Free songs
Home / प्रवचन संग्रह / दीलको केही कुराहरु

दीलको केही कुराहरु

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

बाबा भन्नुहुन्छः ‘बच्चा हो सफा दिलवाला बन,’ अर्थात दिल सफा हुनुपर्‍यो । दिल सफा भन्नुको अर्थ हो नियत सफा । सामान्यतया मान्छेहरुले भन्छन् कि फलानोको नियत खराब छ । सबैभन्दा पहिले दिल सफा हुनुपर्‍यो । योगी र ज्ञानीको पहिलो लक्षण हो कि दिल सफा हुनु । दिल सफाको अर्थ हामीलाई कसैलाई पनि  नाराज (रंज) गर्नुभएन, कसैको अवगुण हाम्रो मनमा राख्नुभएन । यदि कसैको अवगुण हामीले दिलमा राख्यौँ भने दिल सफा हुँदैन । यदि हामीभित्र काम, क्रोध, लोभ, मोह अहंकार पनि छ भने दिल सफा हुन सक्दैन । यसैले बाबाले भन्नुहुन्छ, ‘बच्चा हो, दिल सफा राख्यौ भने लक्ष्य हासिल हुन्छ ।’ सामान्यतया मानिसहरुले यो सोचेर चलाखी गर्छन् कि मैले के गरिरहेको छु भन्ने अर्कोलाई थाहै छैन । जो व्यक्ति छल, कपट, बनावट गर्दछ, उसको मन ठीक हुँदैन, भड्किरहन्छ । उसलाई योग पनि कहिल्यै लाग्दैन र भगवानको नजिक पनि जान सक्दैन । जसको मन जति सरल हुन्छ, सफा हुन्छ, उति नै बाबाको ऊमाथि कृपा हुन्छ । सबैभन्दा हाम्रो दिल सफा हुनुपर्‍यो । यसैले सारा दिनभर चेकिङ गर्नुपर्‍यो कि आज मेरो दिल बिलकुल सफा थियो । जसरी हामीले रोज दाँत सफा राख्द,छौँ शरीर सफा राख्दछौँ, उसरी नै दिल पनि सफा गरिरहनुपर्‍यो ।

दोस्रो कुरा हो – सच्चा दिल । बाबा भन्नुहुन्छ, ‘सच्चे दिलपर साहिब राजी ।’ सफा दिल र सच्चा दिलमा अन्तर छ । के अन्तर छ ? कहिलेकाहीँ हामी भगवानसंग पनि छिपाउँछौँ । कुनै गलत काम गरिरहेको बखत अन्तरात्माले भनिरहेको हुन्छ ‘तिमीले यो गलत गरिरहेका छौ ।’ फेरि पनि हामी सम्झन्छौँ कि बाबाले त देखेका छैनन् क्यारे । परन्तु बाबाले भन्नुहुन्छ कि ‘मेरो पास पनि सिसिटिभि छ । तिमी के गरिरहेका छौ ? के सोचेका छौ ? त्यो कुरा मैले देख्दछु ।’ दुनियावी टिभिमा खाली एक्शन आउँछ । तर यो टिभीमा बिचार पनि आउँछ । कुनै पनि चिज बाबाबाट छिप्दैनन् । हामीले सोचेका हुन्छौँ ‘अरुले देखेका छैनन् क्यारे ! देखिरहेको भए पनि के फरक पर्ला र ? बाबा परमधाम हुनुहुन्छ, सुक्ष्मलोकमा हुनुहुन्छ । हामीले गरेको फल हामीले नै पाउँछौँ । केही फरक पर्दैन, जब समय आउला देखौँला ।’ तर व्यक्तिले भुलिरहेको हुन्छ कि भगवानले हामीलाई देखिरहनुभएको छ, हामीले जे गर्छौँ, त्यो देखिन्छ । बाबाले भन्नुभएको छ कि ‘सच्चे दिलपर साहिब राजी ।’ उमंग, उत्साह, राजी,  खुशी जो जीवनको लागि जरुरी छ, त्यो त्यसबेला सम्भव छ, जब हाम्रो दिल सच्चा हुन्छ । के हामी सच्चा परमात्माको लागि सच्चा नबन्ने ? जन्मजन्मान्तर चलाकी, मक्कारी, छल, कपट, धोखा गर्दै आयौँ र सम्झन्छौँ कि म जस्तो चलाक कोही पनि छैन । तर हामीले यो बुझिरहेका हुँदैनौँ कि हामीले कसको सामुन्ने चलाकी गरिरहेका छौँ ? यदि  गल्ती भयो भने त हामीले बाबा शिक्षक सद्गुरुको सामुन्ने माफी माग्न सक्छौँ र बाबाले हामीलाई क्षमा गरिदिनुहुन्छ । जसरी बच्चाले आफ्ना आमाबाबुसंग कान पकडेर ‘मबाट गल्ती भयो, मलाई माफ गरिदिनोस्’ भन्छ भने आमाबाबुले खुशी भएर माफ गरिदिन्छन् । यसै प्रकार बाबाले पनि हामीलाई क्षमा गरिदिनुहुन्छ । जबसम्म हामी सच्चा बाबासंग सच्चा बन्दैनौँ तबसम्म हाम्रो जीवनमा धारणाहरु नै हुँदैनन् । केही मान्छेहरुले भन्छन् कि मलाई ईश्वरीय धारणा हुँदैन, यसको अर्थ हो उसको दिलमा सच्चाइ हुँदैन । खास गरी यी सच्चाको साथमा पनि सच्चाइ छैनन् ।

