Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-३)

क्यार्दान र बलै ! (कोरोना विशेष-३)

चालीस सालतिरको कुरा हो । अहिले कोरोनाले आतङ्क मच्चाएसरि त्यतिबेला बहुलाकुकुरहरुले गाउँमा आतङ्क मच्चाइरहेका थिए । उतिबेलाको गाउँ यस्तै त्राहीमाम थियो । अहिले सरकारले लकडाउन गरेजसरी त्यतिबेला कुकुरहरुले नै गाउँ बन्द गर्दै डुलिरहेका देखिन्थे । तसर्थ लकडाउन भन्दा पनि डगडाउन भन्नु उपयुक्त होला । जसलाई कुकुरले टोकेको छ उसले अरुलाई छोए वा कुरा गरे पनि रोग सर्छ भन्ने आम बुझाइ भएकोले बहुला कुकुरको आकस्मिक टोकाइ र अरु मान्छेहरुबाट बच्न गाउँलेहरुले आफूलाई आइसोलेशनमा राख्न बाध्य थिए ।

त्यतिबेला अरु कुरा गर्न बिर्सेर मान्छेहरुले कुकुरका कुरा मात्र काटेर दिन कटाउँथे । जस्तो कि, ‘फलानाको यस्तो कुकुर छ ! हलानाको कुकुर उस्तो छ ! फलानाले कुकुर नबाँधेर फुकै छोड्दिन्छन् कत्ति नराम्रा ! हलानाको कुकुरलाई बाँधिराख्छन् कत्ति राम्रा ! फलानो बहुला कुकुर त हलानो सद्दे कुकुरको साख्खै सन्तान पो रहेछ’, आदि, आदि ।

कुकुरहरुले आजका दिनसम्म कतिजनालाई टोके, कुकुर टोकाइमा परेका कतिजना बहुलाए वा बिरामी परे र त्यसै कारणले कतिजना गाउँलेले मृत्युवरण गरे भन्ने कुराहरु बढाइचढाइ गरेर गाउँमा हल्ला मच्चाउनेको उतिबेला पनि कमी थिएन । वास्तविक संख्यामा कसैले एउटा सुन्ना थपिदिन्थे भने कसैले दुईतीनवटासम्म सुन्ना थप्न पनि लोभ मान्दैनथे । हल्लाखोरहरु किन पनि उत्साहित थिए भने गाउँलेहरुले सन्चो भएको समाचार भन्दा पनि कोही बिरामी परेको वा मरेको कुरा सुनाउँदा गाउँलेहरुका कान बढी ठाडाठाडा हुने गर्थे ।

उतिबेला रेबिज रोगको भ्याक्सिन वा खोप आइसकेको थियो थिएन सोझा गाउँलेहरुलाई पत्तो हुने कुरै भएन ।

आफ्नो प्राण के गरी जोगाउने भनी विकल्पहिन औ त्राहिमाम भएका गाउँलेहरुलाई कसैले ‘बहुला कुकुरको टोकाइको नविनतम् उपचार’ सिफारिश गरिदियो । त्यो के थियो भने ‘बहुला कुकुरका मुटुकलेजा एकहप्तासम्म काँचै खायो भने घाइते मान्छे पनि बाँच्छ र नटोकेकालाई पनि रोग सर्दैन ।’

गाउँलेहरुले त्यो कुरा सजिलै पत्याइदिए र डगडाउनको अवस्थामा आमूल परिवर्तन आइदियो ।

सामान्य मान्छे वा डिङाबाछासँग पनि डराउँदै आफ्नो नियमित काममा घरबाहिर निस्कन डराउने गाउँलेहरु भुस्याहा कुकुरलाई देखेपछि भने घरबाट फुत्त निस्केर ढुङ्गाले लखेटीलखेटी मार्थे र त्यसको मुटुकलेजा निकालेर गाउँका घरहरु गन्दै सानासाना टुक्राको बिलो लगाउँथे । नघिनाउनेहरुले बिलो लगाउँदालगाउँदै कपाकप कुकुरमांश खाइदिन्थे भने घिनाउनेहरुलाई झुक्क्याएर गुर वा अरु मलो चिजको भित्रपट्टि हालिदिएर अनजानवश खुवाइदिन्थे । वा जानाजान कोची कोची खुवाइदिन्थे ।

उतिबेला पनि बहुला कुकुरको बिलो पाउने भाग्यमानीहरु र बिलो नपाउने अभागीहरुबीच खुब घम्साघम्सी चल्ने गर्थ्यो ।

गाउँमा एकजना व्यवस्था विरोधी व्यक्ति थिए । एक दिन बहुला कुकुरको मुटुकलेजोको भाग लगाउँदा उनैलाई पुगेनछ । बिलो लगाउनेहरुले जानाजान गरेको गल्ती हुँदै होइन भन्दै जतिसुकै किरियाकाष्ठा हाले पनि उनले सुन्दै सुनेनन् । रिसले चुरचुर र थुरथुर हुँदै बिलो लगाउनेहरुलाई गर्नुसम्म गाली गरे । अनि रित्तै हात फर्किरहेको बखत झ्यालझ्यालमा लुकेर तमासा हेरिरहेका गाउँलेहरुलाई सुनाउँदै आफ्नो इज्जतको बचाउ गर्न थालेः

“जाबो कुकुरको एउटा बिलो पनि पुर्‍याउन नसक्ने ! थुक्क सरकार !”

 151 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top