Free songs
Home / चिठीपत्र / छोरीलाई शुभकामना चिठ्ठी

छोरीलाई शुभकामना चिठ्ठी

छोरा अस्मि

म तिम्रो दृढ ईच्छाशक्ति देखेर कायल छु ।

तिमी सानै थियौ । दूरदराज रुकुमबाट आएकोले काठमाण्डौ तिम्रो लागि सर्वथा अपरिचित थियो । तिमी दशबाह्र वर्षकी थियौ । एक दिन तिखेदेवलस्थित एउटा स्कूलमा तीनकक्षामा भर्ना गरियौ । त्यसबेला डेरा गठ्ठाघरमा थियो । स्कूल छुट्टिभएपछि पहिलो दिनमै तिमी एक्लै कोठामा पुग्नसक्छु भनेर त्यहाँबाट हिँड्दै सातदोबाटोसम्म आइपुगिछौ । पछि अङ्कल प्रकाशले भेट्टाएर कोठासम्म ल्याइपुर्यायो । तिखेदेवलबाट सातदोबाटोसम्म आइपुग्दा आठैदिशातिर लम्किएका दर्जनौँ बाटाहरु हुँदाहुँदै कसैलाई सोध्दै नसोधी गठ्ठाघर यतै पर्नुपर्छ भनी तिम्रो कलिलो दिमागले कसरी पहिल्यायो म कायल परेँ ।

हुन त त्योभन्दा पहिल्यै तिमीले अर्को अच्चम्भको विवेक देखाएकी थियौ भन्ने तिम्री आमाले मलाई सुनाएकी थिइन् । तिम्रो बाजेबज्यै. आमा र भाइहरुसहित अरु आफन्तहरुसँग तिमी काठमाण्डौ आउने क्रममा सल्यानसम्म हिँड्दै आउँदै रहेछौ । माल्नेटाको ओरालोमा आइपुग्दा मात्र तिमी आफ्नो बगालमा छैनौ भन्ने आफन्तहरुलाई थाहा भएछ । ओरालो उकालो परपरसम्म तिमीलाई खोज्दा पनि नदेख्दा तिमीसँगसँगै आइरहेका मान्छेहरु बेसरी आत्तिएछन् । अँध्यारो हुँदै गएको बेलुकाको समय रहेछ । त्यतिबेला रुकुमतिर जाने र दाङतिर आउने सयौँ हटारु र यात्रीहरुले बाटो भरिएको हुन्थ्यो, तिमी जुन बगालमा मिसिएर जता पनि पुग्न सक्थ्यौ वा आफू हराएको बोधले आत्तिँदै चिच्याउँदै विपरीत दिशातिर लडीबुडी खेल्दै पुग्न पनि सक्थ्यौ ।

तर जहाँबाट आफू आफन्तदेखि छुट्टिएँ भन्ने तिमीलाई लाग्यो (माल्नेटाको छेर्नो) त्यहीँसम्म फर्केर धैर्यतापूर्वक चौबाटोको बीचमा छुपुक्क बसिछ्यौ । जसले गर्दा तिमीलाई तिम्री आमाले भेट्टाउन सजिलो भएको थियो रे ।

दशकक्षासम्मको पढाइमा पनि आफ्ना प्रतिद्वन्दीहरुलाई सधैँ पछि पार्दै जुनसुकै स्कूलमा भर्ना गरिदिए पनि प्रथम भइरह्यौ । प्रविणता तहको अध्ययनको लागि पनि काठमाण्डौमा उतिबेला नाम चलेका एसओएस, बीरेन्द्र शैनिक तथा सेन्टजेभियर स्कूल तीनवटैमा नाम निकालेर सेन्टजेभियरमा भर्ना भयौ ।

तिम्रो डाक्टर हुने रहर थियो । तर नाम निकाल्न सजिलो थिएन । म डराइरहेको थिएँ । ‘बाबु, तिमी बरु इन्जिनियर नै पढ न त !’ भनी फकाइरहेँ तर तिमीले एमबिबिएसको छात्रवृत्तिमा नाम निकालिछोड्छु भनेर दृढ भइरह्यौ र आखिर नाम निकाली छोड्यौ ।

हामीमा खनिएको महाविपत्तिमा पनि तिमी एक्लै त कति रोयौ कति ! तर आमाबाबु र भाइको अगाडि एकथोपा आँशु नचुहाएर हामीलाई उतिबेला अड्याउने ठूलो आडभरोसा तिमीले नै दियौ ।

तिम्रो विवाहको दिन तिमीलाई विदाइ गर्नुको पीडाले म अरर्रिरहेको थिएँ । तर तिमीले त्यो अवस्था बुझेर एकथोपा आँशु नझारेर भित्रभित्रै पिइदियौ र गम्भीर मु्द्रामै हामीबाट विदाइ लियौ ।

आलो पीडा, भर्खरैको विवाहबन्धन, भीमअस्पत्तालको अति व्यस्त सेवा, चल्लाको मुटु भएका बाबुआमाको हेरचाह आदिको कारणबाट तिमीलाई थप प्रगति गर्न कठिनाइ हुनुपर्ने हो । तिम्रा साथीहरुले विभिन्न ठाउँमा एमडीमा नाम निकालेर पढ्न थालिसकेका थिए । पक्का पनि तिमीमा यी बाध्यताले पीडा भइरहेको हुनुपर्छ भन्ठानी मैले तिमीसँग प्रस्ताव राखेको थिएँ, “नानी, म घरबारी बेचेरै भए पनि तिमीलाई एमडि पढाउनेछु, तिमी निराश नबन्नु है ।”

यो सुनेर तिमीले उल्टै मेरो सातो खाइदिएकी थियौ, “जन्माएर अनि आजसम्म हुर्काएर पनि आफ्नी छोरीलाई चिन्नसक्नुभएन बाबा तपाईँले ? श्रीसम्पत्ति बेचेर पढाउनुपर्ने त्यति कमजोर छैने तपाईँकी छोरी, बुझ्नुभो ?”

नभन्दै त्यसको केही महिनापछि पाटनमा एमडिको छात्रवृत्तिमा नाम निकालिछाड्यौ ।

यी त सीमित प्रतिनिधि उदाहरणहरु मात्र हुन् । तिमीले जन्मेदेखि नै मेरो खुशीको सीमा कटाउने गरी आफ्नो दृढताको सवालमा कति हायलकायल पारेकी छ्यौ कति !!

तिमीमा छोरीमा हुनुपर्ने सबै सद्गुणहरु कायम छन् । त्यसको अतिरिक्त छोरामा हुनुपर्ने सबै सद्गुणहरु पनि बोकेकै छौ । तसर्थ म तिमीलाई बढी छोरा नै भन्छु ।

तिम्रो यो दृढ इच्छाशक्ति अझै सुदृढ हुँदै जावस् । सुख, शान्ति मिलिराखोस् । आज परेको तिम्रो जन्मदिनको अवसरमा तिम्रो सुस्वास्थ्य र दीर्घायुको पद्मा-पदम शुभकामना ।

102 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top