घचेटाइ

गोजीमा बस चढ्न पुग्ने पैंसा समेत बाँकि थिएन, मसंग । आजै गीत रेकर्डिङको लागि पेश्की दिने वचन दिइसकेकोले बैंकबाट पैंसा झिक्ने उद्देश्यले म लागेँ असनको गल्ली हुँदै न्यूरोडतिर । असनमा संधै मानव भेल बगिरहन्छ । त्यहाँबाट अघि बढ्न घचेटाघचेट र ठेलमठेल गर्नैपर्छ हरेक बटुवाले । जो घचेट्दै अघि बढ्नसक्छ, उही नै छिटो गन्तव्यमा पुग्दछ यहाँ । त्यही घचेटाइमा म पनि सहभागी हुँदै म चारबजेतिर न्यूरोडस्थित एक बैंकमा पुगेँ । तर दुर्भाग्यवश् बैंक चार बजे बन्द भैसकेको रहेछ । अब रात्रीकालीन सेवाको लागि पाँचबजे मात्र खुल्दो रहेछ । अतः मैले पाँचबजेसम्म पर्खनैपर्नेभयो । यताउता लाग्दा फेरि न्यूरोडको मानवभेलसंग घचेटाघचेट गर्नुपर्दथ्यो, ममा त्यति सामर्थ्य पनि बाँकि थिएन किनकि हिजो रातरातभर भोकल रेकर्डिङमा ननिदाई बिताएको थिएँ । अतः बैंककै गेटमा अडेस लागेर म एक्लै उभिएँ । एकैछिनपछि अरु मान्छेहरु पनि मेरो अगलबगलमा उभिन थाले । मलाई अलि सहज भयो प्रतिक्षा गर्न । केही समयपछि बैंकको गार्ड गेटमा देखिए, उनले पालोको कुपन बाँड्न थाले । सानो संख्याको समूह भए पनि अरुलाई घचेट्न सक्नेले पहिलो पालोको कुपन भेट्टायो । मेरो पाँचौँतिर पालो पर्यो । मभन्दा पछि तीनचारजना व्यक्तिहरुले पालोको कुपन लिए । बिस्तारै एकएक गरी मान्छे थपिन थाले र एकएक गरी कुपन पनि बाँडिदै गयो । पछि आउनेलाई भने कुपन लिन तँछाडमछाड गर्नुपरेन ।

पाँच बज्दानबज्दै बैंकिङ कार्यको लागि आउने मानिसको संख्या झण्डै पच्चीसको हाराहारीमा पुगिसकेको थियो । गेट पारदर्शी भएकोले भित्र झण्डै पैँतीसचालीस जना अटाउने आरामी कुर्सीहरु लहरै मिलाएर राखिएको बाहिरैबाट देखिन्थे । जब पाँच बज्यो, त्यहाँ प्रतिक्षारत मान्छेहरु भित्र पस्नको लागि पुनः घचेटाघचेट शुरु भयो । प्रत्येकले पालोको कुपन पाएकै छन्, भित्र पाँचवटाभन्दा बढी काउण्टरको व्यवस्था गरिएकै छ, एकछिन पालो कुर्न आरामी कुर्सी र ४२ इन्ची एलइडि टेलिभिजनको व्यवस्था पनि छ, चिया र चक्लेट पनि आफू खुशी लिन सक्ने व्यवस्था गरिएको छ भित्र । तर मानिसहरुमा पटक्कै एकछिन पनि धैर्यधारण गर्न पनि सक्दैनन् । फलतः गेटको भीमकाय पारदर्शी ढोका समेत फुटाउलान् सरी गरी लाजमर्दो र हाँसउठ्दो व्यवहार प्रदर्शन गर्दै एकले अर्कोलाई घचेट्दै हुरुरु एकसाथ भित्र छिर्छन् मान्छेहरु । म पनि त्यही हुलमा भित्र पस्छु र एउटा आरामी कुर्सीमा विश्राम गर्छु । विश्राम गरेको दुई मिनेट नबित्दै मेरो पालोको नम्बर-बत्ती बल्छ । पाँच मिनेटभित्रै मेरो काम सम्पन्न हुन्छ । म लाग्छु आफ्नो गन्तव्यतिर ।

जे होस् बैकिङ सेवामा अन्यको तुलनामा सेवाग्राहीलाई सक्दो बढी सेवा दिने आधुनिक प्रविधि अपनाइएको छ । तर अन्य क्षेत्र भने भद्रगोल छ । रेकर्डिङमा पनि त्यस्तै भद्रगोलको अवस्था छ । जसले भनसुन गर्यो । जो दिनरात धाइराख्यो उसैले पालो पाउँछ । मैले झण्डै चार रात खडा बसी बिताए पनि मेरो काम सम्पन्न हुन सकेको छैन । स्टुडियोका प्राविधिक सन्तोष र पवनले भने मेरो कामको लागि बिरामी स्वास्नीको परवाह नगरेर रातरातभर मलाई सहयोग गरिरहेका छन् । सोचेको भन्दा रेकर्डिङ गराउनेहरुलाई धेरै धपेडी हुँदोरहेछ । रेकर्डिङका प्राविधिकहरु पनि रात वा दिन नभनी अहोरात्र खटेर काम गरिरहने । परिश्रमको साथै नाम र दाम कमाइरहेका छन् कलाकारहरुले ।

म भने कुनै कलाकार होइन । फेसबुके साहित्यकार बनी टोपलेको अवस्थामा विभिन्न समयमा फेसबुकवालमा पोष्ट गरिएका गीतहरु टुक्राटुक्री जोड्दाजोड्दै एउटा गीती नाटक तयार भएको छ मेरो । यसलाई राम्रो ध्वनी दिन पाए हुन्थ्यो भनी मनभित्र हुटहुटी चलेको धेरै भैसकेको छ । जिल्लामा केही स्थानीय कलाकारहरुबाट मोबाइलमा ध्वनी रेकर्डिङ गराए पनि त्यसले चित्त बुझेको हुँदैन । समयको अन्तरालमा मेरो काठमाण्डौ पुग्ने काम पर्छ र काठमाण्डौ पुगेपछि जिल्लाका चर्चित कलाकार जय देवकोटालाई खोज्ने प्रयत्न गर्छु । केही समयको प्रयासपछि जयजीसंग भेट पनि हुन्छ । चिनजान गर्दै जाँदा उहाँ नजिकका नातेदार भएको कुरा पत्ता लाग्दछ ।

जयजीसंगको भेटमा मैले नाटकको कपी नबोकेकोले उहाँले घरमै आएर हेर्ने ईच्छा व्यक्त गर्नुहुन्छ र हामी दुवैजना मेरो घरमा आउँछौँ । मैले गीती नाटक लगायत मेरा अन्य रचनाहरु पनि देखाउँछु उहाँलाई । उहाँले ती रचनाबाट राम्राराम्रा गीतहरु बन्न सक्ने कुरा बताउनुहुन्छ । स्टुडियोको चारपाँच हजार खर्च बाहेक अन्य खर्च चिनजानको आधारमा आफैले व्यवस्थापन गर्ने र धेरै खर्च नलाग्ने आश्वासनले म निकै उत्साहित हुन्छु । उहाँले मेरो ठाडी भाकाको एउटा गीत समेत बोकेर फर्कनुहुन्छ । राति गीती नाटक र ठाडी भाकाको गीत भाका हालेर सुनाउँदा म दङदास हुन्छु र शुरु हुन्छ मेरो गीत रेकर्डिङको दौडधुप । मेरो दिनभर र रातभरको दौडधुपको तमाशा पनि हिजोआज साँच्चिकै हेर्नलायकको छ ।

यस्तै कुरा कल्पिँदै म पुरानो बसपार्कसम्म पुग्दछु । पुरानो बसपार्कको दुवाकोटको लागि छुट्ने गाडी खचाखच छ यात्रुहरुले । तर पनि बस छुटेको छैन । दुवाकोटकै अर्को गाडी नआएसम्म यो गाडी अगाडि बढ्दैन । मान्छेहरु घचेटाघचेट गर्दै भित्र छिरिरहेका छन् । सिट रोक्न झ्यालबाटै झोला पुर्याउनेको रमिता पनि हेर्न लायक छ । गाडीभित्र “यो मेरो सिट” भन्दै झगडा गर्नेको संख्या पनि ठूलै छ । खलासी पनि सकभर धेरै संख्यामा यात्रु कोच्न चाहन्छ र सबैलाई पछिल्तिर घचेटिरहेको छ । कसलाई कहाँसम्म घचेट्ने उसकै अधिकार क्षेत्रको कुरा हो । सिटको माथि “महिला सिट” र “अपाङ्ग सिट” लेखिएको पनि छ । तर त्यसको कार्यान्वयन भएको छैन । त्यस सिटमा कसलाई राख्ने वा नराख्ने भन्ने निर्णय गर्ने अधिकार पनि खलासीलाई नै छ । बुढाबुढी वा बच्चा बोकेका आइमाइ गाडी चढे भने र खलासीको मन पग्लियो भने उसले सिट मिलाईदिन सक्छ ।

चालकलाई भने अरु कुराको केही परवाह छैन । यात्रु चढे पनि नचढे पनि अर्को समान गन्तव्यको बसलाई पर्खेर गाडी ठाउँठाउँ रोकेर राख्नु र भाडाको सम्बन्धमा यात्रुको खलासीसंग खटपट परेमा खलासीको पक्षमा बोलिदिनु उसको निर्णय अधिकारका कुराहरु हुन् । कतैकतै खलासीको “जाउँ ! जाउँ !! गुरुजी, अर्को गाडी आइसक्यो” भनी पेश गरेको टिप्पणीलाई भने मन नलगाई नलगाई सदर गर्छ चालकले ।

बस गन्तव्यमा नपुगेसम्म वा आफू गन्तव्यमा नपुगेसम्म एक यात्रुसंग अर्को यात्रुको र पटकपटक खलासीको घचेटाघचेट चलिनै रहन्छ । सिटमा बस्न पाउने भाग्यमानीहरुले भने यो घचेटाइ खेप्नुपर्दैन । बसमा चढ्यो कि सिटमा लमतन्न परेर घुर्न थालिहाल्छन् यिनीहरु । उभिएर घचेटाइमा परिरहेका यात्रुहरुको हात वा खुट्टा आफ्नो जीउमा लाग्यो भने रिसले आगो हुँदै कराउँछन् “के हो ? आँखा छैनन् ? यता हात लाग्यो, अलि उता लैजाऊ तिम्रा हात । अलि उता सर भनेको सुनेनौ ? अर्कैको जीउमा टाँस्सिनु पर्छ ?”

म धेरै पटक यो बसमा चढेको छु । तर आज म चढ्नुपर्ने छैन यो बसमा । ‘म चढ्नुपर्ने छैन’ भन्ने कुरालाई आत्मबोध गर्दा पनि औधी आनन्दको अनुभूति हुन्छ मलाई । किनकि यो घचेटाइको सट्टा मनमा अर्कै घचेटाइले दिनरात कुदाकुद गराएको छ मलाई, हिजोआज । म गाडी बाहिरबाटै याने सडकबाटै यो रमिता चाख मानेर हेरिरहन्छु धेरै बेरसम्म ।

यस्तो घचेटाइ हरेक ठाउँमा छ । कहाँ छैन ? यही घचेटाइले विद्वान बन्नुपर्ने मान्छे पटमुर्ख सावित भएको छ । पटमुर्खहरु विद्वान कहलाएका छन् । यस्तो घचेटाइको सामना गर्नु नपरेको भए म पनि बुद्ध वा महात्मागान्धी वा अब्राह्म लिंकनको दर्जासम्म पुग्थेँ हुँला ! तर खोइ ? एउटा टिठ लाग्दो निम्नस्तरीय कर्मचारीको दर्जभन्दा यताउता चलमल गर्न सकिएको छैन । यो घचेटाइको क्षतिपूर्ति मिल्ने भए सबभन्दा बढी क्षतिपूर्ति पाउनेमा म नै पो पर्थेँ कि ?

निजामती सेवामा त यो घचेटाइ सर्वथा नाङ्गो र बलमिच्याँइको छ । यताका खलासी र चालकहरुको विवेक एक सार्वजनिक यातायातका खलासी र चालकको जति पनि छैन । यिनीहरु बुढाबुढी र बच्चा बोकेका आइमाइलाई सिट मिलाईदिने सम्मको क्षमता पनि राख्दैनन् । अर्कोलाई घचेटेर को कहाँ पुग्ने हो ? र के प्राप्त गर्न खोजेको हो ? घामजस्तै छर्लङ्ग छ निजामती सेवामा । तर पनि कहिल्यै यो घचेटाइ रोकिएन । चालकलाई मतलबै छैन, ठाउँकुठाउँमा गाडी तेर्स्यायो वश् । खलासीहरु मान्छे चढाउनै र यात्रुलाई घचेटघाचेट पारी मनपरी भाडा असूल गर्नमै रमाइरहेका छन् । घचेटेर अघि पुग्नेले कसरी अघि पुगेको हो न्यायालयको कुनै कठघरामा कतै प्रमाण पेश गर्नुपर्ने छैन । घचेटी माग्नेले त्यसको क्षतिपूर्ति कहिल्यै पाउने होइन । चित्त बुझायो वश् । थुक्क जागिरी !!!

यही आत्मग्लानीले मलाई पोलिरहेको छ र मलाई उल्टो दिशातिर घचेट्दै छ यही पीडाबोधले । मलाई थाहा छ, म बाँचुन्जेलसम्म कैयौँ यस्ता घचेटाइको सामना गर्नुपरिरहनेछ, जता पुगे पनि । तै पनि भित्रभित्रै ‘अर्कै बाटो समात्न पाए हुन्थ्यो’ भन्ने हुटहुटीले सुत्नखान दिएको छैन । यो लक्षणको पूर्वाभाषले गर्दा पारिवारिक सम्बन्ध चीसिँदै जान थालेको छ । कसैको परिवारलाई पनि आफ्नो परिवारको एक सदस्य दिनरात बाहिर बास हुन थालेपछि मन पर्ने कुरा पनि भएन । तर यो कुरालाई समेत परवाह नगरी म विपरीत दिशातिर घचेटिँदैछु कि जस्तो लागिरहेको छ । अरुको कारणले होइन, आफ्नै मनले ।

दुवाकोटे गाडीले आफ्नो गन्तव्यतिर गति लिइसकेपछि म विस्तारै घचेटिँदै जान्छु अनामनगरतिर । मलाई यो गाडी चढ्नु नपरेकोले आज हाइसञ्चो लागेको छ । अनि खुशी हुँदै पस्छु रेकर्डिङ स्टुडियोमा । त्यहाँ जयजी पहिल्यैदेखि पालो नपाएर भुइँमै अफमुडमा लेटिरहनुभएको रहेछ । म झसङ्ग तर्सन्छु । सिटमा अरु नै मान्छेहरुको घुइँचो लागेको छ ।

मलाई देख्नेबित्तिकै चिन्तित स्वरमा बोल्नुहुन्छ जयजी, “फ्वाजू, तपाईँलाई औधी दुख्ख भयो हगी ? खोइ, आज पनि काम नसकिएला जस्तो छ । अरुको आजै सक्नुपर्ने काम छ रे । आज पनि रातभर हामी यतै बस्नुपर्नेछ । चाउचाउ र पानीको व्यवस्था गर्नुपर्ला ।” जयजीको परिस्थिति म पनि बुझ्छु । मलाई चीनजान भएदेखि नै मनवचनले पूर्ण रुपमा सहयोग गरिरहनु भएको छ उहाँले । अत्यन्तै व्यावहारिक र मिलनसार मान्छे ।

लाग्छ, बिचरा जयजी, यहाँ पनि अर्को घचेटाइमा परेछन् । साथसाथै त्यही घानमा म पनि । मैले अस्तिको रात यही भवनको चीसो सिँढीमा नै उँधमण्टो लगाएर रात बिताएको झलझली सम्झेँ ।

669 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *