डा. कुसुमाकर शर्मा

आला, रुकुमकोट, रुकुममा जन्मनु भएका डा. कुसुमाकर शर्मा विगत दुई दशकदेखि पानी प्रशोधन विशेषज्ञको रूपमा संसारभरि प्रसिद्ध हुनुहुन्छ। हाल उहाँ क्यानाडाको अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा पानी प्रशोधन वैज्ञानिक भएर कामकाज गर्दै हुनुहुन्छ।

उहाँ यस समयमा क्यानाडाको बृहत ‘ओएल स्याण्ड्स’ खनिज तेल उद्योग क्षेत्रबाट निस्केको दूषित पानी कुन गुणस्तरमा प्रशोधन गरी प्रवाह गरेमा जलचर, थलचर र मानव स्वास्थ्यलाई कुनै हानी गर्दैन भन्ने प्रशोधन गुणस्तर निर्धारण गर्ने भन्ने कार्यमा संलग्न हुनुहुन्छ। यो प्रशोधन गुणस्तर आजसम्म संसारका कुनै देशमा नबनेको हुनाले संसारकै लागि नौलो हुने छ।

उहाँले केही समय थाइल्यान्डमा र करिब एक दशक नेपाल सरकारको खानेपानी विभागमा काम गर्नु भयो। थाइल्यान्डमा बस्दा पनि पेट्रोलियम उद्योगको दूषित पानी प्रशोधन गर्ने प्रविधि विकासमा कार्य गर्नु भएको थियो। त्यस्तै ब्याङ्कक शहरको ब्याङ्कक वाटर वर्क्स अथोरिटी (पानी प्राधिकरण) सङ्ग मिलेर शहरमा फिँजिएका खानेपानीका पाइपहरुमा ब्याक्टेरियाको लेऊ (बायोफिल्म) बढ्न नदिन नयाँ प्रविधि परीक्षणकालागि जापानी सरकारबाट फेलोशिप प्राप्त गर्नु भएको थियो। जुन प्रविधि अहिले संसारका ठूला ठूला शहरका खानेपानी वितरण प्रणालीमा प्रयोग हुन्छ।

डा. शर्माले क्यानाडाको प्रख्यात अल्बर्टा विश्वविद्यालयबाट विद्यावारधि गर्नु भएको हो। पानीको तापक्रम न्यून हुँदा पनि ब्याक्टेरियाले आफ्नो काम गर्छन् भन्ने नयाँ कुरा उहाँले आफ्नो विद्यावारिधिको अनुसन्धानमा देखाउनु भयो। बढी चिसो हुने स्थानका नदीहरू जमेर बरफ हुँदा पनि नदी र जमीन समाहित सतहमा ब्याक्टेरियाले कसरी पानीको अक्सिजन मात्रा कम गराउँछन् र त्यसको असर कसरी माछा र जलचरमा पर्छ भनेर डा. शर्माले देखाइदिनु भयो। यो नयाँ खोजको उपयोगिता देखेर नै अल्बर्टा सरकारले उहाँलाई पानी वैज्ञानिक बनाएर राखेको हो।

त्यस्तै, डा. शर्माले एशियाको प्रसिद्ध एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डबाट स्नातकोत्तर गर्नु भयो। रुक्मिणी माध्यामिक विद्यालयबाट २०३६ सालमा जिल्लाभरी कै उत्कृष्ट विद्यार्थी भएर एसएलसी प्रथम श्रेणीमा उतिर्ण गर्नु भएका डा. शर्मा अस्कलबाट आईएससी पास गर्नु भयो। त्यस पछि उहाँले कोलम्बो प्लान अन्तर्गत भारतको न्यास्नल इन्स्टिच्युट अफ टेक्नोलोजी (तत्कालीन रिजनल इन्जिनियरिङ कलेज), राउरकेला, उडिसाबाट सिभिल इन्जिनियरिङमा स्नातक गर्नु भयो।

डा. शर्मा आफ्नो विषयको विज्ञको नाताले वाटर साइन्स, इनभाइरोन्मेन्टल पोलुशन साइन्स एण्ड रिसर्च जस्ता अन्तराष्ट्रिय वैज्ञानिक पत्रिका (साइन्टिफिक जर्नल) का समीक्षक हुनुहुन्छ। उहाँले दुई दर्जन भन्दा शोध पत्रहरु अन्तराष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गर्नु भएको छ। यसका साथै उहाँले साठी भन्दा बढी अन्तराष्ट्रिय सभा सम्मेलनमा आफ्ना शोध पत्रहरु प्रस्तुत गरिसक्नु भएको छ।

यसै क्रममा उहाँले अन्तराष्ट्रिय पानी संस्थाको सन् २०१० मा क्यानाडाको मन्ट्रियल शहरमा भएको द्विवार्षिक सम्मेलनमा प्रस्तुत गर्नु भएको शोध पत्रले उत्कृष्ट स्थान प्राप्त गरेको थियो। आफ्ना शोध पत्र प्रस्तुत गर्न उहाँ एशिया, अफ्रिका, युरोप, उत्तर र दक्षिण अमेरिकाका विभिन्न देशहरूमा पुगिसक्नु भएको छ।

डा. शर्माले आफ्नो जीवनकालमा थुप्रै पुरस्कार, पदक र सम्मानहरु पाउनु भएको छ। विद्यालय स्तरका प्रतिस्पर्धामा सँधै अगाडि रहने डा. शर्मा क्षेत्र स्तरीय वादविवाद प्रतियोगितामा दुई पटक रुकुम जिल्लाको प्रतिनिधित्व गर्नु भयो। तीक्ष्ण बुद्धिका धनी उहाँले धेरै शैक्षिक छात्रवृत्ति पाएर आज यो स्तरमा पुग्नु भएको छ। जस मध्ये टीसीएस कोलम्बो प्लान लिएर उहाँ इन्जिनियरिङ्ग पढ्न भारत जानु भयो। त्यस्तै विश्व स्वास्थ्य सङ्गठनको फेलोशिप पाएर स्नातकोत्तर र विश्व विख्यात एलिजाबेथ द्वितीय छात्रवृत्ति पाएर विद्यावारिधि सम्पन्न गर्नु भयो। यसको अलावा जापान सरकारको एशिया क्षेत्रीय अनुसन्धान फेलोशिप, हेलमुट होल्ज फेलोशिप, विश्वविद्यालय उत्कृष्ट अनुसन्धान छात्रवृत्ति, डिनको उत्कृष्ट छात्रवृत्ति पनि उहाँले पाउनु भयो।

विज्ञान र प्रविधिको क्षेत्रमा मात्र नभएर प्रतिभाका धनी डा. कुसुमाकर शर्मा साहित्य र संस्कृतिका पनि हिमायती र हस्ति हुनुहुन्छ। उहाँ विद्यालय जीवनदेखि नै नाचगानमा भाग लिँदै अहिले सम्म आफ्नो संस्कृतिको संरक्षण र सम्बर्धनमा तल्लीन हुनुहुन्छ। भारतमा पढदाहोस् या थाइल्यान्डमा उहाँ आफ्नो सांस्कृतिक पाटो देखाउन तल्लीन हुनुहुन्थ्यो। क्यानाडामा हुने विभिन्न कार्यक्रममा आफ्नो नाच प्रस्तुत गर्न सँधै अग्रसर हुनुहुन्छ। त्यस्तै विद्यालयका दिनहरूमा कविता, निबन्ध लेख्न शुरू गरेका डा. शर्मा हाल स्थापित साहित्यकार बनिसक्नु भएको छ। उहाँका फुटकर कथा, कविता, निबन्धहरु यत्रतत्र प्रकाशित भएका छन्।

हाल उहाँ अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य र नेपाली साहित्य समाज क्यानाडाको आजीवन सदस्य बनेर नेपाली भाषा र साहित्यको उत्थानका लागि कार्य गर्दै हुनुहुन्छ। डा. कुसुमाकर शर्माको अर्को उत्कृष्ट पाटो सामाजिक सेवा हो। मानिस सामाजिक प्राणी भएर जन्मे पछि समाजमा एक्लै बाँच्न सक्दैन भन्ने धारणाले उहाँ सामाजिक कार्यमा सम्मिलित हुन औधी मन पराउनु हुन्छ।

भारत पढ्दा ‘अराउण्ड इण्डिया’ सांस्कृतिक कार्यक्रमका सह – सञ्चालक हुँदै थाइल्यान्ड बस्दा एआईटी नेपाली समाजको अध्यक्ष, नेपाल ईन्जिनियर्स एशोसियसन, ब्याङ्कक च्याप्टरको सभापति बन्नु भयो। क्यानाडामा आएपछि नेपाली ज क्यानेडियन सोसाइटी अफ एडमन्टनको कार्य समितिमा अध्यक्ष लगायत विभिन्न पदमा काम गर्नु भयो। सो संस्थाले सञ्चालन गरेका नेपाली भाषा र संस्कृतिका कार्यक्रमको सफलतामा हरदम लाग्नु हुन्छ। यसै सिलसिलामा उहाँ एडमन्टनमा नेपाली रेडियो सञ्चालक भएर पाँच वर्ष रेडियो कार्यक्रम सञ्चालन गर्नु भयो। यसका साथसाथै संस्था अन्तर्गत सञ्चालित नेपाली भाषाको जुनेली स्कूललाई व्यापक बनाउन सङ्गीत, नृत्य र योग विभाग खोली सञ्चालनमा ल्याउनु भयो। संस्था र यसले सञ्चालन गरेका कार्यक्रमको दीगोपनका लागि आर्थिक स्रोत जुटाउन डा. शर्मा हरदम लागी रहनुहुन्छ। हाल उहाँ यसै संस्थाले थालेको सांस्कृतिक र सम्पदा केन्द्र निर्माणको परियोजनामा संलग्न हुनुहुन्छ।

यसरी डा. शर्माले विदेशमा रहेका नेपालीहरूको जीवनलाई माथि उठाउन गर्नुभएको अनवरत योगदानलाई कदर गर्दै संस्थाले उहाँलाई माउन्ट एभरेष्ट लिडरशिप अवार्डले सम्मानित गरेको छ। डा. शर्मा पीडितको सहयोगार्थ पनि हरदम लागिरहनु हुन्छ। सन् २०१५ मा नेपालमा गएको भूकम्प पीडितहरुको उद्धारका लागि उहाँले क्यानाडामा करिब एक करोड रुपियाँ उठाएर रेडक्रस मार्फत नेपालमा पठाउनु भएको थियो। श्रीमती, एक छोरी र एक छोरा सहित हाल उहाँ क्यानाडाको अल्बर्टा प्रान्तको एडमन्टन शहरमा रहँदै आउनु भएको छ ।

उहाँलाई kusumakar.sharma@Gmail.com मार्फत इमेलमा सम्पर्क गर्न सकिन्छ ।

 363 total views,  1 views today

Leave a comment

Your email address will not be published.


*