दुर्गा र पैँसा

व्यवस्थापन समितिको बैठक समाप्त भएलगत्तै अध्यक्ष हिराचन्द्र मल्ल लगायतका अन्य सदस्यहरु बाहिरिए । एकछिनपछि मैले पनि शिक्षकहरुसँग एउटा प्रस्ताव राखेँ: “भोलि, म दुर्गालाई भित्र्याउँदैछु ।”

“ल्याउनुपूर्व राम्रोसँग सोचबिचार त गर्नुभएकै होला ? मतलब एक विवाहितलाई पर्नसक्ने पारिवारिक वा सामाजिक प्रभाव ?” जितबहादुरजीले नपत्याएझैँ गरी व्यङ्ग्य मुस्कानसहित मण्टो अर्कोतिर बटारे ।

“बिचरी सोझी भाउजूको के हाल हुने हो अब ?” पहलजीले दशकक्षाको हाजिरी रजिष्टर हल्लाउँदै खितितिति हाँसे । पहलको ज्यानै मीठो । ज्यानभन्दा पनि हाँसो झनै मीठो छ । पहल बाहिरिएपछि पाँच कक्षाको हाजिरी रजिष्टर हातमा लिएर चन्द्रबहादुर उठेः “म त यो कुरा तपाईँको घरमा आजै नपुर्‍याई छोड्नेछैन । हेरौँला, कसरी ल्याउनुहुँदो रहेछ ?”
चन्द्रबहादुर मात्रै पैँतीस कटेका शिक्षक थिए, बाँकी हामी सबै कुकुर-पुच्छरे बैँसका थियौँ । हामीबीच यस्ता छेडछाड हुनु स्वाभाविक थियो । तर हामीभन्दा धेरै जेठा ठहरिएका चन्द्रबहादुर यस्ता कुराहरुतिर झन् हौसिँदा ईर्ष्या जाग्थ्योः यिनी त बूढा भएनन् र अझै ?

यसैगरी बाँकी शिक्षकहरुले एकएक व्यङ्ग्यको झटारो मतिर फ्याँक्दै आआफ्नो कक्षाकोठातिर लागे । कुकुरको पुच्छर बाङ्गिएको देखेर दिनभरि हाँसो थाम्न नसक्ने खालका न थियौँ हामीहरु !
जितबहादुरको पहिलो पिरियड थिएन । अफिस कोठामा उनी र म मात्र बाँकी रह्यौँ ।

मलाई अलि बढी नै चिन्तित मुद्रामा रहेको देखेपछि जीतबहादुर मेरो नजिक सरे र मेरो भाव पढ्दै मुसुमुसु हाँस्न थाले । उनको हाँसो मजस्तो युवकलाई समेत ठहरै पार्ने खालको थियो । उमेर नै त्यस्तै भएकोले हामीबीच यस्ता खालका ठट्यौलीहरु कहिलेकाँहि चल्ने गरेका थिए । अधिकाँशत: तत्कालीन नविन राजनीतिक अनुशासनका कठघराभित्रै हुलिएका हुन्थ्यौँ ।

मैले अलि गम्भीर हुँदै भनेँ : “शाहसर, आज चाँहि मैले ठट्टा गरेको कदापि नठान्नुहोला । धरोधर्म, सत्य कुरा भन्दैछु । मेरो वास्तविक जीवनको अविस्मरणीय घटनासँग सम्बन्धित छ यो । त्यसैको घाटाको सर्वोत्तम क्षतिपूर्तिको लागि दुर्गालाई ल्याउनैपर्ने भयो । म विवश् छु ।”
मैले दुर्गालाई ल्याएपछि हुने मेरो तथा उनको भूमिकाको सम्बन्धमा जीतबहादुर शाहजीलाई बेलिबिस्तार लगाएँ । अव्यक्त घटना भनिदिएपछि उनलाई त्यस घटनाको बारेमा झनै चासो बढ्ने नै भयो र उधिनपत्ताल पार्न खोजे । तर मैले उनलाई मरिकाटे भनिन । सबैलाई भन्दै हिड्ने खालको सामान्य घटना भए पो भन्नु त्यो । मैले मेरै आमा र सम्पूर्ण परिवारबाटै आजसम्म लुकाउँदै आएको थिएँ त्यो घटना ।

र, त्यो घटना घटेको सात वर्ष पुगिसकेको थियो । घटना घट्नुपूर्व उनी र मबिचको दुईतह तलमाथिको जो सामाजिक साइनो थियो अकस्मात घटित घटनापश्चात् उनको लागि कहाँनेर अड्किएको थियो मलाई कहिल्यै थाहा भएन । तर, मेरो तर्फबाट भने त्यो साइनो हुत्तिएर निकै पर पुगेको अनुभव गरिरहेको थिएँ ।
त्यसबेलादेखि उनलाई परै आएको देखेपछि मेरो मुटु ढुकढुक गर्न थालिहाल्थ्यो, आँख्लामुख्ला गलिसक्थे र कि त म हिँडिरहेको बाटोबाट मोडिन्थेँ, कि त उनलाई नदेखेझैँ गरेर टाउको निहुराउँदै हिडिदिन्थेँ । बाटोमै भेट्दा त केही थिएन, उनी घरमै आएको बखत बडो मुसिवत् पर्थ्यो र मलाई कता भागूँ, कहाँ भागूँ भैरहन्थ्यो । आमाले त “जीउ” गर्नुपर्ने मान्छे जीउ गर् भन्नुहुन्थ्यो । म उनको मुखतिर नहेरेर हातमा ढोगिदिन्थेँ । यस प्रकारको बाध्यताले गर्दा म सधैँ बेचैन हुन्थेँ । तर कसैलाई भनिहाल्न भने झन् झन् गाह्रो हुँदै गइरहेको थियो ।

यो समस्याको जरैदेखि समाधान गर्ने उपायहरु खोजी हिँडेको वर्षौँवर्ष भैसकेको थियो र मेरो मन शान्त पार्ने कुनै भरपर्दो उपाय भेटिरहेको थिएन । समयले मेरो लागि घाउ पुर्नुको सट्टा झन् झन् आलो तुल्याउँदै जाँदो थियो । घटनाको प्रकृति अत्यन्तै गोपनीय थियो । जुन घटनाको कारक मै हुँ भन्ने विषयमा अर्को पक्ष दुर्गालाई समेत थाहा नहुन सक्थ्यो । वा, थाहा भएरै पनि हाम्रो इज्जतदार कूलघरमा त्यसको आभाष नदिनको लागि लुकाउँदा लुकाउँदै उनी समेतले अहिलेसम्म बिर्सिसकेको हुनुपर्थ्यो ।
त्यस यता मुग्लुखोलामा धेरै भेलहरु सुकिसकेका थिए । तर त्यसैबेलादेखि मेरो मनमा उर्लिएको भेल कसैगरी थामिएको थिएन । तसर्थ दुर्गालाई ल्याएर आफैसँग राख्नु मेरो बाध्यता नै भएको थियो ।
०००
दिनदिनै चन्द्रबहादुर र म सोलाबाङदेखि सिम्रुतुसम्म ओहोरदोहोर गरेर जागिर खाइरहेका थियौँ ।
मैले शिक्षकहरुसँग प्रस्ताव राखेको भोलिपल्ट चन्द्रबहादुर अघिअघि, म पछिपछि र बीचमा दुर्गालाई राखेर स्कूलमा प्रवेश गर्‍यौँ । हामीतिर कसैको नजर परेन । स्कूलको प्रार्थनाको लामो घण्टी बजेपछि विद्यार्थीहरु लाइन लागे । मैले दुर्गालाई ‘आज लाइन लाग्नुपर्दैन’ भन्दै अफिस कोठामै राखेँ । प्रार्थना सकिएपछि शिक्षकहरु जति अफिस कोठामा जम्मा भयौँ ।

आज दश कक्षाको रजिष्टर पहलले तान्नुको सट्टा चन्द्रबहादुरले तानेर केही लेखे, अनि उठ्दै सबैलाई चकित पार्ने शैलीले ती नवागन्तुक दुर्गासँग शिक्षकहरुको परिचय गराइदिएः
“हाम्रो हेडसरले हिजै प्रतिज्ञा गरे अनुसार आज यहाँ भित्र्याइएकी उहाँकी नयाँ दुलही हुनुहुन्छ, दुर्गाकुमारी ! सरि ! सरि….. … !” चन्द्रसर हाँसो थाम्न नसकेर अगाडि बढ्नै सकेनन् ।
अब पेट मिचिमिचि हाँस्ने पालो शिक्षकहरुको थियो । अकस्मात विष्फोट भएको हाँसोको फोहराले गर्दा अफिस कोठाको माटोढुङ्गाको भित्ता नै लड्ला जस्तो भइदियो । कुकुरकै पुच्छर बाङ्गिएकैमा गम्भीर प्रश्नचिन्ह उठाउने साथीहरुलाई त्यति ठूलो कुरामा हाँसो नउठ्नु कहाँ सम्भव थियो र ? अर्थात् मभन्दा पन्ध्रबीस वर्ष जेठी, अग्ली न अग्ली, मोटी न मोटी, भद्दा जीउकी, पुरुष भेषमा सुसज्जित मेरी नयाँ दुलही देखेपछि ?
स्कूलभित्र पिरियडमा सीमित गरिएको समयका मसिनामसिना भुवाहरुलाई समेत हाँसोले उडाइरहेको थियो ।

“अब पुग्यो, पुग्यो ! तपाईँहरु जानुस् आआफ्नो कक्षामा ।” मैले गम्भीर लवजमै उर्दी जारी गरेँ, “अनि, पहल सर, तपाईँले उहाँलाई लिएर दश कक्षाको कोठामा बस्ने व्यवस्था मिलाइदिनुहोला ।”

‘दुर्गा’ पहिल्यैदेखि मुसुमुसु हाँसिरहेका थिए । चन्द्रजीले ठट्टा गर्दै मेरी दुलही भनी सम्बोधन गरिएकी उनी कुनै कुमारी नभई पुरुष ‘दुर्गाबहादुर ओली’ थिए पँतीस-चालीस वर्षजतिका ।
हाम्रो केही दिन अघिदेखिको ख्यालठट्टा यसरी यथार्थतामा रुपान्तरित भएको थियो ।
त्यो उमेरमा उनलाई आफ्नै कक्षामा पढ्नथालेको देखेपछि सोह्र-सत्रका विद्यार्थीहरुको केही दिनसम्म ध्यान भङ्ग हुनु कुनै अनौठो कुरा थिएन ।

०००

दुर्गा अब निरन्तर रुपमा विद्यालयमा आउन थालेका थिए । निरन्तर भन्नाले हप्तामा तीनदिन । उनको नियमित पढाइ शुल्क लगायत विविध शुल्कहरु मैले नै तिरिदिन्थेँ । अतिरिक्त क्रियाकलापहरुमा उनलाई अनिवार्य रुपमा भाग लिन लगाउँथेँ । किताबकापीको समेत मैले नै बन्दोवस्त मिलाइदिन्थेँ । यो वापत कहिलेकाँही आफैले जालमा थापेका माछाहरु चखाउँथे दुर्गाले । दुर्गा स्कूल आउन थालेदेखि दशकक्षामा अरु विद्यार्थीहरु पनि ह्वात्तै बढेका थिए ।

उनलाई पढाइदिन थालेपछि मलाई फाइदाको कुरा अर्को थियोः साविकको आकाश पात्तालको साइनोको समानता । अब मैले उनको हात तानेर ढोग्नुपर्ने अवस्था रहेन । बरु कहिलेकाँहि बाटोमा उनीसँग साथै आइएन भने स्कूल पुग्दा अरु शिक्षकसँगसँगै मैले नै बाजे नाता पर्ने दुर्गाबाट ढोग खान थालेको थिएँ । हामीबीचको ढोगभेटको असहजता पनि विस्तारै हट्दै गयो ।

