Free songs
Home / उपन्यास / घोरनेटी र ज्या (८)

घोरनेटी र ज्या (८)

(८)

“तिमीले त मेरी आमाको नाम मात्र सोध्यौ त ! कालु, खै त ? आफ्नी दिदीको नाम सोधेको ? कि मेरो नाम नै दिदी भन्ठानेका छौ तिमीले ?” त्यो दी फिरि फतफत गर्न लागी ।

मले मेरै बोलीमा सोद्न पनि नपाउने । मले मेरो बोलीमा कुरा गर्याँ भने बोल्या कुरामा सक्की यो मिलेन सक्की उ मिलेन भनेर गिल्ला गर्ने । उसको बोली एक्कैपल्ट सप्पै मले जान्ने पनि कुरै भैन । नबोलिकिन छुपुक्क बस्न पनि नदिने । मलाई त्यो दीले हुक्कै पारी ।

“किन टाउको निहुर्याइकन उभिएर खुट्टाको औँलाले भुइँ कोरिरहेको ? त्यस्तो बानी गर्नुहुँदैन, बुझ्यौ ?” भनेर उले मलाई आफूतिर तानी र भनी “तिमीले नसोधे पनि मै भन्दिन्छु, मेरो नाम । मेरो नाम के हो थाहा छ ? मेरो नाम कृष्णा हो कृष्णा !”

“किरिस्ना ?” मले भन्याँ ।

“किरिस्ना होइन क्रिस्ना हो के ! अब मलाई कृष्णा दिदी भन है ?”

मले टाउगो हल्लायाँ ।

“अनि थाहा छ ? हाम्रो त आफ्नै गाडी छ ।”

गाडी भन्याउ कुन चराउ नाउँ हो मलाई था थेन । अब के के सुन्नुपर्ने हो भनिकिन म दिक्क भयाँ र त्याँबाट डुग्रिँदै गइकिन ज्याका काखामा बस्याँ र मनमा खुलदुली लाग्याउ कुरा ज्यालाई सोद्याँ, “जेइ, म तीन बर्सउ हैन र ?”

मितेनी ज्याले नथापाउने गरी ज्याले मलाई चिउँटिन् ।

मले अरु मान्छको अग्गेट भन्न नहुने कुरा गर्याँ भने ज्याले मलाई चिउँटिने गर्तिन् । कि त्यो कुरा घिनउमर्नु हुन्त्यो कि लाजउमर्नु हुन्त्यो कि डरउमर्नुहुन्त्यो कि कोइलाई ढाँट्याउ कुरो हुन्त्यो । जे भया पनि ऐल पनि अरुका अग्गेट भन्न नहुने कुरा गर्याँ भन्ने था पाल्याँ र एकछिन छुपुक्क बस्याँ ।

मलाई मनमा लाग्या कुरा भन्न नपाउँदा एकदमै उकुसमुकुस हुन्च, गु आइसक्या मान्छलाई नहग् भनिकिन रोख्याजस्तै, मलाई मनभिर्तै कुरा राख्दा कइबेल उगेलु भनी टिलिबिली पर्च । तर उता क्रिस्ना दीले पनि मले बोलेको कुरालाई उल्लीबिल्ली पार्ने यता ज्याले पनि चिउँटिने । खेल्न जाउँ दी पछिपछि आइजाने । मलाई भाउन्नेइ छतपत् भयो । अब के गरुँ र कसो गरुँ भइह्रयो । तेइहुनाले ज्यालाई भन्याँ, “जेइ अब घर गैजाउँ है ?”

ज्याले भनिन्, “एकछिन पख् । भर्कल त आयौँ गरै !”

मितेनी ज्याले म छतपत्त्याउ कुरा चाल पाइन् र फिरि अर्को मुठीभरि मिठाइ दिइन् । हमछि मैले त बाबुलाई भनेर खेलौना पनि ल्याइदेको छु दिनै बिर्सेछु भनिन् र आफ्नो झोलाबाट पिलेन झिगिकिन दिइन् । मेरो छतपत अलि घट्यो । मले मिठाइ चुस्दै सानो पिलेन ओल्टाइपल्टाइ हेर्न लाग्याँ । मले पिलेन सगरमा उरेको मार्तै देख्याउथ्याँ भइयाँउ पिलेन देखेर छक्क पर्याँ ।

मितेनी ज्याले भन्दैथिन्, “म रुकुममा बोलिने ठेट नेपाली भाषाको सम्बन्धमा अनुसन्धान गर्छु । यसको उत्पत्ति विकास र विस्तारको बारेमा खोजी गर्छु । रुकुमको विकास हुनु वा नहुनुमा भाषाले कुनै प्रभाव पारेको छ कि छैन भनेर विश्लेषण गर्छु । भाषाको विकासले नै मान्छेलाई प्रगतिपथमा लम्किने बनायो र भाषाले नै मान्छेलाई पछि पार्यो । हज्जारौँ वर्ष पहिले भाषाको आविष्कार नभइदिएको भए मान्छे आजको जस्तो विवेकशिल प्राणी नभई अरु जङ्गली जनावरसरह नै जीवन व्यतित गर्थ्यो होला । बेलायतले विगतमा ग्रेट ब्रिटेन हुने अवसर र हाल अमेरिकाले शक्ति राष्ट्रको नेतृत्व गर्ने अवसर भाषाकै माध्यमबाट पाएको हो ।”

मले ज्यालाई हेर्याँ । ज्याले टाउगो मार्तै हल्लाइह्रागेइ थिन् । मितेनी ज्याले भन्या कुरा ज्याले कति बुजिन् कति बुजिनन् उनैले जानून् । उनले भन्नखोज्याउ कुरा हामी जति सजिलै बुज्चौँ हाम्ले भन्न खोज्याउ कुरा तिनले तेति सजिलै बुज्दिनिन् ।

मले खोलातिर हेर्याँ । मलाई खोलाउ नाउँ जान्न् सल लाग्यो र घारीपट्टिको खोलाको नाउँ सोद्याँ ज्याले भनिन् त्यो ह्रुङा खोला हो । माथि ह्रुङा भन्ने ठूलो गाउँ छ तेतैबाट आउँच । मेरो मावल त्यतै हो ।

फिरि अर्कोपट्टिको खोलाउ नाउँ सोद्याँ मितेनी ज्याले भनिन् त्यो खारा खोला हो । माथि खारा भन्ने गाउँ छ । मेरो पहिलेको घर त्यतै हो ।

क्रिस्ना दीले भन्याउ कुरा सम्ज्याँ । संगिनीसंगिनी खोलाहरु । दुइटै काटीकुटी एक्कै खालका हुन् भनेको । मले घोरनेटी ज्या र मेरी ज्यालाई खोलाहरुसंग दाँज्याँ । दुइटैको रगत एउटै छ । दुइटी स्वान्चरी हुन् । दुइटैका छोराछोरी छन् । तर मेरी ज्या जो संदै बाका इशारामा चल्नु पर्च बालाई खुशी पार्न र एउटा छोरोलाई पाल्नका लागि मार्तै दिनरात हारमासु ख्याउनुपर्च । जीउभरि मल र पसिनाको मार्तै गन्न छ । जो मितेनी ज्या जस्ता आफन्तालागि मरिमेटी आफ्नै हातले एक डोगो कोशेली तयार गर्चिन् र चप्पलबिना लामो बाटो काटेर भेट्न आइपुग्चिन् । अनि यी घोरनेटी मितेनी ज्या । ज्याका कुनै कुरा पनि यिनीसंग मिल्दैनन् । मले भन्नेमान्याँ यिनीहरु मंशिरका रुँङा र खारा खोला हैनन् यिनी ता बर्खाका ल्हुँ खोला र साँख खोला जस्ता पो छन् । फिरि मनमा एउटा कुरा सोदूँ सोदूँ लाग्यो र ज्यालाई सोद्देल्याँ, “जेइ, मितेनी ज्याले बोल्ने र हाम्ले बोल्ने बोली अलग्गै हो ?”

मेरो सोदाइ सुनेर मितेनी ज्याले भनिन्, “फरक हैन बाबु, एउटै भाषा हो । यही भाषाको विकास र विस्तार भएर राष्ट्र भाषा नेपाली बनेको छ । यो भाषा त भारतको दार्जिलिङ र सिक्किममा लगायत नेपालीहरु पुगेका धेरै मुलुकहरुमा समेत बोलिन्छ । यो भाषा आर्यन भाषाको एउटा हाङ्गो हो । नेपाली भाषाका पनि विभिन्न हाङ्गाहरु छन् । हामीले हाम्रो भाषालाई अरु भाषाजस्तै फलाउनफुलाउन सकेका छैनौँ ।

घोरनेटी ज्याका कुरा सुनिकिन मले के भन्ने मान्याँ भने ‘भाषा भन्ने चिज ता कद्दूको बेर्ना जस्तै ह्रच । बर्दै गयापछि लरा लाग्ने ह्रचन् । अनि लराहरु टाराटारा जाने ह्रचन् र जता गयो उतै फुल्ने र फल्ने गर्ने ह्रचन् । सग्या जता फल्यो त्यतैकाले फल खाँदान् । ठेलाका पातहरु बुर्रिँदै पुराना र स्याना स्याना हुँदै जाने र टुप्पा पातहरु ठूल्ठूला र नइयाँ देख्खिँदै जाने । पोर तल्लाघरै ठाइँलीज्या र पाल्नाघरै ठूल्ज्याको यइ कद्दू कोखो हुन्च भन्ने बारेमा झगरा गर्याउ सम्ज्याँ । ठाइँलीज्याले ‘कद्दू ता मले रोपेइ हुँ, मेरो बारीमा कद्दू औँरिने मेरै बारीमा झाङ्ङिने हमछि तेरा बारीमा पुग्यो भन्दैमा तेरो कस्तोरी हुन्च ?’ भन्ने । ठूल्ज्याले, ‘रोपेर मार्तै हुन्च ? तोले रोप्याउ तेरै बारीमा फल्याउ भया पो, मेरो बारीमा फल्याउ चिज तेरो कस्तोरी हुन्च ?’ भन्ने । पछि ‘त्यो कद्दू जस्को बारीमा फल्यो, उसैको हुन्च’ भनी पन्चले भन्या हुनाले ठूल्ज्याले नै त्यो कद्दू पाइथिन् ।’

“अब मितेनीजिउलाई भोक लाइयो, मले खीर ल्याइछु, खाउँ है ?” ज्याले भनिन् ।

“हामीलाई भन्दा बढी भोक त यी केटाकेटीहरुलाई लागेको होला । हुन्छ नि खाउँ । बरु हात फोहोर भैसकेका छन् । हात पो कता धुने हो, सङ्गिनीज्यू ? ।” मितेनी ज्याले भनिन् । मितेनी ज्याले मेरी ज्यालाई संगिनी भनिह्रइथिन् ।

“सालका पात चोखै छन् । यसैमा पुछपाछ गर्या हुन्न ?” ज्याले सोदिन् ।

“सकभर पानी भए राम्रो । जाउ तिमी दुई भाइबहिनी तल खोलाबाट पानी ल्याएर आउ । खोलाको किनारतिर हेर्नू पानीको मुल हुन्छ । त्यहाँबाट मात्रै ल्याउनू नि फेरि ।” मितेनीज्याले हाम्लाई एउटा भाँरो दिइकिन अह्राएपछि हामी डुग्रिँदै खोलातिर झर्यौँ । डुग्रिन पाउँदा हाम्लाई ऐलभने धेरैबेरसम्म डोगामा थुन्या चल्लालाई डोगो उगार्द्याजस्तो भो । हामी एक्कैछिनमा खोलामा पुग्यौँ । मूल खोज्नै परेन । खोलाको छेउमा केराको बोग्रा काटिकिन धारो बनायाउ भेटायौँ र तेइ धाराबाट पानी भर्यौँ । त्यो भाँरालाई तुम्लेट भन्ने ह्रचन् । हमछि डुग्रिँदै फिरि हामीहरु ज्याहरु भया ठाउँमा आइपुग्यौँ ।

ज्याले पतराबाट खिर झिगिन् । पतराको ढकनलाई च्याथचुथ पारिकिन थाल बनाइन् र तेइमा खिर हाल्दिइन् । भाङो र गिठाउ अचार पनि बनाइह्रचिन् त्यो पनि हाल्दिन् । खीर आँजै मनतातो थ्यो । हामीले खान लाग्यौँ ।

“ओहो ! कति मीठो खीर ! मम्मी, यस्तो खीर हाम्रोतिर किन बन्दैन ?” कृष्णा दीले आफ्नी ज्यालाई सोदी । दीले ज्यालाई मम्मी भन्नेह्रचिन् भन्ने मले थापायाँ ।

मितेनी ज्याले भनिन्, “यस्तो शुद्ध दूध कहाँ पाउनू त शहरमा ! फेरि गाउँमा १० माना दूधलाई खियाइखियाइ ५ माना बनाएर पकाएको खीर हो नि । हाम्रो जस्तो पानी मिसाएको दूधमा एकछिन चामल उमाले जस्तो हो र ?”

हामीले खाँदै गरेइबेला मितेनी ज्याले ज्यालाई सोदिन्, “अनि मैले पोहर साल भनेको कुरा भिनाजूसंग सोधिस्स्यो त ? के भनिस्स्यो भिनाजुले ?”

ज्याले टाउगो ‘नइँ’ भन्ने इशारा गरिकिन हल्लाइन् । टाउगो हल्लाउँदा ज्याको अन्वार ता एकदमै अँन्यारो भयाउ देख्याँ । ‘ज्याले मुखले ‘नइँ’ पनि भन्न किन सगिनिन् ?’ मलाई अच्चम्म लाग्यो ।

मितेनी ज्याले फिरि भनिन्, “हजुरहरुकै भविष्यको लागि भनेकी हुँ । यो बाबुको भविष्य पनि उज्ज्वल हुने ।”

ज्या झनै अन्यारी भइन् । ज्याले मुखनु पुर्याउनै लाग्याउ खीरको गाँस एकछिन बीचैमा अल्ज्यो र त्यो गाँस पतरामै झर्यो । ज्याका आँखा कुनाकुना रसाया जस्तो लाग्यो ।

‘ज्याको मन दुखाइदुखाइकिन पनि हाम्रो भविष्य बन्ने के होला त्यो कुरा ?’ भनिकिन मेरो फिरि खुलदुली बर्यो ।

1,189 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top