नियात्रा २ः ढुङ्गो खोज्दा देउता मिल्यो

असोज दोस्रो हप्ता ।

उनले के नै भनेकी थिइन् र त्यस्तो जसले गर्दा म पानीबिनाको माछो झैँ अझै यसरी छटपटाइरहेको छु ?

मलाई नै ‘भेट्न पाए’ भनेकी त पक्कै थिइनन् । उनी सीमा नजिककी नेपाली साहित्यकी प्रखर शिक्षार्थी र अंग्रेजी साहित्यकी गहिरो रुचि भएकी पाठकको हैसियतले उनी हाफटाइममा, अरु त अरु, खुरुक्क सीमा पारि पुगेर चेतन भगतलाई नै भेटेर फर्किन सक्थिन् । पहिलो भेटमै ‘मान्छे कुट्ने’ चेतावनी दिनेले ‘अरुलाई भेट्छु’ भनीहोलिन् भनी अर्थ लगाउनु पनि हुँदैन मैले ।

उसो भए उनले ‘हेर्न पाए’ भनेकी हुन् त ? त्यो पनि होइन । हेर्नलाई त अहिले आइटि प्रविधिले संसार नै आफ्नै हत्केलामा थुपुक्क बसालिदिएको छ । चित्र चलचित्र जे हेर्छु भने पनि ठाउँको ठाउँ नै हेर्न मिल्छ । त्यो पनि नभए ‘देख्न पाए’ भनेकी हुन् त ? त्यो पनि नहुनुपर्छ । उनको गधापच्चीसे उमेरसम्म सयौँचोटी उनकै वरिपरि भएका महोत्सव तथा साहित्यिक फेस्टिवलहरुमा धेरै धुरुन्धर साहित्यकारहरुलाई प्रत्यक्ष देखेकी र सुनेकी हुनुपर्छ ।

उसो त उनलाई मन पर्ने नेपाली लेखकहरु बुद्धि, अश्विनि, नयन, आदि नाम केटीकै हो भनेर नजिकवालालाई झुक्याउँदै खुसुक्क उनीहरुलाई मेसेज गर्न सक्थिन्, अल्लारे केटीको गन्ध पाउनेबित्तिकै महाभारत नै तयार पार्ने लालसा राख्ने ती साहित्यकारसँगको भेट उनको लागि दुर्लभ थिएन । त्यस्तो नितान्न व्यक्तिगत कुरा मजस्तो ताइ न तुइको दुई घण्टे फेसबुके साथीसँग चुहाउँदै हिड्न आवश्यकता नै थिएन उनको ।

अतः उनको यो ‘भेट्न’ पाए भन्ने भावना आफ्नै मनको कुरा होइन, मेरै मनको कुरा गरेकी हुनुपर्छ र भेट्ने ठेगाना रुकुमकै पाखापखेराहरुलाई प्रस्ताव गरेकी हुनुपर्छ । सायद उनले मेरो साहित्यिक भोकको अनुमान गरेर ‘प्रसिद्ध लेखकहरुलाई पनि भेट्ने गर । उनीहरुको कुरा सुन्ने गर !’ भनेर सुझाव दिएको हुनुपर्छ । वा, ‘ती लेखकहरुलाई रुकुममै घुमाउन लैजाऊ, म पनि त्यतै भेटिन सक्छु । रुकुमका साहित्यकारहरुसँग पनि अन्तर्क्रिया हुन्छ । दूरदराजका भर्जिन रमणीय स्थलहरुको प्रचारप्रसार हुन्छ । साहित्यकारबाट हुने प्रचारप्रसार दीगो हुन्छ ।’ भन्न खोजेकी पो थिइन् कि ?

उनले यही नै सोचेकी हुन् भने मेरोलागि चाँहि त्यो कुनै ठूलो कुरो थिएन ।

तीनचार वर्षअघि म काठमाण्डौतिर हुँदा सिर्जनशिल कक्षाहरुमा ती साहित्यकारहरु सजिलै भेटिन्थे । पछिल्लो समय कुन्ज नाटक घरमा साहित्यिक कार्यक्रम हुँदा आमन्त्रित हुने गरेको थिएँ म । त्यहाँ ती लेखकहरुलाई दुईचार प्रश्न गर्न पनि पाइन्थ्यो, मनग्गे उनीहरुका कुरा सुन्न पनि पाइन्थ्यो । कक्षा समाप्तिपछि उनीहरुसँगै नारिएर फोटो लिन पनि सकिन्थ्यो । यी दुवै संस्था कान्तिपुरका भुपु पत्रकार कमल ढकालले सञ्चालन गरेर आफैले अध्यक्षता ग्रहण गरेका थिए । मेरो लागि लेखकहरुसँग भेट्नु पानीपँधेरो भैसकेको थियो ।

एक दिन कान्तिपुर समाचारपत्र हेर्दै थिएँ, ‘सिर्जनशिल कक्षा सञ्चालन गरिने’ विज्ञापन मेरा आँखामा पर्यो । मैले हत्तपत्त विज्ञापनमा दिइएको फोन नम्बरमा फोन लगाइहालेँ । त्यतिखेर म कि त सरकारी अड्डामा भेटिन्थेँ, कि सरकारी अस्पत्तालमा भेटिन्थेँ, ती दुवैमा नभेटिए म आफ्नै डेराको खाटमा गुटुमुटु परेर ढलेको पक्कै भेटिन्थेँ ।

पहिलो घण्टीमै फोन रिसिभ गर्नेले सोधिहालेः “तपाईँ यतिखेर कहाँ हुनुहुन्छ ? म लिन आउँछु ।”

मैले सिभिल हस्पिटलको बेड नं ११८ बताइदिएँ ।

मैले आफ्नो लोकेशन बताएको दशमिनेटजति नबित्दै उताबाट फोन आयो, “गेट बाहिर निस्कनुस् म आइसकेँ ।” कति छिटै आइपुगेछन् भनी म चकित परिरहेको थिएँ । बाहिर निस्किएपछि थाहा भयो, उनी आफ्नो मर्सिडिज कार लिएर मलाई रिसिभ गर्न आइपुगेका रहेछन् । म उनको गाडीमा छिर्नेबित्तिकै नयाँवानेश्वरको थापागाउँतिर गाडी हुइँक्याए । उनको घोष्टराइटिङ नेपाल नामको कार्यालयमा पुर्‍याएपछि मेरो सबै प्रकारको साहित्यिक रोगको इलाज गरिदिने भन्दै फकाउनु फकाए ।

उनको फकाइबाट प्रभावित भएर भनेको थिएँ मैलेः “ढुङ्गो खोज्दा देउता मिल्यो ।”

भोलिपल्टदेखि म उनले सञ्चालन गरेको सिर्जनशिल कक्षामा ज्वाइन भैहालेँ । फलस्वरुप मेरो सानोतिनो मनोरोग चट् भैहाल्यो ।

यस्ता छन्: ‘कमल ढकाल’ र म उनको अन्तरङ्ग साथी बन्नपुगेको छु आजकल । अहिले पनि ‘तपाईँले दिएको वचन पूरा भैसकेको छैन है ?’ भनी अत्तो थाप्ने हो भने उत्तिखेरै ज्यानै दिन तम्सन्छन् ।

उल्लिखित साहित्यकारहरुसँग एकदिनमा एकछिनको लागि मात्र व्यक्तिगत भेट हुन्थ्यो ।  दुईचार दिनको लागि संगत गर्नु भने दुर्लभ कुरा नै थियो ।

रुक्मिणीको प्रस्तावले यही दुर्लभ शब्दको महत्त्व बोध गराइदिएको थियो मलाई । फलस्वरुप त्यस चाहनाले प्रसिद्ध साहित्यकारहरुसँगै उठबस र घुमफिर गर्ने एकप्रकारको प्यास एकाएक उम्रेर आएको थियो । उम्रने मात्रै होइन मुख सुकाएरै प्याक्प्याक्ति पारिदिएको थियो ।

