Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-९)

क्यार्दान र बलै ! (कोरोना विशेष-९)

क्यार्दान र बलै
रुकुमेली लवजमा अस्ति सुनाएको शिलोक एकजना मित्रलाई बुझ्न गाह्रो भएछ । मलाई भनिहाल्नुभयो कस्तो सिलोक हो ? केही नयाँ हो भने हामी पनि बुझिने भाषामा सुनम् न त ।
सिलोकहरु नयाँ हुँदैनन् । पुर्खाहरुले परापूर्वदेखि एकपछि अर्को पुस्तालाई सुनाउँदै आएका पुरानै कुथुङ्ग्रीहरु हुन् । मेरा आमाबाले मलाई सुनाएका धेरै सिलोकहरु मैले भुलिसकेँ । भावी सन्ततिलाई सन्देश एवम् मनोरञ्जन दिनको लागि सिलोक शब्दसम्म बचोस् भन्ने तात्पर्यका साथ कतै सुनेको कथालाई कतै सोझ्याउँदै, त कतै बङ्ग्याउँदै भन्दैछु । सुन्नुस् है तः
एकजना अत्यन्तै धर्मभीरु आत्माले नेपाल नामको मुलुकमा जन्म लिएका रहेछन् । उनले जीवनयापनका अन्य पेशाहरुबाट अलग रही आफ्नो जीवनकालभर धर्मकै प्रचारप्रसार र उपासनामै लागेछन् ।
एक समय यस्तो आएछ नेपालमा पनि कोरोनाको महामारी मच्चिन थालेछ । ती धर्मभीरुले आफू भगवानको परम भक्त भएकोले आफूलाई कोरोनाले नछुने विश्वासको साथ धार्मिक प्रचार तथा अनुष्ठानमा निरन्तर लाग्नुको साथै गाउँगाउँमा घुम्न छोडेनछन् । आफ्ना चेलाहरुलाई पनि धार्मिक प्रचार र घुलमिलमा लागिरहे मृत्यूलाई पनि जितिने विश्वास दिलाएछन् ।
एकपटक कोरोनाले ती धर्मभक्तलाई चपक्कै समातिहालेछ । समात्ने मात्र होइन परमधाम नै पुर्याइदिएछ ।
परमधाम पुगेपछि ती भक्तले भगवानसँग झगडा गर्न थालेछन् : “हे, भगवान, नेपालमा अब धर्मको सर्वनाशै हुनेभयो । तिमीप्रतिको अविश्वास झनै चुलिनेभो । नेपालमा तिम्रो सबैभन्दा ठूलो भक्त म नै थिएँ । मलाई जाबो कोरोनाबाट पनि बचाउन सकेनौ । तिमी भक्तको कल्याणकर्ता होउला भनेको त तिमी त हुनुसम्मका धोकेबाज पो रहेछौ ।”
भगवानले भनेछन् : “तँलाई थालीमा खाना जुटाइदिएपछि मुखसम्म पुर्याइदिने पनि मेरै काम हो भन्ने ठानेको थिइस् ? खाइसकेपछि हात चुठाइदिने पनि मेरै काम हो भन्ने बुझिस् ?‍ तँलाई बाहिर निस्कन मन लाग्दा रखबारी गर्न लाठो लिएर तेरो मुल ढोकामा मै उपस्थित हुनुपर्ने ठानेको थिइस् ? रातमा तँलाई निद्रा नआएपछि सुताउने काम पनि मेरै ठानिस् ? ती चानचुने काम गर्न के तैँले मलाई नोकर भर्ना गरेको थिइस् ?
संसारमा प्रकृति भनेको मैले नै बनाएको कानुन हो । के आफैले बनाएको कानुन तेरो स्वार्थको लागि मैले उल्लंघन गरूँला भन्ठानेको थिइस् ? प्राकृतिक कानुन तेरै चौतर्फी सुरक्षाको लागि बनाएको थिएँ । तैँले नै त्यो कानुन टेरिनस् त के गर्छस् बाबै ! तँलाई यस्तै डरलाग्दा रोगबाट बचाउन नेपालजस्तो नमस्कार लगायत व्यक्तिगत शुद्धताको लागि वैदिक संस्कार अंगाल्ने मुलुकमा जन्म लिन पठाएँ, तैँले त्यो लत्याएर पाश्चात्य देशको अन्धानुसरण गर्दै हिड्नुपर्ने ? दोष उल्टै मलाई दिने ?”‍
धर्मभक्त भगवानको कुरा नबुझेर अलमलमा परेछ ।
भगवानले भन्दै गएछन् “भुलवश् तिमी प्राणीहरुले कानुन पालना गर्न अलमलियौ भने साँकेतिक रुपमा तिमीहरुलाई सतर्क गराउने मेरो काम हो । के सम्म गरिन मैले ? तँलाई बचाउने प्रयोजनार्थ लाखौँ प्रयत्न गर्दा समेत तेरो चेत खुलेन त म के गरुँ ?”
धर्मभक्त झोक्किएछः “के गरेँ भन्ठानेका छौ तिमीले ? मलाई बचाउनको लागि एउटा सिन्कासम्म भाँचेका छैनौ भगवान तिमीले ।”
भगवानले भक्तलाई सम्झाउँदै भनेछन् : “सुन् । प्राकृतिक कानुन बमोजिम नै चीन भन्ने ठाउँमा कोरोना उत्पन्न भयो । कोरोनाको प्रभाव प्रलयंकारी रुपमा फैलनेछ भनेर यसका लक्षण र रोकथामका उपायहरु चीनका स्वास्थ्यकर्मीहरुलाई घोषणा गर्न मैले नै लगाएँ । तैँले कानमा तेल हालेर बसिस् । संसारमा कोरोना उग्र रुपमा फैलन थाल्यो । मैले नेपाल भन्ने देशमा त मेरा भक्तहरु धेरै छन् तसर्थ तिनीहरुको अनाहकमा ज्यान कदापि जानुहुँदैन भन्ने महशुस गरी पूर्वहोशियारीको पाठको लागि एकजना कोरोना बिरामी प्लेन चढाएर नेपालमै पठाइदिएँ । तैँले मजाक ठानिस् ।
ऊ मार्फत् क्वारेन्टाइन र आइसोलेशनमा बसेर सामान्य नियमहरु पालना गरे बच्न सकिन्छ भन्ने संकेत गरेँ । तैँले उपेक्षा गरिस् । सडकमा निस्कन छोडिनस् । तैँले नटेरेपछि ढिलै भए पनि नेपालको लोसे सरकारको मगजमा पसेर लकडाउन गर्ने निर्णय गराउन बाध्य तुल्याएँ । त्यो समयमा तैँले अझै मजाक ठानिस् फेरि पनि बाहिर निस्कन छोडिनस् ।
तैँले मेरो संकेतलाई अझै टेरपुच्छर नलाउँदा मैले नेपालको सुरक्षाकर्मीको रुप धारण गरेँ र सडकमा घुमफिर गरिरहेको तैँले चेत्लास् भनेर डँडाल्नु खुस्किने गरी पिटेँ । तँ रुँदे कराउँदै लकडाउन रोक्ने आदेश थाप्न न्यायालय पुगिस् । मैले न्यायाधीश बनेर लकडाउन खोल्ने निर्णयमा आदेश दिइनँ । त्यहाँबाट तैँले स्वतन्त्रतावादीहरुको ढोका घचघच्याउन थालिस् ।
म तेरो घरकै शुद्ध पानी बनेर बसेँ । शुद्ध खाना बनेर बसेँ । शुद्ध तेल बेसार बनेर बसेँ । तँ घरि तरकारी पुगेन भन्दै, घरि मास्क पुगेन भन्दै, घरि सेनिटाइजर भएन भन्दै हरेक सामानको कणकणमा कोरोना घुसिसकेको बजारतिरै कुदिराखिस् । बजारबाट फर्केपछि तैँले आफ्नो हात धुन समेत जाँगर चलाइनस् । लुगा सफा गर्ने समेत समय निकालिनस् ।
मैले धेरै मान्छेहरुको मगजमा पसेर कोरोनाबाट रोकथामको पाठ पढाउन विभिन्न सन्देशमूलक सामग्री बनाउन लगाएर तँसम्म पुर्‍याउन खोजेँ । तैँले आँखा चिम्लेर फुत्त फुत्त हजारौँलाखौँ शेयर गरेर पुरुषार्थ देखाउन खोजिस् तर त्यसमा पठाइएको सन्देश के थियो अवलम्वन कहिल्यै गरिनस् । बरु घरको दैलो खनेर कोइलाको तिलक लगाए बचिने कुराहरुमा विश्वास गर्न थालिस् ।
मैले कहिले स्वास्थ्यकर्मी, त कहिले सञ्चारकर्मी बनेर तँलाई बचाउने कोशिस गरिरहेँ । तेरो मगज कोरोना मतिमा भुसुक्कै डुबिसकेको थियो । तैँले तिनीहरुको सुसन्देशउपर पनि पटक्कै विश्वास गरिनस् ।
लाखौँ प्रयत्न गर्दा समेत तैँले नचेतेपछि तेरो शरीरमा कोरोना पस्न मैले रोक्न सकिनँ । त्यो त मेरै प्राकृतिक कानुन थियो । आफू सद्दे छँदा मेरो नाम जप्दै हिड्ने तँ बोक्रे भक्त, जब कोरोनाले गाँज्न थाल्यो, तैँले मलाई धारे हात लगाउन थालिस्, आत्तिन थालिस्, दुखाइले बहुलाउन थालिस् । यदि त्यो अवस्थामा तैँले ममाथि विश्वास गरेर मनोबल बढाएको भए कोरोना मसँग डराउँदै भाग्नेवाला थियो ।
यसरी तँलाई मैले बचाउन खोज्दाखोज्दै पनि बचाउनै सकिनँ । तेरै दुर्मतिले गर्दा दुर्गति भोगिस् बाबु । दुःख नमान् ।”
यति भनेपछि भगवान मुसुमुसु हाँस्न थालेछन् ।
भक्तले भगवान स्वयम‍‍ आफूसँग हुँदाहुँदै उनको संकेत बुझ्न नसक्दा आफूले मृत्यूवरण गर्नुपरेको कुरा बल्ल बुझेछ र प्रायश्चित तथा लाजले टाउको झुकाएछ ।

80 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top