Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-१)

क्यार्दान र बलै ! (कोरोना विशेष-१)

“आज पनि के को अफिस जाने तर्खर हो ?” छिटो खाना पस्कन पत्नीलाई अह्राउँदा उनले उल्टै ममाथि केरकार गरिन् ।
“आज त आइतबार हो नि त । आज के को विदा छ र ?”
“सरकारले संघ, प्रदेश तथा स्थानीय तहका सबै सेवा बन्द गर्ने भनिरहेको छ । आजै ९ गतेदेखि २१ गतेसम्म सबैलाई विदा भैसक्यो ।“
“सेवा पो बन्द हुने भनेको त ! कार्यालय बन्द गर्ने भनेको हो त लाटी ? तिम्रो पोइले सरकारी जागिरी खाने, अनि सरकार भनेको बाहिरको को हुन्छ अरु ? सरकारै बन्द भए कसरी चल्छ राज्य ?”
“भयो, भयो धेरै तीन न तेह्रका कुरा गर्नुपर्दैन । आज पक्का पनि अफिस विदा भैसक्यो होला । विदा नभए पनि छिटो घर फर्कनू ।“ खाना पस्किएपछि नजिकै बसेर हरियो बत्ती बाल्दै उनले भनिन् “आज त गाडीमोटर पनि चलेको छैन होला । कसरी जानुहुन्छ अफिस ?” 
“हेरौँ । चल्दै नचले बाटोबाटै फर्कौँला । जनआन्दोलनकालीन कर्फ्यूजस्तै दुवाकोटबाट विशालनगरसम्म हिँडेर जान त नसकिएला । तिमीले भनेजस्तै बाटो हुनुपर्ने हो तसर्थ छिट्टै अफिस पुग्न पनि सकिएला । बरु आज अलि ढिलै निस्किदिउँला ।“
सधैँजसो बिहान सातबजे नै अफिस जान तयारी गरिरहेकोमा आज सडक खालि होला भन्ठानी साढेआठ बजेतिर अफिसको लागि कोठाबाट निस्किएँ । दुवकोटमा गाडी पातलै गुडिरहेका थिए । सल्लाघारी पुगँ गाडी पर्खने मानिसहरु र गाडीहरुको घुइँचोको अनुपात अघिपछिभन्दा खासै फरक देखिएन । यात्रुहरुमा फरक के थियो भने प्रायशः सबैको मुखमा मुखुण्डो झुण्डिरहेका थिए ।
खालि गाडी आउनेछ भन्ने आशामा एकदुईवटा कोचाकोचपूर्ण गाडीलाई छोडिदिएँ । तर खालि गाडी आउने कुनै सम्भावना नदेखिएपछि अर्को ठेलमठेल गाडी समातेर अफिसतिर हुँइकिएँ । प्रत्येक बसस्टपमा यात्रुहरुको पर्खाइ उस्तै थियो । गाडीमा खुट्टा राख्ने पनि ठाउँ नराखी मान्छे नकोचेसम्म एकपाइला अघि नबढ्ने भक्तपुरे बसको आनीबानीलाई पनि खासै असर पारेको रहेनछ ।
कौशलटार पुग्दा बुझ्दैनबुझिने चर्को गीत घन्किरहेको बसबाट नौबजेको समाचार बज्न थाल्यो । खुशी लाग्यो, सूचनामा भने सार्वजनिक गाडी पनि सजग भएछन् । समाचारले युरोपियन देशहरुमा कोरोनाले फैलाएको आतङ्कको तथ्याङ्क भयावह रहेको बताइरहेको थियो । ६ लाख जतिले काठमाण्डौ छोडेर आआफ्नो घरतिर फर्किसकेको सूचना दिइरहेको थियो ।
लोकन्थली पुग्दानपुग्दै कोटेश्वरको सदाबहार जाम शुरु भैहाल्यो । 
जाममा कुर्नुपर्ने पट्यारबाट मन बहलाउन यताउति हेरेँ, यात्रुहरुको अनुहार जाँचे । कसैको अनुहार पनि खुशी छैन । सबै चिन्ताग्रस्त देखिन्छन् ।
यात्रुहरुको मोबाइल फोन घरि कान र घरि मुखमा ओहरदोहर गरिरहेकै छन् । सायद सबैको मोबाइलबाट बज्ने कलर रिङटोन एउटै थियो होलाः “कोरोनाका लक्षण निम्न छन् : ज्वरो आउने, घाँटी सुख्खा हुने, खोकी लाग्ने । कोरोनाबाट बच्न नियमित साबुनपानीले हात धुनुहोस् । खोकिरहेको व्यक्तिबाट टाढै बस्नुहोस् । यदि तपाईँमा यी लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस् ।“
हेर्दै रहेँ आफूसँगै उभिइरहेका र सिट पाउने भाग्यमानी यात्रुहरुलाई । करिब आधाउधीको मुखमा मुखुण्डो (मास्क) त छ बाँकीको नाकमुख नाङ्गै छन् । लगाउनेहरुमध्ये केहीको मुखुण्डोले चिउँडोलाई मात्र ढाकेको छ । कसैको घाँटीमा मात्र बेरिएको छ । कसैकसैले कपालमा स्यूरिएका छन् । अर्थात् जहाँ लगाउनुपर्ने हो त्यहाँ नै मुखुण्डो छैन । कोही मास्कलाई घरिघरि तलमाथि सारिरहेका छन् । अधिकांश बच्चाहरुले मुखुण्डोलाई झ्याउलोको रुपमा लिएका छन् । ती बच्चाहरुले जबर्जस्ती लगाइदिएको ठानिएको मुखुण्डो उतार्न बल गरिरहेका देखिन्छन् । शंकै लाग्यो, यिनीहरुले राम्रोसँग हात पनि धुन्छन् धुँदैनन् ।
म सोच्छुः जतिसुकै घाँटी सुक्नेगरी चिच्याए पनि हामीले अझै यो महामारीलाई खेलाँची ठानिररहेका छौँ । केही गरी त्यो कोरोनाको बीउ जानअनजानवश् यहीँ आइपुग्यो भने यसले मच्चाउने हुण्डरी अकल्पनीय हुनेछ । यो खेलाँची हाम्रो लागि घाँटीको पासो हुने सम्भावना छ । जस्तो अहिले युरोपियन देशहरुमा भैरहेको छ । हाम्रो किन भनेँ भने त्यसले को धनी, को गरीब भन्ने छैन । को हाकिम, को कारिन्दा छुट्ट्याउनेछैन । को छुत, को अछुत भन्नेछैन । को सम्पन्न, को विपन्न चिन्नेछैन । 
सरकारले अत्यावश्यक सेवाहरु बाहेक अरु सबै सेवाहरु बन्द भएको र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गर्दागर्दै पनि यो मानवसागर किन अद्यापि सडकमा उर्लिरहेको छ । किन बस्दैनन् घरभित्रै मान्छेहरु ? यस्तो विषम् परिस्थितिमा पनि किन खेलाँची गरिरहेका छन् यिनीहरु ?
विवेकले उत्तिखेरै मेरो यो सोचाइको खण्डन गरिहाल्यो । 
“सबैको लागि आआफ्नो काम अत्यावश्यक नै छ । कोठामा बस्दा भाडा तिर्नैपर्‍यो, आश्रित परिवारको हातमुख जोर्नैपर्‍यो । केही दिन बाहिर ननिस्किए रोजीरोटीका सबै बाटाहरु अवरुद्ध हुन सक्ने सम्भावनाका वरपर यहाँ धेरै छनं । कोरोनाले नमार्दै घाँटी अठ्याउन तम्तयार रहेका आआफ्ना विविध बाध्यताहरु छन्, नानाथरी बिमारहरु पनि सास निचोर्न मौका कुरेर समिपमै बसिरहेकै छन् । तिनीहरुलाई धपाउन नसकिरहेको बखत कहाँकहाँ अर्को मुलुकपारिको बाध्यताको डरले चारदिवारभित्रै को खुम्चन्छ त ?”
विवेकलाई उत्तिखेरै फर्काउजको लागि बनिबनाउ जवाफ त थियोः “खुम्चन नसक्नुको जरिवाना झन् भयानक हुनेछ ।“ तर उसँग जवाफसवाल गर्ने ममा जाँगर नै कहाँ उब्रेको थियो र ? जवाफसवालमा उत्रिइनँ ।
यस्तै सोचिरहँदा लोकन्थलीको गाडीको जाम केही खुल्यो र कतै केही भएकै छैन जस्तोगरी सदाझैँ सुस्त गतिले गाडीहरु अघि सर्न थाले । कोटेश्वरमा उस्तै मान्छेको हुल र गाडीहरुको जाम थियो, तीनकुनेमा उस्तै जाम थियो र गौशालामा पनि उस्तै जाम थियो । 
फरक के थियो भने मान्छेहरु कसैको पनि उज्यालो अनुहार थिएन, चिन्ताको बादलले यसरी अनुहार ढाकिएको थियो कि मानौँ उनीहरु मुटुको अतल गहिराइको धुलोमैलो अश्रुधाराले नै बगाउन पहिल्यैदेखि तम्तयार छन् ।
अफिस त पुगियो, तर अब कसरी फर्कने हो आफैलाई थाहा छैन ।

75 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top