Free songs
Home / लेख/आलेख / मध्यपश्चिमेली ठाडी भाका / ठाडी भाका कि ठारी भाखा

ठाडी भाका कि ठारी भाखा

काशनको लागि पहिलो भागको लेख पठाउँदा परिवर्तन खबरका सम्पादक पदम पुनसँग शीर्षकको सान्दर्भिकता र वर्णविन्यासको विषयमा केही समय वादविवाद भयो । मैले ‘ठारी भाखा’ लेखेर पठाएको थिएँ । उहाँले ‘भाका’ कि ‘भाखा’ भन्दै मसँग बारम्बार जिज्ञासा पोख्नुभयो । मैले उहाँलाई नै प्रतिप्रश्न गरेँ वर्षा कि बर्खा ? विष कि बिख ?

पहिलेपहिले ‘ष’ लाई ‘ख’ उच्चारण गरिन्थ्यो । लेख्य भाषामा ‘खा’ नै लेख्नुपर्ने ठाउँमा पनि ‘षा’ नै लेखिन्थ्यो । पुराना तमसुक वा शिलापत्रहरु हेर्ने हो भने पनि ‘ख’ को सट्टा ‘ष’ प्रयोग भएको पाइन्छ जस्तैः ‘गोर्षा’ ।

मानक शुद्ध नेपाली भाषामा कलम चलाउनेहरु कर्णाली प्रदेशका कुनै जिल्लामा पुगे भने त्यहाँका स्थानीयबाट बोलिएका शब्दको पुछारतिर आउने ‘ड’ लाई ‘र’ उच्चारण गरेको सुनी ताजुब मान्छन् र मरीमरी हाँस्छन् । उनीहरु हत्तपत्त निश्कर्ष निकालिहाल्छन् : ‘कर्णालीका मान्छेहरु ‘ड’ लाई बिगारेर ‘र’ बनाउँदा रहेछन् ।’ गाउँ वा पाखापखेरामा बस्ने कुनै मान्छे शहरमा आइपुग्यो भने उसको लवाइखवाइदेखि उसले बोलेको भाषालाई लिएर अनेक खिसिट्युरी अद्यापि पनि गरिन्छ !

जसले खस भाषा सिञ्जा प्रदेशमा उत्पत्ति भएको ठोकुवा गर्छन्, उनीहरुले नै सिञ्जा प्रदेशका आसपासमा बोलिने अवशेषको रुपमा रहेका खाँटी भाषाका शब्दहरुमा प्रश्न उठाउनु वा शब्द बिगारेको भनेर कटाक्ष गर्नु कत्तिको बुज्रुक्याइँ हो उनीहरुले नै जानून् । मुख्य कुरा के हो भने खस भाषा सिञ्जा उपत्यका आसपासमा उत्पत्ति भएर जतिजति पूर्वतिर विस्तार हुँदै गयो, यसको स्वरुप उतिउति बिग्रँदै गयो । पूर्वतिरको भूधरातल, व्यापार व्यवसायको सम्भावना, खेतीयोग्य जमिन तथा अन्तर्राष्ट्रय पारवहन सुविधा आदिको कारणले पूर्वतिर नै नगरको संख्या उल्लेख्य रुपमा बढ्नुको साथै जनघनत्व पनि बढ्दै गयो । पूर्वतिर नै बिगारिएको खस भाषा बोल्नेहरुको आधिक्यता बढ्दै गयो । सिँजा प्रदेश आसपासमा बसोबासजन्य विभिन्न कठिनाइका कारणले जनसंख्या पातलो रहिरह्यो । प्राचीनकालमा पूर्वतिर राज्य सञ्चालन गर्ने प्रभावशाली व्यक्तिहरुले त्यही बिगारिएको भाषालाई नै सुधारिएको अर्थ लगाउँदै मानक भाषा बनाइदिए । यो तर्कलाई नमान्ने हो भन्ने खस भाषाको उत्पत्ति सिञ्जामा भएको होइन भनी प्रमाणित गर्न सक्नुपर्छ ।

भाषा ईच्छा भावना र बिचारको संप्रेषणको माध्यम हो । भाषामा मानक र अमानक भन्नु नै हास्यास्पद हो । यो त बकुल्लाले बोलेको भाषालाई कागले आफ्नै मानक बनाएर शुद्धताको परीक्षण गरेजस्तै हो । बस् वक्ताले भन्न खोजेको स्रोताले प्रष्ट बुझ्नुपर्दछ, त्यही नै भाषाको मानक हो ।

विभिन्न नेपाली भाषाका शब्दकोषहरु हेर्दा भाका भाखा र भाषाको अर्थमा तात्विक भिन्नता पाइँदैन । अर्थात् भाका = भाखा = भाषा भनी परिभाषित गरिएकोले यी तीनवटै शब्दको अर्थ एउटै हुने निश्कर्षमा पुग्न सकिन्छ ।

नेपाली वृहत शब्दकोषमा ‘भाका’ को अर्थ ‘पढाइ वा गवाइको लय वा स्वर’ भनी अर्थ्याइएको र ‘भाषा’ को अर्थः मनका भाव या विचार, अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली, व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली, कुराकानी; बातचित आदि’ भनी दिइएको छ ।

नेपाली वृहत शब्दकोषले ‘ठाडीको परिभाषा भने रुखो स्वभाव भएकी ठर्री स्त्री भनेर लगाइएको भए तापनि धारिलो एवम् चोटिलो भन्ने अर्थमा बुझ्नुपर्छ । गाउँदा लामो स्वर निकालिने भएकोले यसलाई ठाडी भाका भनिएको भन्नेहरु पनि छन् ।

‘भाषा’ शब्दको मूल व्यूत्पत्ति कथ्य रुपमा नभई गेय रुपमा भएको हुनुपर्दछ । शुरु शुरुमा मनका भावहरुलाई प्रभावकारी रुपमा स्रोतासमक्ष राख्न लयवद्ध तुल्याई राख्ने प्रचलन थियो । लयबद्धतामा शब्द, लय र स्वरको पद्धति, कार्य सङ्केत, ध्वनि संकेत एवम् यादृच्छिक संकेत हुनुपर्ने नियम विकसित हुँदै गए । र फलस्वरुप छन्दको विकास भयो । लिपिको पनि विकास भयो । सञ्चारको यही गेय रुपलाई ‘भाषा’ भनियो र उच्चारण गर्दा ‘भाखा’ पनि भनियो । हाम्रा अधिकाँश पौराणिक ग्रन्थहरु गेय भाषामा रचिएका छन् ।

बिस्तारै कथ्य भाषा पनि नियमवद्ध एवम् पद्धतिवद्ध हुनुपर्ने आवश्यकता टड्कारो हुन थाल्यो । फलस्वरुप विभिन्न व्याकरणको विकास हुन थाल्यो । गेयमा राखिएका नियमहरुलाई कथ्यमा पनि प्रयोग गर्न थालियो । भाषा पद्धतिमा कर्ता, कर्म र क्रियाका सुनिश्चित नियमहरु बाँधिए ।

अतः ‘भाषा’ को अपभ्रंश रुप ‘भाखा’ हो र ‘भाखा’ को अझै अपभ्रंश रुप ‘भाका’ हो । अतः ‘ठाडी भाका’ लाई ‘ठारी भाखा’ भनेको सुनेर हाँसोको फड्को लगाउनुको कुनै तुक देखिँदैन ।

भाषा पद्धतिमा एकरुपता र वैज्ञानिकता आधुनिक समुन्नत समाजको द्योतक र खाँचो पनि हो । यसो भन्दैमा देशका कुनाकन्दरामा मुर्झाइरहेका भाषिकाहरुलाई समेत ‘लिर्को लगाएर’ सम्याइकन मानक भाषालाई समृद्ध गर्नुको कुनै औचित्य छैन । कुण्ठित भाषाविद्हरु त्यो अभियानमा लागेको प्रष्ट छ र हामी भाषिकावाचीहरु (मूल खसभाषीहरु अब भाषिका वर्गमा ओरालिएको विडम्बनापूर्ण स्थिति जो छ ।) मौन समर्थन वा सक्रिय समर्थन समेत गर्दैछौँ । त्यसो गर्नु महाभूल हुनेछ । अहिलेसम्म हाम्रा पुर्खाहरुले जोगाई हामीलाई सुम्पिएको हाम्रो पुर्ख्यौली सम्पत्तिको सर्वनाश हुनेछ । भाषाकै कारणले मानव सभ्यताको विकास र विनास भएका थुप्रै उदाहरणहरु हाम्रा सामु छन् ।

वर्तमान भाषा साहित्यमा भावको गहनता र व्यापकता जति छ त्योभन्दा कैयौँ गुणा बढी गहनता र व्यापकता ठाडीभाकाहरुले संप्रेषण गरेको भावमा पाइन्छ ।

ठाडीभाकाका मूल स्रोत पुरानो पुस्ता भए पनि केही प्रौढ एवम् युवा पुस्ताहरुले ती ठाडीभाकाहरुको प्रयोग अद्यापि गरिरहेको सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । ओम रिजाल, नारायण तिमिल्सेना आदि कर्णाली प्रदेशका साहित्यकारहरुको अगुवाइमा दैलेखी साहित्यको अध्ययन, अनुसन्धान गरी ‘दैलेखी लोक साहित्य’ नामक ग्रन्थ नै तयार गरिएको सुन्नमा आएको छ । रुकुम, सल्यान लगायत अन्य जिल्लाहरुको लोक साहित्यको सम्बन्धमा पनि तत् तत् क्षेत्रका विषय विशेषज्ञहरु अध्ययन अनुसन्धानमा खटिइरहेका होलान् । रुकुमेली ठाडी भाकाको हकमा अरुणकुमार शाह, कमलमणि देवकोटा, जय देवकोटा, भद्र नकाल, किरणबाबु पुन, तिलक परियार, आदि (माफ गर्नुहोला, यो क्षेत्रमा लागेका थुप्रै विशिष्ट व्यक्तित्वहरु हुनुहुन्छ । मैले सामाजिक सञ्जालमा निरन्तर मेरो सम्पर्कमा रहनेहरुको मात्र उल्लेख गर्न पुगेँ ।) गीत/संगीतकारहरुले पनि गीत संगीतको माध्यमबाट ठाडीभाकालाई जोगाइ राख्न गरेको प्रयास सुखद पक्ष हो । भरतकुमार शर्माले सामाजिक सञ्जालमा ‘रुकुमका मनमोहक तस्बीरहरु’ को पेज सिर्जना गरेर रुकुमका कला संस्कृतिहरुलाई संरक्षण गर्न महत्त्वपूर्ण पहलकदमी उठाउनुभएको छ । यी प्रयासहरु भावी पुस्ताका लागि खुशी एवम् आश लाग्दा कुरा हुन् ।

ठाडी भाका सम्बन्धी केही कुरा पहिलो लेखमा पनि बताइसकिएको छ । ठाडी भाकाको आफ्नै नियम र निश्चित पद्धतिमा संरचित छन् । जसको बिस्तार अर्को भागमा गरिनेछ । ठाडीभाकाहरुको शब्द, लय तथा स्वरमा जिल्लापिच्छे मात्र होइन, टोलपिच्छे वा घरैपिच्छे समेत फरक पाउन सकिन्छ ।

भावपूर्ण, संवेगात्मक र लयात्मक प्रस्तुति नै गीत हो । कर्णाली प्रदेशमा गाइने ठाडी भाकाहरु पनि नेपाली साहित्यका सबै भाव, रस र अलङ्कारले भरिपूर्ण छन् । लोक भाकामा विम्व, उपमा, प्रतीक तथा मानवीकरणको प्रचुर रुपमा प्रयोग भएको पाइन्छ ।

ठाडी भाका सम्बन्धमा अल्पज्ञान भएकाहरुले यसलाई मध्पश्चिमका युवाहरुको विरह पोख्ने गिती माध्यम भनेर ज्यादै संकुचित अर्थ प्रदान गरेकोले सो तर्क अस्वीकार गर्दै यस लेखको मूल उद्देश्य ठाडी भाकामा रहेका भाव पक्षको व्यापकता र गहनता देखाउनु रहेको छ । अतः सामाजिक सञ्जालहरुमा आफ्ना भावनाहरु ठाडी भाकाको माध्यमबाट पोख्दै लोक साहित्यलाई जीवन्त तुल्याउन प्रयासरत केही रुकुमेलीहरुबाट संकलित गेडीहरु (गेरा) र सो गीतबाट व्यक्त गर्न खोजेको भाव एवं भाव विस्तार गर्ने प्रयास गरिएको छ । ठाडी भाकाको एउटा गेरोमा एउटा मात्र भाव नभई अनेकौँ भाव रहेका हुन सक्छन् । त्यसैले नै यसको गहनता एवम् खदिलोपनाले स्रोताहरु सुन्नेबित्तिकै प्रभावित भैहाल्छन् । यहाँ ठाडी भाकाको प्रत्येक गेडीको एउटा मात्र मूलभावलाई उदाहरणार्थ देखाउन खोजिएको छ ।

मूलभाव- सदाचार/नैतिकताः

माथिबाट बग्दै आइगो कालो र कागत,

बर्तुन लागोई मर्नेई काल नलागोई बाफत ।

सङ्कलकः मनलाल ओली

(भावार्थः माथिबाट कालो कागज बग्दै आएको छ । बरु प्राण नै जावस्, मिथ्यारोप नलागोस् ।)

मूलभाव- पश्चात्तापः

क्या राम्रो पुतली बस्यो धरी मलमलैमा,
बिसलाख मोलेको जोवन गयो अलमलैमा ।

सङ्कलकः मोहन ओली

(भावार्थः मलमलको मूल्यवान धरोमा सुन्दर पुतली बसेर शोभा थपेको छ । मान्छेको अमूल्य जीवन भने अलमलमै बितिरहेको छ । )

मूलभाव- प्रेम/आकर्षणः

थानैकी फरिया लाउने जुमालकी लछु।

बग्दै आ पानैका फूल तर लाउने म छु।।

सङ्कलकः डा. कुशुमाकर शर्मा

(भावार्थः जिमुवालकी लछुले थानकै फरिया लाउँछिन् (टुक्राटुक्री लाउँदिनन्) । ए पानका फूल (मायालु) मसम्म बग्दै त आऊ, तिमीलाई उद्वार गर्ने (अपनाउने) म छँदै छु नि ।)

मूलभाव- आवेगात्मक

काँदैमा टङ्गाली हाल्यो गुवालो ऐरैले

मनको तोला देखिँदैन लेक लैजा पैरैले ।

सङ्कलकः अर्जुनकुमार रिजाल (अत्यन्तै चोटिला ठारी भाका सङ्कलक)

(भावार्थः शिकारी गुवालोले काँधमा निगालाको लठ्ठी बोकिसक्यो  । ए पहिरा, तँ पनि त्यो लेकलाई पन्छाइदे त, नदेखिएकी मेरी प्यारी देखिन्छिन् कि ।)

मूलभाव- प्रतिद्वन्दिताः

पारि पाखा गित गाउन्या वारि गाउँकी लली ।

साईसम्म न भया पनि साईका तलितली ।।

सङ्कलकः बलबहादुर केसि

(भावार्थः पारि पाखा गीत गाउने वारि गाउँकी लली हुन् । तिमी बराबर नभए पनि म के कम छु र ? लगभग उत्तिकै त (झिनो कम) म पनि छु  ।)

मूलभाव- चिनारी/उत्साह

पानी पर्ने मेग गर्जिने मुसिकोटको रुङा

कर्णाली तर्रेल्ने थियाँ पल्टिन्चै कि डुङा ।

सङ्कलकः योगमाया ओली

(भावार्थः रुङा गाउँ मुसिकोट राज्य अन्तर्गत पर्दथ्यो । रुकुममा सबैभन्दा बढी पानी पर्ने ठाउँ रुँघा हो । यदि डुङ्गा नपल्टिने हो भने कर्णाली समेत तर्न सक्छु म । अर्थात् मैले तिमीलाई अँगाल्न तम्सिएको छु, खुट्टा नकँपाउनू है । )

मूलभाव- प्रश्नोत्तर

यसुलेख कैलासैमा न्याहो चरी न्याहो !
अइलसम्मन् घर नचिन्ने साइको नियत क्या हो ?

