ र देब्रे गोडा लमतन्न परेर आलसतालस गर्दा दाहिने गोडा हठात् खुम्चन्छ ।
काठमाण्डौबाट यता फर्किसकेपछि जब कोठाभित्र छिरेँ च्यातिएको पाइन्टले मलाई गिज्यायो । मलाई झनक्क रिस उठेर आयो र त्यस पाइन्टलाई झोलामा कोच्न तम्सिएँ । झोलामा कोच्दा पाइन्टका दुबै बाहुलातिर आँखा पर्यो र जे देखेँ त्यसले मलाई देब्रे गोलीगाँठोको सहनशिलताप्रति एकपटक फेरि कृतज्ञताबोध गरायो ।

पाइन्टको त देब्रे बाहुला नै धेरै खजमजिएको र धेरै च्यातिएको पो रहेछ !!!!!!!

अहिले म प्रायश्चितको भूमरीमा रुमल्लिन्छु, ‘कठै ! मैले किन देब्रे गोडाको उपेक्षा गरेँ हुँला ?’
तर यस प्रायश्चितको भाषा बुझ्नेवाला छैन मेरो देब्रे गोलीगाँठाको चोटले । कहिलेसम्म म यो भयानक पीडाको शिकार बन्नुपर्ने हो ? भन्न सकिन्न ।

910 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *