Free songs
Home / लेख/आलेख / मध्यपश्चिमेली ठाडी भाका / ठाडी भाकाभित्रका भाव

ठाडी भाकाभित्रका भाव

ठाडी भाखा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गाइने धेरै पुरानो लोकभाका हो । लोकभाकाका गीतहरु भावको हिसाबले अत्यन्तै मार्मिक एवम् लाक्षणिक हुन्छन् । खासगरी प्रेम, घृणा, दुःखसुख, विरह, गुनासो, व्यङ्ग्यको साथै जीवन दर्शन समेत गीतबाट अभिव्यक्त गरिएको हुन्छ । घाँसदाउरो गर्न वनपाखामा जाँदा ठाडी भाका गाएर स्थानीय व्यक्तिहरुले पाखापखेराहरु घन्काइरहेका हुन्छन् । ठाडीभाकाहरुबाट त्यसबेलाको जीवन कस्तो थियो भनेर जान्न पनि सकिन्छ । साथै बिहे, भोजभतेर लगायतका धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरुमा राति युवक युवतीहरुको समूहले ठाडीभाका गाएर बाजा लाग्ने (दोहोरी) पनि गर्दछन् । केही दशकअघि यस क्षेत्रका केटाहरु बेलुका केटीको घरमा गएर रातभर गाएर दुखसुख साट्दै मनोरञ्जन गर्ने चलन थियो । जसलाई छोट्टी बस्ने वा कक्कर खाने पनि भनिन्थ्यो । यो प्रेमिल संस्कृति हाल लोप भइसकेको छ ।

ठाडी भाकामा खस भाषाका ठेट शब्दहरु हुन्छन् । ठाडीभाकामा नेपाली शब्दकोषमा समेत नभएका पुराना शब्दहरुको विशाल भण्डार पाउन सकिन्छ । ठाडीभाकाको एक श्लोकलाई गेरो भनिन्छ । गेरोमा गीतका दुई लहर हुन्छन् । गेरोको पहिलो लहरलाई ठेलो (फेद) र दोस्रोलाई टुबो (टुप्पो) भन्ने गरिन्छ । नयाँ पुस्ता ठाडीभाकाबाट टाढिए पनि बचेखुचेका पुराना पुस्ताका वृद्धवृद्धाहरुबाट मिठा र भावपूर्ण ठाडी भाकाहरु सहजै प्राप्त गर्न सकिन्छ । यी शब्दहरुलाई जनमानसमा जानकारी गराउन तथा संरक्षण एवम् संवर्द्धन गर्ने हेतुले यस पत्रिकामा ठाडी भाका स्तम्भको शुरुवात गरिएको छ ।

रातका उँदै दिनका उँदै काँ जान्चइ पानीय
मेरा के चारैका छै र सुनका चवानीय ।१।

तालको माछी तालै रन्देऊ पाखा झिक्या कुन्च
साइकै हो चवानी सिक्का साइले लाया हुन्च ।२।

बजाउने मुरली मेरो गौँका जौँका नल्को
नखाने इन्द्रेणी फल नला मलाई झल्को ।३।

साइका बारी घोगा पाग्या देऊ न गोराचार
मुखैकी सयालु साइले पार्च्यौ लोगाचार ।४।

जीरा मलमल ज्वानो मलमल बानीया ओपरी
साइका भन्दा मेरो माया तीनखन्ना दोपरी ।५।

अग्ला लेख कैलाशैमा रुखैको बाखल
ल्याऊ तराजु माया जोखौँ कस्को छ आगल ।६।

पानी ढल्क्यो समुन्द्रमा धान ढल्क्यो आलीमा
कानका सुन हटाऊ साइले म्वाइ खान्चु गालीमा ।७।

गाइति जाने गुवालाले घाँस काट्यो छपुला
या मायाले भैन भने झन माया थपुँला ।८।

गोठालाले गोठै लैयो माथि मौरा घार
फूलभया बारमासै फुल्दाऊँ जोपन एकै बार ।९।

वर्खा नदी सरोवर हिउँद नदी सुइजा
जीउ नजा जोवन नजा यस्तै मलाई पुइजा ।१०।

 -संकलकः योगमाया   

भावार्थः
ठाडी भाकाको भाव बुझ्नुपहिले यसको संरचना बुझ्नु आवश्यक हुन्छ । ठाडी भाकाको गीतको दुई लहरको एक श्लोकलाई गेरो भनिन्छ । प्रत्येक गेराको पहिलो लहरलाई ठेलो भनिन्छ भने दोस्रो लहरलाई टुप्पो भनिन्छ । ठेलोले टुप्पोको लागि आधार र वातावरण तयार गर्दछ । टुप्पोलाई कति धारिलो र बलियो तुल्याउने भन्ने कुरा ठेलामा निर्भर रहेको हुन्छ । प्रकटमा जे भन्नुपर्ने हो त्यो टुप्पोमा भए पनि ठेलोले टुप्पोलाई तिखार्ने काम गरेको हुन्छ । सामान्यतयाः ठेलोमा प्रकृतिको वर्णन गरिन्छ भने टुप्पोले भन्न खोजिएको कुरालाई ।

जस्तो कि पहिलो श्लोक हेरौँ ।

रातका उँदै दिनका उँदै काँ जान्चइ पानीय
मेरा के चारैका छै र सुनका चवानीय ।

यो गेरोमा ठेलो अर्थात् पहिलो लहरमा पानीको स्वभावलाई वर्णन गरिएको छ । झ्वाट्ट हेर्दा यस्तै देखिन्छ । पानी रातदिन उँधैतिर बगिरहन्छ । नरोकिएर निरन्तर रुपमा बगिरहन्छ बगिरहन्छ । उसको गन्तव्य कहाँ हो यसै भन्न सकिँदैन । हुन त महासागर नै अन्तिम गन्तव्य भन्न सकिएला । तर ठूलै नदीको हङ्गालो नभेटाएसम्म पानीको महासागरसम्म पुग्ने सम्भावना कहाँ हुन्छ र ? महासागरतिर लागेका कैयौँ कुला र धाराहरु मान्छेका आवश्यकता पूरा गर्ने माध्यम (पिउन, पोखरीहरु, सिँचाइको लागि आदि) बन्न पुग्छन् र पाखापखेरामा सुकेर जान्छन् । नभए जाँदाजाँदै बगरमा वा मरुभूमिमा सुकेका पनि हुनसक्छन् ।

टुप्पो अर्थात् दोस्रो लहरमा भनिएको छ कि सुनकै चारआना भए पनि मेरो के उपयोगिताको (चार) को पो छ र ? साइ (प्रेमी र प्रेमिका) सुन्दरताले सुनजस्तै धपक्कै बलेकी छिन् । उनको महत्ता सुनको भन्दा कम्ता छैन । तर विडम्बना यो छ कि उनीसँग सम्बन्ध जोड्न सकिने सम्भावना पटक्कै छैन । नजर र मन दुवैमा राम्री जँच्दा जँच्दै पनि राम्राजति हाम्रा हुँदैनन् ।

अब ठेला र टुप्पाको सान्दर्भिकता हेर्नुहोस् त । जसरी पानी कसैले उपभोग गर्नबाट बच्यो भने महासागर भेटाउन सक्छ, त्यसैगरी सुन्दरीहरु पनि लोभीपापीको उपभोग्या भइनन् भने सुन्दरता कायम रहिरहन्छ । तसर्थ मेरी प्रियसी तिमी कसैको उपभोग्या नबन ।

तालको माछी तालै रन्देऊ पाखा झिक्या कुन्च
साइकै हो चवानी सिक्का साइले लाया हुन्च ।२।

यस गेरोको ठेलोमा ताल र माछाको स्वभावको वर्णन गरिएको छ । माछा तालमै बस्ने प्राणी हो । त्यसलाई तालबाट बाहिर निकाल्ने हो भने त्यसको अस्तित्व बाँकी रहँदैन । तुरुन्तै मरेर कुहिहाल्छ । माछा बचाउनकै लागि बनाइएको ताल माछालाई झिकिदिए अस्तित्वविहिन हुनजान्छ ।

टुप्पामा भनिएको छ मैले लगाएको सुनको सिक्का साइले (साथी भनेजस्तै प्रेमीरप्रेमिका दुवै अर्थ दिन्छ) नै उपहार दिएको हो । यदि फिर्ता लिएर लगाउँछौ भने लगाऊ, केही छैन । तर गेरोको खास तात्पर्य दिन टुप्पो मात्र पर्याप्त छैन । अब दुवै जोडेर हेर्नुहोस् । जसरी माछाको सुन्दरता र अस्तित्व तालमै राखिछोडे कायम रहन्छ, त्यसैगरी चवानीको सुन्दरता प्रियसीको गलामा रहिरहे पो झल्किने हो । त्यो फुकालिदिने हो भने न त प्रियसीको सुन्दरता कायम रहन्छ न त चवानीको नै । अतः लोभ वा ईर्ष्या लागेको छ भने लगाऊ आफै । तर स्वभाव बुझ है लोभीपापी हो, जुन चिजको जे महत्ता हुनुपर्ने हो त्यो नगुमोस् ।
अब तेस्रो गेरो हेरौँ :

बजाउने मुरली मेरो गौँका जौँका नल्को
नखाने इन्द्रेणी फल नला मलाई झल्को ।३।

यहाँ पहिलो लहरमा गहुँ र जौँको नलबाट बनेको मुरली बजाउन सकिने कुरा वर्णन गरिएको छ ।
दोस्रो लहरमा खान नहुने इन्द्रेणी फल (पेटभरि विभिन्न रङका धर्का हुने काँक्रा जातको करेलाजस्तै सानो फल जुन तितो र विषालु हुन्छ) ले झल्को नलगा न भनी आग्रह गरिएको छ । प्रियसीप्रतिको मायाको चाह यति धेरै छ कि उनलाई दिलमा भुलाउन प्रेमीले नलको समेत मुरली बजाउनुपरेको छ । प्रियसीलाई यो कुरा के थाहा रु आर्थिक, सामाजिक, जातिगत, उमेरगत आदि कुनै कठिन छेकेबारले ऊ छेकिएको छ र उनलाई आफ्नो बनाउन असमर्थ छ । यस गीत मार्फत अपनाउन सकिँदैन भने उसकी प्रियसीले झल्को पनि नलगाइदिए हुन्थ्यो भनी विरह पोख्दछ ।

अब चौथो हेरौँ ।

साइका बारी घोगा पाग्या देऊ न गोराचार
मुखैकी सयालु साइले पार्च्यौ लोगाचार ।४।

शुरुको लहरमा घोगाको बारी (मकै) मा घोगा पाकेको देखेर प्रेमी लोभिई घोगाको याचना गरिरहेको छ । दोस्रो लहरमा मुखको सह कायम गर्ने अर्थात् चाहिने कुरामात्र बोल्ने प्रेमिकाले लोकाचार (बाहिर माया गरेजस्तो देखाउने तर भित्रैदेखि गर्दिनन् कि भन्ने आशंका) पारिरहेको गुनासो गरिएको छ । झट्ट हेर्दा मकै नै पाकेको अर्थ लागे पनि दोस्रो लहरलाई समेत जोडेर हेर्दा मकै नै भन्न खोजेको होइन भन्ने स्पष्ट छ । साइको जवानी पाकिरहेको छ । पाकेको जवानीलाई दुईचार शब्दमा पस्किदिए पनि हुन्थ्यो तर त्यो जवानी देउली भन्ने आशाचाँहि छैन ।

यसै गरी पाँचौँदेखि दशौँ गेरासम्मका गीतका संरचना अध्ययन गर्दा पनि ठेलोले कुनै कुरा चोटिलो रुपमा प्रहार गर्नको लागि प्राकृतिक विम्वबाट वातावरण तयार गर्ने र दोस्रो टुप्पोले अविधा र लक्षणाको माध्यमबाट स्रोताको मर्म छामी छामी प्रहार गर्ने गरी संरचित हुन्छ ।

पाँचौँ गेरोमा जीरा ज्वानो मलमल (महंगा) को व्यापारी ओपरी (बाँके जिल्लाको एक गाउँ)मा रहेको कल्पना गरिएको छ भने दोस्रो लहरमा साइको भन्दा आफ्नो माया तीनगुणा दोब्बर (तीनखन्ना दोपरी) भएको कुरा व्यक्त गरेको छ । बाँकेको बानियाँजस्तै मायाको निकै धनी देखिन्छ प्रेमी ।

छैठौँ गेरोको ठेलोमा कैलाशजस्तो अग्लो लेकमा रुखका अछेद्दे बाक्ला बोक्रा पाइने बताइएको छ भने टुप्पोमा तराजु ल्याएर माया जोखेर हेरेमा कुनचाँहिको मायाले पल्लामा भार पर्न सक्छ भन्ने देखिने चुनौती प्रदर्शन गरिएको छ ।
सातौँ गेरोको ठेलोमा आलीमा धान लहलह लहराएजस्तै समुन्द्रमा पनि पानी लहराउँछ भन्ने जानकारी दिइएको छ । त्यसको टुप्पोमा प्रेमी यति तप्त भएको छ कि प्रेमिकालाई म्वाइँ खान तम्सिएको छ । तर म्वाइँ खान पाएको छैन । अतः कानका सुनले उसलाई म्वाइ खानबाट बञ्चित गरेको गुनासो गरिएको छ । उसकी मायालुलाई अंगालोमा बेर्ने व्यग्र चाहना अत्यन्तै लहराइहेको देखाउन धान र समुन्द्रलाई विम्वको रुपमा प्रयोग गरिएको छ ।

आठौँको पहिलो लहरमा गाई गुवालोले छ मुठा घाँस काटेको बताइएको छ । दोस्रो लहरमा मायाले नपुगको भए अरु माया थप्न सकिने आँट प्रदर्शन गरिएको छ । जसरी गुवालोले गाईलाई भोको नराख्नको लागि एकदुई मुठा मात्र घाँस नकाटी एकैपटक छ मुठा घाँस काटेको छ, त्यसै गरी तिमीलाई पनि मायाको भाको राख्नेछैन भनी प्रतिज्ञा गरेको छ प्रेमीले ।

माथिका आठवटा गेराहरुमा मायापिरतिको भाव व्यक्त गर्न खोजिएको स्पष्ट छ तर नवौँ र दशौँ गेरोमा भने जीवन दर्शनलाई बुझाउन खोजिएको छ । जस्तो कि नवौँ गेरोको ठेलोमा गोठालाले निकै अग्लो लेकको (मौराघारः रुकुमको निकै अग्लो लेक) टुप्पोमा गोठ जानुपर्ने बाध्यता देखाइएको छ त्यसको टुप्पोमा बारमासे फूलजस्तो जीवन होइन । मान्छेको यौवन काल जीवनको एउटा बारमा मात्र देखिन्छ (औसत आयु पचपन्न छपन्न वर्ष अनुमान गरी सातबारमा विभाजन गर्दा एकबारमा सातआठ वर्ष अवधिको हुन जाने हिसाब गरी सोह्रदेखि चौबीस वर्षको जवानीलाई एक बार मानिएको ।) के गर्नु बारमासे फूलजस्तै जीवन सधैँ फुलिरहँदैन । एकै बार फुल्ने हो । तसर्थ फुलेको जीवनको भरपुर सदुपयोग गर भन्न खोजिएको छ ।

यसैगरी दशौँ गेरोको ठेलोमा वर्षायाममा गडगडाहटका साथ किनारा भत्काउँदै अगाडि बढ्ने नदी समेतको एउटै अवस्था रहँदैन । सतह रूपी जाँगर घट्दै गएर हिँउँदसम्म स्याम्मै सुकिसक्छ । यसै गरी जीवनमा सधैँ एउटै अवस्था रहँदैन । सधैँ सुख खोजेर पनि पाउन सकिँदैन । दुःख आयो भन्दैमा आत्तिनुहुँदैन । जीवनलाई सन्तोषको नजरले हेर्नुपर्छ । मूल कुरा जीउ रहिरहोस् । यौवन रहिरहोस् यति भए पुगिहाल्यो नि भनेर यस गेरोमा जीवन दर्शन बुझाउन खोजिएको छ ।

उत्पत्तिकालका ठाडी भाका जति प्रभावकारी र लक्षणात्मक थिए अहिलेको नयाँ पुस्ताले त्यसमा संशोधन गरी वा आफूखुशी नयाँ रुपमा रचिएका ठाडी भाकाहरु संरचनाको हिसाबले र भावको हिसाबले पनि त्यति प्रभावकारी देखिँदैनन् । जस्तो किः

कान्छी बैना चिउरा कुट्ने जाङा खलबल,
छुटने फाटने बेला आँशु डलबल ।

गाइती जाने गोठालाले घाँसै काट्यो खरी
म माया सबैको मान्छु आइदेउ वरिपरि ।

यी गेराहरुमा ठेलो र टुप्पोको सान्दर्भिकता पटक्कै जोडिएको देखिँदैन । बिम्ब पनि उचित रुपमा प्रयुक्त भएको देखिँदैन । वाक्यको अविधागत र लक्षणागत संरचनामा संरचित भएका पनि देखिँदैनन् । अतः यिनीहरु सिर्फ गीत घन्काउन र दोहोरी खेल्नको लागि आधुनिक पुस्ताले जबर्जस्ती निर्माण गरेका ठाडी भाकाको लयमा मिल्ने गीतहरु मात्र हुन् ।

अतः भाषाको खोजी अनुसन्धान र संरक्षणको लागि मूलभूत ठाडीभाकाहरु खोज्नको लागि स्रोतहरु मासिँदै (पुरानो पुस्तान्तरण) गइरहेकोले भाषा तथा साहित्यका अनुसन्धानकर्ताहरुले ठाडी भाकाका गीतहरुबाट कैयौँ शब्दहरु, भाव, विम्व, अलंकारको खोजी एवम् संकलन गर्न ढिला भैसकेको छ ।

 44 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top