सङ्कलकः ओपेन्द्र शर्मा

(भावार्थः अग्लो लेकमा न्याउलीले ‘न्याहो ! न्याहो !’ गरिरहेको छ । चिनेर पनि घर चिनिनँ भन्ने तिम्रो नियत के हो भनी सोधिएको । ठाडीभाकाको मूल विशेषता बाजा लाग्ने (दोहोरी) पनि हो । ठेलोमा न्याहो चरी न्याहो वाक्यांश राखेर टुप्पोमा ‘क्या हो ?’ अन्त्यानुप्रास मिलाएर विभिन्न न्याम्ना (गाउँखाने कथा) पनि सोधिन्छ ।)

मूलभाव- घुर्की

के चरीले खोरै लायो लेख हुँइति हुँइति

भेट भया बारमासै होइजा नहो कैँति कैँति ।

सङ्कलकः सिर्जना शर्मा

(भावार्थः कुनै चरीले लेकमा गुँडहरु बनाउँदा पनि नजिक नजिक बनाउँछ । हाम्रो भेट पनि सधैँ (नजिक नजिक) होवस्, कहिलेकाँही मात्र नहोस् ।)

मूलभाव- कामना/शान्त्वनाः

वर्की नाच्यो फर्की नाच्यो पिपलुको पात
बनै राम्रो बैरागीलाई बनै परेई रात ।

सङ्कलकः गीता ओली पुन

(भावार्थः पिपलको पात वर्कीफर्की (फिरफिर गर्दै) नाचिरहन्छ । बैरागीलाई एकान्त मन पर्ने हुँदा वनमै रात परे पनि हुन्छ ।)

मूलभाव- कल्पनात्मकताः

खोलीको सुसाउने पानी तिरे तिरे धारी ।

साई होइजाउ खोलीकै घाँस म छु लौरे पारी ।

सङ्कलकः विवेक शर्मा गौतम

(भावार्थः खोला सुस्साउँछ, धारो तिरतिर गर्छ । म दूधे पारो भए पनि अब घाँस खान लायक भैसकेँ, त्यसैले प्यारी तिमी घाँस भैदेऊ । म तिमीलाई मुखमा च्यापेर उग्राइरहन सकूँ । अर्थात् म सत्रमा टेकिसकेँ, सोह्रमा टेकेकी ए पृया, मेरी अभिन्न सहचरी बनेर मेरो भोक मेटिदेऊ न ।)

मूलभाव- विरहः

पूर्वबाट पस्सीमसम्म बबैका भभल्का

नसम्झाईदे मैना चरी बिर्सेइका झझल्का ।

सङ्कलकः डिल्ली गिरी

(भावार्थः बबै नदीका छाल धेरै परपरसम्म फैलिएका हुन्छन् । मैले त्यो वियोगको पिडा बिर्सनै थालेको बेला फेरि किन सम्झाइदिन्छस् मैना चरी ? भो नसम्झाइदे ।)

मूलभाव- कलात्मकताः

बाटा तलि खोरियामा कोखा हुन् पिरालु ।
एउटै मन्मा सय लरी कोलरी हिरालु ।

सङ्कलकः आदर्श केसि

(भावार्थः बाटो तलको खोरियामा रहेका पिँडालु कसका हुन् । एउटै मनमा सुखदुख मिश्रित अनेकौँ भावना/लहडहरु लहराइरहेका हुन्छन् । कुनचाँहि भावना व्यक्त गरुँ ? )

मूलभाव- दर्शनः

साङली छन्काउन लाइयो जुमलीको जारे

सुन पुरानो, रङ्ग ‘बुरो’, कैल्यै हुन्न लारे ।

सङ्कलकः चिताराम खडका

(भावार्थः जुम्ली/भोटे कुकुरले साङ्लो छिनाउला झैँ भुकिरहेको छ । सुन पुरानो नभएजस्तै मान्छेको आकांक्षा बूढो कहिल्यै हुँदैन है प्यारी ।)

यसैगरी ठाडी भाकाको माध्यमबाट व्यङ्ग्य, क्रोध, अनुनय, जिज्ञासा, कौतुहलता, आदि भाव  पनि व्यक्त भएको पाइन्छ ।

माथिका गेराहरु झट्ट हेर्दा अर्थ ठहराउन निकै गाह्रो हुन्छ । जसले भाव बोध गर्न सक्छ, उही बुझक्कड ठहरिन्छ । जब स्रोताले जरैदेखि बुझ्छ अनि ऊ ठहरै हुने अवस्थामा पुग्दछ । तसर्थ यो ‘ठाडो भाका’ नभएर ‘ठहरी भाखा’ पो हो कि ? जसलाई ठारी भाखा भनियो । यसको स्वरुप बिगारेर पछि ठाडी भाका भन्न थालियो । तपाईँ मान्नुहोस् नमान्नुहोस् तपाईँकै मर्जी ।

 35 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top