“कि यिनीहरुलाई रुकुम घुम्न निम्तो नै दिने त ?” कसैले दिलभित्रैबाट प्वाक्क सोधिहाल्यो ।

“निम्तो स्वीकार गर्लान् र ?” अविश्वास गर्‍यो अर्को मनले ।

“मज्जाले स्वीकार गर्न सक्छन् । रुकुम पहुँच केही लेखकहरुको लागि आकाशको फल सरह पनि त हुनसक्छ । यस्तो अवस्थामा आफै सहजकर्ता बनिदिएपछि कसो नमान्लान् ।”

“सोधिहेरौँ न त !”

साहित्यिक जिज्ञासाका जस्तासुकै शब्द खसाल्नको लागि खुल्ला पेटारो कमल ढकाल छँदै थिए । मैले कमलजीलाई प्रस्ताव राखिहालेँ : “कमल सर, केही साहित्यकारहरुलाई रुकुम फनक्कै घुमाइदिऊँ, हुन्छ ?”

एक्कासीको मेरो यो प्रस्तावले तीनछक परे होलान् कमल ।

उनले तुरुन्त जवाफ फर्काइहालेः “गुड, गुड । तपाईँको जय होस् प्रभू । यसको म बन्दोबस्त मिलाउँछु । क-कसलाई लैजाऊँ बरु ?”

अचानकको कमलजीको स्वीकृतिले तीनछक पर्ने पालो अब मेरो थियो । कमलजी ठट्टा गर्न माहिर छन् । ‘यति छिटै निर्णय दिन के सक्लान् र ?’ भनी पत्याउन गाह्रो भयो मलाई । तर प्रकटमा कुरा लुकाउनु आवश्यक थिएन, भनिहालेँ:

“चर्चित साहित्यकारहरु हुनुपर्‍यो । सकभर विधाअनुसार अलग-अलग । कविताको बेग्लै, कथाको बेग्लै, निबन्धको बेग्लै । गाउँदेखि शहरसम्मै टेलिश्रृङ्खला र फिल्मका शौखिन मानिसहरु भएकोले पटकथाकार पनि लान पाए झनै वेश् ।

उनले त्यस दिनको बेलुका नै जवाफ फर्काएः

“कविताको लागि विप्लव ढकाल, उपन्यासको लागि अमर न्यौपाने र निबन्धको लागि युवराज नयाँघरेलाई खबर गरिसकेँ । उनीहरु जानलाई तम्तयार भैसके । त्यताको तयारी थालिहाल्नुस् । तपाईँ यस्तै प्रस्ताव ल्याउने मान्छे हो भनी मैले पहिल्यै गेस गरिसकेको थिएँ । गुड । जय होस् ।”

मलाई पत्याउन गाह्रो भैरहेको थियो । कसरी जालान् र यिनीहरु ? एकातिर लेखकहरुको आफ्नै व्यस्तता, अर्कोतिर रुकुम नपुगेकालाई त्यहाँको सुन्दरताको अनुमान नै हुन सक्तैनथ्यो र त्यो ठाउँ कम महत्त्वपूर्ण हुनसक्थ्यो । अधिकांश नवागन्तुकहरु दाङबाट सल्यानको शितलपाटीसम्म पुग्थे र फर्कन्थे । अनि सुनेको भरमा रुकुमको विषयमा समेत लेख्न चुक्दैनथे ।

कमलजीको स्वीकृतिसूचक यो नामसहितको प्रस्तावले मेरो उत्तेजना ह्वात्तै उम्लियो ।

“दशैँ अघि नै जाऊँ न त उसोभए ।”

“समय फिक्स गरेको छैन । उनीहरुको अनुकूलता पनि मिलाउनैपर्‍यो ।”

समय नै फिक्स नगरी यात्राको सम्भावना कसरी हुनसक्छ ? उम्लिएको मेरो आशा एकाएक सेलायो । सेलाउनु के थियो निराशाको छट्पटीले रातभर निद्रा नै लागेन ।

भोलिपल्ट बिहानै खबर आयो कमलजीको:

“दशैँ अगाडि कसैलाई अनुकूल नहुने भयो । दशैँ र तिहारबिच गरौँ न त ?”

