“काँ छौ माइला तिमीहरु ? किन आन्नौ आफू घर ?”
एकासी वर्षे वृद्धा आमाले फोनमा सोधिन् ।
“हामी त (सेल्फ) क्वारेन्टाइनमा छौँ जेई !” मैले जवाफ फर्काएँ ।
“को को छौ ?”
“अरु को हुनु र ? तिम्री माइली ब्वारी, नातिनी अस्मिता, पनाति, अनि म मार्तै छौँ ।…. कान्छो भैरवा छ ।”
“भिउसन पनि आउने भन्त्यो, निशाहरु प्रकाशहरुले पनि घर आउने भन्त्या तो ? उनीहरु बाटा लाइया कि के गर्या तो ?”
“उनीहरु पनि यतै क्वारेन्टाइनमै बस्याछन् जेई ।”
“हाईऽऽऽ तो । अल्लै ता एख्लै छु भन्ति तो ? तिनीहरु पनि तेइँ ह्रचन् तो !”
“एख्ला एख्लै हो क्या जेइ क्वारेन्टाइनमा बस्ने ।”
“हाइऽऽऽ तो । तिमीहरु आँजै कुरिन्टारै ह्रचौ ! कैल मुग्लिन आउँचौ ? कैल नाराइनघाट आउँचौ ? कैल दाङ आइपुग्चौ र कैल रुकुम आइपुग्चौ ?” लामो निश्वास छोडेको आमाको स्वरले मेरो फोन नै गुन्जायमान भयो ।
क्वारेन्टाइन भनेको आमाले कुरिन्टार बुझिछन् । क्वारेन्टाइन के हो आमालाई के थाहा ? सप्पै कुरा बुझाउनलाई पनि धेरै कुरा भन्नुपर्थ्यो । मैले बेलिबिस्तार लाउनतिर लागिन । आफै अलमलमा परिरहेँ ।
“किन बोल्न छारी माइला ?” उतैबाट फेरि सोधिन् आमाले ।
“तिमीहरु नाम्रोसित बस्या जेई । कोरोना भन्ने रोग आया हुनाले यतै बस्नुपर्यो । कैलसम्म ह्याँ बस्नुपर्ने हो केइ था छैन । क्यार्ने हो र !” मैले दिक्दारी पोखेँ ।
“यता पनि त्यो कोरिन्या बिमारको भस्मेइ हल्ला गर्चन् बाबु । तिमीहरु तेखा डरले कुरिन्टार पुग्याह्रचौ । हामी ता अब कुइनेटा जान्या त होला । खान कोले दिन्च ? पानी कोले दिन्च ? बलै ता भइयो नि मर्नेबेला भारा बैरागौ मर्नु ।”
ज्या कुरा गर्दागर्दै उता भक्कानिन थालिन् । ज्याको त्यो रुवाइ थाम्ने कुनै निकास नदेखेर म यता भक्कानिन थालेँ ।
285 total views, 2 views today