तेस्रो कुरा हो – दयालु (रहमदिल) बन्नु । बाबा भन्नुहुन्छ तिमी बच्चाहरुले हरेकमाथि दया राख्नुपर्दछ । दुनियाँवाला संसारमा फसेका छन्, आफ्नो संस्कारमा फसेका छन्, खराब आदतमा फसेका छन् । यिनीहरुलाई देखेर कहिलेकाहीँ तपाईँलाई रिस पनि उठ्न सक्छ वा घृणा पनि पैदा हुन सक्छ । उनीहरुलाई पिठ्यूँ फर्काउनुपर्ने हुन सक्छ । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, यो पुरानो दुनियाँ हो, हरेक आफ्नो जन्मजन्मान्तरको पुरानो संस्कारमा फसेका छन् । तिमीहरु दयालु बाबाका बच्चाहरु हौ ।’ भगवानसंग सबैले के भन्छन् ? ‘दुखीहरुप्रति दया गर ।’ तिमी दयालु छौ, कृपालु छौ, रहमदिल छौ, कृपाका सागर हौ, दयाका खानी हौ । हामीप्रति दया गर । बाबा भन्नुहुन्छ ‘तिमीहरु पनि मेरा बच्चा हौ । यसैले तिमीले पनि सबैप्रति दया गर, कृपा गर ।’ जब तपाई मास्टर रहमदिल बन्नुभएको छ भने घृणा, द्वेष, ईर्ष्या नफरत सबै खतम हुनेछन् । भक्त आफ्ना ईष्ट देवताको याद गर्छन् । कोही देवीका उपासक छन्, कोही गणेशका, कोही हनुमानका, कोही आफ्ना गुरुका । तिनीहरुबाट उनीहरु कृपा माग्छन्, तर उनीहरुलाई थाहा छैन कि कृपा गर्ने वाला, दया गर्ने वाला, रहम गर्ने वाला एक परमात्मा छन्, अरु कुनै देवीदेवता छैनन् अर्थात मनुष्य तनधारीहरु होइनन् । उनीहरुलाई थाहा छैन कि रहम अर्थात कृपा केलाई भनिन्छ ? र कसरी मिल्छ ? रहम गर्नुको अर्थ हो जन्मजन्मान्तरको जुन विकर्म छ, हिसाबकिताब छ, कर्मबन्धनको खाता छ, तिनको हामीहरुबाट छुटाउने अर्थात मुक्त गराउने । जबसम्म हामी यिनीहरुबाट मुक्त हुँदैनौँ भने कसरी हामीलाई अरुलाई रहम गर्न सकौँला ? सम्झनुहोस् कि कसैले हस्पिटल खोल्यो, धर्मशाला बनायो अथवा स्कूल कलेज खोल्यो, अनेकौँलाई पढ्ने मौका दियो । तर यति काम गरेर पनि त्यस महादानीले विकर्म गर्दै रह्यो, पाप गर्दै रह्यो भने उसले बनाएको स्कूलमा पढ्न विद्यार्थीहरुले के गर्लान् ? कसरी रहलान् ? तपाईँलाई थाहै छ, आजभोलि ती मान्छेहरुले के गरिरहेका छन् ? आमाबाबुको नाम बदनाम गरिरहेका छन् । आजभोलि पढेलेखेका मान्छेहरु पनि त्यत्तिकै फाल्तु बसिरहेका छन् । किनकि आकल ती मान्छेहरुले विज्ञान, गणित, राजनीतिशास्त्र, समाजशास्त्र पढेर पनि उनीहरुमा शान्ति र आत्मिक बल छैन । मान्छेमा मानवीयता छैन । एकातिर त हामी असल काम गर्छौँ, त्यसका साथै पुरानो विकर्मको खाताको समाप्त नगरेर, श्रेष्ठ कर्म नगरेर विकर्म नै थपिरहेका छौँ । यसैले आजको लागि त्यो विद्या आवश्यक छ, जसबाट जीवन परिवर्तन होस्, जीवन श्रेष्ठ होस् ।

बाबा भन्नुहुन्छ, ‘पहिले आफूले आफैलाई दया गर ।’ मान्छेले यो जान्दैनन् कि हामीले आफैप्रति दया गर्नुपर्छ । उनीहरुले सम्झन्छन् कि दया नामको कुनै चिज छ, जुन कि कसैसंग हात फैलाउने बित्तिकै उसले जेबबाट निकालेर देला वा चेक लेखेर देला । यसरी त दया मिल्दैन । जबसम्म हामी आफैप्रति दया गर्दैनौँ वा स्वयंलाई विकारहरुबाट छुटाउने प्रयास गर्दैनौँ भने कसरी हामी दयाका पात्र बन्न सक्छौँ ? तपाईँ घोडालाई पानी त देखाउन सक्नुहोला, तर उसको मुखमा पानी हालेर पिलाउन सक्नुहुन्न । पिउन त उसले आफै पिउनुपर्छ । कहिलेकाहीँ बिरामी भयो भने पिलाउनु पनि पर्ला, तर दिनदिनै त उसैले पिउनुपर्छ । जबसम्म हामीमा यो संकल्प आउँदैन कि मैले खराब कुराहरु छोड्नुपर्छ, म असल बन्नुपर्छ, मैले बाबाको आशा पूरा गर्नुपर्छ, तबसम्म भगवानले पनि दया गर्दैनन् । यस रीतिबाट स्वयंलाई परिवर्तन गर्नको लागि दृढ संकल्प गर्नु नै आफूलाई दया गर्नु हो । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, स्वयंलाई पनि दया गर र अर्कोलाई पनि दया गर अर्थात यी विकार तथा दुःखबाट छुट्कारा पाउने बाटो देखाइदेऊ ।’

मानौँ कि कसैलाई कुनै अपराधको कारण फाँसीको सजाय मिल्यो । ऊ आमाबाबुको एक्लो छोरा थियो । उसका आमाबाबु वृद्ध भइसकेका छन् । उनीहरुलाई हेरचाह गर्ने अरु कोही छैन र त्यो केटा आफ्नो गल्तीबाट पछुताइ पनि रहेको छ र आइन्दा यस्तो गल्ती नगर्ने बाचा पनि गरेको छ भने उसका आमाबाबु मित्र सम्बन्धी आदि न्यायाधीशसंग रहम गर्नको लागि अर्थात माफी प्रदान गर्नको लागि विन्ति गर्दछन् । न्यायाधीशले मानेन भने राष्ट्रपतिकहाँ रहम गरिदिन वा क्षमा गरिदिन अनुरोध गर्न पुग्दछन् । किनकि यस्तो विषयमा राष्ट्रपतिले क्षमादान दिने अधिकार हुन्छ । रहमको अर्थ हो उसलाई हुने सजायबाट बचाउने । यसप्रकार तपाईँ पनि आफैमाथि रहम गर्नुहोस् र अरुप्रति पनि रहम गर्नुहोस्, मानौँ कि धर्मराजको सजायबाट आफैलाई र अरुलाई बचाउनुहोस् । मान्छेहरु रहमको अर्थ बुझ्दैनन् । रहमको अर्थ यो होइन कि कसैलाई रिस उठ्यो भने हामीले उसमाथि रहम गरिदियौँ । फेरि पनि उसको रिस उठाउने बानी छुटेन भने वा बढ्दै गयो भने के फाइदा ? हाम्रो रहमले उसलाई विकर्म गर्ने अरु अवसर दियो । रहम गर्ने मान्छेमै अरु विकर्मको खाता बढ्यो । यो रहम होइन । रहम गर्नुको अर्थ त्यसलाई गलत ढङ्गबाट प्रयोग गर्नु होइन । रहम गर्नुको अर्थ त जो व्यक्तिले तपाईँसंग गलत व्यवहार गर्‍यो, उसलाई आफ्नो आत्मिक शक्तिबाट परिवर्तन गर्नु र उसलाई आइन्दा घृणा, द्वेष, आदि नगर्नु हो । बाबाले भन्नुहुन्छ ‘रहम पनि पात्रहरुसंग गर, त्यस्ता व्यक्तिहरु उपर गर जो रहम गर्न लायक छन् ।’ जसरी अपात्रहरु उपर गरिएको दानले आफ्नो पापको खाता बढ्दै जान्छ, त्यसरी नै अपात्रहरुउपर गरिएको रहमले पापको खाता मात्र बढाउँछ किनकि तपाईँको रहमबाट उसले अरु पाप विकर्म र दुष्ट कर्म गरिरहन्छ । उसको त्यस कर्मको लागि जिम्मेवार भएको कारणले तपाईँलाई पनि उसका पाप कर्मको हिस्सा मिल्दछ ।

बाबाले एक त भन्नु भएको छ कि दिल सफा राख, दोस्रो सच्चा दिलवाला बन, तेस्रो रहमदिलवाला बन । चौथो हो फराक दिल बन । बाबाले कति सुन्दर महावाक्य सुनाउनुभएको छ, जहाँ हदको दिल हुन्छ, त्यहाँ बेहदका बाबा हुनुहुन्न । एक भिखारीले पनि भन्छ, ‘बाबूसाब्, भगवानको नाममाथि पाँच रुपैयाँ दिनुहोस् ।’ उसले भगवानको नाममाथि दिनको लागि किन भन्छ ? किनकि पाँच रुपैँया आफूले फिर्ता गर्नसक्दैन । यदि तपाईँले भगवानको नाममाथि दिनुभयो भने उसले तपाईँको खातामा जम्मा गरिदिनेछ । जब कि नासमझ भिखारीले त सम्झन्छ कि भगवानको नामबाट लिएमा भगवानले नै उसलाई दिनेछन् । हामी जो भगवानका बच्चा बनेका छौँ, भगवानलाई नैं सबथोक सम्झेका छौँ भने हाम्रो दिल पनि भगवानको जस्तो बेहदको हुनुपर्‍यो । कुनै पनि हद, सीमा हुनुभएन । बाबाले यो पनि भन्नुभएको छ कि ‘बच्चा हो, तिमीहरु बेहदको राज्यको मालिक बन्दैछौ ।’ हामीले सोच्नुपर्‍यो कि हामीमा बेहदको दिल भएन भने कसरी बेहदको बादशाही कसरी पाउन सकौँला ? हामीलाई बाबाको बेहदको ज्ञानबाट बेहदका दिलवाला बन्न जरुरी छ ।

बाबा भन्नुहुन्छ, ‘बच्चा हो, मेरो दिलसिहाँसन निशाना बन र आफ्नो दिलसिहाँसनमा मलाई बसाऊ । यदि बाबालाई आफ्नो दिलसिहाँसनमा बसाएनौ भने भविष्यमा राजसिँहासनमा कसरी बस्न पाउला ?’ हेर्नुहोस्, बाबाले यसमा कति तर्कसंगत, गणितीय तथा यथार्थ कुरा बताउनुभएको छ ! तपाईँ भगवानको लागि महिमा गर्दै हुनुहुन्छ, तपाईँ राजाहरुलाई पनि राज्य दिनेवाला हुनुहुन्छ, तपाईँ महानभन्दा पनि महान हुनुहुन्छ । यदि तपाईँले उहाँलाई आफ्नो दिलको सिँहासनमा बसाउन सक्नुभएन भने तपाईँ उहाँबाट मिल्ने राज्यको राजसिँहासनमा बस्न पाउनुहुन्न । यो पुरुषार्थको लागि एउटा फर्मुला हो र सफलताको लागि कुँजी हो । यसैलाई योग भनिन्छ । योग के हो ? भगवानलाई दिलमा बसाल्ने, निशाना बनाउने वा दिलमा बसाल्नु नै योग हो । यति सरल व्याख्या छ योगको । यदि घरमा कोही पाहुना आए भने तपाईँ के गर्नुहुन्छ ? कुर्सी, सोफा आदि सफा भए पनि तपाईँ फेरि झारझुर पार्नुहुन्छ, कोठालाई थप सजाउनुहुन्छ । यसै प्रकार यदि तपाईँले भगवानलाई दिलमा राख्न चाहनुभएको छ भने दिल कति सफा गर्नुपर्ला ? यसलाई सबै विकारबाट मुक्त राख्नुपर्ला, विकारहरुको एक अंश पनि भित्र नछिर्नेगरी पहरेदारी गर्नुपर्ला । भगवानलाई परमपवित्र भनिन्छ, सदा पवित्र भनिन्छ । त्यस परम पवित्रलाई हाम्रो दिलमा बसाउने हो भने हाम्रो दिल कति पवित्र हुनुपर्ला ? सारा दर्शन यसै दिलको सिँहासनमा बसाउने कुरामा आधारित छ ।

बाबा भन्नुहुन्छ, ‘दिल एक दिलवरलाई देऊ ।’ यो जुन एक दिल छ, त्यो तिनै एक दिलवरलाई देऊ, अरु कसैलाई नदेऊ । मान्छेहरुले भन्छन् कि दिलका कुरा अरुहरुलाई सुनाउनुपर्छ, दुःखलाई आपसमा बाँड्नुपर्छ, । तर आज के भइरहेको छ ? एकअर्कोमा दिलका कुरा सुनाएर उनका दिलहरु खराब गर्नु, उनीहरुको खराबी बाँड्नु तथा खराबी भर्ने काम मात्र भइरहेको छ । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, तिमीहरु आफ्नो दिलको कुरा म एकजना दिलवरलाई मात्र बताइदेऊ । म तिम्रो दिल हल्का गरिदिउँला, सारा दिलको बोझ उतारिदिउँला ।’ आजकालको दुनियाँमा तपाईँले कसैलाई आफ्नो दिलको कुरा सुनाउनु भयो भने भोलि उसले फाइदा उठाउनेछ । तपाईँलाई ब्ल्याकमेल गर्नेछ, किनकि तपाईँको कमजोरी उसले थाहा पाउनेछ । तपाईँ कसैलाई पनि आफ्नो दिलको कुरा बताउनुभयो वा भेद बताउनुभयो भने आज त संवेदना देखाएजस्तो गर्ला तर भोलिबाट आफ्नो बन्दुक तपाईँको पिठ्यूँमा राखेर चलाउन शुरु गर्नेछ । यदि कुनै मान्छेलाई दिलको सहारा बनाएर चल्नुभयो भने पनि त्यसको कुनै लाभ छैन, त्यसको बदला हानी र दुरुपयोग नै हुनेछ । त्यसैले एक भगवानलाई नै दिलवर बनाऔँ, दिलको जेसुकै कुरा पनि उहाँलाई नै सुनाऔँ । यसबाट योग पनि लाग्नेछ र समस्या पनि समाधान हुनेछ । यसैको नाम योग हो । यसबाट तपाईँ भगवानसंग कुरा गर्न सिक्नुहुनेछ, भगवानले पनि तपाईँसंग कुरा गर्नुहुनेछ । भक्तिमार्गमा भक्तहरुले सिर्फ भगवानलाई भज्दछन् र पुज्दछन्, तर उनीहरुको कुनै कुराको कुनै प्रश्नको जवाफ त आउँदैन । तपाईँ त पुरानो भक्त नै हुनुहुन्छ । कहिल्यै उहाँबाट तपाईँलाई जवाफ आएको थियो ? अब त भगवानबाट जवाफ मिल्छ । कसरी मिल्छ ? उहाँसंग कुराकानी गरेमा । कुराकानी कसरी गर्ने ? दिलवर बनाएर दिलका सारा कुरा उहाँलाई सुनाइदिनोस् ।

बाबा भन्नुहुन्छ, ‘दिलरुवा बेगम बन ।’ वाह ! वाह !! दिलरुवा बेगम !!! यसको अर्थ के हो ? दिलरुवाको अर्थ हो प्रियतमा । जसरी प्रियतमा आफ्नो प्रियतमको लागि आफूलाई सजाउँछिन्, उसरी नै हामीले हाम्रा परमप्रिय शिव बाबाको लागि सजाउनु छ । कसरी सजाउने ? दैवीगुणहरुद्वारा सजाउने । जब हामी दिव्य गुणहरुबाट श्रृङ्गारित हुन्छौँ र आफ्नो जीवनलाई पनि यी गुणहरुबाट सम्पन्न तुल्याउँछौँ, तब हामी ती परमात्माकी प्रियतमा बन्नेछौँ, अर्थात दिलरुवा बेगम बन्नेछौँ ।

बाबा भन्नुहुन्छ, ‘हमेशा दिलखुश रहू ।’ यसलाई दिलखुश मिठाइ भनिन्छ । डाक्टरहरुले त मिठाइ खान मनाही गरिदिन्छन्, किनकि मिठाइले शरीरको वजन अरु बढाइदिन्छ । तर हाम्रो सुप्रिम डाक्टर भन्नुहुन्छ ‘यो दिलखुश मिठाइ खुब खाऊ ।’ हमेशा खुशी रहनुलाई दिलखुश मिठाइ भनिन्छ । कहिले पनि हाम्रो दिल दुःखी नहोस् । जब बाबा मिल्नुहुन्छ भने हामी उहाँका बनिसक्यौँ । उच्चभन्दा पनि उच्च भगवानको हामी बनिसक्यौँ भने हाम्रो चेहरा उदास हुनै सक्तैन । संसारमा उसै त डिप्रेशन, लोनलिनेस र प्रेम नमिल्नुको कारण कैयौँ बिमारीहरु आउँछन् । तर यहाँ योगमा दिल परमात्मासंग बाबासंग जोड्यौँ भने बाबाले रेस्पोण्ड दिनुहुन्छ, प्रेम दिनुहुन्छ । यसबाट हाम्रो दिल प्रेमबाट खुशीबाट भरिन्छ । संसारमा आज कोही पनि व्यक्ति आफ्नो सम्बन्धीहरुसंग पूरा रुपमा सम्बन्ध निभाउनसकेको हुँदैन । तर बाबाले आफ्ना सम्बन्धीहरुसंग पूर्ण रुपमा सम्बन्ध निभाउनुहुन्छ । तर शर्त यो छ कि हामी उहाँलाई दिलबाटै याद गरौँ, दिलबाटै सर्व सम्बन्ध जोडौँ ।

बाबा भन्नुहुन्छ, ‘बच्चा हो, तिमी बेगमपुरका बादशाह हौ ।’ बाबाको बनेपछि हामीमा दुःखको आँशु आउँदैन ।  बाबा भन्नुहुन्छ, ‘यादमा प्रेमको आँशु बहोस् तर दुःख अथवा अफसोसको आँशु आउन सक्दैन र आउन पनि हुँदैन ।’ बेगमपुरको अर्थ हो जुन पुरमा दुःख हुँदैन । कलियुगको हरेक पुरमा शोक नै शोक छ, तर जो ईश्वरीय पुर हो, त्यसमा कुनै दुःखदर्द हुँदैन ।  हामी त्यसको मालिक हौँ, हामी दिलखुश हौँ, भाग्यमानी हौँ । दिलखुशको अर्थ कसैसंग पनि नाराज नहुनु । यदि कोही कसैसंग नाराज भयो भने उसको दिल कसरी खशी होला ?

बाबा भन्नुहुन्छ, ‘बच्चा हो, तिमी खुशीको भाग्यमानी हौ ।’ मान्छे भन्छन् ‘हाम्रो तकदीर (किस्मत) नै खराब छ ।’ किन ? किस्मत भनेको किस मत अर्थात किसकी मत । दुनियाँवालालाई पत्ता नै छैन कि कसको मतमा चल्नुपर्छ ? हाम्रो किस्मत त धेरै भारी छ । किन ? किनकि हामी कसको मतमा चलिरहेका छौँ ? श्री श्री शिव बाबा परमात्माको मतमा चलिरहेका छौँ । जोसुकै होस्, यदि ऊ भगवानको मतमा चलेको छ भने उसको किस्मत ठीक हुन्छ । किनकि भगवानलाई बिग्रेकोलाई बनाउने पनि भनिन्छ । यदि आजसम्म उहाँको मतमा चल्नुभएको छैन भने पनि केही छैन, आजैदेखि उहाँको मतमा चल्न शुरु गर्नुभयो भने तपाईँको किस्मत राम्रो बन्नेछ । भगवानको मत नै श्रेष्ठाति श्रेष्ठ मत हो । भगवानको मत नै भगवानको आशिर्वाद हो र भगवानको मत नै उच्चभन्दा उच्च मत हो ।

बाबाले धेरै पटक भन्नुभएको छ, ‘बच्चा हो, म तिमीहरुको तकदीर बनाउन आएको हुँ र तिमी बच्चाहरु तकदीर पाएर आएका छौ ।’ मनुष्य मतमा चलेर हाम्रो तकदीर बिग्रेको छ । अब बाबा आएर हामीलाई त्रिकाल ज्ञान र योग विद्या पढाएर हाम्रो तकदीर बनाइरहनुभएको छ । अब हामीले सोच्नुपर्‍यो र सदा याद राख्नुपर्‍यो कि हाम्रो दुःखको, कष्टको, शोकको दिन गइसके, समाप्त भइसके । जहिलेदेखि हामी बाबाका बच्चा बन्यौँ, बाबाको श्रीमतमा चल्न थाल्यौँ, उनको काखमा बसेका छौँ, उनको शरणमा परेका छौँ भने कसैले पनि हाम्रो रौँ पनि हल्लाउन सक्दैन । हामी सदा बाबाको छत्रछायाँमा सुरक्षित छौँ । जो भगवानको बनेको छ, अरु त अरु उसको कसैले रौँ पनि हल्लाउन सक्दैन ।

बाबा भन्नुहुन्छ, ‘बच्चा हो, दिल-दीवाना बन । हाम्रो दिल बाबाको प्रति दीवाना बन्नु पर्‍यो । भनिन्छ कि मीरा गिरीधरकी दीवानी बनिन् । पहिलेको जमानामा केही पद हुन्थे जस्तैः दिवान साहेब । केही घरमा पनि दिवान बनाइन्थ्यो, असल मानिसहरुलाई दीवानलाई बसाउनको लागि । यहाँ दिवान बन्दैनौँ । दिवान त भविष्यमा बन्ने हो । तर हामी यहाँ दीवाना बन्नुपर्नेछ । कुन चिजको दीवाना बनाउनुपर्‍यो ? प्रेमको दीवाना । परवाना बन्नु पर्‍यो । परमेश्वरमा लगन लगाएर प्रेम-दीवाना अथवा प्रेम-दीवानी बन्नु पर्‍यो । मस्तिष्कबाट दीवाना नबन । मस्तिष्कबाट बने त हस्पिटल पुर्याउनुपर्छ, आफ्नो लागि पनि समस्या र अरुको लागि पनि समस्या हुन्छ । दीलबाट दीवाना बन ।

अहिलेसम्म बताइएका कुराहरु दिलका बारेमा पोजिटिभ कुराहरु हुन् जुन धारण गर्नु आवश्यक छ । अब नेगेटिभको बारेमा बताइँदैछ, जसलाई हामीले धारणा नगरौँ ।

बाबा भन्नुहुन्छ, ‘बच्चा हो, कहिले पनि दिलशिकिस्त नबन । कहिले पनि निराशा (Disappointed) अनुभव (Feel) नगर । कुनै पनि कठिन कार्य आउन सक्छ, कुनै ठूलै परीक्षा आयो भने नडराऊ । आशा गुमाएर नबस ।’ यो सम्झ कि यो मेरो परीक्षाको घडी हो मलाई अगाडि बढ्नको लागि अवसर हो । यो मेरो क्षमता र योग्यतालाई प्रत्यक्ष गर्ने अवसर हो । यसलाई च्यालेन्ज सम्झेर स्वीकार गर । जस्तोसुकै होस्, चारैतर्फ घेरा होस्, निक्लनको लागि कुनै बाटो नै नदेखियोस्, तर पनि कहिले हिम्मत नहार्नू दिलशिकिस्त नहुनू, आशा गुमाएर नबस्नू । यो याद गर्नू कि मेरो साथमा को छ ? बाबालाई आफ्नो दिलमा राखिरहनू, केही हुनेछैन । हर-हालतमा सुरक्षित रहनेछौ । चाहेमा परीक्षण गरेर हेर । शर्त यो हो कि बाबालाई दिलतख्तमा राख्नुपर्नेछ, उहाँलाई आफ्नो पूरै साथी र सहारा बनाएर राख्नुपर्नेछ । तर भगवानउपर बाबाउपर रौँ मात्र पनि अविश्वास गरेको हुनुहुँदैन । निश्चय डगमग भएका छैनौ भने केही पनि हुँदैन । रौँ पनि हल्लिनेछैन । जसको स्थिति डगमग भएको छैन, बाबाको याद रहिरहेको छ, ठूलो भन्दा पनि ठूलो परिस्थितिले पनि छुनसक्ने छैन । जब सर्वशक्तिवान भगवान हाम्रो साथमा हुनुहुन्छ भने जीवनमा कहिले पनि डराउनुपर्ने छैन ।

बाबा भन्नुहुन्छ, ‘दिल फटाउने काम कहिले पनि नगर्नू ।’ कहिले पनि दुई व्यक्तिबीच घृणा पैदा नगर्नू । एउटाको अगाडि अर्काको कुरा नकाट्नू वा तिम्रो बारेमा गलत बोल्दै थियो भनी चुक्ली नलगाउनू । कसैको बानी हुन्छ एकअर्काको बीच झगडा पार्दै हिड्ने । यसरी दिल फटाउने काम कहिले पनि नगर्नू ।

बाबा भन्नुहुन्छ, ‘आक्रोश-तंग दिल नबन्नू ।’ तंग दिलको अर्थ हो सानो सानो कुरामा आफ्नो दिललाई आक्रोशित तुल्याउनु अर्थात आफै हैरान बन्नू – यस्तो हुनुहुँदैन । अर्को हो दिल बोर हुनु । यदि तपाईँले कसैलाई सोध्नुभयो कि भाइ कस्तो छ ? उसले भन्छ कि ‘बाँचिएकै छ, बाँच्नुको मजा केही छैन तर पनि बाँचिएकै छ ।’ कसैले भन्छन् के भन्नु र बोर भयो ! उही ज्ञान, उही योग, उही रीतिरिवाज, मेरो दिल दिक्क लाग्छ । बाबा भन्नुहुन्छ, ‘यति विशाल ज्ञान छ, जसको मन्थन गर । यति रमणीय योग छ, जसलाई प्रयोग गर । यति सारा दैवी गुणहरु छन्, तिनलाई धारण गर । तीन लोक छन्, त्यसमा शयर गर । दिक्क मान्नुपर्ने कारणै छैन ।’

तेस्रो कुरा हो कसैको दिल दुखाउनु हुँदैन । बाबाले भन्नुहुन्छ, ‘जसले अरुलाई दुःख दिन्छ, उही दुःखी भएर मर्नेछ । यो कुरा ठीक तरीकाबाट याद गर्नू ।’ कहिले पनि मनमा नसोच्नू कि फलानोलाई दुःख दिऊँ, उसले मलाई धेरै दुःख दिएको छ । यस्तो कहिले नसोच्नू । यदि तपाईँले कसैको भलाइको लागि केही भन्नुभएको छ तर उसले आफ्नो कमीकमजोरीको कारण दुःख बर्साएको छ भने त्यो अलग कुरा हो । तर तपाईँले दुःख दिने कर्म गर्नु त परै जाओस् दुःख दिने र दुःख प्राप्त गर्ने कुरा कहिले पनि नसोच्नू । कसैलाई दुःख दिने बारे सोच्ने, जानीबुझीकन अरुलाई दुःख दिनेको अन्त्य सारै दुःखदायी दर्दनाक हुनेछ । भगवान धर्मराज बाबाले यही भनिरहनुभएको छ । एकबार मात्र होइन कहिले पनि दुःख नदेऊ, दुःख दियौ भने दुःखी भएर मर्नेछौ । यदि सुखशान्तिपूर्वक जीउन चाहन्छौ भने पहिले यो प्रण गर कि मैले कसैलाई पनि दुःख दिनु नपरोस् । तपाईँको कारणले कसैले पनि यसैको कारणले मेरो यस्तो अवस्था भयो भनी आँशु नबगाओस् । कसैको मुखबाट ऐया पनि ननिस्कोस् कि यसैको कारणले मेरो जीवन यस्तो भयो, मलाई यति मुश्किल भयो, यति कठिनाइ सहनुपर्‍यो भनीकन । यदि यस्तो भयो भने तपाईँको सारा आत्मिक कमाई समाप्त हुनेछ, सम्झनुहोस् कि तपाईँको धारणा समाप्त भैसक्यो ।

दिलमा कसैको प्रति प्रतिशोध (रंजिश) नराख अर्थात कसैलाई बदला लिने भावना नराख । कहिलेकाहीँ कसैसंग मतभेद भए पनि दिलमा ऊसंग बदला लिने भावना कहिले पनि नराख । यदि कसैबाट गल्ती भयो भने पनि उसलाई माफ देऊ । यदि माफ दिँदैनौ भने पनि उसलाई देख्नेबित्तिकै, उसको गल्ती याद आए पनि, आफ्नो मनमा नबसाऊ, त्यो कुरा भुलिदेऊ । उसको गल्ती त समाप्त भइसक्यो भने उसलाई आफ्नो मनमा राखेर तपाईँ आफ्नो दिललाई किन खराब गर्नुहुन्छ ? आफ्नो दिललाई पनि आफैले धोखा नदिनोस् । अन्तर दिल खाइरहेको छ, रोइरहेको छ, तर पनि बाहिरबाट भन्नुहोस्, ‘ठीक छ, हजुर, मलाई एकदमै राम्रो छ, सबै ठीकठाक चलिरहेको छ’ यस्तै भनेर आफूलाई धोखामा नराख । भित्र र बाहिर एकै हुने प्रयास गर, सफा रहू, सरल बन र शुद्ध बन ।

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 1,019 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top