दशैं अगाडि नमिल्ने भएपछि दशैंतिहार बीचमा पनि के मिल्ला र ? तर मलाई समयको वरपरले फरक पर्ने थिएन । म रुकुमेली न परेँ ।

“पक्का त हो नि ? जुनसुकै समय पनि जान तयार छु म । तपाईँ मिलाउनुहोस् कमलजी ।”

“ल पक्का, उताको साथीहरुसँग कुरा मिलाउनुभो त ? त्यहाँ सिर्जनशिल कक्षा लिनेहरु भइदिए हाम्रो खर्च पनि टर्थ्यो ।”

“समय नै निश्चित नहुँदै कसरी कुरा गरुँ म ?”

“आउँदैछन् है, कक्षा लिनेहरु खोज्दै गर्नू, भन्न त मिल्यो नि !”

 

कार्यक्रमको वक्र रेखाङ्कन

असोज तेस्रो हप्ता । युवराज नयाँघरे विप्लव ढकाल र अमर न्यौपाने लगायतको टोली रुकुम पुग्ने कमलजीको आश्वासनले म उत्साहित भएको थिएँ ।

रुकुममा राप्ती साहित्य परिषद्को जिल्ला शाखा रुकुम गठन भई विभिन्न साहित्यिक गतिविधिहरु तिब्र गतिमा चलिरहेका थिए । तत्कालीन स्थानीय विकास अधिकारी भरत शर्मा र मेरो पहलमा हरेक महिनाको पहिलो शनिबार साहित्यमाला कार्यक्रम शुरु गरिएको थियो । भरत शर्मा जिल्लामा रहँदा साहित्यिक विकासमा प्रत्यक्ष रुपमा सहयोग पुर्‍याइरहेका हुन्थे । हरेक महिनामा जिल्लाका फरकफरक गाउँमा पुगेर साहित्यमालामा रचनावाचन भैरहेका थिए । पछि प्रत्येक दुई महिनामा एकल रचना वाचन कार्यक्रमको शुरुवात गरिएको थियो । बिचबिचमा त्यहाँका साहित्यकारहरुले प्रकाशन गरेका पुस्तकहरुउपर समीक्षा पनि प्रस्तुत हुन्थ्यो । कार्यक्रमलाई सफल पार्न मरिमेट्ने साहित्य शाखा रुकुमका हालका अध्यक्ष थिए: मनलाल ओली, निवर्तमान अध्यक्ष थिए: गिरीप्रसाद बुढा र उपाध्यक्ष थिइन्: सिर्जना शर्मा ।

यिनै तीनजनालाई बेग्लाबेग्लै सम्पर्क गरेर ‘चर्चित साहित्यकारहरु रुकुम आउन थालेको’ विषयमा कुरा राखेँ । उनीहरुले ‘यस्तो कार्य रुकुमेली साहित्य विकासको लागि सकारात्मक कुरा हो । हामी कार्यक्रम सफल पार्न तयार छौँ’ भन्ने जवाफ दिए ।

मैले उनीहरुको कुरालाई हुबहु कमलजीलाई बताइदिएँ । कमलको मुख्य चासो थियो रुकुममा सिर्जनात्मक लेखनको प्रशिक्षण पनि चलाउने र जिल्लास्तरमा आफ्नो अभियान पुर्‍याएको जस पनि लिने । उनी बारम्बार सोध्थेः कतिजना होलान् त कक्षा लिनेहरु ?

मलाई आफ्नो जालमा परिसकेको माछो फुत्काएर खोलामै पुर्‍याउनु थिएन । अतः त्यसको लागि ढाँट्नु आवश्यक थियो र भनेको थिएँ, “कक्षा लिनेहरु कम्तिमा ३० जना हुनेछन् र प्रत्येकसँग दुईहजारको दरले शुल्क लिँदा ६० हजार हुनेछ । यतिले गाडीभाडा र इन्धन खर्च भ्याउनसक्छ । रुखोसुखो गासबास उता ‘फ्रि’ मै उपलब्ध हुनेछ । ५० जना पुगे भने  गासबासको उपयुक्त प्रबन्ध मिलाउन सकिनेछ । त्यो संख्या पनि नाघ्यो भने दुईभाइले बढी भएको आधाआधा बाँडौँला नि हुन्न ?”

“धत् बूढा ! कहाँ हुन्छ त्यस्तो ? साहित्यकारहरुलाई कक्षामा जोताउने उनीहरुलाई पारिश्रमिक दिनुपर्दैन ? उनीहरुको पारिश्रमिकसम्म जुट्दैन भने त नजाम् भो ।”

“अवश्य जुट्छ भन्दै त छु नि म । विद्यार्थीहरुमा आयस्रोत नहुने हुँदा उनीहरुबाट आशा गर्न सकिँदैन । जिल्लामा साहित्य परिषद् स्थापना भएको धेरै भैसकेको छ । कम्तीमा १०० जना सदस्यहरु नै होलान् । मुख्य हाम्रो लक्ष्य उनीहरु नै हुन् । पत्रकारिता पनि साहित्यको एक अंश हो, यहाँ दुईदर्जनभन्दा बढी पत्रकारहरु नै छन् । अर्को विद्वतवर्ग कर्मचारीहरु हुन्, तिनीहरु पनि उत्सुक हुन सक्छन् र दुईसय भन्दा बढी कर्मचारीहरु छन् । अर्को जिल्लास्थित नेपाली तथा अंग्रेजी शिक्षकहरु हुन् । सबै जोड्दा सहभागी हुनेको संख्या ५० सजिलै नाघ्छ कमलजी ढुक्क हुनुहोस् । पचासजना पुगे भने त एकलाख हुनेछ शुल्क नै । ७५ हजार अन्य व्यवस्थापन खर्च गरियो भने २५ हजारले पारिश्रमिक पुग्दैन र ?”

“गुड गुड । यति राम्रो मान्छे ! पक्का हो हैन त ? २५ हजारसम्मले त मजाले पुग्छ पारिश्रमिक ।” मैले उनको अनुहार देख्न सकिन तर उनको लवजले उनी पनि बेसरी हौसिएको आवाज आइरहेको प्रष्टै बुझेँ ।

मैले युवराज नयाँघरे, विप्लव ढकाल र अमर न्यौपानेका कृतिहरु गुगलमा उधिन्न थालेँ, पुरस्कारहरु उधिन्न थालेँ, उनीहरुको जीवनी र अन्तर्वार्ताहरु धुइँपत्ताल खोज्न थालेँ ।

उनीहरुको बारेमा यथेष्ट सूचना प्राप्त गरिसकेपछि ‘रुकुममा चर्चित साहित्यकारहरु सहितको साहित्यिक पर्यटन हुने बारेको सूचना’ तयार गरेँ, उनीहरुका जीवनवृत्तिसम्बन्धी प्राप्त भएसम्मका विस्तृत सूचनाहरु त्यसैमा खाँदखूद गरेँ । त्यो सूचना उल्लिखित लेखकहरु लगायत कमल ढकाललाई पठाइदिएँ । जिल्लास्थित साहित्यकार साथीहरु र पत्रकारहरुलाई समेत पठाइदिएँ । ‘जानकारीको लागि मात्र हो, छाप्नको लागि होइन’ भन्दाभन्दै रारान्यूज अनलाईनमा प्रकाशित नै भएछ उल्लिखित सूचना ।

अनन्त न्यौपाने बाहेक सबैबाट प्रतिक्रिया पनि प्राप्त भयो । सबैको प्रतिक्रियाको स्वर एउटै थियोः “अहिल्यै  सूचना सार्वजनिक नगरौँ ।” आशय हुनसक्थ्यो: अतिथिहरु रुकुम जान मानसिक रुपमा अझै तयार भैसकेका छैनन् ।

अर्को दिन कमल ढकालजीले कथाकार अश्विनीजी कोइराला पनि रुकुम जान इच्छुक भएको खबर गरे । म झनै खुशी भएँ । लेखक थपिँदैमा खर्च थपिँदैनथ्यो, गाडीभाडा र इन्धन उही नै लाग्ने हो । त्यही हो आच्चकोच्च गरेर यात्रा गर्नुपर्थ्यो ।

मैले अश्विनी कोइराला समेतको नाम समावेश गरेर सूचना सच्याएँ र लेखकहरुको सम्भावित यात्राको सम्बन्धमा काल्पनिक यात्रा संस्मरण तयार गरी फोटो सहित फेसबुकमा अपलोड गरिदिएँ । उक्त संस्मरणले विप्लव ढकाललाई बढी छोएछ क्यारे मन छुने कमेन्ट गरिदिए । यसले म ढुक्क भएँ कि अरु नगए पनि विप्लव ढकाल अवश्य रुकुम जानेछन् ।

केही दिनपछि कमलजीले अमर न्यौपाने रुकुम नजाने निश्चित भएको खबर गरे । मेरो इच्छामा हल्का तुषारो खनियो । अमर न्यौपानेको सट्टा कसलाई लाने त ? हामी बीच छलफल भयो । कमलजीले नयनराज पाण्डेको नाम सिफारिश गरेपछि म खुशीले बुर्लुक्कै उफ्रिएँ । ‘रुकुम जालान् त नयनराजजी ?’, संशय व्यक्त गरेँ मैले कमलजीलाई ।

उनले ढुक्कसाथ भने, “नयन दाइलाई सोधेरै मैले खबर गरेको हुँ, उनको जन्मस्थल नै सल्यान हो र रुकुम जान लालायित छन् । आजैबाट मेरा नियमित कामहरुबाट विदा लिइसकेँ भनेका छन् नजाने कुरै आउँदैन ।” उनको निश्चयात्मक जवाफ सुन्नेबित्तिकै मेरो इच्छामा अमर न्यौपानेले खन्याएको तुषारो नयन र अश्विनिको न्यानोले स्वाट्टै वाफ बनाई उडाइदियो ।

दशैं सकिईसकेपछि मैले कमलजीलाई समय निश्चित गर्न आग्रह गरेँ । उनले आनाकानी गरिरहे । उनको आनाकानी सायद सम्भावित लेखकहरुको आनाकानीबाट निर्देशित हुनसक्थ्यो ।

मैले जोड गरिरहेँ कि दशैँ र तिहार मौसमको कारणले पनि उपयुक्त छ । धेरैजसो रुकुमेलीहरु दशैँ मान्न गाउँघरमा गएका हुन्छन् । उनीहरु तिहार मनाएपछि मात्र फर्कने हुँदा दशैँतिहारको बीचको समयमा उनीहरु रुकुममै हुन्छन् । यो समयमा धेरैभन्दा धेरै रुकुमेलीहरुसँग भेट हुनसक्छ । यो समय सार्न हुँदैन ।

तर मेरो केही जोर चलेन । ‘तिहार लगत्तै भ्रमण कार्यक्रम हुने’ भन्दै कमलजीबाट दशैँतिहारबीचको यात्रा तालिका पनि रद्द गरियो । म निराश हुनु बाहेक के गर्न सक्थेँ र ?

तिहारमा कमलजी अति नै व्यस्त रहे र हाम्रो नियमित वार्ता समेत टुट्न पुग्यो । तिहार सकिने बित्तिकै उनी सम्पर्कमा झुल्किए र भने “ल समय निश्चित गरिहाल्नुस् । हामी हिड्न तयार भैसक्यौँ ।”

मैले मंशिर २ गतेको समय सिफारिश गरेँ । कमलजीले सो मिति सहर्ष स्वीकार गरिहाले ।

मैले पहिल्यै तयार गरिसकेको  सूचना  सच्याएर ‘मंशिर २ गतेदेखि रुकुममा साहित्यिक भ्रमण हुने बारेको सूचना’ तयार गरी युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइरला र विप्लव ढकाल लगायत कमलजीलाई पनि पठाइदिएँ ।

उनीहरुबाट स्वीकृति आउला भनेको त अझै पनि ‘फेसबुकमा सूचना नराख्नुस् !’ भन्ने जवाफ नै प्राप्त भयो । के कारणले यो कार्यक्रमको हलो अड्किरहेको छ, केही बुझ्न सकिन ।

मंशिर २ गतेको समय आँखा चिम्लेर सिङौरी खेल्दै नजिकनजिक आइरहेको थियो । उता रुकुमतिर सूचना नै दिन सकिएको छैन । ममा ऐजेरुसरि दिक्दारी पलाइरहेको थियो ।

भोलिपल्ट विप्लव ढकालबाट नै यात्रा सुनिश्चितताको जानकारी लिन्छु भनेर उनलाई फोन लगाएँ । उनले ‘एस् !’ भन्नुको सट्टा ‘सरि !’ भनिदिए, “मेरो कलेज खुलिसक्यो, विदा पनि सक्कियो, म त रुकुम जान नै नभ्याउने भएँ ।”

मेरो उत्साहको पारो एकसय डिग्रिबाट झण्डै शून्य डिग्रिमा झर्नपुग्यो ।

मैले कमलजीलाई विप्लव ढकालले जानीजानी इच्छामा लगाएको ठेसको दुखेसो पोख्न खोजेँ । उल्टै उनले पनि सोही जवाफ दोहोर्‍याए: “सरि है, म पनि जान नभ्याउने भएँ । मेरो सट्टा तपाईँकै ब्याजी डा खतिवडालाई तयार पारेको छु ।”

मेरो झनक्कै रिस उठ्यो र पारो उम्लिएर फेरि १०४ डिग्रि नाघ्योहोला । भनिदिएँ: “घरि ‘पक्का’ भन्नुहुन्छ, घरि ‘सरि’ भन्नुहुन्छ । अब तपाईँहरुको बोलीको विश्वास नै गर्दिन म । ल उसोभए यो कार्यक्रम यसपटकलाई रद्द भयो । मिले बैशाखजेठतिर गरौँला, नत्र सधैँलाई रद्द !”

कमलजीले मलाई आवेगमा नआउन फकाउँदै थिए । मैले उनको फोन काटिदिएँ र बिछ्यौनामा थचारिएँ । मेरो दीर्घ रोग छ सातआठ घण्टा रिङ्टा लाग्ने, एक्कासी बल्झिएर आयो । शुरुमा आफू ढलेको बेड रिङ्न थाल्यो, अनि कोठा फनफनी रिङ्न थाल्यो । म आँखा चिम्म गर्दै घोप्टो परेँ । खाएको जम्मै नाकमुखबाट उल्टिने चेष्टा गरिरह्यो, मैले बलजफ्ति निलिरहेँ र रातभर ननिदाएरै आकाशपात्ताल घुमिरहेँ ।

रुकुम साहित्यिक नियात्राको यो तेस्रो श्रृङ्खला र मेरो अनुभूतिको दोस्रो श्रृङ्खला । जसले मेरो पहिलो श्रृङ्खला पढ्नुभयो, उहाँहरुले यो यात्रा अनुभूति पनि हेरिदिनुहोला । जसले यो श्रृङ्खला पढ्नुभयो, उहाँहरुले यसभन्दा अघिका श्रृङ्खला र यसपछिका श्रृङ्खला पनि हेर्न नछुटाउनुहुन अनुरोध छ । म लगायत रुकुमका साहित्यिक मनहरु र चर्चित साहित्यकारहरुका अनुभूतिका श्रृङ्खलाहरु रारान्यूजमा  क्रमशः आइरहनेछन् ।

60 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *