Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-६)

क्यार्दान र बलै ! (कोरोना विशेष-६)

“ब्यानब्यानै कटा हो ओली सर ?”
…. …
“यटि राटिराटि काँबात आको ओली सर ?”
…….
मेरो छिमेकी बालभक्तसँग चिनजान भएको र उनलाई अफिस जान्छु भनेर सम्झाउन थालेको करिब एकदशक पुगिसक्दा पनि उनले मलाई एउटै प्रश्न गरिरहन्थे । म अबेरै निस्कँदा पनि उनलाई ब्यानब्यानै लाग्थ्यो र सबेरै फर्कँदा पनि आधारातिजस्तो लाग्थ्यो । उही प्रश्नसँगै उनको हातमा धमिलो पदार्थले आधा भरिएको एउटा काँचको उही गिलास हुन्थ्यो र साथमा लरबराइरहेका एकजोर खुट्टा पनि । मलाई बाटोमा लुखुरलुखुर हिँडिरहेको देख्नेबित्तिकै घरछेउमै रहेको भट्टीपसलबाट उनी “ओली सर ! ओली सर !!” भन्दै लरबराउँदै बाहिर निस्किहाल्थे ।

कोरोनाले उब्जाएको सन्त्रासमा पनि उनले भट्टी पसल छोडेका थिएनन् । सरकारले लकडाउन नै गरिदिएपछि भने भट्टी पसल बन्द हुनुको साथसाथै उनी पनि मेरो नजरबाट ओझेल भैदिए । मैले लकडाउनलाई धन्यवाद दिएँ किनभने दिनदिनै दिनुपर्ने एउटै जवाफबाट मैले पनि मुक्ति पाएको थिएँ । बिहान उज्यालो नहुँदैदेखि मध्यरातिसम्मको भट्टीको हल्लीखल्लीबाट म आजित भैसकेको थिएँ र हररात मेरो निद्राहराम भइरहेको हुन्थ्यो ।

लकडाउनको दोस्रो दिनसम्म त हाइसञ्चोजस्तो भयो तर तेस्रो दिनदेखि भने सारा हल्लाखल्ला बन्द भइदिएपछि कताकता शून्यता महशुश हुन थालेको थियो । साँच्चिकै मुर्दाशान्ति जस्तो । के के सुन्न नपाएको जस्तो ! के के देख्न नपाएजस्तो !!

घोत्लिएँ पक्का पनि बालभक्तलाई देख्न नपाएको नियास्रो हुनुपर्छ यो ! तर मनको खसखस मेट्न उनलाई कहाँ खोज्नू ? कहाँ भेट्टाउनू ?

तेस्रो दिन बेलुकातिर भान्छाको सबै तरकारी रित्तिएकोले बजारतिर ननिस्किई धरै पाइन । अलि पर के पुगेको थिएँ बालभक्त मेरो नजरमा परिहाले । उनलाई देख्न पाएपछि आफ्नो मनको छटपटी त केही शान्त भयो, तर उनले आफूलाई नदेखून् भनी छेलिन खोज्दाखोज्दै उनले पनि मलाई देखिहाले ।

“ब्यानब्यानै कटा ओली सर ?” खुट्टा त सिधै टेकिरहेका थिए तर मुख किन अझै बाङ्गो ? म चकित परेँ ।

मैले कम्तिमा एकमिटर दुरी कायम राख्ने गरी टाढिन प्रयत्न गरेँ । उनी भने झन् झन् नजिक आउन खोजे । डरलाग्दो अवस्था त के थियो भने हात र मुखको दुरी पनि एकमिटर टाढै राखिरहनुपर्ने यो डरलाग्दो परिस्थितिमा उनले घरिघरि आफ्नो मुखलाई दुवै हातले सुमसुम्याइरहेका थिए ।

“ए ? ए ? के गरेको त्यो ?? सुन्नुभाछैन ?? हात साबुनपानीले राम्रोसँग धुनुपर्छ ! हात घरिघरि नाक, कान, मुख र आँखातिर लानुहुुँदैन भनेर सबै सञ्चार माध्यमहरुबाट प्रचारप्रसार भैरहेको ? कोरोना भाइरस सर्ने माध्यम नै तिनै हुन् । आफू पनि बाँच्न र परिवारलाई पनि बचाउनुछ भने हात र मुखको दुरी पनि कायम राखिरहनुहोला, बुझ्नुभो ?

“हैट् मूला ! टेस्टो कुरा पनि हाम्लाई सिकाइराख्नुपर्छ ? भर्खरै सेनिताइजर हाटमा घसेर आको नि !”
“अनि, हातमा सेनिटाइजर घसेँ भन्दैमा मुखमै पुर्याउनैपर्छ त ?”

‘ह्याSSS टिम्रो बुड्डी पनि ! मुखमा पनि त्यो केजाटे बसेको हुनसक्दैन ? अझ ट्यो घाँटीमै अड्किएर बसेको हुन्छ रे क्या !!”

उनी अझै नजिक हुन खोज्दै थिए, मेरो पालो कुद्दै अगाडि बढेँ, उनले भेट्टाउन पाएनन् ।

एउटा तरकारी पसल असाध्यै भिडभाड भएकोले अर्कोतिर लागेँ । उता पनि उस्तै तरकारी किन्नेहरुको हुलमुल थियो । तरकारी नकिनेर फर्कनु पनि भएन । पर्खँदा तरकारी नै सकिएला भन्ने पिर । वा तरकारी पसल नै बन्द होला भन्ने पिर । अरुजस्तै भीडभाडमा नकोच्चिएर पारै लागेन । दर्जनौँ अरु मान्छेहरुसँग खुट्टामा खुट्टा ठोक्किए, जीउमा जीउ टाँस्सियो, हातमा हात जोडिए । तीनदिनसम्म कोठामा एक्लै धुम्धुम्ति बसेर अरुसँग सामाजिक दुरी कायम राखेको स्वाहा हुन पुग्यो । अरुलाई सामाजिक दुरी कायम राख्नुपर्छ भन्दै सिकाइटोपलेको ज्ञान पनि धुलिसात् भैदियो ।

धेरैको नाङ्गो हातले गिजोलेर छोडेको दुईचार छाकलाई पुग्नेजति तरकारी बोकेर दिक्क मान्दै फर्कँदै थिएँ कसैले कानैमा मुख जोतेर कानकीरा खानेगरी चिच्यायोः ‌”ओली सर SSS !”

खङ्ग्रङ्गै तर्सिएँ म । नफर्केरै अनुमान गरेँ यो पक्का उही बालभक्तकै स्वर थियो ।

“किन ? के भयो ??” ठर्रो स्वर लगाउँदै भनेँ ।
“ह्याऽऽ माया गरेर बोलाको पनि टेस्टरी टर्सिनुपर्छ ट ? हाटदेखि आन्ड्राभुरि सप्पै सेनिताइजरले सफा गरिल्याको छु के, अरुदेखि दराऊ बरु, मदेखि दराउनुपर्दैन ।” उनले बाटो छेक्दै गुनासो पोखे : “यो कस्टो मूला सरकार ! भट्टी पनि बन्द गरिदिने हो ? मूला ट्यो डरछेरुवा भट्टीवाल पनि उस्टै ! यो ट खाड्यान्न पसल पो हो भनी खोल्डे पनि हुने !”

“भट्टीपसल नै किन खोल्नुपर्छ त ? घरघरै बनाइरहेका होलान् नि । त्यहीँ पुगेर घिचे पनि भैहाल्यो त !” जङ्गिएँ म ।

“ट्याँ पनि नगाको होर ? आज ब्यानब्यानै ऐला बनाउने थाउँमै पुगेको, एकथोपा ऐलाको टीन टीनसय पो भन्ड्यो बा ! टेइपनि डिन्छु भनेको, अझै बदि मोल पार्नलाई होला, छैन, भए पनि तिम्रो गोजीकोले पुग्दैन । भोलि गोजीभरि पैँसा बोकेर आऊ पो भन्डिन्छ । कस्टो कस्टो मान्छे पनि !”

“अब त लकडाउन खोले पनि भट्टीपसल बन्दको बन्दै हुन्छ, बुझ्नुभो ?” मैले उनलाई अझै चिढ्याउने हिसाबले भनेँ ।

“हाSहाSहाSहाSS गरोस् । म पनि कम बाथो छ । पसलहरुबात सेनिताइजर सप्पै उथाइडेर ल्याको । एक वर्षलाई पुग्नेभो बा !”

“त्यस्तो नचाइने काम पनि गर्ने हो ? किन गरेको नि त्यस्तो ?”

उनले आफ्नो मुखमा हात जोत्दै खुलासा गरेः “आफूलाई ह्याँ कट्रो पीरलो छ ! झन बिर्सन खोज्यो झन्झन् सकसक लागिरहन्छ भन्या । यै सेनिताइजर सुँघेर भए पनि ट्यो ऐलाको चिट्ट बुझाएर ल्याकोछु क्या । कस्टो टिम्रो बुड्डी पनि !”

बालभक्तले हातहरु घरिघरि मुखमा पुर्‍याउनुको कारण त अर्कै पो रहेछ । म त हेरेको हेरेइ भएँ । 😂🤣🤣

 128 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top