त्यसो त दुर्गा मेरो स्कूलका विद्यार्थी मात्र थिएनन्, उनी निमावि सोलाबाङका प्रावितहका शिक्षक पनि थिए । त्यतिखेर उनले आठकक्षाको सर्टिफिकेटले जागिर खाइरहेका थिए । शिक्षा नीतिमा फेरबदल हुँदै थियो र आठ कक्षा मात्र पढेका शिक्षकहरु हटाउने नीति आउँदै छ भन्ने हल्ला फिँजिएको थियो । उनको जागिर नै धरापमा परेको थियो ।
उनको यो अवस्था थाहा पाएपछि मैले उनको घरमै जाने साहस गरेँ । उनी यति बेपरबाह थिए कि आफ्नो जागिरीको स्थायित्वसँग समेत एकरत्ति मतलब थिएन ।

मैले उनको समस्या बताउँदै भनेँ : “दुर्गा बाजे, जाऊँ मेरो स्कूलमा । म तपाईँलाई मुफतमा पढाइदिन्छु र टेष्ट पाससम्म गराइदिन्छु । एसएलसी पास गर्न सक्ने नसक्ने तपाईँकै हातको कुरा हो । यसले गर्दा अब जानै थालेको तपाईँको जागिर बच्नेछ ।”
“म त बूढो भैसकेँ अब, के सकूँला र ? भैगो जागिर गए जाओस् ।” दुर्गासरको सहज जवाफ आएको थियो ।
“हैन, त्यसो नभन्नोस् । तपाईँका जहान छोराछोरीहरु पनि छन् । जीवनयापन सजिलो हुन्छ । ढुक्क हुनुहोस् तपाईँको जिम्मा मैले लिने भएँ ।”

मेरो करकापले उनी तयार भैहाले र भोलिपल्टदेखि नै मेरै स्कूलमा दश कक्षामा पढ्न पनि थालिहाले । बाँकी दिन आफैले पढाउनुपर्ने स्कूल जान्थे उनी । पढ्ने पनि र पढाउने पनि डबल भूमिका यताउता गरेर मिलाएका थिए । उनी आफै शिक्षक भएको हुँदा उनलाई अरु विषय पढाउनु उति गाह्रो थिएन । तर गणित विज्ञान र अंग्रेजी भने उनका लागि पार नलाग्ने विषय थिए । जो मैले कनीकुथी पढाइरहेको हुन्थेँ । त्यसो त दुईतीन विषय लागेकोले प्रमोटेड पास हुन पाउनु त्यतिबेलाका विद्यार्थीहरुको अधिकार क्षेत्रभित्रै पर्दथ्यो ।

उनको मिहेनत र मेरो सल्लाहले उनले दश कक्षा पनि उत्तीर्ण गरे । त्यो पढाइले उनको जागिरीको स्थायित्वमा मदत गर्‍यो । त्यसबाट परेको पारिवारिक सामाजिक तथा आर्थिक प्रभावहरु मूल्याङ्कन गर्ने हो भने अनगिन्ति हुनुपर्छ ।

के कारणले उनलाई पढ्न करकाप गरेको थिएँ मैले ? दुर्गा स्वयमलाई त्यो घटना बारे अद्यापि थाहा नहुन सक्छ । उनलाई मात्र होइन त्यो अव्यक्त घटना बारे मेरो घरमा र गाउँमा कसैलाई पनि अद्यापि सुइँपत्तो नै छैन ।

०००

मैले एसएलसी पास गरेपश्चात् एकचालीस सालतिर मुसीकोटस्थित मर्निङ क्याम्पस धाइरहेको थिएँ । मेरो बाटो कयनपानी, दमदमे बोरागाउँ हुँदै खलंगासम्मको हुन्थ्यो । त्यसबेला लोकबहादुर, भक्तबहादुर मेरा अन्तरङ्गी साथीहरु (हाल जेठानहरु) थिए । एकदिन साथीहरुलाई पर्खँदापर्खँदै नआइदिएपछि म कयनपानीतिर नलागेर सिधै उत्तरपश्चिमपट्टिबाट जान बाध्य भएँ । अँध्यारोमा एक्लै कयनपानीको बाटो हिँड्दा स्याल लुक्ने जब्राहरु भेटिने भएकोले डर लाग्थ्यो र अर्को बाटो जाँदा माथि उक्लिउन्जेलसम्म गाउँ पर्दथ्यो । त्यो बाटो गाउँबुराको घर (हाल दिदी), बफेल्ना जेठाको घर (हाल जगत), नदीरामको घर हुँदै बाग्दुले कान्छा (दुर्गासर) को घर बाट उकालो चढेर माथि कुला पुगिन्थ्यो र दाउरी काट्नेको सालघारी हुँदै बोरागाउँ निस्कन्थ्यो ।

झुसमुक बिहानीको बेला थियो । म दुर्गासरको घरको आँगनबाट अगाडि बढिरहेको थिएँ । आँगनभन्दा पन्ध्र बीस पाइला अगाडि बढ्नेबित्तिकै बाटोको छेउमा कुनै नयाँ कागजमा मेरा आँखाहरु अड्किए । तिनताक कागजप्रति अत्यन्तै मोह उब्जिएको थियो मेरो । उठाएर हेरेँ कागजका नोटहरु पो रहेछन् । नोटको पहिचान हुनेबित्तिकै म बेसरी अत्तालिएँ ।
एकमनले भन्यो, ‘दुर्गा सरकै पैँसा होलान् फर्केर घरभित्र पुर्‍याइदिइहालूँ ।’ उनको घरतिर हेरेँ घर सुनसान थियो । सखारै भएकोले होला कोही ब्यूँझिएका थिएनन् । अर्को मनले भन्यो, ‘आँगनभन्दा धेरै अगाडि बाटोमा त्यो पैंसा खसेकोले उनको नहुन पनि त सक्छ । उनले ‘अरुकै पैँसालाई आफ्नै हो भनिदिए भने के गर्ने ?’

ढिला भइरहेको थियो, क्याम्पस पुग्नु नै थियो । म दोधार दोधारमा क्याम्पस पुगेँ ।
मैले त्यस अघि आफ्नै आमाबाको खल्तीबाट समेत पैँसा चोरी गरेको थिइन । अतः अकस्मात उपस्थित परिबन्दले त्यस दिनको क्याम्पसको पढाइमा पटक्कै ध्यान जाने सकेन । मन त अन्तै थियो । एकमनले उक्साइरहेको थियो, पैँसा जहाँ भेटाएको थिइस् त्यहीँ लगेर मिल्काइदे । अर्को मनले भन्थ्योः समस्याको समाधान त्यो होइन । जसले हराएको हो त्यसले नै पाउँछ भन्ने के ग्यारेन्टी छ र ?
आफूले कुनै निर्णय गर्न नसकेपछि भेट्टाएका पैँसा गोजीबाट निकाल्न नै सकिन दिनभर । बेलुका घरमा आएँ र स्वाँस्वाँ गर्दै “सालघारीमा भेट्टाएको पैँसा !” भनी आमालाई बुझाइदिएँ । आमाले पैँसा गन्न थाल्नुभयो । एउटा पचास, तीनवटा दश र एउटा पाँच रुपैँयाको काँचा नोटहरु थिए । त्यति पैँसाले त्यसताका दुई धार्नी घ्यू आउँथ्यो ।

आमाले कहाँ भेट्टाएको थिइस् भनी दोहोर्‍याइ तेहेर्‍याइ सोध्नुभयो । गाउँमा भेट्टाएको भनूँ भने चोरीको शंकामा परिएला भन्ने डर लाग्यो । अतः आमालाई समेत ढाँट्दै दाउरी काट्ने सालघारीमै भेट्टाएको भनी जिद्दि गरिरहेँ ।
एकातिर अर्काको पैंसाको फन्दामा पर्नु अर्कोतिर ढाँट्नुपर्ने बाध्यताले ममा बेचैनी ह्वात्तै बढेर आयो । त्यस दिनदेखि दुर्गाको घर हुँदै बोरागाउँ उक्लिने बाटो सदाको लागि बन्द भयो । मैले कामना गरिरहेँ कि त्यो पैँसा कसले हराएको थियो भन्ने सम्बन्धमा मेरो जानकारीमा आउँदै नआवस् ।

मेरो कामना विपरीत केही दिनपछि दुर्गासरकी श्रीमती जो मेरी सोल्टिना नाता पर्थिन्, आफ्नो पैँसा हराएको भन्दै मेरो घरमै आइपुगिन् । मऊपर कुनै शंका नभई उनी मेरो घरसम्म आउने कुरै हुँदैनथ्यो । उनलाई देखेर मेरो सातोपुत्लो उड्यो । मैले उनलाई देख्दै नदेखेको जस्तो गरी घरबाट बाहिरिएँ । मैले पहिल्यै आमासँग ढाँटिसकेकोले पुनः अर्को कुरा गर्नु आमाकै मनमा ठेस पुर्‍याउनु हुन्थ्यो । अतः बेलुका अबेर घर फर्किएपछि पनि मैले आमासँग ‘ती पैँसा गाउँमा नभई सालघारीमै भेट्टाएको’ भनी जिद्दि गरी नै रहेँ ।

पछि त्यो पैँसा आमाले के गर्नुभयो ? मैले सोध्ने साहस कहिल्यै गर्न सकिन । मन जति कुँढिए पनि मैले नै त्यो पैँसा भेट्टाएको थिएँ भनेर ढिला गरी फर्काउनुको कुनै अर्थ थिएन । गरिसकेको शंका पैँसा फिर्ता दिएर नमेटिने अवस्थामा पुगिसकेको थियो । बरु उनीहरुको मनमा उब्जिएको मप्रतिको शंकाको धुलो अर्कै जुक्तिले बढार्नु आवश्यक थियो ।
उनले गुमाएको पैँसाभन्दा धेरैभन्दा धेरै पाउनेगरी उनको व्यक्तिगत आर्थिक लाभ र पारिवारिक लाभको लागि वैकल्पिक उपाय के गर्न सकिन्छ भन्नेतिर नै उपाय सोच्दै गएँ, मौका खोज्दै गएँ । गतिलो उपाय नभेट्टाउन्जेलसम्म मेरो मनको कुनोमा लुकेर त्यो भेट्टाएको पैँसाले कुटुकुटु वर्षौँसम्म मनको भित्तो काटि नै रह्यो ।

अन्तमा यही सर्वोत्तम विकल्प भेट्टाएको थिएँ: ‘पैँसा हराएका दुर्गालाई आफूले पढाइरहेको स्कूलमा ल्याई दशकक्षा पास गराउने र आफूले भेट्टाएको पैँसाको साउँब्याज वापत उनलाई निशुल्क पढाइदिएर क्षतिपूर्ति दिने !’
०००
त्यो घटनापछि मैले बाटोमा जतिसुकै पैँसा खसेको देखे पनि कहिल्यै टिप्ने हिम्मत गरिन ।
कहिलेकाँही म गाउँ पुग्दा उनीसँग भेट नहुँदै उनका भतिजा बीरबहादुर ओलीसँग भेट हुन्छ । उनलाई पनि शैक्षिक अभिभावकत्व प्रदान गरेकोले हामीबीच काकाभतिजाको साइनो पनि मेटिएको छ । साविकमा मेरो काका नाता पर्ने तिनै बीरबहादुर खुशी हुँदै दाइ सम्बोधन गर्दै मेरो हात तानेर ढोगिदिन्छन् । म सन्तुष्टिको सास फेर्दछु ।
त्यसपछि भेट हुन्छ दुर्गासरकै छोरासँग । यिनी साइनो घटेकोमा असहमत भएझैँ मेरो ढोग पर्खेर बस्दछन् । जबकि कुनै ताका यिनकै बाबुको ढोग खाइरहेको थिएँ भने अहिले यी फुच्चेलाई किन ढोगूँ जस्तो इगो पलाउँछ मनमा ।
अनि सोध्छु बाबुको हालखबर ।
दुर्गासरको जीवनमा आएको फेरबदल देखेर सन्तुष्टिको अर्को लामो सास फेर्दछु ।

२०७५।०९।१३ भैरहवा

131 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *