ठूली, ठूला र ठालु

उद्घाटन

“फिरि बोलाल्लिन् भन्नुहुन्च, ठूलीले ता !” मनलालले गहिरो मुस्कुराहट सहित आफ्नो घरमा हाम्रो स्वागत गरे । नामै मनलाल । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष । रेडियो सानोभरीका साहित्यमाला कार्यक्रमका प्रस्तोता । त्रिवेणी उच्च मावि सिम्रुतुका नेपाली शिक्षक । मनकै ठूला मान्छे । ठूलदहलाई आफ्नै ठूली झैँ व्यवहार गर्न खप्पिस ।

 

“ठूला मान्छलाई नबोलाइकिन कोलाई बोलाउँदिउन् त ठूलीले ?” चन्द्राको झटारो मनलालतिरै सोझिएको हुनुपर्छ । उनको झटारो झाङ सहितकै हुन्छ । झाङका भित्रभित्र तिखातिखा काँडाहरु पनि हुन्छन् । झटारो एकातिर सोझ्याइए पनि झाङका तिखा हाँगाबिँगाले वरिपरिका जोसुकैलाई कोतर्न पर्याप्त हुन्छन् । बोलीमा तर्कयुक्त वजन पनि हुन्छ । बोलिन् कि सुन्नेलाई ‘म:म:’ कल्पाउन बाध्य पारिहाल्छिन् । यिनी पनि आफै सानी त कहाँ छिन् र सिम्रुतु बहुमुखी क्याम्पसकी क्याम्पस चिफ पो हुन् त !

उनको झटारोले मलाई पनि अलिकति कोतरेको छ र मैले पनि मःमः कल्पिरहेको छु । भित्रभित्रै तर्सिएको छु कतै त्यो झटारो मैलाई त हानेकी होइनन् यिनले ? छोटो विदा लिएर रुकुम आइपुगेको छु । यो टोलीमा सबैभन्दा जेठोबाठो मै छु । मैले जे भने पनि स्वीकार्छन् यिनीहरु । जता लगायो उतै लाग्न सक्छन् । भनौँ न यो भ्रमणको सूत्रधार नै म हुँ ।

त्यसो पनि होइन । यो भ्रमणको मूख्य सूत्रधार त मबाहेक अर्की छिन् यहाँ । पारिवारिक सवालहरुमा मेरो आफ्नो निर्णय मेरै वशमा हुँदैन । मेरा निर्णयउपर यिनकै निर्णय हावी हुन्छ । यस्तो लाग्छः यिनको स्वीकृति बिना म सास पनि फेर्न सक्दिन । माइतीतिरकी ठूली छोरी पो हुन् त । मेरी उनी । मेरी ठूली । देवकुमारी ।

आफैले कोरेको निर्णयको गोरेटोमा उनी पनि आफै डोरिन त कहाँ सक्छिन् र ? उनलाई डोर्‍याउने हैसियत राख्ने अझै अर्कै छिन् । देवकुमारीकै माहिली बहिनी देवी । सोलाबाङ हाइस्कूलकी नेपाली शिक्षिका । देवकुमारीले सबैभन्दा नजिककी आधार उनलाई नै मान्छिन् । दुःखसुखमा ज्यानै अर्पेर सहयोग पनि गर्छिन् यिनी । मनलाल र चन्द्राको जवाफसवाल सुनेर यी दुईबहिनीलाई हाँसोको फड्को थाम्न मुश्किल परिरहेको थियो ।

वश् यति मात्र रह्यौँ भ्रमण टोलीका सदस्यहरु । अरु थप्ने इरादा देश, काल, परिस्थितिले पूर्ण हुन दिँदै दिएन ।

०००

जेठमासको टाटीको उष्णताले सोलाबाङमा सास नै फेर्न नदिएपछि सास बिसाउन लेक डुल्ने योजना बुनि त हालियो । कुरा चुहाउने ठूली देवकुमारी नै हुन् । उनले नै भनेकी थिइन्: “एकपटक पानेखोलाको मूल नहेरी नछाड्ने रहर छ ।” उनलाई उनकै निजी रहरहरु पूरा गर्न उनकै निजी आँटले कहिल्यै साथ दिएन । अलिकति लामो यात्रा भन्यो कि टाउको दुख्न थालिहाल्छ, ज्वरो निस्किहाल्छ यिनको । यता विदामा आएदेखि धेरै पटक मैले उक्साएको थिएँ: “आजै जाऊँ न त पानेखोलाको मूल हेर्न ।”

“नाइँ आज त मेरो टाउगो दुख्याउछ, भइयो अर्को दिन जाउँला ।”

मलाई यसरी टारे पनि बहिनी देवीसँग भने कुरा राखिहालिन्: “अई माइली, तोले देख्यै छै हाँ पानेखोलाउ मूल ? एक्कै ठाउँका रातरातो पत्थरबाट ठूलै खोलो भुलभुलभुल गरिकिन जाग्च गरे क्या ! एकफेर हेर्न जान पा हुन्त्यो !”

“हँ… हाइ तो ! त्यसोभया हेर्न जान पा ता हुन्त्यो क्या लाई । त्याइस गते विदा पनि पर्‍याउछ गरे ।” एकछिन सोचेर बोलिन् देवीः “यतापाइ काफल पनि निक्त्या । बुटामा बाँकी रह्याभया दुईचार फल काफल पनि चाख्खेलौँला । हुन्च जाउँ है दिदी, जाउँ जाउँ । यै त्याइस गते ।”

त्यसपछि दुई बहिनीले योजना बुन्न थाले । तेइस गते बिहानै उक्लने । अघिल्लै दिन एक ढक्की चिल्ले रोटीहरु बनाउने । तोरीको साग भुट्ने । काँक्राको अचार बनाउने । तीनचार लिटर मोही लैजाने । आदि आदि ।

यो भ्रमण पारिवारिक होस् भन्ने हेतुले मैले अरु दाजुभाइहरुसँग पनि प्रस्ताव राखेँ । गाउँका मिल्ने साथीभाइहरुसँग पनि कुरा राखेँ । सबैबाट भ्रमणमा साथ दिने वचन मिल्यो । बेलुका देवकुमारीले चन्द्रा पनि जाने भइन् भन्दै खुशी व्यक्त गरिन् । मैले पनि थपेँ: “सम्धी, जेठानहरु, दाजुभाइ  सबैलाई भनेको छु अरु साथीभाइहरु पनि थपिन सक्छन् ।”

“तपाईँका सात्यासङ कोइले सात दिन्नन् लाई ।”

“चन्द्रा पनि कुनै हालतमा जान्निन् लाई !” मैले पनि उनको खण्डन गरेँ ।

उनको भनाइ गलत होइन भनी मनमा भने चिसो पसिसकेको थियो । तीनजनाले मात्र त दिनभरको जङ्गल यात्रा गर्न सम्भव छैन । भन्नेबित्तिकै भ्रमणमा साथ दिने मनलाल बाहेक अरु नहुन सक्छन् । हत्पत्ति उनलाई फोन लगाईहालेँ: “मनलाल सर, पर्सि विदा छ रे । तपाईँकी ठूलीलाई भेट्न फेरि जाउँला । अरु कुनै कार्यक्रम नबनाउनुहोला विदाको दिनमा । गिरि सर कता हुनुहुन्छ ? मिल्ने साथीभाइलाई खबर गर्नुहोला ।”

“त्यसोभया बिचार गर्रेलम्ला तो । के भो र लाई !” मनलालले स्वीकृतिसूचक जवाफ दिए ।

मनलालले नै यति भनिदिएपछि म ढुक्क भइहालेँ । देवकुमारी भने भोलिपल्ट तयार गर्नुपर्ने परिकारकै ध्याउन्नमा थिइन् । तेल कता खोज्ने ? भाङो कता खोज्ने ? साग कता खोज्ने ? मोही कता खोज्ने ? यस्तै यस्तै । उनलाई यही चिन्ताले रातभर निद्रा हराम नै गरिदियो । तथापि यात्रा तयारीको लागि सिँगै एकदिन दुईरात बाँकी नै थियो ।

०००

पहिलो घडी

भोलिपल्ट अर्थात् पूर्वनिर्धारित भ्रमण कार्यक्रमको एकदिन अघि बिहान साढे चारबजेतिर देवीको फोन आयो, देवकुमारीले उठाइन् । देवी भन्दै थिइन्: “लाई के गर्ने होला क्या दिदी ? विदा ता आजै ह्राग्गेल्यो छ गरै ! पानेखोलाउ मूल हेर्न जाने होला कि होइन क्या लाई ?”

” त्यत्ता के गरी जाने होला भनी हुक्केइथ्याँ म पनि, ठीक्कै भो लाई । केइ तयारी गर्र्याउछैन । हुन्दिउँ । अब आइसेल जाउँला प ।” देवकुमारीले यात्रामा नजाने निहुँ खोजिन् ।

मैले झट्पट् फोन तानेर देवीलाई भनिहालेँ: “यदि आजै विदा हो भने आजै जानुपर्छ । तिमी तयार हुँदै गर, हामी आधा घण्टामा तिम्रो घरमा आइपुग्छौँ ।”

त्यसपछि देवकुमारीका जाँगर नचल्दा नचल्दै तयार हुन लगाएर पाँच बजेतिर देवीको घरमा हाजिर भयौँ । उनलाई तयार हुँदा ६ बज्यो । चन्द्राले साथ दिन्छिन् भन्ने विश्वास पटक्कै थिएन मलाई । दुई बहिनीले पालो गरीगरी फोन गरे चन्द्रालाई, उनी भने फोन नै स्विच अफ गरेर सुतेकी रहिछन् । जब उठेर फोन उठाइन् विदा आजै परेको भए यात्रामा सहभागी हुने वचन दिइन् । उनलाई तयार हुन पन्ध्र मिनेट पनि लागेन । उनले कुनै हालतमा साथ दिँदैनिन् भनेको ता कहिल्यै यस्ता पारिवारिका कार्यक्रममा साथ नदिने चन्द्रा हाम्रो यात्राको अगाडि अगाडि लागेको देखेर म छक्क परिरहेको थिएँ ।

०००

दोस्रो घडी

बाटोमा दुईजना आफन्ती भेटिनुभयो जोमध्ये एकजना स्थानीय विद्यालयको शिक्षक पनि हुनुहुन्थ्यो । उहाँहरुलाई भनेँ, “जाऊँ काम्लेको लेकतिर, आज विदा पनि रहेछ ।”

“हामी अइल ता भलाक्चा जान लाग्या प छम् । उताट फर्क्यापछि सात देल्दाउँ तो हाम पनि ।”

भलाक्चा गएर फर्कन नै दिनभरि जसो लाग्छ । भलाक्चा पुगिकन फर्केर ठूलीदहसम्म पुग्छौँ भन्नु केटाकेटीलाई फस्ट्याउने हल्का मजाकभन्दा अरु केही होइन भन्ने बुझी हामी अगाडि बढ्यौँ । बाटोमै अर्को बाल्यमित्र भेटिनुभयो । उहाँको दम्पत्ति बिहानैदेखि बारी सफा गर्ने काममा खटिइसक्नुभएको रहेछ ।

“जाऊँ आज विदाको सदुपयोग जङ्गल सफारी गर्दै गरौँ । बाल्यकालका अनुभूति साट्ने यो अर्को अपूर्व अवसर हुनेछ ।” मैले फकाउन खोजेँ । प्रतिक्रियास्वरुप उहाँले जेठमासको विदाको दिनको कामको महत्त्व यसरी दर्शाउन थाल्नुभयो कि हामीजस्ता बेकामे बाहेक त्यहाँ अर्कोजना हुन्थ्यो भने ऊ फरक्क घरमा फर्केर कुटोकोदालो समाइसक्थ्यो ।

अर्को भाइ भेटिए अलिकति परको बाटोमा र हामीले साथ दिन आग्रह गर्‍यौँ, उनले ननुहाएर जिउ चिलाएको यसरी वर्णन गरिदिए कि आफ्नो पनि जिउ चिलाएर सकसक गर्न थालिहाल्यो र घर फर्केर नुहाउन जाऊँ जाऊँ तुल्याइहाले ।

मैले फकाउँदा कसैले नमानेको देखेपछि देवकुमारी अघि सरिन् र नजिकै रहेको दाइको दैलोमा पुगेर साथ दिन बिन्ति गरिन् । उहाँले बिहानीपखको भोकको यसरी वर्णन गरिदिनुभयो कि देवकुमारी र चन्द्रालाई तुरुन्त भोक जागिहाल्यो र उनीहरुले होटेलमा गएर तुरुन्त चना चड्काइहाल्नुपर्ने प्रस्ताव ल्याइहाले ।

तर साथीभाइ र दाइहरु भने हामीसँग यात्रामा निस्कन राजी हुनु त परै जावस् आफू संलग्न काम एकछिन पनि बिसाउनुभएन ।

यतिबेलासम्म बिहान सात बजिसकेकोले सोलाबाङ बेँशीको गर्मीले आफ्नो तमाशा देखाउन शुरु गरिसकेको थियो ।

भ्रमणटोलीमा संख्या बढाउने हाम्रो कुनै सिप नचलेपछि हामी त्यहाँबाट निन्याउरा मुख लगाउँदै लुरुक्क बसस्टपतिर फर्कियौँ । एकछिनसम्म पर्खँदा पनि बस नआएपछि पैदल नै खलंगा उक्लने हिम्मतले हामीहरुले बाटो तताउन थाल्यौँ । एउटा होटलमा भेटिएका एकदर्जनजति सेल झोलामा खाँद्यौँ । झोलाभित्र खाँदिएको सेलले हामीमा एकएकमुरी जोश उमारिदियो र फटाफट अगाडि बढ्न थाल्यौँ । भोक जल्किएकै थियो जाबा दश सेल झोलामा के बाँकि रहन्थे यात्राको दशमिनेटभित्रै सेलको झोला रित्तिइहाल्यो । अब बजार पछि परिसकेको थियो र भोकको लागि कुनै विकल्प दिन नसक्ने करिब पौने घण्टाको जङ्गली उकालोभित्र परिसकेका थियौँ हामी । झोला रित्तिनेबित्तिकै भोकले भाउन्ने तुल्याउँदै लग्यो यो सानो भ्रमण मण्डलीलाई ।

उकालो काट्ने उपाय गफभन्दा अर्को केही थिएन । अतः हामीबीच यस्तो गफ चलिरहेको थियोः “भोको पेट पैदल खलंगा उक्लनु कहीँ यो संसारमा सम्भव हुने कुरा हो ?” तर हाम्रो गन्तव्य भने एक खलंगा मात्र त के आठ खलंगा बराबरको दुरीमा पो छ भनी पर्दाफास गर्नुभनेको यो यात्राको योजना नै तुहाइदिनु हो भन्ठानी मैले नेपथ्यमै गोप्य राखिछोडेको थिएँ ।

हिँडेको दश मिनेटमै हिँडाइको थकान र भोकको मारवश् हामी सबैका चित्र काल्लिँदै जान थाले ।

यसैबेला अकस्मात नाटकीय तरिकाले चन्द्राले भोकलाई तुरुन्तै ठाउँको ठाउँ ठेगान लगाइदिने उद्घोष गरिन् । हामीहरुका आँखाकान सहितको भोका रुद्रघण्टीहरु चन्द्रातिर चनाखिए । उनले भनिन्: “सेरिगाउँ मनलाल सरकै घरमा भोक मेटाउनेछौँ !” अनि मनलाललाई फोन लगाएर ‘चारचारजनालाई दुईदुईरोटी तयार पारिदिन’ कुटनीतिक वार्ता सम्पन्न गरिहालिन् ।

तर सेरिगाउँ पनि नजिक त कहाँ थियो र ? पूरै एकघण्टाको पैदल दुरीमा पो थियो । यसैबेला कुनै सरकारी गाडी सुलुलुलुलु बग्दै सोलाबाङतिर हुत्तियो । यो देखेर देवकुमारीले घुटुक्क थुक निलिन् र मलाई पेचिलो प्रहार गरिहालिन्: “के गर्नु यस्ताको खप्परमा त सरकारी गाडी लेखेकै रहेनछ, नत्र त सेरिगाउँ दश मिनेटमै पुगिहाल्थ्यौँ !”

मलाई यतिले पूरै भारी पुगिहाल्यो । म मानहानी भएसरह एकैपटक अत्तालिएँ । तर प्रतिउत्तर केही बाँकी थिएन मसँग । यता हुँदा यस्तो आपत्तिमा भतिज पितारामलाई सम्झने गरेको थिएँ । तुरुन्तै फोन झिकेर उनलाई भनिहालेँ: “पितारामजी, सेरिगाउँसम्म मात्र उक्लनुथियो । म मात्र भए त केही थिएन तपाईँकी आन्टी पनि साथमै छिन् । गाडी पाइएनन् । आपत् परिराछ । गाडीको व्यवस्था नभैदिए तपाईँसँग साह्रै नाराज हुनेछिन् तपाईँकी आन्टी ।”

“पख्नु है त !” भन्दै उनले फोन राखिदिए । र एकछिनमै फोन लगाएः “ल गाडी लिएर म आउँदैछु ।” उनको यो कुरा नसुनेको भए सायद अबको दश मिनेटमै यात्रा तुहिसक्थ्यो कि ?

नभन्दै हाम्रो यात्रालाई सहज तुल्याइदिन पिताराम गाडी ल्याएर आइपुगे अनि उनकै गाडीमा हाजिर भएका थियौँ हामी मनलालको घरमा । त्यहीँ चन्द्रा र मनलालबीच ठूली र ठूलाका कुरा चल्दै गरेको बखत देवी र देवकुमारी भने रोटी जलेको कुनै गन्ध नआएकोले हैरान भैरहेका रहेछन् । अझैसम्म रोटी पकाउने कुनै सुरसार चलेको रहेनछ त्यहाँ ?

“दुईटा रोटा थेच्न दुई मिनेट पनि लाग्दैन !” भाउजू नआत्तिए पनि मनलाल हाम्रो उपस्थितिले आत्तिन थाले । करिब ६ महिना अघिको साहित्यिक भ्रमणको बेला पनि मनलालकै घरमा खाएका थियौँ र बिहानै आठबजे शुरु गर्ने भनिएको ठूलीदह यात्रा यही घरको दलिनमा भोजन पर्खँदै दिनको बाह्रबजेसम्म लम्बिएको थियो । अहिले पनि त्यही यादले सताएकोले मैले रोटी नपकाउन मनलालजीलाई आग्रह गरेँ ।

“घरमा आइपुगेको बेला नखाएर कहाँ खाने त अब ?” यात्रा टोलीका एकदुई सदस्य मेरो पछाडि गुनगुनाइरहेका थिए ।

मैले जवाफ दिएको थिएँ: “खलंगा !”

“बलै प्वारा नलाया भैयो लाई । त्याँ हाम्रा ज्याबा को बस्या हुनन् र हाम्लाई खाना पगाइदिने ?” देवीको छेडछाड हाम्रो जिब्रो ठेगान लागउन पर्याप्त थियो ।

०००

तेस्रो घडी

हामीलाई गाडीमा डिग्रे छोडिदिन पितारामलाई आग्रह गरेपछि उनी राजी भए । मनलाल सहित हामी भोकै खलंगा उक्लियौँ ।

चन्द्रा र देवी खलंगा बजारमा झरे । मनलाल छाताको बन्दोवस्त गर्न सत्यनारायणको घरतिर छिरे । बिडम्बना के थियो भने निर्जन लेकको दिनभरको यात्रा अवधिमा मुसलधारे पानी ओइरिन सक्थ्यो, असिना वर्सन सक्थ्यो, ठाडो घामले टाउका पुत्ताउन सक्थ्यो, तर एउटा छाता पनि कसैले बोकेका थिएनौँ । खलंगा पुग्नै लाग्दा यो कुरा महशुश गरेकोले मनलाललाई छाता खोज्न मैले नै अत्याएको थिएँ ।

देवकुमारी र म विगतको जागिरे अफिस कोलेनिकामा छिर्‍यौँ । हाकिम ईश्वरी सरले हाम्रो हार्दिक स्वागत गर्दै खाना तयार भैसकेकोले यतै खाएर जान आग्रह गरे । प्रस्ताव सुनेर देवकुमारीको भोकले खुम्चँदै गएको अनुहार उज्यालियो र अर्कोचोटि थुक निल्दै मुख मिठ्याइन् ।

“हामी त पाँचजना पो छौँ !” मैले यथार्थता बताइदिएँ ।

सबै ईश्वरीजीको पाहुना-कोठामा छिरेपछि थाहा भयो, चालकसँग त हामी छ जना पो रहेछौँ ! एक्ला ईश्वरीसँग छछजनालाई पकाइएको तयारी खाना हुने कुरै थिएन । उनले बाध्यतावश् अब बोली फेरिसकेका थिए: “एकडेढ घण्टा मात्र कुर्नुहोस् सबैलाई खाना तयार पारिहाल्छु ।”

तर हाम्रो यो यात्रासँग ईश्वरी बिलकुल पृथक थिए । एकातिर हाम्रो सानोतिनो फौजको लागि उनलाई खाना तयार गरिदिन बेफ्वाँकमा झोँज लगाउनु युक्तिसँगत हुँदैनथ्यो भने अर्कोतिर यात्राको लागि समय गुज्रँदै गएको थियो ।  अतः उनलाई भगवतिको मन्दिरमा निराहार जानुपर्ने अवगत गराउँदै विदाबारी भयौँ । त्यहाँबाट पनि भोकले लखतरान भएका हामीहरुलाई डिग्रेसम्म छोडेर गाडी खलंगातिर फर्कियो । गाडी फर्किएको देखेर यात्रुदलका अनुहार पुनः पहेँलिन थाले ।

हामी दुई खलंगा बराबरको उचाइँमा आइपुगेका छौँ । समुद्री सतहदेखि झण्डै पच्चीससय मिटरको उचाइमा । वारिपारिका डाँडाकाँडाहरु सर्लक्कै देखिएका छन् । आकाश अरु फैलिएको छ ।

डिग्रेको मेलास्थलमा धमाधम निर्माण कार्य भैरहेको रहेछ । हामीमध्येकै कसैले भन्योः “आहा ! अझै व्यवस्थित भैरहेछ मेला भर्ने ठाउँ ।” त्यो दृश्यले एकछिन भए पनि भोक बिर्साइदियो । भोक बिर्साउने प्रश्रय त डिग्रे साइकुमारी भगवतीलाई जानुपर्थ्यो जो बिहानैदेखि भोकै हामीलाई नै पर्खिबसेकी रहिछन् । उनी मन्दिरभित्र थिइन् । हामी बाहिरपट्टि । बीचमा फलामे ढोका थियो र भगवतीले फुत्काउनै नमिल्ने गरी भोटे ताल्चा मारिएको थियो । बाहिरबाटै भए पनि हाम्रो सकल यात्रालाई सफल तुल्याइदिन भगवतीसँग बिन्ति गर्‍यौँ । उनले भनिन्: “हुन्छ !”

“हामीले भन्यौँ: “हश्  धन्यवाद !”

“के ल्याइदिएका छौ र मलाई ?” उनले हाम्रो खल्तितिर नजर डुलाइन् ।

पुजारी त्यहाँ कतै थिएनन् । पुजारी नै नभैदिएपछि थुनुवा भगवतीले हामीसँग बार्गेनिङ गर्न सक्तिनन् भन्ने कुरामा हामी ढुक्क थियौँ । सबैले सरसापट गरेर पाँचपाँच रुपैँयाँको खुद्रा पैँसा पुर्‍याएर उनको लागि गेटबाहिरपट्टिबाट पिँजडाभित्रका चरालाई चारो खसालिदिएसरि पैँसा खसालिदियौँ । हामीबीचबाटै फेरि कसैले भन्योः “नाफै भयो । आज पुजारी नभएको बखत भगवतीको फेला परिएछ ।”

०००

चौथो घडी

हामी त्यताबाट पैदल अगाडि बढ्नथाल्यौँ । हामीलाई मुफतमा उकालो चढाउने गाडी डिग्रेबाटै फर्किए पनि भरखरै खनिएको रित्तो सडकले हामीलाई पछ्याउन छोडेको रहेनछ । त्यो देख्दा गाडी अरु ढुक्क भयौँ हामी । हामी पाँचजनासँग अर्को एकजना यात्रु थपिएको अनुभूति भयो ।

“मटरबाटो ता यति माथि डाँराकाँराउ जङ्गलसम्मै आइपुइयो छ लाई, काँ पुग्ने होला नाइँ ?” देवकुमारी चकित हुँदै बोल्छिन् ।

देवीले यात्राको भवितव्य अनुमान गरेर दुईचार पोका दालमोठ पहिल्यै झोलामा घुसार्न भ्याइसकिछन् । भोकले पुनः करामत देखाउन थालेपछि उनले झिकिहालिन् । अब त्यही दालमोठ खोसाखोस गर्दै बुकाउन शुरु गरियो । यात्रामा पाइला कम र हातमुख बढी चल्नु पनि साह्रै मनोरञ्जक हुँदो रहेछ । दालमोठ मुखमा छिराउँदाछिराउँदै पनि “खानै पाइएन ! भनी गुनासो ओकलिरहेका छन् सबैजसोका मुखहरुले । मुखभरि दालमोठ कोचिएको बेला गुनासो अलिकति कम हुनु फरक कुरा हो ।

“यो ता भोग मान्यालाई मात्रै हो बाल् । भोग नमान्यालाई होइन क्या ।” पालो पुर्‍याउँदै मेरो हातमा घुम्दै आइपुगेको दालमोठको पोको देवीले उछिट्याउँदै भन्छिन् । उनकै सहमतिमा अरुले पनि थप छेडछाड मतिर पस्किए र बाँकिजति पेट मिचिमिसि हाँस्न थाले ।

दालमोठ पनि छिटोछिटो सकिँदै जाँदो छ । दालमोठ सकिएपछि झनै यिनीहरुको मुख बढी चल्नेछ भन्ने कुराले मेरो मनलाई अरु अत्याउँछ । मनलाल र म बाहेक अरु कोही पनि यति लामो यात्रामा निस्किएको सम्झना छैन मलाई । भोकैभोकमा कसरी तय गर्लान् यी महिलाहरुले दिनभरको पैदल यात्रा ?

कति सुन्नसक्नु निरन्तरका छेडछाड यी दुई कानले मात्र ? म अलि अघि लाग्छु । मनलाल पनि मलाई पछ्याउन थाल्छन् । नपछ्याउन् पनि किन ? मलाई हानिएको छेड बाङ्गिएर मनलाललाई लाग्ने सम्भावना पनि उत्तिकै छ ।

मनलाल फुसफुसाउँछन्: “उस्सै ता स्वान्चरीका मुख बरि चल्चन्, झन् यो हालतमा ! क्यार्दान् र बलै !!”

जङ्गली बुट्यान र झाडीको घनत्व बढ्न शुरु भएको छ । अलि पर आठदश घर भएको गाउँ देखिन्छ । घना जङ्गलको बीचमा थपक्क बसेको बसिबाङ गाउँ रहेछ । लेकाली प्राकृतिक छटाहरुले घेरिएको गाउँ अवर्णनीय सुन्दर त छ नि ! तर त्यो सुन्दरता हो कि होइन भनी छुट्याउने आँखा कहाँ ताजा छन् र ? आँखा बोक्ने सिङ्गो शरीरभित्र भोक भकभकी उम्लिरहेको छ नि त ! गाउँभन्दा गाउँले सुन्दर लाग्छन् र मनलाल सोधिहाल्छन्: “कतै खानापिना पाइन्च कि हजुर ? भोगले मर्र्यौँ हामी ता !”

“काँ जाने बगाल हो र नाइँ ? हाम्रा घरनु ता पगाइदिने मान्छ कोइ पनि छैनन्, सबै हाङ्ताबाङ्ता लाइया बाल् ।”

अनि कुरुप लाग्छन् ती गाउँले हाम्रो दृष्टिमा ।

“के गर्ने होला नाइँ ? आज खाना पाइएला जस्तो छैन । सकिन्न कि क्या हो अगारि जान । थोरै दक्षिणा चराया भनिकिन रिस्सिन् कि डिग्र्या भगवति ?” मनलाल खाना नपाइनुमा पनि भगवतीलाई दोषारोपण गर्न खोज्छन् ।

मनलाललाई थामथुम पार्ने निहुँले आफ्नै मनलाई थामथुम पार्छु म, “यात्रा नै यही हो सर । भोकले मर्नुपर्छ । थकाइले गल्नुपर्छ । दुःख सास्ती झेल्ने अवस्था आइपर्नुपर्छ । अनि पो असली अनुभूति संगाल्न सकिन्छ । सुख त घरमा बसिरहेको भए पाइहालिन्थ्यो नि !”

एकदुई प्रयास असफल भएपछि पनि हामी अगाडि बढिरहेका छौँ । परपरसम्मका घरहरु गन्छौँ, अझैँ छन् छसात घर छिचोल्न बाँकी । कतै न कतै किन नपाइएला एकगास खान ? मनले हार मानेको छैन ।

अलिकति अगाडि बढेपछि बाटोको छेउमै लटरम्म फलेको काफलको बोट भेटिन्छ । हत्तपत्त मनलाल काफलको रुखमा चढ्छन् । म काफलको फेद कुरेर बस्छु । रुख चर्ने बुता छैनन् मेरा । मनलालले दुईचार झुप्पा मलाई खसालिदिन्छन् । भोकको बेलाको रसिलो काफल बेहद मीठो छ । मनलाल काफल मुखमा पनि हाल्दै छन्, गोजीमा पनि भर्दैछन् र मलाई पनि खसालिदिइरहेका छन् ।

यति गर्दासम्म पनि पछाडि परेका देवकुमारीहरु आइपुग्दैनन् । म झस्किँदै अलिकति तलसम्म पुगेर परपरसम्म बाटोमा हेर्छु कतै देखिँदैनन् तिनीहरु । बरु एउटी केटी मेरो अगाडी झुल्किन्छिन् ।

“नानी कतै खाना खान पाइन्छ कि ? हामी चारपाँचजना छौँ ।”

“म ता खलंगापाइ झर्न लागेइछु अङ्कल । घरमा चलमल गर्नै नसक्ने बूरी ज्या मात्रै छिन् । क्यार्ने हो र !”

“त्यसो नभन नानी । जे पकाइदिए पनि हुन्छ । जति पकाइदिए पनि हुन्छ । तिमीलाई धर्म पनि लाग्नेछ । तिम्रो अन्नको र मिहेनतको पैँसा मार्दैनौँ हामी ।”

ती नानी केही सोचेर, “हुन्च तो तेस्तोभया, म पगाइदिन्चु !” भन्दै  हाम्रो यात्राको सफलताको लागि आफ्नो यात्रालाई तिलाञ्जली दिन्छिन् र फरक्क फर्किन्छिन् आफ्नो घरतिर । उनको मनमा दया पलायो होला । धर्म पलायो होला । आशा पलायो होला । विश्वास पलायो होला । सबथोक पलाइरहने मन र वन भएको ठाउँ न हो यो ।

म देवकुमारीहरुलाई खोज्न अघि आएको बाटोतिर हामफाल्दै फर्कन्छु । पछाडि छुटेकी सबै महिला हुन् । फोन लगाउन खोज्छु फोनमा टावर देखाइरहेको छैन । हतारहतार फर्किँदा गाउँका कुकुरहरु भुक्दै मेरो पछिपछि आइरहेका छन्, त्यसैले अझै चिच्याएर तिनीहरुलाई बोलाउन पनि जोखिम छ । अझै तल पुग्छु । अँहँ परपरसम्म कतै छैनन् तिनीहरु । आशंकाले मन भतभती पोल्न थाल्छ ।

साँच्चिकै दुःख सास्ती भोग्न लेखिएको हो कि ? कोही भीरमा खुस्रुक्क लडे कि ? लुटेराले नाककानका सुन खोसेर भागेकोले लखेट्दै छन् कि ? नजिकै जङ्गल भएकोले जङ्गली जन्तुको आक्रमणमा परे कि ? कसैलाई पखाला चलेर अगाडि बढ्नै नसकेर फर्किए कि ? धत्तेरिका ! यतातिर कहिल्यै नआएकी महिलाहरुलाई एक्लै छोडेर किन हिँड्यौँ होला हामीहरु ? कहाँ गए होलान् त तिनीहरु ? बाटो बिराएर अर्कैतिर लागे कि ? ए डिग्रे भगवती, अरु जेसुकै देऊ तर दुःखसास्ती भने नदेऊ है यो यात्रामा ।

अलि तलै पुगेपछि बाटो माथिबाट चन्द्रा बोल्छिन्: “दाजु, हामी ता ह्याँ पो छौँ ।” आवाज आएतिर हेर्छु । झ्याम्म परेको काफलको बोट । तीनजनी नै त्यही काफलको रुखका हाँगाहाँगाका टुप्पामा पुगेर काफल खाँदै र टिप्दै गरिरहेका ।

“छिटो ओर्ल तिमीहरु । खाना पाकिसक्यो ।”

“हाम्ले ता काफलले पेट भर्रेल्यौँ । खानसान पर्दैन अब हाम्लाई ।” देवीको खितितिति हाँसो ।

०००

पाँचौँ घडी

सबैजना खाना पाकिरहेको खरको झुप्रोमा छिर्छौँ । त्यहाँ अपाङ्ग बूढी आमा र एउटी सत्रअठाह्रकी केटी मात्र छिन् । ती नानी ठूलो परातभरि गहुँको पीठो मुछिरहेकी छिन् । चन्द्रा आलुको तरकारी बनाउन थाल्छिन् । अगेनोमा दाउराको आगोको मल्टो बलिरहेको छ । पिउने पानी सिद्धिएकोले देवकुमारीकी दुईबहिनी गाग्री बोकेर एकपाखा पारि पानी ल्याउन जान्छन् । सानोमा गोठ जाँदाको झझल्को ताजा भएर झिज्याउन थाल्छ मलाई ।

“बिनाकामा भिनाजुलाई सबभन्दा पच्छेट है ।” पानी ल्याएर आइपुगेपछि उर्दि फर्माउँछिन् देवी ! उनको उर्दीलाई बेपरवाह गर्दै म पाक्दानपाक्दैको पहिलो रोटी नै अगेनाबाट उछिट्याउन सफल हुन्छु ।

नरमनरम रोटी ! लेकाली आलुको तरकारीको अनुपम स्वाद ! “गन्नुहोला है आम्मै !” भन्दै कति खाइयो कति ! पाँचपाँचजनाले रोटी फकाफक भोको मुखमा हुल्न थालेपछि आमाले गन्न सक्नु कसरी हेक्कै भएन । बरु चिनजान भयो । कति टाढाका रहेछौँ र ? बेँशीतिरका हामी र लेकतिरका यिनीहरु ! हामी सबैको साइनो सबैसित पर्‍यो । एकदमै नजिकैका पर्दा रहेछौँ । खाइवरि सकेपछि खानाको पैँसा तिर्न खोज्दा लिँनै मानिनन् ती आमाछोरीले । उता डिग्रे भगवतीलाई पाँच रुपैँया बाहिरबाटै छिराएर छक्काएर आएका थियौँ, यहाँ त यी भगवतीहरु एक रुपैँया पनि लिन मान्दिनन् । धन्य लेकाली वास्तविक भगवतीहरु !

हामी ती गौप्राणीदेखि कृतज्ञ हुँदै विदाइ भएर केही अगाडि बढ्छौँ । पाइतालाहरु अगाडि तान्नलाई रोटी पेटभरि हसुरेकै छौँ । वरिपरि ठडिएर लोभ्याइरहेका काफल, चुत्रा र ऐसेलुसित अब बेपरवाह छौँ । निर्माण हुँदै गरेको सडक हामीलाई छोडेर अलिकति तलतिर लाग्छ हामी माथिल्लो गोरेटो समात्छौँ । हाँसि पनि रहेका छौँ, हल्ला पनि गरिरहेका छौँ । कति बाटो कट्यो अत्तोपत्तो छैन । केही पर छङछङ आवाजसहित पानीको मुहान देखापर्छ ।

०००

छैठौँ घडी

“यही हो पानेखोलाको मूल ! यो यात्राको हाम्रो पहिलो गन्तव्य !!”

आशा विपरीत त्यहाँ तिरतिरे धारो मात्र देखेर निराश हुन पुग्छिन् देवकुमारीः “एकै ठाउँबाट भुलभुल गर्दै गारै बग्च भन्त्या तो ! स्यानो धारो मात्रै छ तो !! सोच्याजस्तो केइ ह्रइन्च बालौ !!!”

“भिनाज्ज्वा उल्का त भैया बलै !” देवी पनि चुकचुकाउँछिन् ।

“पछि लाग्ने हामी उस्तै !” चन्द्राको सबैलाई छुने व्यङ्ग्य ।

“जेठमास क्या भलै बग्दो र बाल् । मूल भन्याउ यस्तै ता हो गरै !” मनलालको आंशिक विश्वास !

“किन नहुनु ? छ नि । ऊ हेर पाइपहरु । ऊ हेर पानी ट्याङ्कीहरु । त्यो पहिलेको गाड त्यतै छिन्नभिन्न भएको छ ।”

म सम्झन्छु विगत । स्कूल पढ्दा यहाँ बनभोज खान आएका थियौँ । भुलभुल गर्दै गाड नै बग्थ्यो । त्यतिबेला कम चित्ताकर्षक थिएन त्यो । मुहानभरि रातो पोतिएका जस्ता ठूलाठूला पत्थरहरु थिए । अहिले त्यो ठाउँमा धेरै गाउँका पानी ट्याङ्कीहरुले ढाकिएका छन् । त्यतिले नपुगेर साना ठूला दर्जनौँ पोलिथिन पाइपहरु गाडिएका छन् । मनलाल मख्ख छन्, आफूले घरमा खाइरहेको पानीको मुहान भेट्टाउँदा ।

आश्चर्य व्यक्त गर्छिन् चन्द्रा, “विकास हो कि विनाश हो यो ?”

म कल्पना गर्न थाल्छु । यहाँ अझै पानी ट्याङ्कीहरु थपिँदै जानेछन् । दर्जनौँ संख्यामा रहेका पोलिथिनका पाइपहरु सयौँमा पुग्नेछन् । मुहान भने अझै सुक्दै जानेछ । कालान्तरमा खलंगामा ठूलाहरुले मिनरल वाटर फ्याक्ट्री खोल्न थाल्नेछन् । ती फ्याक्ट्रीहरु सर्दै सर्दै यहीँसम्म आइपुग्नेछन् । ठूलाहरु ठालुमा बदलिने छन् र यही मुहानलाई कब्जा गरेर यसकै आसपासमा ठूलै मिनरल वाटर फ्याक्ट्री खोल्नेछन् । सयौँले रोजगारी पाउनेछन् । राष्ट्रिय आम्दानीमा योगदान गरे वापत जसजति फ्याक्ट्रीवालाले पाउनेछ । हामीले बोत्तल बोत्तलको पैँसा तिरेर पानेखोलाको पानी चुस्नेछौँ र आफूलाई बडो भाग्यमानी ठान्नेछौँ । पानी खान पनि पालो कुर्नुपर्ला । धर्म र पैँसाजति उसैले कमाउनेछ ।

मुहान माथितिर अद्यापि घना जङ्गल छ । हाम्रो मनस्थिति बुझेझैँ त्यो जङ्गलका वनदेवताले भनिरहेझैँ प्रतित हुन्छ, “नडराऊ, म मेरो वक्षस्थलभित्रको मुहानलाई कदापि सुक्न दिनेछैन ।”

केहीबेर हामी त्यतै भुल्छौँ । ठाउँ फेरी फेरी फोटो र भिडियो खिच्छौँ । सेल्फी खिच्छौँ । अनि ठाडो गोरेटो उकालो चढ्न थाल्छौँ । अलिकति उकालो आयो कि देवकुमारी आत्तिहाल्छिन् । उनका खुट्टा पछिपछि परिहाल्छन् । तर उनीहरुका पाइताला तान्न वरिपरि काफलका बोटहरु पर्याप्त छन् । ऐसेलु छन्, लेकाली चुत्रा छन् । घुयाँली छन् । एउटा रुखमा चढेपछि अर्को चिज पारिपट्टि देखिइहाल्छ र हामफाल्दै त्यतातिर पुग्छन् । भोक र थकाइ बिर्साइदिने माध्यम बनेको छ लेकाली प्रकृति ।

मनलाल र म केही अगाडि बढ्छौँ । तल छोडिएको निर्माणाधिन सडक फेरि त्यहीँ भेटिन आइपुग्छ ।

देवकुमारीहरु पनि माथि आइपुग्छन् र सडकमा पाइला राखेपछि भन्छन्: “अब अल्लि सजिलो भो ।”

“साँच्चै क्या बालौ !” मनलाल सुस्केरा हाल्छन् ।

सडक वरिपरिका काफलका रुखहरुका हाँगाबिँगा चोइट्याइएका छन् । विगतमा बाटोभरि असरल्ल छरिएका देखिने काठका मुढाहरु अब सडक वरिपरि देखिन छाडेका छन् । खर्सूका बोटका टुप्पाहरु पनि रेटिएका छन् । सडक चालु हुन अझै केही समय लाग्नेछ । सडकको प्रभाव अहिले त शून्यप्रायः नै छ यहाँ किनभने चालु नै भएको छैन । अझै सजिलो हुँदै जानेछ, जङ्गलसँग खेलबाड गर्न लालसी मान्छेहरुलाई । केही वर्षभित्र यो चालु भैसक्नेछ । चालु भएसँगै आफ्नो करामत देखाउन थाल्नेछ सुविधाले ।

सायद राष्ट्रिय निकुन्ज नै स्थापना होला यहाँ । जडीबुटी प्रशोधन केन्द्रहरु पनि थुप्रै खुल्लान् । हजारौँले रोजगारी पाउलान् । हजारौँ वनरक्षकहरु रहलान् । अनि वनरक्षकमा जागिरी खान तँछाडमछाड चल्नेछ । थाहै छ हाम्रो नियति, जागिरी मात्र खानको लागि हो कि अरु चिज समेत खानलाई हो ? रोजगारीसँग कुन गुह्य कुराको स्वार्थ गाँसिएको हुन्छ ?

त्यसपछि रातारात वनबाट काठपातहरु तस्करी हुन थाल्नेछन् । जडीबुटीहरु लुटिन थाल्नेछन् । तस्करी रोक्न सुरक्षाजाँचकीको आवश्यकता खट्किनेछ । सुरक्षाजाँचको लागि पनि हजारौँको संख्यामा रोजगारी खुल्नेछ । सुरक्षाजाँचमा जागिरी लाइदिन शक्तिवालहरुको भनसुन आवश्यक पर्नेछ । तस्करहरुले सुरक्षाजाँचकलाई दुईचार काठ उपहार चढाएर राष्ट्रिय आम्दानीमा निरन्तर योगदान पुर्‍याइरहनेछन् । सुरक्षाजाँचकीले व्यक्तिगत अकुत आम्दानीमा योगदान पुर्‍याइरहनेछन् । रोजगारहरुको आयस्तर अस्वाभाविक बढिरहनेछ र ठूलाहरुको भोट अस्वाभाविक रुपले बढिरहनेछ ।

त्यसो त शक्तिवालहरु पनि फेरिइरहनेछन् । शक्तिबाट वञ्चित निवर्तमान शक्तिवालहरु, ‘हाम्रो लागि अलिकति भए पनि जोगाइदिनुपर्छ !’ भन्दै नारा उरालिरहनेछन् । जब आफै शक्तिमा पुग्नेछन्, अनि रिठ्ठो नबिराएर सोही बाटो अँगाल्नेछन् । आँखा मचक्कै चिम्लेर दोहन गरिरहनेछन् प्राकृतिक अकुत सम्पत्तिको र आफै अकुत सम्पत्तिका हिस्सेदार हुनेछन् ।

उता मान्छेहरुको चौतर्फी आक्रमणमा फसिसकेपछि वनदेवताले हार खाँदै भन्नेछन्, “भो, अब म यो आफ्नै वक्षस्थलभित्रको मुहान जोगाउन पनि असमर्थ छु ।”

अनि समर्थ को हुनेछ ? हाम्रो हालत के हुनेछ ?

हामीहरु लम्किरहेका छौँ अघिअघि । हामी अब तीनहजार मिटरजतिको उचाइमा छौँ । हर्कभाइको फोन आउँछः “सर कता हुनुहुन्छ ?” म यात्राको काल, पात्र, अवस्थिति र गन्तव्यको बारेमा बताउँछु । हामी प्रत्येकसँग फोनवार्ता हुन्छ । गफैगफमा हर्कले पनि हामीलाई गँवारीको उकालो चढ्न सहज तुल्याउँछन् ।

म यतिखेर सम्झन पुग्छु चन्द्रशेखर केसीको एउटा घतलाग्दो कुरा । गठ्ठाघरमा चिया खाँदैगर्दा भनेका थिए, “आफ्नो न्यायको आफै वकालत गर्ने हैसियतमा पुगेका नागरिकहरुलाई त प्रतिपक्षको नाउँमा यति दोहोलो काढ्छन् भने, म छक्क पर्छु, त्यो जमानामा काँग्रेसले प्रतिपक्षलाई कति दमन गर्‍यो होला है ?”

म चन्द्रशेखरको आत्मसहमतिलाई रबर झैँ तन्काउन खोज्छु । पञ्चायती व्यवस्थामा काँग्रेसको कति दोहोलो काढियो होला ? राणाकालमा प्रजातन्त्रवादीहरुको कति दोहोलो काढियो होला ? त्योभन्दा पहिलेको पशुयुगमा कति दोहोलो काढियो होला लाटासोझा जनताहरुको ? सम्झँदा कहाली लागेर आउँछ । समन्याय विगतमा पनि ठूलाठालुको ब्ल्याकहोलसरि मुखमा थियो र अद्यापि पनि त्यही मुखभित्र छ । रुपमा फरक होला, सारमा केही पनि फरक छैन ।

करिब पन्चानब्बे प्रतिशतको सहमतिमा बनेको संविधानमा समन्यायलाई मूल आधार बनाइएको छ । कहाँ छ प्रचण्डपक्ष र केपिपक्षबीचका समर्थकहरुबीच समन्याय ? कहाँ छ देउवा र रामचन्द्र पौडेलका पक्षधरहरुबीचको समन्याय ? न्याय र समानताका प्रकाण्ड विद्वानहरुबीच त समन्याय छैन भने गाउँगाउँ, झुप्राझुप्राभित्रका अबोध नागरिकबिच समन्याय होला भनी चिताउन सकिएला र ?

०००

सातौँ घडी

“च्याउ तै बगालौ मले ता छातै छोरिफाल्ल्याल्याछु गरै ! के गर्ने होला नाईँ ?” अगाडि अगाडि लागेका मनलाल अकस्मात झसङ्गै झस्किन्छन् ।

“अङ्कलको सातोसतारो ठूलीले खाइदेलिन् । काँबाट चेत हुँदान् तो ?” चन्द्राको अर्को झटारो ।

“भो छोड्दिनोस् । कहाँ छोड्नुभयो ? कहाँ कहाँसम्म खोज्न जाने अब ?”

“आफ्नै भया ता जेसुकै चिर्को पर्दो ! त्यो ता सत्तेनारानबाट माङिल्यायाउ छातो हो ! मलाई ता तिनले मार्रेल्चन् बगालौ !” यति भनिनसक्दै मनलाल बिब्या पाइला चाल्न थाल्छन् । हामी उनी गएतिर हेरिरहन्छौँ । के भेटिएला र छाता ? हामी मनलाललाई पर्खेर केही बेर रुखको छहारीमा बस्छौँ । उनी छाता ल्याएर आइपुग्छन् र अगाडिको यात्रा पुनः शुरु हुन्छ ।

गँवारीबाट केही पर पुगेपछि सडक त्यतै समाप्त हुन्छ । काफल र अन्य वन्यफलले एकनाशले तानिरहेकै छ हाम्रा पाइतालाहरु । कतै बिस्सिन दिएको छैन ।

“बजेट ता हिँत्ती सक्क्यो छ गरै ।” चन्द्रा सडकको समाप्ति देखेर बजेटसँग तुलना गर्न खोज्छिन् ।

“यो यसपटकलाई मात्र सकिएको हो । प्रकृतिका गोप्य अङ्गअङ्गभित्र भौतिकतालाई नछिराएसम्म बजेट थप्न रोकिनेछैन । उताका गरीब जनताको आश र गास कटाएर भए पनि बजेट यतै थपिनेछ ।”

“गारीमोटर पुर्‍याउनुभन्दा बरु ढुङ्गाउ लिस्नो पुर्‍याइद्याभया हुँदो !” मनलाल सुस्केरा हाल्छन् ।

सडक सकिएसँगै वरपरको जङ्गल अब मानवीय आक्रमणबाट मुक्त हुँदै गएको देखिन्छ । झन् झन् घना हुँदै जाँदोछ जङ्गल । झ्याउले लपक्कै जेलिएका गुराँसका बोटहरु । खर्सू, रयाँज, काफलका झ्याम्म बोटहरु । झ्याउ, सेतारे र सुनाखरी बोकेका रुखहरु । झन् झन् अँध्यारो हुँदैछ बाटो । बिलाउने तर्खर गरिरहेको गोरेटो । कुनै जङ्गली जनावर आयो भने भाग्ने ठाउँ नै छैन कतै । अनौठा चराहरुको अनौठो चिरचिर आवाज । स्याइँ स्याँइ गरी कराइरहेको जङ्गल । लामालामा लहराहरु । बाटो भुलायौँ कि कतै ? मुख सुकिरहेका छन् हामीहरुका !

०००

आठौँ घडी

“अब पानी कत्ता पाइन्छ ?” देवकुमारी थकान र प्यासले लखतरान भएको स्वर निकाल्छिन् ।

“पानी पाउन त अझै दुई घण्टाजतिको बाटो पार गर्नुपर्छ !”

अब पानी धेरै परसम्म पाइँदैन भन्ने चेत पानेखोलाकै मुहानमा किन खुलेनन् मेरा ? देवकुमारीलाई पानी पिएको पियै गर्नुपर्छ, नत्र टाउको दुख्न शुरु गरिहाल्छ । यिनी थाइराइड र चिनी रोगी । चकलेट वा गुलियो पदार्थ पनि बोकेर हिड्नुपर्ने त्यो पनि साथमा छैन । निरन्तर हिँडाइले जिउमा रहेको पानी पनि रित्तिँदै गइरहेको छ । यस्तो अवस्थामा अझै हिड्नु जोखिमपूर्ण कुरा हो ।

पानीको मुहानदेखि करिब दुई घण्टा पैदल दुरी पार गरिसकेका छौँ ।

“हयज्यै मले ता औषधि पनि ल्याउन बिर्सेल्याछु गरै !” देवकुमारी फेरि अत्तालिन्छिन् ।

“फर्किजाऊँ त्यसोभया !” मनलालले पनि हार खाएछन् ।

“फर्किजाऊँ, फर्किजाऊँ ।” चन्द्रा र देवीलाई आफ्नी दिदीको झनै बढी चिन्ता छ !

म बिलखबन्दमा पर्छु । मेरो यात्राको गन्तव्य यति मात्र होइन । ठूलीदह नपुगी नछाड्ने बिचार बोकेर आएको छु । त्यहाँ नपुगी कसरी फर्कने अब ? चिनी रोगीहरुलाई यसरी सास्ती दिई दिई हिँडाउनु पनि निकै जोखिमपूर्ण कुरा हो ।

“कति लाग्च पानेखोलाऊ मूलसम्म फर्किन ?” दिक्क मान्दै सोध्छिन् देवकुमारी ।

“त्यहाँबाट तेर्सो उकालो चढ्दै यहाँसम्म आइपुग्न दुई घण्टा पूरै लाग्यो । फर्कन पनि कम्तीमा डेढ घण्टा त लाग्छ नै ।”

“डेर घण्टा पछिपाइ फर्किनुभन्दा ता दुई घण्टा अगारिपाइ हर्नै नाम्रो । जाऊँ जाऊँ अगारि नै ।”

“हुन्न हुन्न । तपाईँ सक्नुहुन्न ।” मनलाल, चन्द्रा र देवीको एकमुष्ठ सुझाव घन्किन्छ ।

“पाँचवटा स्याउ ता बाँकी नै छन् । मुख भक्रक्कै सुग्यो भने पनि यसैले धान्छ ।”  चन्द्राले स्याउ पनि खलंगादेखि नै ल्याएर दिदीलाई दिइसकेकी रहेछन् । विकल्प दिएर देवकुमारीले नै यसो भनेपछि अरु फर्कने कुरै थिएन । अझै अगाडि बढ्छौँ हामीहरु । अब ढुक्क भएर प्रत्येक रुखमा टाँसिएर फोटो सेशन शुरु हुन्छ । फोटो सेशनले नै लगातार केहीबेरसम्म तेर्सो बाटो कटेको पत्तो नै हुँदैन । अब समथर हल्का उकालो शुरु भैसकेको छ ।

“अब ता ठूल्दह आइपुइयौँहोला ।”

“हो हो आइसक्यो । धेरै टाढा छैन अब ।”

०००

नवौँ घडी

नभन्दै केही क्षणको हिँडाइपछि परपरसम्म फैलिएको हरियो गोलो चउर हाम्रा प्यासी नजरहरुले फेला पार्छन् । भर्खरै धान पलाएजस्तै गराहरु । वरिपरि घना जङ्गल छ ।

“खै त दह ? खै पानी ? केही देख्दिन त !” परपरसम्म हेरेर देवकुमारी विस्मित हुन्छिन् ।

“भिनाजुका उल्का पत्याल्नुहुन्च तपाईँ पनि । क्यार्ने हो तो !” दिदीलाई उक्साउन देवी कम्ताकी माहिर छैनिन् ।

“होइन बगालौ । भर्कलै पानी सुग्याजस्तो देखिन्च । पान्न्या छालहरुले बनाया गराहरु प्रष्टै छन् गरै ।” मनलालले सान्दहभित्र रहेका प्राकृतिक गराहरुको अनुसन्धान गर्न थाल्छन् ।

तर यता वनभोज खान आउन थालेदेखि पानी भरिएको कहिले पनि देखिएको छैन मैले पनि ।

“यो त ठूल्दह कहाँ हो र ? यो त स्यान्दह हो नि त !”

“ए ! त्यसोभया अझै पर होला हैन पानीको दह ?” देवकुमारीहरुको प्रश्नले म र मनलाल व्याकुल हुन्छौँ र नाजवाफ भैदिन्छौँ ।

स्यान्दह नामको गोलो चउरसकिएपछि पुनः जङ्गल शुरु हुन्छ । केही कदममै जङ्गल सकिन्छ र पुनः अर्को चउर शुरु हुन्छ । आकारमा अझै ठूलो र लाम्चो । अब झनै सुख्खा र खैरो चउर । चउरभरि गुवालाहरु र गाईवस्तुहरु छरिएका छन् ।

फेरि उही प्रश्नः

“खै दह ? खै त पानी ? कतै केही देखिन्न तो ! मले ता ठूल्दह भनेपछि स्यार्पूभन्दा पनि ठूलैमानाउ दह होला भन्नेमानेइ पो थ्याँ ।” देवकुमारी असन्तुष्टि पोख्छिन् ।

“पानी नै नभयाउ ठाउँलाई पनि ठूलोदह नाऊँ क्या लाई ! के अच्चम्मौ मर्नु !” देवी झनै दिकदार देखिन्छिन् ।

“ठूलो शब्द सापेक्षतामा मात्र अर्थ लाग्छ । उतापट्टि सानोदह भएकोले यो ठूलो दह भयो । यो ठूलो भएकोले ऊ सानो कहलियो । जस्तो हामी मान्छेहरुमा हामी साना बनिदिएकाले अरुहरु ठूला कहलिएका छन् ।”

“ठूला मात्र हो र ? ठूल्ल्या पनि छन् । ठूल्ठालु कल्ल्या छन् ।” मनलालको निश्कर्ष ।

“मुख भिजाउने पानी पनि छैन ? ह्याँ प्यासले मुख प्याक्प्याक्ति पारिसक्यो ।”

“मैले बारम्बार भनिरहेको छु त पानी पाइँदैन यता भनेर । पानी पाउन अझै दुईघण्टा हिड्नुपर्छ भनेर । के बुझ्यौ तिमीहरुले ।”

“दह भन्नेल्यापछि पानी छ कि छैन भनिह्रनुपर्च र ? दह भन्द्यापछि अरु बुझ्दैबुझिनम् हाम्ले ता ।”

“के च्याउनापत्त मुन्ट्यौँ त हामी त्यति टारादेखि ? कतै केइ पनि छैन तो ?”

“अहिले त यस्तो छ, झन् सडक यहीँसम्म आइपुग्यो भने के बाँकी रहला र यहाँ ? जाउँ ऊ त्यो माथिको टाकुरोबाट सिस्ने हिमाल, स्यार्पू ताल, कमल दह र अग्लाअग्ला डाँडाकाँडा सबै देखिन्छ ।”

“भइयो भइयो अब । पुइयो अब । कतै नजाने हामी ता ।”

“तपाईँले आफै भन्नुहुन्त्यो, त्याँ ता एकदमै नाम्रो ठर छ भनिकिन ।”

“थियो त । यहाँ यसबेला वनकुसुम र बुकीहरु टम्मै फुलेका हुन्थे । तल्लो भाग पानीले भरिएको हुन्थ्यो केही वर्ष अगाडिसम्म । ऊऽऽऽ देखिनौ चरिचरन र मानवी आक्रमण ? मैले पहिले देखेको यहाँको प्राकृतिक दृश्य तिमीहरुले अहिले देख्न सकेनौ । हामीले अहिले देखेको जति हरियोपन र चउर हाम्रा सन्ततिले पछि देख्न पाउने छैनन् ।”

उनीहरुले मागेको जवाफ दिननसकेपछि आफ्नै मनलाई सम्झाउन थाल्छुः

अर्को वर्ष त सडक यहीँसम्म आइपुग्नेछ । टाढाटाढाको लागि यो ठाउँ त्यसपछि सुगम हुन पुग्नेछ । अहिले दर्जनौँ मान्छे आइपुग्ने ठाउँमा अब हजारौँको संख्यामा आइपुग्नेछन् । हजारौँ संख्याको आवश्यकतालाई मध्यनजर गरी यहाँ सयौँ व्यवसायहरु सञ्चालनमा आउनेछन् । उनीहरुमा दुईचारसय तिरेर दुईचारहजारको फाइदा लिन लोभ पलाउनेछ र फर्कँदा उनीहरु केही न केही थोक नलिई फर्किनेछैनन् ।

यहाँ कसैले खेलमैदानको सपना देखेका छन् । कसैले हवाइमैदानको सपना देखेका छन् । कसैले विशाल सभाहलको सपना पनि देखेका छन् ।

ती योजनाका पछाडि धेरै कुराहरु हुनेछन् । धेरै कुराहरुको पछाडि धेरै ठूलाहरु हुनेछन् । ती ठूलाहरुमध्येको शशिरामले यहाँ केही वर्षभित्रै शिशामहल तयार गर्नेछ । हौवामानले हावामहल खडा गर्नेछ । चरिमानले चिडियाखाना शुरु गर्नेछ । छोटेलालले यता आलिसान होटेल र लजहरु थुप्रै खोल्नेछ । फलस्वरुप यहाँ हजारौँ संख्यामा रोजगारी उपलब्ध हुनेछ । होटेलभित्रै ठूलीदहहरु निर्माण हुनेछन् । होटेलभित्रै कृतिम बगैँचाहरु निर्मित हुनेछन् । बाहिर देखाउने दाँत एउटा हुनेछ । चपाउने दाँत अर्को भएको कसैले पत्तो पाउनेछैनन् । त्यहाँ विभिन्न अवैध धन्धाहरु खुल्नेछन् र फस्टाउनेछन् । तिनीहरुलाई नियन्त्रित र व्यवस्थित गर्न धेरैथरि प्रशासनिक संरचना तयार हुनेछन् । व्यवसायी र कर्मचारीहरुको मिलेमतोमा निर्मित कानुनहरुको ठाडठाडै बर्खिलाप गरिनेछ । वरिपरिको प्राकृतिक मनोरमता खुला रुपमा ध्वस्त पारिनेछ । यताको भौतिक चरम विकासको जस लिने एउटा ठालु हुनेछ र अपजसको भागिदार सानाहरु हुनेछन् ।

ठालु र ठूलाहरुले सबथोक प्राप्त गरिरहँदा ठूलीले सबथोक गुमाइरहेकी हुनेछिन् ।

र साँखले पनि सबथोक गुमाइरहेको हुनेछ ।

र सलहले खेतबारी र एकतहमुनिको माटोसम्म खाएजसरी ठूलाहरुले यहाँको जङ्गल जडीबुटी तथा माटोढुङ्गो ध्वस्त नपारेसम्म यहीँ अखडा जमाइरहनेछन् । जब यो दह, यो डाँडा मरुभूमितुल्य हुनेछ अनि मात्र अर्को जङ्गल खोज्न भौँतारिनेछन् ।

०००

दशौँ घडी

यस्तो खालको सुख्खा चिन्तनले मन सुख्खा भइरहेको छ । सुख्खा मनले गर्दा हाम्रो तालु सुख्खा भैरहेको छ । आँतमुख अरु सुख्खा भैरहेको छ । यो सुख्खापनले दिउँसोतिर खाएका रोटीको सम्झना आलो गराएको छ । रोटीसँगै बसीबाङका अस्मिताका आमाछोरीको आतिथ्यताको गहिरो झझल्को दिलाएको छ ।

केही वर्षपछि ती आमाछोरीले आफ्नो आँगनबाटै हुइँकिरहेका मोटरकारहरु देख्नेछन् । अघाएर टिल्ल परेका मान्छेको भीडभाड देख्नेछिन् । यसरी हामीजस्तै भोकले लखतरान भएकाहरुलाई मुफतमा मीठा रोटी र धौबिर्सनु आतिथ्यता चखाएर कल्याण गर्ने अवसर सधैँका लागि गुमाइसकेकी हुनेछिन् । त्यस्तो आतिथ्यताको मूल्य कति धेरै छ नबुझ्नेहरुको झुण्ड देखेर बिरक्त हुनेछिन् । उनका घर वरिपरि एकएक गेडा काफल र एकेक टुक्रा फुस्रा रोटी बेचुवा पराइहरुले डेरा जमाएको देख्नेछिन् । हरियोपना सकिएर जर्जर र मरुभूमितुल्य हुँदै गएको बस्ती र डाँडापाखा हेरेर चित्त बुझाउनु बाहेक अर्को विकल्प बाँकी रहनेछैन उनीहरुसँग ।

एउटा मान्छेभित्रको काम, क्रोध, लोभ, माया, मोहलाई तिनै गुणले लेपित अर्को मान्छेबाट सिर्जित कानुनी हतकडीले कहिल्यै पनि तह लगाउन सकेको थिएन र पछि तह लगाउन सक्ने पनि छैन ।

यस्तै मन्थन गर्दै हामीहरु अब ठूलीदहको पूर्वतिरको ओरालो भागबाट तलतिर झर्न थाल्यौँ । उकालो चढ्नुभन्दा ओरालो  झर्न धेरै सजिलो हुन्छ । ओरालोको सदुपयोग गरेर चन्द्राले बाँको टिपेर एक उमालो बनाइसकेकी छिन् ।

हामी हातखुट्टाको सहाराले तलतिर झर्दै गयौँ । केही तल धमिलो पानीको खोबिल्टो फेला पर्‍यो । चन्द्रा र मैले पातको दुना बनाई पानी उभाएर प्यास मेट्यौँ, देवकुमारीका दुई बहिनी घिनाए । बरु अति प्यासलाई थामथुम पार्न आफूसँग ल्याइएका स्याउ सिङ्गै टोक्न थाले ।

अलिकति तल झरेपछि केही तल कालो चिल्लो सडक पूर्वी रुकुमतिर बतासिएको हाम्रो नजरमा पर्‍यो । नेपालका मध्यपहाडी वस्तीहरु जोड्ने मध्यपहाडी लोकमार्ग हो यो । हामी सुन्दर साँख गाउँको केही पूर्वपट्टिको मसिना पाखामा छौँ । पूर्वपट्टिको बैराबाङ नजिकै छ । केही महिना अघि फुस्रै रहेको सडकले जिउमा चिल्लो घस्न भ्याइसकेछ । सडकको छेउछउमा भने पहिरैपहिराहरु मात्र देखिए ।

०००

एघाह्रौँ घडी

देवी अघिअघि थिइन् र आधाभन्दा धेरै ओरालो झरिसकेकी थिइन् । उनी अकस्मात् तलबाट चिच्याइन्: “हेर्नोइ तै ! ह्याँ ता….. तपाईँहरु तल नझर्नोइ ।” उनी पिठ्युँको भागले बिब्या खुट्टा पछाडितिर सर्न थालिन् । उनको स्वर र हाउभाउ अत्यन्तै भयभित थियो ।

“पक्का त्यहाँ साँप भेटियो होला !”

“माथिको त्यत्रो जङ्गलमा नभेटिएका बाघ या भालु या कुनै हिँस्रक जनावर यहीँ भेटियो कि ?”

“मान्छेको लास पो भेटियो कि ?”

मनलालका लामाखुट्टाका टाङहरु एकैछिनमा देवीको नजिक पुगे र तलतिर हेर्दै चिच्याए: “हयजेइ बाबै ! बर्बादै भइयोछ ह्याँता बगालौ !”

मनलाल समेतको भयभीत भनाइले हामी तीनजनाको मुटुमा बेसरी ढ्याङ्ग्रो ठोक्न थाल्यो । तर तल झर्नुको विकल्प थिएन । सम्भावित अपृय दुर्घटनाले काँप्दै हामी पनि उनीहरुको नजिकनजिक पुग्यौँ ।

अलिकति माथिबाटै देखियो त्यो भयानक दृश्य । हाम्रा पाइतालाहरु सिरिङ्ग भए । जिउ जिरिङ्ग जर्कियो । हामी सोझिइरहेको बाटो त आँखा रिँगाउने विशाल कहाली लाग्दो सुख्खा पहिरोभित्र परिसकेछ । पानी नपरेको महिनौँ भैसकेको थियो । तर मसिना ढाँरढुङ्गाले मात्र बनेको कमजोर भुधरातलका धाँजाहरु पहिरोलाई अझै फराकिलो तुल्याउँदै खसिरहेका थिए । केही महिना पहिले प्रसिद्ध साहित्यकाररु सहितको साहित्यिक भ्रमणको बेला यतैबाट उक्लिएका थियौँ हामी । उतिबेला यो पहिरोको नामोनिशान थिएन । कसरी यहाँ यति छिट्टै यति ठूलो पहिरो सिर्जना भयो ? आगामी वर्षातमा झन् कस्तो होला यसको रुप ?

अब हामी गोरेटोबिना यताउता भौँतारिन थाल्यौँ । वरिपरि काँडेदार वनस्पतिका बुट्यानहरु मात्र थिए । साँझ पर्दै थियो तसर्थ ठूलीदहतिर उक्लनु सम्भव पनि थिएन र जोखिम पनि उत्तिकै थियो । तलपट्टि जताततै पहिराहरुकै साम्राज्यले गर्दा तल झर्ने बाटो कतै होला जस्तो लागेन । पहिरोमा नहेलिनुको कुनै विकल्प नै छोडिएको थिएन । अतः अलि होचो पहिरो खोज्दै त्यसैको भिराइलोमा हातखुट्टा टेक्दै बामे सर्न थाल्यौँ । हाम्रा हातखुट्टाहरु काँपिरहेका थिए । हाम्रा जुत्ता लर्किए, जिउ चिप्लियो, हातगोडा पहिरोमा कोतरिए, लुगाहरु च्यातिए । केहीबेरको पहिरोभित्रको गरगरे ढाँरसँगको संघर्षपछि हामी ढुनमुनिँदै मोटरबाटोमा हुत्तिन सफल भयौँ । धन्न कसैलाई ठूलो चोटपटक भने लागेन !

सुरक्षित गन्तव्यमा पुगिसकेपछि माथितिर फर्किएर हेर्‍यौँ । जिउ अर्कोपटक सिरिङ्ग भयो । सानो ठानिएको त्यो पहिरो तलबाट झनै अग्लो र भयानक देखियो । अनुमान लगायौः हामीले भर्खरै नाघेको छोटो पहिरो केही समय पछिसम्म होचो मात्र रहिरहन सम्भव छैन । यसले पनि अलिकति परको ठूलो पहिरोसँग प्रतिष्पर्धा गर्दै माथिमाथि चढ्दै जानेछ ।

ठूला गाडी चल्दा पनि त्यो जमिन हल्लिँदो रहेछ र माथिबाट ठूलाठूला धाँजा खस्दा रहेछन् । पहिरोले ब्ल्याकहोलको रुप धारण गरेको जस्तो अनुभूति भयो । कति चपायो होला गोरेटोहरु ? कति निल्यो होला बनबुट्यान ? कति बुकायो होला वन्यजन्तु ? समयमै यसको उचित संरक्षण गर्न आलटाल गरेर भत्किने क्रम जारी रहे यो अझै माथिमाथिसम्म सर्दै जानेछ । ठूलीदहसम्म पुग्न यसलाई धेरै आइतबारहरु लाग्ने छैन । वरिपरिको प्राकृतिक सुन्दरतालाई भताभुङ्ग पार्दै यही पहिरो डिग्रे हुँदै हानिएको सडकसँग निकट भविष्यमा ठूलीदहमा भेट हुनेछ । त्यहाँ उताबाट आइपुगेका ठूला र ठालुहरुको रजगज भेट्टाउनेछ । यसले उनीहरुसँग लोभको मुलाकाज तथा हिसाबकिताब त्यहीँ भुक्तान गर्ने देखिन्छ ।

०००

बाह्रौँ घडी

साँख पुगेपछि हामी गाडीयात्राबाट निवासतिर फर्कन थाल्यौँ । मुटु अझै हल्लिरहेको थियो र धड्कन बाहिरै अनुभूत गर्न सकिन्थ्यो । हाम्रा धड्कनहरु सुनिदिने हामी स्वयम् बाहेक हामीसँग अरु कोही पनि थिएन ।

हात हातमा काफलका साना पोकाहरु छँदै थिए, त्यही हेरेर हाम्रो मुटुको धड्कन बिस्तारै शान्त हुँदै गइरहेको थियो ।

हामी भ्रमणको समष्टिगत उपलब्धीबारे समीक्षा गर्दै सोलाबाङतिर झरिरहेका थियौँ । सोलाबाङ पुग्न अझै एक घण्टा लाग्छ ।

०००

समापन

बाह्र मिनेट पनि लगातार हिड्न जाँगर नचलाउने देवी, देवकुमारी र चन्द्रालाई बाह्र घण्टासम्म लगातार हिँडाउन सकेकोमा मन प्रफुल्लित भैरहेको थियो । आजको अत्यधिक हिँडाइले हामीहरुलाई सास्ती दिइरहेको थाइराइड, चिनी रोग या अन्य शारीरिक वा मानसिक रोगहरु पनि केही हदसम्म मत्थर भएको हुनुपर्छ ।

समष्टिमा यो पारिवारिक भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकाल्दै आआफ्नो घरतिर लाग्यौँ ।

 

 

 

 

 

 

 

 

 

 

 

58 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *