Free songs
Home / उपन्यास / घोरनेटी र ज्या (६)

घोरनेटी र ज्या (६)

(६)

मले खोलापाइ हेरिह्रयइबेला बाले पच्छेटबाट चपक्क पखेट्टा तान्या र भीरपाइ खसाया । भीर एकदमै अग्लो थ्योः सोजै तलपाइ हेर्या आँखा रिङ्ने । ह्याँमाट खस्यापछि मान्छा हारखोरै भेटाउन गारो होला जस्तो थ्यो त्यो भीर । म त खस्स्याँ कि भनी सातोपुत्लो गयो । खुट्टा लगलगी काम्या । फेरि बाले पछिपाइ तान्या र भन्या, “हेर तो, यखा अन्नेरी ! भीरको ढुङ्ङामा बसेइबेला घुप्लुक्क तल खस्या के हुन्च ?”

ज्या पनि आइपुगिन् र भनिन्, “यस्तै डेउरी गरिह्रनेभया ह्यीँबाट फर्किन्चु म ता ।”

मले “अब गर्दिन । बरु मेरो हात समाइदेउ, म आँफ्फै हर्चु”, भन्याँ ।

बाले मेरो हात समात्या र हामी बाटैबाट ओरालो लाग्यौँ । हामी दुई बाउछोरा एकैछिनमा खोलामा झर्यौँ । टाराबाट स्यानो देख्ख्या पनि नगिचै त साँख खोला मन्किह्रयाउ भयंकर देख्ख्यो । खोलाको भिर्तभिर्त, स्यानाठूला, खिइया, थरिथरि रङका, चिप्लैचिप्ला ढुङ्ङा खोलाभरि परस्टै देख्ख्या । खोला तर्नलाई काठको स्याँकू हाल्याह्रचन् । सितले स्याँकू एकदमै चिप्लो देखिन्त्यो ।

बाले उमपाइ फर्किकिन हेर्या । ज्या त माथि नै कनीकुथी झरिह्रइ ह्रचिन् । बाले ज्यालाई बोलाया, “कति ढिलो गरेइ हो ! चाँर आन्नइ ! यति सजिलो बाटामा पनि बाम्म्या सर्न लाग्या कैल पुग्गेला घोरनेटी ?” तेसपछि मलाई बोगिबोगिकिन स्याँकु तर्न खोज्या ।

मले फिरि जिद्दी गर्याँ, “म स्याँकू आँफ्फै तर्चु है ? बाबै ।”

बाले मलाई हप्काया, “कत्ति तलबलो लख्या होला क्या यो ! आइज म आँफै तराउँछु” भन्या र मलाई बोगेर स्याँकुमा चालचालो सर्दैगया । बीचमा जाँदा स्याँकू अलिअलि लचकलचक गरी हल्लिँदा ता डर पो लाग्ने ह्रच । स्याँकू तरिसक्यापछि म र बा पाल्लापट्टि एकछिन उम्मियौँ । ज्या पनि खोलाको छेउमा आइपुगिन् र भनिन्, “स्याँकु तर्दा मेरा आँखा रिङ्चन् क्या, मलाई खोलो तराउन वाल्लापट्टि आन्नौ लाई ।”

ज्यालाई पनि बाले नै खोलो तराउनुपर्ने भयाहुनाले बा फिरि वाल्लापट्टि आउनुपर्ने भो । बा मलाई पाल्लापट्टि छारिफाल्याइकिन फर्किन लागेइबेला ज्याले बालाई सम्जाइन्, “त्यो लख्यालाई एख्लै खोला छेउमा छारिफाल्याया ता तलबलो लख्या खोलामा पर्जाला ए । तेलाई पनि वाल्लैपट्टि ल्याल तो ।”

मलाई पनि फिरि खोलो तर्न पाउने भइयो भनिकिन सल लाग्यो । म चाँरचाँरी बाका बुइ लाग्याँ । बाले फिरि स्याँकु तर्या र वाल्लापट्टि आया र ज्यालाई भन्या “छार् डोगो म बोग्चु, तोलाई खोलामा गारो होला ।”

ज्याले भनिन्, “मलाई तिमीले समात्या भइयो । मै बोग्चु डोगो ।”

बाले फिरि ज्याले बोग्याउ डोगो तान्दै भन्या, “तो कत्ति जिद्दि गर्चेइ ! छार् भन्या र ! एकफेर भन्याउ मान्द्योइ र ? सातपटक भन्नुपर्ने होलाय ।” हमछि ज्याले डोगो बसालिन् । बाले डोगाउ बर्यो टाउकोमा हाल्या र गाँठा टेकिकिन सजिलै उठ्न खोज्या । तर सगेनन् । फिरि बल लाइकिन “हुँ..उँ” गर्दै उठ्या र धङ्धङ्ङिदै पर पुग्या । हमछि बाङ्ङो मण्टो लाउँदै ज्यालाई हप्काया, “के हालेइछेइ आँफू यति गर्को चिज, डोगामा ? तोले ता मेरा घरउ सबै सिरिसम्पति डोगामा जगाली कि क्या हो ?”

बाका ढङ्ङ देखिकिन ज्याले धोतीको सप्कोले मुख बुजीबुजी खितखिताट हाँसिन् ।

अनि मलाई ज्याले बोगिन् । बाले ज्याको पाखुरामा समातिकिन खोलो तराउन लाग्या । खोलो बाका खुट्टा गाँठासम्म आइपुग्यो । ज्या दुईतीन फेर लरक्क लरक्क चिप्लिन् र भनिन्, “हाइइ ! कति टिट्याउने पानी हो ! ढुङ्गा पनि कति चिप्ला हुन् ! मलाई नामरी समाया है लख्या बाबै, म त लर्किकिन ढल्ल्वा जस्तो भइयो ।”

मले पनि आँजै बलगरिकिन ज्यालाई समायाँ । हाम्ले धङ्धङ्ङिदै र खोलामा चिप्लिँदै  साँख खोलो तर्यौँ । पाल्लापट्टि पुग्यापछि बाले डोगाउ भारी बिसाया र डोगामा ह्राग्याउ कोसेली एकएक गरिकिन छाम्या । तेसपछि फिरि ज्याले डोगो बोगिन् । ज्याले त त्यो डोगो सजिलै उच्चालिन् । मले ठान्याँ बाले जति फूर्ति लाया पनि बाभन्दा ज्या नै बल्ली ह्रचिन् । हामी फिरि तेर्छै उगालो लाग्यौँ । मले बालाई बोग्न पठाइन, आँफ्फै हर्न लाग्याँ ।

अलि पर पुग्यापछि मले बालाई सोद्याँ, “बाबै, त्यो माथिको गाउँको नाउँ के हो ?”

बाले भन्या, “कौछ्या ।”

मले अलिपरको ठाउँको नाउँ सोद्याँ, ज्याले भनिन्, “चोरकाट्या ।” अलिपरको खोलाको नाउ सोद्याँ । तेखो नाउँ “काङ्ङ्या” ह्रच । अलि परको उगालोको नाउँ सोद्याँ, त्यो “गरगर्र्या” ह्रच ।

मलाई यी सप्पै ठाउँठरको नाउँ ह्राग्दिनेसित झनक्क रिस उठ्यो । मलाई ‘कालु’ भनी बोलाउनुको सट्टा नाउँ बिगारेर ‘काल्या’ भनी बोलायाजस्तै हेलाँ गरिकिन ठाउँको नाउँ नै बिगारेर ननाम्रो नाउँ ह्राग्दियाको जस्तो लाग्यो र बालाई सोद्याँ, “बाबै, मान्छहरुलाई भइँसित पनि किन रिस उठ्च ? किन नाउँ बिगारेर ह्राग्द्याहुन् ‘कौछ्या’, ‘चोरकाट्या’ भनिकिन ?”

“म केइ थापान्न, तेरै ज्यालाई सोद्”, बा झन्केर बोल्या ।

मले ज्यापाई हेर्याँ । ज्याका अन्वारबाट पसिना निक्लिन लाग्याथ्या । तेइपनि हाँस्दै भनिन्, “तेरा बाजस्ता संदै रिस उठिह्राग्ने मान्छले ह्राग्द्याउ नाउँ ता होला नि !”

“हेर्दैनौ, यखा जवाक् ! जतिखेर पनि निउ खोजिह्रनुपर्च यलाई । तोले निउँ नखोज्या, म के मर्नापत्त रिस उठाउँदाउँ र ?” बाले झगरा गर्न खोज्या । मलाई ज्याको टिठ लागेर आयो । ज्याले थ्याँच्च डोगो बाटोमै बिसाइन् । अब बाटो फिरि उगालो लाग्याउथ्यो । बा अलि माथि पुगिसग्याथ्या । बाले माथिबाटै भन्या, “तोले मलाई जवाक लाउने, म तेरो पुच्छर बन्ने ? पुच्छरले कुगुर हल्लाउन खोज्ने ? म गइजान्चु, एख्लै जेसुनि गरी आएइ ।” भन्या र बाले हाम्लाई तलै छारिफाल्याइकिन उगालो चर्दै अलप भया ।

ज्या एकछिन् बाटामै बसिन्, हमछि खोलामा गएर पसिना पखालिकिन हत्केलाले उबाउँदै पानी खाँदै गर्न लागिन् । मले ज्याको भारी हेर्याँ, अनि बा कतै देखिन्चन् कि भनी उमपाई हेरिह्रयाँ । मलाई आँफैसित रिस उठ्यो, ज्याबाको झगराको बीउ मले नै किन निगाल्नुपर्दो ! भनिकिन । बाटोभरी अब ज्याबा सातै भयाबेला ठाउँठरको बारेमा केइपनि नसोद्ने बिचार गर्याँ ।

ज्या खोलाबाट बाटोमा आइन् र एकफेर डोगोबर्यो मिलाइन् । हमछि टाउगामा बर्को दोबारेर ह्रागिन् र उमपाई हेरिन् । ज्याका आँखाले ‘उगालो बाटो कति छ’ भनी नाफ्या हुन् कि ‘सात दिने बालाई खोज्याहुन्’ मले अनुमान लाउन सकिन । मले पनि उमपाई हेर्याँ बा कतै देखिन्चन् कि भनी बा कतै देख्खेनन् ।

हमछि “तो अगि लाग्” भनिन् र आफूले डोगो बोग्न लागिन् । मलाई ज्याको अवस्था देखिकिन टिठ लाग्यो । अनि मले भन्याँ, “जेइ, अलित भारी म बोग्चु, मलाई दिन्नौ तो ?” ज्याले दर्दको हाँसो हाँस्दै भनिन्, “डोगो बोग्न सग्चइ ? डोगै बोग्दैनै तो !”

मले ज्याका हात समाइदिएर हल्लाउँदै भन्याँ, “नै क्या ! जेइ । एकदुइटा पतरा बर्कोमा बेर्देउ, म बोग्गेल्चु, तिम्लाई अलित भयापनि हलुगो होला ।”

ज्याले भनिन्, “छार् उज्जा । बोग्न सग्नेभया ता, तो पनि छारिफाल्याइकिन हर्दोइए ।” ज्याका आँखा रसाया । हमछि ज्याले डोगो बोगिन् र माछोरा उगालो चर्न लाग्यौँ ।

उगालोमा मेरा खुट्टा पैताला पसिना आया । ज्याका खुट्टापाइ हेर्याँ । ज्याका खुट्टामा पनि पसिना आहुँदान् । तेइबेला ज्याका चप्पलउ लोतो छिन्यो । एउटा चप्पलउ लोतो पैलै छिन्याउथ्यो त्यो चप्पल भीम्ला डोराले अल्जाइथिन् ।

“ऐ, कालु, बाटा ढिगघारी कतै डोरो लोतो केइ भेट्टिन्च कि ? खोज् खोज् बाबु ।”

मले बाटा ढिगघारी, उँदउम जताकतै खोज्याँ । डोरो जस्तो चिज केइ भेट्टेन ।

ज्याले डोगैसित एउटा सानो रुखको बुटोबाट एउटा हाङ्ङो भाँचिन् र तेइखो लोतो कारिन् । त्यो लोतोलाई चप्पलमा गाँसगुस पारिन् । हामी फिरि हर्न लागिउँ । चारपाँच पाइला नहर्दै त्यो लोतो पनि छिन्न्यो ।

मले ज्यालाई सम्जायाँ, “जेइ, बाटामा खस्या डोरा कुइया हुनन् । बरु कि बर्र्याउ डोरो छिनाल, कि तिम्ले लायाउ धोतीको खिका च्याथ ।”

ज्याले, “हो तो ! तोले ता साँच्चै भनी हेर् लख्या ।” भनिन् र डोगो घारी काल्नामा अर्याइन् । हमछि बर्याउ छेउबाट दाँतले डोरो निगाल्न लागिन् । हामीले १० भागको १ भाग पनि उगालो काट्याथिनौँ ।

तेइबेला बा माथिबाट डुग्रिँदै आया र भन्या, “के भो फिरि ? तिमीहरु घोरनेटी पुग्ने ता कता हो कता, आज बाटैमा बास पार्नेभयौ !” तेसपछि ज्यालाई भन्या, “खोइ छार् ! डोगो म बोग्चु ।”

ज्याले “म बोग्गेल्चु क्या !” भन्दाभन्दै जरक्क डोगो उच्चाया । हमछि तो पनि आइज भन्या र मलाई पनि जुरुक्क उच्चाइकिन डोगामा बसाल्लेल्या । तेसपछि लमकलमक उगालो लाग्न लाग्या । बाका बल ता मले ऐल पो था पायाँ । जे भयापनि बा मर्द नै थिया ।

मले ज्यालाई पछिपाइ फर्किकिन हेर्याँ । बिचरी ज्या ता लोता छिन्या दुइटै चप्पल हातमा समाइकिन खरङतरङ गर्दै पछिपछि बालाई भेटाउने कोशिस गर्दैथिन् ।

उगालो चरिसगेपछि एउटा गाउँ आयो । गाउँ डालाबोटले घेर्याउथ्यो । ठूलाठूला कमद पनि थिया । लुन्छराहरु कमद जोत्नमा व्यस्त देखिन्त्या भने स्वान्चरी केराटी मल छर्न र जिलाउन व्यस्त देखिन्त्या । माथिपाइ हेर्याँ । दुइटा अग्लाअग्ला लेख देख्याँ । पारिपट्टि जङ्गल थ्यो । जङ्गलभन्दा पर गाउँ थ्यो । ती सबैको नाउँ सोद्ने मन लाग्यो । नाउँ ता डालाबोट, कुनाकाप्चा सप्पैको सोदूँसोदूँ लाग्यो । तर बाले झेजो मान्नन् भनिकिन सोदिन । ज्या अलि पछि नै थिन् । तेर्छो बाटोमा ज्या पनि बालाई भेटाउन आइपुगिन् र बालाई भनिन्, “भइयो, अब म बोग्चु डोगो । तिमी डोगो सितिमिति नबोग्यालाई झन् गारो भयाउ होला ।”

बाले भन्या, “पर्दैन । बरु लख्यालाई बोग् ।”

म एकदमै खुशी भयाँ । बाले मलाई डोगाबाट झार्द्या र मलाई ज्याले बोगिन् । बा फिरि लमकलमक लम्क्या र परै पुइया ।

ज्यालाई सोद्न् आँट आयो र माथिको गाउँको नाउँ सोद्याँ । त्यो गाउँ ‘ल्हुँ’ ह्रच । तर ‘ल्हुँ खोला’ त त्यो गाउँभन्दा माथिबाटै आउने ह्रच ! गाउँ तल, खोलाको नाउँ माथि ? कस्तोरी ह्राग्द्याहुन् ? मलाई खुल्दुली लाग्यो ।

“म हर्जान्चु क्या ” भनी ज्यालाई जिद्दि गर्याँ र म फिरि हर्न लाग्याँ । यति लामो बाटो म जर्मेदेखि हर्याउथिन । खुट्टा पैताला भतभती पोल्न लाग्या । हर्दै गयापछि बालाई फिरि भेटाल्यौँ । बा ओरालो सक्क्यापछि चौफारीमा बस्याह्रचन् । बाले भन्या, “एकछिन बिसाउने हौ कि ? गैजाउँ ?”

ज्याले “बिसाउँ” भनेपछि एकछिन पिपलको शितलमा बस्यौँ । तेसपछि ज्याले डोगो बोगिन् । अनि हामी तेर्छै जङ्गलैजङ्गल हर्न थाल्यौँ । धेरै हर्यापछि एउटा थुम्को आइपुग्यो । त्याँबाट तीनवटा खोला मिस्सिने ठाउँ पनि देख्ख्यो । त्याँदेखि माथि अग्लाअग्ला डाँराहरु देख्ख्या । ज्याले बीचको डाँरापाइ औँठाले सिगाउँदै भनिन्, “ऊ… तेइ हो घोरनेटी ।”

मेरो मन एकदमै चङ्ङ भो । मुटु नै ढुकढुक गर्न लाग्यो । सप्पै थगाइ स्वाट्टै हराइयो । मले खुशी हुँदै सोद्याँ, “काँ जेइ, काँ क्या ?” ज्याले औँठाले सिगाया ठाउँतिर मले हेर्याँ । त्याँ ता नाङ्ङो डाँरो मार्तै देख्याँ । मले सोच्या जस्तो ठाउँ थेन त्यो ! मले नपत्याइकिन सोद्याँ, “तेइ हो र जेइ, घोरनेटी ?”

“अँ क्या अँ, तेइ हो ।” ज्याले भनिन् ।

म त ह्यास्स भयाँ ।

तेसपछि हामी अलिपरसम्म पुग्यौँ । खोलाको छेउ आइपुग्यो ।

“अब एकछिन ह्यीँ बिसाउँ ।” ज्याले भनिन् र डोगो एउटा ढुङ्ङामा अर्याइन् । आफ्नो धोतीमा लाग्याउ धुलोमैलो टाकटाकटुकटुक पारी झारिन् । मेरो लुगा पनि झार्दिन् । अनि आफ्नो मुख धुइन् र मेरो पनि मुख, हातखुट्टा धुइदिइन् । बा अलि परकन गइकिन ढुङ्ङामा बस्या ।

मले वारिपारि हेर्याँ । पारिपट्टि स्यानो गाउँ थ्यो । वरिपरि अग्लाअग्ला डाँरा थ्या । वाल्लापट्टिको माथिको डाँरो देखाउँदै भन्याँ, “जेइ, त्यो कुन डाँरो हो ?” ज्याले भनिन्, “गैरीनेटा” अनि फेरि पारिपट्टिको डाँराको नाउँ सोद्याँ “खरनेटा” अनि त्योभन्दा माथिको पनि सोद्याँ । “झुलनेटा” । मले ‘पिपलनेटा’, ‘मालनेटा’ जस्ता धेरै नेटा भएका ठरको नाउँ पनि सुन्याउथ्याँ । मले फिरि सोद्देल्याँ,

“जेइ, अरु सप्पै डाँराको नाउँ ‘नेटा’ हुने, यो मार्तै ‘नेटी’ किन जेइ  ?”

 

926 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top