Free songs
Home / उपन्यास / घोरनेटी र ज्या (७)

घोरनेटी र ज्या (७)

(७)

 

ज्याले भनिन्, “चुप लाग् । अब धेरै चकचक नगरेइ । मेरी मितेनी ऐजल सरबजारमा बस्ने आइमाइ हुन् । उनले चकचक गर्याउ नाम्रो मान्दिनिन् । अनि सुन् त्याँ घोरनेटी नाउँ कार्दै नकारेइ है । तोले सोद्न खोज्याउ सप्पै कुराको जवाक साँज त्याँबाट फर्क्यापछि मै दिउँला । बरु अब एकदमै सोजो देख्खेइ है बाबु । त्याँ छुपुक्क बसिह्राखेइ ।”
मले टाउको मार्तै हल्लायाँ । मनमनै अब ह्यीँबाट फर्क्या पनि हुन्त्यो जस्तो लाग्यो । घोरनेटी नजिकैबाट देखिसक्याउथ्याँ । अब हेर्न बाँकि ज्याकी मितेनी मार्तै थिन् ।

हामी फिरि उगालो हर्न लाग्यौँ । ज्याले बालाई भनिन्, “तिमी अग्गेट लाग । कालु बीचमा लागेर हर्च । म पछिपछि आउँचु ।” ज्याले भन्याजस्तै म, ज्या र बाका अन्तर लाग्याँ र हामी खुरुखुरु हर्दै उगालो काट्यौँ । एउटा उगालो काटिसगेपछि अलित तेर्छोतेर्छो ठाउँ आइपुग्यो । पर एउटी अलि अग्ली स्वान्चरी देख्खिइन् । मले अनुमान गर्याँ, ‘तेइ स्वान्चरी मेरी ज्याकी मितेनी हुनिन् ।’ हामी उनखा झन्झन् नजिकै गयौँ ।

मलाई ऐल झनै अच्चम्म लाग्यो । मले ज्याकी मितेनी जस्ती हुनिन् भनि सोच्याउथ्याँ तेस्ती कत्ति पनि थिनन् । रङ्गीचङ्गी बुट्टा भयाउ रातो सारी लाएइ, बुट्टैबुट्टै भयाउ पातलो बुलोज लाएइ, कबाल, आँखा, गाला र ओठमा पात्लो रातो रङ लाएइ, घाँटीमा सुनउ मसिनो तर लामो माला लाएइ, कानमा पनि झुम्का भयाउ सुन ! हातमा नारीदेखि कुइनासम्मै पुग्या सुनका चुरा र बाला । एकफेर बाले यस्तै स्वान्चरीको फोटो देखाइकिन ‘यिनी लक्ष्मी भगवान् हुन्, जीउ गर् । यिनले तोलाइ ठूलो बन्ने आसिरवात् दिन्चिन्’ भन्याथ्या कतै तिनै लक्ष्मी भगवान् हुन् कि जस्तो लाग्यो । आजसम्म यस्ती साँच्चैकी स्वान्चरी त मले देखेइको ह्रइन्चु । म अगि जान हच्कियाँ ।

तिनले हाम्रोभन्दा अलग्गैगरी बोलिह्रागेइथिन् । हाम्ले बोल्ने भाषालाई नै उनले सिंगारपटार पारेर बोल्याजस्तो लाग्यो । अन्वार उइ, तर उइ अन्वारमा गादल, टीको, रङ थप्याजस्तो बोली । उनले भनेइथिन्, “दर्शन भेना ! दर्शन संगिनीज्यू ! कति ढिला गरिस्स्या ? हामी त हजुरहरुलाई धेरै अघिदेखि पर्खीरा’को ! अँ, बाबु पनि आएछ ! बच्चाबच्चीसंग हिँड्दा त ढिला भइहाल्छ नि,  हैन र ?” अनि मलाई हेर्दै “ल यता आउ, बाबु ” भनेर उनले मलाई उनखा अग्गेट लगिन् । बाले “मितेनी ज्यालाई जीउ गर्” भन्या । मले उनखो हात तानिकिन ढोग गर्याँ । तिनखो आङबाट मङ्ङ बास आयो । तिनले मेरो हातनु केइ चिज राख्दिइन्, त्यो देखिकिन म अलमल्ल पर्याँ । उनले भनिन्, “मिठाइ हो । चाखेर हेर त, कति मीठो हुन्छ ।”

मले लाज मानीमानी चाख्याँ । त्यो गुर जस्तै मीठो ह्रच ।

मले बालाई हेर्याँ, बालाई पनि कुरा गर्न अप्ठारो भयाउ जस्तो मान्या । ज्यापाइ हेर्याँ ज्याले पनि अप्ठारो मान्या जस्तो लाग्यो । म चालो सर्दैसर्दै ज्याको काखमा टाँस्सिन आइपुग्याँ ।

तेइबेला बाले भन्या, “तपाईँहरु कुरा गर्दै गर्दा म गाउँपाइ गइकिन बल्ल हेरिकिन आउँचु । म चाँर्रै आइजान्चु ।”

मितेनी ज्याले “हस्, छिट्टै आइस्सेला नि । अनि सुनिस्योस् त, मेरो लागि दुख्ख गरेर यत्रो कोशेली ल्याइस्या रैछ । म बोक्न सक्तिन । एउटा भरिया पनि खोजेर ल्याइदिस्योस् है भेना ?” भनिन् । बाले “हुन्छ” भन्या र त्याँबाट उगालो लाग्या । मले पनि त्याँबाट फुत्किनापत्त भन्याँ, “बाबै, म पनि तिमीसितै आउँचु ।”

तेइबेला अर्की लखिनी आइकिन हाम्लाई अच्चम्म मानिकिन हाम्रा पच्छेटबाट हेरिह्रइह्रचे ।

मितेनी ज्याले भनिन्, “ऊ तिम्री दिदी । तिमी दुई भाइबहिनी तलतिर घुम्दै खेल । लडौला नि फेरि । हामी संगिनी-संगिनी कुरा गर्छौँ ।”

मैले त्यो लखिनीपाई हेर्याँ । उसले पनि मपाई हेरी । उसले मलाई देखी- गाउँको एकजना सिंगान पुछ्न पनि नजान्ने लख्या । मैले उसलाई देख्याँ- सरबजारकी पुतली जस्तै लखिनी । उखा लुगाबाट मङ्ङो बास्ना आइह्रयाउथ्यो । मेरो लुगाबाट मल र पसिनाको गन्न आइह्रयाउथ्यो । म उसलाई हेर्याहेरेइ भयाँ । ऊ पनि हेर्याहेरेइ भई ।

“जाऊ न जाऊ ! के हेराहेर मात्रै गरेको ?” मितेनी ज्याले फिरि भनिन् । अनि त्यो दी भनेइले मलाई घिनमान्दै डराइडराइ परसम्म तान्दै लगी ।

अलि पर पुगेपछि तेले सोदी, “तिम्रो नाम के हो ?”

मले भन्याँ, “कालु !”

तेले फेरि सोदी, “तिमी कति वर्षका भयौ ?”

मले डराइडराइ भन्याँ, “तीन बर्सउ ।” मेरो जवाक सुनिकिन त्यो लखिनी खितखिताट हाँसी, “बर्सउ भनेको के नि फेरि ? मैले तिम्रो शब्द बुझिन । ‘बर्सको’ भन्या हो ? कल्ले भन्यो तिमीलाई तीन वर्षको ? तिमी त कम्तीमा छ वा सात वर्षका भयौ होला ।”

मले केइ भन्न सकिन । मलाई अच्चम्म लाग्यो- तेले बोलेको म स्यानो लख्याले पनि बुजेइको छु । मले भन्याउ तेले किन बुजिन ? नक्कल पारेइ पो हो कि ! मेरो बोली बुजिन भनेकोमा त्योदेखि मलाई रिस उठ्यो । परबाट ज्याले हप्काइन्, “ओ, कालु ! भोटी नचबा ता । यखो कस्तो घिनउमर्नु बानो छ भने भाइरा मान्छसंग कुरा गर्दा डराउँच र मुखमा भोटी कोच्च !”

ओहो ! मले ता मुखमा भोटीको फेर हालेर चपाइह्रयाउ ह्रचु ! लाजले चाँरचाँरी भोटी तल झार्याँ ।

त्यो लखिनीले फेरि सोदी, “तिम्रा बाबा र आमाको नाम के हो ?”

मले गाउँका कोइ कोइ लख्यालखीले ज्यालाई आमा भनी बोलाउ सुन्याउथ्याँ । तेइहुनाले मले भन्याँ, “मेरी आमाको नाउँ ‘ज्या’ हो ।” ऊ मेरो जवाक सुनिकिन खितखिताट हाँसी र मेरो मुखाट फिरि चपाइह्रयाउ भोटी झिक्दिइ ।

तेले फिरि भनी, “म मात्रै कति कुरा गरुँ ? तिमी पनि केही कुरा गर न ।”

म अलमल्ल परिह्रयाँ । मले एकछिनसम्म केइ चालवास गरिन । त्यो पनि वाल्ल परेर मलाई हेरीह्रई । तेले फिरि कुरा शुरु गरी, “कस्तो सुन्दर छ है ? यो ठाउँ । प्रकृति कति सुन्दर एवम् स्निग्ध छिन् भनी हेर्न त यहीँ आउनुपर्दो रहेछ ! तलतिर कञ्चन दुई खोलाहरु ! मधुर कलकल स्वर निकालेर गाउँदै नाच्दै ऊ त्यो ठाउँमा मिलन भएको र तलतिर हातेमालो गर्दै निरन्तर कुदिरहेका ! दुवै संगिनी-संगिनी जस्ता ! न उनीहरुको रङ फरक छ, न मात्रा फरक छ, न त गन्तव्य नै फरक छ । दुवैको बगर एकै छ । दुवैको परिवेश एकै छ । दुवैले सुख्खा डाँडाहरुलाई सिंचित गरेका छन् र प्राणीको प्यास उसरी नै तृप्त पारेका छन् । पारितिरको हरियाली गाउँ ! हरियाली गाउँमा रमाएर बस्ने ती सुधा मानिसहरु ! शितल हावा तर न्यानो घाम, पारिलो वस्ती ! रमाइरहेका चराचुरुङ्गीहरु !”

म तेखो गनगनबाट दिक्क भयाँ । यस्तो खोला मिस्स्याउ ठाउँ ता मले पैलै देख्याउ थियाँ । साँख खोला र ल्हुँ खोला । जो बर्खा लागेपछि मात्तेर जुधेकोजुधेइ गर्चन् । कति ठाउँमा पैरो लराएर खेतीपाती स्वाहा पार्चन् । कति जिउधनको नास गर्चन् । तर यस्ता कुरा सुनाउन मले जान्याउ थिन । जान्याउ ता थ्याँ तर तेले बुज्ने बोली मसित थेन । बरु कुरा लफङ्ग्याउन मले पनि तेलाई केइ सोद्नै पर्नेभो । तर सोदूँ कस्तोरी ?

हमछि मले भिर्तैबाट आँट गरेर तेलाई सोद्याँ, “तिम्री आमाउ नाउँ क्याउ तो ?”

“म कहाँ तिम्री बहिनी हुँ र ! मलाई तिमी भनेको ? मलाई त तिमीले तपाईँ भन्नुपर्छ, बुझ्यौ ? तिमीले त्यसरी सोधेको म बुझ्दिन । तिमीले यी यसरी सोध्नुपर्छ । मैले जे भन्छु त्यही भन है ?  यी यसरी त..पा..ईँ..की.. आ..मा..को.. ना..म.. के.. हो.. ।”

मले तेइखो बोलीलाई दोर्यायाँ, “तपाईँ आमाको नाम के ?”

तेले भनी, “मेरी आमाको नाम ‘घोरनेटी’ हो ।”

मेरो सोदाइ तेले बुजिन भन्ने मानिकिन म खितखिताट हाँसेँ । तेले अच्चम्म मान्दै मपाइ हेरी र भनी, “किन हाँसेको त्यसरी ?”

मले भन्याँ, “घोरनेटी ता मान्छको नाउँ हैन, ठाउँको नाउँ हो गरै ।”

तेले भनी, “गरैसरै म बुझ्दिन । मैले साँच्चिकै भनेको, मेरी आमाको नाम पनि घोरनेटी नै हो ।”

अब मले पत्याउनै पर्यो । मान्छको नाउँ पनि घोरनेटी ? होला, मलाई सप्पैको नाउँ काँ था हुन्च र ? तेसोभया मेरी ज्या ता ‘ठाउँ घोरनेटी’ भेटन् आयइ ह्रइन्चिन्, ‘मान्छ घोरनेटी’ भेट्न पो आइह्रचिन् ! हमछि मले वाल्ल परेर ‘घोरनेटी’ नाउँकी मितेनी ज्या र ‘ज्या’ नाउँकी मेरी आमालाई पालैपालो हेरिह्रयाँ ।

 

1,051 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top