Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-१०)

क्यार्दान र बलै ! (कोरोना विशेष-१०)


“एइ ! यता नआइजा । उता भाग् ! उता भाग् !”
पत्नीले कसैलाई हकार्दै गरेको सुनेर म पनि उनको आवाज आएतिर लागेँ । पुराना कागज, थोत्रा सामान बटुल्ने भाइ रहेछ । यो कोरोनाको त्राहीमाम् अवस्थामा हाम्रो अगाडि उपस्थित उसको निरिहपनको सजीव चित्र देखेर टीठ लाग्यो ।
“बिचरो हातमुख जोर्न मुश्किल भएर त यता आएको होला ! देऊ, देऊ काम नलाग्ने चिजहरु अलग्गैबाट देऊ । ऊ आएर के बिग्रन्छ र ? ऊ भित्र पस्दैन, हामीलाई छुँदैन ।”
“घरि बाहिर ननिस्की भन्नुहुन्छ । घरि निस्की निस्की भन्नुहुन्छ !” उनले हातखुट्टा छिन्कँद र नाकमुख बङ्ग्याउँदै मलाई आँखा तरिन् ।
म कोठामा फर्किएर आफ्नै लेखाइमा घोत्लिन थालेँ । केहीबेरपछि उनले मोलमोलाइ गर्न थालेको लामै खैलाबैला भित्रैबाट प्रस्टै सुनियो र के रैछ भनी फेरि बाहिर हेर्न पुगेँ ।
उनले त थोत्रा सामानसँगै नयाँ र निकै महत्त्वपूर्ण पुस्तकहरु समेत त्यो भाइलाई दिन थालिसकिछन् । श्रीमतीजीले ‘नयाँ सामानको मोल पनि अलि बढ्ता हुनुपर्छ !’ भन्दी रहिछन् । भाइले चाँहि ‘नयाँ भए पनि हाम्रो हातपर्ने जुनसुकै चिजबिज रद्दी महत्त्वका हुन् ! तसर्थ भाउ बराबर नै हो’ भन्दोरहेछ । यसैमा कुरा नमिलेको रहेछ ।
“के गरेको तिमीले यो ? यिनी त अत्यन्तै महत्त्वपूर्ण पुस्तक पो हुन् त !”
उनी मउपर नै जङ्गिइन्, “तपाईँले नै भन्नुभएको होइन अस्ति ? यिनी किताबहरु अब मेरा लागि कहिल्यै काम लाग्नेछैनन् भनेर ?”
उनले भनेपछि पो मैले सम्झिएँ । दुई फरकफरक सन्दर्भमा मैले उनलाई यी किताब काम लाग्नेछैनन् भनेर भनेकै हुँ । एउटा प्रसङ्ग उत्पात् साहित्यकारको सन्दर्भमा र अर्को उत्पात् प्रशासनविदको सन्दर्भमा ।
‘प्रसिद्ध’ भन्न नजानेर ‘उत्पात’ भनेको होला भन्ठान्नुभएको होला । प्रसङ्ग त्यस्तै छ ।
०००
एकजना साहित्यकार पनि, प्रकाशक पनि नामले बजार बिकाउमा राम्रै स्थान ओगटेका व्यक्तिले मेरो कथा संग्रह प्रकाशन गरिदिन्छु भनेर झण्डै एक वर्ष पहिले मबाट मोटै रकम हात पारेका थिए ।
जब मेरो पुस्तक बजारमा आउनथाल्यो भनी मैले अन्तिम औँला भाँचेर बसिरहेको बखत उनले छपाउन सक्दिन भनी जानकारी गराए । कारण ठूलो केही थिएनः खाली विषम् परिस्थितिमा विषम् वचन किन लगाइस् भन्ने अत्तो थापेर । मेरोतर्फबाट भने त्यो विषम् परिस्थिति पनि थिएन र विषम् वचन पनि थिएन । कुन कुन वचन, ककसको लागि, कुन कुन परिस्थितिमा विषम् हुन्छन् भन्ने इन्साइक्लोपिडिया कण्ठस्थ त कहाँ छ र मलाई ? म पनि त झनै विषम् परिस्थितिबाटै गुज्रिरहेको मान्छे हुँ ।
उनको स्वघोषणापछि उनीबाट पैँसा फिर्ता लिन म हप्तौँ उनको पसलमा पुगिरहेँ उनी सम्पर्कविहिन भइ नै रहे । एकदिन उनको पसलमा उनलाई भेट्टाइहालेँ ।
मलाई देख्नेबित्तिकै उनी टाउको काटेर छोडिदिएको चल्लोजस्तै छट्पटाएर फनफनी नाच्न थालिहाले । नाच्ने मात्र होइन फरिया उचाल्दै चिर्बिरचिर्बिर स्वरमा के के भट्ट्याउन थालिहाले के के । ती स्वरमा गाली, धम्की, आफ्नो बाध्यता, परिस्थिति, मैले लगाएको वचनको प्रतिशोध आदि कति कुवाच्य थिए कति, मैले केही बुझ्नै सकिन । उनले उत्पात मच्चाइरहेको टुलुटुलु हेरिबसेँ ।
यति मात्र बुझेँ कि ‘पक्का पनि यसले आफ्नो कृति नछपाइएको गुनासो पोख्न सक्नेछ वा विना प्रयोजन महिनौँ पहिले लिएको पैँसाको ब्याज माग्नेछ तसर्थ यसको स्वरभन्दा आफ्नो स्वर ठूलो किन नपारुँ’ भन्ने दुःमनाशय हेतु यिनी यसरी चिरबिराइरहेका छन् ।
यो विडम्बना प्रत्यक्ष देख्न पाउँदा मलाई दिक्क लाग्यो । अलिकति पनि सामाजिकपन, समझदारी, सहनशिलता र सुझबुझपूर्ण व्यवहार जानेका छैनन् भने के लेख्छन् यिनीले ? यिनले हजारौँ कृति छपाए पनि समाजले के प्राप्त गर्न सक्छ, यिनको लेखाइबाट ? सिद्धान्त र व्यवहारको निकै फराकिलो अन्तरालमा झुण्डिएर बाँच्ने कुनै श्रष्टा होइन कि सिर्फ व्यापारी मात्र हो । कालाबजारी मात्र हो ।
सामान्य तरीकाबाट म ब्याजस्याज दिँदिनँ भनेको भए सहजै बुझिहाल्थेँ मैले ।
मैले उनका तीनवटा उपन्यास पढिसकेको थिएँ र आफ्नो कृति छापिदिने लोभ देखाइएकोले उनका अरु तीन उपन्यासहरु पनि किनिदिएको थिएँ । यिनले गुण लगाए भने आफूले पनि गुण तिर्नुपर्छ भनी एउटा पुस्तकालयको लागि उनका पसलमा थुप्रिएका थुप्रै पुस्तकहरु किनिदिने सोच पनि बनाएको थिएँ ।
दुईतीन पुस्तकबाट उनका लेखाइको स्वाद चाखिसकेको थिएँ तसर्थ बाँकी पुस्तकहरु जुन प्लास्टिकले मोडिएकै अवस्थामा थिए खोल्ने जाँगर गरेको थिइनँ । श्रीमतीजीले बारम्बार खै गरिरहन्थिन्, “नपढ्ने किताब किन थुपारेको होला ?”
उनले आफूलाई गरेको दुर्व्यवहारको झोँकले त्यसै बेलुका उनले ‍लेखेका पुस्तकहरु छुट्ट्याएर श्रीमतीजीलाई अब यी पुस्तक काम लाग्दैनन् भनिदिएको थिएँ ।
०००
“के गरुँ ? दिऊँ भैयालाई ? भैया उभिइरहेकै छ । यत्ति भन्नलाई पनि के बारवर्ष लगाएको होला ?” खै गरिन् उनले,
“हुन्देऊ, तिमीले देब्रे हातमा उठाएका पुस्तकहरु दिई पठाऊ न त !” उनको देब्रे हातपट्टि तिनै उत्पात साहित्यकारका प्लास्टिकको जिल्ला नै ननिकालिएका पुस्तकहरु समेत थिए ।
बिचरा साहित्यकार कोरोनाले निम्त्याएको यो साँच्चिकै विषम परिस्थितिमा कति चिरबिराएर बसिरहेका होलान् ? मैले उनको चिरबिराहट झलझली सम्झँदै गर्दा लकडाउनमा पनि पुलिसको नजर छल्दै घरमै आइपुगेको भैयाले हर्षित मुद्रामा ती नयाँनयाँ पुस्तकहरु च्यातिएको बोरामा रद्दी सामानहरुसँग कोचिरहेको थियो ।
बाटोबाट बालभक्तले देखिहालेछन् : “के टरिका हो यो ओली सर ? अरुहरु यस्टोबेला किटाबहरु खोजीखोजी पढ्दैछन् । टिमि भने बेचिरहेको ? क्या मूर्ख टिमि पनि ?”
उनको झटारोले गर्दा म लाज र क्षोभले डल्लो परेँ ।
“अनि यी किताबहरु नि ?” श्रीमतीजीले आफ्नो दाइने हातले निकै गह्रुँगोसाथ उचालेका मोटामोटा किताबहरु देखाइन् । जुन उत्पात् प्रशासनविद्ले लेखेका किताबहरु थिए र नयाँ भनेर भैयासँग मोलमोलाइ गरिरहनु नपर्ने खालका देखिन्थे ।
म के गरुँ, के नगरुँको दोधारको मनस्थितिमा पुगेँ र त्यो घटना झलझली सम्झन थालेँ ।

 123 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top