Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै (कोरोना विशेष-१३)

क्यार्दान र बलै (कोरोना विशेष-१३)

“हेलो ! हेलो !! हेलो ?? हेलो ??” सधैँ ज्याबाले उतैबाट आफै फोन गरेर आफ्नो अस्तित्व झझल्काउँथे । आज नयाँ वर्ष भएकोले आशिक थाप्न मैले यताबाट आफै फोन लगाएँ । 
“को बोल्या है ?” धेरै घण्टी गएपछि मात्रै वृद्धस्वरले फोन गुन्जियो । चौरासी कटेका बाले फोन उठाएछन् । प्रायः फोनको घण्टी सुन्नेबित्तिकै हत्तपत्त ज्याले नै फोन उठाउँथिन् ।
“काँ छौ बाबै ? म माइलो । ज्या कताइन् तो ?”
“काँ हुँदान् र नि ! दुईजनै हीँ छौँ कम्दै !!” जवाफमा दिक्दारीको निकै गह्रुंगो स्वरले मेरो फोन थर्थरायो । बासँग सम्वाद अघि बढाएँ ।
“ब्यानै कम्द क्यार्न गयाछौ तो ?”
“गौँ पाग्न लाइया गरै ! ढल्याउनापत्तए !!”
“कोइलाई बाउर्‍या भन्याभया हुँदो तो ।” 
“पैलै ता पाइँदैन्त्या । अइजल झन् काँबाट पाइँदान् र बाउर्‍या ? कोइ घराट निस्किने भया पो !”
सधैँ बैशाख दोस्रो हप्तातिर गहुँ काट्ने मेलो हुन्थ्यो । नयाँ वर्षकै दिनमा त गहुँ काट्न शुरु गरेको कहिल्यै थाहा पाएको थिइनँ मैले । अच्चम्भ लाग्यो र सोधिहालेँ, ‘गौँ पाइया र ? झन् हाम्ले ता अरुले छरिसग्यापछि मार्तै छर्‍या हौँ गरै गौँ ता ?”
“पाग्न ता पाग्या छैनन् प ! दिनसमूअ पनि नाम्रा छैनन् । सगरले बाद्लो गर्‍याउगरेइछ, काल्याउ काल्यै छ, हुरीबतास चल्याउ चल्यै छ, असिनो पो हान्ने हो कि ! हामी पनि ढल्ल्यौँ भने कोले ढल्याइदिन्च र तो ?” बाको जवाफले मेरो टाउको थामिनसक्नु गह्रौँ भएको महशुस भयो । उता ज्याले गौँ काटेको सर्‍याकसर्‍याक आवाजले बाको लयमा संगीत भरेजस्तै लाग्यो । हुनसक्छ घरि गौँ काट्दै घरि आँशु पुछ्दै गरिरहेकी हुँदीहुन् । नत्र त आफै फोन गर्न तम्सिहाल्थिन् । मन बुझाएँ मैले ।
“हुन्देउ बाबै ! नसगी नसगी क्यार्न गर्चौ तो ? तिमीहरु नै ढल्ल्यापछि क्यार्ने हुन् र तिनी गौँ पनि !!”
“हाम्रापत्त गर्दाउँ तो ? हाम्लाई ता आँजै पुत्ला लाग्या घोगा एक थैलो छँदैछन् मैरामा । तेइले वर्खदिन पुग्च । तिमीहरु छौ, नातिनातिना छन् ।”
“हाम्लाई हिँ पुइजान्च बाबै । जागिर छ !”
“उपति लायो तिम्रा जागिरले ! बन्द गर्‍याउगरेइ छ । कामै नगरिकिन कैलसम्म पाल्च तिम्रा सरकारले ? आखिरमा हीँ ता आउनेहौला । गाउँमा कालापार गया मान्छ खन्न्याखन्नेइ छन् । गाउँको अन्नबालीले उनीहरुलाई नै पुग्नछार्च अब । सप्पैले काचै गौँ काट्टेल्या यतापाइ ता । गौँको सऽऽ पनि के हुनेहोला रऽऽ ? आइसेल अनिकाल पर्न्या त होला नि ! ह्रन्देउ । बरु तिमीहरु पनि आइजाऊ यतै ।”
“सरकारले जा नभन्दै हुनाखानाउ जागिर छारिफाल्याइकिन कस्तोरी आऊँ तो बाबै हामीहरु पनि ! तिमीहरु सन्चै छौ तो ?” अस्ति भर्खर मरनतरन भएर बल्लतल्ल बाँचेका बालाई सन्चोबिसन्चो पनि सोध्नैपर्‍यो ।
“के सन्च हुँदान्, के बिसन्च हुँदान् र नि ! हातखुट्टा अलिअलि चलुन्जेल हातमुख जोर्नलाई नगरि पनि क्यार्ने हो र !”
“सन्चोबिसन्चो सोद्न गाउँल्या पनि कोइ आन्नन् तो तेतापाइ ?” 
“को आउँदान् र नि ? अइलउ उजारी पर्ने बिमार ता झन् के हो, अच्चाक्ली भइयो ! पैला सप्भन्दा डरौमर्नु बिमार ‘कोर’ थ्यो । कोरीलाई पनि टाराट भया पनि गाउँल्याले सोद्त्या । गाँउँल्याले कोरीपाखा बनाइकिन ह्राग्त्या । खानापिना आफै पुर्‍याउँत्या । अइल ता बुराबुरीबाटै त्यो बिमार सर्च भन्चन् । बुराबुरीसित छेउति आइकिन कुरा गर्न्या ता काँ हो काँ टाराटै भाग्च मुलुक ता । उइलै गइइयाभया हाइसन्चो हुन्त्यो । क्यारि जानेहुन् परान् ! हामी ता हुक्क्याछौँ लाई !” बाको जवाफले मेरो शरीर पूरै गह्रौ भएर आयो । हातमा फोन अड्याउनै मुसिवत् पर्‍यो ।
‘भइयो बाबै अब । सबैका दुखारी दिन यस्तै हुन् । आज नइयाँ वर्ष । हाम्लाई आशिक देऊ बरु !”
“हाम्लाई के नइयाँ के पुराना । तिम्रापत्त मार्तै हो । ब्यानैदेखुन् छोरानातिलाई आशिक दिनुपर्च आज भन्ती गरै तिमीहर्की ज्याले ।” मसँग कुरा गर्दागर्दै बाले ज्यालाई बोलाए, “अईsss सुनी ? ल, तोsss, माइलाले आशिक माग्च । दुईजनैले आशिकभाग्गे दिऊँ ।”
ज्याको हातबाट गौँको मुठो खसेको हुनुपर्छ झ्याम्म आवाज बज्यो फोनमा, अर्को हातबाट आँशी पनि खस्यो होला छन्द्र्याङ्ङ आवाज पनि आयो । आमा ता हिक्लिक् हिक्लिक् हिक्का छोर्दै पो ह्रचिन् । 
“अब तिमीहरुसित भेटै हुने ह्रइन्च पो ! झन् झन् लोटकाउन बराउबराइ छ, काँतिबाट हुँदो र !” ज्या भक्कानिन थालिन् ।
“छार् ! ल्या, तो सक्दिनेइ, मै दिन्चु आशिक !” बाले ज्याबाट फोन खोसेझैँ बुझेँ ।
“छार बलै सक्केल्चु, सगीनसगी भया पनि मै देल्चु आशिकभाग्गे !” ज्याले बाबाट फोन खोसेको पनि थाहा पाएँ ।
त्यसपछि पालैपालो आशिक दिन थाले ज्याबाले । गला अवरुद्ध हुँदा आँशी र फोन साटेको आवाज यताको फोनमा प्रष्टै सुनिइरहेको थियोः

“गाँठामुठा रौँ फुलुन्जेल बाँच्या !
………… ………….. …………….
सन्तानले डाँराकाँरा ढाकुन् !
………… ………….. …………….
यो कालकष्ट रोगव्यादी सप्पै भागोइ !
………… ………….. …………….
कुलदेउता, पितरबाज्या, सप्पै देइदेउताले रख्ख्या गरुन् !
………… ………….. …………….
मनतोग्याउ पूर्न होइजावइ !”
………… ………….. …………….

53 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top